शिक्षामा गिर्दो गुणस्तर, बढ्दो व्यापार
०१ असोज २०७६
•
१५ मिनेट पाठ
शिक्षामा गिर्दो गुणस्तर, बढ्दो व्यापार
पविता मुडभरी पुडासैनी

गत भदौ २२ गते राष्ट्रिय शिक्षा दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय शिक्षा प्राप्तिका लागि सरकारको लगानी उपलब्धिमूलक हुनुपर्ने बताइन्। सार्वजनिक शिक्षाको गुणस्तर बढाउन सरकारको लगानी वृद्धि र प्रक्रियामा सुधार हुनुपर्ने आवाज उठिरहेका बेला केही दिनअघि  शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शैक्षिक गुणस्तर केन्द्रको अध्ययन प्रतिवेदनले करिब ८५ प्रतिशत विद्यालयको  पठनपाठन गुणस्तरीय नरहेको देखाएको छ। विद्यालयको भौतिक अवस्था, सिकाइ वातावरण र योग्य÷दक्ष  शिक्षक अभावमा सिकाइ गुणस्तर गिर्दो छ। विशेषतः शिक्षक दरबन्दी तथा कक्षाकोठा व्यवस्थापन उपयुक्त नहुँदा वर्षाैंदेखि पठनपाठन प्रभावकारी हुन सकेको छैन।

सरकारले अर्बौं लगानी गर्दै आएको शिक्षक तालिमसमेत कक्षाको अध्यापनमा प्रयोग नभएको तथा मेल नखाएको उक्त प्रतिवेदनले उल्लेख गरेको छ। करिब २ हजार माविमध्ये एउटा मात्र उत्तम पाइएको छ भने शिक्षण सुधार योजना प्रक्रियागत ढंगले अघि नबढ्दा एसइई परीक्षाको नतिजा बर्सेनि ओरालोउन्मुख छ। राज्यको लगानी शिक्षा क्षेत्रमा कहाँ कसरी उपयोग भइरहेछ, अध्ययन गरी लगानी प्रक्रिया उपलब्धिमूलक बनाउन सकिएकै छैन। शिक्षाका लागि छुट्याइएको बजेटको ६१ प्रतिशत रकम सरकारी विद्यालयमा लगानी गरिएको छ। तर तीमध्ये ८५ प्रतिशत विद्यालयका भौतिक संरचना गुणस्तरीय शिक्षाका लागि अत्यन्त कमसल साबित भएका छन्।

यस वर्ष पनि एसइई परीक्षामा ठूलो संख्यामा सामुदायिक विद्यालयका विद्यार्थीको नतिजा अत्यन्त कमजोर देखियो। उच्च जिपिए ल्याउने विद्यार्थीको ठूलो संख्या निजी विद्यालयकै देखियो। शिक्षामा सरकारको प्रचुर लगानी छ, अभिभावकको असीम सपना छ र विद्यार्थीको सुनौलो भविष्य जोडिएको छ। तर हरेक वर्ष एसइई परीक्षाको निराशाजनक नतिजाले यिनको अवमूल्यन हुँदै आएको छ।

चिकित्सा शिक्षा ऐन, २०७५ कार्यान्वयन गरी अब सरकारले तत्काल निजी क्षेत्रको लापर्बाही, मनोमानी तथा चर्काे शुल्क लिने प्रवृत्ति रोक्न प्रभावकारी कदम चाल्न जरुरी भइसकेको छ।

कक्षाकोठामा दिइने शिक्षा व्यावहारिक र व्यावसायिक बनाउन पाठ्यक्रम तथा पाठ्यपुस्तक परिमार्जनको खाँचो रहेका बेला शैक्षिक गुणस्तर भनेकै अंग्रेजी माध्यमको पठनपाठन हो भन्ने आम बुझाइ छ। सामुदायिक विद्यालयहरूले पनि शैक्षिक गुणस्तर बढाउन भन्दै अंग्रेजी माध्यममा पढाउने नाममा विज्ञान, प्रविधि, कृषि, उद्योग, भूगर्भ तथा ऊर्जालगायत विविध विषयको प्रारम्भिक ज्ञान र अनुसन्धानमूलक शिक्षालाई पछाडि धकेल्दै छन्। हाम्रा धर्म–संस्कृति, सौहार्दता तथा समाजीकरणजस्ता मानव जीवनका निकटतम विषयबाट हाम्रो शिक्षा टाढिँदै छ भने मानव स्वास्थ्य र उपचारसम्बन्धी उपयुक्त ज्ञान माध्यमिक तहबाटै उपलब्ध गराउनुपर्ने अहम् विषय शिक्षाले समेट्न सकेको छैन।

अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ विपरीत सामुदायिक विद्यालयले पनि गुणस्तरीय शिक्षाका नाउँमा अंग्रेजी माध्यममा पढाउने र शिक्षक दरबन्दी पूरा गर्न निजी स्रोतबाट शिक्षक राख्नुपर्ने भन्दै अभिभावकहरूलाई थप शुल्क तिर्न दबाब दिइरहेछन्। अनिवार्य र निःशुल्क शिक्षाका लागि राज्यले शिक्षामा गरेको लगानी पर्याप्त नभएको भन्दै माध्यमिक तहका विद्यार्थीसँग विभिन्न बहानामा वार्षिक तथा सहयोग शुल्कका नाममा रकम असुल्ने गरिएको छ। एसइई परीक्षा उत्तीर्ण विद्यार्थीले विद्यालय स्थानान्तरणका लागि शैक्षिक प्रमाणपत्र तथा चारित्रिक प्रमाणपत्र लिन निजी विद्यालयमा मात्र नभई सार्वजनिक विद्यालयमा समेत चर्को शुल्क तिर्नुपरिरहेको छ। गुणस्तरीय शिक्षा विकासका लागि ‘एक पालिका, एक प्राविधिक शिक्षा’को अवधारण लिएर  हालै अघि बढेका प्रदेशका मुख्य मन्त्रीहरू स्पष्ट र स्तरीय  राष्ट्रिय शिक्षा नीति अभावका कारण आफ्ना राम्रा शैक्षिक योजनाहरू कार्यान्वयनमा लान अप्ठेरो परेको बताउँछन्।

निजी शिक्षण संस्थाहरूमा शिक्षण शुल्कका अतिरिक्त विद्यार्थीले तिर्नुपर्ने विविध शीर्षकका लामै सूची तयार गरिन्छ। भर्ना शुल्क, परीक्षा शुल्कबाहेक किताब, कापी,  पोसाक, जुत्ता, टाइ, बेल्ट अतिरिक्त पोसाक, झोला, खाजालगायतका अनगन्ती सामग्रीको चर्को मूल्य भिडाएर विद्यार्थीसँग मोटै रकम असुलिन्छ। राजधानीको एक निजी विद्यालयले आफ्नै क्यान्टिनमा विद्यार्थीले खाने गरेको खाजाको रकममध्ये प्रतिविद्यार्थी २० देखि २५ प्रतिशतसम्म रकम असुल गरेको तथ्य खुलेको छ। क्यान्टिनमा प्रतिविद्यार्थी मासिक १२ सयका दरले खाजा खुवाउने गरिएको र विद्यालयले शिक्षण शुल्कसँगै खाजा खर्चका नाउँमा विद्यार्थीसँग मासिक १५ सय असुल्दै आएको गुनासो क्यान्टिन सञ्चालकले गरेपछि विद्यालयको व्यापारिक विकृति बाहिरिएको हो।

अन्य केही  विद्यालयमा पनि चमेनागृहले प्रतिविद्यार्थी मासिक हजारका दरले सहुलियत दरमा खाजा खुवाए पनि विद्यालयहरूले शैक्षिक शुल्कसँगै मासिक १५ सयसम्म खाजा खर्चका नाउँमा एकमुस्ट बढी रकम उठाउँदा विद्यार्थी र चमेनागृह सञ्चालक दुवै मारमा पर्दै आएका छन्। निजी विद्यालयहरूले विद्यार्थीलाई खाजा खुवाउने चमेनागृहसँग समेत प्रतिविद्यार्थी ३ सयदेखि ५ सय रुपैयाँसम्म मासिक कमिसन उठाउनु व्यापारीकरणको निकृष्ट रूप हो। शैक्षिक शुल्कका अतिरिक्त अन्य वस्तुको व्यापार विद्यालयभित्रै गरेर निजी विद्यालयहरूले बर्सेनि करोडौं कमाइरहेका छन्। चर्को शुल्कको विरोध गर्नेहरूले शिक्षासँग जोडेर गरिने यी विविध सेवा र वस्तुका व्यापारविरुद्ध आवाज उठाएको पाइँदैन। न त सरकारले नै शिक्षाका नाउँमा हुने यस्ता अनेक व्यापारको निगरानी गरी रोक्ने÷छेक्ने पहल गरेको छ।

निजी विद्यालयहरूमा गत साल विद्यार्थीले पढेका पाठ्यपुस्तक यस शैक्षिक सत्रका लागि परिवर्तन भइसकेका हुन्छन्। यसबारे  अभिभावकहरूले चासो राख्दा राम्रो शिक्षा दिन पाठ्यपुस्तक परिवर्तन गरी  अर्कै प्रकाशनका पाठ्यपुस्तक लागू गरिएको जवाफ दिन्छन्, विद्यालय सञ्चालकहरू। यसमा ठूलै कमिसनको चलखेल हुने गर्छ। यसका साथै पुस्तकको मूल्यमाथि अर्को मूल्य स्टिकर टाँसेर प्रतिपुस्तक ५० देखि १०० रुपैयाँसम्म बढी रकम लिएर बिक्री गर्ने गरेको पाइन्छ। पाठ्यक्रम विकास केन्द्रले कक्षा ८, ९ र १० का लागि सरकारी र निजी सबै विद्यालयमा एउटै पाठ्यपुस्तक तय गरे पनि विद्यालयहरूले उही पुस्तकका लागि प्रकाशनगृह परिवर्तन गरिरहन्छन् र  विद्यालयभित्रै पुस्तक व्यापार गरी विद्यार्थीसँग  बढी मूल्य लिनाका साथै प्रकाशनगृहसँग कमिसन असुलिरहेछन्। सामान्यतया १०÷१० वर्षमा पाठ्यपुस्तक फेर्नुपर्ने नियम भए पनि निजी विद्यालयहरू कक्षा १ देखि १० सम्मका पुस्तक बर्सेनिजसो फेर्ने गर्छन्। कमिसनकै लागि  गत साल दाइ–दिदीले पढेका पाठ्यपुस्तक यस वर्ष भाइ–बहिनीले पढ्न नमिल्ने गरी परिवर्तन गर्नु व्यापारीकरणको चरम नमुना हो।   

शिक्षाका पदाधिकारीहरू निजी विद्यालयका विकृति र मनोमानी नियन्त्रण गर्न बर्सेनि अनुगमनमा निस्किन्छन्, विद्यार्थी संगठनहरू पनि शैक्षिक सत्रको सुरुवातसँगै लामै समय  शैक्षिक हड्तालमा उत्रन्छन्। चर्को शुल्कसँगै हुने अन्य व्यापारविरुद्ध अभिभावकको समेत आवाज बढ्दै जाँदा निजी विद्यालयहरू पनि विकृति रोक्न सहमति जनाउँछन्। तर फेरि उही कमिसन, चन्दा र नजरानाको बाँडफाँडसँगै निजी विद्यालयका मनोमानी र चरम व्यापारीकरण उसैगरी मौलाउने गरेको छ। केही दिनअघि शिक्षाका नाममा निकै ठगी भएको भन्दै पोखराका अभिभावक संगठित भए। चर्को शुल्कसँगै विभिन्न बहानामा रकम उठाएको तर राम्रो शिक्षा नदिएको भन्दै उनीहरूले विरोध गरे।

नयाँ शैक्षिक सत्रमा यसरी विरोधका स्वर सबैतिरबाट आउँछन्। तर समस्या समाधान नहुँदै विरोधका स्वर सुक्ने प्रवृत्तिले नै व्यापारीकरणले प्रश्रय पाइरहेछ। नागरिकको शैक्षिक अधिकार सुनिश्चित गर्ने नाउँमा एकातिर राज्यले शिक्षा क्षेत्रमा अर्बौं लगानी गरिरहेछ भने अर्कातिर गुणस्तरीय शिक्षा दिने नाममा निजी विद्यालयहरूले अभिभावकसँग चर्काे शुल्क असुल्दै ब्रह्मलुट मच्चाइरहेछन्। सम्मानित र सुरक्षित नाफामुखी उद्योगका रूपमा निजी शैक्षिक संस्थाहरू दिन दुगुना रात चौगुना फस्टाइरहेछन्। निजी शैक्षिक संस्थाविरुद्ध आक्कलझुक्कल भाषण छाँटेर सरकार पन्छिरहेको देखिन्छ। शैक्षिक गुणस्तरसँगै रोजगारीका समेत सवाल रहेकाले  निजी शिक्षण संस्थाहरू तत्काल हटाउने वा नियन्त्रण गर्ने विषय अव्यावहारिक भएको बताइरहेछन्, सांसद तथा नेताहरू।

चर्को शुल्क असुलेर विद्यार्थी ठगी गरिरहेका र  सरकारका शैक्षिक निर्णयहरू समेत नमान्ने अडान बोकेका निजी मेडिकल कलेजहरू सरकारले तोकेको शुल्कमा पढाउन नसकिने बताइरहेका छन्। गत वर्ष मन्त्रिपरिषद् बैठकले चिकित्सा शिक्षाअन्तर्गत एमबिबिएस तहका कार्यक्रमका लागि काठमाडौं उपत्यकाभित्र ३८ लाख ५० हजार र बाहिर ४२ लाख ५४ हजार रुपैयाँ शुल्क तोकको थियोे। मेडिकल कलेजका बदमासीविरुद्ध बारम्बार आवाज उठिरहँदा पनि कलेजहरूले ६५ लाखसम्म शुल्क असुलेको र समयमै शुल्क नतिर्नेलाई चर्को ब्याजसमेत असुल्ने, नत्र परीक्षामा सहभागी नै नगराउने प्रवृत्तिले शिक्षामा व्यापारीकरणको चरम रूप देखाइरहेको छ। प्रा.डा. गोविन्द केसीले बारम्बार अनसन बसी चिकित्सा शिक्षा क्षेत्रका विकृति बाहिर ल्याउने र यसलाई हटाउन दबाब दिने काम गरे पनि सम्बन्धित निकायले बेवास्ता गर्दा विद्यार्थीले कलेजकै छात्रावासमा बस्नैपर्ने बाध्यकारी व्यवस्था र सरकारबाट पूर्ण छात्रवृत्ति पाएका विद्यार्थीबाट समेत अनेक शीर्षकमा अतिरिक्त शुल्क तिर्न दबाब दिने प्रवृत्तिविरुद्ध सम्बन्धित निकायको ध्यान खिचिन सकेको देखिएन। चिकित्सा शिक्षा ऐन, २०७५ कार्यान्वयन गरी अब सरकारले तत्काल निजी क्षेत्रको लापर्बाही, मनोमानी तथा चर्काे शुल्क लिने प्रवृत्ति रोक्न प्रभावकारी कदम चाल्न जरुरी भइसकेको छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस