गोविन्दको अनशन
०६ भदौ २०६९
•
१३ मिनेट पाठ
गोविन्दको अनशन
डा. गोविन्द केसी दुईपटक आमरण अनशन बसे छोटो अन्तरालमा। हामी सबैको सौभाग्य, उनले मृत्युवरण नै गर्नुपर्ने स्थिति भने आएन। दुवै चोटी कुनै किसिमले 'माग पूरा' भयो, अनशन तोडियो तर त्यो अनशनसँगै नेपाली आकाशमा जुन ध्वनि तरंगित भएको छ, त्यसलाई निरन्तर सुनिरहन, बुझिरहन आवश्यक छ।

उनको यो संघर्षले धेरैको साथ पायो। मायाँ त यसै पनि पाएकै थिए यी असल मान्छेले। व्यक्तिगत लोभलालचबाट अत्यन्त टाढा रहेका यी साधु डाक्टर आफ्नो सत्याग्रहमा दृढतापूर्वक अडिरहँदा उनका शरीरका सारा अंग, अवयव तन्तु र कोशिकाहरुले समेत आपतकालीन बन्दोबस्त गरेर उनलाई साथ दिइरहेका थिए। धन्य! देशको जस्तो अराजकता र राज्यविहीनता उनको शरीरका प्रणालीमा अझै आइसकेको रहेनछ। राम्रो थिति बसेको समाजमा जस्तोगरी 'आपतका बेला सबै मिलेर बाँच्ने प्रयत्न गरौं, एकार्कालाई साथ दिउँ' भनेर आ-आफ्ना किसिमले योगदान र आत्मबलिदान गरिरहेका थिए तिनको शरीरका एक एक कोशिकाले। कुनै ठूलो रोगव्याधिबाट यी शाकाहारी, अल्पाहारीको त्यो दुब्लो शरीर त कसो अझै मुक्त रहेछ। देशमा भने मानव शरीरको जस्तो थिति बसेको छैन। मनपरीतन्त्रको चपेटामा रोइरहेको देश बेसरी बिरामी छ। धन्न यही बिरामी देशमा पनि असल मानिस छन्। ती पनि गोविन्दको संघर्षको मूल उद्देश्यमा अनेक किसिमले समर्थन जनाइरहेका थिए। अनशनका कारण अस्पतालभित्र सृजित असाधारण स्थितिमा पनि दुःखै पाइरहेका बिरामी समेत उनलाई भेट्न गए, उनको मागमा समर्थन जनाए। चिकित्सक साथीहरुको त साथ छँदै थियो। नागरिक समाज र मिडियाको पनि अभूतपूर्व साथ रह्यो। गोविन्दले जिते।
यो संघर्षबाट, यो बलिदानबाट, यसका निमित्त विभिन्नरुपमा व्यक्ति र समाजले तिर्नुपरेको मूल्यबाट प्राप्त उपलब्धि के त? कति महँगो पर्योभ यो उपलब्धि? कहाँ के/कति परिवर्तन भयो? यति र यस्तै परिवर्तनका लागि फेरि फेरि यत्तिकै मूल्य तिर्नुपर्ने कि नपर्ने? भोकभोकै आलसतालस भएर पल्टिरहेका गोविन्दको साधु अनुहारमा हरेक चोटी देखिएको मुस्कान र दृढता अनि पछिल्लो अवधिमा अलिअलि देखिन थालेको छटपटीको सम्झनाले अझै छोडेको छैन। त्यो चित्र फर्किफर्की सजीव भएर देखापर्छ मानसपटलमा। र, त्यो मानसचित्रसँगै यी प्रश्न हल्ला गर्दै आउँछन् मनमा।
उनको मागको केन्द्रमा रहेको आशय हो- राजनीतिक हस्तक्षेपबाट शिक्षण तथा स्वास्थ्य संस्थाहरुको मुक्ति। तर विडम्बना, कुनै न कुनै किसिमले, कतै न कतैबाट उनको संघर्षको नै राजनीतिकरण भइरह्यो। गोविन्दको माग सम्बोधित हुनेगरी निर्णय भइसकेको कुरा अघिल्लो दिनदेखि नै सुनिए तापनि त्यो निर्णय कतै अल्मलिइरह्यो। कागज नै लिएर शिक्षामन्त्री अनशनस्थलमा पुग्नु केहीअघिसम्म पनि अन्योल कायमै थियो। डाक्टरहरु चिन्तित भएर कुराकानी गरिरहेका थिए। त्यतिखेरका निम्ति सबभन्दा महत्वपूर्ण र तात्कालिक चासोको कुरा थियो- गोविन्दको जीवनरक्षा। जे गर्दा त्यो सम्भव हुन्छ, त्यो नगरी नहुने स्थिति थियो। अनि त्यसपछि पनि शिक्षण तथा स्वास्थ्य संस्थाको गैरराजनीतिकरणका निम्ति के गर्ने भन्ने अहम् प्रश्न त अझै अग्लो पहाडका रुपमा उभिइ नै रहेको थियो। नाघ्नैपर्ने यो ठूलो पहाड अझै त्यसैगरी उभिइरहेको छ।
अहिले अनशन तोडिएको केही दिन भइसकेको छ। विस्तारै उनी स्वास्थ्यलाभ गरिरहेका छन्। उनको अनशनसँगै बिरामी परेको संस्था पनि विस्तारै स्वास्थ्यलाभ गरिरहेको होला तर त्यो संघर्षको केन्द्रमा रहेको तत्व (संस्थाहरुको गैरराजनीतिकरणको सवाल) जबसम्म सधैंका निम्ति हुने गरी सम्बोधित हुँदैन, गोविन्दको मन कसरी स्वस्थ रहला? उनकै जस्ता अनगिन्ती मन कसरी स्वस्थ होलान्? शिक्षण संस्था र शिक्षण अस्पतालहरु कसरी साँच्चै स्वस्थ रहलान्?
सुनिन्छ, अझ नांगो राजनीतिकरणका अभ्यास भइरहेका छन्। पाटन चिकित्सा विज्ञान प्रतिष्ठान त्यस्तो संस्था हो, जसले देशलाई चाहिने किसिमको चिकित्सक उत्पादन गर्न शिक्षण विधि, विद्यार्थी भर्ना प्रक्रिया, छात्रवृत्ति, सामुदायिक संलग्नतालगायत्का सवालमा अत्यन्त साहसिक नीति अख्तियार गरेको छ। वर्षौंसम्मको सक्रिय तयारी, संसारभरका प्रतिष्ठित संस्था र चिकित्सा शिक्षाविदहरुसँगको सार्थक अन्तरक्रिया, अत्यन्त समर्पित धेरै असल मानिसको समर्पण आदिका कारण विभिन्न कठिनाईबीच पनि ज्यादै छोटो समयमा नै अन्तर्राष्ट्रिय ख्याति कमाइरहेको संस्था हो त्यो। यस्ता संस्थाहरुको भविष्य सुनिश्चित गर्न कम्तिमा स्थापनापछिको केही समयसम्म त्यसको दर्शन र स्वत्व बुझेका मानिसको नेतृत्व रहनु जरुरी हुन्छ। राजनितिक भागबण्डाका निम्ति त्यो दर्शनदेखि टाढाका कसैलाई क्षमता र दिशाबोधको ख्याल नराखी जिम्मा दिइयो भने त्यसले के फाइदा गर्ला? कति जना गोविन्द जस्ता साधु डाक्टरले बारम्बार आमरण अनशन गरिरहनुपर्ने होला यस्तो स्थिति अन्त्यका निम्ति?
हाम्रो जस्तो देशमा 'राजनीति' भन्ने शब्दले जे बुझाउँछ, त्यो भनेको अत्यन्त पुरानो, मृत्युन्मुख, परम्परागत, सत्ता प्राप्तिको फोहोरी खेल हो, जो आफूइतर सबैको निषेधमा, बहिष्करणमा र दानवीकरणमा आधारित छ। जब यो खेलमा अपवित्र लेनदेन मिस्सिन्छ, त्यो अझै कुरुप हुन पुग्छ। गोविन्दको अनशन प्रकरणले फेरि एकचोटि यो देशका नागरिकलाई चिच्याई चिच्याई सचेत बनाउन खोजिरहेको छ- बहिष्करणमा आधारित यो परम्परागत राजनीतिबाट अब देशलाई मुक्त गरौं। साँच्चैको समावेशीकरणको त्यो राजनीति सुरुवात् गरौं, जसले राजनीतिकर्मीहरुबाट एउटा नयाँ सामर्थ्य र कला माग गर्छ- सुन्ने कला, अर्काको दृष्टिकोणबाट पनि हेर्न सक्ने कला, विविधताबीच समानता पहिल्याउन सक्ने त्यो सुन्दर मानवीय कला। यो असम्भव छैन, किनकि मानव सभ्यताको विकासमा नै यो कलाको बीज सुरक्षित छ।
सम्झनैपर्ने, बुझ्नैपर्ने अरु पनि अनेक पक्ष छन् यो अनशन प्रकरणसँग जोडिएका। यो डरलाग्दो र घिनलाग्दो परम्परागत राजनीतिको शिकार अनावश्यकरुपमा अरु असल मानिस पनि भएका छन्। अन्याय तीमाथि पनि भएको छ। डा. धर्म बास्कोटा जस्ता असल मानिस नाहकमा यो फोहोरी राजनीतिका शिकार भए। बलिको बोका जस्ता भए ती। उनको मनमा लागेको घाउ पनि गोविन्दको शरीरले भोगेको दुःखभन्दा कम पीडादायी नहोला। र, त्यो अनाहकमा दुःखेको मनले स्वास्थ्यलाभ गर्न झनै गाह्रो पनि हुनसक्छ। डा. प्रकाश सायमी विशुद्ध प्राज्ञिक चिकित्सक हुन्, जो कहिल्यै कुनै व्यवस्थापकीय पदमा रहन रुचाएनन्। ती सोझा डाक्टरलाई राजनीतिको फोहोर खेलले कसरी कति दुःख दिन खोज्ने होला, हेर्न पनि बाँकी नै छ। तिनलाई जोगाउनुपर्छ।
यो देशलाई, यो समाजलाई चाहिएका असल मानिस यही देशमा छन्, यही समाजमा छन्। राजनीतिको कायापलट गर्नका निम्ति आवश्यक मानिस पनि त्यही राजनीतिको फोहोर आहालभित्रै छन्- अनेक पार्टी वरिपरि अल्मलिइरहेका। संघ/संस्थालाई चाहिने असल मानिस पनि त्यहीँभित्र छन् कुना कुनामा मिल्किइरहेका। तर ती असल मानिसलाई जोगाउन झन् झन् गाह्रो हुँदैछ। किनकि निषेधको पोखरीमा ती पनि निषेधित हुन्छन्, बहिष्करणको कुसंस्कारमा ती पनि बहिष्कृत हुन्छन्, अरुलाई दानवीकरण गरेरै आफ्नो आयु लम्ब्याउने सैतानी छलछामको अभ्यासका बीच ती पनि दानविकृत हुन्छन्।
तैपनि आशा छ। फोहोरी राजनीतिका निरर्थक नाराले कुरुप पारेका शहरका पर्खाललाई जीवनको उज्यालो बोकेका युवा हातले चित्रकलाको माध्यमबाट सुन्दर लुगा ओढाइरहेका छन्। खिसीटिउरी गर्नेहरु भए पनि 'फेसबुक जेनरेशन' का अनाम अदृश्य तर ज्युँदा मानिसले संसारभरीकै अन्यायविरुद्ध सत्याग्रह गरिरहेका छन्। बहिष्करण, प्रतिबहिष्करण र नवबहिष्करणको चक्रब्युह चिरेर युवाहरु विश्वबन्धुत्वको सुन्दर गीत गाइरहेका छन्। नयाँ पुस्ताका कवि, स्रष्टाहरु कालजयी रचना गरिरहेका छन्। असल मानिस गाउँगाउँलाई सञ्चार प्रविधिले जोड्न लागिरहेका छन्। देशलाई, मानव जातिलाई बेसरी माया गर्ने मानिसहरु चूपचाप वर्तमानमा ध्यानस्थ भएर भविष्यको जग बनाइरहेका छन्।
अब परम्परागत राजनीतिको बलिवेदीमा हजारौंका ज्यान लिने हिंसापूर्ण आन्दोलन होस् वा मानिसका चेतमा थोरै जागरण ल्याउन भनेर अत्यन्त असल मानिसले आत्मदाह गर्नुपर्ने बाध्यता होस्- महंगा आन्दोलनबाट समाजले मुक्ति पाउनुपर्छ। गोविन्द, प्यारो साथी, तिमीले फेरि अनशन बस्न नपरोस्।
अर्को समाचार
गोविन्दको अनशन
१२ चैत्र २०७१
•
१२ मिनेट पाठ
गोविन्दको अनशन
डा. गोविन्द केसी फेरि अनशन बसेको यतिका दिन भइसक्यो। उमेरसँगै बिस्तारै कमजोर भइरहेको उनको दुब्लोपातलो शरीरका हरेक अङ्गले, हरेक कोशिकाले भन्न थालिसके – ‘यसरी कति दिन धानिएला?'  यी दृढ अभियन्ताको निश्चयले भने शरीरको गनगनको पटक्कै वास्ता गरिरहेको छैन। समय बग्दैछ घडीको टिकटिकसँगै र डा. अर्जुन कार्कीले भनेको कुरा झन्झन् महत्वपूर्ण हुँदैछ – ‘इमानको खडेरीमा उहाँजस्तो मानिसलाई जोगाउनु पर्छ।' यति बेलाको सबभन्दा महत्वपूर्ण कुरा यही नै हो।तर यो आवश्यकता पूरा गर्नु भनेको गोविन्दका मागहरूलाई अविलम्ब सम्बोधन गर्नु हो। अनि ती मागहरूको सारतत्व भने चिकित्साशास्त्र शिक्षणलगायत राष्ट्रिय जीवनको हरेक आयाममा कुनै पनि किसिमको भ्रष्टाचार र अनाचारप्रति शून्य सहिष्णुता हो।
गोविन्दले आफ्नै किसिमले आफ्नै पहलमा चुपचाप जनसेवा गरेर हिँडेको दशकौं भइसकेको छ। कस्ता कस्ता विषम परिस्थितिमा उनले कसरी सेवा गरेकाछन् भन्ने कुराको अभिलेखै राख्न पनि सम्भव नहोला। तर करुणाका ती असंख्य सुकर्मभन्दा पनि उनको आन्दोलनले यति धेरै प्रभाव पारिरहेको छ। किन? किनभने मौलाउँदै गएको भ्रष्टाचार र अनाचारले नै जनजीवनको हरेक तह र आयाममा, मानिसमानिस बीचको सम्बन्धमा, र राष्ट्रकै अस्तित्वमा संकट उत्पन्न गरिरहेको छ। उनी चिकित्सक हुन्, त्यसैले स्वास्थ्य सेवाको सवाललाई माध्यम बनाएर देशको व्याधिका बारेमा बोल्दैछन्। तर स्वास्थ्यसेवाको घेरामा मात्रै सीमित छैन उनको चिन्ता। उनी प्राध्यापक हुन्, त्यसैले चिकित्साशास्त्र शिक्षणको गुणस्तरको विषयलाई भाषा बनाएर उनी समाजको विकृतिका बारेमा बोल्दैछन्। तर चिकित्साशास्त्रको घेरामा मात्रै सीमित छैन उनको आन्दोलनको सार। घरपरिवार नजोडेका जोगी हुन् उनी। त्यसैले सिंगै देश नै परिवार बनेको छ उनको र देशैको उनी चिन्ता गर्छन्। भ्रष्टाचार अनाचारले हामीलाई द्रूत गतिमा रसातलतर्फ घिच्याउँदै लगिरहेको तथ्यलाई सामान्य मानिसहरूले अत्मसात् गर्नसक्ने गरी उनी सम्झाइरहेका छन्। विकृतिविरुद्धका संघर्षमा जीवन नै उत्सर्ग गर्न तयार उनलाई देखेर मानिसहरू बिउँझिएका छन्। त्यसैले उनको आन्दोलनले यति धेरै समर्थन पाइरहेको हो। स्पष्ट छ ­  उनको आन्दोलनको केन्द्रमा रहेको सारतत्वलाई सम्बोधन नगर्ने हो भने गोविन्द केसीजस्ता एकजना असल मानिसलाई गुमाउनेमात्रै हैन, यस देशले मानवताको वासस्थललाई नै गुमाउने खतरा छ।
यो अतिशयोक्ति हैन। यथार्थ हो, र यो यथार्थ बुझ्न पटक्कै गाह्रो छैन। सबै छर्लङ्ग छ। तर पनि उनले प्रतिनिधित्व गरेको आन्दोलनले अनेक किसिमले प्रतिरोध र बाधा भोगिरहेको छ। र यो बाधा, यो प्रतिरोध जहाँबाट आईरहेको छ, त्यो कुनै पुरातन सामन्ती शक्तिका रूपमा चिनिने शक्तिकेन्द्रबाट हैन, लोकतान्त्रिक गणतन्त्रका सारथीकै रूपमा चिनिएका किल्लाहरूबाट आइरहेको छ। यसको सरल अर्थ हो ती किल्लाहरूमा लोकतान्त्रिक संस्कारको स्खलन भइसकेको छ।
पाँच पाँच पटक एउटै विषयलाई लिएर अनशन बसेकाछन् उनी। हरेक पटक त्यो अनशनलाई आमरण बन्न नदिन भनेर माग पूरा गर्ने आश्वासन पाएकाछन्। तर ती आश्वासनको  कार्यान्वयन कहिल्यै भएकोछैन। उनलाई निस्तेज पार्ने अनेक प्रयत्न हुँदाहुँदै पनि उनको समर्थनमा उभिने जनताको लाम भने झन्झन् बढ्दो छ।
यो यथार्थबाट अत्यन्त गम्भीर प्रकृतिका दुईवटा समानान्तर प्रवृत्ति उजागर भइरहेकाछन्। एक, भ्रष्टाचार र अनाचारलगायत विभिन्न विकृतिले बिगबिगी जमाएको यथास्थितीप्रति जनताको तीव्र असन्तोष छ तर त्यसबाट निसृत ऊर्जाले उचित निकास खोजिरहेको छ। (डा. गोविन्द केसीले कोट्याइदिएको ठाउँमा त्यो ऊर्जाले सानो निकास पाएको छ) दुई, यस उर्जालाई सामाजिक रूपान्तरणको अवसरका रूपमा लिने अक्षमता र अनिच्छाका कारण यथास्थितिवादी बन्न पुगेका परम्परागत राजनीतिका खेलाडी झन्झन् दृष्टीविहीन बन्दै गइरहेकाछन्। (डा. गोविन्द केसीको अनशनमा लुकेको शक्ति अस्पताल र मेडिकल कलेजका भित्तामा मात्र सीमित छैन भन्ने स्वीकार्न यिनलाई गाह्रो भइरहेको छ।)
यी दुई प्रवृत्ति समानान्तर हुनपुग्नु भनेको जनअसन्तुष्टिको ठूलो विष्फोटको संघारमा देश पुग्नु हो। इतिहासमा यस्ता विष्फोट कहिले वरदान साबित भएका छन्, कहिले भने ती ठूलै दुर्घटनामा पनि परिणत भएका छन्।  समय, देश र जनताप्रति उत्तरदायित्वबोध गर्ने हो भने राज्य र  राजनीतिक पार्टीका नेताले बेस्सरी नै आत्तुरी मान्नु र साँच्चै गम्भीर हुनु आवश्यक भइसकेको छ।
विवादित मेडिकल कलेजहरूलाई खारेज गर्न पाइँदैन भन्ने पक्षमा विभिन्न तर्क आएका छन्। राज्यले नै शुल्क लिएर, अनुगमन गरे जस्तो पनि गरेर मनसायपत्र दिएपछि बल्ल लगानी गरेको योजना तुहिँदा हुने लगानीकर्ताको नोक्सानी बुझ्न सकिने विषय हो। त्यसलाई त राज्यले नै सम्बोधन गर्नुपर्छ। जनअसन्तुष्टिको सम्भावित विष्फोट, भ्रष्टाचार अनाचारको बिगबिगी, लोकतान्त्रिक मान्यताको स्खलन आदिको मूल्य अकल्पनीय हुन्छ, अति नै महङ्गो हुन्छ। त्यो मूल्यको तुलनामा हाल विवादित मेडिकल कलेजका लगानीकर्तालाई राज्यले बरु क्षतिपूर्ति दिएर (वा ती संरचना खरीद नै गरिदिएर) तिनलाई खारेज वा स्थगन गर्नु महङ्गो हुँदैन। बनिसकेका संरचनालाई अन्य सार्थक काममा लगाउने सम्भावना जति भने पनि छ।
‘कोही एकजनाले अनशन बस्दैमा जस्तोसुकै माग पूरा गर्न मिल्छ र?', भन्ने अर्को प्रश्न पनि छ। अनशनले हैन, अनशनकर्ताको ध्येय, मागको आशय र अन्तर्यले निर्धारण गर्ने कुरा हो। व्यापक जनताको  चाहना र असन्तुष्टिसँग त्यो ध्येय र अन्तर्य, कसरी गाँसिएको छ भन्ने कुराले निर्धारण गर्ने हो। अनशनकर्ताको इतिहास र छविले जनतासँगको सम्बन्ध सिर्जना गर्छ। डा. गोविन्द केसीको माग एकजना व्यक्तिको लहडमा सीमित छैन, अस्पताल र मेडिकल कलेजका भित्तामात्रै ती मागका सीमा हैनन्। गोविन्दको आन्दोलन त व्यापक जनताको जनजीवनका विभिन्न पक्षमा रहेका असन्तुष्टिको प्रस्फुटन हो। उनको आन्दोलन एउटा सानो झ्याल हो जसबाट जनअसन्तोषको बृहत् परिदृश्य देखापरिरहेको छ। त्यसैले गोविन्दको अभियानलाई एकजनाको लहड वा बोहुलट्टीका रूपमा चित्रित गर्नु मूर्खता हो।
अन्त्यमा, यो लेख गोविन्दको गुणगान गर्न लेखिएको हैन। उनी असल मानिस हुन्, ज्ञानी मानिस हुन्, तर आखिर मानिस नै हुन् – हामी सबैजस्तै। विषयका केही विशिष्ट पक्षमा उनीसित नजिकका साथीको समेत मतभेद हुनसक्ला। उनका पनि सीमा होलान् – हामी सबैको जस्तै। कुनै बेला अलि बढी नै एकोहोरो देखिएलान्। (हामी को पो एकोहोरो हुँदैनौ र बेला बखत!) कुनै बेला उनको ‘अहम्'कै पनि प्रदर्शन होला, (हामी मध्ये पटक्कै 'इगो' नभएको को पो छ र?) कुनै बेला उनका तर्क र तरिकासँग अरु सहमत हुन नसक्ने स्थिति पनि आउला, साथी, सहकर्मी वा अन्यसँग प्राज्ञिक, प्राविधिक वा कार्यनीतिक आयाममा भिन्नता होला, वादविवाद होला, भनाभन नै पनि होला बेलाबखत। (सधैँ सबै कुरामा सबै सहमत भए दुनियाँ कति निरस हुन्थ्यो होला!)  यी सबै स्वाभाविक हुन् मानिसहरूको संसारमा। यी स्वाभाविक सीमाहरूलाई, वैयक्तिकताका विभिन्न पक्षलाई बढाइचढाई गरेर वा विकृत ढङ्गले प्रस्तुत गरेर उनको ध्येयमाथि नै शंका उठाउने प्रयत्न गर्छन् कसैले भने त्यस्ता दुराग्रहले उनीहरू आफँैलाई पोल्नेछ। उनको सरलता, उनको भावना, उनको आफ्नो ‘पन'बाट नचाहिँदो फाइदा लिने प्रयत्न गरेछ कसैले भने उसलाई पनि कुनैदिन ठूलै पश्चाताप होला। यो सब त मानिसको संसारमा चलिरहने कुरा हो। अहिलेको निम्ति बुझ्नै पर्ने सर्वाधिक महत्वको कुरा चाहिँ के हो भने गोविन्दको अनशनको माध्यमबाट सिङ्गै देशले असीमित सम्भावना र कठिन चुनौती दुवै देखिरहेको छ। यथास्थितिप्रतिको व्यापक जनअसन्तुष्टि विभिन्न किसिमले प्रकट भइरहेको छ। यो असन्तुष्टिमा ऊर्जा छ। यस ऊर्जाको अनियन्त्रित विष्फोट हुनुअघि नै सकारात्मक रूपान्तरणका निम्ति यसलाई सही निकास दिनु जरुरी छ। त्यसैले, गोविन्दका मागहरूको सम्बोधन गर्नुको अर्थ कुनै एकजनाको लहडलाई चित्त बुझाउनु हैन बरु दूरदर्शी भएर देशलाई माया गर्नु हो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस