जेठ १४ र दलहरुको जिम्मेवारी
२५ चैत्र २०६८
•
१४ मिनेट पाठ
जेठ १४ र दलहरुको जिम्मेवारी
दोस्रो जनआन्दोलनपछि गठित सरकार र निर्वाचित संविधानसभासामु दुई ऐतिहासिक जिम्मेवारी थिए, १) शान्तिप्रक्रिया पूरा गरी विगत द्वन्द्वलाई विधिवत् समाप्त गर्दै देशमा शान्ति स्थापना गर्ने २) नयाँ संविधानद्वारा लोकतान्त्रिक गणतन्त्र, संघीयता तथा समावेशीकरणलाई संस्थागत गरी देशलाई नयाँ युगमा प्रवेश गराउनु। यस चरणमा यी प्रमुख जिम्मेवारीलाई ओझेलमा पारी सत्ताकेन्द्रित संघर्ष वा कुनै वादमा आधारित व्यवस्था वा सत्ताकब्जाको प्रश्नमा अल्भि्कएर समय खेर फाल्नु र जनआन्दोलनका सहयात्रीहरुबीच आपसी द्वन्द्व सिर्जना गरी देशलाई अन्योल तथा राजनीतिक अस्थिरतामा राख्नु न बुद्धिमानी थियो, न क्रान्तिकारिता। तर, विगत चार वर्षमा यिनै मुद्दामा चलाइएका संघर्षले आजको अवस्थासम्म यी सवालहरुको समुचित समाधान गर्न सकिएको छैन।
विगत चार वर्षदेखि अन्योल र अनिश्चितामा रहेको देश निर्णायक तथा नाजुक मोडमा छ। जनसाधारण तथा नेपालमा स्थायित्व र शान्ति स्थापित भएको हेर्न चाहने अन्तर्राष्ट्रिय जमात यस मोडको सुखद परिणाम आउने आशामा मन थामेर प्रतीक्षामा छन्। तीन पार्टीको नेतृत्वले सहमति र समाधान खोज्न परिणाममुखी रुपमा अगाडि बढ्ने लगातार प्रतिबद्धता जनाए पनि अझै जनसाधारण समयमै सुखद परिणाम आउनेमा विश्वस्त छैनन्। परिणामस्वरुप सांसददेखि पार्टीका कार्यकर्ताहरुसमेत आफ्नै नेतृत्वलाई दबाब दिन आन्दोलित छन्। यस्तो दबाब अन्तिम पटकको म्याद थपिएपछि नै सुरु गर्नसकेको भए यसले बेलैमा परिणाम दिने थियो। ढिलै भए पनि यस्तो दबाब अभियान सुरु हुनु सकारात्मक हो। यसले जनतालाई सचेत र अभियानमा संलग्न गराएको छ।




शान्ति प्रक्रियालाई पूर्णता दिन र संविधान लेखनको कामलाई सहज पार्न माओवादी नेतृत्वमा सरकार बन्नुपर्छ भन्ने माओवादीको अडानपछि उसको नेतृत्वमा सरकार गठन गरिएको हो। तर, त्यसपछिका दिनहरुमा यस दिशामा केही काम भए पनि अहिलेसम्म सेना समायोजनले पूर्णता पाउन सकेको छैन। माओवादीलगायत तीन दलबीच भएको सातबुँदे समझदारीपछि अवकासमा जाने लडाकुहरुको बिदाइ सम्पन्न भयो। यो सकारात्मक कुरा हो तर शान्ति प्रक्रियालाई पूर्णता दिन यो काम महत्वपूर्ण भए पनि निर्णायक कदम भने थिएन। शान्ति प्रक्रियाका विभिन्न पक्ष भए पनि यस दिशामा निर्णायक कदम सेना समायोजन र हतियारको सुपुर्दगीको हो। यो माओवादीलगायत सबैले बुझेकै कुरा हो। यसका लागि अन्य पार्टीहरुको सकारात्मक लचकतापूर्ण भूमिका आवश्यक भए पनि निर्णायक कदम माओवादीबाटै चालिनुपर्छ। आजका दिनसम्म आइपुग्दा सहमति कायम गर्न सबै पक्षले प्रयास गरेको भए पनि समायोजनसँग सम्बन्धित मूल मतभिन्नताका कुरा- समावेश गरिने र स्वैच्छिक अवकाशमा जानेहरुको छनोट प्रक्रिया, पद मिलान, तालिमको स्वरुप र समयजस्ता विषय विवादित छन्। यीमध्ये कतिपय विषय माओवादीको मनोविज्ञान तथा भावी कार्यदिशासँग यस वा त्यस रुपमा जोडिन पुग्छ भने केही मुद्दालाई प्रतिष्ठाको विषय बनाइएको छ। अहिले यी मुुद्दा नै गतिरोधका मूल कारण हुन्। यसका लागि अहिले पनि माओवादीले अगाडि सारेका सर्तहरुले कठिनाइ उत्पन्न गरेको छ। कांग्रेस र एमालेले पनि सहमतिका लागि अपेक्षित लचकता देखाउने प्रयास गरेका छैनन्।

समय सकिँदै छ। समाधान फेला पर्न सकेको छैन। संविधानसभाले आफ्नो दायित्व पूरा गर्न नसकेकै अवस्थामा यसको आयु सिध्याउने पार्टीहरुभित्रै र बाहिरका शक्तिहरुसमेत जनतामा त्रास फैलाई वातावरण धुमिल्याउन सक्रिय छन्। संविधानसभाविरुद्ध जनमनोविज्ञान तयार गर्ने काममा जुटिरहेका छन्। समय छोट्टिँदै जाँदा यी गतिविधि अरु बढ्ने निश्चित छ। यस अवस्थामा संघीयता तथा गणतन्त्रका पक्षधर सम्पूर्ण राजनीतिक शक्ति, संघसंस्था तथा नागरिक अभियानको काँधमा बेलैमा शान्ति प्रक्रिया र संविधानको काम सम्पन्न गरी जेठ १४ को पर्खाइमा रहेका व्यक्तिको षड्यन्त्र विफल पार्ने जिम्मेवारी छ। जनक्रान्तिका उपलब्धिहरुलाई संस्थागत गर्दै देशलाई अनिश्चित भविष्यतिर जानबाट जोगाउनुबाहेक अर्को ऐतिहासिक जिम्मेवारी छैन। इज्जत-प्रतिष्ठा वा भोलिको कार्यदिशाका लागि अहिले नै अवस्था आफ्नो पक्षमा पार्ने राजनीतिक चिन्तन वा कुनै पनि खालको अतिवाद आजका लागि बन्नेछन्। अतः सेना समायोजनकोे प्रक्रियामा विद्यमान मतभेदलाई अन्तिम अडान वा प्रतिष्ठाको विषय नबनाई लचकतासाथ सहमतिको दिशामा अगाडि बढ्नु एकमात्र सुरक्षित बाटो हो।

संविधानसभाको थपिएको म्यादअनुसार आगामी जेठ १४ मा नयाँ संविधान जारी गरिसक्नुपर्छ। निरन्तर छलफल तथा सहमतिको प्रयास भए पनि संविधानका विवादित विषयमा अझै सहमति बन्नसकेको छैन। सम्झौता गरेर भए पनि विवाद समधान खोज्ने भनिए पनि यसतर्फ आशलाग्दो अवस्था सिर्जना भएको छैन। अहिले वैशाख १५ भित्र मस्यौदा तयार गरी जनमतमा लैजाने सहमति भएको भनिएको छ तर राज्य पुनर्संरचनाजस्तो सर्वाधिक विवादित र जनचासोको जटिल विषयमा कसरी सहमति कायम गर्ने भन्ने विषय नटुंगिएसम्म संविधानको मस्यौदाले पूर्णता पाउँदैन। अधुरो संविधान जनताबाट स्वीकार हुँदैन।
राज्य पुनर्संरचनाको सबाल संसद्मा रहेका तीन ठूला दलबीच सहमति कायम गरेरमात्र समाधान हुन सक्दैन। यो सबाल संसद्बाहिर रहेका आन्दोलनहरु तथा जनताको पनि सरोकारको विषय भएको छ। संसद्मा मतदानको प्रक्रियाबाट यसको समाधान खोज्ने हो भने यो विषय संसद्बाटै विवादित अवस्थामा बाहिर आउँछ र आज जातिहरुबीच देखिएको केही हदसम्मको कटुतापूर्ण मनोविज्ञानलाई यसले थप जटिल बनाउन सक्छ। यसका साथै राज्यको शासकीय स्वारुप, निर्वाचन प्रणाली, मौलिक हकजस्ता आधारभूत सैद्धान्तिक र राजनीतिक सबालहरुमा पार्टीहरुका आ-आफ्नै अडान यथावत छन् र अन्तिम समयमा आएर बहसको विषय बनेका छन्। राज्यको शासकीय स्वरुप र निर्वाचन प्रणालीजस्ता सबालहरु भोलिको समावेशी लोकतान्त्रिक परिपाटी र सत्तामा सबैको सहज पहुँचको सुनिश्चितासँग जोडिएका प्रश्न हुन्। कुनै पनि राजनीतिक चिन्तन, संगठन, जाति, वर्ग, समुदाय तथा तप्काहरुलाई सत्तामा सहभागी हुन पाउने र आफ्नो उपस्थिति देखाउन पाउने अवस्थाबाट वञ्चित गर्ने खालका कुनै पनि प्रावधान वा छेकबार लगाउने प्रयास लोकतान्त्रिक परिपाटीविरुद्ध हुन्छ। यसले नयाँ संघर्षलाई जन्म दिन्छ।
यी प्रश्नहरुसँग पार्टीहरुका सिद्धान्त तथा राजनीति समेत जोडिएकाले समस्या झन् जटिल भएको छ। त्यसमा पनि माओवादीको एउटा सबल समूह आफ्नो नयाँ जनवादी चिन्तनअनुसार नयाँ संविधानमा त्यस्ता प्रावधान राख्न चाहन्छ जसको जगमा टेकेर नयाँ जनवादी व्यवस्था लागू गर्न सकियोस्। त्यसैलाई उसले जनताको संविधान भन्ने गरेको छ भने नेपाली कांग्रेस पश्चिमा शैलीको परम्परगत प्रजातान्त्रिक संसदीय प्रणालीभन्दा अगाडि बढ्न खोजिरहेको छैन। गतिरोधका मुख्य कारण यिनै हुन्। सहमतिका लागि पार्टीहरुले मनस्थिति बनाई सकेको देखिँदैन। अहिले पार्टीहरु त्यस्तो निर्णायक मोडमा पुगेका छन् जहाँ उनीहरुले आफ्ना वैचारिक र सैद्धान्तिक पक्ष थाँती राखी बीचको बाटो अँगाल्नुपर्ने हुन्छ। संघीयता, लोकतान्त्रिक गणतन्त्र, संवैधानिक सर्वोच्चता, मानवअधिकार, धर्मनिरपेक्षता, बहुलवाद, समावेशी चरित्रको राज्यव्यवस्था जस्ता लोकतन्त्रका आधारभूत पक्षहरुलाई स्थापित गर्दै जनआन्दोलन-२ का उपलब्धिहरुलाई संस्थागत गर्नु जरुरी छ। संक्रमणकालीन जटिलताबाट देशलाई बाहिर निकाली अगाडि बढ्ने वा आ-आफ्नो अडान र दर्शनका डम्फु बजाउँदै जेठ १४ पछिको अनिश्चित अवस्थाका लागि पर्खिने र रणनीति तय गर्ने? यी दुईमध्ये एउटा बाटो रोज्नु जरुरी छ। पहिलो बाटो आजको ऐतिहासिक आवश्यकता र सही तथा निष्कंटक बाटो हो। यसैबाट लोकतान्त्रिक शक्तिहरुको अभीष्ट पूरा हुन्छ। वामपन्थी शक्तिहरुका लागि यो पँुजीवादी राजनीतिक क्रान्ति सम्पन्नताको चरण हुनेछ, जहाँबाट जनवादी क्रान्तिका लागि अगाडिको मार्ग प्रशस्त हुन्छ।

कम्युनिस्ट आन्दोलनका लागि प्रतिकूल अन्तर्राष्ट्रिय अवस्था भए पनि नेपालजस्तो भूपरिवेष्ठित तथा अल्पविकसित देशमा कम्युनिस्ट पार्टीहरुले ठूलो सफलता र व्यापक जनसमर्थन पाएका छन्। लगातार चार वटा सरकारको नेतृत्व कम्युनिस्टहरुले गरेका छन्। सोभियत संघ विघटनपछि सुरु भएको यस कठिन र प्रतिकूल चरणमा प्राप्त यो सफलता आफैँमा ऐतिहासिक घटना हो। यसको संरक्षण र यसै जगबाट अगाडिको कार्यदिशा तय गर्न सकेमात्र कम्युनिस्टहरुले आगाडिको सफलता सुनिश्चित गर्न सक्छन्। यस चरणमा गरिने दुस्साहसिक अतिक्रान्तिकारिता वा मनोगत लहडमा उठाइने उग्रवादी कदमबाट कम्युनिस्टहरुको आजको उपलब्धि आकष्मिक ऐतिहासिक घटनामा परिणत हुन्छ। आजको उपलब्धिहरुलाई जोगाउँदै अगाडिको वस्तुवादी कार्यदिशा तय गर्नु दलहरुको पहिलो आवश्यकता हो। विशेष गरेर माओवादीले यसमा हेक्का राख्नु आवश्यक छ।
लेखक नेकपा (संयुक्त)का अध्यक्ष हुन्।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस