'खान पुगोस्, दिन पुगोस्'
१२ असोज २०६७
•
१४ मिनेट पाठ
'खान पुगोस्, दिन पुगोस्'
बालबालिकालाई सानैदेखि व्यक्ति केन्द्रित हुन सिकाउने तर तिनै बालबालिकाबाट वयस्क भएपछि समाजका लागि योगदानको अपेक्षा गर्ने हाम्रो व्यवहार र सोचमा अन्तर्विरोध छ।
मेरा साथीकी आमा छिन् - पवित्रदेवी रायमाझी। उनको दिनचर्या नामजस्तै पवित्र हुन्छ। प्रेम, उदारता, स्वच्छता र भक्ति उनका विशिष्ट गुण हुन्। दिनभर प्रत्यक्ष र अप्रत्यक्ष पाप गर्ने अनि साँझबिहान भगवानको अर्चना गरेर पखाल्न खोज्ने पाखण्डीका भिडबाट उम्केर पवित्रदेवीको घरमा पुग्दा मलाई आफूभित्रका तुसहरू एकैछिनका लागि भएपनि मेटिएजस्तो लाग्छ। आफूसँग भएको सबै सुम्पिएर लोक कल्याणमा जीवन अर्पण गर्ने अनुराधा कोइराला या दिलशोभा श्रेष्ठको जस्तो महानता बिरलैमा हुन्छ। त्यसैले, 'व्यावहारिक कल्याण' या हरेक व्यक्तिले आफ्नो गच्छेअनुसार सकेको कल्याणकारी काम गर्ने संस्कारको विकास गर्न सकियो भने समाज धेरै न्यायपूर्ण र सुसंस्कृत हुनसक्थ्यो भन्ने मेरो विश्वास छ। त्यसैले 'व्यावहारिक कल्याण' को प्रसंग म मौका पाउनेबित्तिकै गरिहाल्छु। कुराकानीका क्रममा एकदिन पवित्रदेवीका छोरा मेरा मित्र श्रीरामले भने - 'मेरी आमाले दसैंमा आशीर्वाद दिँदा सधैं भन्नुहुन्छ - 'खान पुगोस्, दिन पुगोस्!' पवित्रदेवीका ती शब्द मलाई 'व्यावहारिक कल्याण' को विश्वासलाई भत्किन नदिने प्रेरणा बनेका छन्। र, हरेक दसैँमा म उनलाई श्रद्धापूर्वक संझने गर्छु।




यस पटक पनि दसैं नजिकिँदै छ। आजसम्म दसैँमा मैले पाएका आशीर्वाद मैसँग सम्बन्धित थिए र संभवतः भविष्यमा पनि त्यस्तै हुनेछन्। 'तँ ठूलो भए, तँ ज्ञानी भए, तँ मान्य भए, तँ धनी भए, तँलाई कहिले रोग नलागोस्, चन्द्रमा दाहिने हुन्'। यी मैले सुनिआएका आशीर्वाद हुन्। अहिले म यसो सोच्छु, यो समाज बिग्रनु, यो संसार प्राविधिक र बौद्धिक ज्ञानको भण्डार भएर पनि यति धेरै अमानवीय व्यवहारबाट ग्रस्त हुनुमा मूलतः बालबालिकालाई हुर्काइने, बढाइने र पढाइने तरिका जिम्मेवार छ। सानैदेखि हामी उनीहरूलाई व्यक्ति केन्द्रित हुन कति प्रेरित गर्छौं भने ठूलो हुँदासम्म तिनका लागि व्यक्तिगत उपलब्धि जति महत्वपूर्ण केही पनि हुँदैन। वयस्क भएपछि भने पढेलेखेका, जानेबुझेका, धनसम्पत्ति भएकाले तुलनात्मकरूपमा व्यक्तिगत उपलब्धिभन्दा सामाजिक रूपान्तरणका सम्बन्धमा बढी बोल्नुपर्ने र आदर्शको खेती गर्नुपर्ने बाध्यता सिर्जना हुँदोरहेछ। त्यसै भएर धेरै ठूलो कहलिएकाहरूले पदपैसा मेरालागि केही पनि होइन, यो समाज र राष्ट्रको हित बढी महत्व हो भनेको हामी बारम्बार सुन्छौं। अधिंकाश स्थितिमा तिनले जे भन्छन् त्यो शतप्रतिशत झूठ हो भन्ने तिनलाई थाहा हुन्छ। किनभने हामी सबैलाई सानैदेखि व्यक्तिगत हितलाई सर्वोपरी ठान्न आशीर्वादबाट हाम्रा नसानसामा व्यक्तिगत मान, प्रतिष्ठा र अर्थोपार्जनका कोषिका बन्ने गरी प्रशिक्षित गरिएको हुन्छ। हामीले बालबालिकालाई व्यक्ति केन्द्रित हुन गर्ने प्रशिक्षण र तिनै बालबालिकाबाट वयस्क भएपछि समाजका लागि गरिने अपेक्षाबीच ठूलो अन्तर्विरोध छ।

आज संसारमा देखिएका अधिकांश समस्या त्यही अन्तर्विरोधको नतिजा हो। हरेक दिन काठमाडौंका पाँचतारे होटेलमा देश कसरी बनाउने भनेर गोष्ठी भैरहेका हुन्छन्। हरेक दिन संसारभर समाज रूपान्तरणका विषयमा सयौं पुस्तक प्रकाशित भैरहेका हुन्छन्। हरेक दिन लाखौंलाख मानिसले त्यस्ता 'अग्रगमनकारी' सोचपूर्ण पुस्तक पढिरहेका पनि हुन्छन्। तर, समग्रमा समाज र संसार उँभो लागेजस्तो लाग्दैन। हत्या, हिंसा, सामाजिक असुरक्षा, वातावरणीय ह्रास बढ्दो छ र त्यसभन्दा पनि महत्वपूर्ण गरिब र धनीबीचको खाडल झन् झन् कहालीलाग्दोरूपमा फराकिलो र गहिरो भइरहेको छ। ज्ञान विवेकको सर्जक नभएर गर्व र प्रदर्शनको विषय भएको छ। अधिकांश परिस्थितिमा ज्ञान भोको हुन्छ, त्यसले माग्छ मात्र, दिँदैन। त्यो कसैको दोष होइन। हामीलाई सिकाइएकै त्यस्तै छ। सानैदेखि मेरो मस्तिष्कमा धेरै पढेको, उच्च ओहोदामा पुगेको, धेरै धन कमाएको, नाम कमाएको व्यक्ति नै ठूलो मान्छे हो भन्ने छाप परेको छ। तिनैलाई मेरो प्रेरणा र आदर्शका रूपमा प्रस्तुत गरिएको छ। ठूलो मान्छेको नसा कति कडा हुन्छ भने त्यसले अन्तिम साससम्म पनि मान्छेलाई छोड्दै छोड्दैन। ठूलो मान्छे हुने नसा लागेपछि मान्छेको चेतना ठूलै हदले साँगुरिएर आफैँमा केन्द्रित हुनजान्छ। व्यक्तिलाई स्वकेन्द्रित नसाले गाँजेको थाहा नहुने होइन, राम्रैसँग थाहा हुन्छ। तर म स्वार्थी छु भनेर स्वीकार्न ऊ लजाउँछ र आफूले आफ्नै वृित्त विकास, नाम र दामका लागि गरिरहेको कामलाई ऊ समाज रूपान्तरणसँग जोड्न हुरुक्क हुन्छ। त्यसैले पत्रकारलगायत सबै पेसाका मान्छेले सधैं आफ्नो कर्मले समाज र देशलाई योगदान पुर्‍याइरहेको दाबी गर्छन्। तर समाज र देश बिग्रनुको जिम्मेवारी भने कोही पनि लिन चाहँदैनन्। सबैले अरू, खासगरी राजनीतिकर्मीलाई दोषी देख्छन्। वास्तविकता चाहिँ के हो भने, हामी सबै दोषी हौं। फोहोरी वातावरणबीच आआफ्नो पेसागत दायित्व इमान्दारीपूर्वक पूरा गर्नेहरू अलि कम जिम्मेवार छन्, त्यति पनि पूरा नगर्ने बढी जिम्मेवार छन्, फरक त्यत्ति हो।

हामी सबैले आफू, आफ्नो पेसा र परिवारबाहेक अरूको वास्ता गरेकैछैनौ। बेइमान र भ्रष्टहरूको त कुरै छोडिदिउँ। इमानदार भए पनि आर्थिकरूपमा विपन्नको पनि कुरा छोडिदिउँ। हामीले कतिजना त्यस्ता व्यक्ति देखेका छौँ, जो इमानदार, समाज र देशको रूपान्तरणकाबारे चिन्तित, आर्थिकरूपमा सम्पन्न छन् अनि साथसाथै आफ्नै खल्ती खोलेर केही न केही सकारात्मक काम पनि गर्छन्? अधिकांश स्थितिमा बैठक, गोष्ठी, कार्यशालाआदिमा आदर्शको भाषण दिन मान्छे आउँछन् तर कुनै राम्रो कामका लागि अलिकति पैसा झिकौँ न त भन्यो भने 'ओहो! म त त्यस्तो पैसा दिनसक्ने स्थितिको मान्छे होइन नि हो' भनेर पन्छिन्छन्। अधिकांश स्थितिमा त्यो आर्थिक विपन्नता नभएर हाम्रो घर, परिवार, समाजले रोपिदिएको मानसिक र भावनात्मक दरिद्रताको परिणाम हो। सामाज रूपान्तरणका सबभन्दा ठूला कुरा गर्ने एउटा वर्ग राजनीतिज्ञको हो। हाम्रा कतिपय राजनीतिज्ञ धेरै धनी पनि छन्। तर तीमध्ये कति जनाले राजनीतिक घेराबाहिर गएर समाज रूपान्तरणका लागि साँच्चिकै र ठोसरूपमा सघाएका होलान्? तिनले त्यस्तो गर्दैनन्। किनभने आफ्नो पेसामार्फत् समाज रूपान्तरणका कुरा र काम गर्न सजिलो छ तर आफैँ, आफ्नै स्रोत प्रयोग गरेर उदाहरण भएर प्रस्तुत हुन धेरै गाह्रो छ।

व्यक्ति, व्यक्तिले पेसागत रूपमा मात्र होइन, वैयक्तिक तहमै समाज रूपान्तरणका लागि योगदान गर्न नचाँहदासम्म समाज न्यायपूर्ण हुनै सक्तैन। त्यसका लागि व्यक्तिले आफ्नो भाग काटेर दिन जान्नुपर्छ। हुनेले वर्षमा करोडौं काट्लान्, अलि कम हुनेले लाखौं काट्लान्, त्यो भन्दा पनि कम हुनेले हजारौं, सयौं काट्लान्, तर सबैभित्र मैले अरूका लागि केही गर्नैपर्छ भन्ने भावनाको विकास हुनैपर्छ। धर्मकर्ममा विश्वास राख्ने, अटुटरूपमा पूजाआजा गर्ने अर्बपति, करोडपतिमा त त्यस्तो भावना झन् बढी हुनुपर्ने हो। किनभने हाम्रो शास्त्रले नै लाभांशको दश प्रतिशत सत्कार्यमा खर्चगर्नु भन्छ। सत्कार्यसम्बन्धी त्यस्तो निर्देशलाई बेवास्ता गर्ने हो भने साँझबिहान मन्त्र जप्नुको के अर्थ? तिनलाई त पूजाबाट धर्म हुने होइन पाप लाग्छ।

संसारकै उदाहरण हेर्ने हो भने पनि जुन समाजमा हुनेले नहुनेलाई सक्तो बढी दिएका छन्, तिनै समाज सबैभन्दा सुसंस्कृत छन्। त्यहाँ लगभग सधैँ शान्ति, स्थिरता, समृद्धि र खुसी व्याप्त छ। लोककल्याणकारी राज्य व्यबस्था भएका नर्वे, स्विडेन, फिनल्यान्ड, डेनमार्कजस्ता देश त्यस्तो समाजका उदाहरण हुन्। त्यहाँ हुनेहरू साठी प्रतिशतसम्म सरकारलाई कर तिर्छन्, जसमध्ये ठूलो अंश नहुनेको हितमा खर्च हुन्छ। अन्य समाजवादी पश्चीमी मुलुकमा पनि हुनेबाट सरकारले ठूलो रकम कर लिन्छ। त्यति कर तिरेर पनि सबैजसो सक्षम व्यक्तिले कुनै न कुनै र कतिपय स्थितिमा त कयौं लोककल्याणकारी कार्यमा नियमित योगदान गरिरहेका हुन्छन्।

तसर्थ यो समाज, यो देश बनाउने हो भने व्यक्ति, व्यक्तिले पेसागत सीमाबाहिर गएर समाजलाई थोरै नै किन नहोस् दिनैपर्छ। त्यसकालागि व्यक्ति र समाजप्रतिको हाम्रो धारणामा आधारभूतरूपमै परिवर्तन ल्याउनुपर्ने देखिन्छ। सुरु यही दसैंबाटै किन नगर्ने? दसंैंमा हुनेहरू अधिकांशले जुवा, रक्सी, भोजभतेर र मस्तीमा धेरै पैसा उडाउने छन्। के त्यसको सानो अंश तिनले दसैंलाई दशा संझिन बाध्य गरिब र असहायलाई छुट्ट्याउन सक्लान्? के तिनले कुनै बालगृह या बृद्धाश्रममा गएर मासुभात खुवाउन सक्लान्? के तिनले कुनै या केही गरिब परिवारलाई 'ल तपाईँ पनि रमाइलोसँग दसैं मनाउनोस् है!' भनेर दुईचार हजार रुपैयाँ दिन सक्लान्? केही गर्नसक्नेको मनमा त्यस किसिमको भावना आइदिने हो भने, अनुमान गरौँ यस दसैंले कति परिवारको मुहारमा खुसी ल्याउँथ्यो होला। दसैंको बेलामा त्यसभन्दा ठूलो धर्म के हुन्छ होला? दुर्गा भवानीको आराधना गर्दैमा धर्म हुने होइन। त्यसैले, यो दसैँदेखि हामीले दिने आशीर्वादलाई पनि व्यक्तिमुखीबाट समाजमुखी बनाउने हो कि? र, आफ्ना प्रियजनलाई आशीर्वाद दिँदा पवित्रदेवीले झैँ नबिर्सीकन भन्ने हो कि? 'खान पुगोस्, दिन पुगोस्'!
अर्को समाचार
परोपकार प्रयोग
३१ वैशाख २०६९
•
९ मिनेट पाठ
परोपकार प्रयोग
दिपेश घिमिरे— म्याक्सिम गोर्कीको आमा पढेर संसारमा कयौं व्यक्ति क्रान्तिकारी भएका छन्। नेपालमै पनि मोदनाथ प्रश्रितको साहित्य पढेर धेरै नेपाली क्रान्तिमा लागे। साहित्यले मान्छेलाई क्रान्तिकारी बनाएका यस्ता धेरै उदाहरण छन्। तर 'खान पुगोस् दिन पुगोस्' स्तम्भ निबन्ध संग्रहले मान्छेलाई क्रान्तिकारी होइन कल्याणकारी बन्न प्रेरित गरेको छ। यही पुस्तक पढेरै सुडानस्थित संयुक्त राष्ट्रसंघीय मिसनमा कार्यरत रवीन्द्र बस्नेतले ५ लाख ८० हजार रुपैयाँ मानवीय कल्याणको क्षेत्रमा काम गर्नका लागि खर्चने भएका छन्।
मिश्रले २०६५ फागुनदेखि २०६८ कात्तिकसम्म नागरिक दैनिक र कान्तिपुर दैनिकमा लेखेका स्तम्भ निबन्धको सँगालो हो यो। मिश्रले परम्परागत रूपमा अभ्यास गरिँदै आएको पत्रकारिताले सार्वजनिक हितको मूल भाव सम्बोधन गर्न नसक्ने रहेछ भन्ने निर्क्योल निकाल्दै परोपकारी पत्रकारिताको नयाँ अवधारणा अगाडि सारेका छन्। त्यो पत्रकारिता क्षेत्रमा नयाँ प्रयोग हो। यसैमा केन्द्रित भएर उनले 'नितान्त व्यक्तिगत' स्तम्भ लेखिरहेका छन्। नितान्त व्यक्तिगतमा स्तम्भकारिता कम र निबन्ध लेखन बढी छ। त्यही कम स्तम्भ र बढी निबन्धको सँगालो हो यो पुस्तक।
संग्रहमा दुई खण्ड छन्। पहिलो खण्डमा परोपकार सम्बन्धी निबन्ध छन् भने दोस्रोमा राजनीति सम्बन्धी।




पाँच रुपैयाँ दिनुस् न शीर्षकको लेखमार्फत उनले हरेक नेपालीको मनमा कल्याणकारी भावना बढाएका छन्। थोपा-थोपा मिलेर सागर बन्छ भन्ने उक्तिलाई मिश्रले यसै लेखमार्फत परीक्षण गरेका थिए सायद। मिश्रको परीक्षणमा यो उक्ति सही सावित भयो। राष्ट्रपति डा.रामवरण यादवदेखि विभिन्न सञ्चार माध्यम अनि दुर्गमका नेपालीलाई समेत यो लेखले छोयो र पाँच रुपैयाँ अभियान चल्यो। विभिन्न सञ्चार माध्यमले रकम संकलन गर्ने अभियानै चलाए। र, छोटो अवधिमै यस अभियानले उपलब्धि हासिल गर्‍यो।

मिश्रले उद्योगी व्यापारीलाई खुल्ला पत्र, मासुभात र भोका पेट, अर्बपतिले आँसु झार्दा, प्रचार नखोजिएको एक करोड दान, सिटी सेन्टर कमलपोखरी जस्ता निबन्धमार्फत कर्पोरेट सोसल रेस्पन्सिबिलिटीको सवाल उठाएका छन्। नेपाली समाज अरूलाई उपदेश दिने तर आफू माखो नमार्ने भनेझैं छ। मिश्रले सुरु गरेको हेल्प नेपाल नेटवर्क अभियानले कल्याणकारी काममा उनको संलग्नता, त्याग र समर्पणको प्रमाणित गरेको छ। उनको यस अभियानमार्फत अहिले देशभर एक सय परियोजना सम्पन्न भइसकेका छन्। यस सन्दर्भमा उनले कर्पोरेट सोसल रेस्पन्सिबिलिटीको सवाल उठाउँदा त्यसले समाजमा निकै सकारात्मक प्रभाव पारेको पाइन्छ। यसकै कारण सायद, बिना हिच्किचाहट सिद्धार्थ राणाले एक करोड रुपैयाँ चन्दा दिए।
मिश्रको (अ)बौद्धिक बेइमानी निबन्ध निकै विवादित बनेको थियो। उद्योगी कर्ण शाक्य डा.नर्मन भिनसेन्ट पिलले लेखेको द पावर अफ पजटिभ थिङ्किङबाट प्रभावित भएर सोच लेखेका र त्यसको जस डा.पिललाई नदिएको मिश्रको दरिर छ। यसैगरी युवा नेता गगन थापाले सुरु गर्न लागेको भाइबहिनी अभियान पनि हेल्प नेपाल नेटवर्कको अवधारणा भएको र त्यसको जस नदिएको कुरा उठाएका छन्। यो लेख निकै विवादमा आयो। उद्योगी शाक्य र युवा नेता थापाले सञ्चार माध्यममै यसको जवाफ दिएका थिए। मिश्रले यस संग्रहमा दुवैको जवाफ राखेका छन्। यसमा मिश्रले माफी मागेर बदलाको भावनाबाट पर हटेका छन्।

(अ)बौद्धिक बेइमानीपछि पनि समाजका विकृति तथा विसंगतिमाथि तिखो प्रहार गर्न मिश्रलाई रोकेन। यसपछि पनि उनले भँगेरे मुटु, आपत्तिजनक पत्रकारिता, कोइरालालाई यसरी पनि हेर्ने कि जस्ता लेखमार्फत समाजलाई झक्झक्याएका छन्।

जी भन्दा झरेको आँसु शीर्षक निबन्ध मार्मिक छ। अर्बपतिले आँसु झार्दा, दिलशोभाको दिल, यो देशमा यस्ता पनि मान्छे छन्, यस्तो डाक्टर पो डाक्टर निबन्ध उत्प्रेरक र उत्साहजनक छन्। शिवानी र इला प्रेरणा बनुन् शीर्षक लेखले निजामती सेवामा लाग्न चाहनेलाई उत्साह दिन्छ। पूर्णमानका आँखा निबन्धले सबै विद्यार्थीलाई आफ्ना पूर्णमान जस्तै शिक्षकबारे एक पटक सोच्न बाध्य पार्छ, जसले बिनास्वार्थ शिक्षामा जीवन बिताएका छन्। साम्यवादी र पुँजीपतिका कुरा शीर्षक निबन्ध समसामयिक र अर्थपूर्ण छ।

परम्परा सुधार्ने काइदा र मृत्युइच्छा मार्फत मिश्रले लामो समयदेखि मनाउँदै आएको संस्कार तथा चाडबाडका निश्चित सवाल सुधार्न सुझाउँछन्। यसैगरी उनको मृत्युइच्छा पढ्दा जीवनबारे सोच्न बाध्य पार्छ।

स्तम्भ निबन्धमा विविधता भए पनि यी लेख पढिसकेका पाठकका लागि भने यो पुस्तक पढ्न झिझो लाग्न सक्छ। मिश्रले बीचमा भ्रष्टाचारीलाई किरा परोस् अभियान सुरु गरेका थिए। उनले लेख्ने गरेको नितान्त व्यक्तिगत स्तम्भको केही समय यससम्बन्धी सामग्री छापिएका थिए। तर उनले यस संग्रहमा त्यससम्बन्धी कुनै लेख राखेका छैनन्। किन? पाठकले जवाफ पाउँदैन।
साम्यवादी र पुँजीपतिका कुरा लेखमा उपेन्द्र महतोलाई सर्लाहीको एउटा गाउँको सामान्य परिवारबाट उठेर बहुराष्ट्रिय अर्बपति बनेका भनी लेखेका छन्। जबकि महतो सर्लाहीका नभई सिरहाका हुन्। तथ्यमै यसरी फरक पर्दा दातमा ढुंगा लागेझैं हुन्छ। यसैगरी नितान्त सामाजिक र कल्याणको विषय उठाइरहेका मिश्रको स्तम्भको नाम किन नितान्त व्यक्तिगत भयो? यो अलि अमिल्दोझैं लाग्छ।

५३ निबन्धमध्ये १० वटा मात्र राजनीतिसम्बद्ध छन्। जति लेखे पनि नसुध्रिने राजनीतिमा शब्द खर्चिनुभन्दा संवेदनशील सामाजिक कल्याणका क्षेत्रमा मिश्रको सक्रियता निकै उत्साहप्रद लाग्छ।

खान पुगोस् दिन पुगोस्
विधाः स्तम्भ निबन्ध संग्रह
लेखकः रवीन्द्र मिश्र
प्रकाशकः नेपालय
पृष्ठः २९३
मूल्यः रू.३००/-
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस