स्वतन्त्रताको त्रास र सर्वसत्तावाद
२९ माघ २०६९
•
१९ मिनेट पाठ
स्वतन्त्रताको त्रास र सर्वसत्तावाद
एउटा चित्रमा एक जना मानिस जमिनतिर घोसेमुन्टो लगाएर बसेको छ, अत्यन्त चिन्तित मुद्रामा। झट्ट हेर्दा चार दिवारीभित्रको उसको चिन्तित मुद्रा स्वाभाविकै लाग्न सक्छ, तर पर्खाल नाघेर जाने भरेङ नजिकै हुँदाहुँदै पनि उसले कैद जिन्दगी भोगिरहेको देख्दा झन् टिठलाग्दो देखिन्छ। पर्खालमाथि चराहरू स्वतन्त्रतापूर्वक माया साटिरहेको तथा हरियाली जंगल र नीलो आकाश देखेर पनि स्वतन्त्रतापूर्वक उड्न नचाहेको उसको मनस्थिति देखेर मनमा प्रश्न उठ्छ : कतै यो कैदीको मनमा स्वतन्त्रताको त्रास त छैन? कतै यो मानिस आफ्नै मानसिक भयको कैदी त होइन?




यस्तै प्रश्न उठाउन सफल छ, जर्मन मनोविश्लेषक एरिक फ्रमको 'द फियर अफ फ्रिडम' नामक पुस्तक। उनको प्रश्न दिमागै झन्झनाउनेखालको छ : के हामी आफूलाई आधुनिक र उदार, लोकतान्त्रिक र वामपन्थी ठान्ने मानिस भन्नेहरू साँच्चै नै स्वतन्त्रता चाहन्छौँ कि हामी पनि सामन्तवादमा बाँच्ने मानिसहरूजस्तै स्वतन्त्रतादेखि डराउँछौँ? हामीहरूको मनमस्तिष्कमा रहेको स्वतन्त्रताको त्रास नै एक वा अर्काे रूपको सर्वसत्तावादको जरा त होइन? यस्ता प्रश्न नेपाली जनमानसमा व्याप्त स्वतन्त्रताको त्रासको सन्दर्भमा पनि उठाउनु जरुरी छ। हुन त यतिखेर नेपालमा सत्ताकांक्षी दलहरूले 'माओवादी सर्वसत्तावाद' विरुद्ध संघर्ष छेडिरहेको स्थितिमा सर्वसत्तावाद विचार-विमर्शको विषय पक्कै हुनुपर्ने हो। तर दश वर्षसम्म शत्रु मास्दै हिँडेको सत्तासीन माओवादीले प्रधान शत्रु खोज्न छाडेको बेला सत्ताकांक्षी विपक्षी नेताहरूले उचालेको सर्वसत्तावाद विरोधी झन्डामुनि फेरि पनि 'दुश्मनको खोजी' बाहेक केही देखिएको छैन।
'एलियनेसन अफ मोडर्न मेनकाइन्ड' मा फ्रित्ज पापेनहाइम भन्छन्, 'केही नेताहरू जनताको सोचाइलाई चलाखीपूर्वक आफ्नो पक्षमा मोड्न अनेक मुद्दा र नारा गढ्न सिपालु छन्।' त्यही सिपालुपनाबाट सचेत भएरै होला, न नेपाली जनताको त्रास विचारणीय भएको छ, न त सर्वसत्तावादको भय नै विमर्शको मुद्दा भएको छ। तर, 'माओवादी सर्वसत्तावाद' विरुद्ध छेडिएको संघर्षले नेपाली जनताको मानसिक त्रास हटाउनुको साटो झन् बढाउँदैछ।
राज्य पुनर्र्संरचनाको डर
नेपाली जनता जति-जति बेला स्वतन्त्रताको त्रासबाट मुक्त भई स्वतन्त्रताको आसतिर लम्किए, त्यसबेला राजनीतिक उपलब्धिको भरेङ चढेको इतिहास छ। उनीहरूले स्वतन्त्रताको आशा पूरा गर्न गाउँमा राजतन्त्रको बन्दुकसँग भिडे, शहरका सडकमा पनि अरिँगालजस्तै ओइरिएर सशस्त्र बलसँग घम्साघम्सी गरे र अन्ततः राजतन्त्राई जुकाझैँ फ्याँकेरै छाडे। राजतन्त्रको अन्त्य र लोकतान्त्रिक गणतन्त्रको स्थापना मूलतः स्वतन्त्रतातिर नेपाली जनताको दरिलो पाइला हो। त्यस्तै पाइला हुन्, हिन्दु धर्मसापेक्ष राज्यबाट धर्मनिरपेक्ष राज्यतिरको कदम, उपेक्षित, बहिष्कृत र सीमान्तकृत समुदायको समावेशीकरणका लागि नीतिगत प्रयास अनि संविधान सभाबाट नयाँ संविधान लेखन र नयाँ संविधानको लेखनसँगै संघीय स्वरूप निर्माणका लागि पुरानो राज्यको पुनर्संरचनाको अभियान। तर पुरानो कुलीन वर्ग, सत्ताशक्तिमा हालीमुहाली गरेका जात र तिनका नेताहरूलाई जनआन्दोलनले बनाएको भरेङ फाँसीको फन्दाजस्तै अनुभूत भइरहेको छ। र, उनीहरू आफू त स्वतन्त्रताको भयले ग्रस्त छँदैछन्, नेपाली जनतालाई पनि भयभीत पार्न खोज्दैछन्।
पुरानो राज्यसँग अभ्यस्त केही मानिसलाई नयाँ ढंगले राज्यको पुनर्र्संरचना डरलाग्दो लागेको छ र राजतन्त्रको समाप्तिसँगै देशै अराजक हुने पीरले पनि गाँजेको छ। राजतन्त्रलाई राष्ट्रिय एकताको प्रतीक र प्रजाका पालक ठान्ने शक्तिहरूलाई राज्य पुनर्संरचनाले राष्ट्रमा अनेकता र विखण्डन बढाउने डर अनुभूत भएको छ। नेपाली समाजको विविधता, बहुलता र अनेकता देखेरसमेत भयभीत भएका मानिस संघीयताले देशै मास्ने र सद्भाव भड्काउने भयको सञ्चार गर्नतिर उद्यत भएका छन्। र, उनीहरू राजतन्त्रयुक्त प्रजातन्त्र प्राप्तिका लागि नेपाल अधिराज्यको संविधान, २०४७ ब्युँताउने उद्योगमा ब्यस्त भएका छन्। त्यसैले उनीहरू एकातिर संघीयताविरोधी नेता चित्रबहादुर केसीको भाषणमा ताली ठोकेर मन हलुका पार्दै आएका छन् भने अर्काेतिर संविधान सभाबाट नयाँ संविधान लेखन असफल भएकोमा खुसियाली मनाउँदैछन्, राजतन्त्रवादीहरूसँगै काँधमा काँध मिलाउँदै। आज ती सबै स्वतन्त्रताबाट त्रस्त शक्तिहरू सडकमा छन्, 'माओवादी सर्वसत्तावाद' विरोधी संघर्षको मैदानमा कुद्दैछन्, राजावादीहरूसँग साँठगाँठ गर्दै। 'माओवादी सर्वसत्तावादविरुद्ध प्रजातान्त्रिक लडाइँ लडिरहेको' दाबी गर्ने विपक्षी दल र तिनका नेताहरूका कारण कतै प्रजातन्त्र वा अन्य कुनै नयाँ मुकुण्डो लगाएको सर्वसत्तावाद त जन्मिने होइन? मनमा प्रश्न उठेको छ।
पृथकता, असुरक्षा र आक्रामकता
नेपालमा पुँजीवादीकरणसँगै लोकतन्त्रीकरणको प्रक्रिया जारी छ। यी दुवै प्रक्रियाका कारण नेपाली जनता स्वतन्त्र र समान पनि हुँदैछन्। छोटा नागरिक र बडा नागरिकको भेद, छूत वर्ण र जात अनि अछूत जात र वर्णको विभेद पनि कम हुँदैछ। तर त्यस्तो समाज पनि बन्दैछ, जहाँ मानिस-मानिसबीचको सम्बन्धको पुल पनि भत्किँदैछ। आफ्नो पुरानो समुदायबाट अलग्गिएर नयाँ-नयाँ समाज पनि निर्माण हुँदैछ, जहाँ एक व्यक्तिसँग अर्काे व्यक्तिको व्यक्तिगत सम्बन्ध कमजोर हुँदैछ अनि पृथकता, एकांकीपना, निराशा र अविश्वास झन्-झन् बढ्दैछन्। निर्वैयक्तिक सम्बन्धको विस्तारसँगै असुरक्षाबोध र आक्रामकता पनि बिस्तार हुँदैछन्। र, सन्देह, अविश्वास, शंकाको बाढीले स्वतन्त्रताप्रतिको आस्था, रुपान्तरणकारी सिद्धान्तप्रतिको आशा अनि सामूहिक प्रयत्नप्रतिको भरोसालाई विस्थापित गर्दैछ। फलतः स्वतन्त्रता प्राप्तिका प्रत्येक पाइलासामु आक्रामकतवरका साथ ठूलठूला पर्खाल तेर्स्याउने काम पनि हुँदैछ। संघीयता, समावेशिता, राज्य पुनर्संरचना र विविधता-अनेकताको संयम सम्बोधनविरुद्ध आक्रामकता त्यत्तिकै पैदा भएको होइन।
लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समावेशिता, राज्य पुनर्संरचना र विविधता-अनेकताको संयम सम्बोधन : यी सबै समुदायलाई जोड्ने डोरी हुन्, बाँध्ने जन्जीर होइनन्। यी सबै पक्ष अँध्यारो कोठाबाट उज्यालो आकाशतिर लाने भरेङ हुन्। तर, जनआन्दोलनअघिसम्म यी भरेङ बोकेर हिँड्ने जमातहरू नै अहिले भरेङ तोड्दैछन्, यस्ता भरेङले नर्कतिर लान्छ भन्दै। डोरीलाई सर्पका रूपमा देखाएर विभिन्न समुदायलाई त्रसित पार्ने खेलकै कारण लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने संवैधिान र राजनीतिक अभियानमा रोकावट आएको छ। उनीहरू लोकतान्त्रिक गणतन्त्रका प्रत्येक अवयवलाई संस्थागत गर्नुको साटो त्यसबाट विखण्डन र विभाजनमात्रै हुने त्रास सञ्चार गर्दै जनमानसको भय दोहन गर्दैछन्। परम्परागतरूपमा कायम रहेको वर्ग, जात/जाति, भाषा, धर्म, समुदाय, लिङ्ग, क्षेत्रको अधिकार वा एकाधिकार तोडिने डर फैलाउँदै कुनै सत्ता-शक्तिप्रति समर्पण खोज्दैछन्। मनोविश्लेषक एरिक फ्रमले भनेझँै आपसी सम्बन्धको साटो अविश्वास, सम्बन्धले जन्माउने सुरक्षाका सट्टा असुरक्षा र एकताको ठाउँमा पृथकतासँगै एकांगीपनाले मानिसलाई अन्ततः कुनै सत्ता वा शक्तिप्रति भक्ति, समर्पण र प्रतिबद्धतातिर लान्छ, जुन सर्वसत्तावादको जरो हो। एउटा मिथक कथाअनुसार कुनै बाँसुरी वादकले मधुर संगीत सुनाई मुसाहरूलाई समुद्रमा डुबाएको थियो। अहिले प्रजातन्त्र पुनर्स्थापनाको संगीत सुनाउँदै, माओवादी सर्वसत्तावादको भय दोहन गर्ने क्रममा नेपाली जनमानसलाई पनि साँच्चैको सर्वसत्तावादको आत्महन्तातिर त लान खोजिएको होइन?
दुई-तीन वटा अनुहारको नेतृत्व
पचासौँ वर्षसम्म सत्तापक्ष वा विपक्षको नाममा राज्य संयन्त्रको पूर्जा भइखाएका, वर्ग, जात/जाति, भाषा, धर्म, समुदाय, लिङ्ग, क्षेत्रको अधिकार वा एकाधिकार कायम राख्दै आएका राजनीतिक नेताहरूबाट यस्तो भय दोहन हुनु अनौठो होइन। तर नयाँ शक्तिका रूपमा उदाएका सत्तासीन शक्तिहरूमा पनि कुनै न कुनै रूपमा स्वतन्त्रताको त्रास रहनु अनौठो पक्ष हो, चाहे त्यो अखण्डताको पक्षपोषणको नाममा होस् या सेनालाई समावेशी बनाउने कामको विरोधको नाममा होस्। मूलतः मध्यम वर्गबाट आउने प्रत्येकजसो नेताका दुई-तीन वटा अनुहार हुने र उनीहरूको मनस्थिति पनि हरदम द्विविधामै रुमल्लिने तथ्य फ्रान्सका मनोविश्लेषक फ्रेन्ज फेननले 'ब्ल्याक स्किन : ह्वाइट मास्क' मा पनि देखाएका छन्।
वास्तवमा राजनीतिक नेताहरूमा स्वतन्त्रताको त्रास त्यत्तिकै जन्मिएको होइन। उनीहरूमा विनाकारण उनीहरूको व्यक्तित्व विभाजित र मनस्थिति विखण्डित भएको पनि होइन। नेपाली समाजमा क्रियाशील रहेका विभिन्न सामाजिक आन्दोलन बलियो, सुस्पष्ट र सुविचारित नभएर राजनीतिक नेतृत्व पनि अस्पष्ट, दोधारे, दुई जिब्रे र पाखण्डी भएको हुन सक्छ। ब्राजिलका चिन्तक पाउलो फ्रेरेले 'पेडागोगी अफ अप्रेस्ड' मा भनेझैँ प्रत्येक व्यक्तिका मनमा उत्पीडक र उत्पीडित एकसाथ बाँचिरहेको हुन्छ। जति हदसम्म उत्पीडितका न्यायपूर्ण हक-अधिकारको पक्षमा लागिपर्ने, उनीहरूसँग प्रेमपूर्वक एकाकार हुने क्रम बढ्छ, त्यति मात्रामा मनमा रहेको उत्पीडक विलीन हुँदै जान्छ। अतः नेपालका सबैजसो आन्दोलनले पनि आफूलाई र आफ्नो राजनीतिक नेतृत्वलाई सुधार्न उत्पीडित समुदायसँग एकाकार गर्नुको विकल्प देखिएको छैन।
नेपालमा स्वतन्त्रता प्राप्तिको नाममा जारी विभिन्न सामाजिक र राजनीतिक आन्दोलनको अभाव छैन तर उनीहरूमा पनि स्वतन्त्रताको त्रास छ र अर्काे समुदायप्रतिका समस्या र मागप्रति संवेदनशीलताको अभाव छ। यस्तो लाग्छ, मानौँ ती सबैजसो आन्दोलन रविन्सन क्रुसोहरूका डफ्फा हुन्, जसले एकलासे टापुमा जीवन-मरणको संघर्ष गर्दैछन् अनि उनीहरूलाई आफ्ना माग र अधिकारबाहेक अरु कसैको मतलब छैन। यहाँ उदाहरणका लागि केही प्रश्न राखौँ, जातीय पहिचानसहितको संघीयताको वकालत गरिरहेका आदिवासी जनजाति समुदायले महिला, दलित, मधेसीका हक र अधिकारबारे कुनै सरोकार राख्नुपर्दैन? त्यस्तै महिला, दलित, मधेसी र अन्य आन्दोलनले अन्य समुदायका हक र अधिकारबारे स्पष्ट धारणा राख्ने, उनीहरूसँग सहकार्य गर्ने र सामूहिक आन्दोलनमार्फत् एकाधिकारी सामाजिक संरचना फेर्नुपर्ने होइन र?
अन्य समुदायप्रति संवेदनशीलता खोइ?
विचार-विमर्शका लागि थप प्रश्न उठाउन सकिन्छ। जस्तो, लामो समयदेखि सत्ता-शक्ति, सम्पत्ति र हैसियतमा प्रभुत्व जमाउँदै आएका मूलतः ब्राह्मण र क्षत्री अभिजात वर्ग र केही हदसम्म नेवार एलिट वर्गबाट आएका तथा राज्य, प्रशासन, पार्टी, निजी क्षेत्रको नेतृत्व गरिरहेका व्यक्तिहरूले अन्य समुदायका मागप्रति कुनै संवेदनशीलता र सरोकार देखाउनुपर्दैन? अन्य समुदायले हक, अधिकार र हैसियत माग्नासाथ 'सामाजिक सद्भाव' खलबलिने भय दोहन गर्नमा आफ्नो बल र बुद्धि खर्चंदैमा स्वतन्त्रताको त्रासबाट मुक्त भएको ठहरिन्छ र? जो आफूलाई राजनीतिकरूपमा लोकतान्त्रिक र वामपन्थी, सांस्कृतिकरूपमा आधुनिक र उदार बौद्धिक व्यक्तित्व र नागरिक अगुवा ठान्छन्, उनीहरूका लागि पनि के महिला, दलित, मधेसी, आदिवासी जनजाति र अन्य समुदाय उपेक्षित, उत्पीडित र बहिष्कृत हुनु भनेको तिनै समुदायका मात्रै समस्या हुन् र? के ती समस्या राष्ट्रिय राजनीतिक समस्या होइनन्? तिनलाई अनेक नाराबाजीका साथ दुत्कार्नु र सामाजिक सद्भाव खलबलिने नाराले छोप्नु नै समाधान हो?
वास्तवमा स्वतन्त्रताको त्रासमा बाँच्नु वा अरुका भय दोहन गर्दै आफूमात्रै मोटाउनु न लोकतान्त्रिक पद्धति हो, न त वामपन्थी पद्धति नै हो। एकले अर्काका समस्याप्रति संवेदनशीलता र सरोकार देखाएर बुद्धिमानीपूर्ण समाधान निकाल्नुको साटो सामाजिक सद्भावको जपनामात्रै गरियो भने राष्ट्रिय एकता त टाढैको कुरा, स्वतन्त्रताका भरेङ र संवैधानिक टेकोसमेत मक्किन थाल्छन्। तब दुइटा सम्भावना बढ्न सक्छ : पहिलो, कुनै आकर्षक रुपरंगको सर्वसत्तावादको उदय हुन सक्छ। दोस्रो, डा. हर्क गुरुङले दश वर्षअधि भनेझैँ 'शासक वर्गले सामाजिक न्याय र राजनीतिक समानताका लागि उपेक्षित समूहहरूले उठाएका वैधानिक माग पूरा नगर्ने हो भने उनीहरू अझ आक्रामक र अझ विद्रोहात्मक पनि हुन सक्छन् अनि आत्मनिर्णयको अधिकारको नारा उठ्ने सम्भावना पनि हुन सक्छ।'
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस