चिनुआ अचेबे र आन्तरिक उपनिवेश
१९ चैत्र २०६९
•
१८ मिनेट पाठ
चिनुआ अचेबे र आन्तरिक उपनिवेश
आमरूपमा भन्ने गरिन्छ, साहित्य भनेको समाजको ऐना हो। तर, समाजको दशामात्रै होइन, दिशा पनि देखाउने साहित्यलाई के नामले सम्बोधन गर्ने? देशकै भविष्य कस्तो हुँदैछ भन्ने स्पष्ट संकेत दिने साहित्यलाई समाजको ऐनामात्रै भन्नु कत्तिको उचित होला? यस्तै प्रश्न उठ्छन्, अफ्रिकी देश : नाइजेरियाका साहित्यकार चिनुआ अचेबेले लेखेका देशकै दिशा र भविष्य बताउने उपन्यास पढ्दा। अचेबेको 'अ म्यान अफ द पिपुल' नामक उपन्यासले आफ्नो देशमा सेनाभित्रको एउटा तप्काले गर्न लागेको सत्तापलटको भविष्यवाणी गरेर तहल्का मच्चाएको थियो। सन् १९६६ मा उक्त उपन्यास प्रकाशित भएको एक महिनापछि नै नाइजेरियामा पहिलो सैनिक विद्रोह भएको थियो, जसको पूर्वाभास अचेबेले आफ्नो उपन्यासमा दिएका थिए।
सैनिक विद्रोहको पूर्वाभास र दमन
उपन्यासको पाण्डुलिपि पढेपछि अचेबेका साथी तथा कवि, नाटककार जोन पेपेर क्लार्क (वेकेडेरेमो)ले घोषणा गरेका थिए, 'चिनुआ, मलाई थाहा छ, तिमी त भविष्यवक्ता नै हौ। यस किताबमा भएका सबै कुरा भइसकेका छन्, सैनिक विद्रोहबाहेक।' त्यही हुन बाँकी भनिएको सैनिक विद्रोह पनि नाइजेरियाको राजनीतिक इतिहासमा अनुवाद भइछाड्यो, त्यो पनि निकट भविष्यमै। अचेबेले शंका गरेझैँ उपन्यास प्रकाशन भएको एक महिनापछि नै सैनिक विद्रोह भयो र उनका अरु भविष्यवाणी पनि मिल्न गए। चाहे त्यो सैनिक शासनको ममिला होस् या गृहयुद्धको या देशव्यापी अशान्ति र भ्रष्ट राजनीतिज्ञको संख्यामा वृद्धिसँगै जनआक्रोशको बिस्फोटको कुरा होस्।
सैनिक विद्रोहको पूर्वाभास देखाउनु देश र जनताका लागि हितकर भए पनि उपन्यासकारका लागि भने खतरनाक साबित भयो। पहिलो सैनिक विद्रोहलाई दबाउन सफल अर्काे सैनिक विद्रोहकारी शक्तिले उनीमाथि सैनिक विद्रोहबारे जानकारी पहिल्यै भएको शंकासमेत गर्योि र चेपुवामा पार्न थाल्यो। यस्तो अवस्थामा उनी आफ्ना बालबालिकासहित आफ्नी गर्भवती श्रीमतीसँगै दक्षिण-पूर्वको सुरक्षित शहरतिर भाग्नुपर्योी। तर, उपन्यासले नाइजेरियाको लामो कालखण्ड सैनिक शासन भएर गुज्रने जुन संकेत गरेको थियो, त्यो सही ठहरिएकाले उनको ख्यातिलाई भने शिखरमै पुर्याणयो, उपन्यासकारले जस्तोसुकै यातना र दमन भोग्नु परे पनि।
यस्तो यातना र दमनको नेपथ्यमा नाइजेरियाको जटिल राजनीतिक, आर्थिक र सांस्कृतिक पक्ष लुकेर रहेको छ। पहिलो पटक सैनिक विद्रोह गर्ने युवा सैनिकहरू इग्बो जातिका थिए, जो दक्षिण-पूर्वी नाइजेरियाका वामपन्थी विचारका थिए। उनीहरूसँग अचेबेको जाति, क्षेत्र, विचार मिल्नु कुनै संयोगमात्रै थिएन। तर, उनीहरूले गरेकोजस्तो सैनिक विद्रोहको पूर्वाभासलाई साहित्यमा उतार्नुचाहिँ समयको पदचाप सुन्ने उनको क्षमताको परिचायक थियो। धेरै स्वाभाविकता र केही संयोगलाई आधार मानेर उनीमाथि दमन हुन थाल्यो। यस्तो दमन पहिलो सैनिक विद्रोहको असफलतापछि सबैजसो इग्बो जातिविरुद्ध नरसंहारको तहसम्म विस्तृत र सघन भयो।
साम्राज्यबाट मुक्तिपछि नाइजेरियालाई संघीय गणराज्य घोषणा गरिए पनि राज्यलाई वैज्ञानिक ढंगले पुनर्संरचना नगरिँदा जातीय र क्षेत्रीय विद्वेषले हिंसात्मक रूप लियो। मध्य र उत्तरी नाइजेरियामा आफ्नो जातिविरुद्ध लक्षित नरसंहारै हुन थालेपछि इग्बो जाति दक्षिण-पूर्वी नाइजेरियालीहरूले 'बाइफ्रा गणराज्य'का रूपमा अलग्गै देश निर्माणका लागि सशस्त्र संघर्ष थाले। अचेबे पनि जातीय र क्षेत्रीय विभेद तथा नयाँखालको नस्लवाद र उपनिवेशवादविरुद्ध संघर्षमा उत्रने क्रममा नयाँ मुलुक : बाइफ्रा गणराज्यका अन्तर्राष्ट्रिय दूतसम्म बन्न भ्याए। हुन त सन् १९६७ देखि १९७० सम्म भएको गृहयुद्धको क्रममा १० लाख इग्बो जनता मारिए भने कयौँ मानिस भोकमरी र अनिकालबाट मरे, तर उनीहरूको स्वशासनको माग भने मरेन, उत्पीडित जाति, भाषा र क्षेत्रको अधिकार स्थापना गर्न शासक वर्ग बाध्य भयो। यही संघर्षबाट खारिएका अचेबे कयौँ बमवर्षा र हत्या प्रयाससँगै कार दुर्घटनाबाट पनि बचेर जीवनको लामो कालखण्डसम्म राजनीति, शिक्षा र साहित्यमा आमूल परिवर्तनका लागि संघर्षरत् रहे।
राजनीतिक आलोचना र हस्तक्षेप
अफ्रिकी साहित्यका अध्येता तथा अनुवादक आनन्दस्वरूप वर्माका अनुसार, अचेबे नाइजेरियाका त्यस्ता साहित्यकारहरूमध्ये एक थिए, जसले आफ्ना उपन्यासमार्फत् नाइजेरियाली साहित्यलाई अन्तर्राष्ट्रिय स्तर दिए, तर उनलाई चाहिँ साहित्यमा नोबेल पुरस्कार दिइएन। नोबेल पुरस्कार विजेता दक्षिण अफ्रिकी साहित्यकार नदिन गोर्दिमरद्वारा 'अफ्रिकी साहित्यका पिता' मानिएका अचेबेको मृत्यु चैत ८ गते ८२ वर्षको उमेरमा अमेरिकामा भएको छ। नोबेल शान्ति पुरस्कार विजेता नेल्सन मण्डेला उनलाई यसरी सम्झन्छन्, 'ऊ एउटा यस्तो लेखक थियो, जोसित समय बिताउँदा जेलका भित्ता ढल्थे।' नोबेल पुरस्कार विजेता नाइजेरियाली साहित्यकार वोल सोयन्का भन्छन्, 'हामीहरूले गुमाएका छौँ एक दाजु, एक सहकर्मी, एक मार्गनिर्देशक र एक अथक योद्धा।'
अचेबे वास्तवमा समाजलाई आफ्नै अनुहार देखाउने ऐना साहित्य लेख्ने साहित्यकारमात्रै थिएनन्, दिशानिर्देश र भविष्यवाणी गर्ने लेखकसँगै प्राध्यापक, शिक्षाविद्, राजनीतिज्ञ र चिन्तक पनि थिए। अन्तर्राष्ट्रिय पत्रिका 'फरेन पोलिसी' द्वारा वर्ष २०१२ मा आफ्ना १ सय जना वैश्विक चिन्तकको सूचीमा ६८ औँ नम्बरमा राखिएका अचेबेको राजनीतिक भूमिका पनि उल्लेखनीय छ। उनको राजनीतिक भूमिका नेपाली जनता, लेखक समुदाय र नेताहरू तप्काका लागि आँखा खोल्नेखालको छ। उनले पनि नाइजेरियाको राष्ट्रिय राजनीतिमा राजनीतिक दलमार्फत् नै हस्तक्षेप गर्न खोजेका थिए। प्राध्यापन पेसाबाट अवकाश पाएपछि वाम पक्षधर 'पिपुल्स रिडेम्सन पार्टी' का राष्ट्रिय उपाध्यक्षसमेत बनेका अचेबेलाई पछि लाग्यो, 'उत्तरदायित्व बहन गर्ने मामिलामा व्यक्तिगत नमुना बनेर वास्तविक राजनीतिज्ञ बन्ने काममा राजनीतिज्ञहरूका अनिच्छा वा अक्षमता नाइजेरियाली राजनीतिको रोग हो।'
यसरी उनले कुशल सर्जनले जस्तै ब्रिटिस साम्राज्यको उपनिवेशको मात्रै होइन, सन् १९६० मा जनआन्दोलनपछि स्वतन्त्रता पाएको नाइजेरियाको उत्तर-औपनिवेशिक अवस्थाको पनि चिरफार गरेका थिए। यसै क्रममा राजनीतिक उपचार पनि गर्न खोजेका थिए, तर उनी राजनीतिक जीवनमा सफल हुन सकेनन्। लामो समयसम्म सैनिक शासनविरुद्ध लडेका अचेबेले त्यसको अन्तपछिको राष्ट्रिय राजनीतिबारे मार्च १९८८ मा लण्डनबाट प्रकाशित हुने एक पत्रिकालाई अन्तर्वार्ता दिँदै भनेका थिए, नाइजेरियाको स्थिति सेक्सपियरको नाटक 'ह्यामलेट' सँग धेरै हदसम्म मिल्दोजुल्दो छ। यस नाटकमा न्यायको स्रोत मानिने राजा भ्रष्ट हुन्छ। त्यसकै फलस्वरूप सिंगो डेनमार्क बर्बाद हुन्छ। यही हालत हाम्रो देशको पनि भएको छ।

'ह्वाइट म्यान्स पिपुल'
हुन त 'अ म्यान अफ द पिपुल' मा मात्रै होइन, अन्य रचनामा पनि उनले खुलाएका थिए, ब्रिटिस साम्राज्यबाट स्वतन्त्रता प्राप्त भएपछि जुन-जुन नेताले सत्ता सम्हाले, उनीहरू जनताका मानिस (म्यान अफ द पिपुल) थिएनन्, बरु भूतपूर्व शासकहरूका मान्छे (ह्वाइट म्यान्स पिपुल) थिए। देशको हालत बिग्रिनुमा पश्चिमेलीहरूले अँगालेको नव-उपनिवेशवादतिर चोर औँला देखाउँदै-देखाउँदै पनि उनले देशभित्र शासनसत्तामा रहेका 'ह्वाइट म्यान्स पिपुल' हरूमा रोपिएको औपनिवेशिक मानसिकता र देशको राजनीतिक भ्रष्टाचारको पर्दाफास गर्न कुनै कन्जुस्याइँ गरेनन्।
सोह्रौँ शताब्दीदेखि युरोपद्वारा थालिएको दास व्यापारको शिकार भएको र अठारौं शताब्दीदेखि ब्रिटिस साम्राज्यद्वारा आफ्नो जुवामा नारिएको नाइजेरियामा औपनिवेशिक मानसिकताको जरो निकै लामो थियो। उपनिवेशवादीहरूले एक हातमा बन्दुक र अर्काे हातमा बाइबल लिएर मात्रै नाइजेरियालीहरूमा औपनिवेशिक मानसिकता रोपेका होइनन्। उनीहरूले त श्रेष्ठ नस्ल, सभ्य पश्चिम, धनी युरोप, ज्ञानी गोराजस्ता अनेक विचार र विश्वासले मलजल गरी त्यस मानसिकतालाई फैलाइदिएका थिए। सन् १९६० को दशकसम्ममा अफ्रिकाबाट पश्चिमा साम्राज्यहरू फर्किए पनि उनीहरूले रोपेको औपनिवेशिक मानसिकताचाहिँ पटक्कै कमजोर भएको छैन। यसको अर्थ अफ्रिकीहरूलाई हीन, अक्षम, असभ्य ठहर्यातउने मानसिकता विभिन्न रूपरंगमा देशभित्र, देशभित्र पनि समाजभित्र, समाजभित्र पनि जात-जातिभित्र जरो गाडेर बसेको छ।
अचेबे र अन्य अफ्रिकी लेखक र चिन्तकहरूले अफ्रिकालाई 'हर्ट अफ डार्कनेस' (अँध्यारोपनको मुटु) ठहर्यारउने औपनिवेशिक विचार र व्यवहारको पर्दाफास नगरेका होइनन्। तर, पुँजी, ज्ञान, सूचना र सेनामा एकाधिकार जमाएका पश्चिमाहरूले अझै पनि नाइजेरियालगायत् अफ्रिकी मुलुकलाई नरसंहार, अकाल, भोकमरी र भ्रष्टाचारले ग्रस्त अँध्यारो महाद्वीपकै छविमा सीमित बनाउँदै आएका छन्। सेनाय सेरकबेरहनले भनेझैँ यथार्थमा स्वतन्त्रतापछि पनि अफ्रिकाचाहिँ अप्रत्यक्षरूपमा पश्चिमी उपनिवेशवादी अश्वेत अनुहार भएका र पश्चिमी सभ्यताको रंगमा रंगिएका अफ्रिकीहरूद्वारा नै शासित हुदै आएको छ र अफ्रिकामथि पश्चिमकै वर्चस्व विनारोकटोक जारी छ।

सांस्कृतिक, आर्थिक र राजनीतिक पुनर्गठन
'ब्ल्याक स्कीन र ह्वाइट मास्क' लेख्ने फ्रान्ज फेननले अफ्रिकी स्वतन्त्रताको सूर्याेदयकै बेला भनेका थिए, 'उपनिवेशवादी शासनका दीर्घकालिक प्रभावहरूलाई नमेटाइकन र तिनको वास्तविक अर्थसम्म पुग्न क्रान्तिकारी ढंगले सबै स्थितिको नवीकरण नगरीकन जुन स्वतन्त्रता प्राप्त गरिन्छ, त्यो न्युनतम् परिवर्तनबाहेक केही हुँदैन। शिखरमा गरिने फेरबदलबाट धेरै परिवर्तन हुँदैन। त्यस्तो फेरबदलमा माथि टुप्पोमा झन्डा एउटाचाहिँ आफ्नै हुन्छ तर झन्डाभित्र भने सधैँ-सधैँका लागि मध्ययुगतिर धकेलिएका सबैजसो जनता हुनेछन्।'
यस अर्थमा आ-आफ्नो राष्ट्रिय झन्डा फहराउन पाउनेगरी देशले स्वतन्त्रता पाउनु उचित र जायज त थियो, तर त्यो आफैँमा राष्ट्रिय स्वतन्त्रता र जनताको मुक्ति थिएन, हुन पनि सक्दैन। देशको स्वतन्त्रतालाई राष्ट्रिय स्वतन्त्रतातिर र आमजनताको मुक्तितिर अनि औपनिवेशिक मानसिकताबाट सम्बन्ध-विच्छेदतिर जाने सुविधाजनक प्रस्थान-विन्दु बनाएर वास्तविक काम, कठिन कार्यको पहल गर्नुपर्ने एडवर्ड सइदको विचार मननीय छ। त्यस्तो पहल सांस्कृतिक, आर्थिक र राजनीतिक पुनर्गठनको कामबाट हुने तथ्यलाई पहिले उपनिवेशवादबाट मुक्त भएका र अहिले नव-औपनिवेशिक सम्बन्धमा जकडिएका अफ्रिकी राष्ट्रहरूको सन्दर्भमा मात्रै सीमित गर्नु ठीक हुँदैन। नेपालजस्तो राजतन्त्रबाट मुक्त भएको देशका लागि पनि यस्ता काम उत्तिकै महŒवपूर्ण रहेको तथ्य सबै दल र नागरिकले स्वीकारिसकेका छन्, तर पहल र प्रतिबद्धताको भने सर्वथा अभाव छ।
नेपालमा नव-औपनिवेशिक सम्बन्धको चिरफार र प्रतिरोध गर्नुमात्रै जरुरी काम पक्कै होइन, आन्तरिक उपनिवेशको समेत निदान, शल्यक्रिया र उपचार पनि उत्तिकै आवश्यक छ। आफूलाई मात्रै श्रेष्ठ, उच्च, सभ्य, देशी ठान्ने, अरु लिङ्ग, रंग, जात, जाति, भाषा, संस्कृति र क्षेत्रलाई हीन, नीच, अस्पृश्य, अपवित्र, असभ्य, पराया र विदेशीसम्म मान्ने आन्तरिक उपनिवेशको उपचार गर्नु अत्यावश्यक भइसकेको छ। यसका लागि संविधानसभामार्फत् नयाँ संविधान लेखन र अविलम्ब राज्य पुनर्संरचनाको कामलाई तीव्र गर्नेगरी राजनीतिक पहल गरिएन भने अनेकखालका प्रतिरोध संघर्ष हिंसात्मक र पृथकतावादी हुने खतरा पनि कम छैन। यस अर्थमा नाइजेरियाका चिनुआ अचेबेजस्ता साहित्यकार र चिन्तकका जीवन र आचरण नेपालको राजनीतिक पुनर्गठनका लागि पनि प्रेरणादायी छन्। र, अचेबेले बाँचेको संघीय गणतन्त्र नाइजेरियाका अनेक उतार-चढावका पाठ पनि पक्कै शिक्षाप्रद् छन्, चाहे ती नकारात्मकै किन नहोऊन्।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस