एजेण्डा आधारित निर्वाचन र मोर्चाबन्दी
२१ चैत्र २०६९
•
१४ मिनेट पाठ
एजेण्डा आधारित निर्वाचन र मोर्चाबन्दी
राजनीतिक दलबीच असहज नै भए पनि सहमति भइसकेपछि चुनावी सरकार गठन भएको छ। लोकतान्त्रिक मूल्य/मान्यता र शक्ति पृथकीकरणबारे चर्को आवाज उठिरहँदा पनि बहालवाला प्रधान न्यायाधीशको नेतृत्वमा चुनावी मन्त्री परिषद् बन्न पुग्यो। अन्य दलका लागि यो बाध्यकारी विकल्प थियो तर एमाओवादीका लागि भने रोजाईको विषय। यो प्रकृतिको चुनावी सरकार बन्नासाथ एमाओवादी र मधेसी मोर्चालाई जिताउने 'डिजाइन' भन्ने शंका उब्जियो। निर्वाचनको मिति नै तय नहुँदै प्रचण्डले चुनावी गठबन्धनको उद्घोष गरेपछि उक्त शंकालाई बल पुगेको छ।
संविधान सभा निर्वाचनका लागि बाबुराम भट्टराई सरकारको बहिर्गमन र चुनावी सरकारको गठन अनिवार्य थियो। अहिले निर्वाचन आयोगलाई पूर्णता दिने र चुनावका लागि बाधा अडकाउ फुकाउने कार्यसहित निर्वाचनका पूर्वाधार तयार गर्ने क्रम अघि बढेको छ। निर्वाचन आयोगसँगै अख्तियारलगायत्का संवैधानिक निकायलाई पूर्णता दिने निर्णय पनि भयो। यति लामो समयसम्म खाली रहेका संवैधानिक निकायहरुमा पद पूरा गर्ने निर्णयपछाडिको रहस्य त लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुख बनाउने रहेछ। अख्तियारले नै डामेका कार्कीजस्ता व्यक्तिलाई भ्रष्टाचारको छानविन गर्ने अख्तियारजस्तो संवैधानिक निकायको प्रमुख बनाउनुको नियत के थियो? त्यसमा सबै दलका नेताहरुको आमसहमति कसरी जुट्न सक्यो? कतै आफू भ्रष्टाचारको जालबाट बच्ने प्रपञ्चस्वरूप 'सुरक्षा ट्याब्लेट' का रूपमा कार्कीलाई ल्याउने सम्झौता भएको त थिएन? प्रचण्ड-बाबुराम-गच्छदारहरु भ्रष्टाचारको फन्दाबाट उम्कन चाहन्छन्। कतै भ्रष्टाचारको गलपासोमा नफस्ने बुटीका रूपमा लोकमान सिंहलाई ल्याउन खोजिएकोे त होइन?




एजेण्डा आधारित निर्वाचन
अब हुने संविधान सभा निर्वाचन एक किसिमको जनमत संग्रह हुनेछ। हिजोको संविधान सभाले संविधान बनाउन नसक्नुको प्रमुख कारण दलबीच एजेण्डाहरुमा सहमति बन्न नसक्नु नै हो। खासगरी संघीयताका सवालमा रहेको विवाद नै संविधान नबन्नुको अन्तर्य थियो। एमाओवादी र मधेसवादी मधेसमा 'एक मधेस एक प्रदेश'को वकालत गर्ने र पहाडमा जातीय आधारमा धेरै प्रदेश बनाउने दोहोरो चरित्र देखाइरहेका छन्। पहाडका लागि जातीय पहिचानका कुरा गर्ने ती शक्ति मधेसमा जातीय, भाषिक, सांस्कृतिक पहिचान बेवास्ता गरिरहेका थिए। पहाडमा जनजातिका नाममा धेरै प्रदेश बनाएर टुक्राटुक्रा पार्ने अनि आधाभन्दा बढी जनसंख्या भएको तराई मधेसमा बढीमा दुई प्रदेश बनाउने अडान राख्नुको तात्पर्य के थियो? त्यो असफल रणनीति सफल बनाउन एमाओवादी, जनजातिवादी र मधेसवादीमा चुनावी गठबन्धन गर्ने, संविधान सभामा बहुमत ल्याउने, बाँकी एजेण्डा कार्यान्वयन गराउने र आफ्नो अनुकूलको संविधान बनाउने योजना देखिन्छ। संविधानका एजेण्डा त हिजै आन्दोलनबाट स्थापित भइसकेका छन्- संघीयता, शासकीय स्वरूप, धर्म निरपेक्षता आदि। ती एजेण्डा मिल्नेहरुका बीचमा मोर्चाबन्दी हुने सम्भावना देखिँदैछ।

एमाओवादी यतिबेला कृत्रिम एजेण्डा लिएर निर्वाचनमा जान खोज्दैछ। लोकतान्त्रीकरण कि अधिनायकवाद भन्ने दोसाँधमा छ माओवादी। माओवादको कोट फ्याँक्न र युद्धको धङधङी पनि छोड्न नसक्ने अनि लोकतन्त्र र प्रतिस्पर्धाका कुरा पनि गर्ने यो दोबाटोमा छ एमाओवादी र निर्वाचनमा पनि यसको असर पर्ने निश्चित छ। मधेसी दलहरु अहिले पनि मधेसी जनताका नाममा ब्याज खाइरहेका छन्। जुन सपना मधेसी जनतालाई बाँडियो, त्यो पूरा भयो कि भएन, उनीहरुले त्यसको हिसाबकिताब त यस चुनावमा चुकाउनैपर्ला। बरु सत्ता, शक्ति, पैसा र व्यक्तिगत फाइदाका लागि के नै गर्न बाँकी राखे उनीहरुले? मधेसी जनतालाई भर्यायङ बनाएर, मधेसी जनताको मतलाई अपमानित गर्नेगरी के/कस्ता खेल खेलिए? त्यसका साक्षी ती मधेसी जनता छन्। जनताले फेरि हिजोको हैसियत दिन्छन् भन्नेमा ती दल विश्वस्त छैनन्। मधेसका खास जनताका खास वर्गीय मुद्दामा उनीहरु कति गम्भीर भए? उनीहरु भूमि सुधारको पक्षमा किन छैनन्? जबकि मधेसको ठूलो समस्या भनेको भूमिको नै हो। भूमिहीन, गरिब, सुकुम्बासी जनताका पीडा उनीहरुले कहिल्यै सम्बोधन गरेनन्। त्यहाँको समस्या भनेको छुवाछुत र भेदभावको हो। अहिले पनि दलितले सिनो फाल्नुपर्ने नाङ्गो सामन्ती प्रथाको अवशेष बाँकी छ, बोक्सीका नाममा महिलाको ज्यान लिइन्छ, मुस्लिम महिलाहरुको अनुहारको बुर्का हट्न सकेको छैन। भूमिहीन, महिला, दलित, हली, कमैया, कमलरी, मुस्लिमहरुका समस्या र मुद्दा मधेसवादी दलहरुका प्राथमिकतामा कहिल्यै परेनन्।
जातका नाममा खोलिएका पार्टीहरुसँग पनि नयाँ चुनावी मुद्दा छैनन्। के तिनीहरु जातीयताको उद्घोष गरेर निर्वाचनमा जान सक्छन्? सक्दैनन् भने नयाँ पार्टीको औचित्य कसरी पुष्टि गर्न सक्लान्? जातीय मुद्दाले 'मार्केट' पाउनेवाला छैन। कुनै नेता आफ्नो अस्तित्व र राजनीतिक स्वार्थका लागि जातिवादी भएको नाटक गरे पनि नेपाली जनमत जातिवादी छैन। नेपाली जनता जातीय-साम्प्रदायिक विद्वेष होइन, जातीय सद्भाव चाहन्छन्। नेपालमा रहेका अनेकौं जाति/जनजाति युगौंदेखि सँगसँगै मिलेर सहकार्यका साथ बसेका छन्। कुनै विदेशी वा देशीय शक्तिले आफ्नो स्वार्थका लागि जातीय भावना भड्काउन खोजे पनि नेपाली जनता जातीय सद्भाव कायम राख्न सक्षम छन्। भोलि कुनै पनि समूह जातीय नारा लिएर जनताबीच जान्छ भने निर्वाचनमा उसको शर्मनाक हार हुनेछ र गोरेबहादुर खपाङ्गीहरुको नियति भोग्नुपर्नेछ। नेपाली समाज, नेपाली मनोविज्ञान जातीय संकीर्णताको साँघुरा दिवारभन्दा माथि उठिसकेको छ। जातीय साम्प्रदायिक सद्भाव र राष्ट्रिय एकता नेपालीहरुको संस्कृति बनिसकेको छ।

अर्कोतिर कतिपय दलबीच एजेण्डामा होइन, दलीय अस्तित्वका लागि गठबन्धन हुने छाँट देखिँदैछ। दलहरुको गठबन्धनको पूर्वाभ्यास भनेको पराजयको पूर्वाभाषको कारण पनि हो। एमाओवादी र मधेसवादीहरु हिजोको जनमत खस्किएको, पार्टी विभाजनले छिन्नभिन्न भएको अवस्थामा अस्तित्वका लागि पनि चुनावी गठजोडको प्रयास गरिरहेका छन्।
अबको निर्वाचनमा आफ्नो 'पोलिटिकल स्पेस' का लागि कमल थापाहरु घोर दक्षिणपन्थी एजेण्डा बोकेर उत्रनेछन्। कति 'सेल' होलान् तर उनीहरु हिन्दु अधिराज्य, संवैधानिक राजतन्त्रजस्ता मुद्दामा निर्वाचन लड्नेछन्। नेपाली जनता धार्मिक संकीर्णतावादी छैनन्। कमल थापाहरुले जतिसुकै धर्म सापेक्षताको बाँसुरी बजाए पनि त्यसको पछि कोही लाग्नेवाला छैनन्। संवैधानिक राजतन्त्र र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्ने कुरा गर्नु केही कट्टर हिन्दुवादी र राजावादीहरुको भोट संकलन गर्ने दाउमात्र हो।

काँगे्रसको समस्या भनेको परिवर्तनलाई आत्मसात गर्न र अग्रगमनलाई स्वीकार गर्न नसक्ने हो। तर पनि यतिबेला परिवर्तन र लोकतन्त्रको रक्षा गर्दै नयाँ संविधान बनाउने सवालमा एमाले र काँगे्रसबीच धेरै सामीप्यता देखिन्छ। जनअधिकार र बहुपहिचानसहितको संघीयता, समावेशी लोकतन्त्र, धर्मनिरपेक्षता, शक्ति सन्तुलनसहितको शासकीय स्वरूप, आर्थिक सामाजिक रुपान्तरण आज नेपाली जनताका एजेण्डा हुन्। यी एजेण्डा मिल्ने शक्तिबीच निर्वाचनमा सहमति र सहकार्य जरुरी छ। नेकपा-माओवादीको ढुलमुल र अलमलले यो निर्वाचनलाई अनिश्चित बनाइदिएको छ। पहिलो कुरा माओवादीले नै बुझ्नुपर्ने हो कि यो निर्वाचन सरकार बनाउनका लागिभन्दा संविधान सभाबाट संविधान बनाउनका लागि हो, त्यसैले माओवादी निर्वाचनबाट भाग्न मिल्दैन। उसले राजनीतिक मूलप्रवाहीकरणको मार्ग समात्ने हो भने निर्वाचनको घेेरा बाहिर जान मिल्दैन। अर्कोतिर माओवादीलगायत्का दललाई सहभागी नगराई गराइएको चुनाव कति सहज होला? निर्वाचन सार्थक बनाउन सबै राजनीतिक शक्तिहरु सहभागी हुनैपर्छ। द्वन्द्व बाँकी नराख्नका लागि पनि माओवादीलाई निर्वाचनमा ल्याउनैपर्छ। संविधान निर्माण भनेको शान्ति प्रक्रियाको पूर्णता हो। शान्ति प्रक्रियाको एक हिस्सा बाहिर रहेर कसरी शान्ति प्रक्रियाले पूर्णता पाउँछ? शान्ति प्रक्रिया सफल बनाउन संविधान बन्नुपर्छ, संविधान बनाउन सबै दल सहभागी निर्वाचन हुनुपर्छ। त्यसैले माओवादीसँग तत्काल संवाद गरेर निर्वाचनमा सहभागी हुने वातावरण बनाउनैपर्छ।

विगत संविधान सभाको असफलतापछि चुनावप्रति जनतामा उत्साह छैन, संविधान नबनाउने दलहरुप्रति विश्वास घटेको छ। अहिले पनि निर्वाचनको अनिश्चितता कायमै छ। असारभित्र चुनाव गर्ने घोषणा गरियो तर असारमा निर्वाचन हुने कुनै संकेत पनि छैन। चुनाव नै हुन्छ/हुँदैन भन्ने अन्योलबीच असारमा हुन्छ भन्ने कुरा त कोही पत्याउन तयार छैन। असारमा चुनावको मिति तोकेर जनतालाई फेरि एकपटक मूर्ख बनाउने कामसम्म त होला तर चुनाव हुँदैन। राजनीतिक दलहरु नै असारमा निर्वाचन गर्ने मनस्थितिमा छैनन्। प्रचण्डलगायत्का नेताहरुका सार्वजनिक अभिव्यक्तिले पनि त्यही कुरा बताइरहेका छन्। प्रचण्डको त यही सरकारलाई पनि असफल बनाएर आफू नेतृत्वमा आउने दाउपेच पनि हुन सक्छ। यो सरकार त जतिसक्यो आयु तन्काउनेमा हुने नै भयो। कमसेकम निर्वाचनका लागि सहज वातावरण बनाएर फेरि परिवर्तन नगर्नेगरी निर्वाचनको मिति तोकेपछि नै चुनावी माहोल तयार हँुदै जानेछ। तब नै निर्वाचनको सुनिश्चितता पनि हुनेछ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस