संघीय नेपालको सपना
२० चैत्र २०६८
•
१७ मिनेट पाठ
संघीय नेपालको सपना
दलित समुदायको जनसंख्याको बनोट र वितरणबारे केही कुरा गरौँ। दलितको जनसंख्या जम्मा करिब १३ प्रतिशतमा ८ प्रतिशत पहाडी दलित छन्। पहाडी दलितमध्ये कामी ३.९ दमाई/ढोली १.७, सार्की १.४ प्रतिशत छन्। कामीको बहुमत जम्मा चार गाविसमा छ भने दमाई ढोली र सार्कीको एउटा पनि गाविसमा बहुमत छैन। अर्थात् जनसंख्याको ८ प्रतिशत ओगट्ने पहाडी दलित कति छरिएर बसेका छन् भने तिनको बहुमत सात गाविसमा मात्रै छ।
तुलनाका लागि करिब ७ प्रतिशत जनसंख्या भएका मगरको बहुमत भएको गाविसको संख्या १७७ छ। पहाडी दलितभन्दा मधेसी दलित अलि बढी एकत्रित भएर बसेका छन्। मधेसी दलितमध्ये प्रमुखतः चमार/हरिजन राम १.२ प्रतिशत, धानुक ०.८ प्रतिशत, मुसहर ०.८ प्रतिशत, दुसाध/पासवान/पासी ०.७ प्रतिशत छन्। धानुकको दुई र बाँतरको एउटा गाविसमा बहुमत छ। अन्य कुनै पनि मधेसी दलितको कुनै पनि गाविसमा बहुमत छैन। तर सबै मधेसी दलितलाई एकैक ठाउँमा गाभ्ने हो भने जनसंख्या पाँच प्रतिशत र तिनको बहुमत भएका गाविसको संख्या २० हुन्छ। दलितहरू कति छरिएर बसेका छन् भन्ने आकलन गर्न यस समुदायको १० प्रतिशत उपस्थिति भएको गाविस संख्या हेर्नु उपयुक्त हुन्छ। पहाडी दलित १,४३९ र मधेसी दलित ८०४ गाविसमा त्यहाँको जनसंख्याको १० प्रतिशत वा अधिक संख्यामा छन्। तुलनाका लागि सबैभन्दा ठुलो जात, जातजाति, समुदायको प्रायः सबै राजनीतिक, आर्थिक र सामाजिक विषयमा समान समस्या छन्। तसर्थ पहाडी र मधेसी दलित जोडेर सम्पूर्ण दलित समुदायलाई हेर्दा दलित जनसंख्यो २,३२९ गाविसमा १० प्रतिशत वा अधिक उपस्थिति छ।




माथि उल्लिखित तथ्यांकबाट दुई मुख्य निष्कर्ष सहजै निकाल्न सकिन्छ। संघीयताले अन्य सबै समुदायझैं दलित समुदायलाई पनि फाइदा पुर्‍याउँछ। तर दलितलाई संघीयताका कारण विशेष फाइदा भने हुँदैन। दलित यसरी सबैतिर छरिएर बसेकाले तिनको उत्पीडन समाप्त पार्न विशेष नीति निर्माण गर्नुपर्ने स्वतः स्पष्ट छ। माथि उल्लेख गरिएजस्तै, दलितमाथिको विभेद समाजको तहबाट सुरु भएर राज्यको स्तरमा घनीभूत हुन्छ। यस यथार्थले दलित उत्पीडन अन्त्य गर्न रहेको चुनौती बुझ्न सकिन्छ। अझ दलित महिलामाथिको विभेद घरबाट सुरु भई समाज र राज्य तहमा क्रमैसँग अझ घनीभूत हुँदैजाने भएकाले दलित महिला लक्षित राज्ययन्त्र, नीति र कार्यक्रम निर्माण तथा कार्यान्वयन गर्नु कति चुनौतीपूर्ण कार्य हो भन्ने सहजै अनुमान गर्न सकिन्छ।
यस कठोर यथार्थलाई बिल्कुलै बेवास्ता गरेर राज्य पुनर्संरचना आयोगको बहुमतको प्रतिवेदनमा दलितका लागि गैरभौगोलिक प्रदेश निर्माण गर्ने बाटो सुझाइएको छ। यती सतही र खोक्रो उपायले दलितको समृद्धिको चाहना पुरा गर्ने दिशातर्फ कुनै ठोस प्रगति हुन सत्तै्कन। दलित समुदायकै एक विद्वान् र अनुभवी व्यक्ति आयोगका संयोजक भएकाले पनि दलित समुदायले राज्ययन्त्रमा आफ्नो पहुँच प्रतिनिधित्व र प्रभावको अभिवृद्धिको ठोस उपाय यस प्रंतिवेदनले पहिल्याउने आपेक्षा राखिएको थियो। दुर्भाग्यवश, त्यो अपेक्षा कुण्ठित हुन पुग्यो।
अब मधेसी समुदायबारे पनि केही चर्चा गरौँ। मधेसी समुदाय ३१.६ प्रतिशत छ। यसमध्ये मधेसी जनजाति ७.७ प्रतिशत, दलित ४.९, मुस्लिम ४.३ र बाँकी १४.७ प्रतिशत छ। मधेसी जनजातिमध्ये अत्यन्तै ठुलो संख्या थारुको ६.८ प्रतिशत र बाँकी १ प्रतिशतभन्दा कम ९ वटा विभिन्न जनजातीय समुदायको छ। त्यस्तै १७ विभिन्न मधेसी जातिमध्ये यादव ३.९ प्रतिशत, तेली १.३, कोइरी १.१ प्रतिशत, कुर्मी ०.९ प्रतिशत र बाँकी जाति करिब एक हजारको संख्यादेखि ०.६ प्रतिशतसम्ममा सीमित छन्। भाषा, संस्कृति र रहनसहन राजनीतिक मुद्दा तथा आकांक्षा हेर्ने हो भने अन्य मधेसी समुदायलाई छुट्टाछुट्टैभन्दा एक समूहका रूपमा हेर्नु उपयुक्त हुन्छ। थप उनको बसोबास पनि कोसी नदी पश्चिम सप्तरीदेखि पर्सासम्मको समथर तराई/मधेस भूभाग र लुम्बिनीको कपिलवस्तु रुपन्देहीमा पर्छ। देशैभर अन्य मधेसीको बहुमत भएका ५१२ गाविसमध्ये ४४० गाविस सप्तरीदेखि पर्साको कुल ५३५ गाविस रहेको क्षेत्रमा छन्। मधेसी जनजाति मूलतः थारु समुदायको बहुमत भएको १०४ गाविस मध्ये कैलालीमा १७, बर्दियामा २३, दाङमा आठ, बारामा ११ पर्सामा ७, मोरङमा १० र सुनसरीमा चार गरी जम्मा ८० गाविस छन्। यसरी कोसीपूर्व र दाङपश्चिमको समथर भूमिमा मधेसी जनजाति र सप्तरीदेखि पर्सासम्म अन्य मधेसीको सघन बसोबास छ। सम्पूर्ण अन्य मधेसीमध्ये दुई तिहाइ बढीको बसोबास सप्तरीदेखि पर्सासम्ममा छ। जनजाति मधेसीमध्ये भने १५.४ प्रतिशतमात्रै यहाँ बस्छन्। यसै क्षेत्रमा मधेसी दलितमध्ये ७१ प्रीतशत र मुस्लिममध्ये ५४ प्रतिशत बसोबास गर्छन्। यस क्षेत्रमा कुल जनसंख्याको ८३ प्रतिशत मधेसी जनसंख्या छ। बाँकी तराईका जिल्लामा भने ४७ प्रतिशत जनसंख्या मधेसी छ।
सप्तरीदेखि पर्सासम्म भाषा, संस्कृति, रहनसहन, राजनीति सबाल र आकांक्षामा सामिप्य भएका अन्य मधेसी समुदायको बलियो उपस्थिति र यस क्षेत्रमा सापेक्षतामा कम रहेको उत्तर-दक्षिण अन्तनिर्भरतालाई पनि ध्यानमा राख्ने हो भन्ने सप्तरीदेखि पर्सासम्मका मधेसका जिल्लालाई प्रारम्भिकरुपमा एउटै छुट्टै प्रदेश प्रस्तावित गर्न सकिन्छ।
अब तराई-मधेसका जिल्लामा जनताले संविधान सभामा अभिव्यक्त गरेको जनमतको विश्लेषण गरौँ। यसका लागि 'समग्र मधेस एक प्रदेश'को नारालाई प्रमुख राजनीतिक मुद्दा बनाएर लडेका मूलतः चार मधेस केन्द्रित राजनीतिक दलहरू, मधेसी जनअधिकार फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी र नेपाल सद्भावना पार्टी (आनन्दी देवी)ले प्राप्त गरेको मतलाई एकै ठाउँ जोडेर हेर्नु उपयुक्त हुन्छ। तराई मधेसका २० जिल्लामा संविधान सभाको निर्वाचनमा जम्मा खसेको सदर मतको २३ प्रतिशत यी मधेस केन्द्रित राजनीतिक दलले पाए। तर, तराईको सम्पूर्ण भूभागमा यी चार दलप्रतिको समर्थन भने एकै प्रकारको छैन। कुनै जिल्लामा यिनको उपस्थिति लगभग नगण्य छ भन्ने अन्य केही जिल्लामा उनको जनाधार बलियो देखिन्छ। उदाहरणका लागि चितवनमा यिनको समर्थन लगभग शून्यजस्तै रह्यो। त्यस्तै, अन्य पाँच जिल्ला दाङमा ०.४ प्रतिशत, कञ्चनपुरमा ०.९ प्रतिशत, कैलालीमा १.५ प्रतिशत, झापामा ४.७ प्रतिशत र बर्दियामा ६.३ प्रतिशत मतमात्र यी दललाई प्राप्त भयो। पाँच जिल्ला नवलपरासी, धनुषा, रुपन्देही, मोरङ, सुनसरी र बाँकेमा यी दलप्रतिको समर्थन सामान्य, १८.१ प्रतिशतदेखि २७.४ प्रतिशत रह्यो। तराई मधेसका बाँकी ८ जिल्ला बारा, पर्सा, महोत्तरी, रौतहट, सिरहा, सप्तरी, कपिलवस्तु र सर्लाहीमा भने यी दललाई ३१.६ प्रतिशतदेखि ४४.४ प्रतिशत मतसम्म प्राप्त भयो। अर्थात्, मूलतः सप्तरीदेखि पर्साको भूभागमा यी दलले उठाएका राजनीतिक सबालप्रति बलियो जन समर्थन रहेको देखियो। तसर्थ, जनमतको दृष्टिकोणबाट सप्तरीदेखि पर्साको मधेस भूभागलाई एउटा प्रदेश बनाउने थप आधार प्राप्त भएको देखिन्छ। यसको छलफल टुंग्याउनुअघि एउटा विषयमा ध्यान आकृष्ट गर्न आवश्यक ठान्छु। सप्तरीदेखि पर्सासम्मका यी र जिल्लाको उत्तरतर्फ रहेका तीन जिल्ला, उदयपुर, सिन्धुली र मकवानपुरमा चुरे पर्वतको शृंखला छ। वातावरणीय दृष्टिकोणबाट चुरे पर्वत कमजोर छ। यस क्षेत्रमा पहिरो र भू-स्खलनको समस्या निकै गम्भीर छ। चुरेको वातावरणीय र पर्यावरणीय समस्याको प्रत्यक्ष प्रभाव यी ८ वटै तराई मधेसका जिल्लामा पर्छ। तसर्थ, यी जिल्लाको उर्वरभूमि र यहाँ रहेको कृषि, उद्योग, सेवा र व्यापारको सम्भावनाबाट अधिकतम लाभ लिई यसलाई एउटा समृद्ध प्रदेश बनाउन यी ८ जिल्लामा एउटा सामर्थ्यवान प्रदेशको निर्माण हुनसक्छ।
अहिलेसम्मको छलफलका आधारमा प्रारम्भिकरुपमा मुलुकलाई सात संघीय प्रदेशमा बाँड्नु उपयुक्त देखिन्छ। यो प्रारम्भिक प्रस्तावमा जिल्लालाई विभाजन नगर्ने गरी प्रस्तुत गरिएको छ। तर यो अथवा यसको कुनै परिमार्जित प्रदेश रचनाको प्रस्तावलाई सुरुमा जिल्ला विभाजन नगरी सहमति निर्माणको कोसिस गर्नु उपयुक्त हुन्छ। लगभग सहमति निर्माण भइसकेपछि स्वाभाविकरुपमा प्रदेश रचनाको प्रस्तावलाई परिमार्जन गर्न कुनै कुनै सीमावर्ती जिल्लाका एक वा केही गाविसलाई जिल्लाका बाँकी गाविससँग छुट्ट्याएर अन्तिम रुप दिन सकिन्छ। काठमाडौं, ललितपुर र भक्तपुरलाई राष्ट्रिय गौरव र समृद्धिको प्रेरक नमुना केन्द्रका रुपमा कुनै प्रदेशमा नराखी राजधानी जिल्लाका रूपमा राखिनु उपयुक्त हुन्छ। राजधानी क्षेत्रमा पर्ने ललितपुरका केही गाविसलाई स्वाभाविकरूपमा पायक पर्ने अन्य प्रदेशमा राख्नु उपयुक्त हुन्छ तर राजधानी जिल्लाका बारेमा सहमति निर्माण भएपछिमात्रै सो कार्य गर्नु उपयुक्त हुनेछ। जिल्लालाई भरसक विभाजित नगर्ने प्रस्तावमा अन्य आधारबाहेक हालसम्म विकसित प्रशासनिक संरचनाबाट जनतालाई सेवा पुर्‍याउने राज्यको मूल कार्यमा थप सहयोग पुगोस् भन्ने उद्देश्य पनि रहेको छ।
प्रदेश रचनाको प्रारम्भिक प्रस्तावको रूपरेखा यस्तो हुनसक्छ :
प्रदेश १ : कोसी पूर्वका सबै १० जिल्ला
प्रदेश २ : सप्तरीदेखि पर्सासम्मका ८ तराई मधेसका जिल्ला र उदयपुर, सिन्धुली, मकवानपुर
प्रदेश ३ : सोलुखुम्बू, खोटाङ, ओखलढुंगा, दोलखा, रामेछान, सिन्धुपाल्चोक, काभे्रपलान्चोक
प्रदेश ४ : वागमतीका रसुवा, धादिङ, नुवाकोट, चितवन, पुरै गण्डकी अञ्चल, पर्वत र नवलपरासी,
प्रदेश ५ : लुम्बिनीका बाँकी ५ जिल्ला, धवलागिरीका बाँकी ३ जिल्ला, रोल्पा, प्युठान, दाङ
प्रदेश ६ : राप्तीका बाँकी २ जिल्ला, पुरै भेरी अञ्चल, डोल्पा, मुगु, जुम्ला
प्रदेश ७ : हुम्ला, कालीकोट र सम्पूर्ण सुदूरपश्चिम
राजधानी जिल्ला : काठमाडौं, ललितपुर र भक्तपुर

यो प्रारम्भिक प्रस्तावमा बहस होला नै। त्यसैबेला अवश्यकताअनुसार पहिचान र सामर्थ्यका आधारमा यी प्रदेशको औचित्यबारे थप विस्तृत विवरण एवं धारणा प्रस्तुत गर्नेछु। अहिले दैनिक पत्रिकाको तेस्रो अंकसम्म लम्मिएको यो छलफल यहीँ टुंग्याउँ्क।
'स्वतन्त्रताकी मूर्ति'को पदस्थलमा कुँदिएको कविताका पंक्तिहरू
मलाई देऊ तिम्रा थकित, गरिब अस्तव्यस्त जनसमूह
स्वतन्त्रताको सास फेर्ने उत्कट अकांक्षा
अटेसमटेस तटका निकृष्ट फोहोर मैला
यी घरवारविहीनहरुलाई मतिर पठाऊ
स्वर्गको ढोकासँगै मैले तिनको स्वागतका लागि मसाल बालिरहेको छु।
एमा लजासर रचित यो कविता समृद्धि र वैभवको सपना बोकेर अमेरिका पस्नेहरूका लागि सबैभन्दा प्रमुख र पुरानो बन्दरगाहका रहेको 'स्वतन्त्रताकी मूर्ति' (स्ट्याचु अफ लिबर्टी) को पदस्थलमा कुँदिएको छ। नेपाली दिदीबहिनी दाजुभाइको समृद्धिको सपनाले प्रेरित गर्ने गतिशीलतालाई हाम्रो देशका थुप्रै ठाउँमा यिनै भावनाका साथ स्वागत गर्न तयार मानसिकताबाट मात्रै रोवा गाउँकी गरिब तर स्पष्ट विचारकी बहिनीले दिनुभएको प्रेरक सन्देश पुरा गर्न सकिन्छ। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सपना पनि यही हुनुपर्छ।
लेखक नेपाली कांग्रेसका नेता हुन्।

 
अर्को समाचार
संविधान सपना साकार
३० भदौ २०७२
•
११ मिनेट पाठ
संविधान सपना साकार
काठमाडौं- संविधानसभाले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान पारित गरेको छ। संविधान पारितसँगै नेपाली जनताको संविधानसभाबाट संविधान बनाउने ६५ वर्ष पुरानो सपना साकार भएको छ। संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले बुधबार राति ८ बजेर ५९ मिनेट जाँदा नेपालको संविधान पारित भएको घोषणा गरेका थिए। नयाँ संविधान पारित भएको घोषणा हुँदा सभासदहरूले धेरै बेरसम्म ताली बजाएर खुसी प्रकट गरेका थिए।संविधान पारितपछि एकीकृत नेकपा माओवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले खुसीले उठेर सबैतिर हात हल्लाएपछि संविधानसभाका सबै सदस्यले उठेर धेरै बेरसम्म ताली बजाएर संविधानको स्वागत गरेका थिए।




संविधान पारित गर्ने प्रस्तावको विपक्षमा मतदान गरेको राप्रपा नेपालका सभासद पनि संविधान पारित भएपछि खुसीले धेरै बेरसम्म ताली बजाउँदै अन्य दलका सभासदसँग उभिएका थिए।

बुधबार राति बसेको संविधानसभा बैठकले नेपालको संविधानको विधेयक बहुमतले पारित गरेको थियो। नेपालको संविधान ३५ भाग र ३ सय ८ धाराको बनेको छ।

नेपालको संविधानको परिमार्जित विधेयकमा ३७ भाग रहे पनि विभिन्न आयोग रहेका भागलाई जोडेर ३५ भाग बनाइएको छ भने आयोग थप गरिएपछि संविधानका धारा बढाइएको छ।

राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग छुट्टाछुट्टै भागमा राखिएको थियो। तर संशोधन गरेर पछि थप गरिएको चारवटा आयोग समेत रहने गरी एउटै भागमा कायम गरिएको छ।

संविधानसभा नियमावलीमा संविधानसभामा कायम सदस्य संख्याको कम्तीमा दुई तिहाइ बहुमतले संविधान पारित गर्ने व्यवस्था थियो।

६ सय १ जनाको संविधानसभा हुने व्यवस्था भए पनि सरकारका तर्फबाट २ जना मनोनीत गर्न बाँकी छ भने राप्रपाका नेता सूर्यबहादुर थापाको निधनपछि उनको स्थान रिक्त छ।

संविधानसभामा हाल कायम सदस्य संख्या ५ सय ९८ रहे पनि बुधबारको बैठकमा ५ सय ३२ जना उपस्थित थिए। ६६ जना सभासद अनुपस्थित थिए। बहिष्कार गरेका राजनीतिक दल बाहेकका पनि ८ सभासद अनुपस्थित थिए।

संविधानसभा बैठकमा नेपालको संविधानको परिमार्जित विधेयक पारित गरियोस् भन्ने मस्यौदा समिति सभापति कृष्णप्रसाद सिटौलाले प्रस्ताव पेस गरेका थिए। प्रस्तावको पक्षमा ५ सय ७ र विपक्षमा २५ मत परेको थियो। मत विभाजनका आधारमा निर्णय गरिएको थियो।

संविधानसभाको हाल कायम संख्याको ८४.७८ प्रतिशत र बुधबार उपस्थित संख्याको ९५.३ प्रतिशतले नेपालको संविधान पारित गरिएको हो। पारित संविधान असोज ३ गते साँझ ५ बजे राष्ट्रपति रामवरण यादवले हस्ताक्षरसहित जारी भएको घोषणा गर्नेछन्।

त्यसअघि संविधानका भाग, धारा, सुधार नगरी नहुने शब्द र आनुसंगिक मिलाउन संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईको नेतृत्वमा समिति गठन गरिएको छ।

समितिमा मस्यौदा समिति सभापति सिटौला, एमाले प्रमुख सचेतक अग्नि खरेल, एमाओवादी प्रमुख सचेतक गिरिराजमणि पोखरेल र राप्रपा नेपालकी कुन्तीकुमारी शाही सदस्य छन्।

समितिमा बिहीबार बिहान ११ बजेसम्म नमिलाई नहुने विषयमा लिखित निवेदन दिनका लागि सभासदहरूलाई आग्रह गरिएको छ। समितिले बिहीबार दिउँसो ३ बजेसम्म सबै शब्द र आनुसंगिक मिलाएर संविधानको प्रति सभाध्यक्षलाई बुझाउनेछ।

संविधानको प्रतिमा प्रत्येक सभासदले हस्ताक्षर गर्नुपर्ने नियमावलीमा व्यवस्थाअनुसार असोज १ गते शुक्रबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म संविधानसभा भवनमा रहेको ल्होत्से हलमा हस्ताक्षर गरिने भएको छ।

असोज २ गते संविधानसभा अध्यक्षले प्रमाणीकरण गरेपछि असोज ३ गते राष्ट्रपति यादवले संविधानसभा भवन नयाँ बानेश्वरमा हुने विशेष समारोहमार्फत संविधान जारी भएको घोषणा गर्नेछन्।

संविधानसभा बैठकमा सभाध्यक्ष नेम्वाङले बुधबार बेलुका ७ बजेर ३ मिनेट जाँदा नेपालको संविधानको नाम र प्रारम्भ हुने मिति घोषणा गरेका थिए। यसै समयमा उनले संविधानका सबै धारा र प्रस्तावना पारित भएको घोषणा समेत गरे।

'संविधानको नाम 'नेपालको संविधान' रहनेछ,' नेम्वाङले भने, 'यो नयाँ संविधान असोज ३ गतेदेखि प्रारम्भ हुनेछ।' नेम्वाङले यसरी घोषणा गर्दा संविधानसभाको हलमा रहेका सभासदहरूले लामो समयसम्म ताली बजाएर खुसी प्रकट गरेका थिए।

आइतबार बेलुका संविधानका धारा पारित गर्न सुरु गरिएको थियो। पहिलो दिन ३ वटा मात्रै धारा पारित गरिएको थियो। सोमबार ५४, मंगलबार १ सय १९ र बुधबार प्रस्तावनासहित १ सय ३२ धारा पारित गरियो।

नयाँ संविधानमा ७ प्रदेश कायम गरिएको छ। नयाँ संविधान पारितसँगै नयाँ सरकार, राष्ट्रपति र सभामुख चयनका लागि पनि बाटो खुलेको छ। नयाँ संविधानको संक्रमणकालीन व्यवस्था पारितसँगै यो बाटो खुलेको हो।

संविधानको धारा २९० मा लेखिएको छ, 'यो संविधान प्रारम्भ हुँदाका बखत व्यवस्थापिका संसदको अधिवेशन चलिरहेको रहेनछ भने राष्ट्रपतिले यो संविधान प्रारम्भ भएको मितिले सात दिनभित्र व्यवस्थापिका संसदको अधिवेशन आह्वान गर्नेछ।'

त्यसैगरी यो संविधान प्रारम्भ हुँदाका वखत व्यवस्थापिका संसदको अधिवेशन चलिरहेको रहेछ भने संविधान प्रारम्भ भएको मितिले र अधिवेशन चलिरहेको रहेनछ भने धारा २९० बमोजिम संसदको अधिवेशन प्रारम्भ भएको मितिले सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद गठन हुने व्यवस्था गरिएको छ। सहमति हुन नसके बहुमतका आधारमा प्रधानमन्त्रीको चयन हुनेछ।

त्यसैगरी राष्ट्रपति निर्वाचनका सम्बन्धमा भने संसदको अधिवेशन चलिरहेको अवस्थामा प्रारम्भ भएको मितिले र चलिरहेको रहेनछ भने आह्वान भएको मितिले एक महिनाभित्र राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुनेछ। सभामुख र उपसभामुखको व्यवस्था पनि संसदको चलेको अवस्थामा २० दिनभित्र गरिसक्नुपर्नेछ।

अब असोज दोस्रो साता प्रधानमन्त्री, असोज अन्तिम साता सभामुख र कात्तिक पहिलो साता राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचन गरिनेछ।

त्यसैगरी नेपालको संविधानको धारा २६४ मा कुनै पनि राजनीतिक दलको पदाधिकारी पाँच वर्षभित्र चयन हुन नसके ६ महिनाभित्र सकिने गरी विधानमा व्यवस्था गर्न सकिने व्यवस्था गरिएको छ। संकटकालीन अवस्थाजस्तो महŒवपूर्ण धारा पनि बुधबार नै पारित भएको छ।

फोटो सेसनमा तँछाडमछाड

नयाँ संविधान पारित भएको क्षणमा संविधानसभा भवन नयाँ बानेश्वरमा शीर्ष नेतासहित सभासदहरूले निकै बेर फोटो सेसनमा बिताए।

मतविभाजनमा आफ्नो मत दिएर फर्किएका प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग फोटो खिचाउन सभासदको भिड नै लाग्यो। कांग्रेस, एमाले, एमाओवादीसहित साना दलका सभासद पनि उनीहरूसँग फोटो खिचाउन व्यस्त थिए।

प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सँगै र छुट्टाछुट्टै धेरै बेर फोटो खिचाउँदै एकआपसमा खुसी प्रकट गरेका थिए।

५५ सभासद लगातार १० पटक अनुपस्थित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित विभिन्न राजनीतिक दलका ५५ सभासद संविधानसभा बैठकमा लगातार अनुपस्थित भएका छन्।

अनुपस्थित हुन नसकेको सूचना सभाध्यक्षलाई दिनुपर्ने नियमावलीमा व्यवस्था छ। सोहीअनुसार प्राप्त ५५ सभासदको अनुपस्थिति सूचना संविधानसभाको बुधबारकै बैठकले स्वीकृत गरेको थियो।

संविधानसभाको अन्तिम बैठक असोज ३ गते बस्नेछ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस