राजनीतिको कमण्डलु
३० भदौ २०६९
•
१४ मिनेट पाठ
राजनीतिको कमण्डलु
'कम्युनिष्टहरु राजाका एजेण्ट हुन' सत्तरीको दशकतिर प्रजातान्त्रिक आन्दोलनमा सक्रिय धेरै व्यक्तिको मुखमा झुण्डिने गरेको थेगो हो यो। यसको जवाफमा सन्त नेता कृष्णप्रसाद भट्टराई भन्ने गर्नुहुन्थ्यो- 'त्यसले के भो त? गेरुबस्त्र लगाएर हिँड्ने जोगीको हातमा रहेको कमण्डलुमा रक्सी छ भनेर कसले पत्याउँछ? दुनियाँले त त्यसमा गंगाजल नै छ भन्छ नि!'




नेपालको राजनीतिक अध्ययनमा लागेका प्राध्यापक एसडी मुनीले आफनो शोध-ग्रन्थमार्फत् माओवादीबारे गरेको 'खुलासा' चर्चामा रहेका बेला कृष्णप्रसाद भट्टराईको कथनको सम्झना संयोगमात्रै होइन। मुनीको शोध-ग्रन्थले कुनै मिथ तोडेको छैन। त्यो उनको अध्ययन र जानकारीको एउटा आयाममात्र हो। नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले माओवादी र प्रचण्डलाई निर्मल निवास र त्यसका अधिपतिसँग जोडेर पटक-पटक वक्तव्यवाजी गरेका छन्। तर, प्रकारान्तरले राजनीतिमा त्यसको कुनै असर परेको छैन। आफूले लेखेका र अनुवाद गरेका पुस्तकहरु पढेर एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड ज्ञानी हुनुभएको आत्मवोध राजनीतिक टिप्पणीकार खगेन्द्र संग्रौलामा पनि प्रचुर छ। प्रचण्डको ज्ञान, रणनीति निर्माण र राजनीतिक जीवन्तताको कारण त्यति मात्रै पक्कै होइन।

मुनीले माओवादीबारे जे लेखेर जे कुराको खुलासा गरे पनि अन्ततः प्रचण्डको नेतृत्वमा माओवादी छापामारहरुले दागेको तोपले राजतन्त्र धराशायी भएको हो। त्यो तोपमा शक्ति भर्न भारतीय संस्थापनाले पक्कै मद्दत गर्‍यो होला। होइन भने २ सय ४० वर्षदेखि नेपाली समाजमा जरो गाडेर बसेको संस्था त्यत्तिकै ढल्ने थिएन। नेपाली समाजमा अहिले देखिएको परिवर्तनको उहापोह, संरचनात्मक परिवर्तन र व्यापक छटपटीको मूल कारण पनि त्यही युद्ध हो। यो सत्य अब स्थापित भइसकेको छ। त्यो तोप भारतको अन्तर्राष्ट्रिय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिसी विंग (रअ) ले बनाएको थियो कि इन्फर्मेसन ब्युरोले अथवा अमेरिकी गुप्तचर संस्था सीआइएले? यो बहस र विवाद बौद्धिक आत्मरतिको विषय हुन सक्छ। राजनीतिको वर्तमान यथार्थसँग मेल खाँदैन।

नेपालका राजनीतिक नेतागण र दलहरु इतिहासका विभिन्न कालखण्डदेखि नै भारत, भारतीय राजनीति, भारतीय सरकार र भारतका राजनीतिक दलहरुसँग जोडिएका छन्। श्री ३ महाराज जंगबहादुर राणाले भारतीय स्वाधीनता संग्राममा लागेका क्रान्तिकारीहरुविरुद्ध आफना सेनालाई अंग्रेजको सहयोगका लागि अवध पठाएका थिए। गोर्खाली सेनाले लखनउमा लुट मच्चाएर फर्किएपछि नेपालले अंग्रेजसँगको युद्धमा हारेको भूमि फिर्ता पाएको थियो। नेपालका लागि लखनउ लुट खराव काम थिएन, नयाँ मुलुक हाम्रो उपलब्धि थियो तर विश्व इतिहासमा स्वतन्त्रताको मानवीय चेतनाविरुद्ध अंकित भयो- त्यो लुट।

२०१७ सालमा राजा महेन्द्रले सैनिक षडयन्त्रद्वारा कांग्रेस सरकार अपदस्थ गरेर बीपी कोइराला र प्रजातन्त्रका अन्य नेतालाई जेलमा हाल्दा प्रजातन्त्रवादका विश्व विख्यात् प्रवक्ता जवाहरलाल नेहरुले खासै गुनासो गरेनन्। उनले त्यतिबेला अलि चर्को आवाजमा बोलिदिएको भएमात्रै पनि दक्षिण एसियाको राजनीतिक परिस्थिति अहिले बेग्लै हुन्थ्यो होला। नेहरुले राजा महेन्द्रविरुद्ध प्रतिक्रियात्मक कुरा केही नगरे पनि कांग्रेसका नेता सुवर्ण शमशेरलाई कलकत्ताबाट भरुवा बन्दुक पड्काएर राजाविरुद्ध सशस्त्र क्रान्ति गर्ने अवसर पक्कै दिएका थिए। सन् ६२ मा भारत र चीनबीच युद्ध नभएको भए क्रान्तिकारी नेता सुवर्ण शमशेर विजेताका रुपमा काठमाडौं फर्किने थिए। सन् ६४ मा नेहरुको निधनको चार वर्षपछि सुवर्ण शमशेरको आत्मसमर्पण नेपाली राजनीतिमा अर्को अध्यायको प्रारम्भ थियो। आत्मसमर्पणको परिणामस्वरुप बीपी जेलबाट छुट्नुभएको थियो। बीपी जेलबाट छुटेर फेरि सशस्त्र क्रान्तिको नारा दिँदै भारत नपस्नु भएको भए पूरै कांग्रेस अठतीसे कांग्रेसको समूहमा रुपान्तरित हुन बेर लाग्ने थिएन होला। त्यतिबेला नेपालको प्रजातान्त्रिक आन्दोलन पक्कै पनि मसांग्रिने थियो केही दशकका लागि।

बीपी कुन द्वन्द्व र उद्वेलनबीच २०३३ मा नेपाल फर्किनुभएको थियो भन्ने पढलेख गर्न जान्ने कुनै पनि नेपालीबाट छिपेको छैन। विदेशी दासता र राष्ट्रिय स्वतन्त्रताबीचको अवस्था चयन गर्नुपर्दा बीपीले स्वतन्त्रता चयन गर्नुभयो र देशको राष्ट्रिय विभूति बन्नुभयो। बीपी स्वदेश फर्किनुभएपछि राजाको कठोर शासन उदार बन्न बाध्य भयो। जनमत संग्रहको दश वर्षपछि जन-आन्दोलनको निर्माण ऐतिहासिक घटनाक्रमहरु नजोडिई त्यत्तिकै भएको थिएन। राष्ट्रिय जन-आन्दोलन तयारीका लागि गणेशमान सिंहको निवासमा आयोजित नेपाली कांग्रेसको सभाका बेला नेपाली जनताको मनबाट भय हटाउन आउनुभएका चन्द्रशेखरको टोलीका सदस्य एमजे अकवरले भारतीय राष्ट्रिय कांग्रेस (आई) का तर्फबाट विगतमा नेपालका तानाशाहहरुलाई सहयोग दिनु भारतको गल्ती भएको स्वीकार गर्दै जनताको साथ दिने घोषणा गर्नुभएको थियो। राजीव गान्धीको स्वीकृतिमा एमजे अकवरले सार्वजनिक गर्नुभएको भारतीय कांग्रेस (आई) को त्यो अवधारणा अहिले कुनरुपमा छ? राजनीतिका पण्डितहरुले खोजविन र अनुसन्धान गर्ने विषय पर्‍यो त्यो।

नेपाल साहसी मानिसको बासस्थान हो। तर, यहाँका जानिफकार राजनीतिज्ञ, विद्वान् र विदूषकहरुले सामरिक रणनीति र कूटनीतिका विषयमा साहसका साथ बोल्ने गरेका छैनन्। नेपाली कांग्रेसका विचलनवादी नेता विपिन कोइरालासँग एकपटक स्तम्भकारले सोधेको थियो- 'तपाईं जस्तो पढे/लेखेका विद्वान्हरु किन आफ्ना संस्मरण लेख्नुहुन्न? किन नेपालको भावी पुस्तालाई इतिहासको रोचक ज्ञानबाट वञ्चित राख्नुहुन्छ?' विपिनले स्पष्ट जवाफ दिनुभएको थियो- 'त्यसको मूल कारण हामीमा रहेको आशा र लोभ हो। नमरुन्जेलसम्म प्रधानमन्त्री बन्ने आशा र लोभ छ हामीमा। त्यही आशा र लोभले हामीलाई संस्मरण लेखेर इतिहास लिपिबद्ध गर्न रोकेको छ। लेखिसकेपछि भन्न सकिँदैन, त्यसका परिणाम के हुन्छन्? अवसर पाइन्छ कि भन्ने आशा र लोभ ममा पनि छ।'

नेपाली समाज आधुनिक होइन र पारदर्शी पनि होइन। त्यसैले यहाँका मानिसको मनमा भित्तोको पनि कान हुने मान्यता कायम छ र जिव्रो थुतिने डर पनि विद्यमान छ। ज्ञाता भन्दैछन्- '२०३३ सालमा जुन प्रस्ताव सुनेर बीपी कहालिँदै भारतको निर्वासनबाट स्वदेश फर्किनुभएको थियो, त्यसको ३० वर्ष नपुग्दै गिरिजाप्रसाद कोइरालाले माओवादीसँगको साझेदारीमा केही सुधारसहित त्यही प्रस्तावमा सहमति जनाएर नेपालमा गणतन्त्रको बाटो खोल्नुभयो।' बीपी बारम्बार भन्ने गर्नुहुन्थ्यो- 'सत्यको मुख थुनिदियो भने झुटको थुतुनो खुल्छ।' गणतन्त्र संस्थागत गर्ने नयाँ संविधानको खिचडी पाक्दै गर्दा शब्दहरुको अझै ताँती लाग्ने निश्चित नै छ। ती शब्द सत्यको मुखबाट खरो खरो निस्किएका पनि हुन सक्छन् र झुटको थुतुनो खुलेको पनि हुनसक्छ। यसै हो भन्ने अवस्था अहिले छैन।

संविधान सभाको अवशानपछि नेपाली राजनीतिका नेता, खासगरी नेपाली कांग्रेसका नेता, माओवादीले आफ्नै बच्चो संविधान सभाको भू्रण हत्या गरेको आरोप लगाउँदैछन्। त्यो बच्चो माओवादीको मात्रै थियो कि अरु प्रमुख दलको पनि त्योसँग अपनत्व गाँसिएको थियो? भू्रण हत्या सामूहिक र समावेशी थियो कि थिएन? प्रश्नका लामो लस्कर लागेको छ। भन्नुपर्दा, संविधान सभाप्रति कसैको पनि निष्ठा थिएन, न कांग्रेसको, न माओवादीको। दश वर्ष लामो लडाइँ लड्दा पनि बहुमत नआएकोमा कुपित माओवादी र शान्ति सम्झौताको पहल गरेर त्यत्रो हतियारधारी शक्तिलाई राजनीतिको मूल बाटोमा ल्याउँदा पनि दोस्रो स्थानमा मात्रै आउनुपरेकोमा कुपित कांग्रेस। भनिन्छ- माओवादीमा युद्धको दम्भ छ। तर दम्भ त सबैमा छ। कांग्रेसमा शासकीय अनुभवको दम्भ छ। एमालेमा सुशासनको दम्भ छ। मधेसीमा बाहुबलको दम्भ छ। दलित र पिछडिएका जाति/जनजातिमा अन्यायविरुद्ध लडेको दम्भ छ। हामी पत्रकारमा पनि दोस्रो जनआन्दोलन हाम्रै बलबुतामा भएको दम्भ छ। यी सबै दम्भ भ्रम हुन। भ्रमको कुनै आकार हुँदैन।

संविधान सभाको अवसानपछि अहिले सबै लागेका छन् चिहान खोतल्न। अहिलेको यो विवादले आउने चुनावमा कसैको भोट बढ्नेवाला छैन। न कोही महान् बन्नेवाला छ, न कोही पतीत। माओवादीहरु कसको इशारामा जनयुद्धमा लागेका थिए? यो प्रश्नको सामयिक राजनीतिमा कुनै औचित्य छैन। जसले जसको इशारामा राजनीति गरेको भए पनि नेपालको राजनीतिक भूगोलमा व्यापक परिवर्तन आइसकेको छ। जनता यो भूगोल अब अरु नबिग्रियोस् भन्नेमात्रै चाहन्छ। उसको यो चाहनाको कदर सबै राजनीतिक दलले गर्नुपर्छ। अहिले चर्चामा ल्याइएका विषय चुनावका आकर्षक नारा बन्न सक्ने हैसियतका पनि छैनन्। माओवादीले कहाँ बनेको कमण्डलु बोकेको थियो भन्नेसँग जनतालाई के मतलव? यत्ति हो कि माओवादीको हातमा रहेको कमण्डलुमा गंगाजल थिएन, युद्ध र क्रान्तिका सामग्री थिए। परिवर्तन आयो- मुख्य कुरा यति नै हो। कसरी आयो? तपसीलको कुरा हो।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस