रोकिएकै हो इतिहास?
२६ असोज २०६९
•
१४ मिनेट पाठ
रोकिएकै हो इतिहास?
'अति' नेपाली समाजको खास अन्तर्गुण नै हो कि जस्तो स्थिति प्रकट हुन्छ कहिलेकाहीँ। विशेषगरी आजकल चलेको बौद्धिक विमर्श यस्तै 'अति' को आतंकले ग्रस्त छ। यो बौद्धिक अतिवादले बदलिँदो इतिहासको यथार्थलाई निरन्तर खारेज गरिरहन्छ र भन्छ- इतिहास त खण्डित भइसक्यो, इतिहास रोकिइसक्यो।
परिवर्तनशील समाजमा निरन्तर आविष्कार भइरहने उथलपुथल र क्रान्तिहरुलाई केवल यसका नकारात्मक परिणामहरुको अंकगणितमा लगेर समाप्त तुल्याइदिन्छ। यस्तो प्रवृत्तिको तर्क हुन्छ- यत्ति अंकमा मानिस मरे, यति अंकमा अंगभंग भए, यति अंकमा मानिसले दुःख पाए तर इतिहास त अक्करमा अड्किएकै छ। के इतिहास रोकिएकै हो त? परिवर्तन भएकै छैनन् त?
हुन त राजनीतिमा अतिवादको प्रसंग नयाँ होइन। तथापि बौद्धिक अतिवादको प्रसंग पनि कम शक्तिशाली छैन नेपाली समाजमा। कुरा यत्ति हो कि बौद्धिक अतिवाद अक्सर 'सुगरकोटेड' हुन्छ। र, यस्तो बौद्धिक अतिवाद स्वभावतः स्थापित एवम् परम्परागत सत्ताको गुँढमा आश्रय लिइरहेको हुन्छ। यसर्थ, बीसौं शताब्दीका प्रख्यात् विचारक मिसेल फुकोले भनेझैं, स्थापत्य सत्ताको शक्तिले त्यस्ता बौद्धिकका विचारलाई अन्तिम सत्य तुल्याउन सबै सत्ताका अंग परिचालन गरिरहेको हुन्छ। र, स्थापत्य सत्ताले कथित मूलधारका यस्ता बौद्धिकविरुद्ध खडा हुने नयाँ विचारका भरियालाई आतंकवादी ठहर्याेइरहेको हुन्छ। यसैले बौद्धिक विमर्श पनि विभाजित हुन्छ। शुद्ध सत्य र शुद्ध बौद्धिकता त अभिजात्य वर्गको फगत एक तर्कमात्र हो।
स्थापत्य सत्ताको मिहिन खेल नेपाली समाजमा झनै जब्बर देखिनु स्वाभाविक छ। किनभने विश्व अन्तै पुगिसक्दा हाम्रो समाजमा भने अझैसम्म पनि राज खान्दान र राणा खान्दानले चलाएर गएका परम्परा, तर्क र इतिहासको एकांगी तर्कनामा कैद भइरहेका बौद्धिकहरुको कमी छैन। यसको मतलब हो सरकार विभिन्न अनुहारमा देखिएका छन्, तर सत्ताको मूलभूत चरित्र भत्किएकै छैन। नयाँ बन्ने त परको कुरो। भैरवनाथ गणमा दर्जनौं बन्दीको सामूहिक हत्या गर्ने राजु बस्नेतको बढुवा, प्रधान सेनापतिका रुपमा राणा खान्दानको पुनरागमन, सरुवा तथा बढुवाका निम्ति योग्यताको भर पर्न नसकेर गुहार माग्दै हिँडेका सेना, प्रहरी र कर्मचारीतन्त्रका सदस्य, सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्न नसकेर अत्तो थाप्दै हिँडेका राजनीतिक दलका नेता, इत्यादि इत्यादि कैयौं उदाहरणले सत्ताको चरित्रमा पुरानै ब्याक्टेरिया सक्रिय रहेको पुष्टि गर्छन्।
यसै कारण सेना, कर्मचारीतन्त्र, प्रहरी, व्यापारी, बौद्धिकताका ठेकेदार संस्थाहरु सबै पुरानै परम्परा यथावत् राख्न कस्सिएर लागेका छन्। खैर यो प्रयासका विरुद्ध परिवर्तनका कारक शक्ति पनि संघर्षरत् छन्। तैपनि अहिले चलिरहेको बौद्धिक अतिवादले सामाजिक क्रान्तिभित्रबाट जन्मिएका नायकलाई रातारात खलनायक तुल्याउने, समाजमा आएका परिवर्तनका आयामलाई निषेध गर्ने र प्रकारान्तरले राजसंस्था र राणा शासनले हुर्काएको पुरानै सामन्ती परम्परा जोगाइराख्ने कुटिल खेल खेलिरहेको छ। र, यो खेल खुल्लमखुल्ला चलिरहेको छ। केवल यसले पहिरिएको पगरी श्रीपेच जस्तो छैन, यसले खेलाउने शब्दहरुमा लोकतन्त्र बारम्बार दोहोरिन्छ, अनि हिराको जलप लगाइएको यसको सुँडले निरन्तर नकरात्मकताको विष प्रवाह गरिरहेको छ। बदलिँदो समाजलाई कुरुप र प्रवाहमय इतिहासलाई स्थिर भनेर चित्रण गर्ने यो अराजकताको नांगो नाच निकै डरलाग्दो ताण्डव गरिरहेको छ।
प्रश्न फेरि दोहोरिन्छ, के उसो भए इतिहास रोकिएकै हो त? ड्यारोन एसिमोग्लु र जेम्स ए. रबिन्सनको भर्खरै प्रकाशित पुस्तक ह्वाइ नेसन्स फेलबाट एउटा सानो प्रसंग यहाँ जोड्नु उपयुक्त हुन्छ। यो पुस्तकले ल्याटिन अमेरिकी, अफ्रिकी र दक्षिण एसियाली मुलुकहरुको गरिबीबारे अध्ययन गर्नका निम्ति विकसित भनिएका मुलुकको अर्थप्रणालीसँग यी गरिब मुलुकको तुलनात्मक अध्ययन गर्छ। यो तुलनाबाट एसिमोग्लु र रबिन्सन के निष्कर्ष निकाल्छन् भने गरिब मुलुकले धनी मुलुकको तुलनामा राम्रो संस्थागत संरचना विकास गर्न सकेका छैनन्। आधा भाग अमेरिका र आधा भाग मेक्सिकोमा पर्ने न्योगालस शहरका दुई फरक अनुहारलाई मुख्य उदाहरणका रुपमा पेस गर्दै एसिमोग्लु र रबिन्सन के तर्क गर्छन् भने प्रश्न न हावापानीको हो, न त भौगोलिक बनावटको हो, न सांस्कृतिक बनावटको नै, परन्तु मूख्य प्रश्न हो- इन्स्टिच्युसन् अर्थात् संस्थागत संरचनाको। चाहे राजनीतिक हुन्, आर्थिक हुन् वा सामाजिक, इन्स्टिच्युसनहरु आधुनिक जीवन प्रणालीलाई सहजीकरण गर्ने, आविष्कार र उत्पादनलाई प्रोत्साहन गर्ने भए भने त्यो देश वा समाज धनी र विकसित हुँदै जान्छ।
हाम्रो मुलुकको चाहिँ बिजोग नै यहीँ छ। एउटा सानो उद्योग वा उद्यम स्थापना गर्न खोज्ने मानिसलाई हाम्रा सरकारीदेखि गैरसरकारीसम्म संस्थागत कार्यालयले कागजका लक्कुमा हस्ताक्षर गराउँदा-गराउँदै, मन्त्रालयदेखि मातहतका कार्यालयमा कुदाउँदा-कुदाउँदै र घुसका मागहरुमा अड्काउँदा-अड्काउँदै ध्वस्त पारिदिन्छ। अवकाश प्राप्तदेखि बहालवालासम्म न्यायाधीशहरु कार्यालयका कर्मचारीलाई घरेलु नोकरसरह निजी घरमा काम लगाउँछन्। अनि न्याय माग्न अदालत पुग्ने मानिस न्यायको मोलमोलाईमा पूरै जिन्दगी अदालतको पिँढीमा सकेर जोगी बन्ने मनोदसामा पुगिसकेको हुन्छ। सेना र प्रहरीका हाकिम मातहतका कर्मचारीसँग कुन तजबीजमा प्रस्तुत हुन्छन् भन्ने तथ्य त जगजाहेर छ। ठीक यस्तै पुरातन मानसिकताबाट राजनीतिक दलहरुले संस्थागत अभ्यास गरिरहेका छन्। बौद्धिक संस्थाहरु पनि परम्परागत दम्भको उही पुरानो छडी लिएर बौद्धिक अभ्यास गरिरहेका छन्। यस्तो अवस्थामा यो मुलुकको भलो कसरी हुन्छ?
मूलतः संस्थागत संरचनाको कुरा हो भन्ने एसिमोग्लु र रबिन्सनको निष्कर्षलाई थुप्रै सत्यमध्ये एक सत्यमात्र मान्ने हो भने पनि कमसेकम हाम्रो मुलुकको दसा थाहा पाउन मद्दत नै पुग्छ। उनीहरुको सैद्धान्तिक निरुपणकै आधारमा भन्न सकिन्छ कि बौद्धिक अभ्यास गर्ने थलोहरु, सञ्चार संस्थाहरु र अरु सबै संस्थागत संरचनामा यो मुलुकलाई इतिहासको पुरानो गर्ततिरै धकेल्ने शक्तिको चलखेल तीव्र छ। अनि कसरी हुन्छ उन्नति? अनि कसरी गोपालप्रसाद रिमालकी 'आमा' ले बिजुलीजस्तो चम्केर आउने छोरो देख्न सक्छिन्? 'आमा' का आँखामा खातका खात पट्टी बाँधिदिन दिनहुँ खटिरहेका बौद्धिक अतिवादी घाइतेहरुलाई केवल घाइते मात्र देख्छन्, इतिहासलाई यहाँसम्म घिच्याएर ल्याइपुर्याटउने योद्धा देख्दैनन्। शहीद हुनेहरुलाई केवल मृत शरीरका रुपमा मात्र गन्ती गर्छन्, नयाँ इतिहासको निर्माण गर्ने 'कीर्तिपिपासु बत्तीका झिल्के पुतली' देख्न सक्दैनन्। अनेक क्रान्तिको रचना गर्न दुःख कष्ट सहने जनतालाई केवल खत र घाउहरु मात्र देख्छन्, इतिहासका निर्माता देख्दैनन्।
यस्ता पुरोहितहरु केवल समय नबोक्ने भागवत् गीता बाँचिरहन्छन् र भन्छन्- कृष्ण एक दिन महाभारतको फैसला गर्न आइपुग्नेछन्। र, बग्दो समयलाई पट्टी बाँधिदिएर एक्काइसौं शताब्दीका हजारौं गान्धारीहरुको रचना गर्न चाहन्छन्। के यस्तै पुरोहितहरुले भनेझैं इतिहास रोकिएको छ? उनीहरुको हजार वर्ष पुरानो आङ् कन्याइदिने सैनिक, प्रहरी वा कर्मचारीतन्त्रका संस्थागत संरचनाहरुले आम मानिसलाई दिइरहेको सास्तीको दैनिक बजार मूल्य के होला? के यो बजार मूल्यको हिसाबकिताब गर्न कुनै क्रान्ति वा विद्रोह वा आन्दोलन भएका छैनन्? के समाज मरेकै हो त? कि पुरोहितहरुको आँखामा इतिहास उहिल्यै मरिसकेको हो?
बीस वर्षका बीचमा समाजमा जुन परिवर्तन आएको छ, त्यसलाई खारेज गर्ने जुनसुकै पुरोहित इतिहास विरोधी हो। बीस वर्षमात्र किन भनिएको हो भने यसअघिका कैयौं विद्रोह र क्रान्तिले एउटा टुंगो यही समयमा पाएका छन्। चरम ब्राह्मणवादी जातिवाद, छुवाछुत, जनताको सबैभन्दा ठूलो हिस्सामाथि निरन्तर दमन र कसैकसैले उहिल्यै आइसकेको भनिएको पुँजीवादको नाममा राजपरिवार, राणा र अरु आसेपासे खान्दानीका नाममा पुँजीको अति संकेन्द्रणले बनाएको अति एकोहोरो र एकांगी राजनीतियन्त्र, समाजयन्त्र र संस्कारयन्त्र भत्किन सुरु भइसकेको छ। यस्तो भत्काईलाई राजसंस्थाको अन्त्य र गणतन्त्रको घोषणाले औपचारिक पटाक्षेप गरिसकेको छ।
अब जुनसुकै आग्रहले पुरानो समाज व्यवस्था फर्किएर आउन सक्दैन, बरु नयाँ बनाउन अझै कैयौं कठिन परिस्थिति पार गर्न किन नपरोस्। गाउँगाउँबाट मौजा र सामन्ती हैकमका केन्द्र हवेली गायब भइसकेका छन्। मानिस आफ्नो अस्तित्व र अस्मिताप्रति आक्रामक हिसाबले सचेत भएका छन्। उच्च जातकै भएका आधारमा वा धनी भएकै आधारमा हैकम गर्न खोज्नेहरुले आफूलाई बदलिइरहेका छन्। के यो इतिहास रोकिएको संकेत हो? होइन भने केही पुरोहित मात्र किन पुरानै मन्त्र पाठ गरिरहेका छन्?


अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस