नेपाल अधिराज्यको संविधान, २०४७ सालको लेखनका सिलसिलामा राजनीतिकर्मीका रूपमा मेरो बुझाइ मैले संविधान मस्यौदा आयोगका अध्यक्ष विश्वनाथ उपाध्यायसँग यसरी राखेको थिएँ– 'संविधान भनेको सिंगो मुलुकको विगतलाई प्रतिविम्बित गर्दै वर्तमानलाई व्यवस्थापन गर्ने र भविष्यको बाटो सुनिश्चित गर्ने दस्ताबेज हो।' अहिले पनि संविधानका विषयमा मेरो बुझाइ यही हो। संविधानले राष्ट्रको अतीतलाई राम्रोसँग प्रतिविम्बित गर्दै त्यसले दिएको निर्देशलाई ठीक ढंगले समातेर आगतको बाटो सुरक्षित र सुखद् बनाउन सक्नुपर्छ। संविधानलाई सोलोडोलोरूपमा हेर्ने दृष्टिकोण र जाँच्ने कसी पनि यही हो।
नेपालको संवैधानिक इतिहास त्यति लामो छैन तर पनि लगभग ६ दशकको अवधिका ४–५ वटा लिखित संविधान बनिसकेका छन्। पछिल्लो पटक २०४६ सालको राजनीतिक परिवर्तनलाई आत्मसात् गर्ने गरी २०४७ सालमा संविधान बनेको थियो। विश्वपरिवेश र मुलुकको आफ्नै आवश्यकता एवं चाहना समेटेर सन्तुलित संविधान बनाउनुपर्छ भन्ने विषयमा त्यसबेला मतैक्य थियो र तदनुरूपको प्रयास भएको हो। राष्ट्रिय एकता, अखण्डता र सार्वभौमसत्तालाई अक्ष्क्षुण राख्दै बढीभन्दा बढी प्रजातान्त्रिक अभ्यासद्वारा राजनीतिक प्रजातन्त्रलाई आधार बनाएर आर्थिक र सामाजिक उपलब्धि हासिल गर्नुपर्छ भन्ने आधारभूत मान्यताअनुरूप त्यो संविधान बनाइएको थियो। त्यसपछि बनेको अहिलेको प्रमुख शक्ति एनेकपा (माओवादी) बाहेक अन्य राजनीतिक पार्टी र शक्तिको समेत त्यो संविधान निर्माणमा परिश्रम परेको छ। तर, नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता पार्टीले त्यो संविधान के कति कारणले काम नलाग्ने भएको हो भनी जनतालाई बुझाउने प्राथमिक दायित्वसमेत पूरा नगरी अर्को संविधान बनाउने अभियानमा लाग्नुको निहितार्थ बुझ्न सकिएको छैन। फलस्वरूप संविधान त कता हो कता सरकारै बन्न सकेको छैन। आफैँले बनाएको संविधानलाई अलपत्र छाडेर अर्को संविधानका लागि उछलकुद गर्नेहरूबाट राम्रो संविधान र त्यसको पालना होला भनी कसरी आशा गर्ने?
विसं २०४७ सालको संविधानमा गम्भीर प्रकारका त्रुटि रहेकाले त्यो असफल भएको हो कि त्यसको पालना राम्रोसँग हुन नसकेको हो भन्ने प्रश्नमा स्पष्ट छ, त्यो संविधान आफैँमा खराव हुँदै होइन। माओवादीले घोषित युद्धद्वारा त्यो संविधान असफल गराउन जंगलबाट जति प्रहार गरे संविधानको पालना गर्ने सपथ खाएर सरकार र प्रतिपक्षमा बसेका पार्टीले आफ्नो असफलता छेक्ने ढालको रूपमा त्यसभन्दा कयौं गुणा बढी त्यसको दुरुपयोग गरे। के त्यो संविधानले कसैलाई भ्रष्टाचार गर्न उक्साएको थियो? के त्यो संविधानले मुलुकमा कुशासनको दुश्चक्र चलाउन अनुमति दिएको थियो? के त्यो संविधानले सांसदको खरिदबित्री गरेर सरकार चलाउन र ढलाउन भनेको थियो? संविधानलाई निरीह कागजको खोस्टो ठानेर राजनीतिक दल र तिनका नेताले यी सब अपराधिक कार्य गरे, गराएका न हुन्। तर अहिले तिनले आत्मालोचनाका लागि एक शव्द खर्च नगरी आफू पानीमाथिको ओभानो र संविधानलाई बलिको बोको बनाए।
स्मरणीय छ, वि.सं. २०४७ सालको संविधानले मुलुकलाई विखण्डनको खतराबाट जोगाउने सामर्थ्य राख्थ्यो। किनभने त्यसले बहुदलीय राजनीतिक अभ्यासका लागि बाटो फराकिलो गरे पनि मुलुक विखण्डनको मूल कारक बन्नसक्ने क्षेत्रीयता र जातीयता आदिका आधारमा पार्टी खोल्नसक्ने प्रावधानमा बन्देज लगाइएको थियो। त्यही संविधानको नाम भजाएर र त्यसलाई ठाडै कुल्चेर थुप्रै गलत क्रियाकलाप भए तापनि त्यो संविधानको अक्षर र भावना दुवैले त्यस्ता कुकार्यको समर्थन कहिल्यै गरेनन्। भर्खरैको यस यथार्थलाई जबर्जस्ती बिर्सन आज धेरै प्रकारका तामझाम गरिएका छन्। संविधान राम्रो वा नराम्रो जे भए पनि त्यसको गुण र दोष आफैंमा परीक्षण हुने नभई त्यसको प्रयोग र पालनामा नै त्यो सफल वा असफल हुने हो। यस यथार्थ लाई आत्मसात जगरेमा जतिसुकै उत्कृष्ट संविधान बनाए पनि त्यो काम लाग्दैन।
नयाँ संविधान निर्माणको अभियानमा हेलिएका बेला एकापटि्ट हामीले विगतको यो महत्वपूर्ण पक्षलाई सम्भि्कन सकिरहेका छैनौ भने अर्कोपटि्ट २०४७ सालको संविधान मिल्काएपछिका अरू विषयमा पनि तटस्थ भएर समीक्षा गर्न सकिरहेका छैनौ। पछिल्ला दिनमा नेपालको अन्तरिम संविधान, २०६३ लाई त संविधानभन्दा पनि परिवर्तनका संवाहक बनेका राजनीतिक दलबीचको सहमतिपत्र भन्नु उपयुक्त हुने देखिन्छ। बितेका दुई वर्षमा अन्तरिम संविधान र संविधान सभा असफल भइसकेको छ। त्यसैले २०६३ बैशाख ११ मा र्फकनु नै अहिलेका लागि उपयुक्त निकास हो। अन्यथा मुलुक कम्बोडिया वा अफगानिस्तानको दिशामा जान सक्छ।
नेपालको अन्तरिम संविधान, २०६३ मा राजनीतिक सुझबुझ, परिपक्वता र दूरदर्शिता प्रकट भएको छैन। यस्तो संविधानले राष्ट्रियता, राष्ट्रिय एकता, अखण्डता, सार्वभौमसत्ता र स्वाभिमानको रक्षा गर्न सत्तै्कन। यसले देशवासीमा जातीय, क्षेत्रीय, धार्मिक, सांस्कृतिकआदि विविध प्रकारका विद्वेष र वितृष्णाको बिजारोपण गर्छ। यसले देशवासीको राजनीतिक महत्वकांक्षामात्र उक्साएर दुर्घटना निम्त्याउन सक्छ। यो संविधानले सामाजिक सद्भाव र त्यसका संरचनागत पक्षमा खल्बल्याउँछ। यस किसिमका विकृतिको असर दीर्घकालीन र गम्भीर हुन्छ र मुलुकको अस्तित्वसँगै जोडिन पुग्छ। त्यसको सुरु र एक हदसम्म विस्तार पनि भइसकेको छ।
संविधान कुनै पार्टी विशेषको घोषणापत्र पनि होइन र कुनै घटना विशेषको वर्णन गर्ने निबन्ध पनि होइन। संविधान सशोधनका नाममा मन लागेका बेला थपघट र केरमेट गर्नुलाई उचित ठान्नु पनि हुँदैन। तसर्थ संकट र संक्रमणको अवस्थाबाट मुलुकलाई पार लगाउने र भविष्य सुनिश्चित बनाउन पनि खोज्ने हो भने सबैभन्दा पहिले हिजोका कमी कमजोरीलाई खुल्ला मनले स्वीकार्न तयार हुनुपर्छ। त्यसपछि आजको अवस्थाबारे पूर्वाग्रहमुक्त भएर समीक्षा हुनुपर्छ। संविधानमा राजनीतिक पार्टीहरूले जनतालाई अडकलेर अधिकार दिने होइन। बरु सार्वभौमसत्तासम्पन्न जनताले दिएको अधिकार मात्र पार्टीहरूले प्रयोग गर्ने परिपाटीको सुरु गर्नुपर्छ। अहिलेको संकटको उपयुक्त निकास खोज्ने हो संघीयता, जातीयताजस्ता पछिल्ला दिनमा उठेका महत्वपूर्ण प्रश्नमा संविधानलाई परिमार्जन गरेर २०४७ कै संविधान लागू गेमा हल गर्न सकिन्छ।