विदेशका नेपालीको व्यर्थको चिन्ता
०६ चैत्र २०६८
•
१४ मिनेट पाठ
विदेशका नेपालीको व्यर्थको चिन्ता
दोस्रो विश्वयुद्ध उत्कर्षमा पुग्नुअघि विश्वले कहिल्यै अनुभव नगरेको मन्दीको चपेटामा रहेको अर्थतन्त्रका बारेमा बोल्दा प्रसिद्ध अर्थशास्त्री जोन मेनार्ड किन्सले भनेका थिए - क्राइस्ट जन्मनुभन्दा २ हजार वर्षअघिदेखि १८ औँ शताब्दीको सुरुसम्म यथार्थमा विश्वमा कुनै उल्लेखनीय आर्थिक प्रगति नै भएन। उतार चढाव केही भए होलान् तर तीमध्ये केहीलाई प्लेगले खायो, केही भोकमरीको चपेटामा परे।
बाँकी समयमा पनि उल्लेखनीय प्रगति भएका उदाहरण केही देखिँदैनन्। आर्थिक प्रगतिका सन्दर्भमा अठारौँ शताब्दीपछि मात्रै विश्वले नयाँ युगमा प्रवेश गरेको हो। त्यसको कारक औद्योगिक क्रान्ति नै हो। त्यसैसित जोडिएर आएका हुन् - प्रविधि र ऊर्जाको विकास, बजारका शक्तिको प्रकटरूपमा हस्तक्षेपकारी भूमिका। यिनै केही तत्वले सम्पूर्ण मानव सभ्यतालाई परिवर्तन गरेका हुन्। यसले राजनीतिक क्षेत्रलाई पनि प्रभावित गर्‍यो। औपनिवेशीकरण, अधिनायकवाद, तानाशाही यी सबै पनि सभ्यता सँगसँगै उत्पन्न विकृत पक्ष हुन्। यो व्यक्तिसँग जन्मिएको 'वाद' र त्यसको अपव्याख्याबाट फेरि जन्मिएको अधिनायकत्व त्यसबाट जोडिएर आएको हिंसा, क्रान्ति, प्रतिक्रान्ति, स्रोतमाथिको आधिपत्य, पुँजीमाथि थामिनसक्नुको लिप्सा आदि इत्यादि पनि छँदैछन्।
यी त भए समाज विकास क्रमका प्रसंग। सँगै आए जाँगर, अवसर, राज्यको व्यवहार र वादहरूबीचको द्वन्द्व, स्रोतको लुछाचुँडी, औपनिवेशिक वा नवसाम्राज्यवादी सोच (यसभित्र भौगोलिक सीमाको अतिक्रमण भने पर्दैन तर सम्पूर्ण आर्थिक निर्भरता, राजनीतिक प्रभुत्व, सांस्कृतिक विखण्डन, सामरिक स्वार्थ, स्रोतमाथि नियन्त्रण आदि विषय पर्छन् )। कुनै स्वतन्त्र र सार्वभौम राष्ट्र शासकीय अर्थमा अत्यन्त कमजोर, राज्य संयन्त्र समन्वयको अभावमा दूर्बल, नेतृत्व अस्थिर र अस्थायी प्रकृतिको , शासनप्रशासन नभएसरह अर्थात् शून्य, र आन्तरिक सुरक्षा सबै केही पनि नभएको अवस्थामा मुलुकले माथि भनिएको दुर्गति सहनुपर्ने हुनसक्छ। त्यस्तो स्थितिमा बाह्य सुरक्षा परनिर्भर हुन्छ। सरकारले आन्तरिक र बाह्य दुवैतिरबाट आफूलाई असुरक्षित महसुस गर्छ। नागरिकले आत्मसम्मान बोध गर्न सत्तै्कन। त्यसपछि कि त नागरिक मुलुकबाट पलायनको चिन्तन गर्न थाल्छ नभए मुलुकभित्रै संघर्ष वा क्रान्तिको सोच बनाएर बस्न थाल्छ। यस्तो अवस्थामा आर्थिक समृद्धिको कल्पना पनि गर्न सकिँदैन।
पंचायत प्रशासकीय अर्थमा केही स्थिरताको काल भए पनि त्यस अवधि नागरिक स्वतन्त्रताको अभाव थियो। लोकतन्त्रको अभ्यास थिएन। स्वतन्त्रता र सार्वभौमिकताको खोजी गर्ने नागरिकका लागि त्यो उपयुक्त राज्य व्यवस्था थिएन। त्यसबेला मुलुकबाट पलायन हुनु स्वाभाविक यथार्थ थियो। विसं २०४६ सालको आन्दोलनपछि मुलुकमा स्वीकार्य प्रकृतिको लोकतन्त्र थियो तर त्यसलाई अभ्यास गर्न दिन नेपाली समाजको सानो राजनीतिक पक्ष तयार भएन। र, त्यसले ४ वर्ष अभ्यास हुँदानहुँदै सशस्त्र द्वन्द्वको उद्घोष गर्‍यो। त्यस्तो खालको सशस्त्र द्वन्द्वका लागि मुलुकको आन्तरिक सुरक्षा तयार थिएन। लामो समयसम्म सत्तामा हालिमुहाली गरिरहेको मुलुकभित्रकै अर्को शक्तिका लागि पनि त्यस बेलाको बहुदलीय व्यवस्था, नागरिक स्वतन्त्रता, स्वतन्त्र न्यायालय या समग्रमा भनौं तत्कालीन संविधान अनुकूल थिएन। केही विदेशी शक्तिका लागि पनि त्यो संविधान ग्राह्य भएन। मुलुकले ४ वर्ष पनि त्यस संविधानलाई राम्ररी उपयोग गर्न पाएन। विदेशमै बसेर माओवादी नेताहरूले मुलुकमा सशस्त्र संघर्ष सुरु गरे। झन्डै १५ हजार मान्छेको ज्यान गयो। कति बेपत्ता भए, कति विकलांग भए त्यसको हिसाबकिताब त अझै स्पष्ट हुनसकेको छैन।
व्यर्थको यो कथित युद्ध या द्वन्द्व कुनै टुंगोमा पुग्न गरिएकै थिएन। मुलुकलाई केही समयसम्म अस्थिरतामा राख्नमात्रै गरिएको थियो र द्वन्द्वमा लैजाने दलका नेताहरू यसलाई राम्ररी बुझेका थिए। त्यसैले १२ बुँदे सम्झौताको माध्यमबाट उनीहरू शान्ति प्रक्रियामा सजिलै आए पनि। किन्तु, उनीहरूका अघिल्तिर एउटा गंभीर र हिमालयभन्दा ठूलो प्रश्न खडाभययो - जति मान्छे गुमे, गुमाइयो। तिनलाई जे भनेर ज्यानको आहुतीमा लगाइएको थियो, त्यसबारे के जबाफ दिने? सम्पूर्ण द्वन्द्वको उद्देश्य त अस्थिरतामात्रै थियो। प्राप्ति सत्तामात्रै हो। दोस्रो प्राप्ति सत्ताको माध्यमबाट स्रोत, स्रोतको माध्यमबाट द्रव्य नै हो। त्यहाँसम्म पुग्ने बाटो त सोझै थियो र यी सबै प्राप्त पनि भए। बाँडिएका आश्वासनसम्मको पहुँच भने गाह्रो र जटिल छ जुन प्राप्त गर्न सहज छैन। समाजमा विद्यमान गरिबी, उत्पीडन, शोषणबाट उन्मुक्तिको न त उनीहरूसित कुनै स्पष्ट बाटो थियो, छ, न त्यसप्रति उनीहरूमा कुनै निष्ठा, इमान र मोह नै छ। सत्ताबाहेकको अर्को कुनै चिन्तन नै तिनमा देखिएको छैन।
यसैबीच धेरै नेपालीले माथि चर्चा गरिएको पलायनको बाटो रोजे। मुलुक छोडेर जानुलाई अवसर मानियो। विदेश जानु, विदेशमा बस्नु, विदेशी रहनसहनलाई उन्नत संस्कृति मान्नु र त्यसपछि नेपाल र नेपालीलाई उपदेशको भाषामा केही भन्नुमै आफ्नो बडप्पन ठान्न थालियो। अहिले यस्ता उपदेश प्रशस्त सुन्न पाइन्छ। भाग्यको खोजीमा एक ठाउँबाट अर्को ठाउँमा या आफ्नो मुलुक छोडेर अन्तै बसाइँ सर्नेहरूलाई आफ्नो गाउँ वा देशको माया थोरै हुनु अन्यथा पनि होइन। त्यसरी अवसर खोज्दै हिँड्ने मान्छेको संख्या यो विश्वमा कम छैन। तर आफ्नै मुलुकमा हजारौँ ठोकर, हन्डर खपेर बस्नेहरूले भने तिनलाई ठूलो सम्मान दिनुपर्ने कारण पनि छैन। एकथरीले बिनातर्क, बिनाअर्थ र कहीँ नपुगिने युद्धका नाममा मारिएका, लुटिएका, अस्मिता हराउनुपरेका दिदीबहिनीप्रति संवेदनाका शब्दसम्म पनि व्यक्त गर्न छाडेर छोराछोरी, बाबुआमा मारिएर टुहुरा भएर बसेकाहरूलाई 'जुनसुकै मूल्यमा पनि सबै मिल्नुपर्छ' भन्ने उपदेश दिने गरेका छन्। उनीहरूकै हातबाट सम्पत्ति खोसिएर विस्थापित भएकाले मिल्नैपर्ने अर्ती सुन्नु परेको छ। उनीहरूबाट खोसिएका जमिन पौरखी पाखुरा अभावमा ती बाँझै छन्। नेपालभित्रका नेपालको आफ्नै पीडा छ। विदेशमा बसेका नेपाली मूलका व्यक्तिहरूले नेपाललाई हेर्ने अर्कै आँखा छ। यो समान हुनै सक्दैन।
कतै कुनै किसिमले नेपालको अर्थतन्त्रमा उनीहरूबाट केही सहयोग पो हुनसक्छ कि भन्ने लेखको सुरुमा उप्काइएको सन्दर्भकै चर्चा गरौँ। नेपालको अर्थतन्त्रलाई समृद्धितर्फ उन्मुख गर्न आर्थिक वृद्धिको दिशामा उनीहरूबाट थोरै योगदान चाहिँ हुनसक्ने देखिन्छ। यसका लागि चाहिने मूलभूत तत्व लैंगिक दृष्टिले उदार दृष्टिकोण, सहरीकरण, पारिवारिक संरचना, सीपमा विशिष्टीकरण हुन्। यो असजिलो समाजको रूपान्तरणमा उत्तरआधुनिकरणको स्थितिमा पुगिसकेको मुलुकमा तालिम पाएका र काम गरेका नेपालीको भूमिका हुनसक्छ। त्यसरी बाहिर बसेका नेपालीले नेपालको भूमिमा र हाम्रो औद्योगीकरण र आधुनिकीकरणमा सहयोग गर्ने रुचि नै राख्ने हो भने यहाँ काम गर्ने ठाउँ प्रशस्त छ। होइन भने नेपालीलाई धेरै ठूलो उपदेशको खाँचो चाहिँ छैन।
पुँजी, प्रविधि, सूचना र बजार नेपालका संभावना हुन्। यी मूलभूत चार तत्व उपलब्ध गराउन नेपाली र नेपालका मित्रहरूको अभाव छैन। राजनीतिक स्थिरता, शान्ति र त्यस्तो अर्थराजनीतिक वातावरण दिनसकेको अवस्थामा हामीलाई कुनै किसिमको अभाव हुने देखिँदैन। समस्या राजनीतिक वातावरण उपलब्ध गराउन नसक्नुमात्रै हो। त्यो उपलब्ध गराउन सकेको अवस्थामा पुँजी जसले लगाए पनि हुन्छ। नेपालीको पुँजी, नेपालीको व्यापार नेपालभित्र नेपाली श्रमसित नेपालीले गर्ने व्यवहार अलिकति सुविधापूर्ण हुनसक्छ। प्रविधि, सूचना, व्यवस्थापकीय सीपको कुनै राजनीतिक या भौगोलिक सीमा हुँदैन। हाम्रो आन्तरिक राजनीतिक अवस्थामा सुधार गर्न सके हामी केही वर्षभित्रै हाम्रो अर्थतन्त्रलाई माथि उकास्न सक्छौँ। तर हाम्रो आर्थिक नीति कति उदार र कति खुला हुनसक्छ भन्नेमा धेरै भर पर्छ। अरू लगानीकर्तालाई सामान्यतः लगानीको वातावरणमात्रै चाहिन्छ। विदेशमा बस्ने नेपाली मूलका लगानीकर्तालाई भने दोहोरो नागरिकतादेखि लिएर धेरै सर्त पुरा गरिदिनु पर्ने हुन्छ। उनीहरूका सबै सर्त पुरा गरे पनि फ्रान्स र जर्मनीको बीचमा च्यापिएको सानो बेल्जियम वा अझ राम्रो अवस्थाको स्विट्जरल्यान्डजस्तै नेपाललाई चीन र भारतको हाराहारीमा पुर्‍याउन आवश्यक पुँजी विदेशमा बसेका नेपालीले निकाल्न सत्तै्कनन्। यसरी विभेदकारी नीति अवलम्बन गर्दा नेपालको कति हित हुन्छ र विदेशी लगानीकर्ताले त्यसलाई कसरी हेर्छन् भन्ने पनि त विचार गर्नुपर्ने हुन्छ। यसैले नेपालभित्रका नेपालीलाई नेपालभित्रकै पीडा सापेक्षित निर्णय लिन अन्यत्र कतैबाट कुनै किसिमको प्रभाव वा दबाब उत्पन्न नगर्नु नै उत्तम होला।
 




 

 

 
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस