लोकतन्त्रको लडाइँ
०५ वैशाख २०७६
•
१६ मिनेट पाठ
लोकतन्त्रको लडाइँ
हामीले लोकतन्त्रकै लागि भनेर २००७ सालको परिवर्तन ल्यायौँ। त्यसपछि पनि जति आन्दोलन भए, ती सबैमा हामी लोकतन्त्रकै निम्ति सडकमा उत्रियौँ। आखिर लोकतन्त्रकै लागि हामी किन यसरी बारम्बार लड्नुपरेको ? एकपटक लोकतन्त्र आइसकेपछि त पटकपटक लड्नुनपर्ने हो ! संसारमा लोकतन्त्रको राम्रो जग बसेका मुलुकहरूलाई हेर्ने हो भने यसरी सधैँ संघर्ष गरिरहनुपर्ने देखिँदैन। अमेरिका, बेलायत, युरोप, अस्टे«यलया, भारत इत्यादी जो लोकतन्त्रका लागि उदाहरणीय देश हुन् तिनमा हामीकहाँ जस्तो स्थिति देखिन्न। तर विश्वमा हाम्रै जस्तो पटकपटक लोकतन्त्र मासिने मुलुक पनि कम छैनन्। हाम्रै निकटका छिमेकी, अफ्रिका, दक्षिण अमेरिकामा पनि प्रशस्तै यस्ता उदाहरण छन्। प्रश्न उठ्छ– किन कुनै देशमा एकपटक प्राप्त भइसकेको लोकतन्त्र फेरि गुम्छ ?




लोकतन्त्र–लोकतन्त्र त हामी भन्छौँ तर यसको सही अर्थ बुझेका छौँ त ? वास्तवमा लोकतन्त्र भनेको आफ्नो हक प्रयोग गर्दा अरूको अधिकार हनन भएको छ कि छैन त्यो विचार गर्नुपर्छ। आफ्नोभन्दा समाजको हित हेर्नुपर्छ। अनि मात्र लोकतन्त्रको मर्म बुझेको ठहरिन्छ। लोकतन्त्र त्यस्तो व्यवस्था हो जहाँ एक नागरिकले अर्कोको हकहित सुरक्षित गर्छ। यो कुरा बच्चा–बच्चामा बोध हुने गरेर अगाडी बढ्नुपर्छ। यस्ता कुरा स्कुलको पाठ्यक्रममै राखिनुपर्छ। अरूको उपकार गर्नु नै पुण्य हो भने पीडा दिनु पाप हो भन्ने यो एउटा शिक्षा मात्र पनि स्कुलदेखि नै दिन सक्यौँ भने त्यही बच्चा पछि गएर एउटा असल नागरिक बन्छ। यही मार्गदर्शन र शिक्षा अभावमा हामीले जनस्तरमा लोकतन्त्र गुमाउनुपरेको छ। किनकि जब हामी एकअर्काका मित्र होइन, शत्रु बन्छौँ र आपसमा झैझगडा गर्छाैँ तब त्यसको फाइदा अलोकतान्त्रिक शक्तिहरूले उठाउँछन्। र,  कति दुःख गरेर प्राप्त गरिसकेको अधिकार फेरी गुमाउन पुग्छौँ।

हामीमाथि राज्य गर्नेहरूले लोकतन्त्रबारे राम्रै अध्ययन गरुन्। त्यसको मर्मबारे राम्ररी चिन्तन गरुन्।

लोकतन्त्ररूपी तराजुको एकातिर जनताको मूलतः सुरक्षित हुनुपर्ने गाँस, बास, कपास, शिक्षा, रोजगारीसहित वाक् स्वतन्त्रता, निष्पक्ष न्याय प्रणाली र व्यक्तिगत सुरक्षाको अधिकार हुनुपर्छ भने अर्कातिर प्रत्येक नागरिकले निर्वाह गर्नुपर्ने आफ्ना कर्तव्य र दायित्व। हामीले आफ्ना कर्तव्य र दायित्व भुल्यौँ भने निश्चित छ, हाम्रा सारा हकअधिकार पनि हावाले उडाएर लानेछन्। विडम्बना, हामी नागरिक र सरकारले यो ठूलो गल्ती पटकपटक दोहो¥याउँदै गयौँ जसका कारण आइसकेको लोकतन्त्र पटकपटक गुमायौँ। हाम्रा सकारहरूले अघि उल्लिखित तराजुको पहिलो पाटो पर्याप्त रूपमा कार्यान्वयन गराउन सकेनन् भने नागरिकले दोस्रो पाटोप्रति ध्यान पु¥याउन सकेनन्। हरेक ‘कू’ को कारक यही हुन्।  

हामी आफैँले आफैँलाई प्रश्न गरौँ– लोकतन्त्र, समाज र राष्ट्रहित तथा राजनीतिक स्थिरताका लागि हामी जति अनुशासित हुनुपर्ने हो त्यति छौँ ? देश निर्माणका लागि जुन कर्तव्य हो त्यो हामीले पालना ग¥यौँ ? एकपटक हाम्रा अनुशासनहीन केही कर्म मात्र मनन गरौँ त ! राजधानीमा फोहोरमैला जम्मा भएर दुर्गन्ध हुन्छ तर हामी सबै अरूका आँखा छली–छली आफ्ना घरका फोहोर–मैला फुत्त सडकमा फ्याँक्छौँ। जति सकिन्छ त्यति विद्युत् चोरी गर्छाैँ अनि बिजुलीमा केही गडबड हुनासाथ विद्युत् प्राधिकरणलाई सराप्छौँ। हामी कोही पनि खानेपानीका पाइपमा पम्प लगाएर पानी आपूmतिर तान्न हिचकिचाउँदैनौँ। तर त्यसो गर्दा अलि पर घर भएकाहरूलाई पानी पुग्दैन र पम्प नहुनेका गाग्रा त रित्तै हुन्छन् भनेर सोच्दैनौँ। हो, पानी कम छ तर समान बाँडेर पिए समस्या कम हुन्छ। ढुंगेधारोमा पानी सुक्छ, वरपर ठूल्ठूला भवन बनाउनाले जनताले पिउने पानी पनि पाउँदैनन् तर हामी एक इन्च जमिन पनि नछाडी भव्य महल बनाउँदै जान्छौँ। समाजको हित हामीले कहाँ हे¥यौँ ? हामी भ्रष्टाचार गछौँ, आफ्नै नागरिकले घुस नदिएसम्म दिनु दुःख दिन्छौँ। तर जनताका काम नहुनुमा उनीहरूलाई दोष दिन्छौँ– कागजात नै पुगेन भनेर। हामी गाडीमा जथाभाबी भाडा लिन्छौँ, स्कुलमा मनपरी भर्ना शुल्क असुल्छौँ, यो अनुचित हो भनेर कारबाही अगाडि बढाउँदा हामी बन्द र हड्तालको धम्की दिन्छौँ अर्थात् गर्छाैँ।

घुस दिँदै र लिँदै अनि कमिसनको खेल खेल्दै हामी जंगल, नदीनालाको बलात्कार गर्छौँ र राष्ट्र नष्ट पार्ने काम गर्छौँ, अनि कारबाहीको चेतावनी आएपछि देश विकासमा रोक लगाइयो भन्छौँ। हामी हरेक विकास निर्माणमा कमिसन, घुस नलिई काम गर्दैनौँ।  अनेक बहाना बनाएर ठेकेदारले कामको समय लम्ब्याउँछ र थप रकम माग्छ अनि नदिए सुस्त बस्छ तर उसबाट घुस लिने हामी मौन हुन्छौँ, कारबाही गर्न सक्दैनौँ चाहे जनताले जति दुःख पाउन्। लिएको कमिसन पचाउन मुकदर्शक बन्छौँ। अनगिन्ती छन्, यस्ता तŒवहरू जसले लोकतन्त्र कमजोर बनाइरहेका छन्। हामी लोकतन्त्र डुब्यो भनेर रुन्छौँ तर यस्ता अवाञ्छित क्रियाकलाप रोक्न तथा दोषीलाई कारबाही गर्न तत्परता देखाउँदैनौँ। आफ्नो समाजमा अनियमित कार्य गर्नेहरूलाई हामी सामाजिक बहिष्कार गर्न सक्दैनौैैँ बरु पाए आफैँ त्यसरी मालामाल हुनेतिर लाग्छौँ। हाम्रो समाज हेर्दा यस्तो लाग्छ कि यो लोकतन्त्र भोग गर्न सक्नेगरी हुर्किसकेकै छैन। लोकतान्त्रिक विधि सञ्चालन गर्ने गुण र क्षमता हामीमा देखिएन। यो स्थिति यथाशीघ्र सच्चिनुपर्छ नत्र अनिष्ट हुन्छ।

स्मरण रहोस्, हामी जति स्वतन्त्रता चाहन्छौँ त्यति नै मात्रामा आपूmमाथि नियन्त्रण राखे मात्रै त्यो प्राप्त गर्न अधिकार हामीलाई हुन्छ। समाज र राष्ट्रमा स्वतन्त्रता त्यहाँ हुन्छ जहाँ हरेक व्यक्ति नियन्त्रित र अनुशासित हुन्छन्। नत्र त स्वतन्त्रता छाडा हुन्छ। लोकतन्त्र भनेको लोक (जनता) भित्रैबाट राज्य सञ्चालन गर्ने व्यवस्था हो। यसैकारण हाम्रो समाजमा जे–जे कमी–कमजोरी भएका व्यक्ति छन्, तिनै मध्येबाट हामी राज्य सञ्चालन गर्ने प्रतिनिधि पठाउन बाध्य छौँ। अनि हामी जसलाई चुनेर नेता बनाउँछौँ, उसमा ती खराबी नहुने कुरै भएन। हामी जस्ता छौँ, नेता पनि त्यस्तै पाउने हौँ, यो कटुसत्य हो। त्यसैले पटकपटक लोकतन्त्र गुमायौँ भनेर नेताहरूलाई मात्र सत्तोसराप गरेर हामी नागरिक पनि पानीमाथिको आभानो हुन पाउँदैनौँ। अर्काे कुरा, सत्तामा पुग्नासाथ नेताहरूका भ्रष्ट प्रवृत्ति झनै बढ्नु पनि बारम्बार लोकतन्त्र गुम्नुको ठूलो कारण बनेको छ। यसबाट हामी कहिले माथि उठ्ने ?

पहिलो कुरा त लोकतन्त्रमा दलहरू नै सर्वेसर्वा हुन्। दल नभई लोकतन्त्र हुँदैन। पञ्चायतकालमा दलविहीन प्रजातन्त्र भनियो, त्यो धेरै टिकेन। हामीले भोगेकै कुरा हो। यसकारण लोकतन्त्र बचाउन तथा यसलाई बलियो र दीगो बनाउन दलहरू नै बलियो हुन आवश्यक छ। दलहरू नै स्वच्छ र लोकतान्त्रिक बन्नुपर्छ। तिनमा भ्रष्टाचार, नातावाद, कृपावाद, काखा र पाखाजस्ता दुर्गुणहरू हुनु हुँदैन। अनुशासनहीन र सिद्धान्तविहीन बन्नु हँुदैन। विडम्बना, अहिले सबै दलमा यी कमि–कमजोरी कुनै न कुनै रूप र मात्रामा रहेको देखिन्छ। लोकतन्त्र बचाइराख्न दलहरू नै स्वच्छ हुनुपर्छ भन्नुको अर्थ हो– तिनका नेता निष्कलंक हुनुपर्छ। तिनमा उच्च अनुशासन, नैतिकता सिद्धान्त एवं राष्ट्रिय भावना हुनुपर्छ। आफूलाई जनताको सेवक ठान्नुपर्छ (भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले त आपूmलाई ‘चौकिदार’ नै भनेका छन्)।

लोकतन्त्रको माग भनेको व्याप्त दुर्गुणबाट अलग्गिएका, सप्रिएका दलका नेता नै हुन्। सर्वप्रथम आफैँ सुधारिएर जनता सुधार्नसक्ने, समाज स्वच्छ पार्नसक्ने गुण भएका नेता लोकतन्त्रका लागि अनिवार्य छ। उचित नैतिक शिक्षा दिनसक्ने व्यक्ति हाम्रो मुलुकमा नभएका हैनन् तर तिनबाट ज्ञान लिन कुनै राजनीतिज्ञ गएको देखिएको छैन। पौराणिक कालका राजाहरू ठूल्ठूला ऋषिमुनिका आश्रममै पुगेर शिक्षा र सल्लाह लिन्थे। पछिल्लै समय पनि राजा महेन्द्रले श्री गलेश्वर बाबासँग तथा राजा वीरेन्द्रले खप्तड स्वामीसित परामर्श गरेको हामीले देखेका हौँ। आज आश्रममै नगए पनि समाजमा भएका त्यस्तै शुद्ध व्यक्तिहरूसँग सल्लाह लिन सकिन्छ। नेताको अर्को गुण भनेको जनताका कुरा सुन्नसक्नु हो।

आश्चर्यको कुरा के छ भने सरकार हाँक्नेहरूले आफ्नो योग्यता, क्षमताको कुनै परीक्षा दिनु नपर्ने !  चुनाव जितेर आउँछन् र अध्ययन नै नगरेको विषयको मन्त्रालय सम्हाल्न पुग्छन्। कस्तो अचम्मको स्थिति छ भने हाम्रो संसदीय प्रधानमन्त्रीय प्रणालीमा प्रधानमन्त्रीले विषयविज्ञ व्यक्तिलाई कुनै मन्त्रालयको जिम्मा दिन पाउँदैनन्, सक्दैनन्, किनकि उनले चुनिएर आएका सांसदमध्येबाटै मन्त्री छान्नुपर्छ। अनि जति चाहे पनि देश कसरी सही दिशामा जाओस् ! कसरी मन्त्रालयका निर्णयहरू ठीक होउन् ! सधैँ सबै मन्त्रालयमा गलत निर्णय नै हुन्छन् भन्न खोजिएको हैन, कतिपय मन्त्रीले धेरै राम्रा काम पनि गरेका छन्।

राष्ट्रपतीय प्रणालीमा भए यो कमजोरी हुने थिएन। जुन व्यवस्थामा राष्ट्रपतिले देशभरबाट विषयविज्ञ चुन्न र तिनलाई विषयअनुसारका मन्त्रालय सुम्पन पाउँछन्,  जस्तो अमेरिकामा छ। हाम्रो देशको संविधानले यो राज्य प्रणाली आत्मसात् गर्न सकेन हामी केहीले सडकबाट जति दबाब दिए पनि। यो संविधानको कमजोरीबाट हामी माथि उठ्न सक्यौँ भने हाम्रो प्रगति द्रुत गतिमा हुन्थ्यो जुन परिवर्तन अहिलेको दुई तिहाइको संसदीय शक्तिले चाह्यो भने सक्छ तर राष्ट्रपतीय प्रणाली भिœयाउने हिम्मत अहिलेका कुन नेतामा होला र !

अन्त्यमा भन्नैपर्छ– हामीमाथि राज्य गर्नेहरूले लोकतन्त्रबारे राम्रै अध्ययन गरुन्। त्यसको मर्मबारे राम्ररी चिन्तन गरुन्। निर्वाचन जित्दैमा कुनै व्यक्तिले लोकतन्त्र बुझेको छ र दायित्व बोध गरेको छ भन्न सकिन्न। सिक्ने अवसर दिनकै लागि प्रधानमन्त्रीले नबुझेका नेतालाई कुनै मन्त्रालय सुम्पिनु हुँदैन। प्रधानमन्त्री दलविशेषको नभई सिंगो राष्ट्रकै बन्न सक्नुपर्छ। राज्य सञ्चालन गर्दा कसैलाई काखा, कसैलाई पाखा गर्नुहुन्न। जनताले पनि लोकतान्त्रिक व्यवस्थाप्रति प्रतिवद्ध भई अनुशासनमा रहेर काम, व्यवहार गर्नुपर्छ। अनि मात्र समृद्ध नेपाल, सुखी नेपालीको यात्रामा अघि बढ्न सकौँला, लोकतन्त्र फेरि गुम्ने स्थिति नआउला।
अर्को समाचार
नेपालमा लोकतन्त्रको भविष्य
२४ माघ २०६९
•
१६ मिनेट पाठ
नेपालमा लोकतन्त्रको भविष्य
यतिखेर नेपालमा लोकतन्त्रको भविष्यलाई लिएर विभिन्न शंकाहरु उब्जिएका छन्। केही दिनअघि एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले प्रतिपक्षी दलहरुलाई लक्षित गर्दै तुरुन्त सत्तारुढ गठबन्धनको अनुकूलको सम्झौता नगरे उनीहरुविरुद्ध फरक ढंगले लडाइँ लड्ने धम्की दिए। यो धम्की लोकतन्त्रको विरुद्ध भएको देखिन्छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले पनि माओवादीविरुद्धमा विद्रोह गर्ने धम्की दिए। विद्रोहको स्वरूपबारे नबताए पनि उनले लोकतान्त्रिक तवरबाट मुकाविला गर्ने नभनेकोचाहिँ प्रष्ट हुन्छ। सातौं महाधिवेशनपछि पहिलो पटक बसेको नेकपा माओवादीको केन्द्रीय कमिटीले 'शहरी जनविद्रोह' को तयारी गर्ने निर्णय गरेको छ। निरंकुश राजतन्त्रको पक्षपाती राप्रपा नेपालको हिन्दु राष्ट्र हुनुपर्ने मागसहितको रथारोहण भर्खरै सकियो। लोकतन्त्र विरोधी यस्ता अभिव्यक्ति र घटनाक्रम हेर्दा नेपालमा लोकतन्त्रको भविष्यमाथि उब्जिएका शंका कतिपय अवस्थामा ठिकै जस्ता लाग्छन्। तर, के यस्ता अभिव्यक्ति र घटनाक्रमले नेपालमा लोकतन्त्र गुम्ने र निरंकुशताको उदय हुने सम्भावना छ? वा केही पार्टी तथा नेताहरुले चाहँदैमा लोकतन्त्र गुम्न सक्छ या सक्दैन? यो आमचासोको विषय बनेको छ।




लोकतन्त्रको भविष्यबारे विहंगम दृष्टिकोणबाट विश्लेषण गर्दा यस्ता अभिव्यक्ति तथा केही घटनाक्रमले लोकतन्त्रको भविष्यमाथि ठूलो प्रभाव पार्न सक्दैन। लोकतन्त्रको स्थापना तथा स्थायित्वबारे अध्ययन गरेका विभिन्न विद्वान्ले कर्ताका यस्ता भनाई वा घटनाक्रमले भन्दा पनि समाजमा निर्माण हुने विशिष्ट कारणले नै प्रभाव पार्ने कुरा उल्लेख गरेका छन्। समाजशास्त्री बेरिङटन मुरले सन् १९६६ मा निरंकुशता र लोकतन्त्रको सामाजिक उत्पत्ति नामक पुस्तकमा लोकतन्त्र उदय हुने विभिन्न तत्त्वहरुबारे उल्लेख गरेका छन्। उनले शहरी क्षेत्रमा बसोबास गर्ने र व्यापार व्यवसायमा आबद्ध हुने बलिया बुर्जुवा वर्ग सदैव लोकतन्त्रको पक्षमा रहने उल्लेख गरेका छन्। यसैगरी, किसान वर्ग र शहरी बुर्जुवाहरुको बलियो सहकार्यले लोकतन्त्रलाई दिगो बनाउने उनको अध्ययनको निष्कर्ष छ।
अर्का समाजशास्त्री जेम्स मेहनीले सेना र जमिनदारहरु कमजोर रहेको स्थानमा लोकतन्त्र स्थापना हुने उल्लेख गरेका छन्। उनले सेना र जमिनदारहरु कमजोर रहेसम्म लोकत्ान्त्रको भविष्य सुरक्षित रहने निष्कर्ष प्रस्तुत गरेका छन्। मेहनीले पुँजीवादको विकासतर्फ अगाडि बढेको मुलुकमा लोकतन्त्र संस्थागत हुने विश्लेषण गरेका छन्। यसैगरी जेम्स रोविन्सन र ड्यारोन एसेमोग्लुले शिक्षा र लोकतन्त्रबीचमा अन्तरसम्बन्ध हुने उल्लेख गर्दै शिक्षाको अवस्था राम्रो भएको मुलुकमा लोकतन्त्र दिगो हुने बताएका छन्। साथै अर्थतन्त्रको संरचनामा आउने आधुनिक परिवर्तनले लोकतन्त्रलाई संस्थागत गर्ने उनीहरुको तर्क छ। लोकतन्त्रबारे जति पनि विद्वान्ले अध्ययन/अनुसन्धान गरेका छन्, तिनीहरुले राजनीतिक दल तथा तिनीहरुको नेताभन्दा पनि समाजका अन्य पक्ष जस्तै, बुर्जुवा वर्गको उदय, मध्यम वर्गको वृद्धि, आर्थिक तथा शैक्षिक प्रगति, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति तथा पुँजीवादको विस्तारीकरणले लोकतन्त्रको भविष्य निर्धारण गर्ने उल्लेख गरेका छन्।
यस्ता विद्वान्हरुले प्रतिपादन गरेको दृष्टिकोणको आधारमा नेपालको लोकतन्त्रको भविष्य विश्लेषण गर्ने हो भने केही नेता तथा राजनीतिक दलका धम्कीहरुसँग खासै डराउनुपर्ने अवस्था छैन। समाजशास्त्री मुरले भनेजस्तै नेपालमा पछिल्लो समय शहरी मध्यम वर्ग निकै वृद्धि भएको छ। सन् २००१ केा जनगणनाअनुसार ४२ लाख ५३ हजार २ सय २० परिवार शहरमा बसोबास गर्थे भने सन् २०११ को जनगणनाले यो संख्या बढेर ५४ लाख २७ हजार ३ सय पुगेको देखाएको छ। यी परिवारका सदस्यहरु नेकपा माओवादीले भनेजस्तो शहरी विद्रोहमा उत्रनेभन्दा लोकतन्त्रको छहारीमा आफ्नो उन्नतिमा लाग्नेछन्। यस्ता शहरी मध्यमवर्गको लोकतन्त्रप्रतिको झुकाव र प्रतिबद्धता रहेसम्म नेपालमा लोकतन्त्रको भविष्य सुन्दर देखिन्छ।
पुँजीवादको विकास लोकतन्त्रका लागि प्राण हो। नेपालमा पछिल्लो समय पुँजीवादले राम्रैसँग जरो गाड्न थालेको छ। के गाउँ के शहर हरेक क्षेत्रमा पुँजीवादको प्रभाव फैलँदो छ। नेपाली युवा जति धेरै आम्दानी भए पनि कृषिमा रमाउन छाडेका छन्। थोरै आम्दानी किन नहोस् ऊ जागिर वा व्यापार खोज्न थालेको छ। वैदेशिक रोजगारीमा जान रमाउँछ। युवाहरु पुराना मान्यता, विचार, रीतिस्थिति छाड्दै पुँजीवादी र व्यक्तिवादी दर्शनमा रमाइरहेका छन्। लोकतन्त्रको अर्को प्राणको रूपमा लिइने शिक्षाको विकास नेपालमा निकै भएको छ। विशेषगरी २०२८ सालमा आएको नयाँ शिक्षा नीतिको कारण नेपालमा शिक्षाको संस्थागत विकास भएको छ। यसैको जगमा टेकेर विकास भएको शिक्षाले अहिले देशभरका ९५ प्रतिशतभन्दा बढी बालबालिका आधाघण्टा भन्दा कम हिँडेर विद्यालय पुग्छन्। शहरदेखि गाउँसम्म जहाँसुकै निजी विद्यालय खुलेका छन्। नयाँ शिक्षा प्रणालीपछिको शिक्षा लिएर हुर्किएको दुई पुस्ताले राज्य संरचनालाई निरंकुश नभई लोकतान्त्रिक बन्न दबाब दियो। पञ्चायती र तत्कालीन राजा ज्ञानेन्द्रको निरंकुशतालाई यी शिक्षित नेपाली युवाले स्वीकारेनन् र आन्दोलन गरेर लोकतन्त्र पुनर्स्थापना गराए। यिनै शिक्षित युवाहरुले नेपालको लोकतन्त्रलाई संस्थागत र सुरक्षित गराउने निश्चित छ।
नेपालको अर्थतन्त्रको आधुनिकीकरणले लोकतन्त्रलाई मजबुद बनाउँदै लगेको छ। करिब ३० वर्षअघि नेपालमा श्रमको काम गर्ने मानिस ९० प्रतिशतभन्दा बढी थिए। अहिले त्यो करिब ६५ प्रतिशतमा झरेको विभिन्न तथ्यांकले देखाएका छन्। सन् १९७० मा कुल गार्हस्थ उत्पादनमा कृषिको योगदान ७५ प्रतिशत भन्दा बढी थियो। सन् २०१० मा आइपुग्दा यो ३३ प्रतिशतमा झरेको छ। यसको सिधा सम्बन्ध अर्थतन्त्रको संरचनामा पर्छ। यसले कृषिको महत्त्व क्रमशः कमजोर हुँदै गएको देखाउँछ। पछिल्लो पुस्ताका युवाहरु अन्य पेशा, व्यापार, रोजगारीमा लागेको यसले देखाउँछ। यसरी कृषिभन्दा बाहिर निस्किएको युवा लोकतन्त्रमा मात्र आफ्नो भविष्य सुरक्षित रहेको महसुस गर्छ।
हरेक मुलुकमा लोकतन्त्रलाई संस्थागत गर्ने सवालमा अन्तर्राष्ट्रिय तत्त्वले पनि प्रभाव पार्छ। अन्तर्राष्ट्रिय अवस्था विश्लेषण गर्ने हो भने अहिले नेपालमा लोकतन्त्र विघटन हुने भन्दा पनि यो संस्थागत हुने आधार बढी देखिन्छ। खासगरी सोभियत संघको विघटनपछि अन्तर्राष्ट्रिय परिवेश लोकतन्त्रको पक्षमा छ। केही अपवाद छाडेर भन्ने हो भने अहिले लोकतन्त्रविरुद्ध कुनै पनि मुलुक जान सक्ने अवस्था छैन। नेपालको सवालमा भारतको भूमिका थप महत्त्वपूर्ण छ। नेपालको तीनतिर सिमाना जोडिएको भारत संसारभर सुदृढ लोकतन्त्रका लागि प्रख्यात् छ। भारतसँग नेपालको खुला सिमाना छ। यस्तो अवस्थामा नेपालमा कस्तो किसिमको शासन व्यवस्था हुन्छ भन्ने कुरा भारतका लागि प्रमुख चासो र सरोकारको विषय हो। २०४६ सालमा नेपालमा भएको लोकतान्त्रिक आन्दोलनमा भारतले आर्थिक नाकाबन्दी नै लगाएर समर्थन गरेको थियो। यसैगरी २०६२/०६३ सालमा पनि उसको भूमिका उल्लेखनीय रह्यो। भारतकै कारण तत्कालीन नेकपा माओवादी र सात राजनीतिक दलबीच १२ बुँदे सहमति भएको थियो। यस्तो अवस्थामा नेपालमा कुनै राजनीतिक दल वा नेताले चाहँदैमा अधिनायकवाद स्थापना हुने र लोकतन्त्र गुम्ने अवस्था रहँदैन।
उता विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, एसियाली विकास बंैक जस्ता निकायले आर्थिक उदारीकरणमा महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन्। पछिल्लो पटक विश्व व्यापार संगठनमा नेपालको औपचारिक प्रवेशपछि विश्वव्यापीकरणले नेपाललाई ह्वात्तै छोप्यो। यसले यहाँका सार्वजनिक निकाय निजीकरण गर्ने र आर्थिक उदारीकरणमा जान दबाब दियो। यस्ताखालका अन्तर्राष्ट्रिय निकायलाई लोकतान्त्रिक परिपाटी भएका मुलुकमा मात्र काम गर्न सजिलो हुने र निरंकुशतामा गाह्रो हुनु स्वाभाविकै हो। यस्ता संघ/संगठनले लोकतन्त्र संस्थागत गर्ने र त्यसको पक्षमा आफूलाई उभ्याउने गर्छन्।
यस्ता पक्षलाई मिहिन किसिमले विश्लेषण गर्दा नेपालमा कुनै पार्टी वा नेताको सनकमा लोकतन्त्र गुम्ने अवस्था देखिँदैन। तर स्थापना भएको लामो समयसम्म नेपालमा लोकतन्त्र संस्थागत हुन नसकेको भने सत्य हो। लोकतन्त्रको पर्यायका रूपमा रहेको आवधिक निर्वाचन नियमित हुन सकेको छैन। स्थानीय निकायको निर्वाचनको अवस्था झन् नाजुक छ। स्वतन्त्र विद्यार्थी युनियनको पनि निर्वाचन हुन सकिरहेको छैन। यस्ता निर्वाचन नियमित नहुँदा लोकतन्त्र संस्थागत हुनबाट रोकिरहेको छ। राजनीतिक दलमा विद्यमान टिके प्रथाले पनि ती निकायमा लोकतन्त्र संस्थागत हुन सकिरहेको छैन।
यस्ता गतिविधिले लोकतन्त्रमा खतरा पुग्ने देखिन्छ। तर नेपालको सेना लोकतन्त्र नै मास्ने किसिमको शक्तिशाली नभएको देखिन्छ। उता निरंकुश राजतन्त्रका अन्ध समर्थक जमिनदार, सामन्त तथा उच्च वर्गसमेत छिन्नभिन्न भइसकेका छन्। माओवादी युद्धको अवधिमा ग्रामीण जमिनदार छिन्नभिन्न भए। साथै राजतन्त्र अन्त्यसँगै उच्च वर्गसमेत छिन्नभिन्न छ। त्यसैले कमल थापाले भनेजस्तो राजतन्त्रकेा पक्षमा अब नेपाली जनता छैनन्। यसैग्ारी संविधान सभाको निर्वाचनमा तत्कालीन माओवादीले पाएको मत उसको लोकतन्त्रप्रतिको प्रतिबद्धताका लागिमात्र हो। यदि उसले लोकतन्त्रमाथि विश्वासघात गर्छ भने उसको पतन निश्चित छ। कांग्रेस-एमालेले सत्ता नपाएको झोकमा विद्रोहमा उत्रने भन्दै दिएको धम्कीले पनि नेपालमा लोकतन्त्रमाथि संकट ल्याउन सक्दैन। नेपालमा लोकतन्त्रका लागि सबैभन्दा ठूलो खतरा उग्रवामपन्थी र उग्रदक्षिणपन्थीबाट भए पनि अहिलेको अवस्था लोकतन्त्रको पक्षमा निकै अगाडि बढिसकेको छ। त्यसैले राजनीतिक दल तथा अन्य अमुक निकाय अधिनायकवाद तथा निरंकुशताको पक्षमा उभिए पनि नेपालमा तत्काल लोकतन्त्र गुम्ने छैन। अब नेपालमा निरंकुशता र अधिनायकवाद आए पनि टिक्दैन।
लेखक त्रिविबाट समाजशास्त्रमा एमफिल गर्दैछन्
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस