सहमतिको कथा
०७ पौष २०६९
•
११ मिनेट पाठ
सहमतिको कथा
शनिबार साँझ अबेरसम्म काठमाडौंमा भावी सरकारबारे अड्कल र अनुमानको खेती निकै फष्टाएको छ। काठमाडौंका बुद्धिजीवीहरू आ-आफ्ना रुचिका प्रधानमन्त्रीको उम्मेदवारी प्रस्तुत गर्न लागिपरेका छन्। अपराह्न एक बुद्धिजीवी मित्रले पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल निर्वाचन गराउने राष्ट्रिय सरकारका प्रमुख छानिनुहुने सन्देश पठाएका छन्। भारतका विदेश मन्त्री सलमान खुर्सिदले सहमतिको राष्ट्रिय सरकार गठनका लागि गर्नुभएको प्रयासको सहनी गर्नुभएको खबर प्रकाशित भएपछि यस प्रकारका अनुमान र अड्कल हुनु अस्वाभाविक पनि मानिँदैन। सहमतिको नयाँ सरकार गठन गरेर भारत यात्रा गर्न पाएको भए राष्ट्रपतिले पनि आत्मसन्तोषको चरमोत्कर्ष अनुभव गर्नुहुन्थ्यो होला।
तर त्यसो हुन सकेन। यी पंक्ति लेखिँदासम्म आज नभई नछाड्ने भनिएको 'राष्ट्रिय सरकार निर्माणका लागि सर्वदलीय सहमति' नहुने प्रष्ट लक्षण देखा परिसकेका छन्। माओवादी पार्टीको विस्तारित बैठक सुरु हुनासाथ बोल्नुहुने एकीकृत माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले 'सम्वाद अभावमा प्रधानमन्त्री र अध्यक्षबीच बुझाईमा फरक परेकाले केही समस्या आए पनि' आफ्ना र प्रधानमन्त्रीका बीच दूरी नबढेको बताउँदै 'दुवै एक भएर जाने' निर्णय गर्नुभएपछि सर्वदलीय सम्वादको सार्थकताको टुंगो लागेको छ। अब या कांग्रेस गठबन्धनको नेतृत्वले प्रधानमन्त्री बाबुराम भट्टराईको नेतृत्वमा नै राष्ट्रिय सरकार निर्माणको प्रस्ताव स्वीकार्दै भट्टराईको टाङमुनिबाट छिरेर मन्त्री पद सुमर्नुपर्नेछ। होइन भने चुनावका लागि सर्वदलीय सहमति जुटाउन पनि नसक्ने र आफूले घोषित गरेको मितिमा चुनाव पनि गराउन नसक्ने अक्षम प्रधानमन्त्रीविरुद्ध सशक्त र सर्वपक्षीय आन्दोलन सिर्जना गर्नुपर्नेछ। कांग्रेस गठबन्धनका लागि तत्काल अर्को विकल्प देखिएको छैन।

 

प्रचण्डले आफ्ना दलका प्रधानमन्त्रीसँग 'एक भएर जाने' बताएपछि सर्वदलीय सहमतिमा चुनावका लागि राष्ट्रिय सरकार बनाउन दलका नेताहरूलाई म्याद काट्दै आउनुभएका राष्ट्रपतिको 'देश लोकतान्त्रिक अभ्यासको बाटोमा हिँडोस्' भन्ने सदाशयको पनि टुंगो लागेको छ। सोमबारदेखि सुरु हुने उहाँको भारत भ्रमणको खर्च बाबुराम सरकारले स्वीकृत गरिसकेको छ। अब कि राष्ट्रपतिले राष्ट्र प्रमुखमा अन्तर्निहित अधिकार प्रयोग गरेर गणतान्त्रिक नेपालको लोकतान्त्रिक संविधान लेख्ने निर्णायक संस्था संविधान सभाको चुनाव गराउनसक्ने सरकार गठन गर्नुपर्यो। होइन भने अक्षम प्रधानमन्त्रीको बोझले थिचिएर स-सम्मान बस्नुपर्यो। कुनै बेला राष्ट्रपति र प्रचण्डबीचको सम्बन्ध सारै अमिलिएको थियो। घटनाक्रमले दुवैलाई नजिक तुल्यायो। दुवै नेता सहमतीय राजनीतिको पुनर्स्थापनामा सहमत भए। यसबेलासम्म प्रचण्डको अवस्था पनि राष्ट्रपतिको जस्तै भइसकेको थियो। जसरी दाह्रा र नंग्रा निकालिएका सिंहहरू गर्जनमात्रै सक्छन्, राष्ट्रपति र प्रचण्ड त्यही अवस्थामा देखिएका छन्। दुवै नेता आ-आफनै समस्याले गाँजिएका, दुवै नेता निर्णयहीन अवस्थामा पुगेका।

 

अहिलेको सहमति प्रसंगमा सबभन्दा वढी विचारको अभाव कांग्रेसभित्रै देखा पर्यो। उनीहरू प्रचण्डको बोलीको ठेगान नभएको प्रचारमा नै बढी रमाए। राजनीतिक पार्टीका अध्यक्षका रूपमा प्रचण्डका राजनीतिक अप्ठेराहरू बुझ्ने त चेष्टा नै गरेनन्। यो जगजाहेर कुरा हो, प्रचण्ड र बाबुरामका बीच सम्बन्धको सम्यकता रत्तिभर छैन। दुवैको दुवैप्रति कुनै मोह छैन। तैपनि, प्रचण्डले बाबुरामसँग 'एक भएर जाने' प्रतिबद्धता व्यक्त गर्नैपरेको छ। बाबुराम भट्टराई स्वेच्छाले वा लोकतान्त्रिक सहमतिका लागि पद छाड्न तयार छैनन्। शब्दले सारै उदार कम्युनिष्ट भए पनि विचारमा मोहन वैद्य 'किरण' भन्दा धेरै गुणा कडा हुनुहुन्छ उहाँ। भलै, माओवादी पार्टीमा बाबुरामको वर्चस्व नहोस्, तर यस्तो अवस्थामा प्रचण्डले उहाँलाई घोक्य्राएर निकाल्दा पार्टी, सानो वा ठूलो जुनसुकैरूपमा पनि विभाजित हुने त निश्चित नै छ। त्यो ठाउँमा सुशील कोइरालालाई सहमतिको प्रधानमन्त्री बनाउँदा आगामी चुनावमा प्रचण्डविरुद्ध आफनो सरकार सिध्याएर कांग्रेस प्रधानमन्त्री बनाएको आरोप नै चुनावी नारा बन्नेछ। चुनावका लागि यो नारा विध्वंशक सावित हुने सम्भावना नै प्रवल छ। यो अवस्थामा प्रचण्डले बाबुराम हटाउन दबाब दिने सोचाइ नै मिथ्या हो।

कांग्रेसले बुझ्नुपर्ने कुरा के हो भने नेपाली कम्युनिष्ट आन्दोलनमा बाबुरामको जग भनेकै कांग्रेस विरोध हो। उहाँले अहिलेसम्म नाम, सुनाम वा दुर्नाम जे कमाउनुभएको छ, त्यसको आधार कांग्रेस विरोध हो। माओवादीलगायत् नेपालका अन्य कम्युनिष्ट पार्टीका नेताहरूमा कांग्रेस विरोधको कुनै धङधङी छैन। तर काठमाडौंको कांग्रेस विरोधी धारका प्रतिनिधिपात्रका रूपमा बाबुराम एउटा स्थापित नाम हो। हिरोज एण्ड विल्डर्स अफ नेपाल ग्रन्थका लेखक हृषिकेश शाहको मन्त्रणामा हुर्कनुभएका बाबुरामले कांग्रेसका लागि प्रधानमन्त्रीको पद त्याग गर्नु सोच्न पनि नसकिने कुरा हो। त्यस्तो कुरामा अलमलिएर कांग्रेसले विनसित्ति समय गुजारेको छ। कांग्रेस विरोधी शक्तिहरू अहिले प्रचण्डको होइन, बाबुरामको वरिपरि झुम्मिएका छन्।

 

अर्कोतिर, मधेसका दलका नेताहरूका लागि बाबुराम सरकारको निरन्तरता नै सबैभन्दा कल्याणकारी अवस्था हो। उनीहरूले बाबुरामको बुइ चढेर जसप्रकार राष्ट्रिय चरनमा स्वच्छन्दतापूर्वक चर्न पाएका छन्, सहमतिको सरकार बनेपछि त्यो स्वच्छन्दता पाउन सक्ने छैनन्। यो अवस्थामा बाबुरामले मधेसी नेताहरूको सकेसम्म बढी बोझ धान्नु स्वाभाविक नै हो। अहिलेको सरकारमा रहेका मधेसी नेताहरूको लोकतान्त्रिक विश्वसनीयता संदिग्ध सावित भइसकेको छ। मधेसका जनताले न यी नेताका नारा स्वीकार गरेका छन्, न त आगामी चुनावमा यिनका बाहुबलमा भर-पत्यार नै गर्नेछन्। नेपाली जनतालाई बाह्य संकेत र इशाराको दम्भ, डर र धम्की देखाएर सत्ता सुमरिरहेका अहिलेका मधेसी नेताहरू सहमतिमा भन्दा विमतिमा नै रमाउँछन्।

 

अहिलेको यो अवस्था जटिल छ। प्रधानमन्त्री बाबुराम भट्टराईमा बुद्धिको कडा दर्प छ। तर उहाँका नैतिक मापदण्ड कमजोर छन्। उहाँका वरिपरि भ्रष्टाचारमा लिप्त तत्त्वहरूको जगजगी छ। राज्य संयन्त्रहरूमा परिवारवाद हावी छ। विडम्बना नै हो, आफ्नो परिवारको प्रतिरक्षा गर्न पत्रकार सम्मेलन बोलाउने अवस्थामा पुग्नुभएको छ प्रधानमन्त्री भट्टराई। उहाँ स्वयंले सुरु गर्नुभएको काठमाडौं शहरका सडक विस्तार आयोजनामा समेत भ्रष्टाचार मौलाएको छ। सत्तामा अविवेक हावी भएपछि जे/जति खराबी देखा पर्छन्, ती सबै पारदर्शी भएका छन्। प्रधानमन्त्री भट्टराईको पक्षमा बोल्नैपर्ने एउटै पनि विवादरहित विषय छैन।

 

पाँच दशक र तीन वर्षपहिले राजा महेन्द्रले पुसको यही महिनामा निर्दलीय पञ्चायत व्यवस्था सुरु गरेका थिए। उनले आफ्नो निर्विकल्पता सावित गर्न यो व्यवस्थासँग आफूलाई जोडेका थिए। प्रधानमन्त्री भट्टराई अहिले आफू देशका लागि निर्विकल्प भएको ठान्दै हुनुहुन्छ। उहाँमा न राजनीतिक सहिष्णुता छ न त सहमतिमा पुग्ने चरित्र। एकाधिकारवादी राजनीतिका व्याख्याता भट्टराईलाई सत्ताबाट हटाउनु त्यति सजिलो छैन, जति सोचिएको छ। यसतर्फ देशका भाग्यविधाताका रूपमा चिनिनुभएका नेताहरूले विचार पुर्याउनैपर्छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस