राज्यको अन्याय
१६ साउन २०६९
•
१४ मिनेट पाठ
राज्यको अन्याय
मानवीय संवेदना नभएको समाजलाई जीउँदो नभन्ने हो भने नेपाली समाजलाई 'मृत' घोषित गर्नुपर्छ। नेपाली समाजमा दयालु, परोपकारी र संवेदनशील व्यक्ति धेरै जना होलान् तर सामाजिक संवेदनशीलता चाहिँ शून्य बराबरै छ।
प्रचार हुने काममा टाउकाले टेकेर पनि उभिन पुग्ने नेपाली समाजका अगुवा अपेक्षाकृत गरिब र निमुखाविरुद्ध बलियाले अत्याचार गर्दा चाहिँ वास्तै गर्दैनन्। सरकारले राज्यका केही पूर्वपदाधिकारीलाई दिने निर्णय गरेको सुविधाको चर्को विरोध गर्नेको लर्कै लाग्नु तर बालबालिका सवार बस बाटैमा रोकेर आगो लगाउने आततायी कार्यको विरोध गर्नेहरू चाहिँ बिरलै देखिनुले नेपाली समाजको संवेदनहीनता उदांगिएको छ। सुविधाको विरोध अनुचित होइन तर, विद्यार्थी सवार बसमा आगो लगाउने घटना त्यसभन्दा बढी नै अमानवीय र निन्दनीय कार्य हो। मानवीय संवेदना भएको समाजमा त्यस्तो आतंककारी कार्यको व्यापक निन्दा हुन्छ। राजनीतिक नेताहरूसमेत विरोधमा सामेल हुन्छन्। नेपालमा भने सबै प्रमुख राजनीतिक दलका भातृ संगठनले कुनै न कुनै रूपमा आतंकलाई प्रभाव विस्तारको साधन बनाएका छन्। अरू त अरू नेपालमा व्यक्तिगत स्वतन्त्रताको निम्ति लामो संघर्ष गरेको गौरवमय इतिहास भएको नेपाल विद्यार्थी संघसमेत विध्वंशक राजनीतिकै गोटी बन्न पुग्यो। नेविसंघ र नेपाली कांग्रेसले समेत विद्यार्थी बोकेको बसमा आगो लगाइएको घटनाको विरोध गरेनन् भने साध्य प्राप्तिका लागि साधनजस्ता अपनाए पनि हुन्छ भन्ने मान्यता भएका कम्युनिस्टहरूले विरोध नगरेकोमा के उदेक मान्नु?

नेपालमा शिक्षा महंगो बनाइएको छ। शैक्षिक गुणस्तर कमजोर छ। पाठ्यक्रम र शिक्षण विधि युगसापेक्ष छैन तर, नेपाली युवाले विश्वव्यापी प्रतिस्पर्धा गर्नुपर्छ। यी सबै चिन्ताका विषय हुन्। यस्ता विषयमा राज्य र समाजको ध्यानाकर्षण गर्न आवश्यकताअनुसार आन्दोलन पनि गर्नुपर्छ। तर, त्यस्तो आन्दोलन हिंसात्मक भयो वा आतंकको माध्यम अपनाइयो भने त्यसले सकारात्मक परिवर्तन हुन दिँदैन। चर्को र ध्वंशात्मक विरोध यथास्थितिका लागि 'छद्म वरदान' सिद्ध जो हुने गरेको छ।

नेपालको शिक्षा र प्रकारान्तरले समाजको भविष्यप्रति सजग हुने हो भने पहिले सबै नेपाली बालबालिका विद्यालय जान पाउने वातावरण बनाउनु आवश्यक छ। त्यसपछि तिनले प्राप्त गर्ने शिक्षा असमान नहोस् भनेर ध्यान दिनुपर्छ। विद्यालयको बसमा आगो लगाउन पठाइएका युवालाई गाउँमा विद्यालय खोल्न र पढाउन पठाउन सके सबैको भलो हुन्थ्यो। विद्यालय स्तरको शिक्षामा सबैको पहुँचका लागि अनिवार्य तथा निःशुल्क हुनुपर्छ। त्यसका लागि आवश्यक लगानी राज्यले गर्नैपर्छ। यस्तो लगानीले दीर्घकालीनरूपमा आर्थिक क्षेत्रको लगानीभन्दा धेरै गुणा बढी प्रतिफल दिन्छ भन्ने साक्षी पूर्वी एसिया छ। आमाबाबुको जात र धनले हैन व्यक्तिको प्रतिभाले अगाडि बढ्नसक्ने शिक्षा पद्धतिमात्र समाजका लागि लाभदायी र दिगो हुन्छ। शिक्षा प्रणाली बनाउँदा र चलाउँदा यसमा सबैभन्दा बढी ध्यान दिनुपर्ने रहेछ तर नेपालमा भने हामी उल्टो बाटो हिँड्दै छौँ।

राज्यले व्यक्तिलाई समान बनाउन सत्तै्कन। समानता प्रकृतिमै छैन। कृत्रिमरूपमा पनि सिर्जना गर्न सकिँदैन। यसैले सबैलाई समान बनाउने प्रयास गर्नु व्यर्थको मूर्खता हो। किन्तु, राज्यले असमानता बढाउनु चाहिँ अन्याय हो। राज्यका नीतिले शिक्षामा असमानता बढेको हो। समान प्रतिभा भएको गाउँको गरिब र सहरको गरिबकै बीचमा पनि शिक्षामा पहुँच र अवसर असमान छ। त्यसमा धनी र गरिबका बीचमा अर्को असमानता छ। विद्यालयहरू राम्रा र नराम्रा छन्। पैसा हुने आमाबाबुका सन्तानले राम्रो विद्यालयमा पढ्न पाउनु र नहुनेले नपाउनुलाई समाजले सहजरूपमा स्वीकार गरेको देखिन्छ। हो, यस प्रवृत्तिलाई बदल्नुपर्छ। बदल्ने उपाय भने विद्यालयको बसमा आगो लगाउनु चाहिँ पक्कै होइन।

राज्यले समान बनाउन नसके पनि व्यक्तिलाई स्वतन्त्र हुन मद्दत गर्नसक्छ। बाँच्न र उन्नति गर्न अरूमा भर पर्न नपरे व्यक्ति, समाज र राष्ट्र स्वतन्त्र हुन्छ। यसैले राज्यले व्यक्तिलाई स्वतन्त्र बनाउनैका लागि आत्मनिर्भर हुन सघाउनुपर्छ। आत्मनिर्भर नागरिक स्वाभिमानी हुन्छ। त्यस्तो नागरिकले राज्यको अस्तित्व थाहा पाउँछ। अनि मुलुकको माया गर्छ। अहिलेको शिक्षामा राज्यले गरेको लगानीले नागरिकलाई आत्मनिर्भर बनाउँदैन। त्यसमा पनि निजी विद्यालयमा पढ्ने विद्यार्थीका मनमा, निजी स्वास्थ्य संस्थामा उपचार गराउने बिरामीका मनमा त देशको माया नै बस्दैन। शिक्षा र स्वास्थ्यमा समेत राज्यले नहेर्ने मुलुकका नागरिकले किन गर्ने देशको माया? अहिले विद्यालय पुगेकै विद्यार्थीले पनि शिक्षा पाएका छैनन्। पढ्नेले अक्षर पढ्छन्, जीवन पढ्दैनन्। शिक्षा त जीवन बुझ्ने माध्यम पो हो।

शिक्षामा असमानता अन्त्य गर्न सबैतिरको पाठ्यक्रम समान बनाउनुपर्छ। शुल्क समान हुनुपर्छ र सबै विद्यार्थीको शुल्क राज्यले बेहोर्नुपर्छ।
पैसा नपुगे सेना, कर्मचारीको संख्या र तिनले पाउने पेन्सन कटौती गरे हुन्छ। जिन्दगीभर राज्यलाई दिने किसानले राज्यको ढुकुटीबाट एक पैसा नपाउने तर राज्यबाट सधैँ तलब लिएर काम गरेका कर्मचारीले चाहिँ आजीवन पेन्सन पाउने प्रणाली सामन्ती राज्य व्यवस्थाको निरन्तरता हो। यस्तो अन्याय खारेज गरे हुन्छ। यस्तै, शिक्षाकै लागि पैसा नपुगे वैदेशिक रिन केही वर्ष नतिरे पनि हुन्छ। तर शिक्षामा पर्याप्त लगानी गर्नुपर्छ। शिक्षामा लगानी गर्न पैसा नपुगे अन्तर्राष्ट्रिय समुदायसँग रिन माफी, म्याद थप वा ब्याज मिनाहाको आग्रह गर्दा मुलुकको इज्जत जाँदैन। तैपनि नपुगे पैसा जुटाउन शिक्षा कर लगाउनुपर्छ। अहिले पनि आमाबाबुले ठूलो धनराशि शिक्षामा खर्च गरेका छन्। शिक्षाको सुधार हुन्छ र नेताका झोले शिक्षक पाल्नमात्र खर्च हुँदैन भन्ने विश्वास भए सक्नेले कर तिर्छन्।

नेपालको कर एवं सामाजिक सेवा नीति तथा व्यवस्था न्यायपूर्ण र प्रगतिशील छैन। करको आधार फराकिलो बनाएर गुजारा चलाउन पनि नसक्नेहरूसँग समेत अप्रत्यक्ष कर लिएर शोषण गरिएको छ। धेरै कमाउनेहरू अपेक्षाकृत सस्तैमा उम्केका छन्। शिक्षामा समेत अहिले सरकारले कर लिन्छ। अस्पतालमा सिकिस्त बिरामीसँग समेत कर लिइन्छ। धेरै कमाउनेले तुलनात्मकरूपमा थोरै तिर्ने यो चरम पुँजीवादी नीति हो। जोसँग धेरै छ ऊसँग राज्यले लिनुपर्छ र नहुनेलाई त्यसबाट सहुलियत दिनुपर्छ।

आधारभूत शिक्षा र स्वास्थ्य निशुल्क बनाउने तर त्यसका लागि आवश्यक रकम राज्यले हुनेसँग धेरै नहुनेसँग थोरै लिने नीतिअनुरूप रकम जुटाउने गर्नुपर्छ। अनिमात्र न्याय हुन्छ। धनीहरूलाई लाग्दो हो निःशुल्क शिक्षा र स्वास्थ्यको व्यवस्था उनीहरूको हितमा छैन। होइन, शिक्षामा यस्तो व्यवस्थाले उनीहरूको सन्तानलाई मुलुकको माया लाग्नेछ। विदेशको सपनामा हराउने छैनन्। कम्तीमा फर्केर आउने छन्। अहिले त राज्यको माया गर्नुपर्ने कारणै देख्दैनन् तिनले।

राज्यले पढाइको खर्च बेहोर्नेबित्तिकै निजी विद्यालय बन्द गर्नुपर्दैन। उनीहरूलाई प्रतिस्पर्धा गर्न दिनुपर्छ। निजी विद्यालयलाई पनि राम्ररी पढाएर विद्यार्थी आकर्षित गर्ने र राज्यले दिने सुविधा पाउने अधिकार दिनुपर्छ। सार्वजनिक विद्यालयमा शिक्षकले नपढाए पनि तलब पाक्ने अवस्था खारेज गरेर निजी र सार्वजनिक विद्यालयका शिक्षकले प्रतिस्पर्धा गरेर विद्यार्थी आकर्षित गर्नुपर्ने व्यवस्था मिलाउने हो भने अहिलेका धेरै विसंगति स्वतः समाप्त हुनेछन्।

यस्तै, स्वास्थ्य उपचारका लागि पनि राज्यले अहिले गरेकै लगानीलाई व्यवस्थित गर्नसके देशव्यापी स्वास्थ्य बिमा गर्न सकिन्छ। अहिले बिरामीको उपचार गर्न हैन अस्पतालका डाक्टर र कर्मचारीलाई तलब खुवाउन सरकारले लगानी गरेको छ। यसलाई बिरामी केन्द्रित बनाउने बित्तिकै समस्या समाधान हुनेछ। स्वास्थ्य बिमा गर्न कमाउन नसक्नेलाई राज्यले सहयोग गर्ने र सक्नेले पैसा तिर्ने प्रणाली अपनाउन सकिन्छ। यस अवस्थामा निजी क्षेत्रमा सञ्चालित अस्पताल बन्द गर्नु पनि पर्नेछैन। दुर्घटना पर्दा साथमा पैसा नभए बैंकमा जति भए पनि काम लाग्दैन। शिक्षा र स्वास्थ्य दुवैको सेवा विन्दुमा पैसा नलिने तर राज्यले कर लगाएर पूरा गर्ने नीति अपनाएका समाजमा उन्नति त भएकै छ भ्रष्टाचार र अपराध पनि कम भएको पाइन्छ। अर्थात्, जनताको भलो भएको छ।

राम्ररी पढाएर कुशल जनशक्ति तयार गर्ने हो भने लगानी आकर्षण गर्न विदेशीलाई पोस्ने नीति आवश्यक हुँदैन। अन्याय नहुने र नाफा हुने विषयमा ढुक्क भए स्वदेशी विदेशी जताततैका लगानीकर्ता आकर्षित हुन्छन्। भारत र चीनको विशाल बजारबीच रहेको नेपाल सामरिकमात्र हैन आर्थिक रणनीतिका दृष्टिले पनि महत्वपूर्ण छ। यसैले, तोडफोड र विध्वंश नगरी चित्त नबुझ्नेहरूले पनि शिक्षा र स्वास्थ्यमा रहेको यथास्थितिको चक्कर तोड्न शक्ति लगाउनु बेस हुन्छ।
अर्को समाचार
अनौठो समावेशी अभ्यास
०५ कार्तिक २०७०
•
१२ मिनेट पाठ
अनौठो समावेशी अभ्यास
'राज्य केन्द्रीकृत र एकात्मक भयो। लिङ्ग, वर्ग, क्षेत्र, जात आदिका आधारमा राज्यले नै विभेद गर्‍यो। राज्यको शासन सत्तादेखि सम्पूर्ण स्रोत र साधनमा एकाध व्यक्तिको हालिमुहाली भयो। त्यसैले गर्दा मुलुकमा व्यापक पक्षपात भयो। एक/दुई जातिबाहेक सबैमाथि अन्याय भयो। अब यो खाडल पुर्नुपर्छ र यसका लागि राज्यका हरेक तहमा समावेशिता कायम हुनुपर्छ।'– खासगरी माओवादीले सुरु गरेको हिंसात्मक आन्दोलन र मधेसवादी दल भन्नेहरुले पटकपटक गरेका आन्दोलनका केही कारणमध्ये एउटा यो पनि थियो।जसलाई राज्यले पनि स्वीकार गर्‍यो। उचित/अनुचित, क्षमताले भ्याउने/नभ्याउने सबै माग 'पूरा गर्ने' आश्वासन दिन बाध्य भयो मुलुक। र, अहिले सिङ्गो मुलुक राज्यका हरेक तह र निकायमा समावेशिताको नीति लागु गर्ने क्रममा छ। तर यसबीचमा समावेशिताको माग जोडतोडले उठाउने यिनै दलले आगामी निर्वाचनमा उमेदवारी दिने क्रममा अपनाएका समावेशी नीति भने बडो अनौठोखालको छ। केन्द्रीय शासन सत्तादेखि सुरक्षा निकाय र निजामती क्षेत्रसमेतमा जनसङ्ख्या, भूगोल, लिङ्ग आदिका आधारमा समावेशिता माग गर्ने यी दलले आफ्नो तर्फबाट दिएका उमेदवारी हेर्दा प्रष्टिन्छ कि उनीहरु समावेशिता आफ्ना लागिमात्र चाहन्छन्, अरुलाई दिन होइन।
दश वर्षे हिंसात्मक आन्दोलन गरेर पनि पार पाउने कुनै आधार नदेखेपछि मूलधारे राजनीतिमा छिर्न बाध्य माओवादी (ए?) महिला अधिकारको कुरा गरेर नथाक्ने 'क्रान्तिकारी पार्टी' हो। तर यो पार्टीले आगामी निर्वाचनका लागि प्रत्यक्षतर्फ मात्र २६ जना महिला उठाएको छ। जबकि यो सङ्ख्या उसले नै यथास्थितिवादीको बिल्ला लगाइदिएको नेपाली कङ्ग्रेसले उठाएका महिलाभन्दा मात्र एक जना बढी छ भने अर्को 'यथास्थितिवादी प्रतिगामी दल' एमालेले उठाएको भन्दा २ जना कम छ। त्यसैगरी दलितको उत्थान गर्ने एकमात्र पार्टीका रूपमा आफूलाई दाबी गर्दै आएको माओवादीले मात्र ७ जना दलित उठाएको छ जुन एमालेभन्दा मात्र दुईले बढी छ।
समावेशिताका चर्को नारा दिएर त्यसैको जगमा खडा भएको उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम, नेपालले संविधान सभा निर्वाचनमा प्रत्यक्षतर्फ १२९ जना उठाएको छ। जसमध्ये महिला मात्र १६ जना छन्। यो दलले ७ जनामात्र दलित उठाएको छ भने चौधरी समुदायबाट जम्मा ३ जनामात्र उठाएको छ । अझ रमाइलो पक्ष त यो छ कि यो पार्टीका उमेदवारमध्ये ३९ जना त सोझै यादव थरधारी मात्र छन्। थारु मुलुककै सबैभन्दा चौथो बढी जनसङ्ख्या भएको समुदाय हो जसको जनसङ्ख्या १७ लाख ३७ हजार ४ सय ७० (६.६ प्रशित) छ जबकि यादवको जनसङ्ख्या १० लाख ५४ हजार ४ सय ५८ (४ प्रतिशत) छ। ६.६ प्रतिशत भएका समुदायबाट मात्र ३ जना तथा ४ प्रतिशत जनसङ्ख्याबाट ३९ जना उमेदवारी समावेशिताको अनौठै अभ्यास मान्नुपर्छ।
१३३ जना उमेदवार उठाएको सद्भावना पार्टीले २७ जना महिला उमेदवार उठाएर अन्य मधेसी दललाई यो मामलामा उछिनेको छ। तर उसले महिला उठाएका ठाउँ हेर्ने हो भने यसले महिलाको उपहास गरेको देखिन्छ। सबैलाई थाहा छ कि मधेसवादी दलको प्रभाव क्षेत्र मधेस नै हो। त्यसैले यी दलका उमेदवारले जिते यहीँबाट जित्छन् तर सद्भावना पार्टीले उठाएका २७ महिलामध्ये मधेसमा पर्ने महोत्तरीमा २, नवलपरासीमा एक र मोरङमा १ बाहेक बाँकी सबै 'जमानतसमेत जफत हुने' क्षेत्रमा छन्। काठमाडौंका १, २, ३, ४, ललितपुरको १,२, काभ्रेको १, ३, रोल्पाको १, कास्की १, ३, ४, तनहुँ १ जस्ता क्षेत्रमा महिला उमेदवारी दिनुले उसले खोजेको समावेशिता कस्तो रहेछ भन्ने बुझ्न कुनै महाभारत पर्दैन।
आफूहरु हरेक ठाउँमा समावेशिता खोज्ने र त्यसैको नारालाई सत्तामा पुग्ने भर्‍याङ बनाउने तर आफ्नो हातमा डाडुपन्युँ भएका बेला असली चरित्र देखाउनेहरु अरु पनि निस्के। ठूलो कुरा गरेर अघि बढ्दै गरेको अशोक राई नेतृत्वको सङ्घीय समाजवादी पार्टीले पनि ११ जनाभन्दा महिला अटाउन सकेन। महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टीले आफ्ना ११६ जना उमेदवारमध्ये राई, शेर्पा, लिम्बू, तामाङ, गुरुङ जस्ता पहाडे जनजाति एक जना पनि अटाउन सकेन। अर्कोतर्फ विजय गच्छदार नेतृत्वको फोरम (लोकतान्त्रिक) ले भने अध्यक्षकै जातिमा पर्ने थारुबाट ३४ जना उठाएको छ। तर २ लाख ३४ हजार ४ सय ९० जनाको सङ्ख्यामा रहेका मुसहर, ३ लाख ३५ हजार ८ सय ९३ को सङ्ख्यामा रहेका चमार/हरिजन/राम जस्ता समुदायका एक जना पनि यो पार्टीको प्राथमिकतामा परेनन्। यसबाट थाहा हुन्छ कि मधेसमा ठूलो सङ्ख्यामा रहेका उत्पीडित, दलित समुदायमाथि हेर्ने उनीहरुको दृष्टिकोणमा अहिले पनि कुनै परिवर्तन आउन सकेको छैन।
बढीमा २ सिट जित्ने सम्भावना भएको नेमकिपाले चाहिँ सबैभन्दा बढी ३१ जना महिलाको उमेदवारी दिनु तर बहुमत ल्याउने दाबी गर्ने एमाओवादीले चाहिँ महिलालाई खुम्च्याउँदै लानुले क्रान्तिकारी दलहरुको 'बोली र व्यवहार' बीचको आकाश–जमिन प्रष्टिन्छ। त्यसैगरी एकै तीरले धेरै शिकार गर्ने नीति पनि दलहरुले अङ्गालेको देखिन्छ। जस्तो– रेखा परियार थारु (फोरम लोकतान्त्रिकबाट नवलपरासी १ की उमेदवार) महिला, जनजाति र दलित तीनै पक्षको प्रतिनिधित्व गर्छिन्। यस्तो उमेदवार छान्नाले दललाई सबै पक्षमा प्रतिशत बढाउन मद्दत पुग्छ भने चुनावी मसला पनि 'स्वादिष्ट' बन्छ।   
हुन त संविधान सभा निर्वाचन अध्यादेश, २०७० ले उत्पीडित जाति/आदिवासी जनजाति, मधेसी, खस आर्य तथा अन्य, दलित र पिछडिएको क्षेत्रबाट क्रमशः ३७.८, ३१.२, ३०.२, १३ र ४ प्रतिशत उमेदवारी दिनैपर्ने र यसमा आधा सङ्ख्या महिलाको हुनैपर्ने बाध्यात्मक प्रावधान राखेको छ। यसरी हेर्दा संविधान सभामा प्रत्यक्ष र समानुपातिक दुवैतर्फबाट गरी एक तिहाई महिला पुग्नेछन् भने तोकिएको सङ्ख्यामा दलित, मधेसी आदि पनि पुग्नेछन् तर यस्तो व्यवस्था समानुपातिकतर्फ मात्र भएकाले एकातर्फ उनीहरुको खुबी र क्षमतालाई नजरअन्दाज गरिएको छ भने अर्कोतर्फ समानुपातिकबाट आउनेलाई 'दोस्रो दर्जाको' ठानिने भएकाले उनीहरु अपहेलितसमेत महसुस गर्न बाध्य हुनेछन्। यसरी तोकिएको सिटमा बाध्य भएर पठाएको सङ्ख्यालाई समावेशिता मान्ने हो भने आरक्षण र समावेशिताबीचको भिन्नता पनि खुट्याउनु जरुरी छ।
खासगरी महिलाको सन्दर्भमा हेर्दा यस्तो व्यवस्थाले निकै अन्याय भएको देखिन्छ। समानुपातिकतर्फका उमेदवारको बन्द सूची बुझाउँदा कम्तिमा महिला ५० प्रतिशत राख्नैपर्ने व्यवस्था छ। यो र प्रत्यक्षमा दिइने उमेदवारीसमेत महिलाको एक तिहाई पुग्नैपर्ने संवैधानिक व्यवस्था छ। त्यसैले दलहरु कम्तिमा पनि २०–२५ जना महिलालाई प्रत्यक्षतर्फ उठाउन बाध्य छन्। नत्र दलहरुले यति महिला पनि उठाउने थिएनन्। कङ्ग्रेस–एमालेले त महिला, दलित, जनजाति आदिलाई अधिकार दिन चाहेनन्, समावेशी बनाउन चाहेनन् तर नयाँ, क्रान्तिकारी र उथलपुथल गर्ने उद्घोषका साथ आएका माओवादी र मधेसी दलहरुले किन उनीहरुमाथि न्याय गर्न सकेनन्? जनसङ्ख्याका आधारमा सहभागिताको माग गर्नेले ५१.५ प्रतिशतको सङ्ख्यामा रहेका महिलालाई किन त्यहीअनुरुपको स्थान दिन सकेनन्? मधेसीले तराईमा महत्र्वपूर्ण स्थान ओगट्ने दलितलाई किन उनीहरुको जनसङ्ख्याका आधारमा उठाउन सकेनन्? माओवादीले चेपाङ, चमार, अल्पसङ्ख्यक जस्ता उत्पीडितलाई किन पर्याप्त सिटमा उठाउन चाहेन? आफ्नै नाराअनुसार किन आधा महिला उठाउन सकेन? सबैले बुझ्नुपर्ने सही बेला आएको छ।
अन्त्यमा,
भारतीय दलित आन्दोलनका प्रणेता डा. बाबासाहेब भीमराव अम्बेडकरले भनेका छन्– 'दलितको प्रतिनिधित्व दलित स्वयम्बाहेक अरुले गर्न सक्दैन।' तर दलित, जनजाति र महिला अधिकारको मिठो आश्वासन बाँड्दै पटकपटक सत्तामा पुगिसकेका माओवादी–मधेसवादी भने चुनावमा उनीहरुलाई पन्छाएर आफैँ प्रतिनिधित्व गरिदिने 'समावेशिताको नयाँ सिद्धान्त' निर्माणमा व्यस्त छन्। थाहा छैन, सरोकारवालाले यसबारे कहिले भेउ पाउने हुन्।          
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस