उपेक्षित युवा शक्ति
२७ साउन २०६९
•
११ मिनेट पाठ
उपेक्षित युवा शक्ति
नेपालमा इतिहास, राजनीति र धेरै घटना युवाकै वरपर घुमेका छन्। जंगबहादुर कोतपर्व मच्चाउँदा २९ वर्षका थिए, पृथ्वीनारायणले एकीकरण थाल्दा २० वर्षका। पछिल्लो सशस्त्र द्वन्द्वमा छापामार र राज्यका सुरक्षा फौजमा पनि अधिकांश युवा थिए। वि.सं. २००७ वरपर र त्यसपछि लोकतन्त्रका लागि भएका आन्दोलनमा विद्यार्थी तथा युवा नै निर्णायक शक्ति बने। जनसंख्या ३८ प्रतिशत ओगट्ने यही वर्गलाई उपलब्धिको फल चाख्न भने पछि पारियो। राजनीतिक निर्णय प्रक्रियामा युवा सहभागिता न्युन रह्यो। द्वन्द्व र विकासमा युवाको आयामप्रति नीतिनिर्माता पनि धेरै वर्षसम्म अनभिज्ञ रहे।




सामाजिक रूपान्तरणको बहसमा युवालाई हेर्ने दृष्टि दुई प्रकारको पाइन्छ। युवाकै पैरवी गर्ने संघसंस्था यिनलाई क्षमतावान् र सिर्जनशील मान्छन्। अर्कोतिर, परम्परागत शक्ति भने युवालाई सजिलै प्रभावमा पर्न सक्ने कमजोर वर्ग ठान्छन्। युवा जनसंख्या धेरै हुँदा बेरोजगारी, निराशा र समस्याले मुलुकलाई पिरोल्छ भन्ने समाज वैज्ञानिक तर्कसहितको 'युथ बल्ज' सिद्धान्त पनि प्रचलित छ। अहिलेको नाइजेरिया, मध्यपूर्व, अफगानिस्तान र पाकिस्तानका समस्या यही तर्कका उदाहरण हुन्। अल कायदा र लस्कर-ए-तोइबाजस्ता सशस्त्र समूहको विस्तारमा पनि युवा जनसंख्याको प्रचुरता कारक रहेको अनुसन्धानहरूले देखाएका छन्।
अर्कातिर, युवा जनसंख्या धेरै भएको बेला अनुकूल नीति अपनाए, यही जनसंख्या आर्थिक उन्नतिको आधार बन्नसक्छ। उत्पादनशील मानव संसाधनका रूपमा यसले कमजोर अर्थतन्त्रलाई पनि दह्रोे टेको दिनसक्छ। पूर्वी एसिया र युरोपका केही देशमा कुनै बेला यस्तो जनसंख्याले आर्थिक प्रगतिमा उल्लेख्य योगदान पुर्‍याएको थियो। जे होस्, युवा वर्गलाई नियतिले हैन, नीतिले मार्गनिर्देश गर्छ।
नेपालको सशस्त्र द्वन्द्वका मूल अभिकर्ता युवा नै थिए। यसमा ३२ हजारभन्दा धेरै पूर्णकालीन छापामार युवा थिए भने एकीकृत सुरक्षा फौजका १ लाखभन्दा बढी सुरक्षाकर्मी पनि अधिकांशतः युवा नै थिए। यो दस वर्षे युद्धले १७ हजारको ज्यान लियो, ५ अर्ब ४४ लाख बराबरको त भौतिक पूर्वाधारमात्रै ध्वस्त पार्‍यो। रक्तपातको त गुणगान गाउन सकिँदैन तापनि यस द्वन्द्वले मुलुकको केही फाइदा गर्‍यो। यसले शताब्दियौँदेखिको सामाजिक-राजनीतिक सम्बन्ध र संरचनामा प्रश्न उठायो र युगान्तकारी परिवर्तनको सहजीकरण गर्‍यो। तर परिवर्तनलाई संस्थागत गर्ने प्रक्रियामा भने युवालाई अघि सारिएन। दशकौँदेखि एउटै उमेर समूहमात्रै नेतृत्वमा प्रभावशाली रहिआयो।
शान्ति प्रक्रियाका निर्णायक जिम्मेवारीमा अघि सार्नुको साटो युवा दस्ताको सैनिकीकरण गरियो। योङ कम्युनिस्ट लिग र युथ फोर्सलगायत्का नाममा विभिन्न समयमा भएका सांघातिक झडप र टकरावले दलहरूबीच विश्वासको संकट निम्त्यायो। विभिन्न पन्ध्रवटा भन्दा बढी दलका अर्धसैन्य युवा दस्ताले कानुनी शासनको धज्जी उडाएका छन्। समाजमा त्रास फैलाएका छन्। ठेक्कापट्टा र सार्वजनिक कारोबारका विषयलाई विवादास्पद बनाए। यस्ता युवा तथा विद्यार्थी संगठनले केही रचनात्मक काम त गरे तर तिनको गठनले ध्वंशलाई नै बढी फाइदा पुर्‍याएको नेपालमै गरिएका अध्ययनले देखाएका छन्। यी संगठनका गतिविधिले शान्ति प्रक्रियालाई नै बेलाबेलामा धरापमा पारेको छ। त्यसैले नेपालमा अहिलेको राजनीतिक असफलताको एउटा दोषी यिनै परनिर्भर युवा पनि हुन्। यिनले कहिल्यै आफ्नो बाटो खुट्याउने प्रयास गरेनन्, अरूबाटै परिचालित भइरहे।

शान्ति प्रक्रियाका क्रममा केही युवा राजनीतिकर्मीले भने राजनीतिक वार्ताको मध्यस्थता गरेका छन्। तिनले संविधान सभाका विषयगत समितिमा रहेर रचनात्मक प्रस्ताव तथा दस्तावेज तयार पारे। दलहरूलाई सहमतिको निम्ति दबाब दिए। यिनले जनतालाई अरू दिन नसके पनि आदर्श नेतृत्वका चरित्र देखाएर भावी राजनीतिप्रति आशावादी बनाए। यसरी केही युवाले द्वन्द्व फैलाउँदै गर्दा केहीले भने समाधान पहिल्याउँदै थिए। खाडी मुलुकका नेपाली श्रमिकले त्यति नै बेला देशको अर्थतन्त्रलाई डुब्न दिएनन्। युद्धोत्तर कालमा अर्थतन्त्र नै ढलमल हुँदा खाडी मुलुकबाट भित्रिने विप्रेषण (रेमिट्यान्स) टेको बनेको थियो। सशस्त्र द्वन्द्वको मध्यकाल (नवौँ योजना अवधि) मै पनि १०.३ प्रतिशतले गरीबी घटाउन मद्दत गर्ने महŒवपूर्ण पक्ष रेमिट्यान्स नै थियो। र, यस्तो अर्थोपार्जनमा खटिएका धेरै नेपाली युवा नै थिए।

सामाजिक-राजनीतिक रूपान्तरणमा युवाको भूमिका महŒवपूर्ण हुन्छ। त्यसैले भविष्यमा द्वन्द्व फर्किन्छ कि फर्किन्न भन्ने आज राजनीतिले युवालाई के दिन्छ भन्नेमा निर्भर हुन्छ। युवा वर्गलाई राजनीतिक गतिविधिमा सहभागीभन्दा परिचालित बढी गराइएको छ। राज्य र राजनीतिलाई बढी जोखिम यस्तै परिचालित युवाबाट हुने गर्छ।

युवाकै विषयले नेपालमा भावी द्वन्द्व सिर्जना हुनसक्ने केही कारण छन्। राजनीतिक संरक्षणमा दलका युवा संगठनले गरिरहेका गैरकानुनी गतिविधि अहिलेका गम्भीर चुनौती हुन्। विद्यार्थी नेतामा देखिएको साना हतियार मोह र युवाबीच यस्ता हतियारको बिगबिगीले नेपाललाई असुरक्षाको भुमरीमा फसाउन सक्छ। यस्तै सरकारले खाडी मुलुकमा काम गरिरहेका युवालाई दुहुनो गाईमात्रै बनाएको छ। तिनको समस्याप्रति राज्य गम्भीर देखिएको छैन। आप्रवासनसम्बन्धी बीसौँ समस्या अझै हल भएका छैनन्। यस्तो अवस्थामा लाखौँ युवा प्रवासी कामदार भोलि राज्यका लागि टाउको दुखाई बन्न सक्छन्। त्यस्तै राजनीतिक दलहरूमा नेतृत्व हस्तान्तरणको प्रक्रिया टिठलाग्दो गरी सुस्त छ। दलका निर्णय प्रक्रियामा नयाँ पुस्ता सहभागी हुन सकेका छैनन्। यस्तो प्रक्रियामा नसमेटिँदा युवाले सक्रिय राजनीतिक भूमिका निर्वाह गर्न र नियम कानुनको अभ्यास गरी जान्न/बु‰न पाएका छैनन्। यसरी यिनीहरू नागरिक उत्तरदायित्व स्वीकार्नबाट समेत वञ्चित छन्।
नेपालको अहिलेको राजनीतिक गतिरोध तोड्न कर्ताहरूको परिवर्तनले उत्तम भूमिका खेल्न सक्छ। त्यसका लागि सामाजिक तथा राजनीतिक तहमा नेतृत्व हस्तान्तरणलाई तीव्र बनाउनुपर्छ। सामाजिक सञ्जाल र प्रविधिको उपयोगले अहिलेको युवा पुस्ता विश्वव्यापी संघ/संगठनसँग दैनिक अन्तरक्रियामा संलग्न छ। मुलुकबाहिर रहेका युवाले पनि सोही स्थानबाटै केही गर्नसक्ने अवस्था सिर्जना भएको छ। विभिन्न क्षेत्रमा नयाँ सम्भावना बोकेका युवा नेता, नीतिकर्मी, अनुसन्धाता र विश्लेषक देखापरेका छन्। यिनीहरूसँग शान्तिपूर्ण भविष्यको विकल्प पनि छ। तिनको उपयोग गर्नु राज्यको लागि फलदायी हुनसक्छ।
समष्टिमा, सम्भावना भएका युवालाई स्थान पनि नदिने र समस्यामा परेका युवाको अड्चनलाई पनि सम्बोधन नगरिने दुवै प्रवृत्ति रहँदासम्म द्वन्द्वका स्रोत मौलाइरहनेछन्। त्यसैले युवा वर्गलाई साझेदार नबनाई नेपालमा पनि रूपान्तरण सम्भव छैन। युवा वर्ग सम्पूर्ण समस्या समाधानका लागि रामवाण नै त हैनन् तर तीसँगको साझेदारी अग्रगामी रूपान्तरणको ओखती भने पक्कै बन्नसक्छ। हाम्रो परिप्रेक्ष्यमा युवाले राज्यलाई सुधार्ने मात्रै हैन, राज्यले युवालाई सुधार्न पनि जरुरी छ। यही सन्दर्भमा 'सुन्दर संसार निर्माण गर्न युवासँग साझेदारी' भन्ने नाराको साथ आज १३ औँ अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ।
लेखक द्वन्द्व अनुसन्धाता हुन्।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस