पोलेको आलु
२७ माघ २०६९
•
१३ मिनेट पाठ
पोलेको आलु
राजनीतिक विश्लेषक र बुद्धिजीवीहरुले एकीकृत माओवादी पार्टीको सातौं महाधिवेशनको मिति तय हुनेबित्तिकै अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले महाधिवेशनमार्फत् आफनो राजनीतिक साम्राज्य विस्तार गर्ने परिकल्पना गरिसकेका थिए। उपाध्यक्ष मोहन वैद्यले पार्टी परित्याग गरेपछि पार्टीमा विरोधी स्वर मलीन भयो। बाँकी दुई उपाध्यक्ष विद्वान् बाबुराम र चतुर नारायणकाजीको सर्वोत्तम राजनीतिक विकल्प प्रचण्डको मूल प्रवाहमा पौडिनुबाहेक अर्को थिएन। पार्टीभित्रको प्रखर र सक्षम युवा समूह नेतृत्वलाई निर्णायक हिसावले चुनौती दिने हैसियतमा थिएन। वास्तवमा माओवादी पार्टीभित्र नेतृत्वलाई चुनौती दिनुपर्ने अप्ठेरो अवस्था पनि विद्यमान थिएन। चतुर काजीले माओवादीभित्र आफ्नो समूहको अलग अस्तित्व देखाउनका लागिमात्र राष्ट्रियता र बिप्पाको नौटंकी रचेका थिए। तर त्यो नौटंकी सार्वजनिक प्रदर्शनमा आउनुअघि नै फ्लप भयो।
त्यसैले पनि सर्वोच्च नेतृत्वमा प्रचण्डको निर्विरोध चयन समाचारको स्वाभाविक र सामान्य प्रक्रियामात्र बन्यो। उहाँको राजनीतिक दस्तावेजमा कुनै ठूलो विवाद आएन। ज-जसले महाधिवेशनले पार्टीभित्र ठूलो उथलपुथल ल्याउने आशा गरेका थिए, ती सबैको आशामा तुषारापात भयो। पार्टीका ज्ञानी र निष्ठावान कार्यकर्ताहरुले बेलाबेलामा आफ्ना अतृप्ति र कुण्ठा ओकलेर बन्द बैठकहरुको रौनक बढाए पनि नेतृत्वलाई थर्काउने अरु कुनै अनपेक्षित काम गरेनन्। शान्ति प्रक्रियामा समाहित भएपछि विधिवत् आयोजित पहिलो माओवादी महाधिवेशन विधिवत् नै समाप्त भयो। कांग्रेस र एमालेको जस्तो चुनावी प्रतिस्पर्धा र नेतृत्वको कचिंगल माओवादीमा देखिएन।
महाधिवेशनपछि धेरै विश्लेषकले एकीकृत माओवादीले पनि दुई दशकअघि वामपन्थी शक्तिको मियो बनेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले जस्तै आफ्ना लागि संसदीय राजनीतिको बाटो खोलेको निष्कर्ष निकाले। यस्तो निष्कर्षको कुनै आधार भने थिएन। माओवादीले संसदीय राजनीतिको बाटो खोलेको हो कि होइन? यो प्रसंगको विषय पनि होइन। त्यतिबेलाको परिस्थिति अलग थियो भने अहिलेको अलग छ। एमालेका प्रभावशाली महासचिव मदन भण्डारीले राजालाई श्रीपेच फुकालेर राजनीतिमा आउन ललकारेका मात्रै थिए भने माओवादी अध्यक्षले दलहरुसँगको सहयोग र सहकार्यमा राजतन्त्र नै विस्थापित गराइदिए। मदन भण्डारीले बहुदलीय जनवाद शब्दको सहारा लिएर एमालेलाई बहुदलीय लोकतन्त्रको बाटोमा हिँडाएका थिए। धेरै पछिमात्र नेपालका बुद्धिजीवीहरुले बहुदलीय जनवाद र बहुदलीय लोकतन्त्र समानअर्थी शब्द भएको पत्तो पाए। प्रचण्डको दस्तावेजमा त्यस्तो कुनै संकेत दिने शब्द र वाक्य पाइन्न। एमाले र माओवादीका 'वर्गीय आधारहरु' पनि बेग्लाबेग्लै छन्। त्यसैले माओवादीले महाधिवेशनमार्फत् आफ्ना लागि संसदीय राजनीतिको बाटो खोलेको कुरो विवादास्पद छ।
राजनीतिक पार्टीहरु, ती लोकतान्त्रिक सिद्धान्तका व्याख्याता हुन् वा साम्यवादी सिद्धान्तका अनुयायी, सामाजिक विकासको गतिसँगै अघि बढ्न सकेनन् भने ती कुण्ठित हुन्छन्। विज्ञान र प्रविधिको यो युगमा कुनै पनि राजनीतिक दल एक्लिएर बस्न सक्दैन। माओ त्से तुंगले जनक्रान्तिमार्फत् चीनमा राजनीतिक दिग्विजय गरेयता त्यहाँको कम्युनिष्ट पार्टीमा विशद परिवर्तन भइसकेको छ। दुनियाँ पूरै बदलिन थालेको यो स्थितिमा हिजोको सबभन्दा चर्को दल एकीकृत माओवादीले मात्रै होइन, कुनै पनि दलले राज्यसत्तामाथि आफ्नो एकाधिकार स्थापित गर्ने क्षमता नै राख्दैनन्। राजतन्त्रको नाममा एउटा लामो तानाशाही भोगेर गणतन्त्रमा पाइलो टेकेको देशले अर्को तानाशाहीको कल्पना पनि गर्न सक्दैन।
पुष्पकमल दाहाल 'प्रचण्ड' मा यो कुराको ज्ञान छैन भन्ने कसैले सोचेको छ भने त्यो राजनीतिक यथार्थ होइन। हेटौंडा महाधिवेशनमा प्रस्तुत र पारित गरिएको दस्तावेज माओवादी पार्टीको नीति-पत्र मात्रै हो। त्यो पार्टी कार्यालयको दराजमा थन्किने एउटा पुस्तक मात्रै हो, जुन कसैले पढ्दैन। अहिलेको वास्तविक राजनीतिक खेल दस्तावेजभन्दा बाहिर कतै छ। महाधिवेशनमा प्रचण्डद्वारा प्रस्तावित पदासीन प्रधान न्यायाधीशको प्रधानमन्त्रीमा पदोन्नति र चुनावी सरकारको गठन ख्यालख्यालको सूत्र मात्रै हो। वस्तुतः यो कुनै सूत्र नै होइन। माओवादीसँग गठबन्धनमा रहेको मधेसी मोर्चाले दुई दिनपछि त्यो सूत्र अमान्य भएको बताइसकेको छ। नेपाली राजनीतिको अहिलेको समस्या दलहरुको सहयोग नभई प्राविधिक हिसावले गठन भएका सरकारहरुले थेग्नै सक्दैनन्। त्यसैले यो सूत्रको विकल्पमा माओवादीबाट प्रस्तुत गरिने अर्को सूत्र के हुन सक्छ? त्यो हेर्न बाँकी नै छ।
अहिलेको राजनीतिको सबभन्दा ठूलो समस्या हो- शक्ति सन्तुलन। एकीकृत माओवादीबाट वैद्य समूहको बहिर्गमनपछि पक्ष-विपक्षका बीच शक्ति सन्तुलन हुने राजनीतिक विश्लेषकहरुमा रहेको आशालाई एकीकृत माओवादीको अधिवेशनले निरस्त गरिदिएको छ। गुट र फुटका वावजुद एकीकृत माओवादी महाधिवेशनपछि बढी संगठित र एकताबद्ध देखिएको छ। अर्कोतिर, प्रतिपक्ष समस्याको प्रस्तुति र विचारको हिसावले कमजोर देखिएको छ। दैलेखबाट सुरु भएको उसको आन्दोलन राजधानीको खुलामञ्च आइपुग्दासम्म पनि संगठित देखिएको छैन। कांग्रेसका नेताहरु माओवादीलाई आफ्ना नेता गिरिजाप्रसाद कोइरालाले शान्ति प्रक्रियामा ल्याएको भाडा उठाउन खोज्दैछन्। माओवादी त्यस्तो भाडा तिर्न इन्कार गर्दैछ। आन्दोलनको आँधी-बेहरी ल्याएर सरकार ढाल्न नसकिने उदाहरण माधव नेपाल नेतृत्वको सरकारकै पालामा माओवादीले नै स्थापित गरिसकेको छ। सरकारको विस्थापनका लागि कि प्रभावकारी वार्तामा उत्रनुपर्छ नभए नयाँ गठबन्धन निर्माण गर्नुपर्छ। सरकार विस्थापनकै लागि जनता सडकमा ओर्लने अवस्था अहिले छैन। उसका लागि पक्ष वा प्रतिपक्ष सबै नेताहरुको अनुहार उस्तै छ।
पूरै प्रतिपक्ष अहिले आफ्नो कुरा जनतामा सुस्पष्ट तरिकाले राख्नमा भन्दा प्रचण्डको भनाइमा प्रतिक्रिया व्यक्त गरेर आफूलाई सारै हलुका सावित गरिरहेको छ। प्रतिपक्षसँग सरकारको राजीनामाबाहेक अरु कुनै माग नै छैन। चुनाव कसरी गर्ने हो? कसको नेतृत्वमा गराउने हो? यसका प्राविधिक पक्षहरु के हुने हुन? चुनावको निष्पक्षता कसरी सावित गर्ने हो? यी कुनै पनि विषयमा प्रतिपक्षको ध्यान पुगेको छैन। सरकारले कुलेखानीको इन्द्र सरोवरमा जम्मा भएको पानी प्रयोग गरेर लोडसेडिङ घटाएर प्रतिपक्षको भावी सरकारलाई अप्ठेरोमा पार्न खोजेको भाषण गरेर जग हँसाउने हाँस्यरस उत्पन्न गर्ने प्रतिपक्षी नेताहरुले देशका समस्या समाधान गर्ने कार्यसूची नै तयार पार्न सकेका छैनन्। माओवादीले फ्याँकेका अनेक सूत्रबारे प्रतिक्रिया दिएरमात्रै प्रतिपक्षको कर्तव्य पूरा हुन्छ त?
एकीकृत माओवादीको नेतृत्वले जेठ अन्तिम सातासम्म चुनाव गराउने अठोट गर्यो भने फागुनको पहिलो सातासम्म सबै सूत्र प्रयोग भइसक्नेछ। प्रतिपक्षले सरकारको विस्थापनमा भन्दा चुनावमा बढी जोड दियो भनेमात्र उनीहरुको आन्दोलनले गति लिनेछ। किनभने, चुनाव अहिलेको जनचाहना हो। चुनाव नभई निकास नहुने अप्ठेरो परिस्थिति उत्पन्न नभएसम्म सरकारको निर्गम सहज हुने छैन। प्रतिपक्षले चुनावको माग घन्काएर त्यसैका लागि सरकारको राजीनामा माग्यो भने त्यो बढी जायज हुन्छ। जनताले पनि पत्याउने वातावरण बन्छ। होइन भने अनिश्चित समयसम्म चुनाव हुने सम्भावना रहँदैन।
जनआन्दोलनको राप र तापका बेला राजनीतिक दलबीच आवेगमा जन्मिएको थियो सहमति शब्द। माओवादी लडाकुको नेपाली सेनामा समायोजनसँगै त्यो आवेग अब चिसिइसकेको छ। नीतिशास्त्रहरुमा जेसुकै लेखिएको भए पनि शक्ति र सत्ताको खतरनाक खेल नै हो राजनीति। राजनीतिमा विश्वास-अविश्वास, सहमति-विमति केही हुँदैन। बराबरीका शक्तिबीच कडा लेनदेनको व्यवहार नभएसम्म राजनीतिक सन्तुलन कायम रहन सक्दैन।
साहित्यकार तथा विद्वान् जगदीशशमशेर राणाले भन्नुभएजस्तै प्रतिपक्ष अँगेनाको भुंग्रोमा पोल्न हालेको आलु आफैं झिकेर खान डराइरहेको छ। ऊ चाहन्छ राष्ट्रपतिले आफ्नो हात पोलेर अँगेनाबाट आलु झिकून् र उनीहरुलाई खान दिऊन्। पोलेको आलुको स्वाद लिन चाहनेले अँगेनाको भुँग्रोबाट आफैँ आलु झिकेर खानुपर्छ।


अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस