लेखकको पारिश्रमिक कति?
०५ साउन २०६७
•
१५ मिनेट पाठ
लेखकको पारिश्रमिक कति?
जसको प्रतिभा र पसिना बेचेर नाम, दाम र शक्ति कमाइएको हुन्छ, तिनैको शोषण गर्ने काम कम्तीमा आदर्शको खेती गर्ने सम्पादक र प्रकाशकबाट हुनु हुँदैन। हालै कु्राकानीका सिलसिलामा पत्रकार विजयकुमार पाण्डेले भने, ‘विश्वास गर्न सक्नुहुन्छ? एघार वर्षअघि म नेपाल पत्रिकाको सम्पादक हुँदा स्तंभकारलाई एउटा स्तंभको दुई हजार रुपैयाँ पारिश्रमिक दिन्थेँ।
अझ चित्त बुझ्यो भने कुनै कुनै लेखकलाई पाँच हजार रुपैयाँ पारिश्रमिक पनि दिएको छु।' मैले विश्वास नगर्ने कुरै थिएन। पाण्डेले मलाई नै नेपालमा ‘भूमध्यरेखा' स्तंभ लेख्दा प्रति स्तंभको दुई हजार रुपैयाँ पारिश्रमिक दिएका थिए। त्यसपछिका यी एघार वर्षबीचमा देशमा लेखकको प्रतिभा र पसिना बेचेर कतिपय पत्रपत्रिका धेरै प्रभावशाली र प्रकाशक धेरै बैभवशाली भैसकेका छन् तर लेखकको पारिश्रमिक भने अधिकांश स्थितिमा अझै पनि दुई हजार रुपैयाँभन्दा कममै अड्किएको छ।

कुनै कुनै स्तंभकारले त्यसभन्दा अलि बढी पाउने गरेका छन् तर त्यही पनि उनीहरूको प्रतिभा सुहाउँदो छैन। उदाहरणका लागि खगेन्द्र संग्रौला देशका एकजना अग्रणी लेखक र स्तंभकार हुन्। उनका दृष्टिकोण कतिलाई चित्तबुझ्दो नहोला तर संग्रौलाको पाठकको दायरा फाराकिलो छ र त्यसले पत्रिकाको विक्री बढाउने हुनाले नै देशका प्रमुख दैनिकले उनलाई स्थान दिएका हुन्। तर गत वर्षसम्म कान्तिपुर दैनिकमा उनलाई एउटा स्तंभको पारिश्रमिक तीन हजार रुपैयाँ दिइँदो रहेछ! नेपाली संचार माध्यमसम्न्धी नेपालको एकमात्र स्तरीय जर्नल मिडिया अध्ययनको पछिल्लो अंकमा संग्रौलाले लेखेको ‘स्तंभ लेखन: एक वक्र यात्रा' मा त्यसबारे उल्लेख गरिएको छ। अर्का अग्रणी स्तंभकार सीके लालका अनुसार उनको पारिश्रमिक पनि संग्रौलाको भन्दा खासै बढी छैन।

केही समयअघि अंग्रेजी दैनिक द काठमाण्डु पोष्टको विचार पृष्टमा मुख्य आलेखका रूपमा छापिएको लेखका लागि मलाई जम्मा एक हजार रुपैयाँ पारिश्रमिक दिइएको थियो। लेख उपयुक्त नभए मुख्य आलेख बनाउँनै हुँदैन या छाप्दैछाप्नु हुन्न। तर देशको एउटा अग्रणी दैनिकको विचार पृष्टको मूल लेखका रूपमा छापिसकेपछि पत्रकारिताको अहिलेको बजारको परिप्रेक्षमा लेखकलाई एक हजार रूपैयाँ पारिश्रमिक दिनु उसको अपमान मात्र होइन, शोषण पनि हो। भनि हालौँ, यस स्तंभमा ‘लेखक' शब्दले समाचारमूलक पत्रपत्रिकामा लेख्नेलाई मात्र समेटेको छ।

यस्तो शोषण किन भइरहेको छ? यस स्तंभकारले यसका मूलरूपमा दुईवटा कारण पहिल्याएको छ। पहिलो, सम्पादकको साँगुरो सोच र दोस्रो, प्रकाशकको सामन्ती मानसिकता। विभिन्न सम्पादकसँग काम गरिसकेपछि मलाई के लागिरहेको छ भने सबभन्दा पहिले त यस मामिलामा अधिकांश सम्पादकको आँट र मुटु दुवै सानो छ। ‘यति नभईकन त हुँदै हुँदैन' भनेर प्रकाशक र व्यवस्थापकसामु आँट गरेर तर्क गर्न र लेखकको महत्व पुष्टि गर्न सक्ने सम्पादकहरू लेखकलाई राम्रो पारिश्रमिक दिलाउन सफल भएका छन्। उदाहरणका लागि आजभन्दा एघार वर्ष पहिले स्तंभकारको परिचय नबोकेको यो तथा त्यतिबेलाका अन्य लेखकलाई विजयकुमार पाण्डेले एउटा लेखका लागि दुई हजार रुपैयाँ पारिश्रमिक दिलाउन सके।

 

प्रकाशक तिनै हुन्, तर पाण्डेले ठूलो छातीका साथ आँट गरेर तर्क गर्न सके र लेखकलाई न्याय गरे। स्तंभ सुुरू गरेको करिब दुई वर्षपछि पाण्डेले एकपल्ट मलाई ईमेलमा लेखे, ‘पत्रिकाको वितरण एकदम बढेको छ। सबै कुरा राम्रो भैरहेको छ।' जवाफमा मैले उनलाई लेखेको थिएँ ‘त्यसो हो भने पत्रिकाको सफलताको फाइदा प्रकाशकले मात्र होइन पत्रिकाको सम्पादकदेखि पिउनसम्मले अनुभूत गर्न पाउनुपर्छ। पत्रिकाको सफलता बाँड्न तपाईँले मेरो पारिश्रमिक पनि बढाइदिनु भए आभारी हुने थिएँ।' सो अनुरोधबारे पाण्डे सकारात्मक नै थिए तर त्यसको केही समयपछि उनी पत्रिकाको सम्पादकबाटै हटे र मैले पनि स्तंभ लेख्न छोडेँ। पत्रकारिताको तत्कालीन बजारमा जे मलाई दिइयो त्यो साह्रै राम्रो मूल्य रहेछ भन्ने अहिले थाहा भइरहेको छ।

सम्पादकहरूले चाहे भने बढी गर्न सक्छन् भन्ने अर्को उदाहरण पनि पेस गरौँ। भूमध्यरेखा स्तंभ लेख्न छाडेको झन्डै पाँच वर्षपछि नेपाल पत्रिकामै मैले मनुज चौधरीको नाममा 'हामी नेपाली' स्तंभ सुरु गरेँ। त्यसका लागि पनि मलाई दुई हजार रुपैयाँ नै पारिश्रमिक दिइएको थियो। सम्पादकका भनाइमा सो स्तंभ पत्रिकाका पाठकमाझ अत्यन्त प्रिय थियो। मेरो सधैँको भनाइ के रह्यो भने उपयुक्त छैन भने स्थान नै नदिनु, तर उपयुक्त भए न्यायपूर्ण व्यवहार गर्नु। न्यायपूर्ण व्यवहारमा, लोकप्रिय भनेर स्वीकार गरिएको स्तंभकारलाई पाँच वर्षअघि र पछि दिइने पारिश्रमिक उही हुनै हुँदैन थियो। त्यसैले म भन्ने गर्दथेँ, ‘तपाईँहरू लेखकको प्रतिभा र पसिना बेचेर पत्रिका राम्रो बनाउने, आफ्नो र मालिकको नाम र दाम बढाउने अनि पत्रिकाका कारिन्दाको चाहिँ शोषण गर्ने? यो त हुँदै भएन।' यस्तै भनेर कचकच गर्दा, गर्दा र यस्तै तर्क गरेर एक दुईवटा लेख पनि लेखेपछि, मेरो पारिश्रमिक दोब्बर बढाएर चार हजार रुपैयाँ पुर्‍याइयो। सम्पादकले आँट देखाएर लेखकको महत्व र औचित्य पुष्टि गर्न सके भने आखिर पारिश्रमिक वृद्धि गर्न सकिँदो रहेछ भन्ने त्यो अर्को उदाहरण थियो।

वास्तविकता के हो भने राम्रा लेखक सबै राम्रा पत्रिकालाई चाहिन्छ। त्यही तथ्यलाई प्रमुख आधार बनाएर संपादकहरूले, लेखकले माग गर्नुभन्दा पहिल्यै आफैँ अगाडि सरेर ‘फलानोलाई त यति दिनै पर्छ नत्र उसमाथि न्याय हुँदैन' भनेर व्यवस्थापकसँग तर्क गर्नुपर्ने हो। तर कसैले त्यसो गरे झैँ लाग्दैन। नत्र लेखकको पारिश्रमिकको स्थिति यति दयनीय हुने थिएन। अधिकांश लेखक सामान्यतया जति दियो त्यही हात थाप्छन्। उनीहरू पैसाका बारे मोलतोल गर्न अप्टेरो मान्छन्। त्यस्तो परिस्थितिमा संपादक चाहिँ प्रकाशक तथा व्यवस्थापक सामु थोरै पैसामा राम्रो लेखकलाई आकृष्ट गरेकोमा गर्व पो गर्छन् कि? त्यतिबेला सम्पादकहरू उनीहरू जीवनभर सम्पादक रहने छैनन् र भोलि उनीहरूले लेख्दा आफैँले स्थापित गरेको न्यून पारिश्रमिक हात थाप्न बाध्य हुनेछन् भन्ने चटक्कै बिर्सन्छन्।

 

अर्कोतिर, लेखक वा पत्रकारको तलबमा त्यसरी कसेपछि सम्पादककै तलब पनि त्यही अनुपातमा कसिन्छ। छिमेकी भारत र पाकिस्तानका प्रमुख समाचार पत्रिका या संचार संस्थाका सम्पादकको मासिक तलब तथा सरसुविधा लाखौं पुगिसक्दा पनि हामीकहाँ त्यो एक, डेड लाखमै अल्झिएको छ। पछिल्ला वर्षमा उत्साहजनक ढंगबाट विकास भएको भए पनि नेपालको संचार बजारसँग ती देशको संचार बजारको तुलना हुन सक्तैन तर तलबमानलाई समानुपातिक ढंग र पत्रिकाले गर्ने नाफाका आधारमा भने अवश्य हेर्न सकिन्छ। त्यसैले, आँट र मुटु नभएका संपादकका कारण उनीहरू स्वयंको मात्र शोषण भइरहेको छैन, लेखकको पनि शोषण भइरहेको छ। नेपालका केही प्रमुख संचार संस्थाले जुन हिसाबको प्रभाव, प्रतिष्ठा र अर्थ आर्जन गरेका छन् त्यसलाई हेर्दा तिनका सम्पादकको तलब त कतिपय निजी बैंकका प्रमुख कार्यकारी अधिकृतको तलब समान हुनुपर्ने हो।

 

त्यसो भन्यो भने ती संचार संस्थाले ‘हामीले बैंकले जस्तो पैसा कमाएको छ र?' भन्लान्, तर प्रभावशाली संचार संस्थाको शक्तिको पनि मूल्य हुन्छ र त्यसमा सबभन्दा ठूलो भूमिका सम्पादककै रहन्छ। सम्पादकहरूले लेखक र आफ्ना पत्रकार सहकर्मीप्रति ठूलो छाती राखे भनेमात्र व्यवस्थापकहरू पनि सम्पादकहरूलाई अलि उदार व्यवहार गर्न बाध्य हुनेछन्। तर दुःखको कुरा, लेखकको पारिश्रमिकलाई आधार मानेर भन्ने हो भने यहाँका सम्पादकको मुटुलाई अधिकांश स्थितिमा दुई, तीन हजार रूपैयाँले नै बाँधिराखेको छ। यस्तो स्थितिमा मजस्ता अरू जागिर भएकाहरूलाई त खासै फरक नपर्ला तर लेख र स्तंभ लेखेर जीवन गुजारा गर्नेको हालत के होला स्वतः अनुमान लगाउन सकिन्छ।

सम्पादककै मानसिकता साँगुरो भएपछि प्रकाशकहरू त झन् के कम! पत्रकारको तलब बढाउन सक्ने स्थिति नै छैन भनेर सँधै तर्क गर्ने केही मालिकले उनीहरू संलग्न देशको सबभन्दा ठूलो प्रकाशन गृह फुट्दा रातारात पत्रकारको तलब दोब्बरभन्दा बढीले वृिद्ध गरे। यसबाट पत्रकार तथा लेखकलाई शोषण गरेर मालिकहरू कति धेरै धनी भएका रहेछन् भन्ने पनि छताछुल्ल हुन गएको देखियो। त्यति ठूलो संख्यामा कर्मचारीको तलब एकैचोटि बढाउँदा पनि अझ ती नाफामै छन् त! भन्नेले भन्लान्, ‘हामीले बाँधेर राखेका छौँ र?

 

चित्त नबुझे छोडेर गए भैहाल्यो नि!' भनेर तर त्यसरी कर्मचारीको बाध्यताको फाइदा उठाउने मानसिकतालाई सामन्ती प्रबृत्ति भनिन्छ। त्यस्तै प्रबृत्ति रहेका कारण माओवादीले कयौं ठाउँमा बबन्डर मच्चाएपछि मात्र कर्मचारीको सेवासुविधामा सुधार गरिएको धेरैलाई अवगतै छ। दुःखको कुरा, स्वतन्त्र लेखक तथा स्तंभकारहरू प्रकाशन गृहका कर्मचारी नभएको हुनाले तिनका लागि बोलिदिने कोही पनि हुँदैन। कि, त्यसका लागि उनीहरूले पनि ‘लेख र स्तंभ हडताल'को आयोजना गर्नुपर्ने हो? वा, प्रकाशन गृहहरूमा बबण्डर मच्चाउँदै माओवादीले झै हिंसाकै सहारा लिनुपर्ने हो?

 

होइन भने, सम्पादक तथा प्रकाशकहरूले यसबारे गम्भीर ध्यान दिनुपर्ने बेला आइसकेको छ। फेरि भनौं, जसको प्रतिभा र पसिना बेचेर नाम, दाम र शक्ति कमाइएको हुन्छ, तिनैको शोषण गर्ने काम कम्तीमा आदर्शको निरन्तर खेती गर्ने सम्पादक र प्रकाशकबाट हुनु हुँदैन।

 
अर्को समाचार
सम्पादकीय सन्तुलन
१० साउन २०६७
•
११ मिनेट पाठ
सम्पादकीय सन्तुलन
यस स्तम्भको अगिल्लो लेख, ‘लेखकको पारिश्रमिक कति?' (१५ साउन), प्रकाशित भएको भोलिपल्ट त्यस लेखका सम्बन्धमा यस दैनिकका प्रधान सम्पादकबाट यसरी क्षमा याचना गरियोः ‘बुधबार पृष्ठ ६ मा रवीन्द्र मिश्रको ‘नितान्त व्यक्तिगत' शीर्षक अन्तर्गत प्रकाशित लेखमा अरू पत्रिकाको आलोचना छापिएकोमा हामी क्षमा चाहन्छौँ।
अरू संचार गृहप्रति लाञ्छना लगाउने कुनै नीति नभएको पनि स्पष्ट पार्छौं।' पारिश्रमिक सम्बन्धी लेखले जुन किसिमको प्रतिक्रिया जन्मायो त्यसबाट मेरो मनमा सम्पादकीय सन्तुलनको महत्वका बारे केही धारणा सल्बलाउन थाले। तिनलाई खासगरी संचारकर्मी र संचारसँग सरोकार राख्ने पाठकसँग बाँड्नु उपयुक्त सझेको छु।

यस लेखको मूल उद्देश्य सम्पादकले क्षमा याचना गर्ने परिस्थिति कहाँबाट आयो र त्यस्तो परिस्थितिलाई कसरी न्यून गर्न सकिन्छ भन्ने चर्चा गर्नु हो। त्रुटिपूर्ण र असन्तुलित ठानिएका लेख र समाचारको जन्म जहाँबाट हुन्छ कुरा त्यहिँबाट थालौँ। लेखकले विशेषगरी 'तथ्य' र 'सन्तुलन' मा अत्यधिक ध्यान दिनुपर्ने हुन्छ। कहिलेकाहीँ मानिसहरू 'तथ्य'लाई 'सत्य'को पर्यायका रूपमा हेरिदिन्छन्। तथ्य निरपेक्ष हुन्छ भने सत्य सापेक्ष हुन्छ। पत्रकारले सत्यको होइन, तथ्यको खोजी गर्दछ।

 

तथ्यको आधारमा मानिसले आआफ्ना दृष्टिकोण र बुझाइअनुरूप सत्य पहिल्याउने प्रयास गर्छन्। ‘तथ्य'ले हरेक समाचार र हरेक दृष्टिकोणमा समान र अकाट्य महत्व राख्छ। पत्रकारितामा तथ्यगत त्रुटि अपराध नै हो। त्यसैले तथ्यलाई दोहोर्‍याएर, तेहेर्‍याएर हेर्नुपर्ने हुन्छ। तर 'सन्तुलन'ले भने हरेक ‘समाचार'मा उच्च महत्व राखेपनि हरेक 'दृष्टिकोण'मा त्यित्तकै उच्च महत्व नराख्न सक्छ। तथ्यलाई समाचार र दृष्टिकोणै पिच्छे केलाएर हेरिन्छ भने सन्तुलनलाई एउटा निश्चित् समयावधि र निश्चित् परिप्रेक्षमा राखेरमात्र मूल्यांकन गर्नु उपयुक्त हुन्छ। कुनै पनि स्तम्भकार आफ्नो दृष्टिकोणमा कति सन्तुलित छ र उसले कसैको गुणैगुण र कसैको दोषैदोषको मात्र चर्चा गरिरहेको छ कि भन्ने बुझ्न उसको एउटा होइन कयौं लेख पढ्नुपर्ने हुन्छ।

 

तर पत्रकारिताको नैसर्गिक चरित्र नै कस्तो छ भने त्यसले उज्यालोभन्दा अँध्यारोलाई बढी कोट्याउँछ। नकोट्याइएको अँध्यारो कोट्याउन पत्रकारिता बढी लालयित हुन्छ। त्यसैको परिणामस्वरूप पछिल्लो समयमा मैले आफ्ना कतिपय लेखनलाई संचार माध्यमको आलोचनामा केन्द्रित गरेको छु। किनभने, देशका सबै संस्थाको नकारात्मकतामाथि निरन्तर प्रहार गर्ने संचार माध्यममा रहेका नकारात्मकताका बारे भने मूलधारको प्रेसमा चर्चै नहुने रहेछ। हाम्रो पेसाको चरित्रका कारण प्राप्त उँचो मञ्चमा उभिएर हामी सबैको आलोचना गर्दारहेछौँ तर आफ्नो आलोचना चाहिँ कसैले नगरिदेओस् भन्ने चाहँदा रहेछौँ।

 

त्यस्तो विडम्बनाको अन्त्य हामी सबैको हितमा छ तर त्यस्तो आलोचना पूर्णतः पेसागत र पूर्वाग्रहरहित हुनुपर्छ। सोही दृष्टिकोणका कारण, सन्दर्भअनुरूप मैले जसको आलोचना गरेको छु, तिनकै छाती खोलेर प्रशंसा गरेको छु र जसको प्रशंसा गरेको छु, सन्दर्भ परिवर्तन हुँदा तिनकै कम्मर कसेर आलोचना पनि गरेको छु। त्यसरी आलोचना गर्दा, आफ्नो दृष्टिकोणप्रति रहेको असहमति सम्बन्धमा मेरो कुनै गुनासो रहँदैन।

 

लेखकले यी सबै पक्षमा विचार पुर्‍याउँदा पुर्‍याउँदै पनि गल्ती गर्न सक्छ। त्यस गल्तीलाई औँल्याउने र सुधार्ने काम सम्पादकीय कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने दोस्रो पक्ष अर्थात् सम्पादकको हुन्छ। तर सम्बन्धित सम्पादकले क्षमा माग्नु परेको मेरो गत साताको लेखका हकमा भने उनीभन्दा बढी म दोषी छु। त्यस लेखमा मैले समष्टिगतरूपमा नेपालका ठूला प्रकाशन गृहका सबै प्रकाशक र सम्पादकको आलोचना गरेको थिएँ। तर खासगरी सिके लाल र खगेन्द्र संग्रौलाजस्ता अग्रणी स्तम्भकारलाई, मेरा दृष्टीकोणले, उचित पारिश्रमिक नदिइएको भन्दै सो लेखमा मैले यसै दैनिकको कडा शब्दमा आलोचना गरिको थिएँ।

 

भइदियो के भने, आफ्नै स्तम्भकारमाथि अन्याय गरेको भन्दै प्रकाशकहरूलाई 'धिक्कार छ' भनि गरिएको टिप्पणी छाप्नु अनुपयुक्त हुन्छ कि भन्ने जानकारी मलाई गराइयो, जुन स्वाभाविक थियो। 'त्यसोभए ठिकै छ नि त, ती स्तम्भकारहरुको नाम आइहाल्छ, पाठकले ती नागरिक दैनिककै स्तम्भकार हुन् भन्ने बुझिहाल्छन् र त्यसमा पनि मेरो लेख त सबै प्रकाशक र सम्पादकका बारेमा हो, त्यसैले नागरिकको आलोचनामा लेखिएको एउटा वाक्य झिके पनि दिन खोजेको सन्देश गइहाल्छ' भन्ने मेरो निष्कर्ष रह्यो। त्यसैले मैले सम्पादकलाई आपीत्तजनक लागेको अंश हटाउने मन्जुरी दिएँ, जुन स्पष्टतः मेरो गल्ती थियो। मेरो सम्पादकीय तन्तुले यस पत्रिकाको प्रकाशन गृहको आलोचनाको अंश हटाउने बित्तिकै लेखमा नाम किटान गरिएको अर्को प्रकाशन गृहविरुद्ध मात्र मैले प्रहार गर्न खोजेजस्तो देखिन्छ भन्ने थाहा पाउनु पर्थ्यो।

 

अनि मैले 'सो लेख या त छाप्दै नछापौँ, छाप्ने हो भने यस पत्रिकाको आलोचना गरिएको वाक्यसहित छापौँ' भन्नुपर्थ्यो। सायद, त्यही नभन्दा, भोलिपल्ट सम्पादकले क्षमा माग्नु पर्‍यो र यस लेखकको कुनै दूराग्रह र पूर्वाग्रह नभए पनि एउटा निश्चित् प्रकाशन गृहप्रति मात्र लक्षित देखिन गएको सो लेखबारे आफैंले दोषी महसुस गर्नुपर्ने स्थिति सिर्जना भयो। तर विषय क्षमा याचनामा सीमित रहेन। त्यसैसँग सम्बन्धित घटनाक्रममा मैले पहिले मनुज चौधरीको छद्म नाममा ‘हामी नेपाली' शीर्षकको स्तम्भ लेख्ने गरेको पत्रिकाले पुनः सोही नाम र सोही शीर्षकको स्तम्भ सुरु गर्‍यो। पुरानै नामहरूबाट सुरु भएको नयाँ स्तम्भको लेखक भने म होइन।

अनायासै सिर्जित यस परिस्थितिको स्पष्टरूपमा तीन वटा पाठ लिन सकिने मैले ठानेको छु। पहिलो, बदनियत नहुँदा, नहुँदै संवेदनशील विषयमा लेखिएको सामग्री सानो गल्तीले गर्दा सहजै असन्तुलित देखिन र सम्पादकले क्षमा नै माग्नुपर्ने स्थिति आउनसक्दो रहेछ। दोस्रो, र अझ महत्वपूर्ण शिक्षा के हो भने, आफूबारे असन्तुलित दृष्टिकोण छापिँदा त्यति पीडा हुँदोरहेछ भने अरूका बारेमा कयौंपल्ट तथ्यगतरूपमैं त्रुटिपूर्ण समाचार छाप्दा सम्बन्धित पक्षलाई कति पीडा हुँदोहोला भन्ने सहजै अनुमान लगाउन सकिन्छ। यो तथा अन्य प्रमुख राष्ट्रिय दैनिकमा व्यक्ति र संस्थाका बारे गलत समाचार छापिएका थुप्रै उदाहरण छन्, जसबारे बिरलै क्षमायाचना गरिएको छ।

 

तेस्रो तथा अन्तिम शिक्षा के हो भने, हामीकहाँ सानोको त कुरै छोडिदिउँ ठूला प्रकाशन गृहमा समेत आफ्ना पत्रकार, सम्पादक र लेखकका लागि बेलाबखत गर्नैपर्ने सम्पादकीय तालिमको व्यवस्था छैन। यसले सबैलाई आफ्नो काममा चुस्त राख्न मद्दत पुर्‍याउँछ। त्यस्तो तालिमको आर्थिक भार त्यति ठूलो पनि नहुन सक्छ तर त्यसले पत्रिकाको स्तर र साख बढाउन तथा गएको मेरो लेखमा देखिएजस्तो असन्तुलन एवं दिनदिनै जसो पत्रत्रिकामा देखिने मानहानीपूर्ण र तथ्यगतरूपमा गलत समाचार तथा लेखाइ न्यून गर्न ठूलो सहयोग पुर्‍याउन सक्छ।

 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस