आदर्श गुमाएका प्राध्यापक
११ जेष्ठ २०६९
•
२० मिनेट पाठ
आदर्श गुमाएका प्राध्यापक
'कीर्ते हाजिर गरी तलब बुझ्छन् प्राध्यापक।' 'महिनाको एकै पटक हाजिर गर्दै, तलब बुझ्दै।' 'त्रिविमा प्राध्यापकहरूको मनपरी।' केही दिनअघि काठमाडौँबाट प्रकाशित हुने केही प्रमुख दैनिक अखबारमा छापिएका समाचारका शीर्षक हुन् यी। यी समाचारले देशकै सबैभन्दा पुरानो, प्रतिष्ठित एवं महत्वपूर्ण त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरूको अनुशासन, नैतिकता र प्राज्ञिक मर्यादामा गम्भीर प्रश्न उठाएका छन्। अनुशासन र नैतिकताको उदाहरणीय नमुना बन्नुपर्ने विश्वविद्यालयका प्राध्यापकका यस्ता व्यवहारले हाम्रो देशको उच्च शिक्षा क्षेत्रमा देखिएको विसंगति उजागर गरेको छ।
केही दिनअघि त्रिविको महत्वपूर्ण शैक्षिक संस्था कीर्तिपुर क्याम्पसमा त्यहाँका स्वतन्त्र विद्यार्थी युनियन (अखिल क्रान्तिकारी संगठन) का पदाधिकारीले आठ विभागको आकस्मिक अनुगमन गर्दा क्याम्पस प्रमुख, विभागीय प्रमुख, वरिष्ठ प्राध्यापकलगायत ९१ व्यक्तिले नियमित क्याम्पस नआएर एकै चोटि हाजिर गरेको समाचार सञ्चारमाध्यममा आएको थियो। कतिपय प्राध्यापकले तलब बुझ्ने समयमा एक महिनाको हाजिर एकैपल्ट गरेको समेत पाइएको थियो भने कतिपयले हाजिरै नगरी तलब खाएको फेला परेको थियो। कतिपय प्राध्यापकले आउन बाँकी दिनको समेत अग्रिम हाजिर गरेको पाइएको थियो। केही शिक्षकले सार्वजनिक बिदाको दिनको समेत हाजिर गरेको पाइयो। अनुगमन गरिएका विभागमा २० प्रतिशत शिक्षकले मात्र नियमित हाजिर गरेको पाइएको थियो। नियमित क्याम्पस नआएर कीर्ते हाजिर गर्नेहरूमध्ये कीर्तिपुर क्याम्पसमा पठनपाठन हुने चारवटै संकाय शिक्षा, मानविकी, व्यवस्थापन तथा विज्ञान विभागका अति प्रतिष्ठित एवं वरिष्ठ प्राध्यापकहरूसमेत पाइएको थियो। क्याम्पस प्रमुखले त हाजिर कापी नै आफ्नै झोलामा बोकेर हिँड्ने गरेको विद्यार्थीको आरोप छ।

कतिपय शिक्षकले क्याम्पस आएर पनि नियमित कक्षा नलिने गरेको विद्यार्थीको गुनासो छ। विश्वविद्यालयमा नियमित हाजिर नहुने र हाजिर भए पनि कक्षा नलिने अधिकांश प्राध्यापकले निजी क्याम्पस चलाउँदै आएको विद्यार्थीको भनाइ छ। यस्ता प्राध्यापक त्रिविभन्दा आफू संलग्न निजी क्याम्पसप्रति बफादार हुन्छन् र निजी क्याम्पसमै बढी समय बिताउँछन्। प्राध्यापकहरूको यिनै प्रवृत्तिले गर्दा त्रिविको शैक्षिक गुणस्तरमा गिरावट आएको र पढाइ निर्धारित समयमै सम्पन्न हुन नसकेको विद्यार्थीको गुनासो छ।
विद्यार्थीबाट शिक्षकको हाजिरी अनुगमन हुनुलाई त्रिवि प्राध्यापक संघले अनधिकृत, अवैधानिक तथा अमर्यादित भन िघोर भर्त्सना गरेको छ। 'एकाध प्राध्यापकबाट हुन गएको गल्तीलाई आधार बनाएर विद्यार्थीबाट समग्र प्राध्यापक वर्गको तेजोबध गर्नु निन्दनीय कार्य हो' भन्दै त्रिवि प्राध्यापक संघका पदाधिकारीले विज्ञप्ति निकालेका थिए। केही प्राध्यापकले थोरै शिक्षकको हाजिरीसम्बन्धी अनैतिक कार्यले गर्दा निष्ठावान् तथा सम्पूर्ण प्राध्यापक समुदाय बदनाम भएको भनी रोष व्यक्त गरेका छन्। त्रिविका केन्द्रीय पदाधिकारीले पनि कीर्तिपुर क्याम्पसमा विद्यार्थीले प्राध्यापकहरूको हाजिरीको अनुगमनलाई अनुशासनहीनता र अराजकताको संज्ञा दिँदै खेद प्रकट गरेका छन्। शिक्षाध्यक्षले प्राध्यापकहरूले हाजिर गर्दा मनपरी गरेको आफूलाई जानकारी नभएको र छानबिनपछि त्यसो भएको भए कारबाही हुनेछ भनेका छन्।

त्रिविका केन्द्रीय पदाधिकारी तथा प्राध्यापक संघका पदाधिकारीले भनेअनुसार विद्यार्थीले शिक्षकको हाजिरी अनुगमन गर्नुलाई अनाधिकृत, अवैधानिक तथा अमर्यादित कार्य हो भनेे क्याम्पस नआएका दिनको हाजिर गर्ने र क्याम्पस आए पनि कक्षा नलिने तर तलब भने लिने प्राध्यापकहरूको कार्यलाई कसरी वैधानिक तथा मर्यादित कार्य भन्ने? वास्तवमा त्रिविका केन्द्रीय पदाधिकारी तथा प्राध्यापक संघका पदाधिकारीले विद्यार्थीको मात्र निन्दा गर्नुभन्दा पनि कीर्ते हाजिर गरी कक्षा नलिई तलब खाने प्राध्यापकहरूको पनि निन्दा गर्नुपर्ने थियो। त्यसो नगरेर त्रिविका पदाधिकारीले त्यस्ता भ्रष्ट प्राध्यापकको बचाउ गर्न खोजिएको देखियो। यसो गर्नु विश्वविद्यालयजस्ता प्राज्ञिक संस्थाका जिम्मेवार पदाधिकारीलाई सुहाउँदैनथ्यो।
विद्यार्थीबाट शिक्षकको हाजिरीको अनुगमन हुनुलाई नियमविपरीत भनी त्रिविका पदाधिकारीेले स्ववियुका विद्यार्थीलाई अनुशासनहीनता र अराजकताको आरोप लगाएछन्। निश्चय पनि, शिक्षकको हाजिरीको अनुगमन गर्ने र हाजिरकापीमा रातो चिह्न लगाउने काम विद्यार्थीको होइन। तर, सम्बन्धित विभागीय प्रमुख वा क्याम्पस प्रमुखले शिक्षकहरूले कक्षा लिएको वा नलिएको र हाजिरीको नियमित अनुगमन गरी कीर्ते हाजिर गर्ने प्राध्यापकलाई समयमै कारबाही गर्ने गरेको भए विद्यार्थीले यस्ता अनुगमन गर्नुपर्ने अवस्था सायद आउनेे थिएन। तर, अधिकांश विभागीय प्रमुख आफ्ना सहकर्मी शिक्षकको अध्यापन, हाजिरी अनुगमन गर्दैनन् र अनियमितता गर्नेलाई कारबाही गर्न सक्दैनन् वा चाहँदैनन्। कतिपय विभागमा राजनीतिक आधारमा कनिष्ठ शिक्षकलाई प्रमुख बनाइएको हुन्छ। यस्ता विभागीय प्रमुख आफूभन्दा वरिष्ठ वा आफ्नै पूर्व शिक्षकको हाजिर कापी जाँच्ने र आवश्यक परे कारबाही गर्ने आँट गर्नै सक्तैनन्। सायद यस्तै भएर विद्यार्थीले नै शिक्षकको हाजिरीको अनुगमन गर्नुपर्ने अवस्था सिर्जना भएको हो।
प्राध्यापकहरूले आफ्नो कक्षामा नियमित नपढाइदिँदा सबैभन्दा बढी नोक्सान बेहोर्नुपर्ने वर्ग विद्यार्थी नै हुन्। त्यसैले प्राध्यापकहरू कक्षामा नियमित होऊन् र पढाइ राम्रो होस् भन्ने विद्यार्थीको चाहनालाई गलत भन्न मिल्दैन। विश्वविद्यालयमा भएका विकृतिमा सुधार ल्याउन विद्यार्थीलगायत जोकसैले गरेको प्रयासलाई पनि सकारात्मक रूपमा लिनुपर्छ। कतिपय पश्चिमी मुलुकका प्रतिष्ठित विश्वविद्यालयमा विद्यार्थीले प्राध्यापकको अध्यापन कार्यको मैल्यांकनसमेत गर्न पाउने औपचारिक व्यवस्था गरिएको हुन्छ। एक्काइसौँ शताब्दीमा पनि विद्यार्थीले प्राध्यापकको कमजोरीबारे टिप्पणी गर्नै मिल्दैन भन्ने सोच पाल्नु समयसापेक्ष हुँदैन। तसर्थ त्रिविका विद्यार्थीले प्राध्यापकहरूको अनैतिक र अनियमित कार्य औँल्याउनुलाई अनुशासनहीनता वा अराजकता ठान्नु उचित हुँदैन।
प्राध्यापक संघका पदाधिकारीले कीर्ते हाजिर गर्ने र कक्षा पनि नलिने प्राध्यापकको संख्या एकाधमा सीमित भएको दाबी गरेको छ। तर, स्ववियु पदाधिकारीका अनुसार कीर्तिपुर क्याम्पसका आठ विभागको अनुगमन गर्दा ९१प्राध्यापकले हाजिरीमा अनियमितता गरेको पाइयो। यो संख्या औसतमा प्रतिविभाग ११ भन्दा बढी हुन आउँछ। कीर्तिपुर क्याम्पसमा मात्र ३० भन्दा बढी केन्द्रीय विभागहरू छन्। माथि उल्लेखित कीर्ते हाजिर गर्ने प्राध्यापकको औसत संख्यालाई आधार मान्ने हो भने कीर्तिपुर क्याम्पसमा मात्र तीन सयभन्दा बढी प्राध्यापकले हाजिरीमा अनियमितता गर्ने गरेको अनुमान गर्न सकिन्छ।
आउँदै नआएका दिनको हाजिर एकैपटक गर्ने प्रवृत्ति कीर्तिपुर क्याम्पसका प्राध्यापकमा मात्र सीमित नभइ त्रिविका देशभरका क्याम्पसमा विद्यमान छ। त्रिविअन्तर्गत सबै क्याम्पसमा गरी ७ हजारभन्दा बढी प्राध्यापक अध्यापनरत छन्। कीर्तिपुर क्याम्पसमा करिब २० प्रतिशत शिक्षकमात्र नियमित हाजिर हुने गरेको विद्यार्थीले गरेका अनुगमनको क्रममा पाइएको छ। अर्थात् कीर्तिपुरका ८० प्रतिशत प्राध्यापक हाजिरीमा अनियमितता गर्छन्। त्रिविका अन्य क्याम्पसमा पनि यही प्रतिशतमा प्राध्यापकहरू हाजिरीमा अनियमितता गर्छन् भने त्रिविमा कीर्ते हाजिर गर्ने कूल शिक्षक संख्या ५ हजार नाघ्छ। यो अनुमानित संख्यामात्र हो। विश्वविद्यालय आफैँले अनुगमन गरे वास्तविक संख्या थाहा पाउन सकिन्छ। यति ठूलो संख्यामा प्राध्यापकहरूबाट हाजिरीसम्बन्धी अनियमितता हुनु वास्तवमै त्रिविका लागि लाजको विषय हो।
शिक्षाध्यक्षले प्राध्यापकहरूले हाजिर गर्दा मनपरी गरेको आफूलाई जानकारी नभएको र छानबिनपछि त्यसो भएको भए कारबाही हुन्छ भनेका छन्। शिक्षाध्यक्षको यस भनाइलाई पनि विश्वास गर्न गाह्रो छ। त्रिविका कतिपय प्राध्यापकले क्लास लिँदैनन् र विभागमा नियमित हाजिर हुँदैनन् भन्ने कुरा त्रिविमा कार्यरत प्रायः हरेक व्यक्तिलाई थाहा छ। यसैगरी त्रिविका कैयन् प्राध्यापकहरू त्रिविमा भन्दा बढी निजी क्याम्पसमा समय बिताउँछन् भन्ने पनि सर्वविदित छ। त्रिविका कतिपय प्रतिष्ठित प्ा्राध्यापकको तस्बिर विभिन्न निजी कलेजको सार्वजनिक विज्ञापनमा समेत देख्न पाइन्छ। यसबारे त्रिविका केन्द्रीय पदाधिकारीहरू अनभिज्ञ छन् भनेर विश्वास गर्न गाह्रो छ।

वास्तवमा हरेक मुलुक र समाजले विश्वविद्यालयका शिक्षकबाट ठूलो नैतिकता र आदर्शको अपेक्षा गरेको हुन्छ। विद्यार्थीका लागि उनीहरू उदाहरण र आदर्श हुन्छन्। हाम्रै देशको कुरा गर्ने हो भने हाम्रो संस्कृति र परम्पराअनुसार गुरुलाई देउतासमान आदर गरिन्छ र पुजिन्छ। तर, समाजमै नैतिकताको नमुना बन्नुपर्ने विश्वविद्यालयका प्राध्यापकबाटै कीर्ते हाजिर गर्ने, कक्षा नलिने तर तलब खानेजस्ता अनैतिक काम हुन थालेपछि नेपाली समाजले कसबाट नैतिकता र आदर्शको आशा गर्ने? नैतिकता र आदर्शविनाको समाज कुन दिशामा जाला? यसको विकास कसरी होला?
प्राध्यापकहरूमा उच्च नैतिकता हुने अपेक्षा गरिने र उनीहरू स्वअनुशासनबाट निर्देशित हुने विश्वास गरिएकाले सामान्यतया बाहिरका विश्वविद्यालयमा कार्यरत प्राध्यापक तथा अनुसन्धानकर्तालाई काम गर्ने औपचरिक समय तोकिएको हुँदैन। उनीहरूले हाजिर पनि गर्नु पर्दैन। यसको अर्थ उनीहरू कार्यालय आए पनि हुने, नआए पनि हुने वा औपचारिक कार्यालय समयभन्दा कम समयका लागि काम गरे पुग्छ भन्ने होइन। यसको अर्थ हो, उनीहरू कार्यालय समयअघि र पछि पनि काम गर्न स्वतन्त्र छन्। विश्वविद्यालयका प्राध्यापकहरूलाई विभाग र पुस्तकालयको ढोका चौबीसै घण्टा खुला हुन्छ। कुनै पनि बेला विभागमा प्रवेश गर्न उनीहरूलाई विभागको साँचो उपलब्ध गराइएको हुन्छ। विशेषगरी युवा शिक्षक तथा अनुसन्धानकर्ताहरू त काम गर्न रात पनि विभागमै बिताउँछन्। विश्वविद्यालयका प्राध्यापकहरूको प्राज्ञिक स्वतन्त्रता हो यो। उनीहरूको कामप्रतिको समर्पणमा कसैले शंका गर्दैनन्। विश्वविद्यालयका शिक्षकहरू आफ्नै विवेक र अनुशासनबाट निर्देशित हुन्छन्। त्यसैले विशेषगरी विकसित मुलुकको समाजमा विश्वविद्यालयका प्राध्यापकहरू समाजकै सबैभन्दा प्रतिष्ठित र सम्मानित वर्गमा पर्छन्।
विश्वव्यापी चलनअनुसारै त्रिवि एवं नेपालका अन्य विश्वविद्यालयमा पनि शिक्षकका लागि १० देखि ५ को कार्यालयको नियम लागू हुने गरेको छैन। उनीहरूलाई पनि आफ्नो अनुकूल समयमा विश्वविद्यालय आउने, जाने प्राज्ञिक स्वतन्त्रता छ। तर, हाम्रा विश्वविद्यालयका कतिपय प्राध्यापकले प्राज्ञिक स्वतन्त्रताको दुरुपयोग गर्दै समयमा कक्षा नलिने, नआएको दिनको हाजिर गर्ने र कार्यालय समयमै निजी क्यम्पस गएर पढाउनेजस्ता अनैतिक कार्य गर्ने गरेका छन्। यसले गर्दा आज हाम्रो समाजमा विश्वविद्यालयका प्राध्यापकहरू बदनाम हुन थालेका छन्। कतिपय नेपालीले 'प्राडा' शब्दलाई नै उपहास गर्ने गरेको समेत पाइन्छ।
केही वर्षअघि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का केही वैज्ञानिक प्रतिष्ठानको नियमविपरीत कार्यालय समयमै विभिन्न क्याम्पसमा अध्यापनमा संलग्न हुने गरेको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो। आयोगले अनुसन्धान थालेपछि आरोपित वैज्ञानिकहरू प्रतिष्ठानबाट राजीनामा दिन बाध्य भएका थिए। आज त्रिविलगायत देशका अन्य विश्वविद्यालयका कैयौँ शिक्षकहरू नियमविपरीत खुलेआम निजी क्याम्पसमा अध्यापन गर्छन् भन्ने थाहा पाउँदापाउँदै पनि विश्वविद्यालयका जिम्मेवार पदाधिकारीले त्यस्ता शिक्षकमाथि केही कारबाही गर्न सकेका छैनन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै नियमविपरीत निजी क्याम्पसमा अध्यापन गर्ने विश्वविद्यालयका शिक्षकमाथि कारबाहीको प्रक्रिया थाल्ने हो भने नास्टबाट जस्तै विश्वविद्यालयबाट पनि त्यस्ता विकृति धेरै हदसम्म हट्ने अपेक्षा गर्न सकिन्छ।
त्रिवि देशकै सबैभन्दा ठूलो र महत्वपूर्ण उच्च शिक्षाको केन्› हो। तर, यसको अवस्था झन्झन् बिग्रँदो छ। शिक्षकहरू नियमित हाजिर हुँदैनन्, क्लास लिँदैनन्। विद्यार्थीको ध्यान पढाइमा होइन, राजनीतिमा छ। उनीहरूलेे मेहनत गर्न छाडिसके। त्रिविका कतिपय क्याम्पस कहिलेकाहीँ शिक्षाको मन्दिर नभएर विद्यार्थीको युद्धभूमि बन्ने गरेका छन्। यसले त्रिविमा अराजकता उत्पन्न भएको मात्र होइन, विद्यार्थीको भविष्यमा पनि उनीहरूले थाहा नपाई ग्रहण लागिरहेको छ। त्रिविमा व्याप्त यस्ता विकृति हटाएर सुधार नल्याएसम्म शिक्षाको विकास हुन सक्दैन र देश पनि उँभो लाग्दैन।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस