वैज्ञानिक जनशक्तिको विस्तार
२७ भदौ २०६९
•
१७ मिनेट पाठ
वैज्ञानिक जनशक्तिको विस्तार
समाजमा विद्यमान कुनै पनि प्रकारको समस्या समाधानमा विज्ञान र प्रविधिको प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका रहन्छ। तसर्थ आजको युगमा आम जनतामा वैज्ञानिक क्षमता, सोच र संस्कृतिको विकास अति आवश्यक छ।
आजको युगमा कुनै पनि पेशाकर्मीले कुनै न कुनै प्रकारका वैज्ञानिक प्रविधि प्रयोग गरिरहेका हुन्छन्। त्यसैले विज्ञान र प्रविधि हाम्रो मूलधार शिक्षा प्रणालीको एक महत्वपूर्ण अंग बन्नु अति आवश्यक छ।




हाम्रो वर्तमान शिक्षा प्रणालीमा कक्षा दशसम्म मात्र विज्ञान शिक्षाको पठनपाठन सबै विद्यार्थीलाई अनिवार्य गरिएको छ। पछिल्लो समयमा विज्ञान प्रविधिको क्षेत्रमा हुँदै आएको द्रुत विकास र यसले मानव समाजमा पार्दै आएको बढ्दो प्रभावलाई ध्यानमा राख्दै अन्य विकसित देशमा जस्तै हामीले पनि हाम्रो शिक्षा प्रणालीअन्तर्गत मानविकी, व्यवस्थापनलगायत्का हरेक विज्ञानेतर संकायको उच्च माध्यमिक र स्नातक तहका पाठ्यक्रममा समेत विज्ञान र प्रविधिका महत्वपूर्ण र व्यावहारिक विषय समावेश गर्नु जरुरी भइसकेको छ।

विज्ञान विषय लिई उच्च माध्यमिक तहमा अध्ययन गर्ने प्रायः सबै विद्यार्थीको मूल लक्ष्य डाक्टर वा इन्जिनियर बन्ने हुन्छ। देशभित्र निजी क्षेत्रमा बढ्दो संख्यामा खुलेका मेडिकल तथा इन्जिनियर कलेजले गर्दा ती विद्यार्थीलाई आफ्नो लक्ष्य हासिल गर्न धेरै सजिलो भएको छ। हरेक वर्ष ठूलो संख्यामा देशभित्र डाक्टर र इन्जिनियर उत्पादन हुन थालेको छ। यो राम्रो प्रगति हो। तर देशको समग्र विकासका लागि आवश्यक विज्ञान तथा प्रविधिका अन्य क्षेत्रका जनशक्ति उत्पादनमा सन्तोषजनक प्रगति हुन सकेको छैन। विशेषगरी हाम्रो शिक्षा प्रणालीले विज्ञानका विद्यार्थीलाई वैज्ञानिक बन्न र अनुसन्धानतर्फ आकर्षित गर्न सकेको छैन।

विज्ञानका विद्यार्थीलाई भविष्यमा वैज्ञानिक बन्न र अनुसन्धानतर्फ आकर्षित गर्न विद्यालयस्तरमै विज्ञान विषयको अध्यापन तरिका प्रभावकारी र रुचिपूर्ण हुनु अत्यन्त जरुरी छ। यसको लागि हरेक विद्यालयमा तालिमप्राप्त र योग्य विज्ञान शिक्षक तथा सुविधायुक्त प्रयोगशालाको आवश्यकता पर्छ। तर विशेषगरी नेपालका अधिकांश सरकारी विद्यालयमा विज्ञान शिक्षक र प्रयोगशालाको ठूलो अभाव छ।

विज्ञानका सिद्धान्त प्रमाणमा आधारित हुन्छन्। तसर्थ विज्ञान शिक्षाको सबैभन्दा महत्वपूर्ण पक्ष प्रयोग गर्नु र गराउनु हो। तर सुविधायुक्त प्रयोगशालाको अभावमा नेपालमा अधिकांश विद्यालय तहका विज्ञानका विद्यार्थीले कुनै प्रयोग गर्न पाएका हुँदैनन्। विज्ञान शिक्षा विशुद्ध सैद्धान्तिक विषय बन्न पुगेको छ। यिनै कारणले गर्दा पनि विज्ञान शिक्षकले विद्यार्थीमा विज्ञान विषयप्रति पर्याप्त अभिरुचि सिर्जना गर्न सकेका छैनन्। विद्यालयका कतिपय जेहेन्दार विद्यार्थीलाई समेत विज्ञान विषय निरस लाग्न थाल्छ। उनीहरू विज्ञान विषयतर्फ विकर्षित हुन्छन्। परिणामस्वरूप हाम्रो शिक्षा प्रणालीले देश विकासका लागि आवश्यक संख्यामा अनुसन्धानमा कार्यरत् वैज्ञानिक जनशक्तिको निर्माण गर्न तरुण प्रतिभालाई आकर्षित गर्न सकेको छैन।

कतिपय मुलुकमा विज्ञान प्रज्ञा प्रतिष्ठान, विज्ञान प्रविधिसम्बन्धी पेशागत संघ/संस्था तथा विश्वविद्यालयका वैज्ञानिक तथा अनुसन्धानकर्ता विद्यालय गएर विज्ञान शिक्षक र विद्यार्थीसँग नियमित अन्तरक्रिया गर्ने र उनीहरूलाई विज्ञान र प्रविधिका क्षेत्रमा भएका पछिल्ला उपलब्धिबारे जानकारी दिने गर्छन्। यस्ता क्रियाकलापले विद्यालयका विज्ञान शिक्षक तथा विद्यार्थीमा विज्ञान प्रविधि विषयको अध्ययन तथा अध्यापनमा प्रभावकारी असर पार्न र प्रतिभाशाली विद्यार्थीलाई विज्ञान प्रविधिको अनुसन्धानतर्फ आकर्षित गर्न प्रेरित गर्ने गरेको ती मुलुकको अनुभव छ। नेपालमा पनि देशका विज्ञान प्रविधिसँग सम्बन्धित उच्च निकायलाई संलग्न गराई देशभरका विद्यालयमा यस प्रकारको कार्यक्रम आरम्भ गर्न सकिन्छ। यस्ता कार्यक्रममा विशेषगरी स्थानीय विश्वविद्यालय, क्याम्पस र त्यस क्षेत्रका विद्यालयबीच सहकार्य विकास गर्नु जरुरी छ।

यसैगरी विद्यालय तहमा अध्ययनरत् विद्यार्थीलाई विज्ञान प्रविधिको उच्च शिक्षातर्फ आकर्षित गर्न धेरै मुलुकमा गणित, जीवशास्त्र, रसायनशास्त्र तथा भौतिकशास्त्र जस्ता विज्ञानका आधारभूत विषयमा नियमितरूपमा विद्यालयका विद्यार्थीबीच स्थानीय र राष्ट्रियस्तरको विज्ञान प्रतियोगिता अर्थात् 'ओलम्पियाड' आयोजना गरिन्छ। तर नेपालमा आजसम्म यसप्रकारका विज्ञान ओलम्पियाड आयोजना हुन सकेको छैन। यसको आवश्यकताबारे विज्ञान शिक्षकहरूले समयसमयमा सम्बन्धित निकायको ध्यानाकर्षण गर्दे आए पनि ती निकायको यसतर्फ पर्याप्त ध्यान गएको छैन। राष्ट्रिय स्तरमा यस्ता ओलम्पियाड नियमित आयोजना गरी विजेता विद्यार्थीलाई उचित पुरस्कार प्रदान गर्नुका साथै नियमितरूपमा आयोजना गरिने अन्तर्राष्ट्रिय विज्ञान ओलम्पियाडमा भाग लिन आवश्यक तालिम, तयारी, र संलग्नताका लागि राज्यले आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउनु आवश्यक छ। अन्तर्राष्ट्रिय विज्ञान ओलम्पियाडमा नेपाली विद्यार्थीको पनि यदाकदा सहभागिता हुने गरेको छ र केही सफलता पनि हासिल हुने गरेको छ। तर त्यस्ता सहभागिता नियमित र व्यवस्थित हुन सकेका छैनन्।

यसैगरी नेपालमा समयसमयमा विभिन्न विद्यालयले विज्ञान प्रदर्शनी आयोजना गरेका हुन्छन्। तर यस्ता प्रदर्शनी जिल्ला वा राष्ट्रियस्तरमा विभिन्न विद्यालयबीच प्रतियोगिताका रूपमा आयोजना हुन सकेको छैन। यस्ता नियमित प्रतियोगिताले मुलुकका तरुण वैज्ञानिक प्रतिभा पहिचान गर्न ठूलो मद्दत पुग्ने गर्छ। नेपालमा पनि विद्यालय तहमा जिल्ला तथा राष्ट्रियस्तरको विज्ञान प्रदर्शनीको प्रतियोगिता आयोजना गर्नेतर्फ सम्बन्धित निकायको ध्यान जानु नितान्त आवश्यक छ। यसतर्फ देशभरका विद्यालयका विज्ञान शिक्षकले पनि संयुक्त प्रयास गर्नु जरुरी छ।

विज्ञान प्रविधि विषयमा रुचि राख्ने विद्यार्थीलाई स्तरीय उच्च शिक्षा प्रदान गर्न देशमा स्तरीय विश्वविद्यालयको त्यत्तिकै ठूलो आवश्यकता पर्छ। तसर्थ विश्वविद्यालयका विज्ञान तथा प्रविधि संकायलाई अध्ययन, अध्यापन र अनुसन्धानका लागि आवश्यक पूर्वाधार र सुविधा उपलब्ध हुनु अत्यन्त जरुरी छ। अहिलेको अवस्थामा देशका सबै विश्वविद्यालयमा विज्ञानका विभागमा अध्यापन र अनुसन्धानका लागि पर्याप्त पूर्वाधार र आर्थिक सहयोग उपलब्ध हुन सकेको छैन। वैज्ञानिक प्रयोगका लागि आवश्यक उपकरण र अन्य सामग्रीको अभावमा विद्यालय तहमा जस्तै विशेषगरी त्रिविका स्नातक तथा स्नातकोत्तर तहमा समेत विज्ञान शिक्षा सैद्धान्तिक शिक्षामा सीमित हुन थालेका छन्।

नेपालमा पर्याप्त वैज्ञानिक जनशक्तिको विकास हुन नसक्नुको अर्को प्रमुख कारण देशमा उत्पादन हुने वैज्ञानिक प्रतिभालाई विदेश पलायन हुनबाट रोक्न देशभित्रै आवश्यक वातावरण र अवसर निर्माण गर्न र विदेशमा कार्यरत् नेपाली वैज्ञानिकलाई स्वदेश फर्कन प्रेरित गर्न नसक्नु पनि हो। प्रतिभा पलायन कम पार्न राज्यले देशका विशेषगरी युवा वैज्ञानिकलाई पर्याप्त संख्यामा छात्रवृत्ति, विद्वत्वृत्ति वा अनुसन्धानवृत्ति उपलब्ध गराएर देशका प्रमुख वैज्ञानिक संस्थामा काम गर्ने अवसर प्रदान गर्नु अति आवश्यक छ।

रोजगारीका लागि प्रत्येक दिन विदेशिने नेपाली युवाको तथ्यांक सम्बन्धित निकायलाई जानकारी भए पनि विदेशमा कार्यरत् नेपाली वैज्ञानिकको संख्याबारे कुनै पनि राष्ट्रिय निकायलाई जानकारी छैन। यस्तो तथ्यांक संकलन र समयसमयमा अध्यावधिक गर्नुपर्ने आवश्यकता कतैबाट महसुस पनि गरिएको छैन। पंक्तिकारसँग सम्पर्कमा रहेका अमेरिकामा कार्यरत् केही वैज्ञानिकका अनुसार अमेरिकामा मात्र पाँच हजारभन्दा बढी उच्च तहका नेपाली वैज्ञानिक तथा प्राविधिज्ञ कार्यरत् छन्। अन्य विकसित मुलुकमा कार्यरत् वैज्ञानिक तथा प्राविधिज्ञको संख्यासमेत जोड्ने हो भने यो संख्या अझै बढ्ने सजिलै अनुमान गर्न सकिन्छ। यो संख्या निरन्तर बढ्दो छ। अधिकांश ती नेपाली वैज्ञानिक तथा प्राविधिज्ञ विदेशका उत्कृष्ट अनुसन्धान केन्द्रमा कार्यरत् छन्। विश्वकै अति प्रतिष्ठित जर्नलमा प्रकाशित तीमध्ये कतिपयका शोध नतिजाले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समेत ठूलो चर्चा र प्रतिष्ठा प्राप्त गर्ने गरेका छन्। वास्तवमा विदेशमा रहेका उक्त वैज्ञानिक तथा प्राविधिक जनशक्ति नेपालको अमूल्य सम्पत्ति हो।

हामीले विदेशमा कार्यरत् यस अपार नेपाली मूलका वैज्ञानिक तथा प्राविधिक जनशक्तिलाई देशभित्र वैज्ञानिक/प्राविधिक क्षमता वृद्धि गर्ने कार्यमा संलग्न गराउन कुनै चासो देखाएका छैनौँ। उनीहरू सबै तत्काल नेपाल फर्कने अवस्था नभए पनि राज्यले उपयुक्त नीति तथा कार्यक्रम तर्जुमा गरी उनीहरूसँग नियमित सम्पर्क राख्ने सञ्जाल निर्माण गरेर देशभित्र वैज्ञानिक क्षमताको विकासमा उनीहरूको सहयोग प्राप्त गर्न सकिन्छ। पंक्तिकारसँग सम्पर्कमा रहेका कतिपय यस्ता नेपाली वैज्ञानिक त्यस प्रकारको सहकार्यका लागि तत्परसमेत देखिन्छन्। विदेशमा कार्यरत् नेपाली वैज्ञानिकको संख्या, उनीहरू कार्यरत् संस्था र कार्यक्षेत्रसम्बन्धी सूचना र तथ्यांक संकलन गर्न र अध्यावधिक गर्न विशेषगरी विदेशमा रहेका हाम्रा कूटनीतिक नियोगलाई सक्रिय पार्नु जरुरी छ। यस कार्यमा 'नन् रेजिडेन्ट नेपाली' को संस्था 'एनआरएन' पनि सहयोगी हुनसक्छ।

विदेशमा कार्यरत् उत्कृष्ट नेपाली वैज्ञानिकलाई राज्यले आवश्यक सुविधा उपलब्ध गराएर छोटो समयकै लागि भए पनि नेपालमा आमन्त्रित गरेर उनीहरूको अनुभव र ज्ञानलाई देश हितका लागि प्रयोग गर्न सकिन्छ। ती वैज्ञानिक र नेपालमा कार्यरत् वैज्ञानिक र तिनीहरू कार्यरत् संस्थाबीच सहकार्य तथा सहअनुसन्धानका सम्भावनाका अवसरको खोजी गर्न सकिन्छ। नेपाली वैज्ञानिक कार्यरत् विदेशका वैज्ञानिक संस्था तथा नेपालका विश्वविद्यालय एवं अन्य वैज्ञानिक अनुसन्धान केन्द्रबीच 'सान्डविच' कार्यक्रमअन्तर्गत वैज्ञानिक आदान-प्रदान तथा सहकार्य आरम्भ गर्न सकिन्छ। यसो गर्न सके स्वदेश र विदेशमा कार्यरत् नेपाली वैज्ञानिक तथा प्राविधिज्ञबीच नियमित सम्पर्क स्थापना गर्न मद्दत पुग्नेछ।

भविष्यमा नेपालमा पर्याप्त वैज्ञानिक पूर्वाधार र वातावरण निर्माण भएपछि विदेशमा कार्यरत् ती नेपाली वैज्ञानिक पनि नेपाल फर्केर आफ्नो सीप र ज्ञान प्रयोग गर्न प्रेरित हुने सम्भावना बढ्नेछ। यसबाट विदेशमा कार्यरत् नेपाली वैज्ञानिक प्रतिभाको सञ्चार ('ब्रेन सर्कुलेसन') भई नेपाललाई वैज्ञानिक जनशक्ति विकास र विस्तार गर्न ठूलो सहयोग हुनेछ। चीन, भारत, ताइवान, दक्षिण कोरिया, मलेसियालगायत्का कतिपय एसियाली मुलुक यस्तो प्रयासमा सफल भएका छन् र ती देशमा द्रुत गतिले वैज्ञानिक क्षमतामा विकास भइरहेको छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस