द्वन्द्वोत्तर समाजको स्थायित्व, कानुनी शासनको सुनिश्चितता र गतिवान् सरकारको सन्देश प्रवाह गर्न नागरिक सुरक्षाको भूमिका महत्वपूर्ण हुन्छ। नागरिक सुरक्षाको सुनिश्चितताका लागि मानवअधिकारको संरक्षण, सुशासनका मापदण्डको पालना, अपराधिक गतिविधिको नियन्त्रण, दण्डहीनताको अन्त्य र सुरक्षा तथा न्यायसंँग सम्बन्धित निकायको जवाफदेहिता तथा प्रभावकारिता जरुरी हुन्छ।
सर्वसाधारण नागरिक नडराई बाँच्नसक्ने वातावरण तयार नभएसम्म र तिनको सुरक्षाका लागि राज्यले उपयुक्त कदम नचालेसम्म शान्ति प्रक्रियाको सफलता एवम् लोकतान्त्रिक शासन पद्धतिको संस्थागत विकास असम्भव हुन्छ।
देशमा सुरक्षा स्थिति कमजोर हुँदै गएको छ। द्वन्द्वोत्तर समाजमा देखापर्ने आपराधिक गतिविधिको नियन्त्रण, नागरिक सुरक्षाको सुधार, कानुनी शासनको प्रत्याभूति, सीमावारपार अपराधिक गतिविधिमा निगरानी र साना हातहतियारको तस्करी तथा कारोबारमा बन्देज लगाउनेजस्ता काममा राज्य प्रभावकारी हुन सकेको छैन। हत्या, हिंसा, अपहरण, फिरौतीजस्ता गम्भीर प्रकारका अपराधिक गतिविधिमा संलग्न गैरकानुनी समूहका अपराधी गतिविधि विधिसम्मत तरिकाले नियन्त्रण गर्न र सशस्त्र समूहलाई कानुनको दायरामा ल्याउन सकिएको छैन। तर सस्तो प्रचारका लागि अपराधी समूहलाई वार्तामा बोलाउने र सम्झौतामार्फत् समस्या समाधान खोज्ने प्रवृत्तिले देशमा अपराधीलाई राजनीतिक आवरणमा उन्मुक्ति दिने र दण्डहीनताको संस्थागत विकासमा सहयोग पुर्याएको छ।
राजनीतिक समस्याको समाधान निश्चित्रूपमा वार्ताकै माध्यमबाट गरिनुपर्दछ तर राज्यले आपराधिक गतिविधिलाई नियन्त्रण गर्ने र कानुनको दायरामा ल्याउने सबालमा भने कुनै पनि प्रकारको सम्झौता गर्नुहुँदैन। राजनीतिक आवरणमा संचालित अपराधिक समूहलाई वार्ताका माध्यमबाट राजनीतिक मूलधारमा ल्याउने प्रयास गर्दा देशमा असुरक्षा, अस्थिरता एवं हिंसात्मक गतिविधि दुरुत्साहित र वृद्धि हुने जोखिम पनि बढ्छ। तत्कालीन समस्या पन्छाउने नाममा संचालन हुने यस्ता वार्ताले कानुन कार्यान्वयन निकायको मनोबलमा नकारात्मक प्रभाव पार्छ भने आपराधिक समूहलाई राजनीतिक आडमा पुनः संगठित हुने मौका दिन्छ। साथै तिनका गैरकानुनी तथा अपराधी गतिविधिलाई वैधानिकता पनि प्रदान गर्छ।
सामान्य नागरिक देशमा खस्कँदो सुरक्षा स्थितिप्रति चिन्तित छन्। केही समय यता द्वन्द्वोत्तर समयमा देखापर्ने अमानवीय, हिंस्रक तथा गम्भीर प्रकृतिका अपराध भएकाले सर्वसाधारण नागरिकलाई आतंकित बनाएको छ। राजधानीको बसुन्धारास्थित इसान बाल अस्पताल अगाडि कार बम विस्फोटन, चितवनस्थित भरतपुर क्यान्सर अस्पतालका निर्देशक डा. भक्तमान श्रेष्ठको रहस्मय अपहरण, जनकपुरमा भएका शृंखलावद्ध हत्या र वीरगञ्जमा हिन्दु युवा संघका अध्यक्ष काशीनाथ तिवारीको हत्याका साथै बाँके, म्याग्दी, पर्वत, संखुवासभा, दोलखालगायतका जिल्लामा गाविस सचिवबाट संयुक्त जातीय मुक्ति मोर्चाको धम्कीका कारण दिइएको सामूहिक राजीनामाआदि घटनाबाट नेपालमा नागरिक सुरक्षाको स्थिति कमजोर भएको साबित हुन्छ। राजनीतिक संरक्षणमा संचालित आपराधिक समूहका गतिविधिबाहेक खुला सीमाका कारण सजिलै हुने साना हातहतियारको तस्करी, व्यापार तथा उपलब्धताले गर्दा नेपालले विश्वमै असुरक्षित राष्ट्रको सूचीतिर फड्को मारेको छ।
अपराधीले राजनीतिक संरक्षण पाइरहने हो भने संक्रमणको अवधि थप असुरक्षित, अस्थिर र अनिश्चित हुनुका साथै हिंसात्मक हुने ठूलै जोखिम रहन्छ।
द्वन्द्वोत्तर मुलुकमा राजनीतिक परिवर्तनको संस्थागत विकास र राज्यको रूपान्तरणलाई चुनौति दिने नयाँ प्रकारका सुरक्षा तथा कानुनी शासनसँग सम्बन्धित जोखिम देखा पर्छन्। कानुन कार्यान्वयन निकाय विशेषतः नेपाल प्रहरीजस्ता संस्था राजनीतिक सहयोगको कमी, अस्पष्ट तथा विवादास्पद निर्देशन, संस्थागत, नीतिगत तथा कार्यगत स्वतन्त्रताको अभाव र साधनस्रोतका अपर्याप्तता कारण अन्योलमा पर्छन्। कानुन कार्यान्वयन तथा अपराध अनुसंधानको जिम्मेवारी भएका निकायमा राजनीतिक हस्तक्षेप भएमा वा स्वतन्त्रपूर्वक संचालन हुनुपर्ने अनुसन्धानमा अवरोध खडा भएमा 'अपराधको राजनीतिकरण' भएर "राजनीतिको अपराधीकरण" हुन्छ। हिंसा पुनः चर्क्यो भने र कानुन कार्यान्वयन निकाय प्रभावकारी भएनन् भने मुलुकमा अराजकता तथा कानुनवीहिनताको जोखिम उत्पन्न हुन्छ।
शान्ति सम्झौतामा हस्ताक्षर र संविधानसभा निर्वाचनपछि नेपालले शान्ति तथा सुरक्षाको व्यवस्थापन, कानुनी शासनका मान्यताको कार्यान्वयन र नागरिक सुरक्षाको प्रत्याभूतिमा व्यापक चुनौतीको सामना गर्नुपरेको छ। सशस्त्र समूहका गतिविधिबाट तराईका अधिकाश जिल्ला प्रभावित भएका छन् भने सीमा क्षेत्रमा भारतको केन्द्रीय तथा राज्य सरकारका तर्फबाट अपराधिक गतिविधिविरुद्ध विशेष अभियान संचालन गरेका कारण त्यस क्षेत्रमा सक्रिय अपराधी लुक्नका लागि नेपालभित्र आउने र अपराधी गिरोहको सम्पर्कमा पुग्ने गरेका छन्। साथमा देशमा बढ्दो जातीयता, क्षेत्रीयता तथा साम्प्रदायिकताका कारण सशस्त्र तथा अपराधी समूहका गैरकानुनी गतिविधिलाई राजनीतिकरण गर्न मद्दत पुर्याएको छ। यी सबै अहिले देशमा असुरक्षा तथा अस्थिरताका मुख्य कारकका रूपमा देखा परेका छन्।
निवर्तमान सरकारले दण्डहीनताको अन्त्य तथा मानवअधिकार संरक्षणको सिद्धान्तका आधारमा शान्तिसुरक्षाको स्थितिमा सुदृढ गर्न विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको थियो। संगठित अपराध तथा अपराधी गिरोहका गतिविधिलाई नियन्त्रण गर्ने महत्वाकांक्षी योजना पर्याप्त जनशक्ति तथा साधनस्रोतको अभावमा उद्देश्य प्राप्ति गर्न असमर्थ भयो। फलस्वरूप, राज्यले सर्वसाधारण नागरिकलाई गैरकानुनी तथा अपराधी गतिविधि नियन्त्रणमा प्रतिबद्ध रहेको सन्देश प्रवाह गर्न सकेन। तैपनि, विशेष सुरक्षा योजनाले नेपाल प्रहरीलगायत कानुन कार्यान्वयन निकायको मनोबल बढाउन सहयोग पुर्याएको छ। यस्तै, हड्ताल, चक्काजामजस्ता गतिविधिमा कमी आएपनि सीमा वारपार तथा संगठित अपराधी गिरोह र राजनीतिक आवरणका सशस्त्र समूहका अपराधी गतिविधि नियन्त्रण गर्न सफल भएन।
द्वन्द्वोत्तर समाजमा शान्ति, विकास र निर्माणका लागि नागरिक सुरक्षाको प्रत्याभूति अत्यावश्यक हुन्छ। शान्ति प्रक्रियाको निकास, संविधान निर्माण प्रक्रियाको सफलता, मानवअधिकारको संरक्षण, संक्रमणकालबाट सुरक्षित अवतरण, दीगो शान्ति र कानुनी राज्यका आधारको तयारीका निम्ति पनि सुरक्षा नै चाहिन्छ। यसैले अन्तर्राष्ट्रिय समुदायलाई लगानी तथा आर्थिक सहयोगका लागि उत्प्रेरित गर्ने वातावरण बनाउन सघाउँछ भने आर्थिक उन्नतिका आधार तयार गर्छ।
सर्वसाधारण नागरिकबाहेकका अरू सरोकारवाला पनि सुरक्षाका सबालप्रति सचेत रहनुपर्छ। आधारभूतरूपमा जनताको सुरक्षा र शान्ति सुव्यवस्थाको व्यवस्थापनका लागि सरकार जिम्मेवार भएपनि राज्यका कानुन कार्यान्वयन निकायका सकारात्मक प्रयासलाई सम्पूर्ण नागरिकले समर्थन तथा सहयोग गर्नुपर्छ। अपराधको प्रकृति जटिल बन्दै गएअनुसार शान्ति सुरक्षा तथा अपराध अनुसन्धानका लागि जिम्मेवार निकाय नेपाल प्रहरीलाई सक्षम तथा सबल पारिनुपर्छ भने आवश्यक राजनीतिक सहयोग र पर्याप्त मानव तथा भौतिक साधनस्रोतको व्यवस्था गरिदिनुपर्छ।
संस्थागत तथा व्यक्तिगत क्षमताको अभावमा द्वन्द्वोत्तर समाजमा गम्भीर अपराधको सामना गर्न र नागरिकलाई सुरक्षाको अनुभूति गराउन सकिँदैन। गम्भीर तथा संगठित अपराध नियन्त्रणसम्बन्धी निर्णय लिने समयमा निष्पक्षता, जवाफदेही र जिम्मेवारीको सिद्धान्तका आधारमा नेपाल प्रहरीको दीर्घकालीन प्रभावकारिताका लागि संस्थागत तथा कार्यगत स्वतन्त्रतासम्बन्धमा गम्भीररूपमा सोचिनु पर्ने देखिन्छ।
राज्यका सुरक्षा संयन्त्रको प्रभावकारिता कम भएमा र नागरिक सुरक्षामा जोखिम देखा परेमा देश असफल राज्यतर्फ उन्मुख भएको मानिन्छ। देशलाई संभावित राजनीतिक अस्तव्यस्तताबाट जोगाउन, हिंसाबाट सुरक्षित राख्न र नागरिक सुरक्षा तथा कानुनी शासनको अवस्थामा सुधार ल्याउन सरकार तथा अरू सरोकारवालाबीच सहकार्य आवश्यक हुन्छ। यसैले, आगामी सरकारले नागरिक सुरक्षा तथा कानुनी शासनको सुदृढीकरण, शान्ति प्रक्रियाको निष्कर्ष, संविधान निर्माण र विकासका लागि उपयुक्त वातावरण निर्माण गर्ने हो भने नागरिक सुरक्षालाई प्राथमिकता दिनुपर्छ।