इतिहासको चुनौती
२० साउन २०६७
•
७ मिनेट पाठ
इतिहासको चुनौती
भारतीय महिला ब्याडमिन्टन खेलाडी साइना नेहवालले त्यहाँको खेल क्षेत्रकै सर्वाधिक ठूलो पुरस्कार राजीव गान्धी खेल रत्न सम्मान पाएको केही समयपछि नै नेपालमा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको आयोजना भइरहेको छ।
अहिले देशभित्रै आफ्नो पहिचानका लागि संघर्ष गरिरहेको नेपाली ब्याडमिन्टनको स्तर कुनै बेला दक्षिण एसियामै भारतपछिको मानिन्थ्यो भन्दा नयाँ पुस्ताका धेरैलाई आश्चर्य लाग्नसक्छ। तर, नेपाली ब्याडमिन्टन खेलाडी कुनै बेला भारतका लागि ठूलो चुनौती भएका तथ्य भेटाउन इतिहासका धेरै पाना पल्टाउनु पर्दैन। फरक त खेलको निरन्तरताले पारेको हो।




भारतका ब्याडमिन्टनका पूर्व खेलाडी प्रकाश पादुकोणले सन् १९७९ मा राष्ट्रमण्डल खेलको स्वर्ण पदक र प्रतिष्ठित अल इंग्ल्यान्ड ब्याडमिन्टन च्याम्पियनसिप जित्दा नेपाली ब्याडमिन्टन पनि एउटा अठोटसहित अगाडि बढ्ने क्रममा थियो। विशेषगरी २०३० को लगभग पूरा दशक देखि २०४०को दशकको मध्यसम्म त्यो अठोट लगभग मूर्तरूप लिने क्रममा थियो। यसको पुष्टि त्यति बेला नेपाली ब्याडमिन्टनले अन्तर्राष्ट्रिय स्तरमा कायम राख्न सफल पहिचानले गर्छ।

‘त्यतिबेला बंगलादेशी, पाकिस्तानी खेलाडीले हामीले खेलेको हेर्न मन पराउँथे। दक्षिण एसियामा नेपालको प्रतिद्वन्दी भारत थियो।' पूर्व खेलाडी रामजी श्रेष्ठले केही समयअगि त्यति बेलाको सम्झना गर्दै भनेका थिए। प्रकाश राणा, प्रदीप शाह, प्रताप अधिकारी, नरेशबहादुर सिंह, रामजी श्रेष्ठ र त्यसपछि अनोज बस्नेत, सुदीप योञ्जनजस्ता खेलाडीले नेपाली ब्याडमिन्टनलाई नयाँ उचाइतर्फ उन्मुख गराएका थिए।

त्यसको कारण पनि थियो। देशभित्र राष्ट्रिय, अर्न्ताष्ट्रिय स्तरका प्रतियोगिता नियमित आयोजना हुने गर्थे भने विदेशमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि नेपालले लगभग नियमित सहभागिता जनाउने गर्थ्यो। ब्याडमिन्टन खेलले नियमितता पाएको थियो। नेपाली खेलाडीले विदेश (धेरै संख्यामा भारत)का खेलाडीसँग नियमितजसो प्रतिस्पर्धा गर्न पाउँथे भने दर्शकले पनि त्यस स्तरको रोमाञ्चलाई आत्मसात् गर्न पाउँथे। त्यसबाट खेलाडीको स्तर वृद्धिमा सकारात्मक असर पर्थ्यो।

खेल भनेकै निरन्तरता हो, नियमितता हो। भारतमा क्रिकेट निकै लोकप्रिय छ। तर, त्यसका कारण अन्य खेल प्राथमिकताको सूचीमा केही पछि परे पनि हराएका भने छैनन्। सम्भवतः त्यसकै कारण अल इंग्ल्यान्ड उपाधि विजयी पादुकोणको उपलब्धिलाई निरन्तरता दिने खेलाडीका रूपमा सन् २००१ मा पुलेला गोपीचन्द उदाएका थिए। ढिलो भए पनि भारतले आफ्नो उत्कृष्टताको परम्परा कायम राख्न सकेको थियो।

अनि त्यही उपलब्धिको निरन्तरताका रूपमा अहिले उदाएकीछिन् साइना नेहवाल। प्रशिक्षकका रूपमा गोपीचन्दलाई भेट्टाउनुले पनि साइनाको अन्तर्राष्ट्रिय यात्रालाई सहज बनाएको हुनसक्छ। सन् २००३ मा चेकोस्लाभिया जुनियर उपाधि जितेपछि उनले आफ्नो प्रतिभालाई अझ तिखार्दै लगिन् र यसै वर्ष उनले इन्डियन ओपन ग्राँपीलगायत सिंगापुर ओपन सुपर सिरिज र इन्डोनेसिया ओपन सुपर सिरिजमा कब्जा जमाउँदै विश्व वरीयता क्रममा दोस्रो स्थान भेटाउन सफल भएकी छिन्।

खेलाडीको सफलताका लागि नियमित अभ्यासका साथै साना ठूला प्रतियोगितामा नियमित सहभागिता पनि उत्तिकै आवश्यक हुन्छ। त्यो अवसरबाट भारतीय ब्याडमिन्टन खेलाडी वञ्चित हुन परेको छैन।

नेपालका लागि भने स्थिति निकै फरक रहन पुग्यो। विशेषगरी ०४६ सालपछि नेपाली खेलकुदले चरम सरकारी उदासीनताको प्रतिफल भोगेको छ। हुनत त्यसपछि नै केही अन्तर्राष्ट्रिय स्तरका ठूला प्रतियोगिताको आयोजना नेपालमा भइरहेको छ र क्रिकेट, तेक्वान्दो,जस्ता खेलले आफ्नो विकास क्रमलाई अन्तर्राष्ट्रिय सफलतासहित अगाडि बढाउँदै लगेका छन्। पहिलो जनआन्दोलनपछि खेलकुदप्रति हेरिने सरकारी दृष्टिकोण यसको समग्र विकासमा ठूलो अवरोधका रूपमा रहन पुग्यो। त्यसबाट ब्याडमिन्टन पनि जोगिन सकेन।

र ०४६ साललगत्तै यसको नियमिततामा अवरोध उत्पन्न हुन गयो। हुनत, केही समयपछि यसको आयोजनाले लगभग नियमितता नै पाइरहेको छ। तर पनि हामी आफ्नो स्तर र प्रतिभाअनुरूप अगाडि बढ्न सकेका छैनौ। त्यसबाहेक केही उपल्ला वरीयताक्रममा रहेका खेलाडी विदेशिएपछि उत्पन्न रिक्तता पूरा गर्ने चुनौती अहिलेका च्याम्पियन सामु छ। उचित साधन स्रोतको उपभोग गर्न पाएका खण्डमा खेललाई अगाडी बढाउनसक्ने क्षमता र प्रतिभा नेपाली खेलाडीमा रहेको तथ्यलाई पटकपटक स्वदेशी तथा विदेशी प्रशिक्षकले बताइसकेका छन्।

नेपालको सन्दर्भमा अहिलेका पुस्ताका खेलाडीको काँधमा आएको सबैभन्दा ठूलो चुनौती ब्याडमिन्टनको इतिहासलाई अगाडि बढाउने हो। आवश्यक न्यूनतम साधन, स्रोतको उपयोग, प्रतियोगिताको नियमितता, अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा नियमित सहभागिताजस्ता पक्षमा ध्यान पुर्‍याउने हो भने त्यो चुनौती नेपाली ब्याडमिन्टनले पूरा गर्ने विश्वास गर्न सकिन्छ।
अर्को समाचार
कांग्रेसको आठ दशक: इतिहासको गौरव र नयाँ पुस्ताको चुनौती
१९ असोज २०८३
•
१२ मिनेट पाठ
कांग्रेसको आठ दशक: इतिहासको गौरव र नयाँ पुस्ताको चुनौती
कुनै समय नेपालको प्रजातान्त्रिक आन्दोलनको सिङ्गो पर्याय बनेको नेपाली कांग्रेस गत वर्ष अर्थात् २०८२ साल भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि सम्पन्न निर्वाचनबाट कमजोर प्रतिपक्षका रूपमा सीमित भएको छ।




सत्ता प्राप्तिका निम्ति फरक राजनीतिक सिद्धान्त र आदर्श बोकेका दलहरूसँग अप्राकृतिक गठबन्धन गरेर निर्वाचनमा जान नहुने आवाज पार्टीको तल्लो तहका कार्यकर्ता पङ्क्तिबाटै उठेको थियो।

कार्यकर्ताको सोही भावनालाई आत्मसात गर्दै वर्तमान सभापति गगनकुमार थापाले आगामी निर्वाचनमा कांग्रेस कसैको वैशाखी नटेकी आफ्नै बलबुतामा प्रतिस्पर्धामा उत्रिनुपर्ने अडान निरन्तर राख्दै आउनुभयो।

यसको विपरीत तत्कालीन सभापति शेरबहादुर देउवा भने जसरी पनि सत्तामा टिकिरहन जुनसुकै दलसँग जस्तोसुकै गठबन्धन गर्न पनि तयार देखिनुभएको थियो।

सत्ता जोगाइराख्न चार-पाँच दर्जनसम्म मन्त्री बनाएर जम्बो मन्त्रिपरिषद्को नेतृत्व सम्हालेको देउवाको इतिहास अझै धमिलो भइसकेको छैन। वर्तमान सभापति गगनकुमार थापा, उपसभापति/नेताहरू विश्वप्रकाश शर्मा, प्रदीप पौडेल लगायतका युवा पुस्ता कुनै पनि दलसँग चुनावी तालमेल नगरी कांग्रेस आफ्नै सामर्थ्यमा जनतामाझ जानुपर्छ भन्ने पक्षमा उभिएपछि थापा र देउवा पक्षबीच तीव्र मतभेद सुरु भएको थियो।

नेपाली कांग्रेसका संस्थापक सभापति विश्वेश्वरप्रसाद कोइराला (बीपी) सत्ता साझेदारी त परको कुरा, प्रजातान्त्रिक आन्दोलनसमेत कांग्रेसले आफ्नै मौलिक तागतमा सञ्चालन गर्नुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो, जसको साक्षी पार्टीको आठ दशक अर्थात् ८० वर्षे गौरवमय इतिहास छ।

नेपालको राजनीतिक इतिहासलाई नियाल्दा, कुनै समय मुलुकका सम्पूर्ण स्रोत र साधनमाथि एकछत्र कब्जा जमाएर जनताको भाग्यविधाता बन्ने धृष्टता राणा शासकहरूले गरेका थिए।

उनीहरूले देशमा १०४ वर्षसम्म निरङ्कुश पारिवारिक शासन चलाए। तिनै जहानियाँ राणा शासकहरूका विरुद्ध सशक्त र निर्णायक आन्दोलनको नेतृत्व गर्नुभएका बीपी कोइरालाले राजनीतिक आदर्श, दर्शन, सिद्धान्त एवं वैधानिक नीति र कार्यक्रमसहित नेपालको पहिलो राजनीतिक दलका रूपमा नेपाली कांग्रेस स्थापना गर्नुभयो।

बीपीले पार्टीका नीति र कार्यक्रमलाई आम नेपालीको घरदैलोसम्म पुर्याएर निरन्तर सङ्घर्ष मात्र गर्नुभएन, जनताको अपार विश्वास, स्नेह र जनसमर्थन पनि आर्जन गर्नुभयो। बीपीले सुवर्णशमशेर लगायतका प्रजातन्त्र सेनानी कमान्डरहरूको दह्रो साथ लिएर सञ्चालन गरेको निर्णायक क्रान्तिको बलमा नै निरङ्कुश पारिवारिक राणा शासनको अन्त्य भई मुलुकमा प्रजातान्त्रिक व्यवस्थाको जग हालिएको थियो।

विडम्बना, प्रजातान्त्रिक इतिहासको त्यही जगमा टेकेर, तर नेपालको लोकतान्त्रिक आन्दोलनमा कुनै उल्लेखनीय योगदान नै नभएका शक्तिहरूले गत वर्ष २०८२ साल भदौ २३ गते तत्कालीन सरकारको निरङ्कुश कार्यशैलीविरुद्ध जेन्जी पुस्ताले गरेको सङ्घर्ष र बलिदानीलाई ‘हाइज्याक’ गरे।

उनीहरूले जनताबीच भ्रामक प्रचार गर्दै जनभावनाको दुरुपयोग गरेर सत्ता हत्याए र अहिले राज्यसत्तामा रजाइँ गरिरहेका छन्। यो वास्तविकता आजको नयाँ पुस्तालाई बुझाउनु अपरिहार्य भएको छ।

यदि नयाँ पुस्तालाई नेपालको प्रजातान्त्रिक सङ्घर्षको वास्तविक इतिहास बुझाउन सकिएन भने मुलुकमा लोकतन्त्र प्राप्तिका लागि जीवन आहुति दिने अमर शहीदहरूको आत्माले हामीलाई धिक्कार्नेछ। त्यसैले नेपाली कांग्रेस मुलुकमा प्रजातन्त्र स्थापनाका लागि गरेको ऐतिहासिक सङ्घर्षको नालीबेली नयाँ पुस्तासमक्ष पुर्याउनु आजको प्रमुख दायित्व हो।

जहानियाँ राणा शासनको अन्त्यका लागि भएको प्रारम्भिक प्रजातान्त्रिक सङ्घर्षका क्रममा चार अमर शहीदहरू, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दले प्राणको आहुति दिनुभयो।

त्यसपछि राणाशाहीका विरुद्ध सङ्गठित रूपमा लड्न र देशमा प्रजातान्त्रिक व्यवस्था स्थापना गर्न वि.सं. २००३ सालमा बीपी कोइरालाको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना भयो।

त्यसैगरी वि.सं. २००५ सालमा सुवर्णशमशेर राणाको नेतृत्वमा नेपाल प्रजातन्त्र कांग्रेस खुल्यो। एउटै उद्देश्य बोकेका यी दुवै पार्टीलाई एकीकरण गरी सशक्त आन्दोलन अघि बढाउने ध्येयका साथ वि.सं. २००६ साल चैत २६ गते ऐतिहासिक नेपाली कांग्रेस पार्टीको स्थापना गरियो।

त्यसको भोलिपल्ट अर्थात् चैत २७ गते सुरु भएको पार्टी स्थापना सम्मेलनले ऐतिहासिक ‘घोषणापत्र २००६’ जारी गर्यो। घोषणापत्रमा राणा शासकहरूको घोर अन्यायविरुद्ध जुर्मुराएर उठ्न आम नेपाली जनतालाई आह्वान गरिएको थियो।

देशको अधोगतिको जडका रूपमा रहेको तानाशाही अन्त्य गरी प्रजातन्त्र स्थापना गर्न गठित नेपाली कांग्रेस आफ्नो मूल लक्ष्यमा सफल त भयो, तर त्यसपछिका दिनहरूमा पार्टीले अनेकौँ आरोह-अवरोह पार गर्दै ८० वर्ष लामो यात्रा तय गरेको छ।

राणा शासनको अन्त्यपछि गठित अन्तरिम सरकारमा सामेल भए पनि क्रान्तिका उपलब्धिहरूको रक्षा गर्ने बीपीका प्रयासहरू सहज रूपमा सफल हुन सकेनन्।

अन्ततः उहाँले पुनः सङ्घर्षकै कठिन बाटो रोज्नुपर्यो। राजसंस्थासँग मिलेर प्रजातान्त्रिक अभ्यास अघि बढाउने प्रयासमा अवरोध देखिएपछि बीपीले शान्तिपूर्ण नागरिक सङ्घर्षलाई निरन्तरता दिनुभयो र राजालाई आम निर्वाचन गराउन बाध्य तुल्याउनुभयो।

बीपीकै दृढ अडानका कारण वि.सं. २०१५ सालमा नेपालमा पहिलो आम निर्वाचन सम्भव भएको थियो। उक्त निर्वाचनमा नेपाली कांग्रेसले दुईतिहाइको बहुमत हासिल गर्यो र बीपी पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभयो।

वि.सं. २०१६ साल जेठ १३ गते जननिर्वाचित सरकारको नेतृत्व सम्हाल्नुभएका बीपीले वि.सं. २०१५ साल फागुन १ गते जारी संविधानलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउनुभयो।

आफ्नो प्रधानमन्त्रीत्व कालमा समाजमा विद्यमान सम्पूर्ण विभेद, असमानता र शोषणको अन्त्य गर्न सहमति, सहकार्य र सहिष्णुताका आधारमा उहाँले चाल्नुभएका नीतिगत कदमहरू ऐतिहासिक थिए।

गाउँ नै गाउँले बनेको नेपालको समुन्नति र रूपान्तरणका लागि ग्रामीण विकास र स्वावलम्बन नै मुख्य आधार हुन् भन्ने यथार्थ बुझेर बीपीले ‘गाउँमा जाऊ, गाउँलाई हेर’ भन्ने नीति अघि सार्नुभयो।

राष्ट्रिय योजना आयोगको भित्तामा गरिब किसानको झुपडीको तस्बिर राख्दै योजनाविद्हरूलाई त्यस्ता विपन्न किसानको जीवनस्तर कसरी उकास्ने भन्ने ध्येयका साथ नीति तर्जुमा गर्न निर्देशन दिनुभयो।

देशका विपन्न वर्ग र समुदायको उत्थानका लागि विकासका प्रतिफलहरू समाजको पिँधसम्म पुर्याउने बीपीको समाजवादी नीति थियो।

बीपी समाजवादी कार्यक्रमहरू राजासँग मिलेर कार्यान्वयन गर्ने पक्षमा हुनुहुन्थ्यो। तर बीपीका जनपक्षीय नीति र कार्यक्रम सफल भएमा आफू सर्वशक्तिमान निरङ्कुश शासक बन्ने सपना सदाका लागि चकनाचुर हुने डर राजा महेन्द्रमा देखियो।

बीपीले छोटो समयमै हासिल गरेको विशाल अन्तर्राष्ट्रिय छवि र प्रतिष्ठाबाट राजा महेन्द्र सशङ्कित थिए। त्यतिबेला तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूको समेत महेन्द्रको कदममा भित्री साथ र समर्थन रहेको आभास मिल्थ्यो।

बीपीको राजनीतिक उचाइ रहुञ्जेल आफ्नो स्थान नहुने ठानेका कतिपय समकालीन राजनीतिज्ञहरूले समेत राजा महेन्द्रसँग गोप्य साँठगाँठ गरे। उनीहरूले बीपीविरोधी अभियान चलाउँदै जननिर्वाचित सरकार विघटन गर्न राजासमक्ष बिन्तीपत्र चढाउनेसम्मका राष्ट्रघाती कार्य गरे।

परिणामस्वरूप, नेपाली सेनाको परम्परागत निष्ठाको फाइदा उठाउँदै राजा महेन्द्रले भित्रभित्रै षड्यन्त्रको तानाबाना बुने। सोही षड्यन्त्रको पराकाष्ठास्वरूप वि.सं. २०१७ साल पुस १ गते राजा महेन्द्रले सैनिक बलमा असंवैधानिक ‘कु’ गरी जननिर्वाचित सरकार अपदस्थ गरे।

प्रधानमन्त्री बीपी कोइराला, मन्त्रीहरू तथा राजनीतिक दलका हजारौं नेता-कार्यकर्तालाई जेल हालियो र पञ्चायती तानाशाही व्यवस्था लादेर प्रजातन्त्रको घाँटी निमोठियो।

यसरी उत्पन्न राजनीतिक सङ्कट र अन्यायको अन्त्यका लागि गरिएका शान्तिपूर्ण प्रयासहरू असफल भएपछि जननायक बीपी कोइराला पुनः हतियारबन्द क्रान्तिको नीति अख्तियार गर्न बाध्य हुनुभएको थियो।

नेपाली कांग्रेसले बीपीवादमा आधारित नीतिअन्तर्गत नै दुई पटकसम्म सशस्त्र सङ्घर्ष सञ्चालन गरेको थियो। जनताको मौलिक अधिकार अपहरण गर्दा जनविद्रोहको आँधीबेहरी सामना गर्नुपर्छ भन्ने सन्देश कांग्रेसले राजतन्त्रलाई दिएको थियो।

नेपालको राजनीतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक क्षेत्रमा नयाँ आयाम र पुनर्जागरणको शङ्खघोष गरी नेपाली समाजलाई आधुनिकतातर्फ डोर्याउन बीपीको नेतृत्वमा भएका ती सङ्घर्षहरूमा थुप्रै वीर योद्धाहरूले शहादत प्राप्त गरे।

संसारभर प्रजातान्त्रिक आन्दोलनहरूको लामो इतिहास पाइन्छ, तर नेपालमा भने जनताको प्रजातान्त्रिक अधिकारका निम्ति बलिदान दिने शृङ्खला दशकौंसम्म निरन्तर चलिरह्यो।

वि.सं. २००७ अघिको लडाइँ निरङ्कुश जहानियाँ राणा शासनविरुद्ध थियो भने त्यसपछिका आन्दोलनहरू राजनीतिक स्थिरता र नागरिक स्वतन्त्रताका लागि केन्द्रित रहे।

वि.सं. २०१७ पुस १ गतेको शाही ‘कु’ पछि नेपाली कांग्रस पञ्चायती निरङ्कुशताविरुद्ध निरन्तर सङ्घर्षमा होमियो। तीन दशक लामो सोही सङ्घर्षको फलस्वरूप वि.सं. २०४६ सालको ऐतिहासिक जनआन्दोलन सफल भयो।

आन्दोलनपछि नेता कृष्णप्रसाद भट्टराईको नेतृत्वमा अन्तरिम सरकार गठन भयो। भट्टराई नेतृत्वको सरकारले तोकिएको समयमै ‘नेपाल अधिराज्यको संविधान २०४७’ जारी गर्यो र आम निर्वाचन सम्पन्न गरायो। उक्त संसदीय निर्वाचनमा नेपाली कांग्रेसले पुनः स्पष्ट बहुमत हासिल गर्यो।

तर, त्यसपछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको जननिर्वाचित प्रजातान्त्रिक सरकारविरुद्ध देशी-विदेशी षड्यन्त्रहरू केन्द्रित भए, जसको नतिजा वि.सं. २०५१ सालमा मध्यावधि निर्वाचनको दुर्भाग्यपूर्ण अवस्था आइलाग्यो।

मुलुकको स्थायित्वविरोधी शक्तिहरूले एकातिर लोकतान्त्रिक दलहरूभित्र आन्तरिक विग्रहको बीउ रोपिदिए भने अर्कोतिर ‘जनयुद्ध’ का नाममा वि.सं. २०५२ सालदेखि माओवादी हिंसा सुरु भयो।

त्यो माओवादी हिंसा र आतङ्कबाट देशले कति ठूलो जनधनको क्षति व्यहोर्नुपर्यो भन्ने तथ्य आज सबैका सामु जगजाहेर छ। त्यो आन्दोलन कहाँबाट र कसरी परिचालित थियो भन्ने तथ्यहरू अहिले बिस्तारै सार्वजनिक भइरहेका छन्।

त्यसपछिका दिनहरूमा मुलुक निरन्तर अस्थिरता र अराजकताको दलदलमा फस्दै गयो। वि.सं. २०६२/०६३ को जनआन्दोलन होस् वा पछिल्लो पटक वि.सं. २०८२ भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलन, यहाँसम्म आइपुग्दा देश तहसनहस मात्र बनेन, राज्यका प्रमुख तीन अङ्ग, व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाका संरचनाहरू आगोको ज्वालामा जलेर खरानी भए।

यति मात्र होइन, लोकतन्त्रको पहरेदार मानिने चौथो अङ्ग अर्थात् सञ्चारगृहहरूमा समेत आगजनी र तोडफोड गरियो। यसरी राज्यका सबै अङ्गहरूलाई क्षतविक्षत पारिएको कालो इतिहास हाम्रा सामु छर्लङ्ग छ।

जननायक विश्वेश्वरप्रसाद कोइराला आज पनि नेपालको प्रजातान्त्रिक आन्दोलनको सर्वोच्च शिखरपुरुषका रूपमा हरेक नेपालीको मुटुमा जीवित हुनुहुन्छ। बीपी केवल जनताका राजनेता, गरिब किसानका सच्चा प्रतिनिधि र बहुआयामिक व्यक्तित्व मात्र हुनुहुन्नथ्यो, उहाँ अन्तर्राष्ट्रिय स्तरमै सम्मानित व्यक्तित्व हुनुहुन्थ्यो।

तत्कालीन समयमा उहाँ नेपालको मात्र नभई समग्र एसियाकै प्रखर समाजवादी चिन्तक तथा राजनेताका रूपमा स्थापित हुनुहुन्थ्यो। समग्र एसियालाई नै नेतृत्व दिने वैचारिक क्षमता बीपीमा थियो। राजनीतिलाई जनताको जीवनसँग जोड्नुभएकाले नै बीपी नेपालको आधुनिक राजनीतिका सर्वोच्च मार्गदर्शक मानिनुहुन्छ।

नेपाली काङ्ग्रेसले बीपीले प्रतिपादन गर्नुभएको राजनीतिक, आर्थिक र सामाजिक दर्शन अर्थात् ‘बीपीवाद’ लाई पूर्ण रूपमा परित्याग नगरे पनि पछिल्लो समय पार्टी नेतृत्वले यसलाई आफ्नो निहित स्वार्थअनुकूल व्याख्या र विश्लेषण गर्ने प्रवृत्ति हाबी भएको देखिन्छ।

कुनै समय बीपीको अन्धविरोध गर्नुलाई नै आफ्नो मूल धर्म ठान्ने कम्युनिस्ट घटकहरू र सक्रिय राजतन्त्र पक्षधर पूर्वपञ्चहरूले स्थापना गरेका दलहरूसमेत आज जनतालाई भ्रमित पार्न बीपीकै नीति तथा कार्यक्रमहरूको नक्कल गर्न बाध्य छन्।

कतिपय सक्रिय राजावादी र कम्युनिस्ट नेताहरूले समेत बीपीवादको अपव्याख्या गर्दै आफूहरूलाई नै बीपीको सच्चा उत्तराधिकारी देखाउन खोजेको यथार्थ कसैबाट लुकेको छैन।

नेपालको राजनीतिमा राष्ट्रियता, प्रजातन्त्र र समाजवादका प्रणेता तथा सिद्धान्तकार बीपीले रैती र दाससरहको जीवन बाँच्न विवश नेपाली जनतालाई पारिवारिक तानाशाहीबाट मुक्त गराउन ऐतिहासिक भूमिका खेल्नुभएको थियो।

बीपीलाई यो राजनीतिक निष्ठा र संस्कार सजिलै प्राप्त भएको थिएन। उहाँका पिता कृष्णप्रसाद कोइरालाले प्रजातन्त्र र जनअधिकारका निम्ति जीवनभर सङ्घर्ष गर्नुभयो र अन्ततः राणाको कालकोठरीमै सहादत प्राप्त गर्नुभयो।

आफ्ना पिताको त्यही महान् बलिदानीलाई सार्थक तुल्याउन र नेपाली जनतालाई अधिकारसम्पन्न बनाउन नै बीपी राजनीतिमा समर्पित हुनुभएको थियो।

जननायक बीपी कोइरालाले देखाउनुभएको प्रजातान्त्रिक समाजवादको मूल बाटोबाट नेपाली कांग्रेस विचलित हुन लागेको अनुभूति भएपछि गत वर्ष पुसको अन्तिम साता कांग्रेसको विशेष महाधिवेशन सम्पन्न भएको थियो।

उक्त विशेष महाधिवेशनका बहुसङ्ख्यक प्रतिनिधिहरूले युवा नेता गगनकुमार थापालाई नेपाली कांग्रेसको केन्द्रीय सभापतिको जिम्मेवारी सुम्पिए।

सोही ऐतिहासिक जिम्मेवारी र म्यान्डेटलाई आत्मसात गर्दै वर्तमान सभापति गगन थापाको नेतृत्वमा अहिले नेपाली कांग्रेसको १५ औं महाधिवेशन सञ्चालन भइरहेको छ।

महाधिवेशनको भव्य उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति गगनकुमार थापाले २०८२ भदौ २३ गते निहत्था विद्यार्थीमाथि गोली चलाउनु तत्कालीन सरकारको गम्भीर अपराध भएको र भोलिपल्ट भदौ २४ गते देशव्यापी रूपमा सार्वजनिक सम्पत्तिमाथि विध्वंस मच्चाउनु आन्दोलनकारीहरूको दोष रहेको बताउनुभएको छ।

वि.सं. २०८२ भदौ २३ र २४ को जेन्जी आन्दोलनमा मात्रै करिब सात दर्जन नेपाली नागरिकले ज्यान गुमाए। त्यसअघि वि.सं. २०६२/०६३ को जनआन्दोलनमा नागरिक स्वतन्त्रताका लागि कैयौं सपुतहरूले रगत बगाए।

वि.सं. २०५२ देखि चलेको १० वर्षे माओवादी द्वन्द्वका क्रममा राज्य र विद्रोही दुवै पक्षबाट गरी १७ हजारभन्दा बढी नागरिक मारिए भने बेपत्ता हुनेहरूको सङ्ख्या पनि ठूलो छ।

मधेश आन्दोलनमा मधेसी जनताको अधिकार रक्षाका निम्ति थुप्रै नागरिकले सहादत प्राप्त गरे। वि.सं. २०४६ को जनआन्दोलनमा पनि उत्तिकै बलिदानी भयो

यस्तै, वि.सं. २०१७ मा राजा महेन्द्रले बीपी सरकारलाई अपदस्थ गरेपछि सुरु भएको ३० वर्षे पञ्चायती कालरात्रिमा प्रजातन्त्रका निम्ति भएका सशस्त्र तथा शान्तिपूर्ण आन्दोलनहरूमा नेपाली कांग्रेसका कति कार्यकर्ताले प्राणको आहुति दिए, त्यसको यकिन तथ्याङ्क अझै सङ्कलन हुन सकेको छैन।

नेपाली जनताको प्रजातान्त्रिक अधिकारका निम्ति जीवन बलिदान गर्ने होनहार नेपाली सपूतहरूको बलिदानको पूर्ण इतिहास लेखिन अझै बाँकी नै छ। विश्व इतिहासमै नेपाल यस्तो दुर्लभ मुलुक हो, जहाँ प्रजातन्त्र, नागरिक अधिकार र स्वतन्त्रताका लागि करिब एक शताब्दी लामो निरन्तर सङ्घर्ष भएको औपचारिक इतिहास छ।

खासगरी वि.सं. १९८० को दशकपछि नेपालमा संस्थागत रूपमै नागरिक हक र प्रजातन्त्रका लागि निरन्तर बलिदानीपूर्ण आन्दोलन हुँदै आएको छ।

(लेखक नेपाली कांग्रेसका महासमिति सदस्य हुन्।)
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस