विज्ञानले गुमाएका अवसरहरू
०२ साउन २०७०
•
१८ मिनेट पाठ
विज्ञानले गुमाएका अवसरहरू
हाम्रो देशमा अघिल्लो सरकारले गरेका कतिपय राम्रै निर्णयलाई पनि पछि आएका सरकारले निरन्तरता नदिने वा उल्टाउने प्रवृत्ति छ। यस्तै प्रवृत्तिका कारण विगतमा देशले विज्ञान प्रविधिको विकास गर्ने राम्रा अवसरहरू गुमाएका थिए।सन् १९८६। राजा वीरेन्द्रको जर्मन भ्रमण थियो। भ्रमणको बेला जर्मन सरकारसंग सहयोगका लागि अनुरोध गर्न त्रिभुवन विश्वविद्यालयको कुनै प्रस्ताव भए पेश गर्न त्रिविका उपकुलपतिलाई भनिएको रहेछ। लामो समयसम्म जर्मनीमा अध्ययन गरेका त्रिविका प्राध्यापक भएकाले होला, त्रिविका लागि जर्मनीबाट प्राप्त गर्न सकिने सहयोगका लागि उपयुक्त प्रस्तावबारे राय सुझाव लिन उपकुलपतिले यस पंक्तिकारलाई सम्पर्क गरेका थिए। त्यतिबेला पंक्तिकार कीर्तिपुरस्थित वनस्पतिशास्त्र केन्द्रीय विभागमा कार्यरत थियो।

त्यतिबेला त्रिविअन्तर्गतका चिकित्सा अध्ययन संस्थान, वन विज्ञान अध्ययन संस्थान, इन्जिनियरिङ अध्ययन संस्थान र कृषि अध्ययन संस्थानजस्ता प्राविधिक विषयका अध्ययन संंस्थानको पूर्वाधार निर्माण र मानव संसाधन विकास गर्न जापान, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानाडालगायतका विभिन्न मित्र राष्ट्रले ठूलो आर्थिक एवं प्राविधिक सहयोग उपलब्ध गराउँदै आएका थिए। तर, विज्ञान संकाय भने प्राविधिक अध्ययन संस्थानका तुलनामा उपेक्षित अवस्थामा थियो। विज्ञान संकायलाई प्राविधिक संस्थान नभई मानविकि, व्यवस्थापनजस्तै गैरप्राविधिक संकायको तहमा राखिएको थियो। विज्ञान संकायमा अन्य प्राविधिक संस्थानमा जस्तो कुनै प्रकारको वैदेशिक सहयोग उपलब्ध थिएन। विज्ञान संकायअन्तर्गतका क्याम्पसमा प्रयोगशालाको पूर्वाधारको अभाव थियो। फलस्वरूप, त्रिविका क्याम्पसमा विज्ञानको गुणस्तरीय शिक्षा दिन सकिरहेका थिएनन्।

प्राकृतिक विज्ञान नै प्राविधिक विज्ञानको जननी भएकाले प्राविधिक विज्ञानको विकासमा जस्तै त्रिविले प्राकृतिक विज्ञानको विकासलाई पनि प्राथमिकता दिनुपर्ने र विज्ञान संकायलाई अध्ययन संस्थानमा परिणत गर्नुपर्ने पंक्तिकारको धारणा थियो। तसर्थ अरू प्राविधिक अध्ययन संस्थानलाई विभिन्न मित्र राष्ट्रले प्राविधिक र आर्थिक सहयोग गरेजस्तै विज्ञान अध्ययन संस्थानको पूर्वाधार निर्माण र सुदृढीकरणका लागि जर्मनीको प्राविधिक तथा आर्थिक सहयोग प्राप्त हुनसके त्रिविअन्तर्गतको विज्ञान शिक्षाको गुणस्तरमा अभिवृद्धि हुने थियो भन्ने राय सुझाव त्यतिबेला पंक्तिकारले त्रिविका उपकुलपतिलाई दिएको थियो। जर्मनी प्राकृतिक विज्ञानको क्षेत्रमा निकै विकसित राष्ट्र भएकाले पनि यस क्षेत्रको विकासमा त्रिविले जर्मनीबाट सहयोग प्राप्त गर्नु उचित हुने थियो भन्ने पंक्तिकारको सोच थियो। उपकुलपतिलाई पंक्तिकारको सुझाव उचित लागेको थियो र उपकुलपतिले पंक्तिकारलाई यसबारे एक अवधारणा पत्र तयार पारि उपलब्ध गराउन आग्रह गरेका थिए। उपकुलपतिको आग्रहबमोजिम करिब तीन पानाको एउटा अवधारणा पत्र तयार पारेर पेश गरेको थिएँ। सोही अवधारणा पत्र उपकुलपतिले राजा वीरेन्द्रको जर्मनी भ्रमणको बेला त्रिविकोतर्फबाट जर्मन सहयोगका लागि पेश गरेका थिए।

त्रिविले पेश गरेको विज्ञानसम्बन्धी प्रस्तावबारे राजा वीरेन्द्रको भ्रमणताका जर्मनीका उच्च पदाधिकारीसित सायद छलफल भएको थियो र जर्मन सरकार उक्त प्रस्तावप्रति सकरात्मक थियो। वीरेन्द्रको भ्रमण सम्पन्न भएपछि उक्त प्रस्तावलाई अघि बढाउन त्रिविले पंक्तिकारलगायत विज्ञान केन्द्रीय विभागका अन्य विभागीय प्रमुख एवं वरिष्ठ प्राध्यापकको एक कार्यटोली गठन गरी प्रस्तावसम्बन्धी विस्तृत कार्य योजना तयार पार्न लगाएको थियो। उक्त कार्यटोलीले विज्ञान संकायलाई प्राविधिक संस्थानको रूपमा विकास गर्नुपर्ने रायसहित जर्मन सहयोगका लागि त्रिवि विज्ञान अध्ययन संस्थानको सुदृढीकरण गर्न पन्ध्रवर्षे योजना तयार पारेर त्रिविलाई प्रतिवेदन पेश गरेको थियो। उक्त योजनामा जर्मन सरकारको सहयोगमा कीर्तिपुरलगायत अन्य क्याम्पसमा विज्ञान विषयको अध्यापन र अनुसन्धान सुदृढीकरण गर्ने विस्तृत कार्य योजना उल्लेख गरिएको थियो।    

नेपाल सरकारले उक्त पन्ध्रवर्षे योजना सन् १९८६ मा नेपाल आएका उच्चस्तरीय जर्मन प्रतिनिधि मण्डललाई आर्थिक एवं प्राविधिक सहयोगका लागि आधिकारिक रूपमा प्रस्तुत गरेका थिए। सन् १९८७ मा जर्मन सरकारकोतर्फबाट जर्मन संस्था जिटिजेडले नेपालले पेश गरेको योजनाको प्रारम्भिक अध्ययन गरी उक्त योजनाको सम्भावनाबारे विस्तृत अध्ययन गर्न सिफारिस गरेको थियो। जिटिजेडले नेपालजस्तो विकासोन्मुख देशको समग्र आर्थिक विकासका लागि देशमा विज्ञान विषयको अध्यापन र अनुसन्धानमा जोड दिनुपर्ने ठहर गर्दै जर्मन सरकारलाई उक्त परियोजनाका लागि आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गर्न सिफारिस गरेको थियो।

परियोजनाको सफल कार्यान्वयन र जर्मन सरकारको सहयोगका लागि विस्तृत अध्ययन गर्न जिटिजेडले नेपाल र जर्मनीका वैज्ञानिक रहेको एक संयुक्त कार्यटोली गठन गरेको थियो। टोलीमा जर्मनीकोतर्फबाट उल्फगांग क्लाउस, लुडविक मास र क्लाउस स्नित्जर रहेका थिए भने नेपालकोतर्फबाट पंक्तिकार, शंकरप्रसाद प्रधान र छवीलाल गजुरेल रहेका थिए। कार्यटोलीले त्रिविअन्तर्गतका विज्ञान विषय अध्यापन गरिने देशका विभिन्न क्याम्पसको स्थलगत अध्ययन गर्नुका साथै नेपाल सरकार तथा त्रिविका सम्बन्धित पदाधिकारीसंग विस्तृत छलफल गरेका थिए। कार्यटोलीले त्रिविमा विज्ञान विषयको अध्यापन र अनुसन्धानमा देखापरेका समस्या र त्यसको समाधानका उपायहरूबारे आफ्नो राय पेश गर्नुुकासाथै परियोजनाको सफल कार्यान्वयनका लागि आवश्यक सुझाव र सिफारिससहित जर्मन सरकारको अािर्थक एवं प्राविधिक सहयोगका लागि प्रतिवेदन पेश गरेको थियो। प्रतिवेदनमा सानोठिमी क्याम्पसलाई विज्ञान प्रविधि अध्ययन संस्थानको केन्द्रीय क्याम्पसका रूपमा विकसित गर्न प्रस्ताव गरिएको थियो। त्यसैअनुरूप त्रिविद्वारा विज्ञान संकायलाई प्राविधिक संस्थानमा परिणत गरी डीन कार्यालयलाई  कीर्तिपुरबाट सानोठिमी क्याम्पसमा सारिएको थियो।  

नेपाल–जर्मन संयुक्त कार्यटोलीको प्रतिवेदन र सिफारिसबमोजिम जर्मन परियोजना लागु हुने निश्चित भइसकेको थियो। जर्मन सरकार उक्त परियोजना लागु गर्न पहिलो चरणका लागि एक करोड साठी लाख जर्मन मार्क आर्थिक सहयोग उपलब्ध गराउन सहमत भएको थियो। परियोजना लागु गर्न जर्मन सरकारबाट केही रकम प्राप्तसमेत भइसकेको थियो। तर, यसैबीच नेपालमा २०४६ सालको आन्दोलन सुरु भयो र देशमा राजनितिक व्यवस्थामा परिवर्तन आयो। राजनीतिक परिवर्तनले विज्ञान प्रविधिको विकासजस्तो विसुद्ध प्राज्ञिक कार्यलाई असर नपार्नु पर्ने थियो। तर, राजनीतिक परिवर्तनपछि बनेका सरकारले उक्त परियोजनालाई कार्यान्वयन गर्न आवश्यक पहल गरेनन् र उक्त परियोजना ओझेलमा परी कार्यान्वयन हुन सकेन। उक्त परियोजना लागु भएको भए त्रिविको विज्ञान अध्ययन संस्थान पनि त्रिविका अन्य प्राविधिक संस्थानजस्तै सबल बन्ने थियो।  देशले विज्ञान क्षेत्रमा विकास गर्ने एउटा राम्रो अवसर गुमाएको थियो।

राज्यको यस्तै उदासीनताले गर्दा सन् १९८९ मा विज्ञान प्रविधिको विकास गर्ने एउटा अर्को अवसर पनि देशले गुमाएको थियो। सन् १९८९ को मे २१ देखि जुन १० सम्म काठमाडौँमा इटालीको टि्रष्टेस्थित 'इन्टरनेसनल सेन्टर फर थ्योरेटिकल फिजिक्स (आइसिटिपि)को सहयोगमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, नास्ट (तत्कालीन रोनास्ट) र त्रिविले  संयुक्तरूपमा 'काठमाडौँ समर स्कुल अफ् फिजिक्स'को आयोजना गरेको थियो। उक्त कार्यक्रमको उद्देश्य बंगलादेश, चीन, श्रीलंका, पाकिस्तान, भारत र नेपालका युवा भौतिकशास्त्रीलाई भौतिकशास्त्रसम्बन्धी नविनतम ज्ञान प्रदान गर्नु थियो। नोवेल पुरस्कार विजेता भौतिकशास्त्रीहरू अब्दुस सलाम र फिलिप एन्डरसनका साथै विभिन्न देशका अन्य २० जना विश्वप्रख्यात भौतिकशास्त्रीले कार्यक्रममा सहभागी युवा भौतिकशास्त्रीहरूलाई प्रशिक्षण दिएका थिए। पहिलोपल्ट यति ठूलो संख्यामा विश्वप्रख्यात भौतिकशास्त्रीको नेपालमा जमघत भएको थियो।

कार्यक्रमको उदघाटन समारोहमा नेपालजस्तो विकासोन्मुख देशको आर्थिक सामाजिक विकासमा विज्ञान प्रविधिको महत्वपूर्ण भूमिकाबारे जोड दिँदै आइसिटिपीका संस्थापक एवं प्रमुख अब्दुस सलामले नेपालमा विज्ञान प्रविधिको विकासका लागि काठमाडौँमा एउटा अन्तर्राष्ट्रिय विज्ञान तथा प्रविधि केन्द्र (इन्टरनेसनल सेन्टर फर साइन्स एन्ड टेक्नोलोजी) को स्थापना गर्न नेपाल सरकार समक्ष प्रस्ताव राखेका थिए। उच्चकोटीको वैज्ञानिक अनुसन्धान हुने उक्त केन्द्रको स्थापना गर्न आवश्यक विशेषज्ञ उपलब्ध गराउन र भौतिकपूर्वाधार निर्माण गर्न आवश्यक आर्थिक तथा प्राविधिक सहयोग जुटाउन आफूले अन्तर्राष्ट्रिय स्तरमा प्रयास गर्ने प्रतिबद्धतासमेत अब्दुस सलामले व्यक्त गरेका थिए। प्रस्तावित अन्तर्राष्ट्रिय विज्ञान तथा प्रविधि केन्द्रले नेपालमा विज्ञान र प्रविधिको विकासमा ठूलो भूमिका निर्वाह गर्नुका साथै अन्तरराष्ट्रिय स्तरमा समेत सो केन्द्र महत्वपूर्ण बन्नेमा अब्दुस सलाम विश्वस्त थिए।  

अब्दुस सलामको प्रस्तावलाई स्वीकार गर्दै नेपालमा उक्त अन्तर्राष्ट्रिय विज्ञान तथा प्रविधि केन्द्र स्थापना गर्र्न शिक्षामन्त्रालयले पंक्तिकारलगायत त्रिवि र नास्टका वरिष्ठ वैज्ञानिकसहितको पाँच सदस्यीय कार्यदल गठन गरेको थियो। कार्यदलले केन्द्रको विस्तृत संरचना, स्वरूप, बजेट र कार्यक्रमको प्रारूप तयार पारेर सरकारलाई प्रतिवेदन पेस गरेको थियो। प्रतिवेदन कार्यान्वयनबारे अब्दुस सलामसंग विस्तृत छलफल गर्न तत्कालीन शिक्षामन्त्री प्रतिवेदनसहित इटालीको टि्रष्टे पुगेका थिए।  उक्त प्रतिवेदन कार्यान्वयन गर्न अब्दुस सलाम कटिवद्ध थिए।

अब्दुस सलामको सदभाव र सहयोगले उक्त केन्द्र निश्चय पनि स्थापना हुने थियो। अब्दुस सलामकै सक्रियतामा इटालीको टि्रष्टेस्थित 'इन्टरनेसनल सेन्टर फर थ्योरेटिकल फिजिक्स (आइसिटिपि) र 'द थर्ड वर्ल्ड एकेडेमी अफ साइन्सेज, ट्वास'को स्थापना भएको थियो। लामो समयदेखि विकासोन्मुख राष्ट्रमा विज्ञान प्रविधिको विकास र विस्तारमा ठूलो योगदान पुर्‍याउँदै आएका पाकिस्तानी मूलका नोबेल विजेता वैज्ञानिक अब्दुस सलामको नेपालप्रति ठूलो सद्भाव थियो। अन्तर्राष्ट्रिय जगतमा उनको ठूलो प्रतिष्ठा र प्रभाव थियो। उनको अग्रसरतामा नेपालका लागि प्रस्तावित अन्तर्राष्ट्रिय विज्ञान तथा प्रविधि केन्द्र स्थापना गर्र्न अन्तर्राष्ट्रिय स्तरमा आवश्यक आर्थिक तथा प्राविधिक सहयोग प्राप्त हुनसक्नेमा सन्देह थिएन। प्रस्तावित अनुसन्धान केन्द्र स्थापना हुनेमा नेपालको वैज्ञानिक समुदाय विश्वस्त थियो। यसैबीच नेपालमा सरकार परिवर्तन भयो। नवगठित सरकारले प्रस्तावित अनुसन्धान केन्द्र स्थापना गर्नेतर्फ गम्भीर चासो देखाएन। फलतः अनुसन्धान केन्द्र स्थापना गर्ने योजना त्यतिकै सेलाएर गयो र कार्यान्वयन हुन सकेन।

जर्मन परियोजना लागु भएको भए र नेपालमा अब्दुस सलामको प्रस्तावअनुसार अन्तर्राष्ट्रिय विज्ञान तथा प्रविधि केन्द्र स्थापना भएको भए सायद नेपालले आज विज्ञान प्रविधिको क्षेत्रमा ठूलो प्रगति गरिसक्ने थियो। तर, एउटा सरकारले गरेको उचित निर्णयलाई समेत पछि आउने सरकारले निरन्तरता नदिने हाम्रो प्रवृत्ति र विज्ञान प्रविधिको विकासप्रति राज्य उदासीन भएकै कारण विगतमा देशले विज्ञान प्रविधिको विकास गर्ने महत्वपूर्ण अवसरहरू गुमाएको थियो। भविष्यमा यस्ता  गलत प्रवृत्ति नदोहोरियोस भन्नेमा हामी सबै सचेत हुनु जरुरी छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस