माओवादी महाधिवेशन र नोकरशाही ढाँचा
१५ माघ २०६९
•
१९ मिनेट पाठ
माओवादी महाधिवेशन र नोकरशाही ढाँचा
'द एज अफ एक्सटि्रम्स' पुस्तकमा ब्रिटिस मार्क्सवादी इतिहासकार एरिक हब्सबामले दृढ विश्वासका साथ लेखेका थिए, 'विश्व-क्रान्तिको शक्ति संगठनसम्बन्धी कम्युनिस्ट ढाँचामा निहित छ।' रुसको बोल्सेभिक पार्टी संगठन देखेर हब्सबामले किटान गरेका थिए, 'त्यो ढाँचा भनेको लेनिनको नयाँ किसिमको पार्टी हो, जुन बीसौं शताब्दीको सोसल इन्जिनियरिङको दुर्धर्ष प्रवर्त्तन थियो, जसलाई मध्ययुगका इसाई मठ र अन्य सम्प्रदायका आविष्कारसँग दाँज्न सकिन्छ।'
सन् १९१७ मा विश्वमा पहिलो पटक उत्पीडक वर्गको शासनसत्ताविरुद्ध सफल क्रान्ति सम्पन्न गरेको रुसको बोल्सेभिक पार्टीको ढाँचा नै संसारभरिका धेरैजसो कम्युनिस्ट पार्टीको संरचनाको रूपमा रहेको छ। क्रान्ति नै सम्पन्न गरेको पार्टीको ढाँचालाई अन्य देशमा पनि सिधै नक्कल गरिनु अनौठो होइन। त्यसमा पनि पार्टीको अग्रदस्ताका रूपमा रहने कार्यकर्ताको क्रान्तिकारी स्पिरिटले पनि धेरैजसो कम्युनिस्ट नेतालाई आकर्षित गरेको थियो। हब्सबामका अनुसार बोल्सेभिक पार्टी एउटा सानो संगठन भए पनि अत्यधिक प्रभावशाली साबित भएको थियो किनभने यसका सदस्यहरू पार्टीप्रति असाधारण निष्ठा र आत्म-उत्सर्गको भावनाले लैश थिए, उनीहरूमा अधिक मात्रामा सैन्य अनुशासन र साहचर्यको गुण थियो अनि उनीहरूमा पार्टीको निर्णय कुनै पनि मूल्यमा लागु गर्ने अविचलित संकल्प थियो।
लेनिनले रुसी साम्राज्यको नोकरशाहीतन्त्रको प्रतिरोधका लागि त्यही ढाँचामा बनाएको नयाँ पार्टी भूमिगत कार्य र सशस्त्र विद्रोहका लागि निकै उपयोगी सिद्ध भएको इतिहास छ। त्यस पार्टीको अग्रदस्तावाला ढाँचा अन्य देश र त्यहाँका कम्युनिस्ट पार्टीका लागि पनि फलदायी सावित हुने ग्यारेन्टी भने थिएन। किनभने लेनिन आफैंले पनि पटक-पटक चेताएका थिए, संगठनको सिद्धान्तको मामिलामा कुनै सर्वव्यापी फर्मुला छैन। सामाजिक परिवर्तनका लागि सिद्धान्त र राजनीतिको जति महत्त्व छ, संगठनको पनि उत्तिकै महत्ता छ। किनभने पार्टी संगठन आफैं पनि राजनीतिक विषय हो, खालि ढाँचामात्रै होइन। पार्टी संगठनले वर्ग संघर्षलाई राजनीतिक दिशा दिन्छ भने वर्ग संघर्ष देशको विशिष्ट स्थितिअनुसार, समाजको विशेष ऐतिहासिक र राजनीतिक अवस्थाअनुसार गरिन्छ। त्यसको अर्थ देशको विशिष्ट वस्तुस्थिति, वर्ग संघर्षको स्वरूप र मागअनुसार नै संगठनको ढाँचा निर्माण गर्नु जरुरी हुन्छ।
लेनिनको भनाइविपरीत गएर उनकै ढाँचाको नक्कल गर्ने अन्य देशको अनुभवले देखाएको छ, पिछडिएको समाज र निरंकुश राजनीतिक सत्ता भएको रुसको भन्दा भिन्न परिस्थिति र विशिष्टखालको क्रान्तिको प्रक्रिया चलिरहेको ठाउँमा रुसी साम्राज्यको प्रशासनजस्तो श्रेणीबद्ध (हाइरार्कियल) ढाँचा अचुक ढाँचा सावित भएन। रुसी ढाँचालाई आफ्नो देशमा जस्ताको तस्तै लागु गर्न खोज्दा संरचना नै फिट भएन, न त त्यस्तो संरचनाबाट क्रान्ति नै सम्पन्न भयो। देशको विशिष्ट वस्तुगत स्थिति र वर्ग संघर्षको आवश्यकताअनुसार संगठनको ढाँचा बनाउनुको साटो रुसी ढाँचालाई यान्त्रिक ढंगले आयात गर्दा पटक्कै उपयोगी भएन। आजसम्म पनि त्यही पुरानो रुसी ढाँचालाई अति नै सरल ढंगले नक्कल गर्दै, बोल्सेभिक संरचनालाई जडसूत्रका रूपमा जप्दै हिँड्दा पार्टी नै नष्ट भएको वर्तमान पनि जिउँदैछ।
नोकरशाही ढाँचामाथि पुनर्विचार
नेपालका अधिकांश पार्टीको ढाँचा पनि रुसी प्रशासनकै नोकरशाही संरचनासँग मिल्दोजुल्दो छ। यस्तो पिरामिड शैलीको पार्टीको संगठनात्मक ढाँचाको शिखरमा केही नेता विराजमान हुने गर्छन्। उनीहरू लोकतान्त्रिक विधि र प्रक्रियाबाट निर्वाचित हुनुपर्दैन। निर्वाचनको विधिको प्रयोग गर्दा पनि उनीहरू गणितीय जोड-घटाउकै आधारमा शिखरमा पुग्छन्। यस्तो अलोकतान्त्रिक प्रक्रिया समाजवादी लोकतन्त्रको वकालत गर्ने कम्युनिष्ट पार्टीहरूमा समेत छ। आफूलाई सबैभन्दा ठूला क्रान्तिकारी ठान्ने नेकपा-माओवादी र समावेशी मार्क्सवादी पार्टी मान्ने संघीय समाजवादी पार्टीले पनि पार्टी संगठनबारे पुनर्विचारसम्म गर्नु पनि जरुरी ठानेनन्। ती दुई मार्क्सवादी पार्टीले पनि नेतृत्वको ढाँचा, चयन र पद्धतिमा बोल्सेभिक लोकतान्त्रिक परम्परासमेत पूरा गर्नु जरुरी नठानेको बेला एकीकृत नेकपा माओवादी पनि पछि पर्ने देखिएन। दुई दशकपछि बल्लतल्ल हुन लागेको त्यस पार्टीको महाधिवेशनमा समेत नेतृत्व निर्वाचित नहुने छाँटकाँट देखिएको छ। र, त्यस महाधिवेशनले पार्टीको पुरानो ढाँचा र पद्धतिमा कुनै फेरबदल गर्ने संकेत पनि पाइएको छैन। जबकि सामाजिक लोकतान्त्रिक बहुल राष्ट्रिय पार्टीले कम्तीमा पनि अध्यक्ष-मण्डल बनाएर नेतृत्वलाई केही हदसम्म सामूहिक प्रणालीमा ढाल्न खोजेको छ। सामूहिक नेतृत्व स्थापना गर्ने घोषणा गर्दै हिँड्ने कम्युनिस्ट पार्टीका नेताहरूले अध्यक्ष-मण्डलमात्रै बनाएर नेतृत्व गरे पनि नेतृत्वको हानथाप कम हुन्थ्यो।
पार्टीहरूको संगठनात्मक ढाँचा मक्किसकेको तथ्यले देखाएको छ, रुसको विशिष्ट स्थितिमा लेनिनले बनाएको नयाँ किसिमको पार्टीको ढाँचा अब पुरानो भइसकेको छ र नेपालको विशेष स्थितिमा जस्ताको तस्तै फिट गर्नुमा कुनै तुक पनि छैन। कतिसम्म भने एकीकृत माओवादी जनयुद्धको क्रममा लागु गरेको सांगठनिक ढाँचा शान्ति प्रक्रियामा आएर सरकारको नेतृत्व गरिसक्दा पनि परिवर्तन गरेको छैन, बरु झनै बलियो र व्यापक पो बनाएको छ। पिरामिड शैलीको संगठनमा शिखर बलियो हुन्छ भने अग्रदस्ताको नाममा नेतृत्व नै सर्वाेपरि हुन्छ र शिखरमा बस्ने नेतृत्वको मुठ्ठीमा कैद रहने पार्टीको नोकरशाही ढाँचाले तलका आमकार्यकर्तालाई नियन्त्रित गर्छ। यस्तो एकाधिकार र नियन्त्रणको समस्या पटक-पटक देखिसकिएको स्थितिमा पनि कुनै पुनर्विचार गरिएको छैन। कतिसम्म भने माथिल्लो नेतृत्वलाई अंकुश लगाउने संयन्त्र बनाइएको छैन, न त नोकरशाही ढाँचालाई कमजोर बनाउने कुनै लोकतान्त्रिक र पारदर्शी प्रक्रिया नै थालनी गरिएको छ। बरु, पहिले युद्धको नाममा र अहिले पार्टी फुटको निहुँमा कार्यकर्ता र पार्टीमा नेतृत्वको एकाधिकार र नियन्त्रणलाई बलियो बनाइँदैछ भने अनेक तह र पदका आधारमा जञ्जालले भरिएको नोकरशाहीतन्त्रलाई थप फैलाइँदैछ। तीन वटा विचार-समूहमा विभाजित रहेको पार्टीमा एकता सिर्जना गर्ने आकर्षक नारा अगाडि तेर्स्याएर महाधिवेशनमा पनि नेतृत्वलाई लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित नगर्ने र सहमतिको आधारमा छनौट गर्ने नीति अख्तियार गरिने सम्भावना बढेको छ।
यस्तो सम्भावनाले पार्टीभित्र बीसौं वर्षदेखि नेतृत्वमा रहेका पुराना नेताहरूकै प्रभुत्व यथावत्रुपमा रहनेछ भने युवा नेतृत्वको विकासमा पनि अवरोध आउने संकेत दिएको छ। यसरी पार्टीको संगठनात्मक धमनीमा नयाँ रक्तसञ्चारलाई रोक्ने प्रयास गरियो भने संगठनात्मक क्रियाशीलता र ऊर्जा भने मर्न थाल्छ।
आन्तरिक लोकतन्त्रको खोजी
पक्कै पनि सहमतिको आधारमा केन्द्रीय नेतृत्वको छनौट गरिँदा महाधिवेशनबाट एकीकृत पार्टी एक ढिक्का भएको सन्देश त जाला। हो, केही समयका लागि त्रिगुटको स्पष्ट अस्तित्वसमेत घुरमैलो भएर नदेखिने संकेत पनि देखिएला। तर विभिन्न विचार, स्वार्थ र हितको अस्तित्व र द्वन्द्वका आधारमा बनेका समूहहरू नामेटै हुने आशा भने गर्न सकिन्न। किनभने प्रतिनिधि र उच्च नेतृत्वको छनौट नै ती समूहबीच भागबण्डाका आधारमा गरियो भने त्यस्तो आशा क्षणिकमात्रै हुन्छ। अतः कार्यकर्तासामु उभिएर तीन जना नेताले 'अब हामी विचार-समूह समाप्त पार्छौं' भन्ने उद्घोष गर्दैमा अब विचार-समूहको निर्माण र अस्तित्व नै हुँदैन भन्ने आशा गर्नु वस्तुवादी र उचित पनि हँुदैन। किनभने विचार-समूहको निर्माण, अस्तित्व र अन्तर्संघर्षकै कारण केही हदसम्म नेतृत्वमाथि अंकुश पनि देखिएको छ। र, तिनको वैचारिक र राजनीतिक प्रतिस्पर्धाकै कारण पारदर्शिता पनि अलिकति कायम राख्नु बाध्य भएको तथ्य बेवास्ता गर्न सकिँदैन। तर विचार-समूहलाई नै गुटमात्रै ठान्ने मानसिकता र गुटकै रूपमा मात्रै अभ्यास गर्ने दुवैखाले अतिवादी विचार र व्यवहार भने उचित होइनन्।
विश्व कम्युनिस्ट इतिहासले देखाएको छ, रुसको कम्युनिस्ट पार्टीमा सन् १९२०-२१ सम्म विचार-समूहको सही अभ्यास रह्यो, त्यतिखेरसम्म पार्टी जनवादी केन्द्रीयताको वास्तविक लीकमा रह्यो। बोल्सेभिक पार्टीको दशौं महाधिवेशनदेखि त्यस लोकतान्त्रिक लीकलाई छाडेर एकमनावादी संगठनात्मक ढाँचा र पद्धति लादियो, तबदेखि संगठन रुढ, नोकरशाही र गैरजनवादी भएको इतिहास बिर्सन सकिँदैन। नेपालको सन्दर्भमा विचार-समूहबाट नयाँ वैकल्पिक विचार निर्माण गर्नुको साटो गुट निर्माण गर्दै पार्टीभित्र सत्ताशक्तिका लागि मोलमोलाइ गर्ने गुटबन्दीको परम्परा त्यागियो भने महाधिवेशनले ठूलै उपलब्धि प्राप्त गर्न सक्ला। तर, गुटबन्दी त्याग्ने वा निषेध गर्ने नाममा विचार-समूहलाई पूर्ण निषेध गर्ने बाटोतिर गइयो भने माओवादी पनि जोसेफ स्तालिनको बाटोमा जाने निश्चित छ, दस्तावेजमा उनको संगठनात्मक ढाँचा र नीतिको आलोचना गरे पनि।
लेनिनले त लामो समयसम्म आफूले निर्माण गरेको रसियन सोसल डेमोक्रेटिक लेबोर पार्टी अन्ततः बोल्सेभिक र मेन्सेभिक दलका रूपमा फुटको सर्तमा पनि विचार-समूहको अभ्यास गरेका थिए। फुटपछि पनि बोल्सेभिक पार्टीमा पनि त्यसलाई निषेध नगरी विचार फुल्ने फैलिने जनवादी पद्धतिलाई निरन्तरता दिएकै थिए। तर पार्टीभित्र विचार-समूहको अभ्यासलाई बौद्धिक विलास ठान्ने र क्रान्तिकारी सत्ताको निरन्तरताका लागि घातक मान्ने स्तालिन प्रवृत्ति बढेपछि पार्टी भनेको तर्क/वितर्क गर्दै बस्ने वादविवाद क्लब होइन भन्दै उनले पनि निषेधात्मक काम गरे। त्यसपछि एकमना विचार र ढाँचा बनाउने अभ्यासले अन्ततः क्रान्ति र पार्टीलाई नै खाइदियो। यसबाट माओवादीले पनि खासै पाठ सिक्न खोजेको संकेत देखिँदैन, बरु पार्टी फुटबाट तर्सिएर स्तालिनकै बाटोतिर हिँड्न खोजेको आभास पाइँदैछ। प्रतिनिधि र नेतृत्व छनौट तथा वैचारिक र राजनीतिक प्रतिवेदनमाथिका बहसमा त्यस्तो संकेत देखिँदैछ।
मतदानमा पनि निषेध?
महाधिवेशन प्रतिनिधिदेखि उच्च नेतृत्वका लागि समेत सहमतिको नाममा गरिएको मनोनयन र छनौट प्रक्रियाले आन्तरिक लोकतन्त्रलाई कमजोर पार्न सक्छ। पार्टीका अध्यक्ष प्रचण्डबाट प्रस्तुत दस्तावेजमाथि जिल्ला र क्षेत्रमा भएका बहसले आन्तरिक लोकतन्त्रको ढुकढुकी कति बचाउँछ भन्न गाह्रो छ। माथि-माथि तीन वटा विचार-समूहका तीनै जना नेताका टुप्पी जोडिएपछि तल-तल कत्तिको आलोचनात्मक र गहन अन्तर्क्रिया भयो होला, सहजै अनुमान गर्न सकिन्छ। गुटको अन्त्यका लागि टुप्पीजोडाइ नपुग भए पनि उचितचाहिँ छ, तर त्यसले वैचारिक द्वन्द्व र लोकतान्त्रिक अभ्यासलाई निषेध गर्यो भने पार्टी कता पुग्ला, हिसाब गर्नुपर्छ।
माओवादीको नेतृत्व उद्घाटन र भाषणबाजीमा मात्रै ब्यस्त हुँदा वैचारिक बहस र सिर्जनात्मक काम ओझेलमा परेका छन्। नेतृत्वले अलिकति सिर्जनशीलता देखाएको भए पार्टी-पंक्तिभित्रका भइरहेका बहसका निश्चित मुद्दालाई राष्ट्रिय बहसको एजेण्डा बनाउन सकिन्थ्यो। शान्ति प्रक्रिया, संविधान सभाबाट नयाँ लेखन र राज्य पुनर्संरचनाको एजेण्डामा आएका समस्यालाई महाधिवेशनको मुखमा राष्ट्रिय बहसको मुद्दा बनाउन सकिन्थ्यो। बहसलाई आमजनताबीच खुला गर्ने, उनीहरूमा मत बनाउन सघाउने र निजी मत पनि माग्ने प्रक्रियाबाट यस्तो गर्ने सम्भावना नभएको होइन। यसरी महाधिवेशनलाई लघु जनमत-संग्रहमा रुपान्तरण गर्ने र सिंगो जनमतलाई प्रभावित पार्ने मौका छोप्न खोजिएको दृश्य भने देखिएको छैन। बरु, आफ्नै कार्यकर्ताको मतसमेत निषेधित र नियन्त्रित हुने खतरा बढेको देखिन्छ, मतदानको अधिकारसमेत खोसिने सम्भावनाका कारण। सयौं विचार र मतलाई फुल्न दिने र व्यक्त हुन दिने संगठनात्मक ढाँचा, पद्धति र संस्कृतिको निर्माण भएन भने पार्टी 'भत्क्या पाटी' मा रुपान्तरण हुन सक्छ।


अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस