डा. राजभण्डारीको सम्झनामा
१६ फागुन २०६९
•
१५ मिनेट पाठ
डा. राजभण्डारीको सम्झनामा
वनस्पतिको कुनै पनि कोषबाट सिंगो बिरुवाको पुनर्विकास गर्न सकिन्छ भन्ने सिद्धान्त सन् १९०२ मा पहिलोपल्ट जर्मन वनस्पतिविद गोट्लिब हाबरल्यान्डले अघि सारेका थिए। हाबरल्यान्डको उक्त सिद्धान्तलाई प्रमाणित गर्दै करिब पाँच दशकपछि बेलायतका अर्का वनस्पतिविद एफसि स्टिवार्डले एक सुक्ष्म तन्तुबाट उपयुक्त रसायनको मिश्रण प्रयोग गरी परिक्षण नली (टेस्ट ट्युब)मा गाजरको सिंगो बोट पुनर्विकास गरेका थिए। तन्तु प्रजनन अर्थात 'टिस्यु कल्चर' नामले चिनिने उक्त पद्धतिमार्फत् आज कुनै पनि बोटविरुवाको अंग, तन्तु वा कोषबाट प्रयोगशालामा नयाँ बिरुवा उत्पादन गर्न सकिन्छ। आज यो प्रविधि कृषि, बागवानी एवं नर्सरीका क्षेत्रमा उन्नत र दुर्लभ जातको बोटबिरुवा उत्पादन गर्न व्यापक रूपमा प्रयोग हुँदै आएको छ।
नेपालमा यिनै तन्तु प्रजननको पद्धति भिœयाउने पहिलो नेपाली वनस्पतिविद थिए, डा. समनबहादुर राजभण्डारी। उनै डा. राजभण्डारीको गत फागुन ६ गते ७६ वर्षको उमेरमा असामयिक निधन भयो। डा. राजभण्डारीसंग पंक्तिकारको करिब पाँच दशक लामो पेशागत सहकार्य रहँदै आएको थियो। उनको निधनको समाचारले पंक्तिकारलाई स्तब्ध बनायो। उनी बिरामी थिए भन्नेसम्म पनि पंक्तिकारलाई जानकारी थिएन। विगतमा उनीसँग टेलिफोनमा लामो कुरा हुने गर्थ्यो। तर, केही समययता टेलिफोनमा कुरा नभएको पनि धेरै भइसकेको थियो। उनीसँग समय-समयमा नेपाल विज्ञान तथा प्रज्ञा प्रतिष्ठान, नास्टका बैठकमा पनि भेट हुने गर्थ्याे। तर, पछिल्लो समय म आफंै पनि विभिन्न कारणले नास्टका बैठकमा उपस्थित हुन सकेको थिइनँ। त्यसैले पनि डा. राजभण्डारीको अस्वस्थताबारे जानकारी भएन। जब नास्टका एक कर्मचारीमार्फत् डा. राजभण्डारीको निधन भएको र नास्टमा उनको सम्झनामा शोकसभाको आयोजना गरिँदै छ भन्ने समाचार पाएँ, मैले पत्याउनै सकेको थिइनँ। पछि थाहा पाएँ, उनी केही समयदेखि ठूलो आन्द्राको क्यान्सरबाट पीडित रहेछन्। बिरामी भएको थाहा पाएको भए म डा. राजभण्डारीलाई भेट्न जाने थिएँ। निधन हुनुअघि भेट्न नपाएकोमा साह्रै दुःख लागेको थियो। यसरी धेरै वर्षदेखि सहकार्य गर्दै आएको सहकर्मीको अप्रत्यासित निधनबाट मर्माहत भएको थिएँ।




डा. राजभण्डारी उच्चकोटीका वैज्ञानिक थिए। उनीमा एक सच्चा वैज्ञानिकमा हुनुपर्ने वैज्ञानिक संस्कार र समर्पण थियो। उनले वनस्पतीय तन्तु प्रजननसम्बन्धी विषयमा बेलायतको नटिङ्घाम विश्वविद्यालयबाट विद्यावारिधि गरेका थिए। उक्त विश्वविद्यालयको प्रयोगशाला तन्तु प्रजननसम्बन्धी अध्ययन र अनुसन्धानका लागि विश्वविख्यात थियो। नेपाल सरकारको वन तथा भू-संरक्षण मन्त्रालयअन्तर्गतको थापाथलीस्थित वनस्पति विभागमा कार्यरत डा. राजभण्डारीले विभागअन्तर्गतको गोदावरीस्थित नेसनल हर्बेरियम भवनमा देशको पहिलो वनस्पतीय तन्तु प्रजननको प्रयोगशाला स्थापना गरेका थिए। डा. राजभण्डारीको निमन्त्रणामा सन् १९८० को दशकतिर यस पंक्तिकारले उक्त प्रयोगशालाको भ्रमण गर्ने अवसर पाएको थियो। त्यतिबेला उक्त प्रयोगशाला अन्तर्राष्ट्रिय स्तरको भएको मैले महसुस गरेको थिएँ र म निकै प्रभावित भएको थिएँ। नेपालमा त्यति सुविधासम्पन्न प्रयोगशाला निर्माण गर्नु सामान्य कुरा थिएन। डा. राजभण्डारीको अथक प्रयासले मात्र त्यो सम्भव भएको थियो। उक्त प्रयोगशालाको स्थापनासँगै नेपालमा पहिलोपल्ट तन्तु प्रजननसम्बन्धी अध्ययन र अनुसन्धानको थालनी भएको थियो।

डा. राजभण्डारीले वनस्पति विभागका धेरै युवा वैज्ञानिकलाई तन्तु प्रजननको पद्धतिबारे तालिम दिएर दक्ष बनाएका थिए। डा. राजभण्डारीको सुपरिवेक्षणमा गोदावरीस्थित प्रयोगशालामा तन्तु प्रजनन पद्धतिबाट धेरै प्रकारका औषधीजन्य एवं अन्य महत्वपूर्ण वनस्पतिको उत्पादनका लागि आवश्यक रसायनिक मिश्रणको सूत्र पत्ता लगाउन वैज्ञानिकहरू सफल भएका थिए। उक्त प्रयोगशालामा गरिएका कतिपय सोधकार्यको नतिजा अन्तर्राष्ट्रिय जर्नलमा समेत प्रकाशित भएका थिए।

डा. राजभण्डारीको सबैभन्दा उल्लेखनीय वैज्ञानिक उपलब्धि थियो 'साय्न्ड रुटिङ' पद्धतिको विकास। यस पद्धतिअन्तर्गत तन्तु प्रजननबाट विकास गरिएका तन्तुमा जराको विकास गराउने प्रक्रियामा महँगा रसायनको सट्टा बालुवाको प्रयोग गरिएको थियो। यस पद्धतिबाट तन्तु प्रजननबाट विकास गरिएका उन्नत जातको बेर्नाको मूल्य अन्तराष्ट्रिय मूल्यको दाँजोमा निकै कम पर्न गएको थियो। वनस्पतीय तन्तु प्रजननको क्षेत्रमा विकास गरिएको उक्त मौलिक पद्धतिका लागि डा. राजभडारीलाई सन् १९८८ मा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (तत्कालिन रोनास्ट)ले प्रतिष्ठानको सबैभन्दा प्रतिष्ठित 'विज्ञान तथा प्रविधि पुरस्कार' प्रदान गरेको थियो। उक्त पुरस्कार पाउने डा. राजभण्डारी पहिलो व्यक्ति थिए।

डा. राजभण्डारीले आफूले विकास गरेको 'साय्न्ड रुटिङ' पद्धतिलाई कृषि क्षेत्रमा व्यापक प्रयोगमा ल्याउन निकै ठूलो प्रयास गरेका थिए। विशेषगरी देशमा उन्नत जातको रोगमुक्त आलुको विकास गर्न उक्त पद्धति प्रभावकारी हुने डा. राजभण्डारीको विश्वास थियो। डा. राजभण्डारीले यस पक्तिकारलाई बताएअनुसार उनले आफूले विकास गरेको 'साय्न्ड रुटिङ' पद्धतिलाई कृषि क्षेत्रमा व्यापक प्रयोगमा ल्याउन आवश्यक सहयोग र नीति निर्माणका लागि विभिन्न समयमा नेपाल सरकारका उच्च नीति निर्मातादेखि राजनीतिक दलका प्रमुखलाई समेत भेटेर पटक-पटक आग्रह गरेका थिए। तर ती प्रयासहरू त्यति सफल हुन सकेनन्। हाम्रा नीतिनिर्माता तथा राजनीतिज्ञहरू वैज्ञानिक तथा वैज्ञानिक अनुसन्धानप्रति कति उदासिन छन् भन्ने प्रमाण थियो त्यो। डा. राजभण्डारीले सन् १९७० को दशकमा गोदावरीमा स्थापना गरेको तन्तु प्रजनन प्रयोगशाला आज पूरै बन्द भइसकेको छ। यो राष्ट्रको लागि नै ठूलो दुर्भाग्य हो।

वनस्पति विभागका महानिर्देशक भएर डा. राजभण्डारीले विभागको अनुसन्धान कार्यको विकास र विस्तारमा ठूलो योगदान पुर्याभएका थिए। डा. राजभण्डारीले सरकारी सेवाबाट निवृत्त भइसक्दा पनि आफ्नै घरको कौसीमा हरित गृह निर्माण गरेर तन्तु प्रजननसम्बन्धी अध्ययन/अनुसन्धानलाई निरन्तरता दिँदै आएका थिए। यसबाट डा. राजभण्डारीको अनुसन्धानप्रतिको समर्पण स्पष्ट हुन्छ। यस पंक्तिकार स्वयंले पनि डा. राजभण्डारीको कौसीमा निर्माण गरिएको उक्त प्रयोगशाला अवलोकन गर्ने अवसर पाएको थियो। यसरी डा. राजभण्डारीले आफ्नो जीवनको लामो समय नेपालमा तन्तु प्रजननसम्बन्धी अध्ययन/अनुसन्धानको विकास गर्नमा व्यतित गरेका थिए। आज तन्तु प्रजननसम्बन्धी अध्ययन/अनुसन्धान विश्वविद्यालय तथा निजी क्षेत्रमा समेत विस्तार भइसकेको छ। यसमा डा. राजभण्डारीको प्रत्यक्ष वा अप्रत्यक्ष योगदान छ। डा. राजभण्डारीलाई नेपालमा तन्तु प्रजननको प्रवर्तक मानिन्छ।

डा. राजभण्डारीसँग पंक्तिकारको सन् १९६० को दशकदेखि सम्पर्क र सहकार्य हुँदै आएको थियो। डा. राजभण्डारीको जस्तै पंक्तिकारको विशेषज्ञताको विषय पनि वनस्पतिको क्रिया विज्ञान (प्लान्ट फिजियोलजी) थियो। यसैले पनि हामीबीच समयसमयमा विचारको आदान प्रदान हुने गर्थ्यो। केही वर्षअघि हामीले संयुक्त रूपमा 'नेपालमा तन्तु प्रजननको विकास : अवसर र चुनौतिहरू'बारे एक विस्तृत कार्यपत्रसमेत तयार पारेका थियौं। पंक्तिकार त्रिवि कीर्तिपुरस्थित केन्द्रीय वनस्पतिशास्त्रको विभागीय प्रमुख छँदा पंक्तिकारको सुपरिवेक्षणमा स्नातकोत्तर तहका विद्यार्थीले लेखेका थेसिसको मूल्याङकन गर्न डा. राजभण्डारीलाई बाह्य परीक्षकको रूपमा आमन्त्रित गर्ने गरिएको थियो। डा. राजभण्डारी निष्पक्ष र सुक्ष्म तरिकाले थेसिसको मूल्यांकन गर्थे। उनी राम्रो थेसिसको खुलेर प्रशंसा गर्थे। यसैगरी केही कमीकमजोरी वा त्रुटि भए उनी विद्यार्थीलाई थेसिस पुनर्लेखन पनि गर्न लगाउँथे।

पंक्तिकार त्रिविअन्तर्गतको वनस्पतिशास्त्र विषय समितिको अध्यक्ष छँदा मेरो आग्रहमा उक्त समितिको सदस्य भएर डा. राजभण्डारीले विभिन्न तहको वनस्पतिशास्त्रसम्बन्धी पाठ्यक्रम तर्जुमा गर्ने कार्यमा पनि सहयोग गरेका थिए। यसरी त्रिविको प्राज्ञिक क्रियाकलापमा पनि डा. राजभण्डारीको महत्वपूर्ण संलग्नता रह्यो। यसैगरी उनले काठमाडौँ विश्वविद्यालयको सभा र छनोट समितिको सदस्य भएर पनि काम गरे। काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति डा. सुरेशराज शर्माले आफ्नो एक पुस्तकमा उल्लेख गरेअनुसार उक्त विश्वविद्यालयको प्राज्ञिक उन्नयनमा डा. राजभण्डारीको महत्वपूर्ण योगदान रहेको थियो। यसैगरी डा. राजभण्डारीले नेपाल वनस्पति समाजको अध्यक्ष भएर नेपालमा वनस्पति विज्ञानको समग्र विकासमा पनि योगदान पुर्या्एका थिए।
पंक्तिकार र डा. राजभण्डारीबीच नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, नास्टमा पनि लामो र निकट सहकार्य रहेको थियो। हामी दुवैजना सन् १९९० मा तत्कालीन प्रधानमन्त्री गिरजिाप्रसाद कोइरालाबाट पहिलोपल्ट मनोनित भएका १५ प्राज्ञमध्येका वनस्पतिविद् थियौं। सुरुका दिनमा र पछि पनि नास्टलाई कसरी विकास गर्न सकिन्छ भन्नेबारे हामीबीच गहन छलफल हुने गर्थ्यो। प्राध्यापक डा. ध्र्र्रु्रवमानसिंह अमात्य नास्टको निमित्त उपकुलपति छँदा नास्टको व्यवस्थापन परिषदमा रहेर पनि मैले डा. राजभण्डारीसँग सहकार्य गरेको थिएँ। पंक्तिकार सन् १९९८ देखि २००६ सम्म नास्टको उपकुलपति रहँदा पनि डा. राजभण्डारीले व्यवस्थापन परिषद तथा विभिन्न समितिमा बसेर सक्रिय सहयोग पुर्यादएका थिए।

डा. राजभण्डारी वास्तवमै देशको एक अग्रणी प्राज्ञिक व्यक्तित्व थिए। उनको निधनमा राष्ट्रले एक सच्चा र निष्ठावान वैज्ञानिक गुमाएको छ। डा. राजभण्डारीप्रति हार्दिक श्रद्धाञ्जली।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस