बदलिँदो बिहार शैली
१२ फागुन २०६८
•
१२ मिनेट पाठ
बदलिँदो बिहार शैली
बिहारी शैली। डेढ दशकअघि नेकपा (एमाले) ले नेपाली कांग्रेसको राजनीतिक शैलीलाई यही संज्ञा दिन्थ्यो। चुनावमा बुथ-डकैती, गलत प्रचार, अव्यवस्था, गरिबी, भ्रष्टाचार र अविकासको नमुना थियो भारतको बिहार प्रदेश। भिडतान्त्रिक राजनीतिलाई गाली गर्न नेपालको पूर्व मोरङदेखि चितवनसम्मको दक्षिणी सीमा जोडिने समथर भूभाग बिहारको खिल्ली उडाइन्थो।

दक्षिण एसियामै हेयका दृष्टिले हेरिने बिहारको शैली नितिशकुमार मुख्यमन्त्री भएपछि अनुकरणीय हुन थालेको छ। आर्थिक वृद्धिदर १२ प्रतिशतभन्दा बढी भएपछि बिहारतिर संसारकै ध्यान तानिएको छ। 'गंगा मैदान' का बासिन्दाको इज्जत बढेको छ। त्यो पनि केबल गत सात वर्षको प्रयत्नमा। बिहारको उन्नति सुनेर विश्व समुदाय आश्चर्यचकित छ। कतिपय त पत्याउनै तयार छैनन्। प्रश्न गरिरहेका छन्, यो वृद्धि नक्कली त होइन?
सन् २००५ को विधानसभा चुनावअघिसम्म लालुप्रसाद यादव नेतृत्वको 'राष्ट्रिय जनता दल' को यस्तै दबदबा थियो। त्यो बेला एउटा भनाइ निकै प्रचलित थियो, 'जब तक रहेगा समोसा मे आलु, तब तक रहेंगे बिहार मे लालु।' यादवले जातीय राजनीति गरेर पकड जमाएका थिए जसलाई पहिचानको राजनीति नाम दिइन्थ्यो। नितिश कुमारको जनता दल (युनाइटेड) ले त्यसलाई शल्यक्रिया गर्न विकासको नारा थिए। विकासलाई त्यहाँका जनताले पछ्याए। पहिचानको राजनीतिलाई विकासको अर्थात् सामर्थ्यको राजनीतिले परास्त गर्‍यो। सन् २००५ को नोभेम्बर २४ देखि उनी मुख्यमन्त्री छन्। अहिले दोस्रो कार्यकाल हो।
विद्यार्थी आन्दोलनबाट आएका कुमार र यादव दुवै समाजवादी नेता जयप्रकाश नारायणका चेला थिए। अत्यन्त मिल्ने र एकै दलमा रहेर काम गरेका यी दुईबीच १९९४ मा फुट भयो। अनि त्यसको एक दशकभित्र कुमारले यादवलाई किनारा लगाए। अघिल्लो कार्यकालमा सामान्य बहुमतको सरकारका मुख्यमन्त्री कुमारले दोस्रो पटक सन् २०१० को नोभेम्बरको चुनावमा अत्यधिक बहुमत पाए। बिहार विधानसभाको कुल २ सय ४३ मध्ये नितिशको गठबन्धनले २ सय ६ सिट जित्यो। लालुको पार्टीले २२ सिटमात्र। कुमार पहिलो पटक सन् २००० मा सात दिन मुख्यमन्त्री भएका थिए। जारी विकास आयोजनाहरू निष्कर्षमा पुग्दा बिहारको स्वरुप आधुनिक सभ्य विकसित देशको स्तरमा पुग्छ। राजधानी पटना पनि अन्तर्राष्ट्रिय स्तरको आधुनिक सहरको दाँजोमा पुग्छ।
अहिले सिंगै बिहार पुनर्निर्माणको राजमार्गमा हुइँकिँदैछ। जनकपुर दक्षिणको भारतीय सीमा जलेश्वरपारिपट्टि भिट्टामोडबाट सडक मार्ग हुँदै पटनासम्म करिब छ घण्टा लामो सडक यात्रामा एउटा पनि यस्तो भाग भेटिएन, जहाँ सडक निर्माण भइरहेको नहोस्। दशगजानजिकैबाट सीतामढीतर्फ बढ्दा सुरुमा ग्रामीण सडक आयो। त्यहाँ पिच सडक विस्तार भइरहेको थियो । त्यसमा 'प्रधानमन्त्री ग्रामीण सडक कार्यक्रम' अन्तर्गत काम गरिरहेको थियो। त्यहाँ पर्ने अधिकांश पुराना फलामे पुल जीर्ण थिए, डाइभर्सन बनाएर चलाइएका छन्। पुलका पुनर्निर्माण धमाधम छ। सीतामढी जिल्लाभरि पनि सडक विस्तार र पुल निर्माण थिए। निर्माण र पुनर्निर्माणको व्यापक रूप भने मुजाफ्फरपुर पुगेपछि देखियो। त्यहाँ नेपालमा देखिनेभन्दा तीन गुणा लामा मालबाहक ट्रकका ताँतीले सडक जाम थियो। रेल आउने बेला सडक अवरुद्ध हुने समस्या हल गर्न त्यहाँ 'फ्लाइओभर' बनिरहेको छ। अहिले भइरहेको सडकलाई दोब्बरभन्दा ठूलो बनाउने गरी 'हाइवे' निर्माण पटनासम्मै भइरहेको छ। हाजिपुरमा पनि अर्को 'फ्लाइओभर' निर्माणाधीन छ। आठ लेनको बन्ने तयारी भइरहेको राजमार्गछेउ कुनै घर थपिएका देखिन्नन्। सात किलोमिटर चौँडा फैलिएको गंगा नदीमा पनि वैकल्पिक पुल बनिरहेको छ। अहिलेको महात्मा गान्धी सेतु पटनाको उत्तरपूर्वी भागमा छ। नयाँ सेतुले पश्चिमी पटना जोड्छ।
मगधको ऐतिहासिक राजधानी पाटलीपुत्र अर्थात् आधुनिक पटनाको मुटुका सडक केही समयमै दुईतले हुनेछन्। रेलको सञ्जाल त छँदैछ। राजधानीका सडकमा अहिले पनि बीचमा पुल छ। चोकहरूमा 'फ्लाइओभर' छन्। केही तयार भइसके, केही निर्माणाधीन छन्। पाँच-छ तलाभन्दा ठूला घर र अपार्टमेन्टहरू देखिन्नन् सहरमा। सहरमा साना गल्ली छैनन्। त्यहाँका अधिकांश भित्री सडकको चौँडाइ पनि काठमाडौँको माइतीघर-तीनकुनेको जत्रो छ। घर सडकसँग टाँसिएका पनि देखिँदैनन्। पटनाको केन्द्रबाट आठ किलोमिटर टाढा अन्तर्राष्ट्रिय विमानस्थल छ।
बिहार पनि नेपालजस्तै कृषिप्रधान प्रदेश हो। त्यहाँको कुल गार्हस्थ्य उत्पादनमा कृषिको योगदान २६ प्रतिशत छ। करिब ८० प्रतिशत जनता प्रत्यक्ष/परोक्ष कृषिमा आश्रित छन्। अहिलेसम्म १०.५ प्रतिशत बिहारमात्र सहरीकरण भएको छ, ९० प्रतिशत ग्रामीण क्षेत्र छ। त्यहाँ बिजुलीको अभाव छ, बेरोजगारी पनि छ। उद्योगबिना विकास हुन्न भन्ने मुख्यमन्त्री नितिश कुमारले राम्ररी बुझेको त्यसको पूर्वाधारमा ध्यान दिएकोले पनि देखाउँछ। त्यसैले सडक र पुल निर्माणमा तीव्रता छ। सन् २०१०-११ मा मात्र ११५८ करोड ४२ लाख भारतीय रुपियाँ पुल निर्माणमा खर्च गरेको छ। २००४ मा यस शीर्षकमा ४२.६२ करोडमात्र थियो। सन् २०१०-११ मा सडक निर्माणमा खर्च ४०४९.०८ करोड भारु खर्च गर्‍यो। सन् २००४-५ मा ३ सय ८५ किलोमिटर सडक बनेकोमा २००९-१० मा यो दस गुनाभन्दा बढी ३४ सय ७५ किलोमिटर बन्यो। अघिल्लो वर्ष ३१ सय ६ कलोमिटर सडक बनेको थियो। अपराध नियन्त्रणमा पनि नितिश सरकारले कसरी काम गर्‍यो भने जनवरी २००६ देखि सेप्टेम्बर २०१२ सम्ममा ६५ हजार ८ सय १९ अपराधीले सजाय पाए, जसमध्ये १० हजार ९ सय २८ जना आजीवन कारावास भोगिरहेका छन्। सन् २००४ मा राजमार्ग डकैतीका घटना १८ सय ७५ भएका थिए भने २०१० मा २ सय ७ मात्र।
दक्ष जनशक्ति नै उद्योगीकरणको अर्को सर्त हो। त्यसैले प्राविधिक शिक्षा र तालिममा जोड दिइएको छ। योग्य र स्वतन्त्ररुपमा क्षमता देखाउन प्लस टुसम्मको शिक्षा जरुरी छ भनेर सरकारले जोड दिएको छ। सन् २००६ मा 'पञ्चायत र बिहारमा विद्यालय शिक्षा' भन्ने कार्यक्रम लागू गरी सबै प्राथमिक विद्यालय स्थानीय पञ्चायतलाई हस्तान्तरण गरियो। त्यसको व्यवस्थापनमा राज्य सरकारको सहभागिता जनायो। 'राष्ट्रिय माध्यमिक शिक्षा अभियान चलायो। सडक, बिजुली, खानेपानी र फोहर व्यवस्थापनमा जोड दिएको छ।
बिहारमा प्रहरीको शान कुनै हिन्दी फिल्ममा भन्दा कम रहेनछ भन्ने पटना यात्राका क्रममा देखियो। भिट्टामोडबाट पटना जाने क्रममा 'बिहार समिट' मा जाने नेपाली पत्रकार भन्ने थाहा पाएपछि 'भीआइपीको सुरक्षा' भन्दै करिब चार घण्टा हाम्रो गाडीलाई भारतीय प्रहरीले स्कर्टिङ गरे। काठमाडौँका सडकमा मन्त्रीहरू नै जाम पर्दा सुरक्षाकर्मीले केही गर्न सक्दैनन्। तर, अगाडिबाट लठ्ठी घुमाउँदै प्रहरीले बाटो खाली गर्थे। जाम गरिरहेका अरु सवारीसाधनहरू तत्कालै हट्थे।
'बिहारी शैली' भनेर गाली गर्ने एमाले र गाली खाने कांग्रेसबीच सम्बन्ध फेरिएको छ। गाली खाने दोस्रो र गाली गर्ने तेस्रो दलको हैसियतमा पुगेपछि यो स्थिति देखियो। दुवै दल माओवादीविरुद्ध मोर्चा कसेर लागेका छन्। त्यो आफ्नो अस्तित्व जोगाउने प्रयासमामात्र हो। कांग्रेस-एमालेको सम्बन्ध सुध्रे पनि नेपालको हालत भने बिहारीले पनि 'नेपाली शैली' भनेर गाली गर्ने तहमा पुगिसक्यो। बिहारका मुख्यमन्त्रीले अघि सारेको 'न्यायसहितको विकास' को खाँचो नेपाललाई पनि छ। विकासबिनाको लोकतन्त्र खोक्रो हुन्छ। भाषणले गरिबको पेट भरिन्न। प्रधानमन्त्री बाबुराम भट्टराईले अघि सारेको 'ग्रोथ विथ इक्विटी' नाराले त्यही अर्थ दिन्छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस