विचारमा स्वामित्वको प्रश्न
२३ माघ २०६९
•
१९ मिनेट पाठ
विचारमा स्वामित्वको प्रश्न
प्रचण्डले एकीकृत नेकपा माओवादीको सातौँ महाधिवेशनका लागि तयार गरेको दस्तावेज 'नेपाली क्रान्तिको नयाँ संश्लेषण : एक ऐतिहासिक आवश्यकता' माथि टिप्पणी गर्दै वाम विश्लेषक मुमाराम खनालले 'नयाँ', 'मौलिक', 'ऐतिहासिक' भनेका कुराहरु नयाँ नभएको खुलासा गरेपछि राजनीतिक तथा बौद्धिक क्षेत्रमा तातो बहस आरम्भ भएको छ। प्रचण्डको दस्तावेजमा र उनीहरुले सञ्चार माध्यमहरुमा नयाँ भनेर दाबी गरेका मुख्य विचारहरु घनश्याम भुसाललगायत् केही युवाहरुले नेकपा एमालेको आठौँ महाधिवेशनमा पेश गरेको दस्तावेजबाट साभार हुन् भन्दै मुमाराम सप्रमाण अगाडि आएपछि स्वयं प्रचण्ड र एमाओवादीलाई क्रान्तिकारी भनेर प्रचार गर्ने बौद्धिक तथा नागरिक समाजका मानिसहरुसमेत उक्त बहसमा तानिएका छन्। उनीहरुले प्रचण्डको दस्तावेजलाई नेपालको कम्युनिष्ट आन्दोलनमा प्रचण्डले दिएको नयाँ योगदानका रूपमा प्रचार गर्न थालेका छन्।
यसै सन्दर्भमा नागरिक दैनिकको माघ २३ गतेको अंकमा राजनीतिक टिप्पणीकार राजेन्द्र महर्जनले 'माओवादी कार्यदिशामा कायाकल्प' शीर्षकको लेखमा प्रचण्डले 'नेपालको पुँजीवादीकरण र लोकतान्त्रीकरणकै क्रममा राजतन्त्रको अन्त्यपछि समाजवादी क्रान्तिको नारा दिएको' र 'उन (प्रचण्ड) को कोसिसलाई एमाले नेता घनश्याम भुसालकै दस्तावेजको पुनरुत्पादन र माओवादीको एमालेकरणको अर्थमा होच्याउने कामले 'प्रचण्डको कोसिसको सही मूल्यांकन' नहुने उल्लेख गरेका छन्। तर महर्जनले प्रचण्डको सही मूल्यांकन कसरी हुन्छ भन्नेबारेचाहिँ केही लेखेका छैनन्।


 

नेपाली समाजको चरित्र विश्लेषण
हिजोअस्ति भरखरैसम्म नेपाली समाज अर्धसामन्ती र अर्धऔपनिवेसिक भनेर व्याख्या गर्दैआएका प्रचण्डले आफ्नो दस्तावेजमा 'युटर्न' गरेर नेपाली समाजको वर्तमान चरित्रबारे कुनै तथ्य र व्याख्याविना भनेका छन्, 'अहिले पनि देश हिजोकै जस्तो अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा नै छ भन्ने कुरा वस्तुगत युगान्तकारी परिवर्तनलाई नदेख्ने र नबुझ्ने यान्त्रिक मनोगत सोचाईमात्र हुनेछ ' अर्धसामन्ती अवस्थाबाट पुँजीवादी आर्थिक अवस्थातर्फ अग्रसर समाज औपनिवेशिक अवस्थाबाट पूर्ण राष्ट्रिय स्वाधीनताको अवस्थातिर अग्रसर राष्ट्रिय आन्दोलन एवं संक्रमणकालीन राजनीतिक परिस्थितिमा सर्वहारा वर्गीय राजनीतिक नेतृत्वको बलियो उपस्थितिको आजको ठोस स्थितिमा जनवाद र समाजवादबीचको दूरी पूरै घट्न गएको यथार्थमा पार्टी स्पष्ट रहनुपर्छ।' नेपाली समाजको चरित्रबारे प्रचण्डले गरेको सबैभन्दा ठूलो 'कोसिस' त्यत्ति नै हो। त्यसबाहेक प्रचण्डको दस्तावेजमा कुनै ठोस व्याख्या छैन। यसले के देखाउँछ भने नेपाली समाजको चरित्रबारे उनको निष्कर्ष ठोस अध्ययन र अनुसन्धानमा आधारित छैन। त्यसैले दस्तावेजमा उनले उल्लेख गरेका केही शब्दलाई नै प्रशंसा गर्नुको कुनै अर्थ छैन।

प्रचण्डको दस्तावेजमा व्याख्या नभएको कुरा स्वयं महर्जनले पनि स्वीकार गरेका छन्। उनी भन्छन्, 'व्यवहार र ज्ञानका वास्तविकता अनुभूत गरेरै प्रचण्डको दस्तावेजमा अहिलेको नेपालको अर्थराजनीतिक अवस्था अर्धउपनिवेश र अर्धसामन्ती नभएको विश्लेषण गरिएको हुन सक्छ। चाहे त्यो दुई चार वाक्यमा किन नहोस्।' उनले प्रचण्डको प्रयासलाई 'नवीन पस्काई' समेत भनेका छन्। वास्तवमा नेपाली समाजको चरित्रबारे प्राज्ञ चैतन्य मिश्र र घनश्याम भुसालले लामो समयदेखि अध्ययन/अनुसन्धानहरु गर्दै आएका छन्। त्यसै विषयमा भुसालले 'नेपालको अर्थराजनीति' र 'आजको मार्क्सवाद र नेपाली क्रान्ति' लेखेका छन्। हालै नेकपा एमालेको मुखपत्रमा वामदेव गौतम र सुरेन्द्र पाण्डेले समेत विभिन्न तथ्यहरुका आधारमा नेपाली समाजको चरित्र पुँजीवादी भइसकेको दाबी गरेका छन्। यति हुँदाहुँदै प्रचण्डले कुनै सन्दर्भविना नै अगाडि ल्याएका केही शब्दहरुलाई 'नवीन पस्काई' वा नयाँ आविष्कार भन्नु कति जायज हुन्छ? सिद्धान्तको बहस पनि कुन पार्टी ठूलो छ वा कुनचाहिँ ठूलो नेता हो भन्ने आधारमा गर्न थालियो भने हामीले आफूलाई बुद्धिजीवी कसरी प्रमाणित गर्न सक्छौँ?

नेपाल कम्युनिष्ट पार्टीको पहिलो घोषणापत्र जारी गर्दा समाजको चरित्र अर्धसमान्ती अर्धऔपनिवेशिक भनेर व्याख्या गर्ने कुरा सत्यताको धेरै नजिक थियो। तर समाजको परिवर्तनसँगै सिद्धान्तको व्याख्या गर्दै जाने काम कम्युनिष्ट आन्दोलनमा भएन। बरु माओले चिनियाँ समाजको चरित्र अर्धसामन्ती र अर्धऔपनिवेसिक भनेर गरेको व्याख्याका आधारमा नेपालमा पनि त्यही फर्मुला अपनाइयो। त्यसपछि हामी कम्युनिष्टहरुले समाजको अध्ययन गर्ने कामलाई महत्त्व दिएनौँ र अहिलेसम्म पनि यी समस्या हाम्रा अगाडि छन्। अध्ययन र अनुसन्धान नगरिकनै नेताहरुले निकाल्ने निष्कर्षलाई नै उनका पछि लाग्ने कार्यकर्ता र समर्थकहरुको भिडको बलमा सिद्धान्त भन्ने परम्पराले गर्दा सिद्धान्तको दुर्गति हुने गरेको छ। प्रचण्डको कथित 'नयाँ संश्लेषण' बारे पनि त्यही हुँदैछ।

 

जनवादी कि समाजवादी क्रान्ति?
प्रचण्डको दस्तावेजले 'अहिले पनि देश हिजोकै जस्तो अर्धसामन्ती र अर्धऔपनिवेसिक अवस्थामा नै छ भन्ने कुरा वस्तुगत युगान्तकारी परिवर्तनलाई नदेख्ने र नबुझ्ने यान्त्रिक मनोगत सोचाईमात्र हुनेछ' भनिएको छ। त्यसैलाई प्रचण्डको 'नयाँ आविष्कार' भनेर प्रचार गरिएको छ। तर उनको दस्तावेजका कैयौँ ठाउँमा सामन्तवादलाई प्रमुख अवरोध भनिएको छ। हिजो सामन्ती राजतन्त्रसँग नेपाली जनताको अन्तरविरोध प्रधान र खुला थियो, राजतन्त्र मुख्य शत्रु र क्रान्तिको निशाना पनि त्यही थियो। त्यसैले त्यस शक्तिलाई निषेध गर्नु क्रान्तिको प्रमुख कार्यभार थियो। यतिबेला जनवादी क्रान्तिको 'मूल शत्रु' राजतन्त्र नै पराजति भइसकेपछि अब कोसँग लड्ने? राजतन्त्रको 'भूत' हाम्रो प्रमुख दुश्मन र लडाइँको प्रमुख निशाना हुन्छ कि सामन्तवादका अवशेषसँगको लडाइँ प्रमुख हुन्छ वा अवशेषहरुको निषेध नै प्रहारको मुख्य निशाना बन्छ? यो यतिबेलाको अर्को गम्भीर प्रश्न हो।

 

प्रचण्डले 'जनवादी क्रान्ति मूलभूतरूपमा सम्पन्न भइसकेको र जनवादी क्रान्तिका बाँकी कार्यभारहरु पूरा गर्नुपर्ने' कुरा त गरेका छन्। तर, के हुन् ती बाँकी कार्यभार र कसरी पूरा हुन्छन् भन्नेबारेमा उनी केही बोल्दैनन्। समाजवादको तयारी कसरी गर्ने? शान्तिपूर्ण वा हिंसात्मक बाटोबाट? यसमा पनि प्रचण्डको कार्यदिशा प्रष्ट छैन। 'निर्णायक विजयका लागि जनताको विद्रोहात्मक धक्का अनिवार्य हुने' कुरा गरेर फेरी युद्धको गन्ध दिन पछि पर्दैनन्। के हो विद्रोहात्मक धक्काको अर्थ? कुन क्रान्तिका लागि विद्रोहात्मक धक्का आवश्यक परेको हो? जनवादी क्रान्तिलाई पूर्णता दिनका लागि कि समाजवादी क्रान्तिका लागि? यहीँनेर प्रचण्ड गञ्जागोलमा फसेका छन्। हिंसाको बाटो त्याग्न पनि नसक्ने, लोकतान्त्रिक मार्ग पूरै अंगाल्न पनि नसक्ने, वैचारिक द्विविधा र दोधारमा देखिन्छन् उनी।


'जनयुद्ध' को समीक्षा

माओवादीको २१ वर्षअघि भएको महाधिवेशनले 'जनयुद्ध' को कार्यदिशा पारित गरेको र त्यसको चार वर्षपछि हिंसात्मक आन्दोलन सुरु गरेको थियो। दश वर्षसम्म युद्ध लडेको माओवादी उक्त 'जनयुद्ध' असफल हुने निश्चित भएपछि आफ्नो रणनीति परिवर्तन गरेर 'जनयुद्ध' बिसाउँदै शान्ति प्रक्रियामार्फत् शान्तिपूर्ण राजनीतिमा समाहित हुने निधो गरेको थियो। बाह्र बुँदेबाट आरम्भ शान्ति प्रक्रियाको यात्राले बृहद् शान्ति सम्झौतामा पुगेर मूर्तता पायो। त्यसपछि संविधान सभाको निर्वाचन हुँदै माओवादीले दुई पटक सरकारको नेतृत्वसमेत गरिसकेको छ र अहिले उसले 'जनयुद्ध' लाई सैद्धान्तिकरूपमा नै परित्याग गरेको छ। प्रचण्डको उक्त दस्तावेजको मूल दिशा 'जनयुद्ध' को परित्याग नै हो। तर उनले त्यसलाई स्वीकार गर्न सकेका छैनन्। माओवादलाई 'जनयुद्ध' को मार्गदर्शक सिद्धान्त मानेर उनीहरुले विद्रोह सुरु गरेका थिए। त्यसको अर्थ के हो भने माओवाद 'जनयुद्ध' लाई अनिवार्य ठान्छ। अहिले उनले 'जनयुद्ध' छाडेका छन् र माओवादलाई मार्गदर्शक सिद्धान्त नै मानेका छन्। यो सैद्धान्तिक अन्तरविरोधलाई बोकेर माओवादी पार्टी लामो समयसम्म अगाडि जान सक्दैन।

साथै, माओवादलाई उनीहरुले आजको मार्क्सवाद हो भनेर व्याख्या गरेका थिए। र, अहिले पनि उनीहरुले त्यसमाथि पुनर्विचार गरेका छैनन्। त्यसको अर्थ हो माओवादले नै समाजवाद र साम्यवादसम्म मार्गदर्शन गर्छ। तर प्रचण्डले आफ्नो दस्तावेजमा उल्लेख गरेको राजनीतिक कार्यक्रम र माओवाद एक अर्कामा अन्तरविरोधपूर्ण छन्। किनकि माओवादले त समाजवादमा पनि वर्ग संघर्ष नै प्रमुख हुन्छ भन्ने मान्यता राख्छ। त्यसैले पार्टी र सेनाको नेतृत्व क्रान्तिका लागि अनिवार्य हुन्छ। अहिले प्रचण्डले 'उत्पादनको संघर्ष' लाई प्रमुख बताएका छन्, जुन कुरा माओवादको विपरित हुन्छ। अहिले आफ्ना कार्यकर्तालाई वैद्य समूहतिर नजाउन् भनेर माओवाद झुण्ड्याएको हो। वास्तवमा माओवाद उनले छाडेकै हुन् भने उनले 'जनयुद्ध' नै गलत थियो भनेर मान्नुपर्ने हुन्छ। त्यस अवस्थामा प्रचण्ड र एमाओवादीको औचित्य पनि समाप्त हुनेछ।

स्वामित्वको प्रश्न
२०६२/०६३ को परिवर्तन नेपालको सन्दर्भमा पुँजीवादी जनवादी राजनीतिक क्रान्ति थियो। त्यसपछि नेपाली क्रान्तिको कार्यभार पुँजीवादी जनवादी क्रान्तिका आर्थिक समाजिक कार्यभार पूरा गर्नु हो। तर नेपाली पुँजीवादको चरित्र दलाल भएको हुँदा दलाल पुँजीवादद्वारा थिचिएको राष्ट्रिय पुँजीवादलाई त्यो जन्जिरबाट मुक्त गर्ने, दलाल तथा नोकरशाही पुँजीवादको नियन्त्रण घटाउँदै जाने र राष्ट्रिय पुँजीको विकास गर्ने हो। लोकतान्त्रिक प्रतिस्पर्धामा दलाल पुँजीवादी शक्तिहरुलाई पराजित गर्दै समाजवादको दिशामा अगाडि जानुपर्छ भन्ने विश्लेषणका आधारमा नेकपा एमालेको आठौँ महाधिवेशनमा घनश्याम भुसाललगायत् केही युवाहरुले आफ्नो दस्तावेज अगाडि ल्याएका थिए। ती निष्कर्षमा पुग्दा उनीहरुले मार्क्सवादलाई कसरी व्याख्या गर्ने भन्ने प्रश्नबाटै नेपाली समाजको अध्ययन थालेका थिए। तर उनीहरुले नेपाली समाजको वर्ग विश्लेषणसमेत नयाँ तरिकाले गर्नुपर्ने आवश्यकतामा जोड दिँदै आफ्नो विश्लेषणसमेत दिएका छन्। जनताको बहुदलीय जनवादलाई कसरी समाजवादमा विकसित गर्न सकिन्छ भन्ने प्रश्नमा समेत उनीहरुका निष्कर्ष अगाडि आएका हुन्। अहिले प्रचण्डले उनीहरुका निष्कर्षबाट केही मुख्य कुराहरुलाई 'कट पेस्ट' गरेर आफ्नो दस्तावेज अगाडि सारेका छन् भन्ने कुरा ती दुवै दस्तावेज हेर्ने सबैलाई छर्लंग हुनेछ।

एमालेको आठौँ महाधिवेशनमा उनीहरुले पेश गरेको उक्त दस्तावेज ती धारणाहरु महाधिवेशनले पारित नगरे पनि पार्टीले आफ्नो 'प्रपर्टी' का रूपमा स्वीकार गरीसकेको छ। एमालेमा दर्ज भएका ती धारणा प्रचण्डले आफ्नो दस्तावेजमा उल्लेख गरेपछि कतिपयले ती विचारमाथि प्रचण्डको स्वामित्व दिलाउने कसरत गर्न थालेका छन्। ती विचारहरुको स्वामित्व जसरी खोजे पनि एमालेलाई नै जान्छ तापनि सिद्धान्त र विचारको प्रश्नमा स्वामित्वभन्दा सत्यता खोजी हुनुपर्छ। प्रचण्डले केही विचारहरु ठिकै ढंगले उल्लेख गर्न खोजे पनि उनको समग्र दस्तावेज जसले जे चाह्यो, त्यही निकाल्न सक्ने खिचडीको कसौंडी जस्तो भएको छ : द्विविधाग्रस्त, विरोधाभाषी र असङ्गतिपूर्ण छ। तर पनि हिजो सांस्कृतिक क्रान्तिको नक्कल गरेर 'जनयुद्ध' द्वारा 'अर्धसामन्ती र अर्धऔपनिवेसिक' नेपाली समाजमा नयाँ जनवादी क्रान्ति गर्नुपर्छ भन्ने विश्लेषण परित्याग गर्न प्रचण्डद्वारा भएका प्रयासलाई शंकाको सुविधा दिनुपर्छ। नेपाल अर्धसामन्ती अवस्थाबाट पुँजीवादी अवस्थामा प्रवेश गरेको व्याख्या पहिलेदेखि गर्दै आएका घनश्याम भुसाल, प्राज्ञ चैतन्य मिश्रहरुको व्याख्यालाई आधार बनाएर प्रचण्ड पनि त्यो निष्कर्षमा पुगेको कुरा आफैमा महत्त्वपूर्ण छ। तर विद्वान् मित्र राजेन्द्र महर्जनले भनेझैं प्रचण्डले 'डा. मिश्र, श्याम श्रेष्ठ र घनश्याम भुसालका प्रयासलाई नयाँ उचाई दिने कोसिस गरेका छन्' भन्ने कुरामा सत्यता छैन।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस