कांग्रेसको अवसान
०९ जेष्ठ २०६९
•
१५ मिनेट पाठ
कांग्रेसको अवसान
रामायणमा बालीलाई रामले लुकेर वाण हानी मारेको प्रसंग छ। वाण लागेर ढलेका बालीको मुखबाट रामलाई खप्की सुनाएका छन् भानुभक्तले - 'चोरी मारी लियौ न यश हुन गयो न मासु खानु भयो।' बाली अजेय वीरमध्येमा गनिन्थे। उनलाई लडाइँमा जितेका भए रामको कीर्ति संसारभर फैलन्थ्यो होला। तर, बालीलाई लुकेर मारेकाले त्यो रामको वीरता भएन, सिकार भयो। सिकारीले लुकेर हान्छ।
सिकारमा मारिएका पशुपंक्षीको मासु खाने चलन छ। सिकार भए पनि बानरराज बालीको मासु खाने कुरा भएन। अर्थात्, बालीको बध रामका लागि व्यर्थको पापमात्र भयो।
नेपाली कांग्रेसका लागि २०६३ पछिको राजनीतिक परिवर्तन 'बाली बध' साबित हुँदै गएको छ। कांग्रेसले न परिवर्तनको जस लिनसक्यो न त्यसको प्रतिफल। कांग्रेसले पाउने भनेको तम्सुके प्रधानमन्त्री पनि भाखा नाघेर बातिल (भुस) हुने लक्षण देखिन थालेको छ। बाबुराम भट्टराई धमाधम मन्त्री थप्दा छन्। सहमति उल्टिँदै छ। थोक (प्याकेज)मा गरिएको सहमतिमध्ये एउटा उल्टिए सबै उल्टिन्छ भनेर कांग्रेस र एमालेकै नेताले भनेका हुन्। त्यस अवस्थामा त्यो प्रधानमन्त्री हुने सहमतिमात्र त कसरी कार्यान्वयन होला र? पश्चिमबाट सूर्योदय भएछ नै भने पनि त्यसले मुलुक र कांग्रेस पार्टीकै पनि हित हुन्छ भनेर विश्वास गर्ने आधार के छ र?
मुलुक इतिहासको सबैभन्दा कठिन संकटमा छ। आधुनिक नेपालका परिकल्पनाकारले स्थापना गरेको र अहिलेसम्मका सबै सफल आन्दोलनको अगुवाइ गर्दै आएको नेपाली कांग्रेस अहिले प्रतिक्रियाको राजनीतिमा सीमित भएको छ। पछिल्लो पटक कांग्रेसले ११ प्रदेश, प्रत्यक्ष निर्वाचित राष्ट्रपति र संसदीय प्रधानमन्त्री, संवैधानिक अदालतआदि बुँदामा माओवादीसँग सहमति गरेको छ। अहिले गरिएको सहमतिअनुसारको शासन प्रणालीले मुलुकलाई झन् अक्करमा पार्ने निश्चित छ। प्रत्यक्ष निर्वाचित राष्ट्रपतिलाई कार्यकारी अधिकार नदिने तर्कै हास्यास्पद हो। शासनमा संसदीय सर्वोच्चता हुने हो भने राष्ट्रपतिको प्रत्यक्ष निर्वाचनै किन गर्नु? कार्यकारीको प्रत्यक्ष निर्वाचन नेपाली कांग्रेसले स्वीकार गर्नैहुँदैन थियो। गरिसकेपछि त्यसलाई पूर्ण कार्यकारी अधिकार सम्पन्न बनाउनुपर्र्छ। अहिलेको 'घर न घाट' शैलीको शासकीय स्वरूपमा जनताप्रतिको उत्तरदायिता गौण हुन पुगेको छ। फलस्वरूप, 'सप्रे खोसाखोस - बिग्रे दोषादोष' शासकीय संस्कृति हुनेछ।
यस्तै प्रदेशहरूको संख्या किटान पनि तर्कसंगत छैन। काठमाडौँलाई तराईको नाकाबन्दीबाट जोगाउन चितवनसँग मिसाउने तर अरू प्रदेशलाई चाहिँ भारतको नाका नचाहिने? यो राजधानी जोगाए पुग्ने र मधेसी जनताको देशभक्तिप्रति अविश्वास गर्ने पञ्चायती मानसकिताकै निरन्तरता हो। यथार्थमा मधेसका जिल्लालाई पहाडसँग मिसाउन खोज्नु पञ्चायतको अञ्चले मानसिकताकै निरन्तरता हो।
कांग्रेसले जिल्लाहरू कायमै र अखण्ड राख्ने घोषणा गरेको छ। अरूजस्तै यो घोषणा पनि कुनै सिद्धान्तमा आधारित छैन। पञ्चायतमा थियो त्यसैले चाहिन्छ भन्नेबाहेक अरू तर्क देखिँदैन। त्यसो भए राज्यको पुनर्संरचना गर्ने नै किन? क्षेत्र, अञ्चल र जिल्लामात्र हैन आवश्यकताअनुसार गाउँ विकास समिति पनि विभाजन गर्नुपर्छ। उदाहरणका लागि नवलपुर (नवलपरासीका डाँडावारी) जनताले चितवनमा मिसाउने माग गरेका छन्। त्यो माग उचित र स्वाभाविक देखिन्छ। अहिले जिल्ला अखण्ड राख्ने हैन जनसुविधा र आवश्यकताअनुसार नयाँ संरचना बनाउनुपर्छ। यसै पनि अब प्रशासनिक जिल्लालाई निर्वाचन क्षेत्रसँग जोड्नुको कुनै सैद्धान्तिक र व्यावहारिक संगति देखिँदैन। मतदाता संख्याकै आधारमा संसद्मा स्थान दिनुको साटो बहुमतलाई शासनमा पुग्न नदिन गरिएको जिल्लागत प्रतिनिधित्व गराउने पञ्चायती परम्परा कायम राख्नु लोकतन्त्रको मर्म विपरीत पनि हुन्छ।
संघीयताकै मान्यताका दृष्टिले पनि पछिल्लो सहमति त्रुटिपूर्ण छ। कांग्रेसले स्वीकार नगरे पनि एकल जातीय पहिचानका आधारमा भौगोलिक क्षेत्रको विभाजन हुने नै देखिन्छ। संस्थापन पक्ष भएको भ्रममा जनता चिड्याउने शैली कांग्रेसका लागि प्रत्युत्पादक सिद्ध भइसकेको छ। त्यसैमा टाँसिनु यथार्थमा कांग्रेसका लागि आत्मघाती सिद्ध हुनेछ। माओवादीले संघीयताको नारा जप्नु त 'कोइलीले कागको गुँडमा फुल' पारेजस्तो हो। वास्तविक संघीयता लोकतन्त्रमा मात्र सम्भव हुन्छ। यसैले, कांग्रेसले संघीयताको मूल्यलाई बेलैमा आत्मसात् गरेको भए अहिलेको संकट उत्पन्न हुने थिएन र भइहाले पनि त्यसको दोषभागी हुनुपर्ने थिएन। आश्चर्य, जति ओरालो लागे पनि कांग्रेसका नेताहरूले वास्तविकतालाई वस्तुगत र सैद्धान्तिक आधारमा आत्मसात गरेको देखिएन। उनीहरू त सर्पले समातेको भ्यागुताले झिँगा खान खोजेजस्तै सत्ताको लोभमात्र गरिरहेका देखिन्छन्।
मानव अधिकार, स्वतन्त्र न्यायालय वा द्वन्द्वका जघन्य अपराधीलाई सजाय दिनेजस्ता विषय अहिले कांग्रेसको कार्यसूचीमै पर्न छाडेका छन्। सत्ताको लोभमा कुनै क्रियाशील राजनीतिक दलको यति ठुलो पतन संसारमा बिरलै भएको होला। राज्य र माओवादीद्वारा मारिएका, बेपत्ता पारिएका नागरिकलाई कांग्रेसले औपचारिकताका लागि पनि सम्झने गरेको छैन। सबैको मञ्च बन्दै आएको नेपाली कांग्रेसका आजका नेताले पार्टीको राजनीतिक धरातल बिर्सेका छन्। सिद्धान्त छाडेका छन्। यसैले कांग्रेसको पहिचान गुमिसकेको छ। सामर्थ्य त झन् के नै पो देखियो र? सत्ताका लोभमा कहिल्यै पालन नहुने सम्झौता गरिररहनु 'झर्ला र खाउँला' भनेर पछि लाग्नु नेपाली कांग्रेसको प्रवृत्ति र नियति बन्न जो पुगेको छ।
कांग्रेस यस्तो अक्करमा पर्नु अस्वाभाविक चाहिँ होइन। सिद्धान्तहीन राजनीतिको परिणाम अन्ततः यस्तै आत्मघाती हुन्छ। कांग्रेस अहिले निष्ठाहीन राजनीति गर्नुको फल भोग्दैछ। नेपाली कांग्रेस अमेरिकी र फ्रान्सेली तथा केही हदसम्म बेलायती क्रान्तिका सिद्धान्तबाट प्रेरित थियो। मूलतः वैयक्तिक स्वतन्त्रता, समानता र भातृत्वमा आधारित उदार लोकतन्त्र नेपाली कांग्रेसको सैद्धान्तिक धरातल हो। समाजवाद स्थापना कालको सिद्धान्त हैन। अर्कातिर माओवादी, एमालेका प्रेरणास्रोत रुसी र चिनियाँ क्रान्ति हुन्। वर्गीय अधिनायकत्व यी दुवै क्रान्तिका मूल ध्येय हुन्। अहिले माओवादी, एमाले वा अरू कम्युनिस्टले रुसी वा चिनियाँ क्रान्तिको विफलताका कारण तर्कन खोजे पनि उनीहरू मौकाको पर्खाइमा त सधैँ हुनेछन्।
बाह्र बुँदे सहमति गर्नु उचित थियो कि थिएन भन्ने विवाद गर्ने बेला सकियो। सम्झौताका लागि दिल्ली जानुभन्दा, माओवादीसँग मिलेर मोर्चा बनाउनुभन्दा पहिले नै यसमा विचार गर्नुपर्थ्यो। पहिलो दिल्ली सम्झौता (२००७) ले नै नेपाल र नेपाली कांग्रेसको भलो गरेन। इतिहास साक्षी छ। अर्को दिल्ली सम्झौताले पनि देश र कांग्रेसको हित नहुनु के अनौठो भयो र? तर, अब यसलाई उल्टाउन त सकिँदैन। यसैले कांग्रेसजनको पनि यसलाई सहजरूपमा आत्मसात गर्नुको अर्को विकल्पै थिएन। उनैका नेताले त्यसको स्वामित्व लिएका पनि थिए। तर, कांग्रेसका नेताले यसका राम्रा भनिएका एजेन्डालाई राजीखुसीले कहिल्यै स्वीकार गरेनन्। गणतन्त्रमा जाने बेलामा होस् वा संघीयता स्वीकार गर्नेमै होस् कांग्रेस अगुवा बन्न सकेन। सधैँ हिचकिचाई रह्यो।
कांग्रेस न उदार लोकतन्त्रको स्वतन्त्रता र समानताको सिद्धान्तमा अडिन सक्यो न 'न्यु डेमोत्रे्कसी' का समावेशी, पहिचान, आदि आकर्षक नारालाई नै स्वीकार गर्नसक्यो। आफ्नै पहिचान र सामर्थ्य थाहा नपाउने कांग्रेसले मुलुकको पहिचान र सामर्थ्यलाई कसरी ठम्याउने? यसैले कांग्रेस माओवादीका कार्यसूचीमा लगातार घिच्याइन पुग्यो। कांग्रेसका सांसद माओवादीका अध्यक्षसामु माग लिएर पुगे। तिनले कांग्रेसका सभापति वा संसदीय दलका नेतालाई अर्को पार्टीको नेतालाई जति पनि विश्वास गरेनन्। यो ती सांसदको हैन नेताहरूकै नालायकीको परिणाम हो। किनभने, कांग्रेसको समसामयिक नेतृत्व भरोसालायक साबित हुनै सकेन।
अझै पनि कांग्रेसले निष्ठाको राजनीति गर्ने हो आफ्ना सिद्धान्तमा अडिए हुन्छ। यसमा स्पष्ट हुनसक्ने हो भने संविधान निर्माणका क्रममा उत्पन्न मतभेद सहजै समाधान हुनेछ। माओवादीलाई उसैले चाहेजस्तो संविधान बनाउन दिए हुन्छ। त्यो संविधानमा आफ्नो असहमति स्पष्टसँग राखेर निर्वाचनमा जानुपर्छ। निर्वाचन स्वतन्त्र हुने नदेखिए आन्दोलनै गरे पनि हुन्छ। त्यस अवस्थामा कांग्रेसले विपक्षको प्रतिनिधित्व गर्नसक्छ।
व्यवहारको राजनीति गर्ने हो भने सैद्धान्तिक पक्षलाई बिसाएर चाहिने नचाहिने विषयमा अड्को थापन छाडेर माओवादीकै पछि लागे हुन्छ। माओवादीका कार्यसूचीमा सहयोग गर्दै गए सत्तामा पनि बसिरहन पाइने लक्षण देखिन्छ। यत्ति हो, त्यति बेला नेपाली कांग्रेस पुरै 'तर्बुजा कांग्रेस' बन्नेछ। लोकतन्त्रका पक्षमा राजनीति गर्न कुनै न कुनै अर्को शक्ति उत्पन्न हुनेछ। यत्ति भए पनि मुलुक कम्तीमा तत्कालको विध्वंशबाट जोगिनेछ।
नेपाली कांग्रेस मुलुकलाई स्वतन्त्र, समुन्नत र सभ्य बनाउन गठन गरिएको हो। देशलाई विखण्डित, ध्वस्त र पराधीन बनाउने कपटी षड्यन्त्रमा सामेल हुनु यसको स्थापनाकालको मूल सिद्धान्त र कांग्रेसको धर्म विपरीत हो। यो त बहादुर सिपाही डाँका बदलिएजस्तो हुन्छ। यही नेतृत्व, कार्यशैली र अकर्मण्यता कायम रहने हो भने यही शताब्दीको पूर्वार्धभित्रै नेपाली कांग्रेस नामको यो राजनीतिक दल इतिहासमा सीमित हुनेछ। सायद, अबको रोजाइ कांग्रेसलाई इतिहासको गर्भमा पुर्ने बेलामा यसको उज्यालो अतीत जोगाइदिने कि त्यसलाई पनि समाप्त पार्ने भन्नेमात्रै हो। यही निर्णय पनि कांग्रेसजनले बेलैमा लिनु बुद्धिमानी हुनेछ।
 


अर्को समाचार
आत्मसमीक्षकहरुको खोजी
२८ चैत्र २०६९
•
१४ मिनेट पाठ
आत्मसमीक्षकहरुको खोजी
त्रिवेणी धाममा हुँदै गरेको नेपाली कांग्रेसको महासमिति बैठक प्रत्युत्पादक नभए पनि अनुत्पादक हुने सम्भावना धेरैले व्यक्त गर्दैछन्।
संविधान सभाको कारुणिक अवसान र त्यसपछिको १० महिनाभन्दा बढीको राजनीतिक विकासक्रमको पृष्ठभूमिमा हुन लागेको यो बैठकमा प्रस्तुत राजनीतिक प्रस्ताव हेर्दा नेपालको प्रजातन्त्र र राष्ट्रवादको भविष्य उज्यालो देखिँदैन।





पहिले उठाउनुपर्ने प्रश्न राष्ट्रवादकै हो। लिच्छवीकालीन नेपाल धेरै ठूलो र बलियो थियो। पछि आएर यसको खण्डीकरण भयो। तर मुलुकको राष्ट्रिय पहिचानमा धेरै फेरबदल आएन। यही पृष्ठभूमिमै नेपाललाई पुनः एकीकरण गर्ने प्रयासहरु पटकपटक हुँदै आए। गोर्खाका राजा राम शाहले पनि नेपाल एकीकरणको चाहना राखेका थिए। त्यस्तै राजा प्रताप मल्लले यसका लागि धेरै लडे। तर नेपाल एकीकरण केवल पृथ्वीनारायण शाहले मात्र गर्न सके। यो एकीकरणले नेपाललाई पुनः लिच्छवीकालझैं एउटा शक्तिशाली मुलुकमा परिणत गर्यो्। बहादुर शाहले यसलाई अझ विस्तार गरे। यस क्रममा इस्ट इण्डिया कम्पनीसँग नेपाल लड्नैपर्ने भयो। लडाइँ हारे पनि यसले दुस्मनविरुद्ध राष्ट्रिय एकता कायम गरेको थियो। सन् १८१६ को सुगौली सन्धिपछि नेपाल एकीकरण गर्दा लागेका खर्च तथा एकीकरणका लागि जीउज्यान उत्सर्ग गर्ने सेना तथा तिनका परिवार धान्न सरकारलाई धौधौ पर्न थाल्यो। आर्थिक विशृंखलताका साथै भारदारबीच कचिंगल पनि सुरु भए। यसै पृष्ठभूमिमा कोतपर्वको माध्यमबाट जंगबहादुरको उदय भएको हो। जंगबहादुर गलत हिसाबले शासनमा आए तर एउटा दुखित देशलाई उनले पुनः सुरक्षित गरे।
राजा राम शाह, प्रताप मल्ल, पृथ्वीनारायण शाह, बहादुर शाह वा जंगबहादुर कुँवर उनीहरु सबैमा एउटा समानता देखिन्थ्यो- नेपालको सार्वभौमसत्ता र स्वतन्त्रताप्रति समर्पित। यो उनीहरुका लागि विनिमययोग्य वस्तु थिएन। अर्को समानता भनेको यी सबैमा मुलुकको आर्थिक विकासका अवधारणा थिए। उनीहरु के मान्थे भने नेपाल चीनतर्फ रहेको मध्य एसिया र भारततर्फ रहेको दक्षिण एसियाबीचको सेतु बन्नुपर्छ। यो सेतुका रूपमा आफ्नो प्रमाणिकता देखाउन सकेमात्र नेपालको उद्योग र व्यापारको विस्तृतीकरण हुन सक्छ। यसबाट मात्र देश विकासका लागि चाहिने राजस्व र सामरिक शक्ति पर्याप्तरूपमा आर्जन गर्न सकिन्छ भन्ने उनीहरुको सोचाई थियो।
नेपाली कांग्रेसका आदर्श पुरुष बीपी कोइरालाले २००७ सालमा एउटा बहादुर छवि भएको मुलुकलाई प्रजातान्त्रीकरणको प्रक्रियामा लगे। यसपछिको अर्को ७ वर्षसम्मको अस्थिरता देखेपछि संविधान सभाबाट संविधान लेखन गर्ने उनको सुरुको दृष्टिकोणमा परिवर्तन आयो। उनले पुनः नेपालको राजनीतिमा विदेशीहरुको दखल व्यक्तिगतरूपमा अनुभव गरे। अंग्रेजहरुसँग सहकार्य गर्नुजस्तो सजिलो थिएन, अंग्रेजका भारतीय उत्तराधिकारीसँग सहकार्य गर्न। त्यसपछि उनले राजाद्वारा गठित संविधान मस्यौदा आयोगबाट संविधान बनाउने अनुमति दिनुका साथै संसद्का लागि हुने चुनावमा भाग लिने घोषणा पनि गरे। यो राष्ट्रवादद्वारा प्रेरित कदम थियो। यो के मान्यतामा आधारित थियो भने केवल नेपाली कांग्रेसको प्रजातान्त्रिक प्रतिबद्धता तथा समाजवादी सिद्धान्तले मात्र मुलुक बचाउन सकिँदैन। यसका लागि व्यापक राष्ट्रिय एकता चाहिन्छ। यही मान्यताले नेपाल आजसम्म टिकेको हो।
बीपीको राष्ट्रवादी चिन्तनका कारण देशले निरन्तर स्वाधीनताको अनुभूति गर्न सक्यो। तर उनी आफैं यो प्रक्रियाका शिकार भए। यो दुखद् अवधि अन्त्य गर्दै उनले राष्ट्रिय मेलमिलापको नीति अंगीकार गरेको हामी सबैलाई प्रष्ट छ। यो नीतिमै आधारित रहेर त्यसपछिका परिवर्तन गरिएका थिए। नेपालको २०४७ सालको संविधानले राष्ट्रिय मेलमिलापको धरातललाई संवैधानिक जामा पहिर्याथइदिएको थियो। एकपटक फेरि मुलुक पुनः निर्माणको दिशामा अघि बढेको थियो। यो परिस्थितिमा नेकपा माओवादीले संसदीय प्रजातन्त्रविरुद्ध हतियार उठाएको भन्ने अब सबैले बुझेको कुरा हो।
माओवादी युद्धले प्रजातन्त्र र राष्ट्रवादलाई हताहत गरेका कारणबाट जुन रिक्तता पैदा भयो, त्यो खतरनाक थियो। आन्तरिक शक्ति क्षीण हुन गएकाले हामीले छिमेकीको 'हेजेमोनी' भोग्दैछौं। शासकहरुलाई काबुमा राखेर विदेशीले हामीमाथि शासन गर्दैछ। बीपी यो 'हेजेमोनी' विरुद्ध चट्टान भएर उभिनुभएको थियो। कांग्रेसको लिगेसी त्यही नै हो। त्यही लिगेसी छाडेकाले कांग्रेस अहिले 'डाउन सिण्ड्रम' को परिस्थितिमा छ। नेपालको असल प्रजातान्त्रिक परम्परा, २०४७ सालको संविधान र आफ्नो प्रतिस्पर्धात्मक पहिचान र क्षमतालाई कायम राख्न सकेको भए राजनीतिमा त्यत्रो रिक्तता देखा पर्ने थिएन। प्रजातान्त्रिक दलले आफूलाई अरुभन्दा अलग, स्पष्ट, विश्वासिलो विवेकवान र कुशल देखाउन सक्नुपर्छ। छाक टार्ने नीतिबाट राष्ट्र निर्माण हुँदैन। मुलुक बनाउनका लागि सम्पूर्ण देशलाई एकीकृत गर्न सक्ने एजेण्डा चाहिन्छ। उच्चतम् एवम् पवित्र उद्देश्य कांग्रेसले देखाउन सकेन। जनताको विचार र बोली प्रजातान्त्रिक दलले बोल्न नसक्दा अन्य दलले अवसरको प्रयोग गर्नु त स्वाभाविकै हो।
केही महिनाअघि मेरो ल फर्ममा नेता चक्र बास्तोलाले एउटा मिटिङ डाक्नुभएको थियो। यसको उद्देश्य सन् २०१४ अर्थात् बीपी कोइरालाको शतवार्षिकी कसरी राष्ट्रिय पर्वका रूपमा मनाउने भन्ने थियो। कार्यक्रममा भीमबहादुर तामाङ, प्रदीप गिरी तथा अन्य महŒवपूर्ण व्यक्ति हुनुहुन्थ्यो। सबैले भनाई राख्नुभयो। प्रदीप गिरीको भनाई थियो- बीपीको शतवार्षिकी मनाउँदा कुन स्लोगनका आधारमा मनाउने भन्ने कुरा हामीलाई बीपीको व्यक्तित्व वा विचारको कुन पक्ष आज सबैभन्दा फाइदाजनक छ, त्यसका आधारमा निर्धारण गर्नुपर्छ। उहाँको दृष्टिकोणमा बीपी भनेर पुग्दैन। २००७ सालको सशस्त्र क्रान्ति गर्ने बीपी, संविधान सभा परित्याग गरी राजाले जारी गरेको संविधानअन्तर्गत चुनाव लड्ने बिपी, राजाले सुन्दरीजलमा थुन्दाका बीपी, सशस्त्र विद्रोह आह्वान गर्ने बीपी, राष्ट्रिय मेलमिलापका लागि भारतबाट नेपाल फर्कने बीपी वा कुन बीपीबारे कुरा गरेको हो? बीपीको यो विभाजित व्यक्तित्वबाट नेपाली कांग्रेसलाई जे फाइदा हुन्छ, त्यो फाइदा लिनुपर्छ भन्ने उहाँको विचार थियो। जुन व्याख्या सही होइन।
राजनीति सुरु गरेदेखि नै बीपीका आदर्श सधैँ कञ्चन रहे। परिस्थिति कहिल्यै एकनाश रहेनन् होला। तिनलाई तात्कालीक परिस्थितिका आधारमा बीपीले पनि सामना गर्नुपर्योक होला। सुखका दिन पनि आए, दुःखका दिन पनि आए। राजनीतिले बीपीलाई पनि रणनीतिक बनायो होला। तर उनले बाँचेको जीन्दगी र उनले स्थापित गरेको सिद्धान्त द्विविधारहित हिसाबले बुझ्न सकिन्छ। स्ट्याटिस्टिक्स् र सम्भाव्यताको सिद्धान्तमा स्ट्याण्डर्ड डेभिएसन (मानक विचलन) को कुरा गरिन्छ। मानक के हो र विचलन के हो बुझ्नुपर्ने हुन्छ। अर्को शब्दमा भन्दा जुन कुरालाई हामी बीपीको मानक भन्छौं, त्यसबाट बीपीको डिस्पर्सन वा भेरिएसन कति छ भनेर हेर्नुपर्छ। आफ्नो व्यक्तित्व, राजनीतिक सिद्धान्त र आदर्शका कुरामा अझ भनौँ, राष्ट्रियता, प्रजातन्त्र र समाजवादका कुरामा बीपीको विचारमा एकरूपता थियो। निरन्तरता थियो। उनी जन्मजात राष्ट्रिय मेलमिलापका पक्षपाती थिए। उनको दृष्टिकोण जे सही हो, त्यही नै भनिनुपर्छ। त्यसको रणनीतिक व्याख्या गरिनुहुँदैन। कांग्रेसले गर्न सक्दैन भने पनि केही छैन, त्यसले गर्ला, जसको हातबाट बीपीको उचित मूल्यांकन हुन्छ। राजनेताको पहिचान उचितरूपमा उचित समयमा हुने नै छ।
२०१५ सालको संविधान मस्यौदा गर्ने समितिले नेपाली कांग्रेसकै होराप्रसाद जोशीको सक्रियतामा काम गरेको थियो। तर अन्ततः संविधानलाई बीपीले प्रजातान्त्रिक संस्कृति र राष्ट्रिय स्वाधीनताभन्दा ठूलो महŒव दिएनन्। बीपीको भनाई थियो- आस्था र विश्वास छैन भने संविधान भनेको कागजको खोस्टा हो। छ भने राजनीतिक दलले काम गर्न पाउने जस्तोसुकै संविधानको पनि उच्चतम् प्रयोग गर्न सकिन्छ। आज जब हामी परिस्थितिको मूल्यांकन गर्दैछौं भने त्यस अवस्थामा स्पष्ट हुनुपर्छ कि नेपालको संविधान बनाउने कार्यमा न त आस्था र विश्वास देखिएको छ, न राष्ट्र बनाउने चिन्ता। यदि यति कुरामा प्रष्ट हुन सकिन्छ भने प्रजातन्त्रको दिशाबोधबारे अल्मलिनुपर्दैन। प्रजातन्त्र त कसैले लुटेर लान सक्दैन तर देश लुटिँदोरहेछ। यो आजको कांग्रेसको एजेण्डामा पर्छ कि पर्दैन?
कांग्रेस महासमितिले सबै कुराको अहिल्यै छिनोफानो गर्न नसक्ला तर केही वर्षदेखि मुलुकले लिएको बाटो र त्यसमा देखिएका असफलताबारे समीक्षा नभई अगाडि के गर्ने भन्ने कुरा निर्क्यौल हुन सक्दैन। त्यसैले महासमितिले यसबारे अध्ययन गर्न एवम् बृहत्तर छलफलका लागि सबैलाई स्वीकार्य हुन सक्ने एउटा टास्कफोर्स गठन गरी केन्द्रीय समितिमा छलफल एवम् उचित निर्णयका लागि आधार तयार गरिदिन सक्छ। नेपालको दिगो भविष्यका लागि यो एउटा महŒवपूर्ण प्रक्रिया हो। कांग्रेसका ब्याकबेञ्चरहरुले यसको माग गर्न ढिलो भइसकेको छ। यसमा राजनीति गरिनुहुँदैन।
(अधिकारी संवैधानिक कानुनका विज्ञ हुन्।)
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस