विवाहको मौसम सकिन लाग्यो रे! त्यसैले हतारहतार धेरैले काम सिध्याउँदैछन्। जताततै भ्याई-नभ्याई छ। सुन्छु, यसपाली साइत धेरै छैन रे। त्यसैले यतिखेर शहरका घरहरुमा निमन्त्रणापत्रहरुको थाक लागेको छ। घरघरमा चाङ लागेका ती महँगा निमन्त्रणापत्रहरु जतिसुकै कलात्मक भए तापनि तुरुन्तै मिल्काइनेछन्। जसकहाँ ती निमन्त्रणापत्रहरु आउँछन्, प्रायः अचानक आउँछन्। पठाउनेले खुसीले नै पठाएको होला तर प्रायः त्यहाँ बाध्यता पनि मिस्सिएको हुन्छ। कतिपय स्थितिमा त केवल बाध्यताले मात्र पठाइएका हुन्छन् निमन्त्रणाहरु। निम्तो पाउने पनि सहर्ष नै निम्तो मान्न जालान् तर अहिलेको व्यस्त जीवनमा धेरैले 'जानैपर्ने बाध्यता' अनुभव गर्दै जान्छन्। अझ कतिले नौदस ठाउँको भोजमा जानुपर्ने 'बाध्यता' दर्शाइरहेका हुन्छन्।
यो सब आवश्यक छ? संसारका जुनसुकै धर्मसम्प्रदाय, जातजाति वा राष्ट्रियताका मानिसबीच विवाह महत्त्वपूर्ण घटना हो। बेहुलाबेहुलीको जीवनमा त विवाह अत्यन्त ठूलो घटना हो, ज्यादै महत्त्वपूर्ण मोड हो। त्यसैले त्यो दिन पूर्णतया बेहुला-बेहुलीको दिन हुनुपर्ने हो। खुसीको दिन हुनुपर्ने हो। तर हामीकहाँ गरिने विवाहका धेरै कर्मकाण्ड, प्रचलन र गतिविधि बेहुलाबेहुलीको भन्दा बढी अभिभावकका निम्ति हुने गरेका छन्। विवाह दुलाहा-दुलहीको हो। तर त्यो कि अभिभावकको दम्भ प्रदर्शन गर्ने अवसर बन्छ, कि त उनीहरुको सञ्जाल विस्तार गर्ने अवसर, कि भने आफैले सिर्जना गरेको बाध्यताको भूतका अगाडि आत्मसमर्पण गर्ने क्षण।
हामीकहाँ हुने गरेका विवाहका औपचारिकताहरुमा केही अत्यन्त सुन्दर कुरा लुकेका हुन्छन् भने केही अति असुन्दर पुरुषप्रभुत्व र अमानवीकरणका अभिव्यक्ति। भाषा, संस्कृति, रीतिरिवाजको विविधतामा यति धनी छ यो देश। विभिन्न जनजातिका विवाहमा आआफ्नै किसिमका सवल र सुन्दर पक्ष छन्। हिन्दुहरुकै 'स्वयम्बर' पनि आफैमा लिङ्गभेद विरोधी दर्शन लुकेको अवधारणा हो। रीतिरिवाजको ती सुन्दर अन्तर्वस्तुलाई समयानुकूल अझ सुन्दर बनाउन नसकिने हैन। हरेक जातजातिका विभिन्न सुन्दर र स्वस्थ रीतिरिवाजलाई एकअर्कामा प्रवेश दिने र अंगाल्ने गर्दा नयाँ र सुन्दर संस्कृति विकास हुन सक्छ। यो कुराको सानो र सरल उदाहरण अचेल हुने गरेको खादाको प्रयोगले पनि देखाएको छ। त्यस्तै, परम्पराको नाममा नचाहिँदा र पटक्कै समयसापेक्षता नभएका केही थोत्रा प्रचलन पनि फेर्नै नसकिने हैन। तर हामीसँगै भएका सुन्दर पक्षलाई विकास गर्ने काम धेरै गर्न सकेका छैनौं, न त असुन्दर पक्षलाई हटाउने काम नै। विवाह जस्तो महत्त्वपूर्ण घटना करिब करिब भोजमा केन्द्रित हुन पुगेको छ र अत्यन्त सतही र सस्तो भएको छ। करकापको दाइजो जस्ता फोहोरी र अन्य अमानवीय प्रथा हेर्ने हो भने त झनै दुर्दशा देखिन्छ। विवाहसँग जोडिएका रीतिरिवाज र वरिपरिका अनेक यथार्थलाई नियालेर हेर्ने हो भने मानिस यथास्थितिवादको कतिसम्म दास भएको हुँदोरहेछ र त्यो दासत्वबाट मुक्त हुन कति अनिच्छुक हुँदोरहेछ भन्ने पनि छर्लङ्ग देखिन्छ।
सम्बन्धहरुबारे, प्रेमबारे, विवाहबारे सैद्धान्तिक हिसावले जतिसुकै 'स्वस्थ', 'प्रगतिशील', 'वैज्ञानिक', 'आधुनिक', 'क्रान्तिकारी' सोच राख्छु भन्नेहरु पनि जब आफैले नै साँच्चै केही गर्नुपर्ने हुन्छ, भनेजस्तो केही गर्न सक्दैनन्। कोही सिधै बाध्यता स्वीकार्छन्, कोही भने 'संस्कृतिको रक्षा गर्न खोजेको' वा 'परम्परा मान्नैपर्यो' भनेर आफ्ना कमजोरीमाथि वाहियात तर्कको लेप लगाउँछन्।
परिवर्तन सम्भव छ। मेरै कतिपय अत्यन्त नजिकका साथीहरुको वा उनीहरुका छोराछोरीको विवाहमा पनि म गएको छैन, बोलाइएको छैन। मलाई थाहा छ, अत्यन्त सरल, सार्थक ढङ्गले ती विवाह भएका छन्। हाम्रै विवाहमा वा हाम्री छोरीको विवाह गर्दा पनि हामीले अत्यन्त नजिकका साथी पनि बोलाएनौं। तर हामीले ती साथी गुमाएका पनि छैनौं। हरेक परिवारमा आआफ्नै सृजनात्मक तरिकाले सरलीकृत गरिएको अत्यन्त सुन्दर र सार्थक समारोहबीच विवाहको औपचारिकता सम्पन्न गर्न सकिँदोरहेछ। आआफ्ना सकारात्मक अनुभवहरु एकअर्कालाई वा सार्वजनिकरूपमै पनि 'सेयर' गर्नु राम्रो हुन्छ भन्ने लाग्छ किनकि नयाँ नेपाल बनाउने अभियानमा यस्ता साना कुराहरुको पनि अर्थ त हुन्छन् नि।
एउटा अनुभव यस्तो पनि छ। मेडिकल कलेजमा सँगसँगै पढेर भर्खरमात्र काम गर्न थालेका एक जोडी युवायुवतीले बिहे गर्ने निर्णय गरे। केटीले आफ्नो घरमा त्यो निर्णय सुनाई। आमाले सोधिन्- 'तिमीहरुले सबै कुरा विचार गरेको हो त? एक अर्कालाई राम्रोसँग चिनेका छौ त?' छोरीको स्पष्ट उत्तर थियो- 'तपाईंहरुले विवाह गर्ने निर्णय गर्दा जति जोखिम मोल्नुभएको थियो, त्योभन्दा धेरै कम जोखिम मोल्दैछु म। हामी एकअर्कालाई यति धेरै वर्षदेखि यति नजिकबाट हेरिरहेका छौं।' बाबुको त कुनै प्रश्नै थिएन। ती दुवै उसका त विद्यार्थी पनि थिए। अरु विवादको कुरो आएन। विवाहको निर्णय भयो।
परिवारमा सरसल्लाह भयो। विवाहको समय तोकियो। सरलीकृत गर्ने कुरामा सबै राजी भए। कसरी गर्ने भन्ने कुरामा पनि एकमत भयो। निमन्त्रणा पत्र बन्न थाल्यो। बेहुलाबेहुली दुईजना मिलेर मेहनत गरेर निमन्त्रणा पत्र बनाए, रङ्गीन नेपाली कागजको। बीचमा मोडेर दुई पन्ना अर्थात् चार पेजको सानो निम्तो पत्र। पहिलो पेजमा खलिल जिब्रानको विवाहसम्बन्धी उद्धरण थियो। पल्टाउनेबित्तिकै बायाँपटि्ट अर्थात् दोस्रो पेजमा बेहुलाबेहुलीले घोषणा गरेका थिए- 'दाम्पत्य जीवनमा बाँधिएर हामी एकअर्काको अझ नजिक हुँदैछौं। तपाईंको शुभेच्छा र आशीर्वादको आशा राख्दछौं।' दायाँपटि्ट अर्थात् तेस्रो पेजमा बाबुआमाको आह्वान थियो- 'यी दुई नयाँ जीवनको सुरुआत् गर्दैछन्। यिनीहरुको खुसीमा सामेल हुन हामी पनि जाऔं।' अनि पछिल्तिर अर्थात् अन्तिम पातोमा स्थान र समय थियो। बगनबेलीको फूल टाँसेर ती बेहुला-बेहुलीले त्यो 'ह्याण्डमेड' निम्तोलाई अझ सुन्दर बनाएका थिए।
त्यति मेहनत गरेर उनीहरुले बनाएको त्यो निम्तो पुग्नैपर्ने ठाउँमा मात्र पुग्यो। निम्तालु हुनका निम्ति कम्तिमा पनि बेहुलाबेहुलीमध्ये एकजनाले राम्रोसँग चिनेको र उसको उपस्थितिमा सहज अनुभव गर्ने प्रावधान थियो। जम्मा एक सय पचास जना निम्तालु भए। धेरै नजिकका नातेदार त्यसमा परेनन्। बाबुआमाका साथीहरु पनि एकदम थोरैमात्र परे। विवाहको दिन बिहान 'स्वयम्बर' मा दुलाहादुलहीले शपथग्रहण गरेझैं एकअर्कालाई साथ दिने प्रण गरे। त्यही दिन बेलुकी निम्त्याइएका पाहुनाका अगाडि सबभन्दा पहिले दुलाहा-दुलहीले नै आफूहरु विवाहित भएको घोषणा गरे। अनि एक जना मुस्लिम मुल्लाह गएर आफ्नो किसिमले आशीर्वचन बोले। त्यसपछि एकजना क्याथोलिक फादर गएर आशीर्वाद दिँदै विवाहको महत्त्वबारे बोले। अनि एक जना भिक्षुका आशीर्वाद पाए। र, अन्त्यमा हिन्दु गुरुहरुले आशीर्वाद दिए। त्यसपछि आफन्त र साथीहरुले शुभेच्छा प्रकट गर्न थाले।
बेहुलाबेहुलीले नजिकबाट चिनेका हुँदा निम्तालुहरुमा अधिकांश युवायुवती नै थिए। ती नाच्न, रमाइलो गर्न थाले। बूढाबूढीहरु एउटा कुनामा बसेर गफ गरिरहेका थिए। तिनलाई पनि तानेर लगे ती केटाकेटीले। खानपिन र नाचगान सँगै चल्यो। तीन घण्टामा सबै सिद्धियो। ती बेहुला-बेहुली मेरै छोरी-ज्वाइँ थिए, जो प्रेमलाई अझ गहिराईमा बुझ्दै एकअर्काको विकास र हुर्काइमा सहयोगी बन्दै जिन्दगीका चुनौती झेलिरहेका छन्। झन् झन् स्वतन्त्र र सक्षम हुँदैछन् ती दुवै। झन् झन् बढी सामाजिक उत्तरदायित्वबोध गरिरहेका छन्।
हामीले त्यो विवाहलाई आफ्नो दम्भ प्रदर्शन गर्न, आफ्नो सामाजिक सम्बन्ध बढाउन, कुनै 'नेता' बोलाएर फुर्ति देखाउन वा 'कूटनीतिक' सम्बन्ध स्थापना गर्न उपयोग गरेनौं। दुलाहादुलहीले प्रत्यक्ष नचिनेका हाम्रा धेरै नजिकका साथी र नजिकका नातेदार पनि बोलाएनौं। तर अहिले पनि हाम्रा सबै साथीहरु उत्तिकै नजिक छन्, उत्तिकै प्यारा छन्। हामीले कुनै साथी गुमाएका छैनौं।
मलाई केही साथीहरु भन्थे- हेरुँला नि तिमी कसरी गर्छौं छोरीको बिहे! आजकल उनीहरु भन्छन्- 'त्यो त तिमीले मात्रै गर्न सक्छौ।' तर यथार्थ के हो भने पाखण्डको साम्राज्यभित्र पनि परिवर्तनको धार निरन्तर बगिरहेको छ र समाज परिवर्तन भइरहेको छ। यो नयाँ धारमा बग्न पाएकोमा हामीलाई खुसी लागेको छ।