लक्षित वर्गले नदेखेको बजेट
०६ माघ २०६९
•
१२ मिनेट पाठ
लक्षित वर्गले नदेखेको बजेट
गत वर्ष रुपन्देहीको मसिना गाविसमा दलित तथा पिछाडा वर्गका लागि विनियोजन गरिएको बजेट राजनीतिक दलका नेताहरुले चीनको खासा भ्रमणमा खर्च गरे। गाविसले पिछडा तथा दलित वर्गका लागि नियमअनुसार विनियोजन गर्नुपर्ने कुल पुँजीगत रकमको १० प्रतिशतले हुन आउने १ लाख ५ हजार रुपियाँ विनियोजन गरेको थियो। जुन रकम नेताहरुले घुमघाममाा खर्च गरेर सके। रोचक कुराचाहिँ के छ भने यस भ्रमणमा पिछडा र दलित समुदायको एक जना पनि प्रतिनिधि समावेश थिएनन्। अर्घाखाँची जिल्लाको ठूलोपोखरा गाविसमा दलित सशक्तीकरणका लागि आएको ५० हजार रुपियाँ स्थानीय दलित अगुवाले स्थानीय सहकारीमा व्यक्तिगत खातामा जम्मा गरे। दलित समुदायका परिवारलाई बाख्रापालनका लागि गाविसबाट छुट्याइएको रकम कागजात मिलाई व्यक्तिगत नाममा सहकारी खोली रकम प्रयोग गरिरहेको तथ्य सार्वजनिक भयो।
झापामा पनि यस्तै अवस्था देखिएको छ। स्थानीय निकायमा बालबालिकाको अधिकार संरक्षण र व्यक्तित्व विकासका लागि गएको बजेट भौतिक निर्माण र अन्य काममा खर्च गरिएको अनुगमनको क्रममा भेटिएको थियो। एकीकृत योजना तर्जुमा गर्दा बालबालिकालाई अनिवार्यरूपमा उपस्थित तथा सहभागी गराउनुपर्ने व्यवस्था भए पनि त्यसो नभएको पाइयो। बाल अधिकारको संरक्षण र प्रबर्द्धन हुनेखालको कार्यक्रम ल्याउनुपर्ने भए पनि भौतिक संरचनामा मात्र बजेट तथा कार्यक्रम केन्द्रित रहेको अध्ययनले देखाएको थियो।
माथिका केही उदाहरणले नै स्थानीय निकायमा जाने लक्षित वर्गको बजेट खर्च गर्ने तरिकालाई प्रष्ट पार्छन्। स्थानीय स्वायत्त शासन ऐन २०५५ ले स्थानीय निकाय (गाविस, जिविस र नगरपालिका) ले योजना तर्जुमा गर्दा लैगिक समानता, बालबालिकाको विकास, सामाजिक समावेशीकरणलाई प्रत्यक्षरूपमा लाभ पुग्नेगरी काम गर्नुपर्ने व्यवस्था गरेको छ। यसैगरी गाविस अनुदान सञ्चालन कार्यविधि २०६७ ले पनि सबैको सरोकारका साझा विषय जस्तै लैगिक समानता, बालबालिकाको विकास, सामाजिक समावेशीकरण, वातावरण संरक्षण, जलवायु परिवर्तनमा असर पार्ने विषय, खुल्ला दिशामुक्त क्षेत्र तथा सरसफाई जस्ता राष्ट्रिय सरोकारका विषयलाई अभियानका माध्यमबाट स्थानीयस्तरमा सहयोग पुग्ने कार्यक्रम सञ्चालन गर्न अनुदान खर्च गर्नुपर्ने व्यवस्था गरेको छ। ऐन तथा कार्यविधिका यी प्रावधानअनुसार कागजीरूपमा बजेट विनियोजन गरिए पनि खर्च गर्ने बेलामा यस्ता प्रावधानलाई पूर्णरूपमा उल्लंघन गरेको पाइन्छ।
गाविस, जिविस तथा नगरपालिका अनुदान सञ्चालन कार्यविधिले स्थानीय निकायका लागि सूत्रमा आधारित अनुदान प्रणाली व्यवस्था गरेको छ। यस प्रणालीअन्तर्गत कार्यविधिले लिएको लक्ष्यभन्दा बाहिर गएर रकम खर्च गरेमा न्युनतम सर्त मापनमा सो निकाय अनुत्तीर्ण हुने र अनुदान घट्ने व्यवस्था छ। जसले गर्दा अधिकांश स्थानीय निकायले कागजीरूपमा रकम विनियोजन प्रकृयागत ढंगले गर्ने र पछि मनलाग्दी क्षेत्रमा खर्च गर्ने गलत संस्कार झाँगिदै गएको छ।
यतिखेर गाविस, नगरपालिका र जिविस तीनवटै स्थानीय निकायहरु प्रमुख राजनीतिक दलका केही नेता तथा स्थानीय टाठाबाठाको लहडका आधारमा चलेका छन्। अख्तियारले सर्वदलीय संयन्त्र भंग त गरिदिएको छ तर त्यो कार्यान्वयन भएको छैन। अहिले पनि रुपन्देहीको मसिना गाविसमा जस्तै राजनीतिक दलका नेताहरुले ऐन, नियम तथा कार्यविधिअनुसार विनियोजन गरिएको लक्षित वर्गको बजेट राम/रमाइलो तथा घुमघाममा उडाइरहेका छन्। लक्षित वर्गभित्र पर्ने दलित, जनजाति, महिला, अपांग अशक्तहरुका लागि विनियोजित रकम तिनै समुदायका टाठाबाठाले अर्घाखाँचीका ठूलोपोखरा गाविसका दलित नेताहरुले झै व्यक्तिगत फाइदाका लागि खर्च गरिररहेका छन्। सो गाविसका स्थानीय दलित अगुवा गोविन्द विक अध्यक्ष र मणिराम विक सचिव रहेको सहकारीमा व्यक्तिगत नाममा खाता खोली दलित लक्षित बजेट राखिएको छ। यस्तै अवस्था देशभर नै भेटिन्छ।
लक्षित वर्गको बजेट दुरुपयोगका निकै घटना देख्न सकिन्छ। कागजीरूपमा लक्षित वर्गका लागि बजेट विनियोजन गरे पनि सडक खन्न डोजरलाई खर्च गरिनु त सामान्य जस्तै भइसकेको छ। दलित, महिला, जनजातिले पनि सडक उपयोग गर्छन् भन्ने कुतर्क गर्दै स्थानीय टाठाबाठाले यस्तो बजेटको दुरुपयोग गरिरहेका छन्। बालबालिकाका लागि विनियोजन गरिएको बजेट राजनीतिक दलका कार्यकर्तालाई निजी स्रोतका शिक्षक बनाई तलबमा खर्च गर्ने गरिएको छ। बाल अधिकारको संरक्षण र प्रवर्द्धन हुनेखालको काम गर्नुपर्ने भए पनि शिक्षकलाई तलब खुवाउने, डेक्सबेञ्च बनाउने काममा यस्तो रकम खर्च भइरहेको छ। गाविस तहमा यस किसिमका दुरुपयोगका घटना निकै बढी छन्। यसबारे आवश्यक अनुगमन गर्नुपर्ने जिविस निष्त्रि्कय देखिन्छ। जिविस अनुगमनका लागि गाविस पुग्दैन। सचिवले बनाएर ल्याएको कागजातको भरमा रकम निकासा दिने गर्छ। गाविस सचिवले स्थानीय टाठाबाठालाई समेत आर्थिक मोलाहिजामा पारेको हुन्छ। त्यसैले सचिवले जस्तो कागजात बनाएर ल्याए पनि त्यसबारे कुनै पनि गुनासो जिविससम्म आइपुग्दैन। फलस्वरुपः स्थानीय निकायमा व्यापक अनियमितता र ऐन, नियम, कार्यविधि उल्लंघन गर्ने घटना बढ्दै गएका छन्।
पछिल्लो समय स्थानीय निकायमा ससर्त तथा निसर्त अनुदानको रकममा निकै वृद्धि भएको छ। स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमले पनि स्थानीय निकायमा उसको कार्यसम्पादनका आधारमा अनुदान दिँदै आएको छ। स्थानीय निकायमा जुनरूपमा बजेट तथा अनुदान बढ्दै गइरहेको छ, त्यसैको अनुपातमा यसलाई संस्थागत गर्न नसक्दा एकपछि अर्को गर्दै समस्या बढ्दै गइरहेका छन्। भ्रष्टाचार तथा अनियमितता पनि विकेन्द्रित भएको गुनासो बढ्दै गएको छ।
लामो समयदेखि स्थानीय निकाय जनप्रतिनिधिविहीन हुँदा यस्ता निकाय संस्थागत हुन सकेका छैनन्। राजनीतिक पार्टीका स्थानीय नेताहरुले आफ्नो अनुकूलतामा अनुदान रकम खर्च गर्दै आएका छन्। अहिले पनि अधिकांश स्थानमा स्थानीय स्वायत्त शासन ऐनले निर्धारण गरेअनुसारको एकीकृत योजना तर्जुमा समितिको बैठक बस्दैन। गाउँ परिषद्, नगर परिषद् र जिल्ला परिषद् त भाते गोष्ठी जस्तो हुन्छ। वार्षिक न्युनतम् २५ लाख रुपियाँ त अनुदानमै जाने गाविसमा खरिदारस्तरका कर्मचारीलाई सचिव बनाइएको छ। तिनै सचिव पनि गाविसमा बस्दैनन्। झोलाबाट गाविसको कार्यालय सञ्चालन गर्ने सचिवले हरहिसाब स्पष्ट र पारदर्शी किसिमले राखेको पाइँदैन। सचिवको कामलाई 'चेक' गर्ने कुनै व्यक्ति तथा निकाय नहुँदा आर्थिक अनियमितता निकै बढेको छ। अनुदान बढाउने तर अन्तरिम संविधान २०६३ ले व्यवस्था गरेअनुसार स्थानीय निकायको निर्वाचन नगर्नुले राजनीतिक दलका नेताहरुको नियत प्रष्ट हुन्छ।
स्थानीय निकायको निर्वाचन हुने हो भने धेरै समस्या स्वतः समाधान भएर जानेछन्। वर्षमा एकपटक पनि गाविसको कार्यालय नजाने सचिव स्थानीय निकायको निर्वाचनसँगै गाविसमा पुग्नेछन्। किनकि गाविसको अध्यक्षले हाजिरी प्रमाणित नगरी तलब खान पाउँदैन। स्थानीय निकायको अनुदानमाथि स्थानीय टाठा-बाठाको दादागिरी कम भएर जानेछ। निर्वाचित जनप्रतिनिधि हुनेबित्तिकै स्थानीय निकायमा भ्रष्टाचार तथा अनियमितता भएमा त्यसको दण्डको भागिदार उनीहरु हुनुपर्छ, जसले गर्दा आफ्नो दायित्व र जिम्मेवारीप्रति उनीहरु सचेत हुनेछन्। सचिवको एकल कामको 'चेक एण्ड ब्यालेन्स' हुनेछ। अनि निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो कार्यकालमा राम्रा र नमुना काम गर्नका लागि अग्रसर हुनेछन्। अनुदान बढाएर मात्र स्थानीय निकाय मजबुद हँुदैनन्। स्थानीय निकाय मजबुद हुन त यसमा लोकतन्त्ररूपी प्राण भर्नुपर्छ। लोकतन्त्रको आधारशीला भनेको निर्वाचन नै हो, जसलाई दलहरूले भुल्नुहुँदैन।
लेखक त्रिविमा समाजशास्त्रमा एमफिल गर्दैछन्।


अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस