चिण्डिया र तरुल राष्ट्रवाद
०७ भदौ २०६९
•
१६ मिनेट पाठ
चिण्डिया र तरुल राष्ट्रवाद
पछिल्ला वर्षमा चीनसँग जोडिएका नाम राखेर हिन्दी फिल्म बनाउने लहरले बलिउडलाई गाँज्यो। 'चाइना टाउन', 'चाँदनी चोक टु चाइना', 'सांघाई', 'चाइना गेट' आदिलाई यसको उदाहरणका रुपमा लिन सकिन्छ। आर्थिक महाशक्तिका रुपमा चीनको उदय र संसारलाई चकित तुल्याइदिने ओलम्पिक-२००८ को आयोजनासँगै चीन संसारकै लागि आश्चार्यजनक मिथक जस्तो बन्न पुगेको छ। दिवाकर बनर्जीद्वारा निर्देशित हिन्दी फिल्म 'सांघाई'ले त चीनको सांघाई शहरलाई समृद्धिको विम्बकै रुपमा प्रयोग गरेको छ। चीनको आर्थिक वृद्धि र समानान्तर रुपमा विश्व अर्थतन्त्र एवम् राजनीतिमा समेत उसको प्रभावशाली उपस्थितिले भारतलाई निकै पछि छाडेको छ, तैपनि पछिल्लो विश्वको शक्ति संरचना र आर्थिक प्रणालीमा आएको आयामिक फड्को (पाराडाइम सिफ्ट)लाई हेर्ने हो भने भारतले पनि उल्लेख्य विश्व शक्ति संरचनामा महत्त्वपूर्ण उपस्थिति जनाइसकेको छ।

यी दुवै मुलुकको बीचमा अर्थपूर्ण भूराजनीतिक अस्तित्व कायम गरेको नेपालले यसलाई कसरी हेर्ने? यद्यपि यो प्रश्नको उत्तर खोज्ने नेपाली प्रयास कमजोर देखिन्छ, तथापि यो प्रश्नलाई उल्टो पहेली बनाउने बौद्धिक डिस्कोर्सको कमी भने पक्कै छैन। चीन र भारतमा रहेका हाम्रा राजदूत के गरेर दिन बिताउँछन् र काठमाण्डूस्थित परराष्ट्र मन्त्रालयको दिनचर्या के हुन्छ भन्ने प्रश्न कूटनीतिक हिसाबले स्वतः अनुत्तरित रहने गरेको छँदैछ। विश्व अर्थतन्त्र र राजनीतिमा हाम्रो मुलुककै अवस्थिति र भूमिका के हो भन्ने प्रश्नको उत्तर पनि सम्भवतः हामीलाई थाहा छैन। हाम्रा राजनीतिक दल त अझ यस सन्दर्भमा ज्ञानहीन नै देखिन्छन्। यस्तो विषम परिस्थिति लामो समयदेखि कायमै रहेको भए पनि तरुल राष्ट्रवादको जबर्जस्त डिस्कोर्स भने नेपालमा लामै समयदेखि जारी छ। यो तरुल राष्ट्रवाद घरी नेपालमा भारतको भूमिका, घरी चीनको भूमिकाका विषयमा भयग्रस्त मनोदशाका साथ निर्माण र विनिर्माण भइरहन्छ।
पछिल्लो समय जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयु) का प्राध्यापक एसडी मुनीका केही उत्तेजक अभिव्यक्ति यो तरुल राष्ट्रवादको केन्द्र भएको छ। साथसाथै नेपालमा बेइजिङको बढ्दो भूमिका र चिनियाँ नेता आई पिङका उद्धृत अभिव्यक्ति (पहिले चीन नेपालमा संघीयताको विरुद्ध छ भनेर उद्धृत र अहिले त्यस्तो नभनेको भन्ने स्पष्टीकरण)मा अडेर चलेको भयग्रस्त राष्ट्रवादको बहसले हाम्रो मेरुदण्डविहीन कूटनीतिकै अनुहार देखाउँछ। भारत र चीनसँग हाम्रो सम्बन्ध कस्तो हुने र के कारणले त्यस्तो हुने भन्ने स्पष्ट नीति नभएकै कारण पनि तरुल राष्ट्रवाद कहिले कुन कित्ताको त कहिले कुन कित्ताको बौद्धिक र राजनीतिक विलासको विषय बन्ने गरेको छ। भारतसँग भएका कोशी सम्झौता र गण्डक सम्झौताका निम्ति काँग्रेस नेताहरु मातृका कोइराला र बीपी कोइरालालाई लामो समयसम्म कम्युनिष्टहरुले 'राष्ट्रघाती' को बिल्ला लगाइरहे। अहिले बीपी कोइरालालाई एक ऐतिहासिक व्यक्तित्वका रुपमा स्थापित गरिएको छ र ती सम्झौताको ऐतिहासिकता बिर्सिइएको छ। त्यसैगरी गरिजाप्रसाद कोइरालालगायत् काँग्रेस र एमालेका महत्त्वपूर्ण नेताहरुको नेतृत्वमा भारतसँग गरिएको महाकाली सन्धि अर्को 'राष्ट्रघात' का रुपमा लामो समयसम्म बहसमै रह्यो। अहिले पनि महाकालीमा हालिएको पञ्चेश्वर बाँधमा पुगेर रुने धेरै राजनीतिक अभियन्ताहरु काँग्रेस र एमालेकै राजनीतिमा छन्।
एउटा स्वतन्त्र राष्ट्रका रुपमा नेपालले भारतसँग कस्तो कूटनीतिक सम्बन्ध स्थापित गर्ने भन्ने प्रश्न सदैव नेपाली राष्ट्रवादको बहसभन्दा बाहिरै रह्यो। ऐतिहासिक र सांस्कृतिक हिसाबले नेपाल सदैव भारतीय भूमि र जनजीवनसँग जोडिएर रह्यो। तर सन् १९४७ मा भारत स्वतन्त्र राष्ट्रका रुपमा अस्तित्वमा आइसकेपछि भारतले विश्व परिवेशलाई ध्यानमा राखेर नेपाल अध्ययन र नेपाल नीति निर्माणलाई निरन्तर मजबुत बनाउँदै ल्यायो। अझ उसको नेपाल नीति सदैव चीनसँगको सम्बन्धलाई परिभाषित गर्ने महत्त्वपूर्ण कूटनीतिक औजार बन्यो। 'राइज अफ न्यु ग्लोबल अर्डर' र 'ह्वेन चाइना रुल्स द वर्ल्ड' जस्ता चर्चित पुस्तकका लेखक मार्टिन ज्याक्सका अनुसार भारत अहिलेसम्म पनि सन् १९६२ को भारत-चीन युद्धकै मनोविज्ञानले चीनलाई हेरिरहेको छ। ज्याक्सले ओपन म्यागेजिनलाई दिएको एक अन्तर्वार्तामा भनेका छन्- त्यो युद्धमा चीनसँग भोगेको पराजयले उसलाई हालसम्म पनि मनोवैज्ञानिक 'ट्रमा'को स्थितिमा राखिछाडेको छ। भारतले अब त्यो ट्रमाबाट मुक्त हुने उपाय खोज्नुपर्ने सुझाव ज्याक्सको छ।
ज्याक्सको यो सुझावलाई अन्तर्राष्ट्रिय अर्थतन्त्रको बदलिएको स्वरुपले सटीक प्रमाणित गरिदिएको छ। भर्खरै प्रकाशित एक रिपोर्टअनुसार सन् २०१५ सम्ममा चीन-भारत व्यापारको परिणाम एक खर्ब डलर पुग्दैछ। चीन र भारत दुवैले पारस्परिक व्यापारलाई महत्त्वका साथ हेरेका छन् र हालसालै महत्त्वपूर्ण व्यापारिक सम्झौता गरेका छन्। एउटा खास परिवेशमा दलाई लामालाई शरण दिएको भए पनि अहिले भारत केवल 'फ्रि तिब्बत' कार्ड प्रयोग गरेर चीनसँग व्यवहार चलाउन नसक्ने अवस्थामा पुगेको छ। अलग सभ्यता र अलग वैज्ञानिक आधारशीला निर्माण गरिसकेको चीनमा दिगो आर्थिक विकास तथा गाउँ र शहरबीचको अन्तर घटाउँदै जाने रणनीतिले महत्त्व पाएको छ। देशको आर्थिक नीतिहरु निर्माणमा सक्रिय रहेका चिनियाँ प्राध्यापक हु आन्गाङले आफ्नो पुस्तक 'चाइना इन ट्वेन्टी ट्वेन्टीः अ न्यु टाइप अफ सुपरपावर' मा नयाँ परिस्थितिअनुरुप चीनको आर्थिक नीतिहरुमा आइरहेको परिवर्तनको चर्चा गरेका छन्। साथसाथै चीनले बनाइरहेको त्यस्तो नीति मूलतः संसारभर आफ्नो आर्थिक वर्चस्व कायम गर्ने उद्देश्यद्वारा प्रेरित देखिन्छ।
अहिले चीन हङकङलाई धुरीमा राखेर कथित तेस्रो विश्वसँग आफ्नै मुद्रा रेन्मिन्बीमा कारोबार गर्न उद्यत छ। साथै पश्चिमा बहुराष्ट्रिय कम्पनीहरुको जस्तै आफ्नै ब्रान्डहरु स्थापित गरेर अघि बढ्नुपर्ने सुझाव प्राध्यापक आन्गाङ जस्ता चिनियाँ अर्थशास्त्रीको छ। विशेषतः अमेरिकन वर्चस्व रहेको विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको दबदबालाई पनि केही चिनियाँ बैंकले क्रमशः फितलो तुल्याइरहेको तथ्य पनि अहिले चर्चामा छ। यी यावत् कारणले चीन अन्तर्राष्ट्रिय अर्थतन्त्र र राजनीतिमा बलियो धुरीका रुपमा स्थापित हुँदै गैरहेको छ। र, सन्दर्भवस् अर्को तथ्य के पनि रोचक छ भने भारतको भन्दा चीनको अर्थतन्त्रको साइज चारगुणा ठूलो छ। यो स्थितिमा चीन र भारतको आर्थिक राजनीति र राजनीतिक अर्थतन्त्र दुवै या त टक्करमा या त मेलमिलापमा आउनुपर्ने हुन्छ। तर भारतको राजनीतिक अस्थिरता र पुँजीपति केन्द्रित आर्थिक वृद्धिले चीनसँग सहजै टक्कर लिनसक्ने स्थिति छैन। त्यसैले भारत अहिले चीनसँग सुखद् आर्थिक र राजनीतिक सम्बन्ध बनाइराख्न चाहन्छ।
के यो परिवेशमा नेपाल एउटा कूटनीतिक खेल मैदान मात्र रहिरहन्छ? महत्त्वपूर्ण प्रश्न यही हो। नेपालको कूटनीतिक क्षमतालाई तत्काल मजबुत तुल्याउनुपर्ने आवश्यकता यहीँनेर खट्किन्छ। तर, त्यो आवश्यकतालाई मूलतः राजनीतिक नेतृत्वले पूर्ति गर्ने हो। त्यसका लागि राजनीतिक स्थिरताको खाँचो त छँदैछ, साथसाथै बलियो कर्मचारीतन्त्र र अनुसन्धान केन्द्रहरुको मजबुत संयन्त्र पनि उत्तिकै महत्त्वका हुन्छन्। परन्तु नेपालको कर्मचारीतन्त्र फगत हाजिर बजाउने औजार बन्न पुगेको छ र नेपालको सबैभन्दा ठूलो त्रिभुवन विश्वविद्यालयको अनुसन्धान संयन्त्र दिनहुँ खिया लाग्दै गएको खुकुरीजस्तो भइरहेको छ। अर्कोतिर राजनीतिक नेतृत्वको तह तरुल राष्ट्रवादको घुन छरेर दुनियाँको अर्थराजनीतिक यथार्थतिर पिठ्युँ फर्काउन व्यस्त छ। पहिले कम्युनिष्टहरु तरुल राष्ट्रवादमा हुर्किने विश्वास गर्थे, अहिले सरकारबाट बाहिर रहेको झोंकमा काँग्रेसले त्यही तरुल राष्ट्रवादमा शरण लिएको छ।
को कता फर्किन्छ भन्ने आधारमा राष्ट्रवादको पक्ष र विपक्ष निर्क्योल गर्ने अचम्मको परम्परा नेपालमा हुर्किएको छ। चीनसँग निहुँ खोज्नेगरी भारत न नेपालमा खेल्ने पक्षमा छ, न भारतको ठूलो बजारलाई असर गर्नेगरी चीन भारतसँग जोरी खोज्ने पक्षमा छ। ठीक यही स्थितिमा नेपालले आफ्नो अर्थराजनीतिक र कूटनीतिक भूमिका विस्तार गर्नुपर्ने देखिन्छ। अमुक नेता वा पार्टीलाई अमुक छिमेकीको दलालको बिल्ला लगाएकै भरमा तत्काल कुण्ठाको रोटी त सेक्न सकिएला तर त्यसले समग्र मुलुकको प्रगतिमा कुनै योगदान गर्न सक्दैन। नेपालका आफ्ना अर्थराजनीतिक र सामाजिक समस्या छन्, जसलाई राजनीतिले सुल्झाउनुपर्ने छँदैछ। संघीयता के कारणले हामीलाई चाहिएको हो भन्ने कुरा चीन वा भारतले सुझाइदिने होइन, हाम्रा आफ्ना आन्तरिक परिस्थितिले निर्क्योल गर्ने हो। पहिचानको प्रश्न नेपालको राज्यसत्ताको समस्याबाट उब्जिएको हो, चीन वा भारतबाट आयात गरिएको होइन। आफ्ना समस्याबाट भाग्ने र छिमेकी मुलुकहरुको कूटनीतिक स्वार्थलाई सरकार बनाउने औजारका रुपमा प्रयोग गर्ने रोग हाम्रो हो, आयातित होइन।
यसर्थ भारत र चीनको बीचमा हुनुकै कारणले नेपालले निर्माण गर्नुपर्ने अलग अर्थराजनीतिक र कूटनीतिक रणनीतिहरु आवश्यक भइसकेका छन्। चीन र इण्डियालाई समग्रमा चिण्डियाका रुपमा बुझ्ने र तिनको भूमिकालाई समग्रमा अध्ययन गर्ने कोसिस अहिले संसारभर भइरहेका छन्। चिण्डियाको बीचमा रहेको नेपालले आफूलाई अध्ययनको यही कसीमा उभ्याउनु जरुरी भइसकेको छ। तरुल राष्ट्रवादले यो मुलुकको समग्र समस्यालाई अल्झाउने र बल्झाउने मात्र भूमिका निर्वाह गरिरहेको देखिन्छ। संविधान निर्माण गर्ने एजेण्डा नै बाँकी रहेको मुलुकको निरन्तर उल्झनमा परेको राजनीतिलाई तरुल राष्ट्रवादमा आधारित कुण्ठाको राजनीतिले थप जटिलताबाहेक केही दिँदैन। राष्ट्रपतिलाई अनावश्यक भूमिकामा उतार्ने र न्युनतम सहमतिको वातावरणसमेत बिगार्ने केही मानिसको नकारात्मक प्रयास अहिले यही तरुल राष्ट्रवादमा आधारित देखिन्छ। भारत वा चीनलाई देखाएर कथित अखण्ड नेपालको नारा दिने तरुल राष्ट्रवादले घुमिफिरी मुलुकलाई महेन्द्रको समयमा फर्काउन चाहन्छ तर कठोर सत्य के हो भने भोलिको नेपाल हिजोको भावभूमिमा बन्न सक्दैन।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस