द्विविधामा वैज्ञानिक प्रतिभा
०६ असार २०६९
•
१६ मिनेट पाठ
द्विविधामा वैज्ञानिक प्रतिभा
एक दिन एकजना पूर्व विद्यार्थी मेरो घरमा आए। उनी धेरै वर्षसम्म एउटा विकसित देशको प्रतिष्ठित विश्वविद्यालयको सुविधायुक्त प्रयोगशालामा अनुसन्धानरत थिए। त्यही विश्वविद्यालयबाट उनले केही वर्ष पहिले विद्यावारिधि पनि गरेका थिए। विद्यावारिधिको अनुसन्धान सकिनासाथ उनका सुपरिवेक्षकले उनलाई त्यहीँ बसेर अनुसन्धान गर्न आकर्षक अनुसन्धानवृत्ति मिलाइदिएका रहेछन्। उनी दिनको अठार घन्टासम्म प्रयोगशालामा काम गर्थे। अनुसन्धानका क्रममा उनले आफ्ना सुपरिवेक्षकसँग मिलेर विश्वका प्रतिष्ठित जर्नलहरूमा शोधपत्रहरू प्रकाशन गरेका थिए। विद्यार्थीले मलाई आफ्नो अनुसन्धानबारे विस्तृत जानकारी दिँदै उनका हालै प्रकाशित केही शोधपत्र अध्ययनका लागि पनि दिएका थिए। उनको अनुसन्धान वास्तवमै उत्कृष्ट स्तरको थियो।
उनले चाहेको भए उनी त्यही विश्वविद्यालयमा लामो समय अनुसन्धानमा व्यस्त रहन वा अर्काे कुनै विकसित देशको राम्रो विश्वविद्यालय वा अनुसन्धान केन्द्रमा काम गर्ने अवसर पाउन सक्थे। तर तिनलाई नेपालमै फर्केर केही गर्ने इच्छा लागेर उनी नेपाल फर्केका रहेछन्। उनी आफ्नो अनुसन्धानलाई निरन्तरता दिन उपयुक्त संस्थाको खोजीमा थिए र मसँग सल्लाह गर्न आइपुगेका थिए। मलाई थाहा थियो, उनको अनुसन्धानलाई निरन्तरता दिन उपयुक्त अनुसन्धान केन्द्र नेपालमा छैन। नेपालमै बसेर काम गर्ने हो भने आफूले अनुसन्धान गर्दै आएको क्षेत्रलाई छाडेर नेपालमा सम्भव हुने अनुसन्धानका अरू कुनै नयाँ क्षेत्रमा काम गर्नु बुद्धिमानी हुने सल्लाह मैले दिएको थिएँ। त्यसैगरी मैले नेपालमा बसेर काम गर्दा अनुसन्धानमा जति गर्न सकिन्छ, त्यत्तिमै चित्त बुझाउन र निराश नहुन पनि सल्लाह दिएको थिएँ। साथै, अनुसन्धानमा लाग्ने भए उच्च माध्यमिक विद्यालयमा गएर आंशिक शिक्षकका रूपमा काम नगर्नु भन्ने मेरो सुझाउ थियो। मेरो विचारमा त्यसो गर्नु एक प्रकारको आन्तरिक प्रतिभा पलायन बराबर हुने थियो।
मेरा ती विद्यार्थीले त्रिभुवन विश्वविद्यालयमै अध्यापन र अनुसन्धान गर्न पाए आफ्नो अनुभवको सदुपयोग हुने देखेर सबैभन्दा पहिले त्रिविका सम्बन्धित विभागमा सम्पर्क राखे। तर त्रिविमा हाल करारमा कसैलाई पनि नयाँ नियुक्ति गर्न रोक लगाइएको रहेछ। त्यसैले त्रिविमा उनी र उनी जस्ता जनशक्तिका लागि ढोका बन्द थियो। त्यसपछि उनले अन्य ठाउँमा पनि काम पाउन प्रयास गरे। करिब ६ महिनापछि बल्ल उनले एउटा वैज्ञानिक संस्थामा अस्थायी रूपमा वैज्ञानिक भएर काम गर्ने अवसर पाए। काम त पाए, तर विद्यावारिधि शैक्षिक योग्यता भएका, विश्वका प्रतिष्ठित जर्नलमा कैयौँ स्तरीय शोधपत्र प्रकाशित गरेका र लामो समय अनुसन्धानमा बिताएका वैज्ञानिक भएर पनि उनले पाउने तलब अति न्यून थियो।
रोजगार र तलब त पाए, किन्तु प्रयोगशालामा दैनिक लामो लोडसेडिङले विद्युत्को अभाव, पानीको अभाव तथा अन्य कठिनाइका कारण उनले आफूले चाहेर पनि कुनै खास अनुसन्धान गर्न सकेनन्। परिवारप्रति उनको आर्थिक दायित्व पनि थियो। आफू कार्यरत संस्थामा रहेर उचित तलव पनि नपाउने र अनुसन्धान पनि गर्न नसकिने भएपछि उनी अन्ततः आफ्नो जागिर छाडेर कुनै उच्च माध्यमिक विद्यालयमा शिक्षकको रूपमा संलग्न भए। उनी सक्षम अनुसन्धानकर्ताबाट एउटा निजी कलेजबाट अर्को कलेजमा पढाउँदै कुद्ने 'हेल्मेट' शिक्षकमा परिणत भए। विदेशबाट नेपाल फर्केका कतिपय प्रतिभाशाली नेपाली युवा वैज्ञानिकको प्रतिनिधि कथा हो यो।
विकसित देशबाट उत्कृष्ट स्तरको वैज्ञानिक अनुुसन्धानको अनुभव बोकेर नेपाल फर्केका नेपाली युवा वैज्ञानिकले आफ्नो देशमा आफूले चाहेको संस्थामा काम नपाउनु, कैयौँ महिनापछि बल्ल काम पाउनु, काम पाएर पनि उचित तलब नपाउनु र अनुसन्धानका लागि आवश्यक पूर्वाधार र वातावरण नपाएर आफ्नो ज्ञान, सीप र अनुभव खेर फालेर उच्च माध्यमिक विद्यालयको शिक्षक बन्नुपर्ने अवस्था भइरहँदा करिब ४० वर्षअघि मेरा एकजना दक्षिण कोरियाली साथीले आफ्नै देशमा बसेर अनुुसन्धान गर्न पाएको प्रोत्साहन र सहयोगको सम्झना हुन्छ।
सन् १९७० को सुरुको दशकमा पंक्तिकार जर्मनीको फ्राइबुर्ग विश्वविद्यालयमा अनुसन्धान गरिरहँदा एक जना दक्षिण कोरियाली विद्यार्थी पनि सँगै विद्यावारिधि गर्दै थिए। हामी दुवैजनाको सुपरिवेक्षक एकै जना थिए। आफ्नो विद्यावारिधिको अनुसन्धान पूरा हुुनु केही महिनाअघि उनले दक्षिण कोरियाका विभिन्न विश्वविद्यालयमा कामका लागि पत्राचार गरे। केही दिनमै उनले एउटा प्रतिष्ठित विश्वविद्यालयबाट आकर्षक पदको प्रस्ताव प्राप्त गरे। उनले कोरिया फर्केर त्यही विश्वविद्यालयमा काम गर्ने निधो गरे। कोरिया फर्केर जर्मनीमा आफूले गर्दै आएको अनुसन्धानलाई निरन्तरता दिन आवश्यक आधुनिक उपकरण जर्मनीबाटै किनेर सँगै ल्याउनसमेत उनलाई उक्त विश्वविद्यालयले आवश्यक आर्थिक अनुदान पनि उपलब्ध गराउने भयो। यसरी आफ्नो विद्यावारिधि पूरा गरी स्वदेश फर्कनुअघि नै उनको रोजगारी, अनुसन्धान र भविष्य सुनिश्चित भइसकेको थियो।
करिब ३० वर्षपछि दक्षिण कोरिया भ्रमणमा जाँदा मैले कोरियाका ती पुराना साथीलाई फेरि भेट्ने मौका पाएँ। त्यतिबेला उनी आफ्नो विश्वविद्यालयमा प्राध्यापक र विभागीय प्रमुख थिए। उनको प्रयोगशाला अमेरिका वा युरोपको कुनै पनि प्रतिष्ठित विश्वविद्यालयको भन्दा कम सुविधायुक्त थिएन। त्यहाँ दर्जनौ विद्यावारिधिका विद्यार्थी दिनरात अनुसन्धानरत थिए। केही विदेशी आगन्तुक अनुसन्धाकर्तासमेत त्यहँा कार्यरत थिए। करोडौँ डलर बराबरको वार्षिक बजेट उपलब्ध थियो।
कुनै दिन हामी दुवैजना जर्मनीको उही विश्वविद्यालयको उही प्रयोगशालामा उही सुपरिवेक्षकअन्तर्गत एउटै विषयमा विद्यावारिधि गर्दै थियौँ। हुन त कोरिया भ्रमणमा जाँदा म पनि त्रिविमा आफ्नो विभागको प्राध्यापक र प्रमुख भइसकेको थिएँ। तर कोरियाको मेरो साथीको विभागमा उपलब्ध अनुसन्धानको सुविधा र वातावरण मेरा लागि नेपालमा कहिल्यै पूरा नहुने सपना थियो। त्यतिबेला कोरियाली साथीको मासिक तलब करिब ५ हजार अमेरिकी डलर बराबर थियो। मेरो मासिक तलब करिब १ सय पचास अमेरिकी डलर बराबर थियो। अन्यथा अर्थ नलागोस्, जर्मनीमा विद्यार्थी छँदा म कोरियाली साथीभन्दा पढाइ र अनुसन्धानमा उत्तम थिएँ। उनको देशले विज्ञान, प्रविधि र अनुसन्धानको महŒव बुझेको थियो भने मेरो देशले चाहिँ त्यो कहिल्यै बुझेन। त्यही भएर उनले र उनको देशले ठूलो प्रगति गरे, मैले र मेरो देशले त्यस्तो प्रगति गर्न सकेनौ।
कोरिया सरकारले विदेशमा तालिमप्राप्त आफ्नो देशको उच्च वैज्ञानिक जनशक्तिको महŒव राम्ररी बुझेर उनीहरूलाई स्वदेश फर्कन उचित अवसरसहित प्रोत्साहित गरेकाले पनि त्यस देशले विज्ञान एवं प्रविधिमा आज त्यति धेरै विकास र आर्थिक उन्नति गर्न सकेको हो। नेपालमा राज्य सञ्चालकले दशकौँदेखि यदाकदा भाषणमा देश विकासमा विज्ञान, प्रविधि र अनुसन्धान अपरिहार्य भएको बताउने गरेपनि व्यवहारमा उनीहरूको भनाइ र गराइ ठिक विपरीत रह्यो। हालैमात्र विज्ञान तथा प्रविधि मन्त्रालयलाई फेरि वातावरण मन्त्रालयमा गाभ्नुबाट आज पनि विज्ञान र प्रविधि हाम्रो राज्यको प्राथमिकता सूचीमा नपरेको स्पष्ट हुन्छ। देशमा वैज्ञानिक अनुसन्धानको उचित अवसर, पूर्वाधार र वातावरण विकास हुन नसक्दा नेपालको वैज्ञानिक समुदाय राज्यलाई विज्ञान, प्रविधि र अनुसन्धानको महत्वबारे राम्ररी बुझाउन असफल भएको महसुस हुन्छ ।
हिजोआज युरोप, अमेरिकालगायतका विदेशका प्रतिष्ठित विश्वविद्यालय तथा अनुसन्धान केन्द्रमा थुप्रै नेपाली युवा वैज्ञानिक अनुसन्धानरत छन्। तीमध्ये केहीले मसँग इमेलमार्फत् पत्राचार गर्छन्। उनीहरू प्रायः नागरिक दैनिकमा प्रकाशित मेरा विज्ञानसम्बन्धी लेख पनि पढ्दा रहेछन्। उनीहरू मलाई आफ्नो अनुसन्धानबारे विस्तृत जानकारी दिन्छन्। तिनको पत्राचारबाट स्पष्ट हुन्छ, उनीहरू विश्वस्तरको उत्कृष्ट अनुसन्धानमा संलग्न छन्। उनीहरूले 'नेचर', 'साइन्स' लगायतका विश्वप्रख्यात जर्नलमा शोधपत्र प्रकाशन गरेका छन्। तीमध्ये अधिकांश नेपाल फकौँ वा नफर्कौँ भन्ने द्विविधामा छन्। उनीहरू नेपालमा वैज्ञानिक अनुसन्धानका सम्भावना र सुविधाबारे जान्न चाहन्छन्। नेपाल फर्किनु ठिक होला, नहोला भन्नेमा मेरो राय बुझ्न चाहन्छन्।
एकातिर विदेशबाट नेपाल फर्केका प्रतिभाशाली युवा वैज्ञानिकको निराशाजनक हालत देखेर उनीहरूलाई फर्किन सल्लाह दिन मलाई संकोच लाग्छ। अर्कोतर्फ विदेसिएका सबै युवा उतै रहे देशमा विज्ञान र अनुसन्धानको कसरी विकास होला जस्तो लाग्छ। त्यसैले विदेशमा अनुसन्धानरत ती नेपाली युवा वैज्ञानिकले नेपाल फर्किनु उचित होला वा नहोला भन्नेबारे मेरो विशुद्ध निष्पक्ष राय माग्दा म धर्मसंकटमा पर्ने गर्छु। मैले उनीहरूलाई आफ्नै व्यक्तिगत अनुभवको आधारमा भन्ने गरेको छु, 'विज्ञानको समग्र विकासमा योगदान दिनु महत्वपूर्ण लाग्छ भने विदेशमै बसेर अनुसन्धान गर्नु, तर देशको विकासमा योगदान दिनु बढी महत्वपूर्ण लाग्छ भने नेपाल फर्किनु। नेपाल फर्किने हो भने नेपालमा उपलब्ध अवसर र सुविधामा चित्त बुझाउने मानसिकता र मनस्थिति बोकेर आउनु। आवश्यक परे आफूले लामो समयदेखि अनुसन्धान गर्दै आएको क्षेत्रलाई छाडेर नेपालमा सम्भव भएका अरू कुनै नयाँ क्षेत्रमा काम गर्न तयार हुनु। अन्तिम निर्णय आफैँ गर्नु।'
करिब ६ दशकअघि पश्चिमी मुलुकबाट विद्यावारिधि गर्ने पहिलो नेपाली वैज्ञानिक तथा देशका अति सम्मानित प्राध्यापक स्व. ध्र्रुवमानसिंह अमात्यले एकपल्ट मलाई भन्नु भएको थियो, 'दयानन्द, मैले बेलायतमा विद्यावारिधि र अनुसन्धान गरेको नेपालको लागि केही काम लागेन। मैले देशमा अनुसन्धानका क्षेत्रमा केही योगदान पुर्‍याउन सकिन। बरु, यहाँ त अध्यापनका लागि भारतमा स्नातकोत्तर गरेको बढी उपयोगी भयो।' आज पनि विकसित मुलुकका प्रतिष्ठित विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका र अनुसन्धानमा लामो अनुभव प्राप्त गरी नेपाल फर्केका कतिपय प्रतिभाशाली नेपाली युवा वैज्ञानिकको स्थिति त्यतिबेलाको ध्र्रुवमानसिंह अमात्यको भन्दा खासै फरक हुनसकेको छैन।


अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस