गालिबको नमाज र नेपाली राजनीति
०७ फागुन २०६९
•
१४ मिनेट पाठ
गालिबको नमाज र नेपाली राजनीति
गत साता राजनीतिक दलहरू सरकारको नेतृत्वका लागि 'स्वतन्त्र' व्यक्तिको खोजी गरिरहँदा छापाहरूमा एउटा तस्बिर प्रकाशित भएको थियो। उक्त तस्बिरमा पूर्व राजा ज्ञानेन्द्र कालो चश्मामा ठाँटिएर सिमरामा भएको फुटबल प्रतियोगिताको एउटा म्याच हेर्न पुग्दाको थियो। समाचारअनुसार ज्ञानेन्द्रले फुटबलमा सहभागी दुवै टिमका तर्फबाट गोल हुँदा थपडी बजाएका थिए। ज्ञानेन्द्रको त्यो हेराइ फुटबल भिडन्तमा भए पनि उनको दृष्टि भने काठमाडौंमा चलिरहेको नयाँ राजनीतिक मञ्चनतर्फ पुगेको जस्तो लागेको थियो। त्यस्तै उनले दुवै टिमका तर्फबाट गोल हुँदा बजाउने थपडी प्रतिकात्मकरूपमा बल्खु, सानेपा, पेरिस डाँडा हुँदै शीतल निवासमा भइरहेका गतिविधितर्फ तेर्सिएको जस्तै लागेको थियो।


ज्ञानेन्द्र आफ्ना पिता महेन्द्रसँग नजिक मानिन्छन्, राजनीतिक सोच र सिद्धान्तका आधारमा। हुन पनि लगभग चिठ्ठामा झंै पाएको सत्तालाई उनले आफ्ना पिताकै शैलीमा प्रयोग गर्ने दुस्साहस गरेका थिए।
निर्दलीयता बिउँझाउने दुस्प्रयास गरेको भन्दै राजतन्त्र नै समाप्त पारेका दलहरू आगामी सरकार प्रमुखका लागि स्वतन्त्र व्यक्तिको खोजीमा बयस्त देख्दा स्वभावतः ज्ञानेन्द्रले भित्रभित्रै थपडी बजाएका होलान्। उनको थपडी पनि स्वतन्त्र व्यक्तिको खोजीमा उठ्ने हरेक आवाजका लागि थियो होला, चाहे त्यो कुनै पनि पार्टी र त्यसका नेताकै किन नहोस्।
हुन पनि वर्षौंसम्म बहुदलीय प्रजातन्त्रका लागि संघर्ष गरेका दलहरू आफैँ सरकार प्रमुखका लागि स्वतन्त्र व्यक्तिको खोजीमा थिए। उनीहरूको खोज लगभग समाप्त भइसकेको छ, बहुदलीय लोकतान्त्रिक गणतन्त्र नेपालको बागडोर एउटा स्वतन्त्र व्यक्तिको हातमा पुग्ने लगभग पक्का छ।
वास्तवमा यो कुनै विवादको विषय थिएन। मुलुकलाई नयाँ संविधान चाहिएको थियो र त्यसका लागि संविधान सभाको आवश्यकता थियो। यसमा सबै दल सहमत थिए। तर दलहरूलाई भने सरकार चाहिएको थियो। यहाँनेर मुलुक र दलहरूको आवश्यकतामा फरक देखियो, अनि त्यसैले विवाद उत्पन्न गराएको थियो। चुनावी सरकारको नेतृत्व सबै दललाई चाहिएको थियो। त्यसमा कसैमाथि सहमति नभएपछि दलहरू स्वतन्त्र व्यक्तिको खोजीमा लागिपरेका थिए। अर्थात् एउटा बाबुरामलाई सरकारको नेतृत्वबाट हटाउन कांग्रेस र एमाले जस्ता दलहरू पनि जानेर वा नजानेर महेन्द्र पथ पछ्याउन पुगेका छन्।
एकीकृत नेकपा माओवादी चुनाव पनि बाबुराम भट्टराईकै नेतृत्वमा गर्न चाहन्थ्यो। तर कांग्रेस र एमालेलाई यो स्वीकार्य थिएन। उनीहरूलाई डर थियो- बाबुरामको नेतृत्वमा निर्वाचनमा गए धाँधली हुन्छ र आफू पराजित होइन्छ। मानौं बाबुराम आफँै हरेक निर्वाचन क्षेत्रमा धाँधली गर्न जानेछन्। मानौँ बाबुराम हरेक बुथमा कब्जा गर्न पुग्नेछन्। निर्वाचनमा धाँधलीको आरोप ०४८ सालमा पनि भएको थियो भने ०५१ सालमा पनि, त्यस्तै ०५६ साल र पछिल्लो संविधान सभाको निर्वाचन पनि विवादबाट मुक्त थिएन। कांग्रेसको नेतृत्वमा भएको ०४८ सालको निर्वाचनमा स्वयं प्रधानमन्त्री पराजित भएका थिए। त्यस्तै ०५१ सालको निर्वाचनमा कांग्रेस आफँै पराजित भएको थियो भने पछिल्लो संविधान सभाको निर्वाचनमा पनि कांग्रेसले हारको मुख हेर्नुपरेको थियो।
नेपाली राजनीति वास्तवमा राष्ट्रिय नेताविहीन भएको छ। नेतृत्व लिने अवसर सजिलै आउँदैन। अनेक चुनौती र यसमा निहीत अप्ठेराहरू नै नेता निर्माणका कसी हुन्। तर हाम्रो मुलुकमा बीपी कोइरालापछि कुनै पनि दलका नेताले यस किसिमको कसीमा जाँचिनेे हिम्मत गर्न सकेका छैनन्।
०३७ सालको जनमत संग्रहमा बीपीले एक्लै राजा वीरेन्द्रले दिएको चुनौती स्वीकार गरेर जनमतमा जान जनतालाई आह्वान गरेका थिए। तर कांग्रेस र एमाले मिलेर बाबुरामले दिएको चुनौती स्वीकार गर्ने आँट गर्न सकेनन्। उनीहरू बाबुराम भन्ने नामसँग यति डराए कि बरु आफूमध्ये नभए स्वतन्त्र व्यक्तिलाई सरकार प्रमुख बनाउन तयार भए।
यसको अर्थ राजनीतिक व्यक्तिलाई चुनावी सरकार हाँक्न दिन नहुने विचार राख्ने कांग्रेस र एमाले निर्वाचनपछिको राजनीतिक व्यक्तिलाई सरकार प्रमुखमा स्वीकार गर्न भने तयार भएका छन्। यो आफैँमा विरोधाभासपूर्ण छ। एउटा चुनावका लागि राजनीतिक व्यक्तिलाई सरकारको नेतृत्वका लागि अयोग्य ठान्ने दलहरूले चुनावपछि बन्ने सरकारको बागडोर राजनीतिक व्यक्तिलाई दिन तयार भएका छन्।
अचम्म छ, खुला (दलहरूसहितको) राजनीतिका लागि वषार्ंै संघर्ष गरेका लगभग हरेक दलहरू स्वयं एउटा निर्वाचनका लागि पार्टीको नेताभन्दा स्वतन्त्र व्यक्तिमा विश्वास गर्दैछन्। नेता बन्ने अवसर एक्लै आउँदैन, यो त चुनौती र अप्ठेराहरूको अनेकन पत्रभित्र घेरिएको हुन्छ। अनि इतिहास भन्छ- ती चुनौती र बाधा व्यवधानका पत्रहरूलाई हटाउँदै गएपछि बल्ल राष्ट्रिय नेता बन्ने अवसर आइपुग्छ। जुन आफैँमा इतिहास कोर्नेखालको हुन्छ। तर त्यसका लागि ठूलो त्याग, बलिदान र दूरदृष्टि आवश्यक हुन्छ। लोकतन्त्रलाई सर्वोपरि ठान्नेले पार्टी तथा व्यक्तिगत स्वार्थ तथा विजय/पराजयमाथि ध्यान दिँदैनन्।
बीपीले लोकतन्त्रका लागि नै जनमत संग्रहमा भएको बहुदलीय व्यवस्थाको पराजयलाई स्वीकार गरेका थिए। तर अहिले प्रधानमन्त्रीको पदको विवादमा अल्झेका कांग्रेस तथा एमालेलाई हेर्दा उनीहरू सत्तामा जान हतारिएजस्तै लाग्छ। उनीहरूको मनमा पराजयको डर छ। तर बुझ्नुपर्ने कुरा के हो भने भट्टराईकै नेतृत्वमा भएको निर्वाचन जुनसुकै दलको विपक्षमा गए पनि लोकतन्त्रको पक्षमा जाने थियो। भट्टराई पनि नेपालीकै छोरा हुन्। उनीविरुद्धको निषेधित राजनीति गर्दा मुलुक आफूले गर्नुपर्ने निर्णयका लागि पनि पराधिन हुन पुगेको सम्भवतःप्रमुख दलहरूलाई हेक्का छैन। तर कांग्रेस र एमालेमा लोकतन्त्रभन्दा सत्ताको मोह बढी देखिएको छ, कमसेकम यस प्रकरणमा। लोकतन्त्रको होली जलाएर प्राप्त हुने सत्ता कति दिगो हुन्छ, कस्तो किसिमको हुन्छ त्यो कांग्रेस र एमाले जस्ता आफूलाई लोकतान्त्रिक भन्ने दलहरूले बुझेकै हुनुपर्छ।
लोकतन्त्ररहित अवस्थामा सत्तामा जान बीपीले कहिल्यै सोचेनन्। त्यो चाहनाबारे विचारमात्र गरेको भए सत्ता उनका सामु हरहमेसा लम्पसार हुन तयार थियो। तर अचम्म बीपीका अनुयायी भन्ने कांंग्रेस स्वयं क्षणिक स्वार्थ सिद्धिका लागि सत्ताको सम्भावना देख्नासाथ लम्पसार हुन थालेको छ।
जेठमा निर्वाचन सम्भव छैन भनेर पूर्व निर्वाचन आयुक्तलगायत्का सबैले भनिसकेका छन्। यदि जेठमा निर्वाचन हुन सकेन भने त्यसपछिको स्थिति कस्तो होला? यतातर्फ कुनै प्रमुख दलले विचार पुर्‍याएको देखिँदैन। हुन पनि दुई वर्षका लागि भनेर निर्वाचनमार्फत् ल्याइएको संविधान सभाले काम गर्न नसकेर त्यसको म्याद थप्दै लगिएको थियो। आखिरमा कामै गर्न नसकेर त्यसको अवसान भयो। यस्तो अवस्थामा जेठमा निर्वाचन हुन्छ नै भनेर विश्वास गर्न कठिन छ। अनि त्यसपछिको स्थिति के हुने? यो नै खतरनाक र डरलाग्दो विषय हो। तर कांग्रेस र एमालेलाई त लाग्छ यसमा कुनै आपत्ति नै छैन। उनीहरूलाई त जसरी भए पनि बाबुरामलाई हटाउनु छ। र स्वतन्त्र व्यक्तिको तुरुप बाबुरामलाई हटाउने एउटा माध्यम हो। त्यसैले आगा पिछा नसोचिकन उनीहरू यसमा तयार भएका छन्।
यस प्रसङ्गमा केही दिनअघि भारतीय छापामा पढ्न पाएको मिर्जा गालिबको एउटा प्रसङ्ग सान्दर्भिक बन्न पुगेको छ : मिर्जा गालिब भारतका निकै ठूला र कहलिएका सायर (कवि) थिए। तर उनको आर्थिक अवस्था भने निकै नाजुक थियो। मद्यपानका पनि उत्तिकै सौखिन गालिबलाई एक पटक रक्सी खान पनि पैसा भएनछ। श्रीमतीसँग पैसा माग्दा पहिले त उनले हकारिछन् अनि भनिछन्- जाऊ ईश्वरसँग रक्सी माग। आफ्नो नास्तिक विचारका लागि चिनिएका गालिब पनि स्नान आदि गरेर चोखो कपडामा पुगेछन् नमाज पढ्न।
नमाज सुन्नत, फर्ज र नफिज गरी तीन चरणमा पढिन्छ।
सुन्नतअनुसार एक्लै प्रार्थना गरिन्छ भने फर्जलाई सामूहिकरूपमा इमामले प्रार्थना गराउँछन्। त्यसपछि नफिजको पालो आउँछ। नास्तिक गालिबलाई प्रार्थना गृहमा देख्दा सबै छक्क परेछन्। गालिबले सुन्नत पढिसकेपछि घोप्टे मुन्टो लगाएर ईश्वरसँग मदिरा दिनका लागि प्रार्थना गर्न थालेछन्।
उता गालिबका एक चेला आफ्नो सायरी (कविता) सच्याउन उनको घर पुगेछन्। तर गालिबकी श्रीमती उनी नमाज पढ्न गएको भनेपछि छक्क परिछन्। सबै कुरा थाहा पाएपछि उनलाई टिठ लागेर आएछ र एक सिसी मदिरा किनेर गालिबलाई खोज्न पुगिछन्। घोप्टे मुन्टो लगाएर बसेका गालिबलाई बोलाउँदै उनले कोटभित्र लुकाइराखेको मदिराको सिसीतर्फ इशारा गरेछन्। कुरो बुझेपछि गालिब पनि अफ्नो जुत्ता उठाउँदै बाहिरिन लागेछन्। त्यो देखेर त्यहाँ उपस्थित सबैले उनले सुन्नत मात्र पढेको अझै फर्ज र नफिज बाँकी रहेको सम्झाउने प्रयास गरेछन्। गालिब भने 'मेरो काम त सुन्नतले नै पूरा गरिसक्यो भन्दै हिँडेछन्।
अहिले कांग्रेस र एमालेको चाहना पनि गालिबको सुन्नतमै रोकिएको छ। गालिबले सुन्नत पढेर नै मदिरा पाएजस्तै उनीहरूले स्वतन्त्र व्यक्तिको नाममा बाबुरामलाई हटाउने अवसर पाएका छन्। अनि गालिबलाई आफ्नो काम बनेपछि सुन्नतपछिका प्रार्थनाका चरणप्रति कुनै चासो थिएन भने कांग्रेस र एमालेलगायत् स्वतन्त्र व्यक्तिका पक्षधर दलहरूमा पनि बाबुराम हटेपछिको स्थितिबारे खासै मतलब देखिएको छैन।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस