ककसको सकस
१४ असार २०७५
•
१४ मिनेट पाठ
ककसको सकस
संघीय संसद्मा विभिन्न समूह र समुदाय मिश्रित ककस गठनमा कडाइ गरिएको छ। यसअघि गठन भएको महिला सांसदको ककसले महिलामैत्री कानुन ल्याउन सहयोग गरेको दाबी पूर्व सांसद र अधिकारकर्मीहरू गर्छन् । यसपाला सरकार र त्यसको व्यवस्थापन गर्ने संसद््मा सत्तापक्षविरुद्ध आवाज उठाउन नदिने उद्देश्य राखिएको छ । जसका लागि सरकारको नेतृत्व गरिरहेका दलका शीर्ष नेताहरूबीच नै ककस गठन गर्न नदिने सहमति भएको छ । जसको असर आधा आकाश ढाकिएको महिलामाथि परेको महिला सांसदहरूले जगजाहेर गरेका छन्।




सांसद अन्जना विशंखेले एक कार्यक्रममा मुखै खोलेर ककसमा बन्देज लागेकामा गुनासो पोखिन् । ‘आफ्नै पार्टीको सरकारसँग ककसको माग राख्दा पनि आलोचित हुनुप¥यो,’ उनको भनाइ थियो, ‘संसद्मा महिला सांसदको बहुमत नरहँदा अत्यावश्यक मानिएका विषयमा पनि सहमति जुटाउन नसक्ने भएका छौँ।’ उनले भनेझैँ आफ्ना भावना एकीकृत गर्न, पहिचानको सुनिश्चितता गर्न, समन्यायको अवस्था सृजना गर्न र राज्य संरचनाको तल्लो तहमा रहेकालाई माथि उठाउन एउटा लुज फोरम दिनु व्यावहारिक रूपले सही जस्तो देखिन्छ । समान आवश्यकताका विषयमा आपसमा परामर्श गरेर समान आवाज संसदमा पुग्दा त्यसले सकारात्मक निर्णयका लागि पहल गर्ला । केही निर्णय पारित पनि होलान्। त्यसले तात्कालिक रूपमा सकारात्मक परिवर्तन सम्बन्धित समुदायका लागि पु-याउला। दलित जनजाति सांसदको ककसले दलित र जनजातिका मुद्दा, मधेसी ककसले मधेसका आवश्यकता अनि महिला ककसले महिलाका आम विषयलाई राज्य संरचनामा पुनःस्थापित गर्ने बाटोमा अघि बढ्न पनि सघाउला । ककसको बहसबाट जन्मेको एउटा उदाहरण महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा नियन्त्रण गर्ने ऐन नै हो । ककसको प्रयोग पहिलो पटक दक्षिण अमेरिकामा सन् १७६३ मा भएको अनुमान छ । ककसलाई कुनै समूहको जमघट, बैठक, सभा वा सेसनका नामले पनि विभिन्न मुलुकमा चलाइने गरेको पाइन्छ।

सन् १७८८ मा एउटा राजनीतिक क्लबका रूपमा अमेरिकामा प्रयोग भएको थियो । त्यसपछि नै अन्य मुलुक बेलायत, क्यानडा, भारतमा यस शब्द र कामको अभ्यास भएको मानिन्छ। नेपालमा भने विसं २०५८ मा पहिलो पटक महिला सभासद्को ककस गठन भएको इतिहास छ।

२०६५ सालताका भने महिला सभासद्सहित आदिवासी जनजातिको पनि ककस गठन भएको थियो । तर महिलाको ककसलाई संसदभित्रै स्थान दिइए पनि आदिवासी जनजातिको ककस भने संसदबाहिर स्थापना भएको थियो।

ककस गठन गर्ने सकसतिर लाग्नुभन्दा दलभित्रै महिला प्रतिनिधित्व र महिला मुद्दा बलियो बनाउनेतर्फ लाग्नु दीर्घकालीन उपाय हुनसक्छ।

तर संसदमा सबैको पहुँच पु-याउने त्यो दिगो विकल्प भने हैन । राजनीतिक सत्तामा पहुँच नपुगेका महिला, आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिमलगायतका वर्गको उत्थान गर्न संसदमै उनीहरूको बहुमत पु-याउनुको विकल्प छैन।

संसदीय व्यवस्था भएका मुलुकमा मुद्दालाई बलियो पार्न र दबाब दिन ककसमा छलफल गरिने अन्तर्राष्ट्रिय चलन पनि छ । नेपालको संसदीय अभ्यासमा महिलाका हितका लागि संसद्ले ककसलाई मान्यता दिए पनि त्यो संसद् चलुन्जेलका लागि मात्र अस्तित्वमा रहेको सत्य हो। राजनीतिक परिवर्तनसँगै नयाँ निर्वाचन, नयाँ सरकार हुने अवस्था आउँछ । तब ककसमा बाँधिएका फरक दलका फरक सांसदको मत ककसभन्दा माथि पार्टीको विचारमै केन्द्रित हुनु अर्को सत्य हो । जसले वैधानिक हितका लागि भनिएको ककसको अस्तित्वलाई समेत निमिट्यान्न पारिदिन्छ । त्यसैले ककसलाई अन्तिम विकल्प मानेर संसद््मा लडाइँ गर्नु बुद्धिमानी हैन । आफ्ना हित स्थापित गर्न दलीय संरचनाभित्रै आवाज बुलन्द गर्नु जायज हुन्छ । जबसम्म कुनै पनि दलभित्र महिला, जनजाति, दलित, मधेसी, मुस्लिमलगायतका समुदायलाई माथि उकास्नुपर्छ भन्ने लिखित प्रतिबद्धता कार्यान्वयन गरिँदैन, तबसम्म अस्थायी रूपमा गठन भएका ककसले नेपाली समाजमा समन्यायको दीर्घकालीन अवस्था सिर्जना हुनै सक्दैन । दलीय संरचनाभित्रै कमजोर वर्गको पहुँच नपुगेसम्म हरेक राजनीतिक दलले दबाबमा गठन भएका ककसलाई दल, नेता र सत्ताकै विरुद्धको सकसका रूपमा मान्नेछ ।

कमजोर वर्गले यतिबेला ककसको बहस जसरी चलाइरहेका छन् । त्यसरी नै पार्टीभित्र ती वर्ग र समुदायका पक्षमा जनमत सिर्जना गर्न सक्नुपर्छ । नत्र ककसले सशक्तीकरणका लागि काम गर्ने सीमित वर्गलाई केही बिजनेस देला तर जसले पाउनुपर्ने हो उनीहरूले हक अधिकार पाउँदैनन्।

संसदमा ककस गठन गर्नु त्यति सहज पनि छैन । व्यवस्थापिका संसदको नियमावलीमै ककस गठन गर्न पाइने वा नपाइने उल्लेख गर्नुपर्ने हुन्छ । ककस एउटा लुज फोरम भएकाले यो संसदकै मातहतमा गठन गर्नुपर्छ भन्ने छैन। लुज फोरममा बाहिर बसेर छलफल गरेर संसदमा एकैमतमा बहस गर्न गर्दा बेस हुन्छ। त्यसका लागि राज्यको स्रोत साधन प्रयोग गर्नुपर्छ भन्ने छैन भन्ने विज्ञहरू पनि अर्कातिर छन्। राज्यले विभेद ग-यो भन्दैमा राज्यकै स्रोत साधन सकाउने र राज्यको विरोध गर्नुभन्दा मूल निकाय राजनीतिक दलभित्रै पहिले आफ्नो हक अधिकार सुनिश्चित गर्दा राम्रो हुन्छ। राज्यका निकायले पनि राजनीतिक दललाई कमजोर वर्गको हित सुरक्षा गर्न बाध्यकारी नियम कानुनको पालना गराउन सक्नुपर्छ । जसले एक वर्गको मात्र हित गर्ने विधि सिर्जना गर्न रोक लगाउन सक्छ।

राजनीतिक दलमा पहुँच बढाउने उपाय

निर्वाचन आयोगको लैंगिक तथा समावेशी रणनीति २०७१–२०७६ अनुसारको प्रावधान दलभित्र पालना गर्न लगाएमा मात्र पनि केही सुधार हुन्छ।

जसअनुसार लैंगिक समानता र समावेशीकरणले महिला र पुरुष तथा विभिन्न उत्पीडित समूहका बीचको असमान शक्ति सम्बन्धलाई सम्बोधन गर्छ । तीबीचको सन्तुलित सम्बन्धमा जोड दिन्छ। सबैलाई उनीहरूको सामाजिक पहिचान, समान अधिकार, अवसर र सम्मान सुनिश्चित गर्न सघाउँछ।

त्यस्तै कुनै पनि संस्थाको आन्तरिक संरचना, कार्यक्रम तथा परियोजनाहरूमा कसरी महिला र सीमान्तीकृत समूहहरूलाई एकीकरण तथा समावेश गरिएको छ भन्ने विश्लेषण गर्छ।

साथै संगठनभित्र लैंगिक समानता, महिला सशक्तीकरण, जातीय विविधता, सबै जातजातिको अर्थपूर्ण सहभागिता, अपांगता भएका  व्यक्तिहरूको समावेशीकरण र कार्यस्थलमा उपयुक्त वातावरणजस्ता विषयहरूलाई प्रोत्साहित र निरुत्साहित गरेको पहिचान पनि गर्छ । सही रूपमा यस अवधारणाको अवलम्बन गर्ने हो भने लैंगिक मूल प्रवाहीकरण तथा समावेशीकरणबाट प्राप्त सिकाइलाई संगठनमा समाहित गर्दै लैजाने बाटो देखाउँछ। फलस्वरूप बहिष्करणमा परेका समुदायले समान रूपमा लाभ लिन सक्छन्।

व्यावहारिक प्रयासस्वरूप सानाको तुलनामा ठूला दलमा निर्वाचन क्षेत्र र चुनावमा उठ्ने उमेद्वारको संख्यामा महिलाको सहभागिता वृद्धि गरेर पहुँच बढाउन सकिन्छ। हाल कायम रहेको ३३ प्रतिशत सहभागिताको अवधारणालाई ठूला दलको हकमा ५० प्रतिशतसम्म पु-याउन दलभित्रै कसरत गर्नु पर्नेछ । वडास्तरमा समेत महिला नेतृत्व वृद्धि भइसकेको स्थितिमा केन्द्र, संघ, प्रदेश तथा स्थानीय तहमा दलीय प्रतिनिधित्वमा महिलाको संख्या बढाउन गाह्रो छैन । व्यक्तिगत पहुँचमा वा भनसुनको हिसाबले समानुपातिक सिट लिनुभन्दा प्रत्यक्षमै लड्ने अभ्यास र वातावरण सिर्जना गर्नुपर्छ ।

गत वर्ष सम्पन्न भएको स्थानीय, प्रतिनिधिसभा र राष्ट्रिय सभाको चुनावबाट दलीय रूपमा प्रतिनिधित्व गरेका उमेद्वारमध्ये १५ हजार प्रतिनिधि निर्वाचित भए । जसमा १३ हजार जना स्थानीय तहका दलित महिला र महिला सदस्य छन् । यसले तल्लो तहमा महिला नेतृत्व उदाएको पुष्टि गर्छ । अब संघीय र प्रादेशिक तहमा उनीहरूलाई उकास्न केन्द्रका महिलाले दलभित्र भूमिका खेल्नुपर्छ।

निर्वाचन आयोगका अनुसार ७ सय ५३ स्थानीय तहमध्ये प्रमुख, उपप्रमुख र वडाअध्यक्षसहित मुख्य पदमा ७ सय ७८ महिला निर्वाचित भए।

पुरुषसँग खुला प्रतिस्पर्धा गरेरै २ सय ६२ महिला निर्वाचित भए । महिलातर्फ ६ हजार ६ सय ६४ र दलिततर्फ ६ हजार ४ सय २४ जना निर्वाचित भए।

प्रतिनिधिसभामा प्रत्यक्षमा अत्यन्त न्यून ६ जना र समानुपातिकबाट ८४ जना महिला प्रतिनिधिसभा पुगे । स्थानीय तहमा जस्तै प्रतिस्पर्धा गरेरै जित्ने वातावरण दलले दिएको भए माथिल्लो तहमा सन्तोषजनक महिला प्रतिनिधित्व रहन्थ्यो। राष्ट्रियसभातर्फ महिला प्रतिनिधित्व सन्तोषजनक रहेन । जम्मा २१ महिलाको प्रतिनिधित्वले  कति मुद्दामा सहमति जुटाउन सक्लान् ? दुवैतिर गरी १ सय ११ महिला सांसद प्रतिनिधित्व छ । प्रदेशसभामा १७ जना प्रत्यक्ष निर्वाचितसहित १८९ जना महिला सांसद छन्।

यिनले आफ्नो बलियो प्रतिनिधित्व देखाउने हो भने दलभित्र पहिले आफ्ना मुद्दामा मनाउन सक्नुपर्छ। त्यसपछि बल्ल संसदमा बहस चलाउन सक्नुपर्छ। नत्र कागको हुलमा बकुल्ला हराएजस्तो महिलाका मुद्दा हराउन सक्छन्। त्यसैले ककस गठन गर्ने सकसतिर लाग्नुभन्दा दलभित्रै महिला प्रतिनिधित्व र महिला मुद्दा बलियो बनाउनेतर्फ लाग्नु दीर्घकालीन उपाय हुनसक्छ।
अर्को समाचार
मस्यौदा समितिमा ककसको सकस
१७ फागुन २०७०
•
९ मिनेट पाठ
मस्यौदा समितिमा ककसको सकस
काठमाडौं- संविधानसभाभित्र दबाबमूलक समूह (ककस) गठन गर्नेबारे सहमति हुन नसक्दा संविधानसभा नियमावली मस्यौदा टुंगोमा पुग्न सकेको छैन। संविधानसभाभित्र दबाब दिन र आफ्ना एजेन्डा स्थापित गर्न आदिवासी/जनजाति तथा महिला ककसले निरन्तरता पाउनुपर्ने र ककस गठन नै नगरी सम्पूर्ण प्रक्रियालाई संविधानसभा हलबाटै टुग्याउनुपर्ने परस्पर विरोधी मत आएपछि मस्यौदा अन्योलग्रस्त बनेको छ।'संविधानसभाभित्र ककस गठन गर्ने कि नगर्ने भन्नेबारेमा अझै सहमति हुन सकेको छैन,' मस्यौदा समितिका संयोजक लक्ष्मणलाल कर्णले नागरिकसँग भने, 'आइतबार पुनः बैठक बसेर टुंग्याउने कोसिस जारी नै छ, समितिले त्यसको निर्क्योल चाँडै गर्छ।' उनका अनुसार समितिमा धारणा राख्ने क्रम सकिएकाले मस्यौदालाई अन्तिम रूप दिन आइतबार बिहान पुनः बैठक डाकिएको छ। 
स्रोतका अनुसार अन्य विषयमा लगभग सहमति जुटेको छ। तर, अघिल्लो संविधानसभा विघटन हुनुमा ककस पनि एउटा कारण रहेको उल्लेख गर्दै एमाले, नेमकिपालगायतका दल ककसको विपक्षमा खुलेर लागेका छन्। एमालेलगायतका दलले ककस गठन गरेर गए पुनः संविधान बन्न नसक्ने दाबी गर्दै आएका छन्। संविधानसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस यो विषयमा मौन देखिए पनि एकीकृत नेकपा माओवादी ककसको पक्षमा खुलेको छ। 
'ककसका बारेमा कांग्रेस मौन छ,' नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले नागरिकसँग भने, 'माओवादी ककसकै पक्षमा उभिएको छ, मधेसवादी र साना दल पनि ककसको पक्षमा छन्।' ककसका बारेमा मत विभाजित हुँदा मस्यौदा समिति अनिर्णयको बन्दी बन्न पुगेको उनले बताए। 
अघिल्लो संविधानसभामा आदिवासी/जनजाति र महिला ककस सक्रिय थिए। संविधानसभा विघटनअघि पार्टी निर्णय उल्लंघन गर्दैै आदिबासी/जनजाति सभासदहरूको समूह (ककस) ४ सय १८ मत संकलन गरेर जातीय राज्यको पक्षमा खुलेर लागेको थियो, जसलाई संविधान निर्माण नहुनुको एउटा कारणको रूपमा एमाले र नेमकिपाले तर्क गर्दै आएका छन्। संसदीय व्यवस्थामा आफ्ना सरोकारवालालाई दबाबमूलक रूपले बनाउन गठन गरिने संस्था (समूह)लाई ककस नामले चिनिन्छ। 
नयाँ संविधान निर्माणका विवादित विषयमा हुने मतदानमा ह्विप लगाउने कि नलगाउने भन्ने विषयमा पनि अझै सहमति जुटन सकेको छैन। 'संविधानसभाभित्र ह्विप लाग्ने कि नलाग्ने तथा स्वविवेकको मत प्रयोग गर्न पाउने कि नपाउने भन्ने बारेमा पनि अझै सहमति जुट्न सकेको छैन,' संघीय लोकतान्त्रिक मञ्च (थरुहट)की अध्यक्ष रुक्मिणी चौधरीले नागरिकसँग भनिन्। संविधानसभाभित्र ह्विप लाग्नुपर्छ भन्ने पक्षमा नेपाली कांग्रेस, एमाले, नेमकिपा र राष्ट्रिय जनमोर्चालगायतका दल देखिएका छन् भने एमाओवादीलगायतका दल भने त्यसको विपक्षमा उभिएका छन्। 
नयाँ संविधान राष्ट्रपतिले जारी गर्ने कि संविधानसभा अध्यक्षले गर्ने भन्नेबारेमा सत्तारुढ कांग्रेस र एमालेमा नै विवाद देखा परेपछि मस्यौदा समिति थप अन्योलमा परेको छ। कांग्रेस नयाँ संविधान राष्ट्रपतिबाट जारी गर्नुपर्ने पक्षमा छ, जसलाई अन्य दलले साथ दिएका छन् भने एमाले सभाध्यक्षमार्फत संविधान जारी गर्ने पक्षमा छ। एमालेले अघिल्लो संविधानसभा नियमावलीअनुसार नै यसपटकको नियमावलीमा पनि यसबारे व्यवस्था हुनुपर्ने माग गरेको हो। कांग्रेस र एमालेबीच नै सहमति नभएकाले संविधान कसले जारी गर्ने भन्ने विषयको निर्क्योल हुन नसकेको बैठकमा सहभागी नेताहरूको भनाइ छ। 
संविधानसभा नियमावली २०६५ को नियम १०८ मा भने संविधानको विधेयक संविधानसभा अध्यक्षले प्रमाणीकरण गर्ने व्यवस्था छ। नयाँ नियमावली नबनुन्जेलसम्म यही नियमावलीअनुसार संविधानसभाको बैठक हुने गरेको छ। नियम १०८ को उपनियम २ मा 'संविधानको विधेयक अध्यक्षद्वारा प्रमाणीकरण भएपछि त्यस्तो विधेयकले संविधानको रूप धारण गर्ने' उल्लेख छ भने उपनियम ३ मा 'प्रमाणीकरण भएको संविधानमा संविधान प्रारम्भ हुने भनी निर्धारण गरिएको मितिमा संविधानसभाले औपचारिक राष्ट्रिय समारोहको आयोजना गरी पारित संविधानको प्रति अध्यक्षले राष्ट्रपतिसमक्ष पेस गर्ने र राष्ट्रपतिले सोही समारोहमार्फत नेपाली जनतासमक्ष संविधान सार्वजानिक गरी नयाँ संविधान प्रारम्भ भएको घोषणा गर्ने' उल्लेख छ। 
अघिल्लो संविधानसभामा व्यवस्था भएको संवैधानिक समिति यसपटक नहुने भएको छ। संवैधानिक समितिको सट्टा राजनीतिक संवाद समिति बनाउन दलहरूबीच सैद्धान्तिक सहमति जुटिसकेको छ। अघिल्लो संविधानसभामा १४ वटा समितिको व्यवस्था थियो भने यो संविधानसभामा पाँचवटामा सीमित गर्न दलहरू सैद्धान्तिक रूपमा सहमत भएका हुन्। 
मस्यौदा समितिमा प्रस्ताव भएका विषयगत समितिअन्तर्गत राजनीतिक संवाद, अभिलेख निर्धारण, विवाद समाधान र संविधान मस्यौदा समिति गरी चारवटा छन्। प्रक्रियागत समितिको रूपमा जनमत संकलन समितिलाई मात्र राख्ने प्रस्ताव गरिएको छ। यसमा दलहरूले सहमति जनाइसकेका छन्। 
संविधानसभाले फागुन १० गतेभित्रै मस्यौदा निमार्ण गर्ने जनादेश दिए पनि समितिभित्र सहमति हुन नसकेकाले समय लाग्ने देखिएको छ। संविधानसभालाई प्रक्रियामा लैजान मस्यौदा अनिवार्य रहेको, तर निर्माण नभइसकेकाले संविधानसभाले 'बिजनेस' पाउन सकेको छैन। यसले गर्दा वर्ष दिनमै संविधान बनाउने दलहरूको प्रतिबद्धतामा आशंका उब्जिन थालेको छ। 
'सकेसम्म भोलि (आइतबार) नै सबै विषय टुंगाएर जाने गरी समिति क्रियाशील भएको छ,' संयोजक कर्णले नागरिकसँग भने, 'त्यसका लागि परिमार्जनसहितको मस्यौदा निर्माण गर्न संविधानसभा सचिवालयलाई निर्देशन दिइसकिएको छ।' उनका अनुसार समिति सचिवालयले तयार पारेको मस्यौदालाई अन्तिम रूप दिने प्रयासमा छ।


रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस