चीन र भारतसँग वैज्ञानिक सहकार्य
११ असोज २०६९
•
१६ मिनेट पाठ
चीन र भारतसँग वैज्ञानिक सहकार्य
भारत र चीन नेपालका महत्त्वपूर्ण छिमेकी मित्रराष्ट्र हुन्। प्रधानमन्त्री बाबुराम भट्टराई नेपाल भारत र चीनबीच आर्थिक सेतु बन्नसक्ने बताउँछन्। अर्थविद्हरू भारत र चीनले हासिल गरेका आर्थिक उन्नतिबाट नेपालले प्रशस्त आर्थिक फाइदा उठाउनसक्ने सम्भावना देख्छन्। त्यसैगरी भारत र चीनले विज्ञान र प्रविधिको क्षेत्रमा पछिल्लो वर्षमा गरेका असाधारण प्रगतिबाट नेपाललाई वैज्ञानिक क्षमताको विकास गर्नमा ठूलो सहयोग प्राप्त हुनसक्छ।
त्रिभुवन विश्वविद्यालयले सन् १९६५ मा आधारभूत विज्ञानका विषयमा स्नातकोत्तर तह र सन् १९७२ मा प्राविधिक विषयमा स्नातक तहका अध्यापन सुरु गर्नुअघि हरेक वर्ष विज्ञान तथा प्रविधिसम्बन्धी विषयमा भारतबाट उच्च शिक्षा हासिल गरेर नेपाल फर्कने व्यक्तिको संख्या औँलामा गन्न सकिने अवस्थामा थियो। भारतबाहेक अन्य देशमा शिक्षित नेपाली वैज्ञानिक तथा प्राविधिज्ञको संख्या नगन्य थियो।




त्रिविमा विज्ञान प्रविधिसम्बन्धी विषयमा उच्च शिक्षाको अध्यापन सुरु भएपछि हरेक वर्ष देशभित्र उल्लेखनीय संख्यामा वैज्ञानिक तथा प्राविधिज्ञ उत्पादन हुन थाल्यो। आज त्रिविलगायत्का अन्य विश्वविद्यालय एवं ती विश्वविद्यालयसँग सम्बन्धन प्राप्त निजी शैक्षिक संस्थाबाट हरेक वर्ष हजारौँको संख्यामा स्नातक तथा स्नातकोत्तर तहका वैज्ञानिक तथा प्राविधिज्ञ उत्पादन हुँदै आएका छन् र यो संख्या निरन्तर बढिरहेको छ। यो देश विकासका लागि सुःखद् प्रगति हो। तर आज देशको पहिलो विश्वविद्यालय त्रिवि स्थापना भएको आधा शताब्दीभन्दा बढी समय बितिसक्दा र अन्य थप विश्वविद्यालय खुलेको वषौँ भइसक्दा पनि देशभित्र विज्ञान र प्रविधिको क्षेत्रमा अनुसन्धानका लागि आवश्यक विद्यावारिधि तहको जनशक्ति पर्याप्त संख्यामा उत्पादन हुन सकेको छैन। त्यसैले देशमा विज्ञान प्रविधिको अनुसन्धान कार्यमा अपेक्षित प्रगति हुन सकेको छैन।

निजी क्षेत्रमा सञ्चालित अधिकांश शैक्षिक संस्थामा विज्ञान प्रविधि विषयको अध्यापन स्नातक तहमा सीमित छन्। त्रिभुवन विश्वविद्यालयलगायत् देशका अन्यं विश्वविद्यालयले पनि मूलतः स्नातक र स्नातकोत्तर तहका जनशक्ति उत्पादन गर्दै आएका छन्। देशका विश्वविद्यालयका आंगिक तथा सम्बन्धन प्राप्त शैक्षिक संस्थाले कुल मिलाएर हरेक वर्ष कयौँं हजारको संख्यामा स्नातक र स्नातकोत्तर तहको वैज्ञानिक तथा प्राविधिक जनशक्ति उत्पादन गरिरहेका छन्। तर देशभित्र विद्यावारिधि तहको जनशक्ति उत्पादन भने केही दर्जनमा मात्र सीमित छन्। यसको मूल कारण हाम्रा विश्वविद्यालयमा विज्ञान प्रविधिका विषयमा विद्यावारिधि तहको अनुसन्धानका लागि आवश्यक जनशक्ति, पूर्वाधार, आर्थिक लगानी र संस्कृतिको अभाव हो।

देशभित्र उत्पादित स्नातक तथा स्नातकोत्तर तहको वैज्ञानिक तथा प्राविधिक जनशक्तिले देशभित्र ठूलो संख्यामा सञ्चालित उच्चमाध्यामिक र स्नातक तहको अध्ययन/अध्यापन हुने शैक्षिक संस्था तथा आ-आफ्नो क्षेत्रसँग सम्बन्धित निकायलाई आवश्यक शिक्षक तथा विज्ञको परिपूर्ति गर्न ठूलो मद्दत पुगेको छ। यो देशका लागि ठूलो प्रगति र सन्तोषको विषय हो। तर कुनै पनि देशको समग्र आर्थिक सामाजिक उन्नतिका लागि वैज्ञानिक अनुसन्धानको ठूलो महत्त्वपूर्ण भूमिकमा रहन्छ। विशेषगरी ज्ञानमा आधारित मानिने एक्काइसौँ शताब्दीको समाजमा देश विकासका लागि वैज्ञानिक अनुसन्धानमा क्षमता अभिवृद्धि गर्नु विकसितमात्र नभई नेपालजस्ता विकासशील देशलाई पनि उत्तिकै जरुरी भएको विज्ञहरूको ठहर छ। त्यसैले विज्ञान प्रविधिको क्षेत्रमा अनुसन्धानको क्षमता तीव्र गतिले अभिवृद्धि गर्नेतर्फ राज्य र सम्बन्धित निकायको उचित ध्यान जानु आवश्यक छ। यसका लागि सर्वप्रथम उल्लेख्य संख्यामा विज्ञान प्रविधि विषयमा विद्यावारिधि तहको अनुसन्धान गरेका जनशक्ति उत्पादनमा जोड दिनु जरुरी छ।

माथि उल्लेख गरिएअनुसार अहिले आफ्नै देशभित्र छोटो समयमा पर्याप्त संख्यामा विद्यावारिधि तहको अनुसन्धान गरेको जनशक्ति उत्पादन गर्न सकिने सम्भावना कम देखिन्छ। त्यसैले आगामी केही वर्षका लागि विद्यावारिधि तहको अनुसन्धान गरेको जनशक्ति तीव्र गतिमा उत्पादन गर्न हामीले वैदेशिक सहयोग लिनु अपरिहार्य देखिन्छ। यसमा विशेषगरी हाम्रा छिमेकी राष्ट्र एवं विश्वका उदाउँदा वैज्ञानिक महाशक्ति चीन र भारतको सहयोग प्राप्त गर्नु सबैभन्दा उत्तम र प्रभावकारी विकल्प देखिन्छ।

विगतमा विशेषगरी भौगोलिक निकटता र भाषाका कारण भारत नेपालीका लागि विज्ञान प्रविधिसम्बन्धी उच्च अध्ययनका लागि सबैभन्दा उपयुक्त गन्तव्य स्थान थियो। तर आजको पुस्ताका विद्यार्थीका लागि विज्ञान प्रविधि विषयमा उच्च शिक्षा र अनुसन्धानका लागि भारतभन्दा युरोप, अमेरिका र अष्ट्रेलिया बढी आकर्षक बन्न थालेका छन्। तर अधिकांश त्यस्ता विद्यार्थी स्वदेश नफर्की विदेशमै पलायन हुने गरेका छन्। त्यसैले ती वैज्ञानिकबाट नेपालमा अनुसन्धानको विकासमा योगदान दिन सक्ने अवस्था सृजना हुन सकेको छैन।

विज्ञान प्रविधिको क्षेत्रमा भारतसँग नेपालको लामो सम्बन्ध कायम रहँदै आए पनि यस क्षेत्रमा हाम्रो सम्बन्ध अर्को महत्त्वपूर्ण छिमेकी राष्ट्र चीनसँग भने खासै प्रगति हुन सकेको छैन। हरेक वर्ष केही नेपाली विद्यार्थी चिकित्साशास्त्र र इन्जिनियरिङ विषयको अध्ययनका लागि चीन जाने गरे पनि वैज्ञानिक अनुसन्धानको क्षेत्रमा नेपाल र चीनबीच उल्लेखनीय सहकार्य हुन सकेको छैन।

भौगोलिक विकटता, यातायातको असुविधा र भाषाको समस्याका कारण विगतमा चीनसँग शैक्षिक तथा वैज्ञानिक अनुसन्धानको सहकार्य विकास हुन नसक्नु शायद स्वाभाविक पनि थियो होला। तर आज उपलब्ध आधुनिक यातायातको सुविधा र सूचना प्रविधिको विकासले नेपाल र चीनबीच विद्यमान भौगोलिक दूरी समाप्त भएको छ। चीनमा विद्यावारिधि तहको अनुसन्धान गर्न चाहने नेपाली विद्यार्थीलाई भाषाको पनि कुनै समस्या रहने छैन। आज चीनलगायत् विश्वका हरेक राष्ट्रमा अंग्रेजी भाषा वैज्ञानिक अनुसन्धानको भाषा बन्न पुगेको छ। तसर्थ नेपालका लागि भारतजस्तै आज चीन पनि विद्यावारिधि तहको वैज्ञानिक अनुसन्धान लागि उपयुक्त गन्तव्यस्थान हुनसक्छ। भारत र चीनमा विद्यावारिधि गरेका वैज्ञानिक जनशक्ति विदेश पलायन हुने सम्भावना कम भएकाले उनीहरूले नेपालमा वैज्ञानिक अनुसन्धानको विकासमा महत्त्वपूर्ण योगदान गर्न र नेपाल, भारत र चीनबीच विज्ञान प्रविधिको क्षेत्रमा सहकार्य बढाउन मद्दत पुर्‍याउन सक्छन्।

आज चीन र भारत विश्वका उदाउँदा आर्थिक महाशक्तिमात्र नभई विश्वका उदाउँदा वैज्ञानिक महाशक्ति पनि हुन्। चीन र भारत अमेरिकापछि वैज्ञानिक जनशक्तिको संख्यामा क्रमशः विश्वको दोस्रोे र तेस्रो स्थानमा छन्। केही दशकमै चीनले विज्ञान प्रविधिको क्षेत्रमा अमेरिकालाई उछिन्ने अन्तर्राष्ट्रिय स्वतन्त्र विज्ञहरूको अनुमान छ। विशेषगरी चीनको 'चाइनिज एकेडेमी अफ् साइन्सेज, कास' र भारतको 'काउन्सिल फर साइन्टिफिक एण्ड इन्डस्ट्रियल रिसर्च, सिएसआइआर' अन्तर्गतका कयौँ प्रयोगशाला आज विश्वस्तरका छन्। त्यहाँ स्थानीय र विकासशील देशमात्र नभई विकसित पश्चिमी मुलुकका वैज्ञानिकसमेत अनुसन्धानरत् छन्।

नेपालले उच्चस्तरीय तहमा राजनीतिक एवं कूटनीतिक प्रयास गर्ने हो भने चीन र भारतलेे विज्ञान प्रविधिको क्षेत्रमा नेपालको वैज्ञानिक अनुसन्धान क्षमता विकास गर्न ठूलो मद्दत पुर्‍याउन सक्तछन्। उदाहरणका लागि यी दुवै मित्रराष्ट्रबाट आगामी पाँच वर्षसम्मका लागि हाम्रो देश विकाससँग सान्दर्भिक विज्ञान प्रविधिको विषयमा विद्यावारिधिको अनुसन्धानका लागि हरेक वर्ष एक सय छात्रवृत्ति उपलब्ध हुन सके करिब दश वर्षभित्र नेपालमा एक हजार विद्यावारिधि तहका उच्च वैज्ञानिक जनशक्ति निर्माण हुनेछ। यसले हाम्रो देशमा वैज्ञानिक अनुसन्धानको क्षेत्रमा ठूलो फड्को मार्न सक्छ। विद्यावारिधिको अनुसन्धानका लागि एक सय छात्रवृत्तिको कुरा सुन्दा हामी कतिपयलाई अपत्यारिलो लाग्न सक्छ। तर आजको युगमा वैज्ञानिक अनुसन्धान एकल नभई सामूहिक प्रयासले मात्र उपलब्धिमूलक हुनसक्छ। हरेक विषयको अनुसन्धानका लागि एक न्युनतम् (क्रिटिकल) संख्यामा उच्चस्तरको अनुसन्धानकर्ताको आवश्यकता पर्छ। चीन र भारतका लागि विद्यावारिधिका लागि सयवटा छात्रवृत्ति प्रदान गर्नु खासै ठूलो संख्या होइन। अहिल्यै पनि चीन र भारतले इटालीस्थित विकाशील देशका विज्ञान प्रतिष्ठान, 'ट्वास' मार्फत अति कम विकसित देशका लागि हरेक वर्ष ५० विद्यावारिधि छात्रवृत्ति उपलब्ध गराउँदै आएका छन् ।

चीन र भारतले आ-आफ्ना सयौँ उत्कृष्ट प्रयोगशालाबाट हरेक वर्ष पाँच हजारको हाराहारीमा विज्ञान प्रविधि क्षेत्रमा विद्यावारिधि प्राप्त जनशक्ति उत्पादन गर्छन्। अर्थात् भारत र चीनका प्रयोगशालामा बीसौँ हजार विद्यार्थी एकै समय विज्ञान प्रविधि क्षेत्रमा विद्यावारिधिको अनुसन्धानमा ब्यस्त छन्। भारत र चीनजस्ता विश्वका उदाउँदा आर्थिक तथा वैज्ञानिक महाशक्ति राष्ट्रका लागि नेपाललाई प्रतिवर्ष विद्यावारिधिको अनुसन्धानका लागि सयवटा छात्रवृत्ति उपलब्ध गराउनु कुनै कठिन कार्य होइन। तर यसका लागि सर्वप्रथम नेपाल सरकारले नै अनुसन्धानका लागि विद्यावारिधि तहको वैज्ञानिक जनशक्तिको आवश्यकता महसुस गर्नुपर्‍यो र उच्चतम् राजनीतिक तथा कूटनीतिक तहमा पहल गर्नुपर्‍यो।

हाम्रो प्रधानमन्त्री बाबुराम भट्टराई विज्ञान प्रविधिको महत्त्व राम्ररी बुझेका व्यक्ति हुन। उनको समयसमयमा भारत र चीनका प्रधानमन्त्री तथा अन्य उच्च तहका नेताहरूसँग विभिन्न अवसरमा औपचारिक तथा अनौपचारिक भेट हुने गर्छ। ती नेतासँगको यस्ता वार्तामा प्रधानमन्त्री भट्टराई स्वयंले यस विषयलाई वार्ताको औपचारिक एजेण्डा बनाउन चाहे यो असम्भव कुरा होइन। यसमा उनले सफलता हासिल गर्नसके नेपालको विज्ञान प्रविधिको इतिहासमा प्रधानमन्त्री भट्टराईको योगदान कहिल्यै नबिर्सने हुनसक्छ।

चीनले पनि सन् १९७० र १९८० को दशकमा हरेक वर्ष हजारौँको संख्यामा वैज्ञानिक अनुसन्धानका लागि आफ्ना विद्यार्थीलाई युरोप र अमेरिका पठाएको थियो। फलस्वरूप करिब तीन दशकको छोटो अवधिमा चीन विश्वको दोस्रो वैज्ञानिक महाशक्ति राष्ट्र बन्न सफल भएको छ। चीनको अनुभवबाट नेपालले पनि पाठ सिक्न सके राम्रो हुनेछ। आज बिउ रोेपे भोलि बिरुवा हुर्किन्छ र पर्सि त्यसमा फल लाग्छ। बिउ नै रोपेनौँ भने फल कहिल्यै प्राप्त हुन सक्तैन।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस