विश्वसनीयताको संकट
२४ साउन २०७०
•
१७ मिनेट पाठ
विश्वसनीयताको संकट
जित्नेहरूले इतिहास लेख्न लगाउँछन्। त्यसैले विगतका वृत्तान्तहरूमा शासकका विरुदावलीबाहेेकका वर्णन बिरलै पढ्न पाइन्छ। तर, शासक वंशबीचको अन्तर्द्वन्द्वले गर्दा एकले अर्कालाई विस्थापित गर्न गरेका षड्यन्त्रहरूको विवरण भने कालान्तरमा लिपिबद्ध हुँदै जान्छन्।सायद, त्यसैले इतिहास कपट एवं सैनिक अभियानको अभिलेखमात्र हैन भनिएको होला। सुगौली सन्धिपछि नेपालका शासकहरूले उल्लेख्य कुनै पनि वाहय युद्ध गर्नु नपरेकाले होला सत्तावृत्तको सम्पूर्ण शक्ति एकअर्काविरुद्ध षड्यन्त्र गर्ने दिशामा केन्द्रित रहने गरेको छ। अनि त नेपालको इतिहासको प्रत्येक पानाबाट छल, कपट, धोखा एवं त्रू्करताका वृत्तान्तहरूको गन्ध आउँछ। नेपालको इतिहास समग्रतामा विभिन्न त्रू्करता, 'पर्व’ एवं हत्याकाण्डहरूको दस्ताबेज बन्न पुगेको छ। 
मारिन, काटिने, चारपाटा मुडिने, सर्वस्वहरण हुने, देश निकाला गरिने वा कम्तीमा विस्थापित हुनुपर्ने स्थायी जोखिम भएको समाजमा दायित्वबोध भएको अभिजात्य वर्गको उदय हुँदैन। शासकीय सम्भ्रान्तलाई पनि आफ्नै दुनो सोझ्याउने ध्याउन्नाले गाँजेको हुन्छ। अभिजात्य एवं सम्भ्रान्तको जीवनशैलीलाई आदर्श ठान्ने मध्यमवर्गका लागि पनि स्वभावत: अवसरवाद ग्राह्य हुन्छ। मध्यम वर्गका आस्थाहरू समयक्रममा सामाजिक मूल्य एवं मान्यताका रूपमा स्थापित हुनेहुँदा कसैले कसैलाई विश्वास नगर्ने प्रवृत्ति 'नेपाली संस्कृति’ बन्न पुगेकोमा अचम्म मान्नु पर्दैन। साँचो बोले पनि वा निष्कपट व्यवहार देखाए पनि कसैले नपत्याउने हुँदा असल व्यक्तिले सबभन्दा बढी आक्षेप सहनुपर्ने विचित्रको सामाजिक परिस्थिति नेपालमा संस्थागत हुन गएको छ।
एक अर्काप्रतिको चरम अविश्वास पसलेसँगको मोलभाउमा देख्न सकिन्छ। सहयोगी एवं सहकर्मीहरूसँग गरिने व्यवहारमा उदांगिन्छ। र, दैनिक जीवनका सामान्य अनुभवहरूबाट स्पष्ट हुन्छ। सेवाग्राही ठग्न आएका हुन् भन्ने मान्यता राखेर नाफा क्षेत्रका विद्यालय एवं अस्पतालहरूले अमानत रकम जम्मा नगरेसम्म प्राय: सेवा दिनै मान्दैनन्। राज्यले नागरिकता प्रमाणपत्र प्रदान गर्ने आफ्नो प्राथमिक दायित्वलाई विशेषाधिकारका रूपमा प्रयोग गर्ने गर्छ। किनभने राज्यलाई न जनतामाथि भरोसा छ न त आफ्नो संयन्त्रको दक्षता र इमानदारीमा विश्वास। बजार, राज्य एवं समाजमा व्याप्त शंकालु संस्कृतिबाट राजनीति पनि मुक्त रहनसक्ने कुरा भएन। चर्चा भने सबैभन्दा बढी राजनीतिकर्मीहरूको अविश्वसनीयताका बारेमा हुन्छ। 
प्रजातान्त्रिक अभ्यासका मूलभूत मान्यतामध्ये एउटा के हो भने ताजा जनादेश प्राप्त नभएसम्म त्यसभन्दा अघिको जनप्रतिनिधित्वको वैधानिकता यथावत् रहन्छ। त्यही आस्थाको त्यान्द्रो समातेर २०६३ / ६३को जनविद्रोहपछि वैधानिकता पुर्या एर विघटन गरिएको प्रतिनिधिसभालाई राजनीतिक नेतृत्वले ब्युँताएका थिए। संसद्को विस्तारका साथै विभिन्न दीर्घकालीन असर भएका समझदारी सम्झौता गर्दै संविधान सभाको निर्वाचन एवं गणतन्त्र घोषणा पुरानै जनादेश पाएको सरकारले 'क्रान्तिको वैधानिकता’ समेत प्रयोग गरेर सम्पन्न गरेको थियो। संविधान अन्तरिम भए पनि राज्य उही छ। तर, तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको निर्वाचन गराउने क्षमतालाई अरू त के उनको आफ्नै पार्टीले समेत पत्याएन। र, असफलताउन्मुख देशहरूमा प्रयोग गरिने अन्तरिम निर्वाचन परिषद्को अवधारणा लागु गर्न नेपाल वाध्य भयो। एकअर्काप्रतिको अविश्वासले गर्दा सम्पूर्ण राजनीतिक समुदाय नै नैतिकरूपमा निर्वस्त्र हुनुपरेको यस्तो घटना स्वस्थ, स्वाभिमानी एवं आत्मविश्वास युक्त राज्य, समाजमा कल्पनासमेत असहज लाग्नुपर्ने थियो। अधिनायकवादी व्यवस्थाअन्तर्गत गरिने जनमत संग्रहका लागि बीपी कोइराला महापंच प्रधानमन्त्रीत्वको जोखिम उठाउन तयार भएका थिए। उनका स्वघोषित अनुयायीहरूले गणतान्त्रिक निर्वाचन सञ्चालन गर्न प्रतिद्वन्द्वी दलका नेतालाई पत्याएनन्। राजनीतिक संस्कृति स्वत: परिष्कृत हुँदैन भन्ने प्रमाण खोज्न हलेदो कोट्याई राख्नु आवश्यक छैन।
नेतृत्वविहीन अवस्था 
सामान्य अवस्थामा विश्वसनीयता व्यवस्थाले सिर्जना गर्ने हो। राज्यले व्यक्ति एवं सम्पत्तिको सुरक्षा, आधारभूत सेवाहरूको सुनिश्चितता तथा मानव अधिकारको प्रत्याभूतिका लागि आवश्यक व्यवस्था गर्ने गर्छ। राज्य सञ्चालन गर्ने वैधानिकताको आवधिक नवीकरणका लागि स्वच्छ एवं स्वतन्त्र निर्वाचन गराउँछ। जनताले राज्यको आवश्यकता पुर्याआउन कर तिर्छन्। प्रभावकारिता कायम राख्न कानुन मान्छन्। र, वैधानिकताको निरन्तरताका लागि मताधिकारसँगै आवश्यक देखिएको अवस्थामा विद्रोहको विशेषाधिकारलगायतका सामूहिक अग्रसरताका उपाय प्रयोग गर्न पनि हच्किँदैनन्। सामान्य अवस्थाका निश्चिन्तता एवं असामान्य अवस्थाको निश्चितता भएका बेला नेतृत्व भनेको कार्यकुशलतामात्र हो। संक्रमणकालमा भने नेताको प्रभावकारिता धेरै हदसम्म विश्वसनीयतामा निर्भर हुन्छ। समसामयिक नेपाली राजनीतिको त्रासदी के हो भने कोही पनि अरू कसैको नेतृत्व स्वीकार गर्न तयार छैन।
अन्तरपार्टी विवाद त जे छ छँदैछ, पार्टीहरूको आन्तरिक कलम पनि कम विध्वंशक छैनन्। फुटपछिको एनेकपा(माओवादी) अब भने एकजुट त भन्ने दाबी पत्याउने वस्तुगत आधार भेटिँदैन। अर्कोतिर नेकपा—माओवादीमा देखिएको 'ध्वंशको गिरोह’ मानसिकतालाई सैद्धान्तिक एकता भन्न पनि गाह्रो छ। सुरुदेखि नै गुटहरूको समूहका रूपमा काम गर्दै आएको नेपाली कांग्रेसको नेतृत्व आमस्वीकृति भन्दा पनि समयको आवश्यकता, प्रभावकारिता एवं अन्तर्राष्ट्रिय छविका आधारमा स्थापित हुँदै आएको थियो। प्रजातन्त्र सर्वस्वीकार्य भएपछि अब कांग्रेसले अब एकल नेतृत्वको आवश्यकतासमेत देख्न छाडेको छ। कुर्सीमा बसेपछि सामान्य कार्यकर्तासमेत नेता हुने अवस्था सामान्य परिस्थितिमा मात्र हुन्छ। संक्रमणकालमा अग्रसरता देखाउन सक्ने नेतृत्व नेकपा (एमाले)जस्तो स्टालिनवादी पार्टीभित्र झन् खोज्ने कुरै भएन।
मधेस विद्रोहको खरानी घसेर जोगी भएका अधिकांश मधेसवादी नेता कि निरीहताजनित सम्झौता वा आक्रोशयुक्त विद्रोहको मानस्थितिबाट अझै मुक्त हुनसकेका छैनन्। राष्ट्रिय नेतृत्वका रूपमा स्थापित हुन चाहिने अडान र लचकताबीचको सामञ्जस्य देखाउनसक्ने आँट उसै पनि बहिष्कृत समूहका राजनीतिकर्मीमा रातारात आउँदैन। प्रभुत्वशाली समुदायको निरन्तर शंका एवं प्रताडित वर्गद्वारा लगाइनसक्ने समर्पणवादको आक्षेपका बीचमा बाँच्न अभिशप्त राजनीतिकर्मी आँटिला निर्णयमा पुग्न स्वभावत: असमर्थ हुन्छन्।
नेपालको नेतृत्वविहीनतालाई देखेर नै होला चिनियाँ तथा अमेरिकी भूराजनीतिकारहरू नयाँ दिल्लीको राजनीतिक मूल्यांकनलाई महत्वका साथ हेर्न थालेका छन्। नेपालको राजनीतिक अवस्थाका बारेमा काठमाडौंबाट प्रकाशित समाचार वा विचारभन्दा भारतीय सञ्चार माध्यमलाई अन्तर्राष्ट्रिय समुदायले बढी गम्भीरताका साथ लिने गर्छन्। समस्या के भइदियो भने भारतीय नेतृत्व नै सम्भवत: रनभुल्लमा छ। र, एकएक जना राजनीतिकर्मीलाई नयाँ दिल्ली बोलाएर व्यक्तिगत अन्तर्वार्ता लिने चाखलाग्दो प्रचलन सुरु गरेको छ। व्यक्ति तुष्टीकरणको भारतीय कूटनीतिको अनपेक्षित प्रभावहरूमध्ये एउटा चाहिँ गहिरिँदै गएको नेतृत्वविहीनता झन् जटिल बन्दै जाने परिस्थितिका रूपमा उजागर हुनसक्छ। विदेशी करदाताको पैसाबाट महिनावारी थाप्ने गैससकर्मी वा मालिकको इसारा र आसय बुझेर विचार सम्प्रेषण गर्ने विशेषज्ञले जतिसुकै राष्ट्रवादको कोकोहोलो मच्चाए पनि दिल्ली तीर्थाटन प्रवृत्तिबाट नेपालको अक्षुण्ण्ता संकटग्रस्त हुने नभएर सार्वभौम निर्णय लिनसक्ने क्षमताको अभाव भएको देखिने हो। र, यथास्थितिको गन्जागोलले निरन्तरता पाउन थप बल पाउनेछ।
भारतमा के भन्ने गरिन्छ भने ' सौ मे नब्बे बेइमान, फिर भी मेरा भारत महान् ’। आक्षेप जो जति उँचो स्वरमा लगाउँछ त्यति नै धेरै सम्भावना के हो भने ऊ बाँकी दसमध्ये एक भने पक्कै होइन। झन्डै झन्डै त्यस्तै टिप्पणी नेपालका सुकिलामुकिला ( बीपी कोइरालाको भनाइमा 'भुँइफुट्टा वर्ग) मध्यम वर्गका बारेमा पनि गर्न नसकिने होइन। लेखपरीक्षकहरूको संलग्नताबेगर ठूला करछली हुन गाह्रो छ। डाक्टरहरूको नेतृत्व पेसागत शुद्धताभन्दा पनि व्यावसायिक स्वार्थप्रति बढी लगनशील हुनु आत्मकेन्द्रित संस्कृति व्याप्त हुँदै गएकाले हुनसक्छ। लगभग त्यस्तै टिप्पणी इन्जिनियर, कानुनकर्मी, प्रध्यापक, प्रशासक, प्रहरी वा अन्य जुनसुकै पेसाकर्मीका बारेमा गर्न सकिन्छ। सञ्चारकर्मीहरू उपहासको विषय भने टे्रड युनियन एवं राजनीतिक दलहरूलाई बनाउने गर्छन्।
वैज्ञानिक सोचको सतही समझले गर्दा होला नेपाली समाजमा जटिल विषयको सहज समाधान खोज्ने प्रवृत्ति व्याप्त छ। त्यसैले चमत्कारको लोभ देखाएर एकाधिकार स्थापित गर्न तम्सिने चटकेहरूको आकर्षण गणतान्त्रिक व्यवस्थामा समेत कमजोर भएको छैन। यथार्थ के हो भने नम्रता, त्याग एवं देश सेवाको भावनाले अभिभूत नेतृत्व विकसित हुने सामाजिक वातावरण तयार गर्ने समयको आवश्यकता गणतान्त्रिक व्यवस्थामा अझ बढी हुने गर्छ।
निर्वाचन यज्ञ
संशयीहरू सही छन् : यथास्थितिमा निर्वाचनले निकास दिँदैन। मिश्रित निर्वाचन प्रणालीमा उसै पनि कुनै एक दलको बहुमत स्थापित हुन गाह्रो हुन्छ। दुईतिहाइ बहुमतको त ध्वांसमात्रै हो। अवसान भएको संविधान सभाका सबै विवाद गथावतै छन्। स्वाभाविक हो, सहमति त के बहुमतको संविधान बनाउन सकिने परिस्थितिसमेत अझै परिपक्व हुनसकेको छैन। 
गोलमेजको 'सगुफा’ अर्को निरर्थक अभ्यास हो। संयुक्त राष्ट्रसंघको अनुगमन वा प्रभुत्वशाली देशको सहजीकरणबेगर अफगानिस्तानको जस्तो लोया जिर्गा (समुदायका अगुवाहरूको वृहत् सम्मेलन) बाट सर्वमान्य निर्णय आउन सत्तै्कन।
यथास्थिति लम्याउने षड्यन्त्रले शासक समूहलाई झनै नंग्याउँदै लाने जोखिम छ। अहिले नै प्रहरी र सशस्त्र प्रहरी बल चोरी पैठारीबाट आउने अनौपचारिक दस्तुरका लागि भिड्न थालेको हल्ला छ। संक्रमण अवधि लम्मिनु त्यस्तो प्रवृत्तिलाई फस्टाउने वातावरण कायम रहन दिनु हो।
अमेरिकी वा भारतीय दबाबको कुनै अर्थ छैन। निर्वाचनमा होमिने बाध्यता नेपालको धरातलीय यथार्थले सिर्जना गरेको हो। भनिन्छ, संकटकालीन परिस्थतिले जोखिम र अवसर सँगसँगै लिएर आउने गर्छ। निरंकुश शासकहरूको इतिहास कपट र त्रू्करताको भए पनि प्रयोगहरूको निरन्तर परम्पराले मानव सभ्यता अगाडि बढ्दै जाने हो। आगामी निर्वाचनसमेत कालान्तरमा निरुद्देश्य ठहरिन सक्छ। परिणामको प्रत्याभूति इतिहासको मौलिक प्रवृत्ति होइन। आवधिक निर्वाचनले व्यवस्थाको विश्वसनीयता भने बढाउन सघाउने गर्छ। वैद्य समूहलाई गणतन्त्र चाहिएको हो भने निर्वाचन भाँड्न तिनले समेत आँट गर्ने छैनन्।
अर्को समाचार
गहिरिँदो विश्वसनीयताको संकट
०४ फागुन २०७४
•
२२ मिनेट पाठ
गहिरिँदो विश्वसनीयताको संकट
प्रजातान्त्रिक संस्कार भएका समाजहरूमा नगर विमर्श सभा (टाउन हल मिटिङ) जस्ता कार्यक्रम भइरहन्छन् । त्यस्ता सार्वजनिक सुनुवाइका मञ्चहरूबाट जनप्रतिनिधिले प्रस्तावित कानुनबारे छलफल गर्छन् । महत्वपूर्ण मुद्दाहरूमा जनताको प्रत्यक्ष आवाज सुन्न पनि विमर्श सभा उपयोगी हुने गर्छ । अरू केही नभए समुदायिक चासोको मुद्दामा विचारको आदान–प्रदान हुनु पनि आफैँमा उपलब्धिमूलक गतिविधि हो । राजा महेन्द्रले निरंकुश शासन व्यवस्थाका लागि प्रयोग गरेर ‘पञ्चायत’ जस्तो सम्मानित शब्दलाई नै बिटुलो तुल्याउनुअघिसम्म मधेसका गाउँघरतिर स्थानीय पञ्चमहाजन एक ठाउँमा जम्मा भएर त्यसरी नैं महत्वपूर्ण विवाद सल्ट्याउने गर्थे । सन् १९६२ पछि ‘पञ्च’ भनेका जाली फटाहा हुन् भन्ने छवि बलियो बन्दै गएपछि सामूहिक सम्पर्कका त्यस्ता परम्परागत मञ्च पनि हराउँदै गए । आजभोलि कतिपय ठूला योजनामा सार्वजनिक सुनुवाइलाई पूर्वसर्त बनाइएको हुन्छ । प्रायशः त्यस्ता विमर्श प्रायोजिततवरले सिध्याइन्छन् । सामान्यजनमा त्यस्तो औपचारिकतामा खासै रूचि हुँदैन । सहरिया समुदाय भने जनसुनुवाइबारे सचेत हुँदै गइरहेको छ ।

नेपालमा बेलायतको सार्वजनिक प्रशारण संस्था बिबिसी रेडियो पहाडतिर आफ्नो नेपाली सेवा एवं मधेसतिर हिन्दी सेवाका लागि प्रख्यात छ । मधेसमा भने बिबिसी रेडियोको नेपाली सेवाले काठमाडौँको स्थायी सत्ताको प्रचार संयन्त्रका रूपमा काम गर्छ  भन्ने अनुभूति असाध्यै व्यापक छ । अंग्रेजी बुझ्नेहरू पहाड र मधेस दुवैतिर बिबिसीको विश्व सेवा उत्तिकै अभिरुचिपूर्वक सुन्ने गर्छन् । बिबिसी विश्व सेवाको लोकप्रियता बढाउनुमा उल्लेख्य भूमिका च्याउसरि जताततै उम्रिएका अंग्रेजी माध्यममा पढाउने उत्तर माध्यमिक विद्यालयहरूको पनि छ । तिनका अंग्रेजी शिक्षकहरू आफ्ना विद्यार्थीलाई ‘उच्चारण र शैली सुधार्न’ बिबिसीको विश्व सेवा नियमिततवरले सुन्ने सल्लाह दिन्छन् । नेपाली वा हिन्दीमा जस्तो विश्व सेवाको विषयवस्तुमा नेपाल प्राथमिकतामा हुँदैन तर कुनै महत्वपूर्ण घटना हो भने त्यो छुट्दा पनि छुट्दैन । 

दुनियाँभर आजभोलि कम्युनिस्टहरू लोपोन्मुख राजनीतिक प्रजातिमा पर्छन् । नेपालमा भने निर्वाचनबाटै सही, कम्युनिस्टहरूको एकलौटी सरकार बन्न लागेको छ । हुन त कुनैबेला तत्कालीन एमालेका प्रधानमन्त्री मनमोहन अधिकारीले घोषणा नै गरेका थिए– नेपालमा कम्युनिस्ट भनेको ‘कोकाकोला जस्तै’ प्रचार प्रयोजनका लागि कायम राखिएको छाप नाम (ब्रान्ड नेम) मात्रै हो । तर छाप नामको समेत आफ्नै आकर्षण हुन्छ । नेपालमा विकसित भइरहेको ताजा राजनीतिक प्रवाहमा राजनीतिक अन्वेषकहरूका साथै विश्व समुदायको पनि रुचि बढेको छ । माओवादीहरूले आफ्ना राजनीतिक कार्यसूची विसर्जन गरेरमात्रै एमालेमा विलय हुन लागेका भए तापनि तिनको सशस्त्र द्वन्द्वताकाको हिंसक छवि अझै मेटिएको छैन । एमाले पनि एकताकाका नक्सलपन्थी माओवादीहरूकै मञ्च हो । तिनको नेतृत्वमा नेपालको अर्थराजनीतिले कस्तो मोड लिने हो ? स्पष्ट उत्तर कसैलाई थाहा छैन । परिस्थितिको प्रत्यक्ष ‘थाहा’ लिन आफ्ना संसारभरका स्रोताहरूका लागि बिबिसीको विश्व सेवाको ‘वल्र्ड क्वेस्चन’ कार्यक्रमले हालसालै विमर्श सभाको स्वरूपमा रेकर्ड गरेको थियो । रेडियो प्रशारण भइसकेको एवं त्यो अन्तर्जालमा सहजै उपलब्ध रहेकाले त्यस कार्यक्रमबारे बेलिविस्तार लगाउन जरुरी छैन। 

नृजातीय पक्षधरताले गर्दा तन जुन दलसँग रहे पनि मनले ‘ओली यार’ बन्न पुगेका मिडियाका खसआर्य कर्ताधर्ताले आफ्नै पेशागत हितको सुरक्षाका लागि पनि खस्किँदै गएको सार्वजनिक छविप्रति संवेदनशील हुन जरुरी छ।

कार्यक्रम अंग्रेजी भाषामा भएकाले होला, सहभागीहरूमा पढे÷लेखेका युवाको बाहुल्य थियो । बहसकर्ताहरूमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई एवं एमालेका नेता प्रदीप ज्ञवाली प्रमुख थिए । उस्तै कम्युनिस्ट स्कुलिङले गर्दा होला, दुवै प्रखर वक्ता धेरै बोलेर पनि गुदी कुरा नखोल्ने कलामा पोख्त छन् । त्यसको ठीकविपरित थोरै शब्दमा धेरै कुरा भन्न सक्ने क्षमता अन्तर्राष्ट्रिय पत्रकार सुविना श्रेष्ठमा उनी फिल्मकार भएकाले आएको होला । साक्षीका रूपमा भए पनि वार्ताकार बन्ने हैसियत यस पंक्तिकारलाई पनि प्राप्त भएको थियो । मञ्चबाट सहभागीहरूको हाउभाउ झनै चाखलाग्दो देखिने रहेछ । कार्यक्रममा ‘फेक न्युज’ बारे बहस भइरहँदा प्रस्तोता अनु आनन्दले सहभागीहरूलाई सोधिन्– ‘तपाईँहरूमध्ये नेपाली मिडियालाई पत्याउने कतिजना हुनुहुन्छ ?’ अहिले सम्झँदा पनि अचम्भ लाग्छ । झण्डै २५० सहभागीमध्ये जम्माजम्मी एक दर्जन जतिले हात उठाएर नेपाली मिडियालाई विश्वासको मत दिए। 

त्यस कार्यक्रमअघि लाग्ने गथ्र्याे– नेपाली मिडियालाई नपत्याउनेहरू मधेसतिर मात्रै छन् । तर राजधानीका अंग्रेजी बुझ्ने युवा जमातलाई पनि नेपाली मिडियामाथि भरोसा छैन रहेछ । जतिसुकै प्रति अखबार बिके पनि, स्रोता एवं दर्शकको संख्यामा जति नै वृद्धि भए पनि एवं जति धेरै विज्ञापन ओइरिए पनि जनविश्वास गुमाएको मिडियाले ‘चौथो अंग’ भएको दाबी गरिरहन सक्दैन । हुन त अति व्यापारिकताले गर्दा दुनियाँभर नै मिडियाले आफ्नो विश्वसनीयता गुमाउँदै गइरहेको छ । प्रजातान्त्रिक संस्कार बलियो रहेका देशहरूमा त्यस्तो कुराले त्यति धेरै असर गर्दैन । प्रजातन्त्रको बिरूवा बल्लतल्ल टुसाउन थालेका समाजहरूमा भने मिडियाको अविश्वसनीयता घातक ठहरिन सक्छ । प्रजातन्त्रको गाडी सही सूचनाको ऊर्जामा चल्छ । सार्वजनिक समाचार माध्यमबाट विश्वास हराएपछि मतदातामात्र होइन, अन्य निर्णयकर्ता समेत पूर्वाग्रह पुष्टि गर्ने आफन्त एवं आसेपासेका कुरा पत्याउन थाल्छन् । त्यसपछि ध्रुवीकरण तीव्र हुँदै जानु स्वाभाविक हो। 

अनि पूर्वाग्रह पुष्टि, आफ्नो समूहबाहेक ‘अन्य’ जम्मैको दानवीकरण, त्यस्तै किसिमको प्रतिक्रिया एवं आरोप/प्रत्यारोपको आधिक्यता बढ्दै जाने विद्वेष वृत क्रियाशील हुन्छ । त्यस्तो ‘विशस सर्कल’ बाट उम्कन सहज हुँदैन । प्रतिरोध वा राज्यतर्फको हिंसात्मक गतिविधि बढ्न सक्छ । वैदेशिक हस्तक्षेप आकर्षित हुन सक्छ । हेर्दा सामान्य जस्तो लागे पनि मिडियाको छवि जोगाउनु राष्ट्रिय कार्यभार हो । नृजातीय पक्षधरताले गर्दा तन जुन दलसँग रहे पनि मनले ‘ओली यार’ बन्न पुगेका मिडियाका खसआर्य कर्ताधर्ताले आफ्नै पेशागत हितको सुरक्षाका लागि पनि खस्किँदै गएको सार्वजनिक छविप्रति संवेदनशील हुन जरुरी छ । माओवादीहरूको विलयपछि नेपाली कम्युनिस्टहरूको प्राधिकार बन्ने क्रममा रहेका नृजातीय नेता खड्गप्रसाद शर्मा ओली निसन्देह मिडिया व्यवस्थापन कलामा पोख्त छन् । त्यसले उनका बोली वचन एवं क्रियाकर्मबारे झन् बढ़ी सचेतताको आवश्यकता छ । सत्तालाई विश्वास गरेर शक्तिको मतियार बन्ने मिडियाको विश्वसनीयता स्खलित हुँदै जानु जोखिमपूर्ण भए पनि अनौठो भने होइन।

ज्ञानको बजार

अदालतमा गाईले कम्बल खाने आहान त्यसै चलेको होइन । एक त ‘नेपालको कानुन दैवले जानून्’ भन्ने जनविश्वास छ । त्यसमाथि नाम चलेका अदालतका हाकिमहरूका फैसला सधैँ विवादित रहने गरेका छन् । मानहानिको कानुनले नछेक्ने भइदिएको भए केही न्यायाधीशहरूको सार्वजनिक छविलाई तिनका आलोचकहरूले ‘लोकमान सिंह’ बनाइसकेका हुन्थे । गतिविधि एवं फैसलाको साटो पदधारीको व्यक्तिगत आलोचना उत्तेजित भिडले अपराधी ठह¥याएको व्यक्तिलाई मोसो दल्नेजस्तै कर्म हो । त्यसैले व्यक्ति फेरिन्छन्, प्रवृत्ति यथावत रहिरहन्छ । तर अचम्म ! यो सही भएन भन्ने हिम्मत भएको न्यायज्ञ (जुरिस्ट) नेपालमा अपवादकै रूपमा औल्याउन सकिने एउटै पनि रहेनछन् । अदालतको शक्ति उसको साख र मर्यादा हो । त्यसलाई नै गल्ली÷गल्ली घिसारेपछि न्याय त के, कानुनबमोजिम गरिने फैसलाहरूको स्वीकार्यतासमेत समाप्त हुन्छ । कानुनभन्दा बजारको माहोल बुझेर नागरिकताको मुद्दा अल्झाइरहेका प्रशासकहरू गहिरो रोगका उपरीलक्षणमात्र हुन् । समयमा उपचार गरिएन भने पत्रकार जस्तै कानुनकर्मीको विश्वसनीयता पनि कायम रहन सक्ने छैन।

विवादमा रहनु कार्यपालिका क्रियाशील रहेको प्रमाण हो । कार्यकारी प्रमुखको आलोचना भएन भने बरू डराउनुपर्छ तर विधायिका राज्य र समाजमा सामञ्जस्य स्थापित गर्ने थलो हो । त्यस थलोमा खुला बहस हुन्छ । महत्वपूर्ण मुद्दाहरूमा सहमतिको खोजी हुन्छ । सहमति हुन नसकेका विषयमा बहुमतले निर्णय गर्छ । अल्पमतमा परेकाहरूले आफ्ना निग्रह (रेजर्बेसन्स) कायम राख्दै त्यस्ता कुरा स्वीकार गर्छन् । पक्ष एवं विपक्षको मत विभाजन बाहिर बसेर विधायिकाका गतिविधिहरूको सूक्ष्म विश्लेषण गर्ने जिम्मेवारी सामान्यतया विश्वविद्यालयसँग आबद्ध प्राध्यापक वा स्वतन्त्र चिन्तन चौतारीका प्राज्ञहरूले गर्ने गर्छन् । प्राविधिक विधाहरूमा बाहेक नेपालका विश्वविद्यालयहरू सुस्तरी बनावटी प्रमाणपत्र (स्प्युरिअस डिग्रिज) उत्पादन गर्ने कारखानामा परिणत हुन थालेका छन् । राष्ट्रको घेरा नाघेर ज्ञानको ज्योति जगाउने एवं फैलाउने भएकाले नै उच्च शिक्षाको थलोलाई विश्वविद्यालय भनिएको हो। 

युद्ध चलिरहँदा समेत आफ्नै सरकारको आलोचना विश्वविद्यालयमा मात्र हुन्छ । राजनीतिक दलका झोले बन्दै गएका प्राध्यापकहरूसँग त्यस्तो अपेक्षा त गर्न सकिँदैन तर गुट÷उपगुटको बफादारीमा अल्झिएर चिकित्सा शिक्षा क्षेत्रमा देखिएका विकृतिविरूद्ध नउभिनु प्राध्यापन क्षेत्र भित्रभित्रै कुँहिदै गएको परिचायक हो । विश्वविद्यालय यति धेरै निरिह पञ्चायत कालमा पनि थिएन । प्राज्ञिक अन्वेषणका चिन्तन चौतारीहरू लगभग सबैजसो विदेशी दाताहरूको अनुकम्पामा आधारित छन् । दाताहरूको प्राथमिकता सरकारको निर्देशनबमोजिम निश्चित गरिन्छन् । त्यसैले विश्वव्यापी मानवाधिकार एवं आधारभूत प्रजातान्त्रिक मूल्य तथा मान्यता संकटमा परेको अवस्थामा बाहेक स्वतन्त्र प्राज्ञहरू पनि सत्ताको आलोचना गर्न खासै स्वतन्त्र हुन सक्दैन । समाजिक दायित्वप्रति सचेत आन्तरिक पुँजीपतिहरूको जिम्मेवारीबोधबेगर स्वतन्त्र चिन्तन सम्भव छैन । नेपालको नाफा क्षेत्रमा त्यस्तो परिपक्वता आउन अझै पनि दशकौँ लाग्ने देखिन्छ।

जुनसुकै जिवन्त समाजमा आफ्नो दूरदर्शिता, पूर्वज्ञान एवं पूर्वदृष्टिका आधारमा भौतिक जोखिम, मानसिक शंका एवं समाजिक दबाबका वावजुद अन्तरमनको आवाज मुखर गरेर संकटका बेला दिशानिर्देश गर्न सक्ने केही सीमित व्यक्ति हुन्छन् । त्यस्ता व्यक्तिमा अध्ययन, अनुभव एवं मननबाट हासिल गरेको बौद्धिकता त हुन्छ नै, सँगै अभियन्ता बन्न सक्ने आँट पनि हुन्छ । अन्तरजालका असामाजिक भन्न मिल्ने सञ्जालहरूको व्यापकताले गर्दा त्यस्ता प्रतिमान व्यक्तिहरूको स्वीकार्यता पनि घट्दै गएको छ । केही बौद्धिकहरू नृजातीय ऐक्यबद्धताले गर्दा स्थायी सत्ताको मतियार बन्दै गएका छन् । सार्वजनिक प्रतिक्रियासँग निरपेक्ष रहेर साँचो बोल्न सक्ने व्यक्तिहरूको खडेरीले निम्त्याउने संकटबारे चर्चासमेत नहुनु चिन्ताको विषय हो । विभिन्न भाषा र शैलीमा मिडियाका सबैथरी मञ्चबाट उही राष्ट्रवादको राग अलाप गरिरहेका बिकाउ बौद्धिकहरू अप्ठ्यारो परेका बेला भाग्नलाई चोर बाटो पहिल्याउनमात्र काम लाग्न सक्छन् । संघर्षको मोर्चामा मौलिक चिन्तनको आवश्यकता हुन्छ । र, त्यस्तो रचनात्मकता स्वतन्त्र चिन्तनबेगर सम्भव छैन।

मूल्यहरूको स्खलन

राजनीतिक प्रतिस्पर्धाबाट मूल्य एवं मान्यता समाप्त हुँदै जानु दलहरूको विश्वसनीयतामा आएको ह्रासको मुख्य कारण हो भन्दा फरक पर्दैन । जग्गा बेचेर कुनैबेला नेपाली कांग्रेसका नेता एवं कार्यकर्ता पालेका मधेसी गृहस्थ वा ज्यान जोखिममा राखेर तत्कालीन झापाली नक्सलपन्थीहरूलाई आश्रय दिएका जनजाति सामान्यजनले अब के÷कति कारणले तिनका पछाडि लाग्ने ? अभ्यस्तता एउटा कारण हुन सक्छ । राजनीतिक संलग्नता पनि अरू लत जस्तै हो, सितिमिति छुट्दैन । नभए १६ बुँदे षड्यन्त्रपछि पनि यति धेरै मधेसीले नेकालाई मत दिने थिएनन् । लाभ र लोभ अर्को उत्प्रेरक हुन सक्छ । व्यापारिक गिरोह, व्यावसायिक गुट एवं गैसस उद्यममा कायम  एकाधिकारले गर्दा एमालेले आफ्ना समर्थकलाई लोभ्याउने र रिझाउने क्षमता कायम राखेको छ । माओवादीहरूसँग त्यस्तो कुनै शक्ति नरहेकाले पुष्पकमल दाहालले आत्मसमर्पण गरेका हुन । तर तात्कालिक उत्पे्ररक तत्वले राजनीतिक सचेतता बरु कुन्द गर्छ, बढाउन सघाउँदैन । लाभ–हानिको हिसाबकिताब गरेर राजनीति गर्नेहरू अप्ठ्यारो परेका बेला कि रंग फेर्छन् वा विदेश लाग्छन्। 

विकास वा समृद्धि जस्ता नारा प्रक्रिया हुन्, राजनीतिक मूल्य वा मान्यता होइनन् । पछि गएर गलत वा सही जे ठहरिए पनि समय, काल र परिस्थिति सुहाँउदो राजनीतिक दर्शन प्रतिपादन गर्न सक्ने बिपी कोइराला वा मदन भण्डारी जस्ता राजनेता नेपालमा छैनन् । दुर्भाग्यवस त्यस्तो क्षमतावान चिन्तक राजनीतिक वृत्तबाहिर पनि देखापरेको छैन । स्वाभाविक हो, देशमा भविष्य नदेख्नेहरू पैतालाले मत खसाल्दै दिनहुँ बाहिरिन्छन् । भारतको बेंगलुरू जस्तो महानगरमा मात्र नेपालको सामान्य सहरी जनसंख्याभन्दा बढी नेपाली हुनु वा कतारमा कतारी नागरिकभन्दा ज्यादा नेपाली श्रमिक पुग्नु देशभित्र कामको अभावले गर्दामात्र होइन । कृषिको के कुरा, निर्माण क्षेत्रमा समेत नेपाली श्रमिकको उपलब्धता न्यून छ । वर्तमान अवस्थाबाट विरक्त एवं भविष्यबाट भरोसा उठेकाले ठगठाग गरेर गुजारा गर्न असमर्थ सामान्यजन हुलका हुल बाहिरिन हतारिएका हुन्।

विश्वास बढाउने मुख्य उपाय पूर्वकीर्तिमान हो । प्राधिकार ओलीको छवि समाजलाई जोड्नुभन्दा तोड्ने किसिमको छ । त्यसपछि कार्यसम्पादनले आश जगाउन सक्छ । त्यो कुरा धेरै हदसम्म ओलीका सहयोगीहरूको छनोटले देखाउनेछ । मिडियाले भने आफ्नो गुमेको विश्वसनीयता हासिल गर्न नृजातीय विरूदावली गाउनुको साटो आलोचना एवं विसम्मतिको संस्कार बढाउदै लैजानु जरुरी छ । खोजमूलक समाचार आफैँमा राम्रो कुरा हो तर त्यससँगै व्यक्तिभन्दा प्रवृत्ति सुधारका लागि विवेचनात्मक अन्वेषणको आवश्यकता पनि उत्तिकै छ । मिडियामार्फत समग्र देशले आफैँसँग सम्वाद गरिरहेको हुन्छ भन्ने भनाइ छ । त्यस्तो क्षमता निरन्तर विकसित गरिरहनुको विकल्प हुँदैन ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस