कृषि अनुसन्धान विभाग आवश्यक
०१ भदौ २०७६
•
१६ मिनेट पाठ
कृषि अनुसन्धान विभाग आवश्यक
म नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) बाट सेवानिवृत्त कर्मचारी।  पदमा बहाल हुँदा र सेवा निवृत्त भइसकेपछि पनि पटक–पटक नार्कका समस्या, कमीकमजोरी, आवश्यकता, सुधार तथा पुनःसंरचनाबारे लेख्दै आएँ।  नार्क अर्थात् कृषि अनुसन्धान परिषद् चाहिन्छ भनेर सबैले भन्छन्।  नार्कमा समस्या छन् भन्ने पनि सबैलाई थाहा छ।  तर तिनको सम्बोधन हुन सकिरहेको छैन।




पछिल्लो ४ वर्षयता नार्क परिषद्को अध्यक्षता पूर्वमाओवादी(हाल नेकपा)मन्त्रीहरूले गरिरहेका छन्।  तीमध्ये हरिबोल गजुरेल मन्त्री हुँदा  नार्कलाई कसरी अघि बढाउने भनेर ३ वर्षअघि खुमलटारमा २ दिने गोष्ठी नै गर्नुभयो।  पहिलो दिनको प्रमुख अतिथि पुष्पकमल दाहाल (प्रचण्ड) स्वयं हुनुहुन्थ्यो।  गोष्ठी गोष्ठीमै सीमित रह्यो, केही भएन।  वर्तमान कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालले पनि गएको वर्ष नार्कको संरचनागत सुधार कसरी गर्ने भनेर कास्कीको लुम्लेमा आफ्नै उपस्थितिमा ३ दिनको गोष्ठी गर्नुभयो।  ‘कृषि अनुसन्धान सेवा’ गठन गरेर जाने भन्नेमा सबै सहमत भए र खाका पनि बन्यो, तर त्यसअनुसार काम÷कारबाही अघि बढेन।

मुलुकको समृद्धिको आधार कृषि हो।  त्यसका लागि प्रभावकारी अनुसन्धान नै प्रमुख आवश्यकता हो।

सुनिन्छ– अहिले जसोतसो नार्कको ऐन संशोधनका लागि प्रक्रिया अघि बढेको छ।  त्यसमा मूलतः नार्कलाई मानित विश्वविद्यालय (डिम्ड युनिभर्सिटी) बनाउने र पेन्सन व्यवस्था गर्ने भन्ने कुरा छ।  मानित विश्वविद्यालय सरकारको अजेन्डै भएकाले समस्या भएन।  अपुष्ट जानकारीअनुसार परिषद् भएकाले ऐनमा पेन्सनबारे उल्लेख गर्न नमिल्ने र गर्ने हो भने परिषद्को नामै फेर्नुपर्ने सुझाव आयो।  पेन्सनकै विषयमा नार्कका पूर्व तथा वर्तमान कर्मचारी विचलित हुने गरेका छन्।  तर नेपाल सरकारबाट स्वीकृत नार्कको विनियममा पेन्सनको व्यवस्था छ, कर्मचारीले पेन्सन पाइरहेका छन्, अहिलेसम्म सबैले पेन्सन पाउने प्रावधानअन्तर्गत नै सेवा प्रवेश गरेका छन्।  सरकार पेन्सन दिनबाट पन्छिने ठाउँ कतै छैन।

नार्क, भारतको आइसिएआर (भारतीय कृषि अनुसन्धान परिषद्) को नक्कलस्वरूप गठन भएको हो।  सोहीअनुरूप सुरुदेखि नै नार्कको कार्यकारी प्रमुखलाई कृषि मन्त्रालयको अनुसन्धान हेर्ने ‘पदेन सचिव’ र नार्कलाई मानित विश्वविद्यालयका रूपमा अनुसन्धानमा आधारित उच्चस्तरीय अध्यापनसमेत गराउने थलो बनाउने सोच थियो।  तर यी दुई प्रमुख कुरा नार्कको ऐनमा समेटिएन।  कुराचाहिँ उठिरह्यो, देखावटी प्रयास पनि भइरह्यो।  १३ वर्षअघिको पहिलो अन्तरिम ३ वर्षीय योजनामा मानित विश्वविद्यालयका लागि कार्यक्रम–बजेट नै स्वीकृत भएको थियो।  खासमा नार्कको कार्यकारी निर्देशकलाई अनुसन्धान सचिव नमान्ने कृषि मन्त्रालय र मानित विश्वविद्यालय बन्न नदिने विश्वविद्यालयहरू हुन्।  भारतमा आइसिएआरका महानिर्देशक कृषि मन्त्रालयमा पदेन अनुसन्धान सचिव बन्छ र आइसिएआरअन्तर्गत मानित विश्वविद्यालय मात्र होइन, ४५ वटाभन्दा बढी कृषि विश्वविद्यालय नै छन्।  जे होस्, अहिले आएर मानित विश्वविद्यालयमा सरकार सकारात्मक छ र आइसिएआरसँग एक हदसम्म गृहकार्य भइरहेको छ।

मुलुकको राष्ट्रिय सोच ‘समृद्ध नेपाल र सुखी नेपाली’ मुताबिक कृषिलाई अघि बढाउन ‘कृषि अनुसन्धान सेवा’ सिर्जना गरौँ।  त्यसअन्तर्गत नीति निर्माण र समन्वयकारी भूमिकाका लागि सरकारको केन्द्रीयस्तरमा कृषि अनुसन्धान विभाग बनाऔँ।

नार्कको समस्याको जड स्थापनाकालदेखिको हो।  त्यसबेला कृषि मन्त्रालयले अनुसन्धानलाई पन्छाएर बाँकीले तर मारे।  त्यस्तै नार्क हिमायती नेतृत्व वर्गले आफू स्वायत्त र सर्वेसर्वा बनेँ भन्ने दिवास्वप्न देख्यो।  त्यसको मारमा अहिले कृषि अनुसन्धान परेको छ।  अझ नार्कलाई कुण्ठित बनाउन कृषि मन्त्रालयले कृषि अनुसन्धान तथा विकास कोष (नार्डेफ) खडा गरी छुट्टै सञ्चालनमा ल्यायो।  अहिले नार्डेफ खारेज भइसक्यो।  पाकिस्तान, बंगलादेश, चीनलगायत मुलुकमा पनि अनुसन्धान परिषद् छन्।  तर ती सरकारका अभिन्न अंगका रूपमा छन्।  हामीकहाँ स्वायत्तताका नाममा नार्कलाई अन्य संघसस्थाको दर्जामा राखिएको छ।

नार्कको स्थापनाकालदेखि नार्क र कृषि मन्त्रालयबीच समन्वयको वातावरण बनेन।  सुरुमा कार्यकारी निर्देशक र सचिवबीच ‘इगो’ लगायतको टकराव रह्यो।  पछि हुँदै जाँदा सचिव, सह–सचिवहरूको छायामा पर्दै गयो।  अहिले कृषि सचिव भन्नुहुन्छ– ‘नार्क कृषि मन्त्रालयअन्तर्गत होइन, कृषि सचिवको हैसियत परिषद्को एउटा सदस्यको मात्र हो। ’ हुन पनि त्यही हो, कृषि मन्त्रालय नार्कका लागि सम्पर्क मन्त्रालय मात्र हो।  ऐनमा यही लेखिएको छ।  तथापि नार्कका कार्यक्रम–बजेटलगायतका महŒवपूर्ण कार्यहरू मन्त्रालयको अनुमोदनबिना अघि बढ्दैनन्।  हाल सचिवले भन्दै आउनुभएको कुरा एउटा घुर्की मात्र हो।  चाबी त उहाँकै हातमा छ।

सबैले के बुझेका छन् भने नेपालको वर्तमान भू–राजनीतिमा स्वायत्तता फापेन, फाप्दैन।  नार्क स्थापना भएको २८ वर्ष पूरा भइसक्यो, यसले आफ्नो बलियो उपस्थिति देखाउन सकेको छैन।  वैज्ञानिक जनशक्तिको उपस्थिति अति न्यून छ।  भएका पनि काठमाडौँमा केन्द्रित छन्।  अधिकतर वैज्ञानिक र प्राविधिक कर्मचारीको मनोबल कमजोर छ।  सबैलाई थाहा छ– मुलुकको समृद्धिको आधार कृषि हो।  त्यसका लागि प्रभावकारी अनुसन्धान नै प्रमुख आवश्यकता हो।  त्यसैले कृषि अनुसन्धानलाई राज्यले विशेष महŒव दिएर ‘कृषि अनुसन्धान सेवा’ अन्तर्गत कृषि अनुसन्धान विभाग गठन गर्नुपर्छ।  एकथरीको बुझाइ के छ भने परिषद्लाई सरकारी विभाग बनाउन सकिँदैन।  किनकि नार्कका ठूला वैज्ञानिक र प्रशासकलगायत कर्मचारीहरूलाई कहाँ, कसरी समायोजन गर्ने ? खोजेको निजामती विभाग होइन।  खोजेको स्वास्थ्य सेवा, न्याय सेवा, परराष्ट्र सेवा, संसद् सेवा, प्रहरी सेवा, जंगी सेवा आदिजस्तै छुट्टै ऐनबाट बन्ने विशेष ‘कृषि अनुसन्धान सेवा’ अन्तर्गतको विभाग हो।  नार्कका अधिकतर कर्मचारीको चाहना पनि यही छ।  अर्काथरीको भनाइ छ– नार्कलाई स्वायत्तै राख्नुपर्छ।  तर मुलुकलाई स्वायत्त नार्क चाहिएको होइन, सशक्त कृषि अनुसन्धान चाहिएको हो।  कृषि अनुसन्धान क्षेत्र दिगो, भरपर्दो, फलदायी र आकर्षक नभई कृषि क्षेत्र अघि बढ्दैन।

यसो भनिरहँदा कसैले सोध्न सक्छन्– ‘कृषि अनुसन्धान परिषद्ले नसक्ने काम, कृषि अनुसन्धान विभागले कसरी सक्छ ?’ परिषद् भन्नेबित्तिकै सरकारको अभिन्न अंगका रूपमा रहेन।  परिषद्मा काम गर्नेहरूले आफूलाई सुरक्षित ठानेनन्।  परिषद् भनेपछि राजनीति गर्नेहरूको अखडा भन्ने ठानियो।  अहिले कृषिमा स्नातक, स्नातकोत्तर गरेकाहरू नार्क छाडेर किन लोकसेवा दिएर अन्यत्र जान्छन् ? तलब स्केल र अरू सुविधा लगभग उही छ।  यसको कारण खोज्यो भने नार्कका विसंगतिहरू आपैmँ सतहमा आउँछन्।  अर्को कुरा, नार्क मुलुकको आवश्यकता र प्रणालीमा समाहित भएर अघि बढ्न सकेन र कतिपय अवस्थामा बढ्न पनि दिएन।  मुलुकको आवश्यकता एकातिर, अनुसन्धान अर्कातिर रहेको कतिपय अवस्था पनि छ।  फेरि पनि दोहो¥याउँछु– ‘नार्कले न्यूनतम अनुसन्धानचाहिँ धान्दै आएको छ। ’ तर त्यतिले पुगेन र यही अवस्था र संरचनाबाट थप अपेक्षा राख्न सकिन्न।  विभागीय मोडेलमा गएपछि विभिन्न कर्मचारी समूह (वैज्ञानिक, प्राविधिक र प्रशासन∕लेखा) बीच भइरहेको आन्तरिक द्वन्द्व पनि समाधान हुँदै जान्छन्।  पद रिक्त हुँदै गएपछि प्रशासन र लेखाका कर्मचारी नेपाल सरकारबाट पूर्ति गर्दै जाने नीति पनि अवलम्बन गर्न सकिन्छ, जसले गर्दा यी कर्मचारीहरूको वृत्ति विकास रोकिँदैन।  छुट्टै कृषि अनुसन्धान सेवाअन्तर्गत बन्ने विभागमा नार्कका कर्मचारीहरू समायोजन गर्न पनि अप्ठेरो पर्दैन।  साथै हाल निजामती सेवामा रहेका र योग्यता पुगेका कृषि विज्ञहरू पनि समायोजन भएर आउन सक्छन्।  यसले कृषि अनुसन्धान क्षेत्रमा रहेको न्यून जनशक्तिलाई पनि सम्बोधन गर्न सक्छ। 

मुलुकको राष्ट्रिय सोच ‘समृद्ध नेपाल र सुखी नेपाली’ मुताबिक कृषिलाई अघि बढाउन ‘कृषि अनुसन्धान सेवा’ सिर्जना गरौँ।  त्यसअन्तर्गत नीति निर्माण र समन्वयकारी भूमिकाका लागि सरकारको केन्द्रीयस्तरमा कृषि अनुसन्धान विभाग बनाऔँ।  कार्यक्षेत्रस्तरमा विषय–विशेष र बाली तथा वस्तु–विशेष राष्ट्रिय प्रतिष्ठानहरू (इन्स्टिच्युट)बनाऔँ।  जस्तै ः धानबाली अनुसन्धान इन्स्टिच्युट, तरकारीबाली अनुसन्धान इन्स्टिच्युट, बाख्रा अनुसन्धान इन्स्टिच्युट, मत्स्य अनुसन्धान इन्स्टिच्युट आदि।  तिनलाई एक हदसम्म स्वायत्त ढंगले अघि बढाऔँ।  नाम मात्रको विषयगत प्रतिष्ठानहरू त नार्कमा अहिले पनि छन्, जस्तै ः राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठान (नारी) र राष्ट्रिय पशु विज्ञान अनुसन्धान प्रतिष्ठान (नास्री)।  तर ती स्वायत्त छैनन् र प्रयोजनविहीन छन्।  माथि उल्लिखित इन्स्टिच्युटहरू सबल र स्वायत्त नभई कृषिमा सोचेअनुरूप प्रविधि आउँदैन।  अहिले अधिकतर वैज्ञानिकहरू केन्द्रमा केन्द्रित छन्।  बाली वा वस्तु–विशेष अनुसन्धान कार्यक्रम (जसलाई यहाँ इन्स्टिच्युट बनाउने प्रस्ताव गरिएको छ) मा हाकिमसहित मुस्किलले २÷३ जना वैज्ञानिक कार्यरत छन्।  तिनमा पनि को, कहिले, कता जाने हुन्, थाहा छैन।  अदुवाको वैज्ञानिक मकैमा, मकैको वैज्ञानिक गहुँमा आदि।  जसलाई जुनबेला चाहेर वा नचाहेर सरुवा, काज सरुवा हुने, जसले गर्दा भइरहेको अनुसन्धानको ठेगान छैन।  बजेटचाहिँ खर्च हुने, जिम्मेवारी कसैको नहुने।  

त्यसैले अहिलेका कार्यक्रमस्तरका कार्यालयहरूलाई इन्स्टिच्युट बनाऔँ, आवश्यकताअनुसार इन्स्टिच्युट थपौँ र राष्ट्रियस्तरमा तिनका आफ्नै सञ्जाल बनाई विभागअन्तर्गत निश्चित स्वायत्तता प्रदान गरी जिम्मेवारी दिऔँ।  जस्तै ः वैज्ञानिक भर्ना गर्दा उखुबाली इन्स्टिच्युटकै लागि भनेर गरौँ, जसले गर्दा कम्तीमा निश्चित अवधिको लागि उखुको वैज्ञानिक कहिले आलुमा त कहिले तेलबालीमा भौतारिन नपरोस् वा नपाओस्।  निश्चित अवधि सेवा गरिसकेकालाई चाहेमा अन्यत्र जान सक्ने प्रावधान राखौँ।  भारत तथा अन्यत्र मुलुकमा प्रमुख बाली÷वस्तुका अनुसन्धानलाई इन्स्टिच्युटका रूपमा विकास गरिएका छन् र नतिजा सन्तोषप्रद छन्।  
अर्को समाचार
कृषि अनुसन्धान विभाग नै किन ?
१९ फागुन २०७६
•
१७ मिनेट पाठ
कृषि अनुसन्धान विभाग नै किन ?
गत भदौ १ गते यसै दैनिकमा ‘कृषि अनुसन्धान विभाग आवश्यक’ शीर्षकमा मेरो एउटा लेख छापियो। त्यो लेख करिब ३ हजारपटक सेयर भयो। यो कुरा यहाँ उल्लेख गर्नुको उद्देश्य त्यसको प्रचार गर्नु नभई त्यसमा धेरैको सहमति रहेको जानकारी गराउनु हो। कृषि क्षेत्रको इन्जिन मानिएको कृषि अनुसन्धानको आवश्यकता र महत्वबारे कृषकदेखि प्रशासक, नीति निर्माता र राजनीतिक नेतृत्वसम्म सबै जानकारै छन्। यसबारे यहाँ चर्चा गरिरहनु परेन। त्यसैलाई मनन गरेर २८ वर्षअघि ‘नेपाल कृषि अनुसन्धान परिषद्’ नामधारी स्वायत्त भनिएको एउटा सिंगो निकाय खडा भयो। त्यसलाई कृषिसँग सरोकार राख्ने र कृषिमा चासो राख्ने जो कोहीले ‘नार्क’ भनेर चिन्छन्।




नेपाल कृषि प्रधान देश हुँदाहुँदै कृषि क्षेत्रकै विकास किन भएन भनेर कसैले सोच्यो वा बोल्यो भने कृषि प्रविधि नै भएन, गतिलो अनुसन्धानै भएन भनेर नार्कतिरै औंलो सोझ्याउने गरिन्छ। किनकि तलदेखि माथिसम्म सबैलाई भन्न सजिलो छ– नार्कले काम गरेन, नार्क प्रभावकारी हुन सकेन। तर रमाइलो कुरा– किन त्यसो भयो त भन्ने पनि सबैलाई थाहा छ। कृषि मन्त्रालयका सचिवहरूलाई थाहा छ, मन्त्रीलाई थाहा छ, प्रधानमन्त्रीलाई थाहा छ। प्रत्येक दलका शीर्षस्थ नेताहरूलाई पनि थाहा छ। मलाई पनि थाहा छ। नार्कको स्थापनाकालदेखि त्यहीं काम गरेर बूढो भएपछि अहिले पेन्सन खाइरहेको छु। नार्कको पिर–व्यथा त्यहाँका पूर्व तथा वर्तमान कर्मचारी सबैलाई थाहा छ।

कृषि अनुसन्धान सेवा ऐन बनाएर त्यसअन्तर्गत नार्कलाई कृषि अनुसन्धान विभागमा रूपान्तरण गरियो भने राजनीतिक हस्तक्षेप पक्कै कम हुन्छ।

त्यसैले त निवर्तमान कृषिमन्त्री चक्रपाणि खनालकै पहल र उपस्थितिमा नार्कअन्तर्गतका सबै कार्यालय प्रमुख सहभागी नार्कलाई कसरी अघि बढाउने भन्ने विषयमा आयोजित ‘लुम्ले अन्तरक्रिया’मा कृषि अनुसन्धान सेवा सिर्जना गरी नार्कलाई कृषि अनुसन्धान विभागमा रूपान्तरण गरौं भन्नेमै सबैको एकमत रह्यो। तर त्यो कता–कता अलमलिइरहेको छ। त्यस विषयमा मुख्य–सचिव लोकदर्शन रेग्मीसमेतले चासोसाथ पहल गरेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीसमेत नार्कलाई कृषि अनुसन्धान विभागमा ल्याउन के गर्नुपर्ने हो भन्नेमा चिन्तित रहेको सुनेको छु। तर नार्क नेतृत्व गर्नेहरूकै ढुलमुले चाला र कृषि मन्त्रालयसमेतको आनाकानीमा त्यो अघि बढ्न सकिरहेको छैन।

कृषि अनुसन्धान विभाग नै किन ?

कृषि अनुसन्धान स्वायत्त हुनुपर्छ भन्ने गरिन्छ। म त्यसको विरोधी होइन। स्वायत्तता केका लागि भन्दा प्रभावकारी र फलदायी अनुसन्धानका लागि। नार्क स्वायत्त भएको आगामी वैशाख २५ गते २९ वर्ष पूरा हुन्छ। खोइ त नार्कले आफ्नो सशक्त उपस्थिति देखाउन सकेको ? यसको अर्थ के होइन भने नार्कले केही गरेन।

नार्कले आफ्नो गच्छेअनुसार जेनतेन मुलुकको कृषि अनुसन्धान धानिरहेको छ। तर त्यो पर्याप्त छैन। अहिलेकै अवस्थामा मुलुकलाई चाहिएको कृषि अनुसन्धान हुन सक्दैन। किनकि नार्क खराब राजनीतिबाट ग्रस्त छ। नार्कमा आवश्यक वैज्ञानिक जनशक्ति छैन र भएकाहरूहरूको मनोबल पनि कमजोर छ। नार्कमा प्रोजेक्ट प्रणाली ज्यादै खर्चालु र कमजोर बन्दै गएको छ। सबैभन्दा ठूलो समस्या, नार्क राज्यको मूलधारबाट बाहिर छ। यी पक्षबारे संक्षिप्तमा केही कुरा राख्न चाहन्छु।

खराब राजनीति

नार्क खराब राजनीतिबाट गुज्रिरहेको छ। दुर्भाग्य नै हो– स्थापनाकालदेखि नै नार्कको नियति यस्तै रह्यो। खराब राजनीतिका अगाडि कृषिमन्त्रीसमेत निरीह बन्ने गरेका छन्। एउटा सानो उदाहरण दिन्छु: नार्कको सबैभन्दा माथिल्लो निकाय भनेको कृषिमन्त्री अध्यक्ष रहने १६ सदस्यीय ‘परिषद्’ हो। १ वर्षअघि मलाई कृषि मन्त्रालयबाट फोन आयो– नार्कको परिषद् सदस्य बस्न भनेर।

सुरुमा त आनाकानी गरें। केही कुरा भएपछि नार्कको आन्द्राभुँडी थाहा भएकाले केही योगदान हुन सक्छ भने ठीकै छ भनें। मन्त्रीलाई सम्बोधन गरेर निवेदन, नागरिकता र बायोडाटा पठाउन भनियो। तर मैले निवेदन दिएर त आउन्न भनें। चलनै यही छ भन्ने भो। त्यसो भए ठीकै छ त भनेर नागरिकता र बायोडाटासहित निवेदन पठाएँ। २ वर्षका लागि बधाईसहित नियुक्ति पाएँ। अरू ४ जना पनि सदस्य भएका रहेछन्। नियुक्ति–पत्र पाएपछि फेसबुकमा सेयर गरें। बधाई र शुभकामना धेरै पाएँ।

कृषि अनुसन्धान सेवा छुट्टै गठन गरी मन्त्रालयसँगै आबद्ध गरियो भने मुलुकमा उपलब्ध मानवीयलगायतका साधन/स्रोतको उपयोग हुनाका साथै अनुसन्धान र प्रसार∕सेवाबीच समन्वय र सहकार्य पुनः थालनी हुनेछ।

विडम्बना ! मैले नियुक्ति पाएदेखि नार्क परिषद्को बैठकै बसेको छैन। सुनेअनुसार नियुक्तिको निर्णय मन्त्रीपरिषद्बाट हुनुपर्ने, सीधै मन्त्रीबाट भएछ। तिनै नाम अनुमोदनका लागि मन्त्रिपरिषद्मा पठाएको छ भन्ने पनि सुनियो। मन्त्रीस्तरबाटै नियुक्ति गर्न सक्ने गरी मन्त्रीलाई अधिकार प्रत्यायोजन भएको छ भन्ने पनि सुनियो। केही महिनाअघि नार्क केन्द्रीय कार्यालयबाट फोन आयो– परिषद् बैठक बस्दै छ, भरेसम्म अजेन्डासहितको पत्र आउँदै छ। अजेन्डा त आएन, बरु बैठकै रद्द भएको सूचना पो आयो। भन्न हुने हो कि नहुने हो, गाँठी कुरोचाहिँ अर्कै रहेछ। भागबन्डा नमिलेको, मन्त्रीले एकलौटी नियुक्ति गरेकाले माथिबाटै सबै रोकियो रे। अहिले नयाँ मन्त्री आएका छन्। आशा गरौं– पक्कै परिषद्ले चाँडै पूर्णता पाउनेछ।

अर्को एउटा उदाहरण ः नाम र वर्षचाहिँ खुलाउँदिनँ। म नार्कको योजनामा थिएँ। काम–विशेषले तत्कालीन कृषिमन्त्रीसँग भेट भइरहन्थ्यो। भेटमा उनले पटकपटक भन्थे– पार्टी अध्यक्षले मलाई त्यहाँबाट हटाउन दबाब दिइरहनुभएको छ। म हाँसेर टार्थें, उहाँले हटाउनुचाहिँ भएन। एउटा कर्मचारीलाई जिम्मेवारीबाट हटाउन सत्तारूढ पार्टीको अध्यक्षले मन्त्रीलाई दबाब दिने कतिसम्मको राजनीतिक हस्तक्षेप ! यी त धेरै साना उदाहरण हुन्। तसर्थ कृषि अनुसन्धान सेवा ऐन बनाएर त्यसअन्तर्गत नार्कलाई कृषि अनुसन्धान विभागमा रूपान्तरण गरियो भने राजनीतिक हस्तक्षेप पक्कै कम हुन्छ भन्ने लाग्छ।

जनशक्ति अभाव र व्यवस्थापन

नार्कमा जनशक्तिको समस्या स्थापनाकालदेखिकै हो। त्यसबखत निजामती सेवाबाट समायोजन भएर आएका १ हजार ८ सय २३ जनाको दरबन्दी संख्यामै अहिलेसम्म नार्क रुमलिइरहेको छ। सुरुमा समायोजन भएर आएका अधिकतर वैज्ञानिक अवकाश भइसके। त्यसमाथि केही वर्षदेखि वैज्ञानिकको पदपूर्ति हुन सकिरहेको छैन। म ३८ वर्षअघि सेवा प्रवेश गर्दा प्रथम श्रेणी, द्वितीय श्रेणी र वरिष्ठ तृतीय श्रेणी गरी मभन्दा माथि ३ तहका जनशक्ति थिए। नेतृत्व तह र जनशक्तिबीच सन्तुलन थियो। अहिले छैन।

नार्कमा दक्ष र अनुभवी जनशक्ति निर्माण गर्न समय लाग्नेछ। त्यसैले कृषि अनुसन्धान विभाग बनेको अवस्थामा अहिले नेपाल सरकारको निजामती सेवाअन्तर्गत रहेका योग्यता पुगेका इच्छुक कृषि अधिकृतहरूलाई कृषि अनुसन्धान सेवामा ल्याउन सकिन्छ। प्रदेश तथा स्थानीय निकायमा  कार्यरत पुराना कृषि अधिकृतहरू कृषि अनुसन्धान सेवा बनेमा आउन लालायित भएको बुझिन्छ।

जनशक्तिको कुरा गर्दा बजेट पनि जोडिन्छ। नार्क बनेपछि करिब १ दशकसम्म बजेट कमी भएन। किनकि अमेरिकी सहयोग नियोगको ‘एटिएसपी’ र पछि विश्व बैंकको ‘एआरइपी’ प्रोजेक्ट थिए। त्यसपछि नार्कमा बजेटको खडेरी सुरु भयो। यो १७ वर्षअघिको कुरा हो। संयोग नै भन्नुपर्छ, खडेरी सुरु भएको वर्षदेखि नै मैले नार्कको योजना प्रमुख भएर काम थालें।

अझै कण्ठै छ, त्यो वर्ष नार्कको कूल बजेट मात्र २८ करोड ३५ लाख रुपैयाँ रह्यो। त्यसपछि ३१, ३६, ४२, ४८, ५६ करोड हुँदै सातौं वर्ष १ अर्ब रुपैयाँ बजेटको सिलिङ निश्चित गराएर सरुवा भएँ। अहिले नार्कको बजेट २ सय ५० करोड रुपैयाँ छ। भन्न खोजेको के हो भने नार्कमा जुन बेला अनुभवी र धेरै वैज्ञानिक थिए त्यसबेला बजेट कम थियो। अहिले बजेटको कमी छैन तर वैज्ञानिक जनशक्तिको ठूलो अभाव छ।

प्रोजेक्ट प्रणाली

नार्कमा अहिले चलिरहेको प्रोजेक्ट प्रणाली खर्चालु, कमजोर र अप्रभावकारी छ। नार्क बनेदेखि प्रत्येक काम प्रोजेक्टाइज भयो। प्रत्येक वैज्ञानिक वा प्राविधिक अधिकृतको आआफ्नै प्रोजेक्ट हुनैपर्ने। प्रोजेक्टहरू समस्या समाधानका लागि भन्दा पनि वैज्ञानिक र प्राविधिक अधिकृतलाई काम दिन चाहिने भयो। नार्कमा त मान्छेपिच्छे प्रोजेक्ट, प्रोजेक्टपिच्छे बजेट। प्रोजेक्टपिच्छे खर्च। अनि खर्च दोहोरो तेहेरो।

केही काम गर्नैपर्ने भो, त्यसका लागि प्रोजेक्ट छैन भने काम पनि भएन। त्यो काम गर्न प्रोजेक्ट बन्नुप-यो, अर्को वर्ष कुर्नुप-यो। मैले सेवा प्रवेश गरेदेखि नार्क नबन्दासम्म जिम्मेवारी तोकिएको हुन्थ्यो, कसको के काम भन्ने। बजेट विभिन्न शीर्षकमा गरी एकमुस्ट हुन्थ्यो। तेरो/मेरो भन्ने हुन्नथ्यो। त्यसैले कृषि अनुसन्धान विभाग बन्यो भने प्रोजेक्टको ह्याङओभर पनि कम हुन्छ। हुन त सुधार गर्नै चाह्यो भने नार्कमै पनि अहिलेको प्रोजेक्ट प्रणालीलाई सरलीकरण र प्रभावकारी बनाउन नसकिने होइन। यसो भनिरहँदा तिमी योजनामा हुँदा किन सुधार गरेनौ त भन्ने प्रश्न पनि उठ्ला। सुधारका लागि धेरै प्रयास गरियो, तर अपेक्षित सुधार हुन सकेन। अहिले त झनै कमजोर भएको छ।

अन्त्यमा, नार्कमा राज्यको ठूलो लगानी छ। तर नार्कलाई मूलधारबाट बाहिर राखिएको छ। कृषिका लागि अनुसन्धान नभई नहुने तर नार्क सरकारी होइन रे। नार्कका कर्मचारीले सरकारी कोषबाट पेन्सन पाउँदैनन् रे। सरकारी पासपोर्ट पाउँदैनन् रे। निजामती अस्पतालमा उपचार सुविधा पाउँदैनन् रे। हुन त अस्पतालको नामै निजामती भएपछि निजामतीबाहेक अरूले सुविधा पाउने कुरा पनि भएन। 

यी माथिका कुराभन्दा पनि कृषि मन्त्रालयले विभाग र केन्द्रहरूलाई एकाघरको र नार्कलाई बाहिरियाको व्यवहार गर्छ। नार्क कहाँ मन्त्रालयअन्तर्गत हो र, स्वायत्त हो नि भनी सुनाउँछन्। नार्कसम्बन्धी कुनै ठूला र नीतिगत निर्णय गराउन खोज्दा अंकुश लगाउनेचाहिँ फेरि कृषि मन्त्रालय नै बन्छ। जे होस्, यो समस्या पुरानो पिँढीका बीच बढी थियो। अबको पिँढीमा त्यस्तो मानसिकता अलि कमै देख्छु, जुन सकारात्मक छ।

तर कृषि अनुसन्धान सेवा छुट्टै गठन गरी (जस्तै: स्वास्थ्य सेवा, न्याय सेवा, परराष्ट्र सेवा, प्रहरी सेवा, सैनिक सेवा आदि) मन्त्रालयसँगै आबद्ध गरियो भने मुलुकमा हाल उपलब्ध मानवीयलगायतका साधन/स्रोतको उपयोग हुनाका साथै अनुसन्धान र प्रसार∕सेवाबीच समन्वय र सहकार्य पुनः थालनी हुनेछ। ‘पुनः थालनी हुनेछ’ किन भनियो भने नार्क बन्नुभन्दा अघि मुलुकमा अनुसन्धान र प्रसार एकै छातामुनि थिए। त्यसभन्दा अघि त कृषि शिक्षा पनि सँगै थियो। क्रमशः खण्डित हुँदै गयो। अहिले तीन वटा तीनतिर फर्केका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस