खतरनाक मोडमा भारत-पाकिस्तान
२९ वैशाख २०८२
•
८ मिनेट पाठ
खतरनाक मोडमा भारत-पाकिस्तान
भारत र पाकिस्तानबीच पछिल्लो द्वन्द्व सुरु हुनुको पृष्ठभूमिमा २६ जना पर्यटकको निर्मम हत्या जोडिएको छ। त्यही आतंककारी कारबाहीलाई ‘जस्ताको तस्तै’ हिसाबले जवाफी कारबाही गर्ने क्रममा भारतले पाकिस्तानमाथि हवाई आक्रमण गर्‍यो। यसले दुई देशबीचको तनावले दक्षिण एसियालाई पूर्ण युद्धको संघारमा पुर्‍यायो। अनि, अकस्मात १० मे अर्थात् शनिबार युद्धविराम घोषणा भयो। यसरी, यी दुई देशबीच रहेको समग्र तनावको फराकिलो रूपरेखा पछिल्लो सङ्कटमा पनि देखिएको छ।




अप्रिल २२ मा भारत प्रशासित कश्मीरमा २६ पर्यटकको ज्यान जाने गरी गरिएको घातक हमलापछि विकसित भएको घटनाक्रम विगतभन्दा निकै फरक मान्न सकिन्छ। यो द्वन्द्वमा दुवै देशका भूभागभित्रका खासखास निशानाहरूमा प्रत्यक्ष मिसाइल आक्रमण गरिए। आणविक हतियारले सुसज्जित यी दुवै चीर प्रतिद्वन्द्वीले पहिलो पटक उन्नत मिसाइल प्रणाली र ड्रोन प्रयोग गरेका छन्।

विशेषगरी भारत र पाकिस्तानबीचको आणविक प्रतिस्पर्धाको अनुसन्धानकर्ताको हिसाबले मैले यो विषयलाई नजिकबाट हेरेकी छु। तर पछिल्ला वर्षमा अन्तर्राष्ट्रिय सार्वभौमसत्ताका आधारभूत मान्यतामा आएको क्षयीकरण, यस क्षेत्रमा अमेरिकी चासो र प्रभावमा आएको कमी र दुवै देशले उन्नत सैन्य तथा डिजिटल प्रविधिहरूको भण्डारण गरेकाले दक्षिण एसियामा कुनै घटना भएमा द्रुत र अनियन्त्रित हिसाबले तनाव वृद्धि हुने जोखिम त छँदै थियो।

दुवै देशले अवलम्बन गरेको आधारभूत धार्मिक ढाँचा पछिल्लो सैन्य कारबाहीको नामकरणमा समेत देखिएको छ। महिलाले प्रयोग गर्ने रातो सिन्दूरलाई सङ्केत गर्दै भारतले यो कारबाहीलाई ‘अपरेसन सिन्दूर’ नाम दिएको थियो। कश्मीर हमलाका विधवाहरूप्रति लक्षित गरिएको एक प्रकारको उत्तेजक इशारा थियो। उता, पाकिस्तानले आफ्नो जवाफी कारबाहीलाई ‘बुन्यान–उन–मार्सुस’ भन्यो जुन कुरानको अरबी वाक्यांश हो र यसको अर्थ ‘एक ठोस संरचना’ हुन्छ ।

वासिङ्टनको भूमिका

भारत–पाकिस्तान प्रतिद्वन्द्विताअन्तर्गत सन् १९४७–४८, १९६५ र १९७१ मा भएका लडाइँमा दसौँ हजार मानिसको ज्यान गएको छ। तर सन् १९९० को दशकको उत्तरार्धदेखि, भारत र पाकिस्तान युद्धको संघारमा पुगेका बेला पनि तनाव कम गर्ने रणनीति अपनाइएको देखिन्छ। तीव्र कूटनीतिक प्रयास र विशेषगरी अमेरिकाको नेतृत्वमा भएका पहलले यो क्षेत्रमा द्वन्द्व कम गर्न मद्दत गरेको छ।

सन् १९९९ मा राष्ट्रपति बिल क्लिन्टनको प्रत्यक्ष मध्यस्थताले कारगिल युद्ध समाप्त गर्‍यो। त्यतिबेला पाकिस्तानी सेनाले नियन्त्रण रेखा पार गरी भारत प्रशासित कश्मीरमा प्रवेश गरेपछि युद्ध सुुरु भएको थियो। पाकिस्तानमा दिइएको दबाबका कारण त्यो ‘सीमित युद्ध’ समाप्त भएको थियो।

सन् २००१  मा भारतीय संसद्भित्र पाकिस्तानमा सरक्षण पाइरहेका लस्कर–ए–तैयबा र जैस–ए–मोहम्मदसँग सम्बद्ध आतङ्कवादीहरूले हमला गरेपछि अमेरिकी उपविदेश मन्त्री रिचर्ड आर्मिटेजले इस्लामावाद र नयाँ दिल्लीबीच तीव्र कूटनीतिक प्रयास गरेर युद्ध टारेका थिए।

सन् २००८ मा लस्कर–ए–तैयबासँग सम्बन्धित आतङ्कवादीहरूले मुम्बईको ताज होटलमा भएको हमलामा १६६ जनाको ज्यान गएको थियो। त्यतिबेला पनि उच्चस्तरीय अमेरिकी कूटनीतिक संलग्नताले भारतको प्रतिक्रियालाई नियन्त्रण गर्न र बढ्दो द्वन्द्वको जोखिम कम गर्न मद्दत गरेको थियो।

द्वन्द्वको पछिल्लो शृंखला सन् २०१९ भएको थियो जतिबेला कश्मीरको पुलवामामा भएको आत्मघाती बम हमलामा ४० जना भारतीय सुरक्षाकर्मी मारिएका थिए। त्यतिबेला पनि अमेरिकी कूटनीतिक दबाबले दुई देशबीच विकास भएको शत्रुतालाई नियन्त्रण गर्न मद्दत गरेको थियो।

कूटनीतिक शून्यता?

वासिङ्टनको भूमिका स्वाभाविक थियो। यसमा उसको प्रभाव र निहित स्वार्थ दुवै थियो। शीत युद्धको समयमा अमेरिकाले भारतको सोभियत संघसँगको सम्बन्धलाई प्रतिरोध गर्न पाकिस्तानसँग घनिष्ठ गठबन्धन बनाएको थियो।

सन् २००१ को सेप्टेम्बर ११ को आतङ्कवादी हमलापछि अमेरिकाले ‘आतङ्कवादविरुद्धको युद्ध’ का नाममा अग्रपंक्तिको साझेदारका रूपमा पाकिस्तानलाई दसौँ अर्ब डलर सैन्य सहायता प्रदान गरेको थियो। त्यही अवधिमा अर्थात् २००० को सुरुवातदेखि अमेरिकाले भारतलाई रणनीतिक साझेदारका रूपमा स्वीकार गर्न थालिसकेको थियो।

अमेरिका सहभागी रहेको अफगानिस्तान युद्धको एक स्थिर पाकिस्तान महत्वपूर्ण साझेदार थियो। त्यसैगरी अमेरिकाका लागि एक मित्रवत् भारत चीनविरुद्धको रणनीतिक प्रतिसन्तुलन (काउन्टर ब्यालेन्स) का लागि उत्तिकै महत्वपूर्ण थियो। त्यही कारणले भारत–पाकिस्तान सङ्कटका बेला प्रभावकारी मध्यस्थकर्ताका रूपमा कार्य गर्न अमेरिकालाई प्रेरणा र विश्वसनीयता दुवै थियो। तर अहिले परिस्थिति बदलिएको छ। हाल अमेरिकाको कूटनीतिक ध्यान दक्षिण एसियाबाट उल्लेखनीयरूपमा अन्यत्र हटेको छ। त्यसो त, यो प्रक्रिया शीत युद्धको अन्त्यसँगै सुरु भएका हो। तर २०२१ मा अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएपछि यो नाटकीयरूपमा तीव्र भएको हो।

हाल, वासिङ्टनको कूटनीतिक प्रयास युक्रेन र मध्यपूर्वको युद्धमा केन्द्रित छ। गत जनवरीमा राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेदेखि अमेरिकाले नयाँ दिल्ली वा इस्लामावादमा राजदूत नियुक्त गरेको छैन न त दक्षिण र मध्य एसियाली मामिलाका  लागि सहायक विदेश मन्त्रीको नाम चयन गरेको छ। यी कारकहरूले संयुक्त राज्य अमेरिकाको मध्यस्थता भूमिकालाई बाधा पुर्‍याएको हुनुपर्छ।

लामो वार्तापछि संभव भएको मे १० को युद्धविराम अमेरिकाको मध्यस्थतामा भएको ट्रम्पले दाबी गरेपछि भारत र पाकिस्तान दुवैले जारी गरेका बयानमा अमेरिकी संलग्नतालाई कम महत्व दिएको देखिन्छ। छिमेकी चीनले विश्वका अन्यत्र स्थानमा मध्यस्थको भूमिका खेल्न खोजिरहेको छ।

चीनको पाकिस्तानसँग घनिष्ठ गठबन्धन छ तर भारतसँग सीमा विवादका कारण तटस्थ मध्यस्थकर्ताका रूपमा चीनलाई हेरिएको छैन। इरान र साउदी अरेबिया जस्ता अन्य क्षेत्रीय शक्तिहरूले पछिल्लो सङ्कटमा हस्तक्षेप गर्ने प्रयास गरेका हुन तर दुवैमा अमेरिका वा चीनको जति शक्ति र सामथ्र्य छैन ।

त्यसो त बाह्य मध्यस्थताको यो अभाव आफैँमा समस्या होइन। ऐतिहासिकरूपमा विदेशी हस्तक्षेप, विशेषगरी शीतयुद्धको समयमा पाकिस्तानलाई अमेरिकी समर्थनले सैन्य असन्तुलन र कट्टरपन्थी अडानलाई बलियो बनाएको थियो र दक्षिण एसियाको गतिशीलतालाई झन जटिल बनाएको थियो। तर इतिहासले प्रमाणित गरेको पक्ष के हो भने बाह्य दबाब, विशेषगरी वासिङ्टनबाट भएका पहलकमदी प्रभावकारी हुने गरेका छन्।

मान्यताको उल्लंघन

दुई देशबीचको पछिल्ला तनाव वृद्धि अर्को गतिशील पृष्ठभूमिविरुद्ध भएको छ। त्यो के हो भने शीत युद्धअन्त्यपछि र  २००१ पछि तीव्ररूपमा यसअघिका अन्तर्राष्ट्रिय मान्यताको क्षयीकरण भएको छ। अमेरिकाले सुरु गरेको ‘आतङ्कवादविरुद्धको युद्ध’ ले विश्वका कैयन् सार्वभौम राष्ट्रहरू प्रभावित भएका छन् र अन्तर्राष्ट्रिय कानुनी ढाँचा र मान्यताको उल्लंघन भएको छ।

विशेषगरी लडाइँ रोक्ने नाममा सुरुमा गरिने आक्रमण, लक्षित ड्रोन आक्रमण र धेरै कानुनी विद्वान्हरूले यातनाका रूपमा परिभाषित गरेको ‘सोधपुछ प्रविधि’ को अवलम्बन जस्ता अभ्यासले अन्तर्राष्ट्रिय कानुनी ढाँचाहरूलाई मौलिकरूपमा चुनौती दिएको छ। हालै गाजा, लेबनान र सिरियामा इजरायलले गरेका गतिविधिले अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घन भएको भनेर व्यापक आलोचना भएको छ।

संक्षेपमा भन्नुपर्दा, अहिले विश्वमा यसअघिका भूराजनीतिक मान्यताहरू कमजोर भएका छन्। कुनैबेला रातो रेखा अर्थात् रेड लाइन मानिने सैन्य कार्यहरू न्यून जवाफदेहिताका साथ अगाडि बढाइएका छन्। भारत र पाकिस्तानका लागि यो वातावरणले अवसर र जोखिम दुवै सिर्जना गर्दछ। दुवैले विश्वका अन्यत्र स्थानमा भएका कारबाहीलाई औल्याउँदै आफ्ना कार्यहरूलाई जायज ठहराउन सक्छन्।

बहुक्षेत्रीय युद्ध

मलाई लाग्छ, पछिल्लो सङ्कटलाई विगतका सङ्कटहरूभन्दा साँच्चै फरक बनाउने विषय भनेको यसको बहुक्षेत्रीय (मल्टिडोमेन) प्रकृति हो। यो द्वन्द्व अब नियन्त्रण रेखामा भएको परम्परागत सैन्य आदान–प्रदानमा मात्र सीमित छैन। यसअघिका पाँच दशकमा यो कश्मीरको सेरोफेरोमा सीमित थियो।

सन् २०१९ को सङ्कटसम्म आइपुग्दा सैन्य कारबाहीमा दुवै देशले नियन्त्रण रेखालाई वास्तविक सीमाका रूपमा धेरै हदसम्म सम्मान गरेका थिए। तर त्यसपछि, यो खतरनाक हिसाबले फरक भएको छ। यसअघि एक अर्काको क्षेत्रमा गरिने सीमापार हवाई हमलाहरू अब आएर एकसाथ परम्परागत सैन्य, साइबर र सूचना क्षेत्रमा फैलिएको द्वन्द्वका रूपमा परिणत भएको छ।

पछिल्लो द्वन्द्वमा सार्वजनिक गरिएका रिपोर्टले चिनियाँ निर्मित पाकिस्तानी जे–१० लडाकु विमानहरूले उन्नत फ्रान्सेली राफेल जेटहरूसहित कैयन् भारतीय विमानहरू खसालेको सङ्केत गर्दछ। चिनियाँ र पश्चिमी हतियारबीचको यो टकराव द्विपक्षीय द्वन्द्व मात्र नभई प्रतिद्वन्द्वी विश्वव्यापी सैन्य प्रविधिहरूको छद्म परीक्षण पनि हो। यसले ठूला शक्तिहरूको प्रतिस्पर्धाको अर्को तह थपेको छ।

यो द्वन्द्व साइबर क्षेत्रमा पनि नाटकीयरूपमा विस्तार भएको छ। ‘पाकिस्तान साइबर फोर्स’ दाबी गर्ने ह्याकरको समूहले धेरै भारतीय रक्षा संस्थाहरूमा घूसपैठ गरेको रिपोर्ट सार्वजनिक भएका छन्। यसले कर्मचारी डेटा, साइटको लगइन गोपनीयता र क्रेडेंन्सियलमा उनीहरूको पहुँच भएको हुन सक्छ। सँगसँगै, सामाजिक सञ्जालको उपस्थिति र भारतमा नयाँ दक्षिणपन्थी मिडिया अर्काे युद्धभूमि बनेको छ।

शान्तिको विजय

चिन्ताको विषय यो क्षेत्रमा रहेको आणविक आयाम हो। पाकिस्तानको आणविक सिद्धान्त के छ भने उसको अस्तित्व खतरामा परेको खण्डमा उसले आणविक हतियार प्रयोग गर्नेछ। यसैगरी उसले भारतीय आक्रमणलाई मत्थर गर्न छोटो दूरीका सामरिक आणविक हतियारहरू विकास गरेको छ।

यसैबीच, भारतले अनौपचारिकरूपमा आफ्नो ऐतिहासिक ‘पहिलो प्रहार नगर्ने’ यसअघिको अडानलाई फिर्ता लिएको छ। यसले आणविक शक्ति परिचालनमा थप अस्पष्टता सिर्जना गरेको छ।

जे जसो भए पनि, धन्यवाद दिनुपर्ने विषय युद्धविरामको घोषणा हो। यसले फेरि एकपटक मध्यस्थता गर्ने आवाज विजयी भएको देखिन्छ। तर यसअघिका विश्वव्यापी मान्यताको क्षयीकरण, ठूला शक्तिहरूको कूटनीतिमा कमी र बहुक्षेत्रीय युद्धको आगमनले पछिल्लो तनावलाई झन् खतरनाक मोडमा पुर्‍याएको छ भन्न सकिन्छ। अब के हुन्छ भन्ने कुराले आणविक प्रतिद्वन्द्वीहरूले यो खतरनाक नयाँ परिदृश्यमा द्वन्द्वको  बढ्दो चक्रलाई कसरी व्यवस्थापन गर्छन् वा गर्न असफल हुन्छन् भन्ने कुराले बताउनेछ।

 -जान पेन्सिलभेनिया विश्वविद्यालयकी सिनियर लेक्चरल हुन्। (दि कन्भरसेसनबाट)
अर्को समाचार
रौतहट बमकाण्डका पाठ
३२ असार २०८२
•
५ मिनेट पाठ
रौतहट बमकाण्डका पाठ
‘त्यागबन्द अर्थात् डिस्क्लेमर’ - यो आलेखमा उठान गरिएका सैद्धान्तिक विषयको पुष्टिका लागि सार्वजनिक भइसकेका तथ्य र घटनामा आधारित व्यक्तिका नाम उल्लेख गरिएबाहेक कुनै व्यक्ति विरुद्ध लक्षित छैन।




पहिलो संविधान सभाचुनावको अघिल्लो रात २०६४ चैत २७ गते नेपाली कांग्रेसका उम्मेदवार मोहम्मद आफ्ताब आलमको चुनावी क्षेत्र रौतहटमा बम पड्कँदा केही मान्छे मरे र केही गम्भीर घाइते भए। शारीरिक बल प्रयोग गरी आफ्नो क्षेत्रमा संसदीय चुनाव जित्ने आलम परिवारको लामै इतिहास थियो। त्यसका लागि बुथ क्याप्चर गर्ने र मतदातामाझ कृत्रिमआतंक सिर्जना गर्ने कार्य आवश्यक हुन्थ्यो।

सम्भवतः त्यसै प्रयोजनका लागि भारतबाट उनले ल्याएका बम बनाउने मजदुर गाउँकै कुनै घरमा हाते बम बनाइरहेका थिए– जहाँ त्यो दुर्घटना भयो। आलम र उसका सहयोगीहरूले चुनाव पनि नबिथालियोस् र प्रहरीको कारबाहीबाट पनि बचियोस् भनेर त्यसपछि घटनालाई गुपचुप राखी फासफुस पार्ने योजना बनाए। त्यसका लागि पछि अपराधको साक्षी हुनसक्ने थुप्रै मजदुरलाई उनीहरूले आफ्नै इँटा भट्टाको आगोमा हालेर खरानी बनाइदिए।

यो जघन्य अपराध विभिन्न माध्यमबाट सार्वजनिक भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरी अनुसन्धान गर्‍यो। जसमा पटक पटक मन्त्री र सांसद भैसकेका र प्रतिनिधिसभा सदस्य कायमै रहेका आलमलगायतका चार जना अरू दोषी ठहरिए। जिल्ला अदालत रौतहटका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले २०८१ वैशाखमा उनीहरूलाई जन्म कैदको फैसला सुनायो। त्यसपछि नक्खु जेल चलान भएका आलमको सांसद पद पनि अहिले निलम्बनमा छ।

आलमहरू पुनरावेदन जानु अस्वाभाविक थिएन तर अस्वाभाविक चाहिँ के भयो भने उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले जिल्ला अदालतको फैसलालाई ‘प्रमाण नपुगेको’ भनेर उल्टायो। सारा देशलाई आश्चर्यचकित र दुःखी तुल्याउँदै आलमहरूले सफाइ पाए। यतिखेर त्यस्तोे फैसला गर्ने दुबै न्यायाधीशलाई झिकाएर छानबिन गर्दैछ– न्याय परिषद्ले।

हालको स्थिति

यता उच्च अदालतको सो विवादास्पद फैसलाको पूर्ण पाठ प्राप्त भएसँगै महान्यायाधिवक्ताको कार्यालयले त्यसविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन जाने निर्णय गरेका समाचारहरू आएका छन्।

यतिखेर आलमको दल नेपाली कांग्रेस गठबन्धन सरकारको प्रमुख र शक्तिशाली घटक रहे तापनि अब एकाध दिनभित्रै पुनरावेदन दर्ता हुँदैछ। अपवादबाहेक कुनै कांग्रेसीले पनि सरकारी वकिलले यसो गर्नु हुँदैन भनेका छैनन्। न शक्तिशाली नेताहरू कसैले त्यसो गर्न दबाब दिएका कुनै समाचार बाहिर आएकाे छ।

धेरै कांग्रेस समर्थकले सर्वोच्चमा पुनरावेदन गर्ने कुराको समर्थन नै गरेका छन्। गम्भीर फौजदारी कसुरमा पक्राउ परी अनुसन्धान गर्दा दोषी देखिएका कतिपय आरोपितका हकमा मुद्दा नचलाउने निर्णय गर्ने र अभियोजन गर्नैपर्ने स्थिति आए मुद्दा कमजोर पार्ने काममा सरकारी वकिल प्रयोग हुने गरेका छन् सत्तारुढ दलहरूबाट।

कांग्रेस–एमाले दुवै यसरी राजनीतिक अपराधीकरणको मामलामा बदनाम छन्। त्यसैले यो मुद्दाका हकमा कांग्रेस एमाले दुवै धन्यवादका पात्र हुन पुगेका छन्। अब यी दुई दल, त्यसमा पनि खासगरी कांग्रेसले यसलाई नजीर नै बनाउने गरी एउटा ‘टर्निङ प्वाइन्ट’ किन नबनाउने ? त्यसमा छलफल गरौं।

टर्निङ प्वाइन्ट

आलम प्रभृतिका उम्मेदवारले चुनाव जित्ने नै भए पनि वा तत्काल आलमलाई चुनावमा टिकट दिन बाधा नपर्ने स्थिति भए पनि अबको चुनावमा उनीहरूलाई पार्टीले टिकट नदेओस्। त्यसो किन पनि भने यो नैतिक कुरा मात्र होइन। आतंक, शारीरिक बल र डनगिरीका भरमा चुनाव जित्ने नेता पार्टीका लागि पनि पुँजी हुँदैन, हुन सक्दैन। सचेत जनता, सशक्त मिडिया र जीवन्त नागरिक समाज भएको लोकतन्त्रमा त्यस्तो नेता कार्यकर्ता अहिले तत्काललाई नभए पनि पछि गएर पार्टीका लागि ठूलो दायित्व हुन्छ, बोझ हुन्छ। उसँग जोडिँदा सिंगो पार्टी वर्तमानमा अलोकप्रिय र इतिहासमा कलंकित हुन्छ।

इतिहासको कुरा छाडेर तत्कालको चुनावी लाभहानिकै कुरा गर्दा पनि त्यस्ता उम्मेदवारलाई टिकट दिँदा प्रत्यक्ष निर्वाचनतर्फ एक–दुई सिटको फाइदा त होला पार्टीलाई तर त्यस्ताको उम्मेदवारीकै कारण समानुपातिकतर्फ मत घटेर त्योभन्दा धेरै सिटसंख्या पार्टीले गुमाउने संभावना छ। के कांग्रेस–एमालेका नेताले मिहिन रूपमा यो कुरा केलाउने, विश्लेषण गर्ने, चिन्तन गर्ने गरेका छन्, कहिल्यै? अनुसन्धान गरेका छन् कहिल्यै? के उनीहरू लगायतका राजनीतिक दल र नेताप्रति जनतामा व्याप्त निराशा, असन्तुष्टि र आक्रोशको एउटा प्रमुख कारण यस्तै पात्र होइनन् र? त्यसैले कांग्रेस विपी, सुवर्ण, गणेशमान र किसुनजीको विरासत दाबी गर्ने पार्टी हो भने ऊ गौरीशंकर रामको पार्टी पनि बनोस्। जो राम त्यो क्रुर अपराधमा मुस्किलले बाँच्न सफल अपराधको ज्युँदा प्रमाण हुन्; जो देख्दै डरलाग्ने शरीर र मुहार लिएर बाँच्न बाध्य छन्।

लोकतन्त्रलाई स्वच्छ बनाऔं

चुनावी लाभहानिको कुरा मात्र होइन। भोलि सर्वोच्च अदालतबाट उच्चअदालतको फैसला उल्टाउँदै जिल्ला अदालतको पैmसलालाई कार्यान्वयन गर्ने आदेश आयो भने कांग्रेसले उसलाई चुनावको टिकट दिएका छैनौं त भनेर मात्र पुग्दैन; उसलाई साधारण सदस्यसमेत नरहने गरी सदस्यता खारेज गर्नुपर्छ। उसलाई मात्र होइन, हत्याहिंसा, आतंकवाद, बलात्कार र भ्रष्टाचार जस्ता गम्भीर फौजदारी अभियोगमा प्रमाणित भई अदालतबाट दण्डित भइसकेका अरूसँग पनि पार्टीले त्यसै गरी नाता तोड्नुपर्छ। पार्टी शुद्धीकरणको काम सुरु गर्नुपर्छ। अनि आलम र यो मुद्दाको मात्र कुरा पनि होइन। गम्भीर फौजदारी अभियोगमा अदालतमा चलिरहेका तर टुंगिन बाँकी मुद्दाका अभियुक्तलाई पनि कानुनले उम्मेदवार हुन रोकेको अवस्था छैन त भन्दै चुनावको टिकट दिनुहुँदैन। भोलि मुद्दा जिते भने ससम्मान टिकट दिए भैगो नि तर मुद्दा चलिरहेकै अवस्थामा उसलाई निर्दोष भन्ने, झुट्टा मुद्दा लगाएको भन्ने, प्रतिशोध साधेको भन्ने जस्ता कुतर्क गर्दै बचाउ गर्ने कोसिस गर्नु हुँदैन। गरे पार्टीको लोकप्रियता झन् तीव्र बेगमा ओरालो लाग्नेछ।

उसै पनि अहिलेको निर्वाचन प्रणालीले गर्दा कुनै दलको पनि पूर्ण बहुमत आउँदैन भनेर त ठूला नेताहरू आफैं भनिरहेका छन्। जुन यथार्थ पनि हो। यस्तोमा बदनाम उम्मेदवारलाई टिकट नदिएकै कारण ८८ सीट आउनेमा ८४–८५ मात्र आयो भने पनि त्यसले पार्टीको संसदीय शक्तिमा तात्त्विक परिवर्तन आउने पनि होइन। उनीहरू टिकट नपाएर रिसाएछन् र अर्को पार्टी, त्यसमा पनि प्रतिस्पर्धी दलको सदस्यता वा अझ टिकट लिन गएछन् भने पनि सुर्ता गर्नुपर्ने केही छैन। दीर्घकालमा त्यसबाट उसलाई भित्र्याउने त्यही पार्टीलाई घाटा हुन्छ।

चुनावका दौरान पनि त्यो कुरालाई कांग्रेसले विपक्षीविरुद्धको कार्डको रूपमा प्रयोग गर्दै चुनाव अभियान सञ्चालन गर्न सक्छ। त्यसलाई आफ्नो छवि उजिल्याउने कार्यमा प्रयोग गर्नसक्छ। यसो भए अरू दलमाथि पनि दबाब पर्नेछ, दललाई अपराध र अपराधीहरूबाट आफूलाई टाढा राख्नका लागि। जसबाट देशकै राजनीति स्वच्छतातर्फ उन्मुख भई जनमनमा रहेको निराशा र राजनीतिक वितृष्णामा ‘व्याक गियर’ लाग्न सक्नेछ। कांग्रेसले बुझ्नु र भन्नुपर्‍यो यतिका उपलब्धि ठुलो कि संसद्का एकाध सिट?
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस