चुरो कि पलाँस?
०३ कार्तिक २०६९
•
१३ मिनेट पाठ
चुरो कि पलाँस?
युरोपबाट फर्कंदाफर्कंदै एकीकृत माओवादी अध्यक्ष प्रचण्डले सहमति छिट्टै बन्ने भविष्यवाणी गरे र भोलिपल्टैबाट राजनीतिक भेटघाट तीव्र तुल्याए।
सभापति सुशील कोइरालासहित काँग्रेस नेताहरुसँगको छलफलमा उनले संविधान सभा पुनर्स्थापना वा नयाँ संविधान सभाको निर्वाचन दुवै विकल्प खुला गरेको बताए । तैपनि प्रचण्डका प्रयास परिणामसम्म पुग्लान् भन्ने अपेक्षा गरिहाल्न सकिँदैन। प्रचण्डले के भन्लान् र त्यसको प्रतिक्रिया दिन पाइएला भनेझैं प्रस्तावहीन र विकल्पहीन स्थितिमा बाटो ढुकेर बसिरहेका काँग्रेस-एमाले नेताहरुको अत्यन्त पूर्वाग्रही एवम् यथास्थितिवादी शैलीले कमसेकम अहिलेलाई कुनै निष्कर्षको तारा देखाउने अपेक्षा गर्न सकिँदैन। तैपनि मुलुकको राजनीतिक गतिशीलताका एकमात्र प्रतीक बनेका प्रचण्डले प्रस्तावको 'बलिङ' गरी नै रहने एकसरो अपेक्षा भने गर्न सकिन्छ।
एमाले नेताहरु सिंहदरबारका कुर्सी आफ्नो पोल्टामा पार्ने अपेक्षासहित राष्ट्रपतिलाई कू गर्नका निम्ति धूप हालिरहेका छन्। भोलि मुलुक जुनसुकै अस्थिरतामा फसोस्, एमाले नेताहरुका निम्ति त्यो चिन्ताको विषय होइन। पट्याँस उक्किँदा/उक्किँदै नांगो बाँस जस्तो उभिएको एमाले सबै लाजको परिधि नाघेर दौरा-सुरुवाल सिलाउन ब्यस्त छ। उसलाई आफ्ना पट्याँस उक्किएका नेताहरुकै शब्दमा एक अधिनायकवादी 'राजा' चाहिएको छ, त्यो चाहे राष्ट्रपतिकै रुपमा किन नहोस्, डा. बाबुराम भट्टराई नेतृत्वको सरकार अपदस्त गरेर नयाँ प्रधानमन्त्रीका लागि आवेदन खुला गरोस्। त्यसपछि पहिलो आवेदन फारम भरेर एमाले नयाँ 'दरबार' को गेटमा हाजिर हुन तयार देखिन्छ। आश्चर्य त के भने यिनै नेताहरु संवैधानिक राजतन्त्र भन्दै दरबारको गेटमा निवेदन हाल्न जाँदा गणतन्त्रको पक्षमा नारा लगाउन सडकमा उत्रने एमालेका नयाँ पुस्ताका नेताहरु पनि सिंहदरबारकै कुर्सीले मोहनी लाएझैं नतमस्तक र मौन देखिन्छन्।
अर्कोतिर काँग्रेसमा भने आफूलाई परिवर्तनप्रेमी भन्ने एउटा खेमाका नेताहरु धेरै हदसम्म अहिलेको संकटपूर्ण राजनीतिक संक्रमणप्रति केही सचेत देखिन्छन्। शेरबहादुर देउवा र रामचन्द्र पौडेलले प्रधानमन्त्री बन्ने एकमात्र रणनीति अख्तियार गरिरहेको बेला यो खेमा हाकाहाकी काँग्रेसले सरकारलाई मात्र अन्तिम मुद्दा बनाउन नहुने अडानमा देखिन्छ। सभापति सुशील कोइराला अनिर्णयको बन्दी बन्ने गरेको र संघीयता एवम् पहिचानका मुद्दामा काँग्रेसले स्पष्ट दृष्टिकोण बनाउन नसकेकोमा यो खेमा चिन्तित पनि छ। सधैंका 'अफबिट' काँग्रेस नेता नरहरि आचार्यले त काँग्रेसले आफ्नो एजेण्डा स्पष्ट गर्न नसकेको स्पष्टोक्ति दिइरहेका छन्। सभापति कोइरालाको नेतृत्व क्षमतामाथि प्रश्न उठ्ने गरेको छ। तर, उनले एकीकृत माओवादीका सबै प्रस्तावमाथि पटकपटक सकारात्मक हुने र पछि खारेज गरिदिने एक प्रकारको क्षमता भने देखाइरहेकै छन्।
एमालेले झैं काँग्रेसले पार्टी छाड्ने बागी जनजाति नेताहरुलाई 'बाँसको पट्याँस' वा 'हात्तीको जीउबाट झरेको धुलो' जस्ता आभूषण प्रदान गर्ने हतार गरेको छैन। काँग्रेसमा अझैसम्म पनि राज्यको पुनर्संरचना, मूलतः संघीयता र पहिचानका विषयमा प्रगतिशील मत राख्ने नेताहरुको कमी छैन र उनीहरु मुखर भएर आइरहेका पनि छन्। परन्तु, काँग्रेस र एमालेका निर्णायक नेताहरु भने संघीयता र पहिचानका मुद्दालाई बाटोमै छाडेर पुरानै विकेन्द्रीकरणको खाकालाई नयाँ संविधानमा घुसाउने प्रयत्नमा छन् भन्ने कुरा छिपेको छैन। काँग्रेसले रणनीतिक मौनताको नीति लिएर अन्तिम अवस्थामा मात्र स्पष्ट मत राख्ने चलाखी गर्दै आएको छ र एमाले स्पष्टतः संघीयता विरोधी भएर मैदानमा उत्रिएको छ। यसै कारण पनि जनजाति, मधेसी, दलितलगायत्का समुदायले गाउँ टोलबाट एमाले छाड्ने लहर पनि चर्किएको हो। तथापि काँग्रेसले समेत यो नयाँ संक्रमण भोग्नैपर्ने ऐतिहासिक बाध्यतालाई भने टार्न सक्ने देखिँदैन।
काँग्रेस र एमालेभित्रको यो संक्रमणले समाजमा पैदा भएको नयाँ ध्रुवीकरणको प्रकृयालाई पनि स्पष्ट संकेत गरेको छ। र, यसैले पनि संविधान सभाको विघटनका कारण र कारक के र को थिए भन्ने कुरा स्पष्ट पारेको छ। संक्रमणकालमा पैदा हुने ध्रुवीकरणका तरंगहरुले समाजको अनुहार अझ स्पष्टसँग र बुझिनेगरी सतहमा ल्याइदिन्छ। जनजाति, आदिवासी, मधेसी जस्ता सीमान्तकृत समुदायको उभारलाई डलरको करामत मात्र भनेर पन्छाउन सकिँदैन। एमालेलाई बेलाबेलामा एनजीओहरुको महासंघ पनि भन्ने गरिन्छ, त्यसैले हरियो डलरको हरियो राजनीतिलाई उसैले ज्यादा भोगेको छ, अझ परिचालन गरेको छ। अर्को शब्दमा भन्ने हो भने हरियो डलरको जुसको स्वाद कस्तो हुन्छ भन्ने सबैभन्दा धेरै एमालेका नेताहरुलाई नै थाहा छ। तर ऐतिहासिक यथार्थलाई यत्ति सजिलै खारेज गर्न सकिँदैन। सीमान्तकृत समुदायलाई राज्यमाथि एकलौटी एकाधिकार चलाएका मानिसले चलाएको जातिवादी शासनले दिएको ऐतिहासिक उपहार (जो अपमान, संगठित र सुनियोजित हिंसा, छोइछिटोका रुपमा अभिव्यक्त भइरह्यो) को लेखाजोखा कुनै न कुनै दिन हुनु नै थियो। डलरले यस्तो लेखाजोखा गर्न सिकाउँथ्यो भने नेपाली समाज हालसम्ममा संसारकै सबैभन्दा धनी र समानतायुक्त भइसक्ने थियो।
हरियो डलरले न इतिहासको उपचार गर्न सक्छ, न इतिहासका घाउहरुको चेतशील उत्खनन् नै। तसर्थ लामो विद्रोह, संघर्ष र आन्दोलनहरुको परिणामस्वरुप जन्मेको पहिचानको चेतनालाई यसै पन्छाउन सकिने स्थिति अहिले छैन। वर्गीय असन्तुलन र राज्यसत्तामा सम्भ्रान्त वर्गको एकाधिकारलाई तोड्ने संघीयता र पहिचानका मुद्दा पन्छाउने अभिप्राय काँग्रेस र एमालेभित्र पनि उनीहरुको सबैभन्दा ठूलो आधार रहेको जनताले दिएका होइनन्। फगत सम्भ्रान्तहरुकै खेल मैदानका रुपमा रुपान्तर भएको यी पार्टीहरुको नेतृत्व वर्गबाट प्राप्त भएको हो। अनि यो कुनै सामान्य जीवनशैलीको कुरामात्र पनि होइन। यो कुरा सत्ताको हो र सत्तामाथि पहिलोपटक सीमान्तकृत र गरिब समुदायले ठोकेको दाबाको परिणाम हो। त्यसैले संविधान सभाको विघटनपछि मुद्दा स्पष्टतः सतहमा आयो र नयाँ राजनीतिक ध्रुवीकरण अलिकति जातीय वा क्षेत्रीय अनुहारमा प्रकट भयो।
चाहे संविधान सभा पुनर्स्थापना अहिलेको 'डेडलक' को निकास होस् वा नयाँ निर्वाचन, यी दुवै विकल्प समस्याका खास समाधान होइनन्। आजकै मितिमा काँग्रेस नेतृत्वको सरकार गठन गरिए पनि वा एमालेले चाहेजस्तो तुरुन्तै अधिनायकवादी कु गरेर काँग्रेस-एमालेलाई सिंहदरबारमा आसिन गराइदिए पनि ऐतिहासिक ध्रुवीकरणको यो प्रकृया रोकिने छैन। र, काँग्रेस-एमालेका शीर्षस्थ नेताहरुले देख्न नखोजेको वा अलमल्याएर पन्छाइदिन खोजेको यो ध्रुवीकरणले यी दुवै पार्टीलाई जनस्तरमै ऐतिहासिकरुपले कमजोर तुल्याइरहेको छ। या त सम्भ्रान्त वर्गले संघीयता र पहिचानको मुद्दासँग आत्मसमर्पण गरेर राज्य पुनर्संरचनाको प्रकृयालाई पूरा हुन दिनुपर्छ, या नयाँ ध्रुवीकरणमार्फत् तयार हुने अर्को संघर्षका लागि तयार हुनुपर्छ। काँग्रेस र एमालेका नेताहरुको हकमा पनि या यथास्थितिवादी नेताहरु विस्थापित हुनुपर्छ, या त सच्चिएर जनताको बृहत्तर शक्ति स्वीकार गर्नुपर्छ।
यसका अलावा न दोस्रो विकल्प बाँकी छ, न त विकल्पको तेस्रो किनारा अहिले उपलब्ध छ। जनयुद्धको निरन्तरताका रुपमा रचित लालिगुराँस क्रान्तिमा, ऐतिहासिक बाध्यताले वा रहरले जे कारणले भए पनि, काँग्रेस र एमालेले नेतृत्वदायी भूमिका निर्वाह गरे। कि त्यो भूमिका गलत थियो भनेर स्वीकार गर्नुपर्योु, कि त त्यो भूमिकाकै परिणामस्वरुप आफैंले समेत लागेर जन्माएको परिवर्तनको बच्चा अपनाउनुपर्योो। नत्र पट्याँस उक्केर झर्दाझर्दै इतिहासले अर्को बाटो पक्रिसकेको र आफ्नो राजनीतिक भविष्य अर्कैले चोरिसकेको नमीठो आभास पाएको दिन निकै ढिलो भइसकेको हुनेछ।
विघटित संविधान सभा पुनर्स्थापना गरेरमात्र पनि मुलुकले निकास पाउने छैन। नयाँ निर्वाचनको घोषणाले मात्रै संकट टार्ने छैन। केवल काँग्रेस र एमालेको लाहाछाप लागेको सरकार गठन गरेरमात्र पनि राजनीतिको धमिलो पोखरी संग्लिहाल्ने छैन। किनभने राजनीतिमा पसेको यो धमिलोपनले सिंहदरबार काठमाण्डूमा मात्र रहने र सम्पूर्ण जनताका रगत पसिना सोहोरिएर यही सिंहदरबारका फूलमात्र हुर्कने परिपाटीको अन्त्य खोजेको छ। राष्ट्रपति र प्रधानमन्त्रीले एक अर्काको कुरा नकाट्ने सुलह गरेकै कारणले मात्र पनि स्थिति सुधि्रने छैन। त्यसैले दलहरु राज्य पुनर्संरचनाको मुद्दामा केन्द्रित होउन् र मुलुकको कायाकल्प गर्ने विकल्प दिउन् भन्ने नै अहिलेको अपेक्षा हो। समस्याको चुरो चिन्ने कि पलाँस ओल्टाइपल्टाई गरिरहने? दलहरुले सोचून्।


अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस