अलोकप्रिय निर्णयको साहस
११ असार २०६९
•
१५ मिनेट पाठ
अलोकप्रिय निर्णयको साहस
२०६२ र ६३ को जनआन्दोलनको सफलता र गणतन्त्रको सुनिश्चितताले एउटा कुरा स्थापित गर्यो कि जनआन्दोलनले जस्तोसुकै कठिन उपलब्धि पनि हासिल गर्न सकिन्छ। फलस्वरुप मधेसका पनि केही चुलिएका आकांक्षा थिए र सानोरुपमा सिरहाबाट सुरु भएको आन्दोलन एउटा हिंसात्मक घटनाका कारणले विकराल रुप लिन पुग्यो, जसले मधेस आन्दोलनको संज्ञा पायोे। मधेस आन्दोलनका माग बढ्दै, थुप्रिँदै गए। नेपाली कांग्रेस र अरु दलबाट समेत उपेक्षित ठानेकाले यो आन्दोलनमा सहभागिता जनाउँदै गए। तत्कालीन नेतृत्व यो आन्दोलनसित एउटा सम्झौतामा पुग्न बाध्य हुनुपर्यो। मधेस आन्दोलनसित कुनै एउटा परिपक्व नेतृत्व भने थिएन। मधेस आन्दोलनका जन्मदाता गजेन्द्रनारायण सिंहको अवसान भइसकेको थियो। रामराजाप्रसाद सिंहले छुट्टै पहिचान बनाउन सकिरहेका थिएनन्। एउटा गणतन्त्रवादी नेताका रुपमा मात्रै उनी चिनिएका थिए र उनलाई माओवादी र भारतसँग बढी हिमचिम र लसपस भएका नेताका रुपमा हेरिन्थ्यो। साथै उनको स्वास्थ्य स्थिति पनि राम्रो थिएन।




आन्दोलनपछि मधेसको हितका लागि भनेर ६ दल निर्वाचित भएर संविधान सभामा प्रतिनिधित्व गर्न पुगे। त्यसो त अन्तरिम संविधानमा भएको व्यवस्थाअनुसार समानुपातिक प्रतिनिधित्व गर्दै अरु दलका पनि मधेस मूलका सभासद्को संख्या संविधान सभामा उल्लेख्य रह्यो। तर आन्दोलनको मूल एजेन्डा खलबल्याउने गरी मधेस केन्द्रित दलहरुमा टुट र फुटको राजनीति सुरु हुन बेर लागेन। ६ दलबाट सुरु भएको संविधान सभाको यो उपस्थिति अन्ततः संविधान सभा विघटन हुँदासम्म १८ दलमा पुग्यो। यो यथार्थले राम्ररी बुझाउँछ- मधेस आन्दोलन जुन उद्देश्य र लक्ष्यका साथ सुरु भएको थियो, संविधान सभा छँदै त्यो उद्देश्य र लक्ष्य यसले पूर्णतः बिर्सिसकेको थियो। तर मधेस आन्दोलनको सुरुका दिनका सफलताले गर्दा अरु जातजाति, भाषाभाषी, धर्म, सम्प्रदाय र लिंगमा पनि नयाँ आकांक्षा पलाउनु स्वाभाविकै थियो। यस्ता आकांक्षा २०४६ सालको आन्दोलनपछि पनि नचुलिएका भने होइनन्। बिस्तार बिस्तार संविधान, कानुन आदिले यी सबै कुरालाई सम्बोधन गर्दै आएको पनि थियो। अन्तरिम संविधानमा निर्वाचनको व्यवस्था गर्दा पनि समानुपातिक निर्वाचन प्रणाली व्यवस्था गरिएकै हो, जसले गर्दा संविधान सभामा विभिन्न जातजाति, धर्म, सम्प्रदाय, लिंग, भाषाभाषी, सीमान्तकृत नागरिकको उपस्थिति हुन सकोस् भन्ने पहिलो प्रयत्न गरिएको पनि हो। बाँकी कार्य भने संविधान सभाबाट बन्ने संविधानले नै गर्नुपर्ने थियो।
संविधान बन्ने कार्य नै विलम्बित भइदिँदा एकातिर आ-आफ्नो पहिचान सुनिश्चित नहुने संशय बढ्दै गयो भने अर्कोतिर यसैबीचमा विभिन्नखाले राजनीतिक, सामाजिक र सांस्कृतिक अभिष्ट पूरा गर्न देशी/विदेशी चलखेल पनि हुन थाल्यो। एउटा पक्ष लोकतान्त्रिक संविधान नबनोस् भन्ने चाहना राख्थ्यो भने अर्को पक्ष लोकतान्त्रिक संविधानले नै यी सबै विषयको सम्बोधन गर्न सक्छ भन्ने धारणा राख्थ्यो। लोकतान्त्रिक संविधान नबनोस् भन्ने पक्ष यद्यपि राजनीतिमा क्रियाशील छ। परिणामतः अहिले माओवादी दल दुई भागमा विभक्त छ। मोहन वैद्यको पक्ष अहिले पनि जनवादी संविधानकै पक्षपोषण गर्दै पुष्पकमल दाहालको पक्षबाट अलग्गिएको छ। पुष्पकमल दाहालको खेमा पनि पूर्ण लोकतान्त्रिक संविधानको पक्षमा देखिँदैन। सेना समायोजनदेखि शान्ति प्रक्रियामा भएका ढिलाई र संविधान निर्माणकै विविध विषयमा उनीहरुबाट लिइएका अडानले त्यही बुझाउँछ।
अहिले दलहरुमा देखिएको सबभन्दा जल्दोबल्दो प्रश्न जातीय पहिचानको छ। त्यो पनि एकल जातीय पहिचानसहितको संघीयता। यसको माग गर्नेहरुले यो कति सम्भव छ भन्ने राम्रोसँग बुझेका छन् भन्न गाह्रो छ। लेनिनवादी चिन्तनधार बोकेकालाई यसरी जातमा बाँडिदिएर शासक तोकिदिनु सजिलै होला। तर त्यो कति लोकतन्त्रसम्मत हुन्छ भन्ने कुरो लोकतन्त्रमा आस्था राख्नेले सोच्नुपर्छ। संघीयता र लोकतन्त्र बाझिन्न। तर जातीयता र लोकतन्त्र अथवा वैयक्तिक स्वतन्त्रता र लोकतन्त्र भने बाझिने विषय हुन्। समतामूलक समाज कल्पना गर्ने कसैले पनि जाति विशेषलाई अग्रस्थानमा राख्ने भन्ने स्वाभाविक हुन सक्दैन। प्रतिस्पर्धाबिनाको समाजले उन्नति पनि गर्न सक्दैन। तर यसो भनेर शोषित, पीडित, उत्पीडनमा परेका सीमान्तकृतका लागि सकारात्मक विभेदका कार्यक्रम हुनु नै हुँदैन भन्न खोजिएकोचाहिँ पटक्कै होइन। त्यो राज्यले नीति निर्माणको माध्यमबाट ल्याउने कार्यक्रम हुन्। त्यसका लागि संवैधानिक व्यवस्थाभन्दा पनि कानुनी व्यवस्था नै पर्याप्त छ। यस्ता विषयमा संवैधानिक व्यवस्था हुँदा त्यसले समाजमा विखण्डन, विद्वेष जन्माउन सक्ने सम्भावना हुन्छ र सामाजिक सद्भाव निश्चितरुपमा खलबलिन्छ।
हाम्रो जस्तै सामाजिक बनौट भएको मुलुक भारतलाई हेर्ने हो भने ६० वर्षमा आरक्षणको व्यवस्था भए पनि यथार्थमा जसलाई आरक्षण दिइयो, त्यो जाति या सम्प्रदाय विशेषलाई उठाउन नसकेको तथ्य विभिन्न स्रोत र अनुसन्धानबाट देखिएको छ। त्यसकारण पनि कतिपय समाजका आर्थिक समस्याको यही नै अचुक समाधान हो भन्न भने गाह्रो छ। एउटै जाति ८० प्रतिशतभन्दा बढी बसोबास भएको चीनमा पनि आर्थिक, सामाजिक विभेदा यद्यपि छ जबकि चीनको आर्थिक वृद्धिदर ८ प्रतिशतबाट नघटेकै दुई दशकभन्दा बढी भइसक्यो। आर्थिक वृद्धिदरले ल्याउने अर्कै खालका समस्या हुन्छन्। जस्तो कृषि र औद्योगिक क्षेत्रमा काम गर्नेहरुका बीचको कमाईका भिन्नता, ग्रामीण र सहरी क्षेत्रको अर्थतन्त्रमा विभेद आदि। त्यसो त समृद्धि नै हो जसले अर्थ, सामाजिक विभेदलाई कलान्तरमा मेटाउँछ तर समय भने लिन्छ। संविधानमा केही अक्षर लेख्दैमा समाजमा देखिएका विभेद पूर्णतः मेटिन्छन् भन्ने छैन।
मूलतः दुईटा विषयलाई लिएर संविधान बन्न सकेन। शासकीय स्वरुप र एकल जातीय पहिचानसहितको संघीय संरचना। शासकीय स्वरुपको विषय पनि गम्भीर विषय थियो तर राजनीतिक दलहरु चाहेर/नचाहेर त्यसबेला एउटा प्रकृतिको शासकीय स्वरुपमा प्रवेश गरे- प्रत्यक्ष निर्वाचित राष्ट्रपति र संसदद्वारा निर्वाचित एवं संसद्प्रति उत्तरदायी प्रधान मन्त्री। यो आफैंमा नेपालमा गर्न लागिएको एउटा प्रयोग थियो, जो चल्न सक्ने भने थिएन। एउटासम्म निर्वाचन यसरी गरिसकेपछि संविधानको संशोधन अवश्यम्भावी थियो। यो मुलुकका झण्डै ६० लाख मतदाता देशबाहिर बस्छन्। त्यसमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति भन्नु नै एउटा अत्यन्तै अव्यावहारिक कुरा हो। र, त्यसभन्दा पनि कार्यकारी अधिकार उक्त राष्ट्रपतिमा नहुने भन्नु पनि त्यति नै अव्यावहारिक हो। राजनीतिक स्थिरता पाइनसकेको हाम्रो जस्तो समाजमा जातीय, भाषिक, साम्प्रदायिक, अपरिपक्व सैद्धान्तिक आधारमा उभिएका पार्टीका माझबाट उठेका राजनीतिक दलले तत्कालै राजनीतिक स्थिरता दिन सक्ने अवस्था देखिँदैन। पार्टी जुट्ने र फुटने समस्या अझै केही समय रहिरहन्छन्। लोकतन्त्र एउटा सुन्दर व्यवस्था हो तर यसको अभ्यास र सञ्चालन त्यति नै जटिल पनि छ। त्यसकारणले पनि जातीय विषय उठान गर्दा, शासकीय स्वरुपलाई धेरै जटिलतामा लैजाँदा केही समय स्वार्थ सिद्धि भएको देखिन सक्छ। तर सत्ता, शक्ति सधैं आफ्नो हातमा रहन्छ भन्ने कुरो कुनै पनि दल या गठबन्धनले सोच्नुहुँदैन। आफूले शक्तिको दुरुपयोग गर्दा भोलि आउने सत्तासीन दलहरुले पनि त्यसैगरी शक्तिको दुरुपयोग गर्न सक्छन् भन्ने हेक्का शक्तिमा रहेकाले राख्न सकेनन् भने दुर्भाग्यपूर्ण नियति सामना गर्नुपर्ने हुनसक्छ। राजनीतिमा समय आज अनुकूल छ भने भोलि प्रतिकूल हुने सम्भावना पनि त्यत्तिकै रहन्छ। अनुकूलता र प्रतिकूलताबीच सन्तुलन राख्न सक्नु नै नेताको नेतृत्व क्षमता हो। यस्ता विषयमा दलका नेताले गम्भीरतासाथ सोच्नुपर्ने हो, जो उनीहरुको स्वार्थसंगत नहुन पनि सक्छ। पार्टी पंक्ति र आम मान्छेबीच पनि अलोकप्रिय हुन सक्छ केही समयका लागि। तर दीर्घकालका लागि भने त्यो राष्ट्रिय हितमा हुन सक्छ।
एउटा प्रसंग स्मरणयोग्य छ। राष्ट्रिय एकता एवं मेलमिलापको नीति लिएर बीपी कोइराला देशभित्र फर्किनुभएपछि मुुलुक ३६ सालको आन्दोलनको अवस्थामा थियो। त्यसो त यसको सुरुवात् विद्यार्थीबाट भएको थियो। तर आन्दोलन चर्किँदै जाँदा आन्दोलनमा ऐक्यबद्धता देखाउन शिक्षक, कर्मचारीलगायत् राष्ट्र बैंकका कर्मचारीसमेत हड्तालमा उत्रिए। त्यसबेला बीपी कोइरालाले टुँडिखेलबाट सम्बोधन गर्दै यसरी कर्मचारीको आन्दोलनलाई आफूले समर्थन नगर्ने जनाउँदै राष्ट्र बैंक र अरु कर्मचारीलाई आन्दोलन फिर्ता लिन आग्रह गर्नुभयो। बीपीको यो अलोकप्रिय बोली थियो आन्दोलनमा लागेकाका लागि। नेपाली कांग्रेसका कार्यकर्ता एवं शुभचिन्तकबाट उहाँलाई यस विषयमा प्रश्न पनि गरियो- आन्दोलन उचाईमा पुग्ने सम्भावना भएका बेला तपाईंले यसरी किन बोलिदिनुभयो? उहाँले भन्नुभयो- राष्ट्र बैंक नै आन्दोलनमा उत्रिसकेपछि मुलुकको अर्थतन्त्रले भोग्नुुपर्ने भयावह स्थितिका पक्षमा म थिइनँ, न त सम्पूर्ण प्रशासन यन्त्रलाई लथालिंग पार्नु मेरो उद्देश्य हो। आन्दोलन राजालाई दबाब दिएर बहुदल स्थापना गर्नमात्रै हो। मुलुकलाई नै जलाएर त्यसको राप ताप्नलाई होइन। यदि उनीहरुको सहयोगबिना आन्दोलन सफल भएन भने फेरि अर्को आन्दोलन गरौंला। राष्ट्र प्राथमिकता हो, आन्दोलन होइन। यी कुरा राजाले पनि बुझ्नुपर्छ यदि राष्ट्रको चिन्ता छ भने। राष्ट्र नरहे राजा पनि रहँदैनन्, हामी नेपालीको स्वाभिमान पनि रहँदैन। उहाँले देशको अर्थतन्त्र र प्रशासनयन्त्रमा पर्ने असर आँकलन गर्दै यो अलोकप्रिय बोल्नुभएको थियो। र, वास्तवमा उहाँबाट सम्बोधन गरिएकाहरुले आन्दोलन फिर्ता लिए पनि। भन्न खोजिएको हो- देश हाँक्छु भन्ने नेतृत्वले समय परिस्थिति हेरी अलोकप्रिय निर्णय पनि लिन सक्नुपर्छ। वर्तमान दलका नेतृत्वमा त्यो साहस र क्षमता देखिएन।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस