कांग्रेसको भविष्य
२३ चैत्र २०६८
•
९ मिनेट पाठ
कांग्रेसको भविष्य
कांग्रेसले आफ्नो आधार स्थलका रुपमा रहेको मधेसमा नयाँ उर्जा र सोचसाथ जानु आवश्यक छ। यसले नै जेठ १४ पछि मधेसमा उसको उपस्थितिको आकार निर्धारण गर्छ।

नेपाली कांग्रेस सभापति सुशील कोइरालाले हालै जेठ १४ पछि सबै मधेसी दलहरू हराउने बताएका छन्। त्यस अवधिभित्र संविधान बन्न नसके नेपाली राजनीतिले कुन बाटो रोज्ने भन्ने सम्बन्धमा थुप्रै आशंका भए पनि स्पष्ट भने कोही छैन। हरेक नेताका आ-आफ्ना भनाइ छन्।
जेठ १४ सम्म हाम्रा सभासद्हरू नयाँ संविधान बनाउन सफल भए त्यो संघीयताविनाको संविधान पक्कै हुने छैन। संविधान बनाउन थालिएको थोरैमात्र प्रयासलाई अवरोध पुर्‍याउने बुँदामध्ये संघीयता पनि हो। यसबारे नेताहरूबीच अझै मतैक्य छैन। त्यसैले अहिलेसम्मको स्थिति हेर्ने हो भने संघीयताले संविधान निर्माणमा अवरोध उत्पन्न गरिरहेकोमा दुई मत नहोला। तर, संघीयताको सबालमा मुलुक कति अगाडि बढिसक्यो भने त्यसलाई बिर्सेर संविधान निर्माण हुने स्थिति देखिएको छैन। उता संघीयता सम्बन्धमा हरेक दलका मात्र होइन दलभित्र समेत कति मतभिन्नता छ भने यति चाँडो त्यसलाई समावेश गरेर संविधान निर्माण हुने सम्भावना झिनोरुपमा समेत देख्न गाह्रो छ। एक थरीले संघीयताले मुलुक टुक्रने विचार गरिरहेको बेला यस प्रश्नले पहिला प्रमुख राजनीतिक दल टुक्रने संकेत देखा परेको छ।
संघीयता जातीय आधारमा हुने कि नहुने भन्ने सबालमा विशेषगरी कांग्रेस र एमालेभित्र विद्रोहका स्वरहरू देखिन थालेका छन्। जातीय आधारमा संघीयता हुन नसक्ने भन्ने पहिलो पंक्तिका नेताहरूको भनाइले दोस्रो पंक्तिबाट साथ पाउन छाडेको छैन। संघीयताको स्वरुपलाई लिएर भएको विवाद जतीयतामा मात्र सीमित छैन। संघीयताको अर्को प्रमुख विवाद एक मधेस एक प्रदेश हुने अथवा नहुने भन्ने हो। यो विवाद पनि मिलिसकेको छैन। यसको असर पनि विशेषगरी नेकपा (एमाले) र कांग्रेसमै पर्ने सम्भावना बढी छ। हुन त मधेसवादी दलका नेताहरूको अहिलेसम्मको चर्तीकला हेर्दा मधेसी मुद्दा उनीहरूका लागि सत्तासम्म पुग्ने लिस्नोभन्दा बढी हुन सकेको छैन। यसलाई मधेसका जनताले पनि बुझिसकेका छन्। यसबाट मधेसको नाममा राजनीति गर्ने नेताहरू कमजोर हुन्छन्, मधेसका मुद्दा होइन। त्यसैले मधेसको मुद्दा सम्बोधन नगरी नेपाली राजनीति अगाडि बढ्ने सम्भावना देखिन्न।
नेपाली कांग्रेस र एमालेको आधार मधेसमा खस्किसकेको पछिल्लो निर्वाचनले देखाएको थियो। अझ मधेस कांग्रेसको आधार थियो। केही दिनअघि मात्र नेपाली कांग्रेसले मधेसमा आफ्नो पकड बनाउने प्रयास स्वरुप पूर्वका केही जिल्लामा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको आयोजना गर्‍यो। गुमेको आधार भेट्न त्यतिमात्र पर्याप्त भने छैन।
जेठ १४ मा जसोतसो संघीयतासहित संविधान बनेको खण्डमा मधेसका मुद्दा हराएर जाँदैनन्, बरु झनै मुखरित हुन्छन्। ती समस्या सम्बोधन गर्न अगाडि बढ्ने दलले नै त्यहाँ आधार बनाउन सफल हुन्छ। संविधानको निर्माण स्वयंमा समस्याको समाधान होइन। त्यो त समस्या सम्बोधन गर्ने माध्यममात्र हो। त्यसैले जेठ १४ पछिको स्थितिमा नेपाली कांग्रेसले आफ्नो आधारमा केकस्ता नयाँ कार्यक्रम लिएर जान्छ भन्ने कुरामा त्यहाँको राजनीति निर्भर हुन्छ। अहिले मधेसी दलका केही नेता आफूले उठाएका मुद्दामा असफल हुनुको अर्थ कांग्रेस सफल हुनु होइन। त्यसबाट आफ्ना पुराना कार्यकर्ता फर्कने अपेक्षा कांग्रेसले गरेको छ भने त्यो परिपक्व सोच होइन।
परिवर्तित राजनीतिक परिवेशमा कांग्रेसले मधेसलाई हेर्ने दृष्टिमा केकस्तो परिवर्तन ल्याउँछ भन्ने महत्वपूर्ण हो। मधेसी दलहरू असफल भए भन्ने सोचलाई मात्र आधार बनाएर मधेसमा गुमेको स्थान खोज्न सजिलो बाटो अँगाल्नु हो। राजनीतिमा यस किसिमको सजिलो बाटोले दूरगामी परिणाम दिन सक्दैन। कांग्रेसले मधेसका मुद्दालाई सम्बोधन गर्न केकस्ता कार्यक्रम तयार पारेको छ भन्ने महत्वपूर्ण छ। अहिलेको स्थितिमा नेपाली कांग्रेसको सबैभन्दा ठूलो चुनौती आफ्नो पहिचानलाई पुनः कायम राख्नु हो। यसका लागि मधेसमा गुमेको स्थान भेट्नु ठूलो चुनौती हो।
नेपाली कांग्रेसले मधेसको मुद्दालाई सम्बोधन गर्न नसक्ने भनेर नै मधेसी नेता कार्यकर्ताले आफूले दशकौँ बिताएको दललाई चटक्क छाडेर गएका थिए। यसरी जानेमा कतिपय क्षणिक राजनीतिक फाइदा हेरेर गएका हुन सक्छन्। तर, त्यसरी गएकोमा सबै सत्ताको लोभमा परेको भन्न सकिँदैन। मधेस आन्दोलनपछि जसरी मधेसी नेता कार्यकर्ताले कांग्रेसलाई जसरी छाड्दै हिँडे, त्यसले कांग्रेसको कमजोर संगठनलाई पनि साबित गरेको थियो। त्यसैले अहिले मधेसवादी दलबाट मोहभंग कार्यकर्ताहरू पुनः पुरानो पार्टीमा फर्कने अनुमान आफैँमा पूर्ण गलत पनि होइन। त्यस किसिमको कुनै सैद्धान्तिक प्रतिबद्धताविनाको आगमन स्थायी हुँदैन।
मधेस प्रमुख आधार भएको कांग्रेस मधेसमै कमजोर हुनु आफैँमा आश्चर्यजनक हो। त्यसैले मधेसी कार्यकर्ता आफूबाट विमुख हुनुपर्ने कारण खोतल्ने काम कांग्रेसले आफ्नो पहिलो प्राथमिकतामा राख्नुपर्छ। कांग्रेस प्रजातन्त्रका लागि पटकपटक लडेको पार्टी हो। त्यसैले प्रजातन्त्रप्रति यसको प्रतिबद्धताबारे शंका गर्ने ठाउँ छैन। यसभित्र आन्तरिक प्रजातन्त्र भने निकै कमजोर भएको आरोप लाग्दै आएको छ। कहीँ त्यही कमजोर आन्तरिक प्रजातन्त्रको सिकार त मधेसी कार्यकर्ता भएका होइनन्? यसको स्पष्ट जबाफ कांग्रेसले खोज्नु आवश्यक छ। त्यसैले कांग्रेसले आफ्नो आधार स्थलका रुपमा रहेको मधेसमा नयाँ उर्जा र सोचसाथ जानु आवश्यक छ। यसले नै जेठ १४ पछि मधेसमा उसको उपस्थितिको आकार निर्धारण गर्छ।
अर्को समाचार
कांग्रेसको झिलीमिली
३१ साउन २०६७
•
१२ मिनेट पाठ
कांग्रेसको झिलीमिली
नेपाली कांग्रेस अहिले सञ्चार माध्यमको आकर्षणको मुख्य विन्दु बनेको छ। सञ्चार माधयमको विश्लेषणअनुसार, संगठनको चालीस प्रतिशतभन्दा बढी हिस्सा तरुण पुस्ताको कब्जामा आएको छ। कांग्रेसको भविष्य सुन्दर र सुदृढ देखिन थालेको छ।
यसका साथै, देश विधिको शासनतर्फ उन्मुखहुने सम्भावना बढेकोछ। तरुणको कब्जामा आएको कांग्रेस सबै प्रकारका एकाधिकारवादका लागि चुनौतीका रूपमा प्रस्तुत हुँदैछ।

कांग्रेस राजनीतिमा गहिरो निष्ठा, लामो सक्रियता र निरन्तर सरोकार राख्दै आएका व्यक्तिका लागि यो सन्देश प्रीतिकर नलाग्ने त कुरै भएन। इतिहासको प्रारम्भ विन्दुदेखि नै कांग्रेस नेतृत्वको चिन्तन एकाधिकारवादी र स्वभाव निरंकुश रहेपनि राजनीतिक संगठनका रूपमा यसभन्दा प्रजातान्त्रिक अर्को कुनै संस्था नेपालमा देखा परेको छैन। यो संस्था निरन्तर राजनीतिक र सामाजिक समानतासहितको गणतन्त्र, समाजवादी आर्थिक संरचना र आधारभूत मौलिक अधिकारका पक्षमा उभिएको छ। पछिल्लो समयमा यसका नेताले राजनीतिक शासनको सुखभोग गर्ने अभिलाषा रक्षाका लागि पटक पटक यसका मौलिक सिध्दान्तमा बन्चरो हाने पनि, पटकपटक पार्टी संगठनलाई विक्षिप्तताको हदसम्म घचेटे पनि, संगठनमाथि व्यक्तिगत प्रभुत्व स्थापित गरेर निजी स्वार्थ पूरागर्न पार्टीलाई पाटीपौवाका तहमा ओराले पनि कांग्रेस संगठनको मूल चरित्रमा कुनै परिवर्तन आएको छैन।

तर, संचार माध्यमले सडकगल्लीका किनारकिनारमा प्रदर्शन गरेका कांग्रेस संगठनको कायाकल्प हुन लागेको रंगीन शब्द र वृत्तचित्र देखेर केही व्यक्ति रमाए पनि यसको आधारभूत अर्थ भने खुली सकेको छैन। निश्चयपनि, कांग्रेस अथवा अन्य कुनै राजनीतिक संगठनमा तरुणहरूको आकर्षण र पकड बढ्नु राम्रो हो। तर, कांग्रेसमा बूढा सकिएर तरुणको पकड बढेको हो कि तरुणले बूढो र थोत्रिएको विचार विस्थापित गरेर आफनो पकड बढाएका हुन् भन्ने प्रश्नको जवाफ नखोजी कांग्रेसको सुनिश्चित भविष्यबारे अहिले नै केही भन्न सकिने अवस्था छैन।

निश्चय पनि, महाधिवेशनको पूर्वसंध्यामा भएका कांग्रेसका विभिन्न तहका संगठनहरूको चुनावले, कांग्रेस नेता तथा पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौलाले भन्नु भएजस्तै, कांग्रेसमा ‘सकारात्मक कम्पन' ल्याएको छ। देशमा शान्ति स्थापनाका लागि माओवादी पक्षसँग भएका सहमति र सम्झौताका एक प्रमुख कलाकार सिटौलालाई पक्कै पनि गाउ"का मर्मको जानकारी होला। संविधान सभा चुनावलगत्तै बैतडीका एक जना किसानले स्तम्भकारसँग भनेका थिए, ‘संविधान सभाको चुनाव माओवादीले जितेपनि अरू दलले चुनाव हारेका होइनन्।

 

अरू दलका भोट माग्नै आएनन् त चुनाव कसरी जितुन्?' माओवादीलाई शान्ति प्रक्रियामा ल्याएको दम्भले फुलेका कांग्रेसका नेता कांग्रेसको पक्षमा भोटको स्वतः वर्षा हुने कल्पनामा नरुमल्लिएका भए संविधान सभाको अहिलेको नक्सामा अलिकति भएपनि अन्तर हुने थियो कि थिएन? त्यति बेला गृहमन्त्री रहेका सिटौला यसबारे पक्कै अनभिज्ञ हुनुहुन्न्थ्यो होला।

कुनैपनि राजनीतिक दलको संगठनात्मक चुनावमा आएको कम्पन मात्रैले भावी राजनीतिलाई निर्देश गर्न सक्तैन। त्यस्तो कम्पन संगठनको आन्तरिक मामिला हो। पार्टीको आन्तरिक संगठनमा आएको त्यस्तो कम्पनले जागेका कार्यकर्ताको शक्तिलाई विचार र कार्यक्रमले संगठित नतुल्याएसम्म त्यसले सामाजिक परिवर्तनमा कुनै योगदान गर्न सत्तै्कन। कांग्रेस विचार नभएको पार्टी होइन। तर, २०४७ देखि अहिलेसम्मको यात्रामा कांग्रेसले आफना विचार कोशी र कर्नालीका बगरमा बिसाइसकेको छ। कांग्रेसका धुरन्धर अर्थविदहरू उदार अर्थनीतिको अवलम्बनगर्दा प्रजातान्त्रिक समाजवादका मूलभूत विषयलाई छाड्नैपर्ने मान्यताको माखेसाग्लोमा नबाँधिएका भए देशको चित्र यतिविधि बिग्रने थिएन। उदार अर्थतन्त्रको अवलम्बनगर्ने भारत लगायत दुनिया"का थुप्रै देशका पार्टी र सरकारले आर्थिक समानताको नीतिलाई अर्थतन्त्रमा समन्वय गर्नसक्दा कांग्रेस सरकारका विद्वान् पदाधिकारीले यो गरिब देशमा उदार अर्थतन्त्रको उल्टो गंगा नवगाएको भए कांग्रेस गरिबको आँगनबाट हराउने थिएन।

अहिलेको कांग्रेस संगठन राजनीतिक विचारका दृष्टिले लगभग विचारविहीन अवस्थामा छ। कांग्रेस सभापतिका रूपमा गिरिजाप्रसाद कोइरालाले सुरु गर्नु भएको शान्ति प्रक्रिया पार्टीभित्र एउटा उल्लेख्य विचारका रूपमा स्थापित हुनसक्दथ्यो। दुर्भाग्यवशः शान्ति प्रक्रियाको यो कार्यसूची प्राविधिकरूपमा कांग्रेसको भएपनि यथार्थमा कोइरालाको निजी एजेण्डा बन्न पुग्यो। कोइरालाको जीवनकालमा पनि माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर कोइरालाले कांग्रेस सखाप पार्नु भएको आरोप धेरैले लगाए। शान्ति प्रक्रियालाई लोकतन्त्रको पक्षमा ल्याउने राजनीतिक सीप र कौशल नभएका अयोग्य नेताले देशको वास्तविक अवस्थालाई बिर्सिनु अस्वाभाविक पनि थिएन। कोइरालाको निधनपछि उहाँको चिता सेलाउन नपाउँदै नेताहरूले शान्ति प्रक्रियालाई तिलाञ्जली नदिएको भए देश अहिलेको भाँडभैलोमा फस्ने थिएन।

अहिले कांग्रेस केन्द्रीय कार्यालयको आफ्नै भवन छ र पार्टी चलाउने संस्थागत संरचना पनि छ। तर, यो अहिले पनि आधुनिक हुन सकेको छैन। पदाधिकारी नेताको आआफनै मर्जी र खटनमा चलेको छ कांग्रेसको गाडी। विचार मन्थनका लागि कुनै मञ्च छैन। नेताका प्रियपात्रहरू नै विचारक, दार्शनिक र संचारविद्का रूपमा प्रतिष्ठित गरिएका छन् पार्टीभित्र। नेताहरूसँग असहमति जनाउनेका लागि कुनै स्थान छैन। लघुताभाषको दलदलमा जाकिएका कांग्रेसका यी नेता समर्थ सहयोगीको होइन, आफनो नामको खैँजडी बजाउने समर्थकको खोजीमा छन्। बाबुको नाम र योगदानको ताम्रपत्र देखाएर कांग्रेस नेताका रूपमा जिल्ला र केन्द्रका विभिन्न तहमा स्थापित व्यक्तिले पूरै पार्टी संगठनलाई आफनो स्वार्थको भरणपोषणका लागि क्षतविक्षत तुल्याएका छन्। कांग्रेसका निमुखा अहिले योगदानी पाखा लगाइएका छन्।

कांग्रेसको संगठन निजामती प्रशासनजस्तो टिप्पणी र आदेशको पारामा चलेको छ। केन्द्रीय निर्देशनको औपचारिक सर्कुलर प्राप्त नभएसम्म जिल्ला संगठनहरू स्वतःस्फूर्तरूपले कुनैपनि अभियान र आन्दोलन हाँक्न स्वतन्त्र छैनन्। संगठनका लागि अहिले भएको चुनावले कांग्रेसका निम्ति अपरिहार्य मानिएको एकताको सन्देश दिन सकेको छैन। जिल्लाजिल्लामा कांग्रेसका तरुण होइनन्, शेरबहादुर देउवा र सुशील कोइरालाका ‘सिपहसालार' चुनिएका छन्। संगठनको चुनावले गुटबन्दीलाई निरन्तरता दिएको छ। कांग्रेसको २०४७ पछि चितवनमा भएको महासमितिको बैठकमा त्यति बेलाको ‘गिरिजा गुट'का हस्ती तथा संचारमन्त्री विजयकुमार गच्छदारले गुटबन्दीको पक्षमा खुलेआम अभियान थाल्नुभएको थियो। अहिले गच्छदारले पार्टी छोडिसक्नु भएको छ। तर, पार्टीमा गच्छदार प्रवृत्ति झन् बलियो भएको देखिएको छ।

यति बेलाको परिस्थितिमा संगठनको चुनावले कांग्रेसको चुरो ठम्याउने काम गर्न सकेको देखिएको छैन। न त, यसले जीवन्त प्रजातान्त्रिक संगठनका रूपमा कांग्रेसको शक्ति बढाउन उल्लेख्य र प्रभावकारी काम नै गरेको छ। यसलाई सकारात्मक कम्पन मान्न सकिने आधार झिना छन्। यस कम्पनले कांग्रेसलाई अझै गुटबन्दीको दलदलमै धकेल्ने देखिएको छ। गुटबन्दीको घेराबाट कांग्रेसबाहिर नआएसम्म नेपाली प्रजातन्त्रका लागि नेपाली राजनीतिमा यसको भूमिका बलियो हुनसक्तैन।

जे भए पनि, महाधिवेशनका लागि भएका गतिविधिले कांग्रेस संगठनका केही आधारको निर्माण पक्कै गरेका छन्। यही आधारमा टेकेर आगामी महाधिवेशनले कांग्रेसको एकतालाई मुख्य विन्दु बनाउँदै विचार, दर्शन र कार्यक्रमको आधारमा संगठन सुदृढ गराउन सक्यो भने यसले नेपाली राजनीतिको महावैतरणी सफलतापूर्वक पार गर्नेछ। त्यसो नभएर, नेताहरू आआफ्ना गुटलाई काखी च्यापेर संचार माध्यमको झिलीमिलीमै रमाई रहे भने यसै भन्न सकिँदैन। एउटा ऐतिहासिक पार्टीको प्रतिष्ठा र वर्चस्व धान्नु चानचुने काम पक्कै होइन।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस