दाहाल-भट्टराईको अनौठो सम्बन्ध
२५ चैत्र २०६८
•
१६ मिनेट पाठ
दाहाल-भट्टराईको अनौठो सम्बन्ध
गत माघे संक्रान्तिमा सम्पन्न एनेकपा (माओवादी) को केन्द्रीय समिति बैठकपछि बनेको अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ उपाध्यक्ष मोहन वैद्यबीचको एकता अस्थायी थियो। घटनाक्रमसँगै त्यो अस्थायी एकताको अध्याय अहिले समाप्त भएको छ। त्यो अध्याय सकिनुको मुख्य कारण थियो, दाहाल र अर्का उपाध्यक्ष बाबुराम भट्टराईबीचको अस्वाभाविक सम्बन्ध।
प्रधानमन्त्रीसमेत रहेका भट्टराईको मुख्य उद्देश्य भनेको मधेसी मोर्चासँग भएको चारबुँदे र नेपाली कांग्रेस-नेकपा (एमाले) सँग समेत भएको सातबुँदे सम्झौतामा दाहाललाई जसरी पनि फर्काउनु थियो। किनकि वैद्य पक्षधरले केन्द्रीय समितिमार्फत दाहाललाई चारबुँदे र सातबुँदेविरुद्ध उभ्याउने योजना बनाएका थिए। अन्ततः दाहाल वैद्यबीच एकता तोडेर आफ्नो नेतृत्वको सरकारको आयु बढाउन भट्टराई सफल भएका छन्। तर, आफ्नो क्षमताले मात्र नभई माओवादीइतरको सम्पूर्ण शक्तिको सहयोग लिएर।




दाहाल र भट्टराई सुरुदेखि नै एकले अर्काको नामै सुन्न नचाहने नेता हुन्। उनीहरुको अहिलेको सम्बन्ध कुन अर्थमा अनौठो छ भने एकअर्कालाई कहिल्यै नरुचाउने यी दुवै नेता अहिले कसरी सँगै बसिरहेका छन्? माओवादीकै केही नेताले बताएअनुसार चुनवाङ बैठकपछि मन नपर्दा नपर्दै विचारका हिसाबले सँगै रहनुमा निश्चित केही घटनाक्रमले काम गरेका छन्। फुन्टिवाङ बैठकसम्म पार्टी नीतिप्रति दाहाल इमानदार थिए, माओवादी मूल नेतृत्वलाई निशाना बनाएर तत्कालीन शाही सत्ताले जब आफ्नो सम्पूर्ण शक्तिलाई आधार क्षेत्रमा केन्द्रित गर्‍यो, अनि अत्तालिएर दाहालले जनयुद्धलाई 'यु' टर्नमा घुमाएर त्यसको अन्त्य गर्ने योजना बुने। त्यही समयमा खारामा भएको ठूलो असफलतासँगै दाहालमा विचलन आयो र जनयुद्ध समाप्त पार्ने योजनालाई उनले विस्तृत शान्ति सम्झौतामा आएर पूरा गरे। भट्टराई त दक्षिण एसियामै क्रान्तिको उभार नआई नेपालमा मात्र क्रान्ति सम्पन्न गर्न नसकिने निष्कर्षमा त्यति बेलै पुगिसकेका थिए। यो, क्रान्ति गर्नेतिर होइन, क्रान्तिलाई असम्भव देखाउने उद्देश्यबाट उनको अभिव्यक्ति आएको थियो। संविधानसभा साधन र गणतन्त्रलाई कार्यनीति भनिए पनि शान्ति प्रक्रियामा आएलगत्तै दाहाल र भट्टराईले संविधानसभालाई साध्य र गणतन्त्रलाई रणनीति बनाउनतिर लागे। युद्धकालमा भट्टराईलाई भारतपरस्त भन्ने दाहाल अन्ततः आफैँ भट्टराईमार्फत भारतपरस्त भए। अर्थात् दाहाल अहिले 'भारतलाई नरिझाई केही गर्न सकिन्नँ' भन्ने निष्कर्षमा पुगेका छन्।
दाहाल र भट्टराई एकार्कामा मिल्ने स्वभाव नभए पनि विचलनवादी सिद्धान्तले एक ठाउँमा ल्यायो। दुवै जनामा समानता भनेकै गैरमार्क्सवादी तरिकाले सोच्ने अनि सत्ता र शक्तिमै रहिरहने मनोकांक्षा हो। त्यस्तै एउटाको विरुद्ध अर्कोलाई प्रयोग गर्ने चिन्तन र शैलीमा समानता भए पनि यसमा आफू एक्लैले दाहाललाई प्रयोग गर्न भने भट्टराई असफल हुँदै आएका छन्। दाहालविरुद्ध वैद्यलाई प्रयोग गर्न धोवीघाट गठबन्धनमा सहभागी भएर भट्टराई आफू प्रधानमन्त्री बन्न सफल भए पनि प्रधानमन्त्री बन्नुअघि उनको लोकप्रियतालाई दाहालले भुत्ते बनाइदिए। वैद्यलाई प्रयोग गरेर आफू हाबी हुने योजनामा भट्टराई लागे पनि उनले सोचेजति सफलता प्राप्त गर्न नसक्नुमा दाहालकै हात छ। कारण एकर्काविरुद्ध अर्काेलाई प्रयोग गर्ने 'प्रयोगवादी' सिद्धान्त अन्ततः दाहालकै थियो।
दाहाल र भट्टराई दुवै एकार्कासँग डराउँछन्। भट्टराईले आफूलाई विस्थापित गर्छन् कि भन्ने डर दाहाललाई छ भने भट्टराई दाहालको वर्चश्व नघटेसम्म आफ्नो पालो आउने सम्भावना देख्दैनन्। जनयुद्धकालमा दाहालको पेलाइ खेप्न नसकेर भट्टराईले कुनै बेला भनेका थिए, 'म नेतृत्वबाट पेलिँदापेलिँदा मेरो शरीरको छाला गैँडाको जस्तो भइसक्यो।' उनको यो अभिव्यक्ति सामान्य पीडाबाट आएको थिएन। जनयुद्धकालमा दुवै जनाले एकार्कालाई सिध्याउन लागेसक्दो गरे। भट्टराईले दाहालको एकांगी सोचको खुलेरै आलोचना गरे। हेडक्वार्टर (त्यो बेला हेडक्वार्टर भनेकै दाहाल थिए) विरुद्ध सार्वजनिकरुपमै असहमति जाहेर गरेका थिए। दाहाल पनि के कम, पार्टी हेडक्वार्टरविरुद्ध लागेको भन्दै पार्टीको साधारण सदस्यमात्र रहने गरी कारबाही गरे। परिणामतः दाहालकै ठाडो निर्देशनमा भट्टराई सेनाको नजरबन्दमा परे। पार्टी हेडक्वार्टरविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएको आरोपमा भट्टराईलाई रोल्पाको एक गाउँमा घेरिनुको मुख्य कारण दाहालसँगको वैचारिक मतभेद नभई आफूलाई सिध्याउन लाग्यो भन्ने दाहालको डर थियो। दाहाललाई राजावादी र भट्टराईलाई भारतपरस्त भनेर दुवै जनाले एकार्काविरुद्ध लगाइएको आरोपको अडियो नै तत्कालीन शाही नेपाली सेनामार्फत सार्वजनिक भएको थियो।
यस्ता घटनाहरु धेरै छन्, जो अझै बाहिर आउन बाँकी छन्, घटनाक्रमसँगै ती सबै बाहिर आउने नै छन्। तर, दाहाल र भट्टराईको तिक्तताका कारण विचार दृष्टिकोणको नभई प्राविधिकरुपमा मात्र थियो र छ भन्ने कुरा अहिले स्पष्ट हुँदै गएको छ। मुख्यतः दाहाल र भट्टराईबीच विचार र चिन्तनमा आंशिक अन्तर हुँदाहुँदै पनि पछिल्लो समयमा अन्तर मेटिँदै जानुमा दाशर्निकरुपमा व्यवहारवाद, राजनीतिकरुपमा दक्षिणपन्थी संशोधनवादी विर्सजनवाद, राष्ट्रिय आत्मसमर्पणवादी सोच र नोकरशाही प्रवृत्तिले काम गरेको छ। हुन त दाहालले खरिपाटी बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा लोकतान्त्रिक गणतन्त्रको रोडम्याप पेस गर्दा भट्टराईले समर्थन गर्दै 'हाम्रो राजनीतिक लाइनका विषयमा स्पष्ट भएर जाऔँ' भनेका थिए। तर, दाहालले आफूले पेस गरेको दस्तावेजमा इमानदार क्रान्तिकारी कार्यकर्ताहरुको मोह घटेको निष्कर्ष निकालेर फेरि 'यु' टर्नमा वैद्यले प्रस्ताव गरेको 'जनताको संघीय गणतन्त्र' मा सहीछाप गरे। वैद्यसँगै जान नसकिने निश्चित भइसकेको थियो र बुझाइमा धेरै फरक परिसकेको थियो। आफू र दाहाल वैचारिकरुपमा नजिक भइसकेकाले कार्यकर्ता र जनतालाई ढाँट्दा आफैँलाई घाटा हुन्छ भनेर त्यो बेला भट्टराईले 'जे हो भनेर जाऊँ, नढाटौँ' भन्दै दाहाललाई एक्पोज गराउन खोजेका थिए। तर, विचारमा समान हुँदाहुँदै पनि दाहाल त्यसरी जान तयार भएनन्। दुवै नेताको अहिलेको सम्बन्धलाई स्वाभाविक मान्ने हो भने विगतमा एकले अर्कालाई दिएको धोका र अविश्वासलाई के भन्ने?
अहिले पनि दाहाल-भट्टराईबीच सम्बन्ध राम्रो छैन। चुनवाङ बैठकपछि बनेका दुवै नेताको अवसरवादी विचार, आफ्नो राजनीतिक भविष्य र अस्तित्व रक्षाको चिन्ताले नचाहेर पनि एकै ठाउँमा रहन बाध्य छन्। पछिल्लो कालमा उनी दुवै जनालाई एकै ठाउँमा ल्याउन मधेसीसँगको चारबुँदे र मधेसीसहित अन्य दलसँग भएको सातबुँदे सहमतिले ठूलो भूमिका खेल्यो। भारतले दाहाललाई भट्टराईमार्फत आफूसमक्ष झुकाउन चाहन्थ्यो, त्यो सफल पनि भयो। नेपालमा माओवादी विचार हाबी भएपछि भारतीय माओवादीको मनोबल बढ्ने र त्यसले अन्ततः दिल्ली दरबारलाई नै ठूलो असर गर्ने देखेर दाहाललाई जसरी पनि भट्टराईमार्फत आफ्नो हितअनुकूल बनाउने भारतको चाहना पूरा भएको छ। यसले पनि स्वभावका हिसाबले दाहाल भट्टराई नमिल्ने नेताहरु भए पनि मिल्न बाध्य भए। धेरै पटकको अभ्यासपछि दाहाल भट्टराईलाई मधेसी पार्टीहरुसँग सत्ता साझेदारी गर्न लगाएर भारत फसाउन सफल भयो। माओवादीभित्रकै वैद्य पक्षले दाहाललाई सातबुँदे र चारबुँदे सम्झौताबाट बाहिर तान्न नीतिगत रुपमा सफल भए पनि व्यावहारिकरुपमा दाहाल उम्कनै नसक्नेगरी फसिसकेका थिए। अन्ततः दाहाललाई ल्याउन माओवादीइतरको सम्पूर्ण शक्ति लाग्यो। अहिले वैद्यसँग एकता तोडेर भए पनि भट्टराईले भारतमार्फत त्यो सफलता पाए। यसर्थ दाहाल आफूले नचाहेर पनि भट्टराईसँगको सहकार्य उनका लागि बाध्यता बन्यो।
मनन गर्न लायक के छ भने दाहाल-भट्टराईबीचको सम्बन्ध दुवै जनाको सहकार्य भएदेखि नै स्वाभाविक थिएन। युद्धकालमा होस् वा शान्तिकालमा उनीहरु एकार्कालाई आफ्नो हितअनुकूल प्रयोग गर्थे र गरिरहेकै छन्। भट्टराईको बौद्धिकता र मोहन वैद्यको क्रान्तिप्रतिको निष्ठालाई प्रयोग गरेर सधैँ नेतृत्वमा रहन सफल दाहाल शान्तिकालमा वैचारिक हिसाबले भट्टराईसँग निकट भए पनि उनीसँग विश्वस्त थिएनन् र छैनन्। विचारमा निकट भए पनि दुवैलाई एकार्काबीच अविश्वास कायम रहनुमा दाहालको द्वैध चरित्र र भट्टराईको एकांगी चिन्तन जिम्मेवार छ। दाहालसँग सचेततापूर्वक वैचारिक मात्र सम्बन्ध कायम राखेका भट्टराईले अब उप्रान्त दाहाललाई साक्षी राखेर आफ्नो सुधारवादी लाइनमा कार्यान्वयन चाहेका छन्। भट्टराईको दाउ हो, त्यसपछि दाहाल चाहेर पनि वैद्यसँग मिल्नसक्ने छैनन् भने नचाहेर पनि आफूसँगै रहन बाध्य हुनेछन्।
पार्टीभित्र दाहाल-भट्टराई तप्का एकअर्कामा मिल्न नसकिने स्थितिमा छन्। दुवै पक्षका भातृ संगठन र तल्लो तहका नेता कार्यकर्ता मिल्नै नहुने सुझाव दिन्छन् तैपनि उनीहरुबीच जति दुरी बढ्छ, घटनाक्रमले पुनः एकै ठाउँमा ल्याएर अड्काइदिन्छ। यो बाध्यता कसरी पैदा भयो भने युद्धकालमा खुबै क्रान्तिकारी कुरा गर्ने, शान्तिकालमा सुधारवादी हुने तर व्यवहारमा त्यही सुधारवादी काम पनि गर्न नसक्ने स्थितिले उनीहरुको धरातल कमजोर बन्दै गएको छ।
दाहाल-भट्टराईको अनौठो सम्बन्धले जन्मिएको माओवादीभित्रको विवादबाट फाइदा उठाउँदै संसद्वादी दल र अन्य शक्तिहरु मिलेर आफ्नो जालोमा फस्दै गएका यी दुई शीर्ष नेतालाई पुनः प्रयोग गरेर अन्ततः माओवादीलाई विभाजन गराइछाड्ने दाउमा छन्। किनभने जनयुद्धबाट नयाँ पहिचानसहित स्थापित भएको पार्टीले पूववर्ती मान्यता र दृष्टिकोणका आधारमा राज्यसत्ताको बागडोर समाल्यो भने उनीहरुको लुटको स्वर्ग गुम्छ। यसर्थ दाहाल र भट्टराईलाई विभिन्न सम्झौतामा फसाउँदै आफ्नो योजनामा प्रयोग गरेर माओवादीलाई तितरवितर बनाउने वर्षौँदेखिको योजनामा जति बेला उनीहरु सफल हुन्छन्, सायद त्यति बेला दाहाल र भट्टराईबीचको सम्बन्ध स्वाभाविकतामा बदलिन्छ।
लेखक एनेकपा (माओवादी) पक्षधर कम्युनिस्ट आउटलुकका कार्यकारी सम्पादक हुन्।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस