दिलशोभाको दिल
०८ भदौ २०६७
•
१५ मिनेट पाठ
दिलशोभाको दिल
दिलशोभा र देशभर छरिएका उनीजस्ता अरूका निम्ति बाँचेका अनगिन्ती व्यक्तिहरू हामीजस्ता लोभ र लालसाले गाँजेका तथाकथित चेतनशील मानिसका लागि सधैँ प्रेरणा र व्यंग्य बनी रहनेछन्।
तरुनो छँदा मानिसलाई म पनि एकदिन बूढो हुन्छु र मर्छु भन्ने बिरलै लाग्छ। त्यतिमात्र होइन कुनैपनि तन्देरीलाई म बूढो हुँदा म नितान्त एक्लो हुनसक्छु, म रोगी हुनसक्छु, मेरा अंगप्रत्यंग चौबीसै घन्टा दुख्न सक्छन्, म आँखा नदेख्ने हुनसक्छु, मलाई पक्षाघात हुनसक्छ या मेरो मृत्यु महिनौं वर्षौँ ओछ्यानमै थलिएर अत्यन्त पीढादायी ढंगबाट हुनसक्छ भन्ने लाग्दै लाग्दैन। लाग्दो हो त असहाय वृद्धवृद्धाको अनुहारमा धेरै तन्नेरी र धनाढ्यले आफ्नो संभाव्य प्रतिविम्ब देख्नेथिए र थोरै नै भए पनि केही गर्ने थिए। तर अधिकांशले गर्दैनन्। किनभने आफैंँलाई नपरी कोही पनि त्यस्तो सोच्नै चाहँदैनन्, अपवादलाई छोडेर। त्यस्तै एक जना अपवाद हुन् काठमाडौंकी ५७ वर्षीया दिलशोभा श्रेष्ठ। अधिकांश व्यक्तिले जीवनमा पद, पैसा र सम्मान ‘पाउन' मरिहत्ते गरिरहँदा दिलशोभा भने अरूलाई 'दिन' आफ्नो जीवन अर्पण गरिरहेकी छिन्। उनी असहाय र आफन्तले त्यागेका वृद्धाहरूलाई सके जति दिन्छिन्। त्यतिमात्र होइन, पछिल्लो समयमा त उनले टुहुरा बालबालिकालाई पनि सकेजति दिन थालेकी छिन्। कहिलेकाहीँ लाग्छ, समाजमा दिलशोभाजस्तो व्यक्तिको देहान्त हुँदा कुनै ठूलो कहलिएको राजनीतिज्ञको मृत्यु हुँदाजस्तौ मानव सागर नउर्लिएसम्म समाजलाई चेतनशील र सुसंस्कृत भन्न मिल्दैमिल्दैन। दाङमा महेन्द्र संस्कृत विश्वविद्यालय र अन्य कयौं संघसंस्थालाई करोडौंको सम्पित्त दान गर्ने टेकनाथ गौतमको गत वर्ष निधन हुँदा कसैले पत्तोसम्म पाएन। तर कुनै राजनीतिज्ञ मर्दा भने सारा संचार माध्यमले फुक्छन् र राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मले शोक व्यक्त गर्छन्। यहाँको मात्र होइन सामान्यतः संसारभरकै रीत यस्तै छ। संभवतः हामी सबै भ्रमको युगमा बाँचिरहेका छौं। जेलाई हामी ठूलो ठान्छौँ ती अधिकांश अर्थहीन छन् र जसमा हाम्रो ध्यानै पुग्दैन तिनमा भने जीवन र जगत्का वास्तविक अर्थ लुकेका छन्।




मैले दिलशोभाका बारेमा सुनेको थिएँ, बेलाबखत पढेको थिएँ, उनलाई एक, दुई पटक टेलिभिजनमा देखेको थिएँ र एक पटक संयोगले भेटेको थिएँ। तर उनकै घरमा गएपछि मात्र मैले उनलाई अनुभूत गर्न सकेँ र उनको अनुभूतिको स्पर्शले ल्यनएका खसीलाई आफ्नै आँखाले देख्न सकेँ। दिलशोभाको घर गएपछि जति नै कठोर मन भएको व्यक्ति पनि भावुक नभईकन फर्किनै सत्तै्कन। गत बुधबार बीबीसी नेपाली सेवाको साप्ताहिक कार्यक्रम नेपाल सन्दर्भमा समाज बनाउने नाममा सत्ता 'पाउन'का लागि सधैं लुछाचुँडी गरिरहने नेताभन्दा कहिलेकाहीँ, आफूसँग भएको सबै ‘दिएर' समाजलाई गुन लाउने दिलशोभाजस्ता व्यक्तिको अन्तरवार्ता किन नगर्ने? भनेर मैले उनलाई फोन गरेँ। अन्य राजनीतिज्ञलाई जस्तै मैले उनलाई अन्तरवार्ताका लागि बीबीसीको काठमाडौं स्टुडियोमा आइदिन अनुरोध गरेँ। उनले उत्तरमा भनिन् - ‘मलाई यस्तो प्रचारप्रसार मन पर्दैन, म आफ्नो मनले काम गरिराखेको मान्छे। म ठूलो मान्छे होइन।' त्यसको जवाफमा मैले उनलाई भने - ‘तपाईँको प्रचारप्रसार गर्न या तपाईंलाई ठूलो बनाउन अन्तरवार्ता गर्न खोजेको होइन, बरु तपाईँले गरिरहेको राम्रो काममा धेरैभन्दा धेरै जना सहयोग गर्न आउन् र अरूलाई पनि तपार्इँले गरेको कामबाट प्रेरणा मिलोस् भनेर अन्तरवार्ता गर्न खोजेको हो।' उनले भनिन् - ‘त्यो त ठीकै हो।' तर उनले आफू स्टुडियोमा आउन नसक्ने बताइन्। ‘यहाँ बोल्न नसक्ने, आँखा नदेख्ने, पक्षाघात भएका आमाहरू हुनुहन्छ, उहाँहरूलाई छोड्न मिल्दैन।' त्यसपछि मैले मै तपाईकहाँ आउँछु है त भन्दा उनले खुुसीसाथ स्वीकार गरिन्।

दिलशोभा श्रेष्ठ काठमाडौंको उच्च मध्यम वर्गीय परिवारकी सदस्य हुन्। उनकाअनुसार एउटी छोरी पाएपछि, पतिले छोरा नपाएको निहुँमा उनलाई छोडिदिएका थिए। अनि २०५२ सालमा छोरीको विवाह भएपछि उनी साह्रै एक्ली भइन्। त्यसैबेला, उनी छोराछोरीबाट तिरस्कृत, एकजना असहाय आमाको सम्पर्कमा आइन् र तिनको उनले सेवा गर्न थालिन्। त्यसबाट उनलाई कहिल्यै नमिलेको सन्तुष्टि मिल्यो। ती आमा त पछि बलिई भइन् तर बाटोमा छाडिएका, माग्न बसेका बूढी आमाहरू देखेर दिलशोभाको मन काटिन थाल्यो र उनी तीनैको सेवामा लाग्न थालिन्। ‘के खान मन लाग्यो आमा, तपाईँलाई?ँ भन्दा कसैले ममः खानपाए हुन्थो भन्थे, कसैले केरा खान पाए हुन्थ्यो भन्थे, कसैले पानी खान पाए हुन्थ्यो भन्थे, ‘म सबैले जे, जे माग्थे त्यही, त्यही खुवाउँथेँ।ँ पछि, पाँचजना आमाहरूलाई उनले काठमाडौंको कलंकीस्थित आफ्नो घरैमा राखेर हेरविचार गर्न थालिन्। त्यहीँबाट २०५६ सालमा औपचारिकरूपमा सुरु भएको हो - ‘आमाको घर'। आफ्नो १५ - १६ कोठाको निजी घरलाई 'आमाको घर'मा परिणत गरेपछि बितेका दश वर्षमा झन्डै सयजना असहाय, रोगी, सडकमा अलपत्र परेका आमाहरूको स्याहारसुसार र तीमध्ये कतिको मृत्युपछि एक्लै गएर दाहसंस्कार पनि गरिसकेको उनले जानकारी दिइन्। घरमा एक जना बूढी आमाको स्याहार गर्न कयौं छोराबुहारीलाई हम्मेहम्मे पर्छ। दिलशोभाले २८ जना आमालाई कुन संयम र सद्भावले चौबीसै घण्टा हेरिरहेकी होलिन्, म छक्क परेँ। यसबीचख उनले आमाको घरमा बाबुआमा नभएका बालबालिकालाई पनि आश्रय दिन थालेकी छिन्। अहिले आमाको घरमा ३८ जना बालबालिका बस्छन्। दिलशोभा स्वयं र अरू आमाहरू ती सबै बालबालिकाका आमा बनेका छन्। एउटी बालिकालाई काखमा लिएर दिलशोभाले भनिन् - ‘भोलि यी देशकी प्रधानमन्त्री बन्छिन् कि, के थाहा?ँ अर्की बालिकालाई देखाउँदै उनले भनिन् - ‘यिनलाई त सडकमा फालेको रहेछ। मैले त बाँच्दिनन् कि भन्ने ठानेकी थिएँ तर ल्याएर धेरै स्याहार गरेपछि, बाँचिन्। सुस्त मनस्थितिकी छिन्।' उनले एक जना बूढीआमा देखाउँदै भनिन् - ‘यिनलाई धेरै बलात्कार गरेका रहेछन् पापीहरूले, यिनले लोग्नेमान्छे देख्नै चाहन्नन्।' ‘यिनी त धनी राणाकहाँ जिन्दगीभर बसेकी, बूढी भएपछि अलपत्र छोडिदिएछन्, अनि मैले राखेको' अर्की आमालाई देखाउँदै दिलशोभाले भनिन्।
‘यतिका वृद्धा र केटाकेटी हेर्न गाह्रो हुँदैन?' मैले सोधेँ।

‘पहिले म एक्लै हुँदा त गरेँ, अहिले त अलि अलि प्रचारप्रसारले होला, मलाई सहयोग गर्न मानिसहरू आउँछन्। एउटा दया फाउन्डेसन भन्ने संस्था रहेछ, दुईजना काम गर्ने मानिस उनीहरूले नै तलब दिएर राखिदिएका छन्। एकजना अर्की बहिनी छन्, आफैँ सघाउन आएकी। पैसाको हकमा चाहिँ, मैले धेरै पढेकी छैन, मलाई प्रपोजल लेखेर ठूलो संस्थाबाट पैसा लिन आउँदैन, मेरी छोरी सबनमले अमेरिकाबाट महिनाको बीस हजार पठाइदिन्छिन्, उनको घरको आठ हजार भाडा पनि मलाई नै दिएकी छिन्, मेरो चितवनामा धान आउने जग्गा छ, अनि यो आफ्नै घर हुनाले भाडा तिर्नु पर्दैन, दुःखसुख चलाइरहेकी छु। कहिलेकाहीँ गाह्रो हुन्छ। गएको असारमा दुई जना आमा बित्नुभयो। दाहसंस्कार गर्दा धेरै पैसा खर्च भयो। अनि हामी सबै आमा, नानीहरूले १५ दिनसम्म गुन्द्रुकको झोल र भातमात्रै खाएर बस्यौं, पैसा नभएर।' दिलशोभा आफैँ कमजोर भएपछि या उनको सेखपछि, यी आमा र बालबालिकाको भविष्य के होला भन्ने जिज्ञासामा दिलशोभाले उनकी छोरीले आफ्नी आमाले रोपेको रुखलाई अझ फैलाउने बचन दिएको बताइन्।

मानवीय स्वभाव अचम्मको हुन्छ। मानिसहरूलाई आमाको घरको जस्ता दृश्यले भावुक नबनाउने होइन तर त्यो भावुकता र ‘मसाने वैराग्य'बीच धेरैजसो कुनै अन्तर हुँदैन। मसानघाटमा आफन्त या अरू कसैको शव चितामा जलिरहेको देख्दासम्म लाग्छ जीवन भनेको के नै रहेछ र? आखिर आफू पनि यसैगरी खरानी हुने न हो ∕ त्यतिबेला उसले लोभ, मोह, घृणा, क्रोध, श्रीसम्पत्ति, मान, पदवी सबै मिथ्या हुन् भन्ने ठान्दछ। खरानी हुनु अगावै जीवनमा राम्रो काम गर्नुपर्छ भन्ने भावना उसमा प्रबल भएर आउँछ। तर ‘मसाने वैराग्य'ले जन्माएको त्यो भावना भोलिपल्टै हराउँछ र ऊ पुनः पुरानै स्वभावमा फर्किन्छ। संसारका थोरै मानिसमा मात्र दिलशोभाको जस्तो दिल हुन्छ। धेरै मानिसमा मानवताको भावनाले जन्माउने भावुकता र मानवीय स्वभावमा निहित लालसाबीच निरन्तर द्वन्द्व चलिरहेको हुन्छ। र अधिकांश मानिस चाहिँ मानवता र भावुकताका बारे आदर्श छाँट्न चाहन्छन् तर जीवन यथार्थ हो भन्ने सोचबाट कसरी ग्रस्त भएका हुन्छन् भने व्यक्तिगत स्वार्थबाट माथि उठ्नै चाहँदैनन्।

खल्तीमा भएको अलिकति पैसा दिलशोभालाई अर्पण गरेर अनि आफ्ना छोराछोरीलाई बेलाबखत उनीहरूमार्फत् नै ससाना सहयोग गर्न दिलशोभाकहाँ लैजाने सोच बनाएर, आमाको घरबाट फर्किँदै गर्दा मलाई आफ्नो जीवन अत्यन्त अर्थहीन र आडम्बरपूर्ण लागिरह्यो। मैले अलिकति पढेँ, देखेँ, बुझेँ र नाम कमाएँ तर ती सबैले मलाई खासै नपढेकी र संसार नदेखेकी दिलशोभाको जति चेतना पनि नदिएको स्पष्ट अनुभव भइरह्यो। जीवनको अर्थ र सौन्दर्य वास्तवमा दिलशोभाले पहिल्याएको बाटोमा छ भन्ने अनभूति हुँदाहुँदै पनि उनको बाटोमा हिँड्ने आँट भने मैले आफूमा जगाउन सकिन। तैपनि, मैले मनमनै प्रार्थना गरेँ - ‘दिलशोभा बन्न नसके पनि म कमसेकम दोस्रो कोटीका मानिसमा पर्नसकुँ जो मानवीय लालसाविरूद्ध लड्न निरन्तर प्रयास गरिरहेका हुन्छन् र बेलाबखत त्यसमा सफलता पनि हासिल गर्छन्। बाटाभर मैले दिलशोभा र देशभर छरिएका उनीजस्ता अनगिन्ती अज्ञात व्यक्तिहरूलाई सम्झिरहेँ जो हामीजस्ता लोभ र लालसाले गाँजेका तथाकथित चेतनशील मानिसका लागि सधैँ प्रेरणा र व्यंग्य बनी रहनेछन्।

(सहयोगका लागि दिलशोभा श्रेष्ठलाई फोन नं‍ -४२७४७३० मा सम्पर्क गर्न सक्नुहुनेछ।)
अर्को समाचार
दिलशोभाको खबरले दुखाएको दिल
१५ फागुन २०७०
•
११ मिनेट पाठ
दिलशोभाको खबरले दुखाएको दिल
बुधबार जिल्ला प्रशासन कार्यालय, केन्द्रीय बाल कल्याण समिति र प्रहरीको संयुक्त अनुगमन समितिले 'आमाघर'मा भएका बालबालिका उद्धार गर्‍यो। आमाघरकी सञ्चालिका दिलशोभा श्रेष्ठको गतिविधिलाई शंकास्पद मान्दै अनुसन्धानको दायरामा ल्याएको विषय सार्वजनिक भएपछि सामाजिक सञ्जालमा यो भाइरल झै फैलियो। स्वभाविकरुपमा सार्वजनिक चासोको विषय बन्यो उनीमाथि लागेका आरोप। ताता बहस सुरु भए पक्ष, विपक्षमा। सोसल मिडियामामा बहसको विषय हुनु स्वभाविक पनि थियो।तर, आक्रामकरुपमा समाचारमाथि प्रतिकृया आउनेक्रम सुरु भयो, अनौठोरुपमा। सोसल मिडियामा भएका अधिकांश बहस जुन सञ्चारमाध्यमले समाचार लेखेको हो उसको आधिकारिक न्युजपोर्टल वा सम्बन्धित पत्रिकामा छापिएको पूर्ण समाचार पढेर आएन। 'साभार पत्रकारिता'मा अब्बल बनेकाहरुले काँटछाँट गरेर अनलाइन पोर्टलहरुमा राखेको अपूरो समाचार पढेर धारणा बनाए। र, त्यतैतिर दगुरिए कतिपय सोसल मिडियाका प्रयोगकर्ता। भावनामा चुर्लुम्म डुबेका टिप्पणीहरु सार्वजनिक भए। अभौतिक थिएन भने, आँशुका भेलले टुइटर र फेसबुक नै बगाउथ्यो होला। पत्रकार, पत्रिका र पत्रकारितामाथि नै आरोपका श्रृखलाहरु चुलिए। समाजमा व्यक्तिगत प्रतिष्ठा बढाउन सामाज सेवाको आवरणमा रहेकाहरुको भक्तिगाथालाई आँखा चिम्लिनेहरु पनि प्रशस्तै भेटिए। यही हो मौका ! 'यसलाई कोतर्ने' भनेर दाह्रा नंग्रा निकाल्नेहरुको संख्या पनि ह्वात्तै बढ्यो। समाचार लेख्ने संवाददाताको नाकको आधारमा जातीय आक्षेपहरुले भरिए टाइमलाइनहरु।  
नागरिकले उठाएको विषयमा प्रस्टरुपमा तथ्य छ। आमाघरको स्थलगत अवलोकनका क्रममा देखिएका दृष्य छ। उजुरीका विषयवस्तु र सरकारी निकाय केन्द्रीय बाल कल्याण समिति, जिल्ला प्रशासन कार्यालयका अधिकारीहरुको आधिकारिक भनाई छ। सञ्चालिका दिलशोभा श्रेष्ठको स्पस्टोक्ति पनि समेटिएकै छ। तर, यसका वावजुद कुनै विषयको पनि गम्भीर समीक्षातिर नगई मिडिया र पत्रकारमाथि खनिनेक्रम सुरु भयो। दिलशोभाले स्वीकार गरेका गम्भीर अपराध र उनीमाथि लागेको आरोपको खण्डनमा पेश गरेको तर्कको नै न स्वतन्त्र समीक्षा भयो।
बुधबार १ बजेसम्म नागरिक दैनिकमा आएको समाचार पढेर केहीले दिलशोभाको उछितो पनि उत्तिकै काटे। तर, 'दिलशोभा त खत्तम हो' भन्ने होडवाजीमा लागेकाहरु २ बजे आमाघरको पत्रकार सम्मेलनको सामाग्री आएपछि 'लौ पत्रकार र पत्रिका पो खत्तम रैछन्' भन्दै कुर्लिन थालिहाले। विडम्बना, सामाजिक सेवाको उदाहरण भनेर सबैतिरवाट वाहवाही पाएकी दिलशोभा कसरी यो प्रकरणमा मुछिइन्? के–के विषय सरकारी अनुसन्धानको दायरामा आएको थियो? अनि कुन–कुन गम्भीर आरोप उनले स्विकार गरिन्, कुन कुन आरोपबारे अनुसन्धान भइरहेको छ ? या छैन ? गम्भीर विषयतर्फ कमैको चासो देखियो।
नेपाली पत्रकारितामा खारिएका सञ्चारकर्मी पनि तथ्यको खोजीतिर चासै नदिई रोइलोमा केन्द्रीत भए। बिहानरभरि नागरिकको समाचार अनलाइनमा हुबहु राखेर पाठक तान्न सक्रिय हुनेहरु दिउँसो दिलशोभामा केन्द्रित भए। आफ्नो अनलाइनमा पाठक बढाउन पत्रिकाको समाचार सारेर बेच्‍नेहरु समाचार बिकेपछि त्यही समाचारको उछितो काड्न तयार भए। यो क्रम चलिरह्यो।   
नागरिकले आफ्नो बुधबारको समाचारमा दिलशोभाबारे अनुसन्धानको दायरामा परेको विषयवस्तुमा यौन दुराचार, अबैध रुपमा बालगृह सञ्चालन, बालगृहको दुरावस्था, बृद्धा र बालबालिकाको नाममा आएको आर्थिक र भौतिकस्रोतको अपचलनलाई समेटेको छ। ती विषयवस्तुबारे के हो भन्ने पहिल्याउन अनुगमन र अनुसन्धानको नेतृत्व गरिरहेको जिल्ला प्रशासन कार्यालयका प्रमुख अनि केन्द्रीय बालकल्याण समितिको पदाधिकारीको धारणा समेत समेट्यो। समाचारको आधार भनेकै प्रशासनको अनुसन्धानको सुरुवात थियो। अनुसन्धान र अनुगमनका क्रममा आएका तथ्यलाई आधारमान्दै सरकारी निकायको पुष्ट्याईपछि स्थलगत अनुगमनमा समेत गरेर तयार पारिएको थियो, समाचार। ती विषयवस्तुभित्र प्रवेश गर्ने जाँगर सीमितमा मात्र देखियो। १४० शब्द पढेरै धेरै भावविभोर भए र प्रतिक्रियाका लागि उत्रिए।
दिलशोभाबारे नागरिकले उठाएको विषयवस्तु सरकारी अनुसन्धानकै प्रतिफल हो। उनीमाथि परेको उजुरी र अनुगमन र अनुसन्धानकोक्रममा ती विषयबारे गम्भीर तथ्य  बाहिर आएका हुन्। आक्षेप लगाउनेहरुले यो समाचार नागरिक आफैंले 'निर्माण' गरेको हो भन्नेसम्मका तर्क गरे। यो प्रकरणमा जोडिएका नयाँ तथ्य केलाउन काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट सूचना लिन जो सुकैले पनि सक्थ्यो।
आमाघरकी सञ्चालिका दिलशोभा श्रेष्ठविरुद्ध परेको उजुरीको अनुसन्धानबाट गैर कानुनी रुपमा बालगृह चलाएर कानुनको उलंघन गरेको देखियो। त्यस्तै बालगृहमा राख्न ल्याइएका बालबालिकालाई घरेलु कामका लागि आफन्तको घरमा पठाएको, बालगृहको रेकर्डमा भएका ७ भन्दा बढी बालबालिको अत्तोपत्तो नभएको अनि विदेशी नागरिकलेसमेत बालगृहबाट बालबालिका विदेश पूर्‍याएको तथ्य सहित सरकारी निकाय बालगृहमा पुग्यो।
प्रशासनले विजोग अवस्थामा रहेका बालबालिकाको उद्धार गर्‍यो। नागरिकले समाचार लेखेका कारण प्रशासन यसरी उद्धारमा जुटेको थिएन। परेको उजरीको अनुसन्धानपछि प्रशासनले उद्धार गर्ने तयारी पूरा गरेको थियो। त्यही योजना र थप अनुसन्धान गरेर समाचारबाट घटना सार्वजनिक गरेकोमात्र हो, कुनै आरोप लगाएको होइन।
'मलाई त कानुन नै थाहा थिएन,' भन्ने तर्ककै भरमा दिलशोभालाई अधिकांशले माफी दिए। कानुनको अज्ञानता कहि कतै पनि क्षम्य हुन्न। त्यसो हो त भोलिदेखि चोरी गर्नेले मलाई कानुन नै थाहा थिएन, हत्या गर्नेले मलाई ज्ञान नै थिएन भन्ला। पत्याउने?
कानुनी प्रकृया नै नपुर्‍याइ विदेशी नागरिकको जिम्मा लगाएर पठाएको २ बालकमध्ये एक बालकको मृत्यु भएको सूचना आएको छ। आमाघरका बृद्धा र बालबालिकाका लागि मनकारीहरुले दिएको नगद जिन्सी व्यक्तिगत रुपमा खर्च गर्ने गरेको खुलेको छ।  त्यो सार्वजनिक चासोको विषय हैन र? कि सामाजिक सञ्जालले उठाएकै भरमा उनीहरुमाथि आँखा चिम्लिने !
कुनै एक व्यक्तिका कारण ३४ बालबालिकाका र उत्तिकै संख्याका बृद्धाहरुको ज्यान तलमाथि भयो भने के ? लालन पालनमा भएको खेलवाड दण्डनीय नहुने?
स्मरण रहोस्, ५ वर्ष अगाडि दिलशोभाको कामलाई पहिलोपटक जनमानसमा ल्याउने प्रयास नागरिकबाटै भएको हो। हिजो राम्रो गर्नेले सधै राम्रै गर्छन् भन्ने पनि लाग्ला। दिलशोभाका देखिएका काम प्रशंसनीय पनि थिए। अनुकरणीय पनि होलान। तर, यो तीतो तथ्य बाहिर आएपछि उनको पुरानै शाखले गल्ती ढाकिरहने ?  
जव समाजसेवाको आवरणमा हुने गरेका गलत गतिविधिका तथ्य सरकारी निकायसम्म पुग्छ र अनुसन्धान हुन्छ भने त्यो सार्वजनिक चासोको विषय हो। समाचारको विषय हो। त्यसैले भावुक भएर रोइलो गर्नतिर भन्दा सस्तो विद्यालयको आवरणमा दर्ता नै नगरी विद्यालय सञ्चालन गर्ने र आएका आर्थिकस्रोत व्यक्तिगत बनाउने, ग्रामिण भेगमा शिक्षाको सुविधावाट वञ्चित बालबालिकाको सहयोगका लागि भन्दै संकलन गरेको 'आर्थिक सहयोग' आर्थिक र सामाजिक रुपमा सम्पन्न परिवारका सन्तानमात्रै पढ्न सक्ने ल्याकत राख्ने काठमाडौंको सुविधासम्पन्न विद्यालयलाई दिनेहरु पहिल्याउने तत्परता पनि देखाउने हो की?


रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस