पुनर्संरचनाका बाँकी विषय
१० वैशाख २०६९
•
१३ मिनेट पाठ
पुनर्संरचनाका बाँकी विषय
सेना समायोजनको काम तार्किक निष्कर्षतिर उन्मुख हुनु सकारात्मक हो। यसले मुलुकलाई संक्रमणको चरणबाट अगाडि बढाउन महत्वपूर्ण सहयोग पुग्नेछ। अब अर्को महŒवपूर्ण कार्यभार संविधान निर्माण हो। यसमा केही प्रगति भएपनि निर्णायक घुम्ती पार गर्न बाँकी नै छ। अहिले पार्टीहरूको ध्यान यसतर्फ केन्द्रित भएको पनि देखिएको छ।
तर यस विषयमा बाँकी अवरोधमा मूलतः राज्यको पुनर्संरचना र शासकीय स्वरूप नै हुन्। यसमध्ये पहिलो जनताको चाहना, भावना तथा देशको यथार्थसँग प्रत्यक्ष जोडिएको विषय हो भने अर्को पार्टीहरूको राजनीतिक चिन्तन, दर्शन तथा आगत विगतसँग जोडिएको छ। यी दुईटै विषयमा एकातर्फ एनेकपा (माओवादी) पार्टी भित्रैबाट कडा प्रतिरोध हुने संकेत देखिएको छ। यसैले अहिलेको यात्रालाई सफल बनाउन पुष्पकमल दाहाल र बाबुराम भट्टराई खेमाले थेग्नसक्नु पर्छ। अर्कोतर्फ नेपाली कांग्रेस र नेकपा (एमाले)बाट समयसापेक्ष लचक तथा सुझबुझ प्रकट गर्नु आवश्यक छ। सबै विषयको अन्तिम छिनोफानो यही चरणमा गर्नुपर्छ भन्ने चिन्तन र व्यवहारले भने संविधान लेखन अवरुद्ध हुनेछ। अन्यथा, जेठ १४ गतेपछि देश पुनः अनिश्चितातर्फ उन्मुख हुनेछ र संघीयता तथा गणतन्त्रजस्ता महत्वपूर्ण उपलब्धि अनिर्णित र अनिश्चित हुनेछन्।




यी दुईमध्ये पनि राज्यको पुनर्संरचना नयाँ संविधानको मूल मर्म र सबभन्दा जटिल विषय हो। यस दिशामा प्रगति हुनसकेको छैन। यसमा विशेषाधिकार र आत्मनिर्णयको अधिकारसहित जातीय आधारमा राज्यको गठनको माग, भौगोलिक आधारमा उत्तर-दक्षिण पारेर राज्य गठनको प्रस्ताव, एकमधेस प्रदेशको अडानजस्ता विषय अवरोधका रूपमा रहेका छन् र पार्टीहरू विपरीत ध्रुवमा उभिएका छन्। अहिलेसम्मको अडान हेर्दा मिलन विन्दु देखापरेको छैन। राज्य पुनर्संरचना समितिको बहुमतबाट प्रस्तुत १४ प्रान्तको प्रस्तावबाट सुरुभएको विवादको समाधान खोज्न अन्तिम समयमा गठन गरिएको राज्य पुनर्संरचना आयोगको प्रतिवेदनपछि विवाद झन् चुलिएको छ। अब, पार्टीहरूमात्र होइन जनसाधारणबीच विवादको विषय भएको छ। राज्यको पुनर्संरचना जनसरोकार, जनभावना र जनअधिकारसँग जोडिएको जटिल तथा संवेदनशील प्रश्न पनि हो र छ। त्यसकारण यस विषयमा प्रत्येक सजग नागरिक र समूह आफ्नो पहिचान र क्षेत्रका लागि अगाडि आउनु स्वाभाविक थियो र अहिले त्यही भएको छ। यस्तो संवेदनशील विषयको सम्यक समाधान खोज्न संविधान सभाको राज्यपुनर्संरचना समितिले वा आयोगले होस् पुर्या उन सकेन र आआफ्नो पार्टी निर्देशनअनुसार खाका तय गरियो। फलस्वरूप, यसले समाधान दिएन बरु जटिलता थप्यो।
सघीयताको पक्षविपक्षमा विगतदेखिै विवाद रहँदै आएको हो र अहिले पनि छ। तर, अब यस विवादको अर्थ छैन। संघीयता आज अपरिहार्य भइसकेको छ र यो विभिन्न जातजाति, क्षेत्र र समूहहरूबाट उठाइएको माग पनि हो। त्यसकारण अब संघीयतामा जाने वा नजाने नभई कस्तो संघीयतामा जाने र कुन प्रक्रिया तथा आधारभूत सिद्धान्त अपनाएर प्रान्तहरूको निर्माण गर्ने भन्ने बहसको विषय हो। राज्य पुनर्संरचनाको विषयलाई सही किसिमले समाधान गरेरमात्र देशको एकता, अखण्डता तथा सार्वभौमिकतालाई कायम राख्दै साझा र समृद्ध संघीय नयाँ नेपाल निर्माण गर्न सकिनेछ। यसैले राज्यको पुनःसंरचना ठुला भनिने पार्टीहरूबीच पर्दापछाडि लेनदेन गरी टुंग्याउने नभई व्यापक जनसहमति तथा सहभागिताका आधारमा समाधान खोजिनुपर्ने विषय हो। जेठ १४ को हाउ देखाई हतारमा पार्टीहरूबीच लेनदेन गरेर वा संविधान सभामा बलमिच्याइँबाट आवश्यक मत जुटाई पारित गरिएमा तत्कालका लागि पार पाउन सकिएला। साथै, यसबाट देशमा विद्यमान अराजकता तथा अनिश्चितताको चिन्ताबाट मुक्ति पाइने आशाले केही समयका लागि जनताले स्वीकार पनि गर्लान् तर यसबाट कालान्तरमा गम्भीर दुष्परिणाम उत्पन्न हुनेछ।
समाधानका उपाय
संविधान जनसहमतिको दस्तावेज हो। नेपालको वर्तमान सामाजिक मनोविज्ञानबाट उब्जेको जटिलताले गर्दा भने यसलाई सर्वस्वीकृत दस्तावेज बनाउन सहज देखिँदैन। किन्तु संविधानलाई सहमतिको दस्तावेज नबनाई सुखै छैन। त्यस अवस्थामा निम्न आधार अवलम्बन गरेमा समाधान खोज्न सहयोग मिल्नसक्छ :
१. राज्य पुनर्संरचना तथा शक्ति बाँडफाँटका लागि सामर्थ्य र पहिचानलाई दुईवटा प्रमुख आधारका रूपमा सबैले स्वीकार गरिसकेकै हो। सामर्थ्यअन्तर्गत नयाँ बन्ने प्रदेशहरू आत्मनिर्भर हुनसक्ने आधार, अर्थात् विकासका पूर्वाधारको अवस्था र सम्भावना, प्राकृतिक स्रोत र साधनको उपलब्धता तथा प्रशासनिक सुगमताजस्ता विषयलाई लिइएको छ। हाम्रो देशमा प्राकृतिक स्रोतसम्पदाको अवस्थिति र उपलब्धता तथा तिनको दोहनका लागि आवश्यक पर्ने क्षेत्र र मैत्रीपूर्ण अवस्थाको दृष्टिकोणबाट हेर्दा प्रान्तहरूको भौगोलिक क्षेत्र ठुलो हुनु आवश्यक देखिन्छ।
२. पहिचानअन्तर्गत जाति/समुदाय, भाषा, संस्कृति, भौगोलिक निरन्तरता अर्थात् परम्परागत र ऐतिहासिकरूपमा कुनै जाति विशेषको त्यस क्षेत्रमा बसोवासको निरन्तरतालाई लिइएको छ। तर आधुनिक नेपाल अस्तित्वमा आउनभन्दा शताब्दियौँ पहिलेदेखि नै यस क्षेत्रमा मानिसहरूको निरन्तरको बसाइँ सराइ तथा बसोवासको प्रकृतिका कारण भौगोलिक निरन्तरता वा ऐतिहासिक पृष्ठभूमीको आधारमा कुनै खास क्षेत्रमा एउटै जाति विशेषको एकलौटी बसोबास थियो भनी छुट्याउन सकिने अवस्था छैन। अर्कोतर्फ जाति तथा समुदायको आधारमा पनि कुनै क्षेत्र विशेषलाई एकलौटी रूपमा तोक्न सकिने स्थिति छैन। यस अवस्थामा केही पार्टी अथवा जनसमुदायबाट अगाडि सारिएको मागजस्तो विशुद्ध जातीय राज्य बनाउन सकिने अवस्था देखिँदैन। बलजफ्ती सीमांकन गर्दा यसले दुई किसिमका खतरा जन्माउनेछ। पहिलो केही जातिको पहिचान स्थापित गर्ने नाममा अन्य जातजाति तथा समुदायको पहिचान र पहुँच गुम्नेछ भने अर्कोतर्फ जातीय बसोवासको अवस्था हेर्दा अल्यसंख्यकहरू शासक तथा बहुसंख्यक शासित हुने स्थिति उत्पन्न हुनेछ। जातीय पहिचानका आधारमा प्रस्तावित राज्यहरू वा विशेष संरचनाबाट केही जातिको त पहिचान स्थापित होला तर झन्डै अरू सयवटा जात, जाति र समुदायले पहिचान गुमाउनेछन्। प्रान्तहरू शासक र शासित जातिमा विभाजित हुने खतरा हुन्छ। यस अवस्थाले अन्ततः जातीय द्वन्द्व जन्माउनेछ।
३. यसको सहज समाधानका लागि प्रदेशहरूको संख्या कम गर्ने र प्रशासकीय सुगमता, भौगोलिक निरन्तरता तथा प्राकृतिक स्रोतसाधनको प्रचुरता रहने तथा प्रदेशको स्रोत साधनमा सबैको समान अधिकार हुने गरी ठुलो भौगोलिक क्षेत्रसहितका प्रदेश बनाउनुपर्छ। यसबाट प्रदेशहरूको सामर्थ्य कायम हुनेछ।
४. प्रान्त त्यहाँ बसोवास गर्ने सबै जातजाति तथा भाषाधर्मका मानिसको साझा हो। त्यसकारण प्रान्तहरूको शासन व्यवस्था तथा स्रोतसम्पदामा सबैको पहुँच हुनेगरी शासकीय स्वरूप तथा वितरण प्रणालीको सुनिश्चितता स्थापित गर्नुपर्छ। यसका लागि त्यहाँ बसोवास गर्ने सबै सानाठुला जाति तथा समूहको पहिचान हुनेगरी प्रान्त गठन गर्नु आवश्यक हुन्छ। त्यहाँको स्रोतसम्पदामा साझा अधिकार र प्रशासकीय तथा विधायकीय स्वायत्तताको सिद्धान्तमा स्वशासित क्षेत्र, विशेष क्षेत्र, संरक्षित क्षेत्र तथा स्थानीय निकायको गठन गरी प्रान्तीय शासन व्यवस्थामा सबैको पहुँच र पहिचान सुरक्षित गर्नुपर्छ।
५. प्रान्तहरू गठन गर्दा त्यस क्षेत्रमा बसोवास गर्ने सबै व्यक्ति, जातजाति तथा समुदायलाई समान अधिकार सम्पन्न सार्वभौम नागरिकका रूपमा रहने संवैधानिक व्यवस्था गरी सबैलाई आश्वस्त गराउनुपर्छ।
६. शासकीय स्वरूपमा, प्रान्त, स्वायत्त क्षेत्र, विशेष क्षेत्र तथा संरक्षित क्षेेत्रका जननिर्वाचित प्रतिनिधि तथा विधायकसहितको निर्वाचक मण्डल बनाउने र त्यसैको मतबाट स्पष्ट व्याख्यासहितका केही कार्यकारी अधिकार भएको सम्पन्न राष्ट्रपतिको निर्वाचन गर्ने व्यवस्था हुनुपर्छ। यसबाट सबै जातजाति, धर्म, क्षेत्र, लिंग तथा समुदायको मत प्राप्त साझा राष्ट्रपति बनाउन सकिनेछ। संसद्को बहुमत प्राप्त र संसद्प्रति उत्तरदायी कार्यकारी प्रधानमन्त्री हुने तर सांसदहरूलाई मन्त्री बनाउन नपाउने व्यवस्था गर्नुपर्छ। यसबाट संसद्मा हुने खरिद विक्री तथा निर्वाचनको क्रममा धाँधलीलाई नियन्त्रित गर्न सकिनेछ।
लेखक नेकपा (संयुक्त)का अध्यक्ष हुन्।

 
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस