अधिकारको सतत संघर्ष
१६ चैत्र २०७४
•
२४ मिनेट पाठ
अधिकारको सतत संघर्ष
शब्दमा उत्सव समावेश रहेको भए तापनि वार्षिकोत्सव खुसियाली मनाउने अनुष्ठानमात्र होइन। उपलब्धिहरूको लेखाजोखा, कमी/कमजोरीको वस्तुपरक विश्लेषण एवं भविष्यको कार्यदिशा निर्धारित गर्नु वार्षिकी मनाउनुको मुख्य उद्देश्य हुनुपर्छ। जिम्मेवारीको महत्व, व्यापकता एवं गहनता बुझेकाले नैं होला, संयुक्त राष्ट्र संघ मानव अधिकार उच्च आयुक्तको कार्यालयले सन् २०१८ लाई मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्रको ७०औँ समारोह वर्ष भनेर घोषणा गरेको छ। चौथाई शताब्दीभित्र दुईटा विश्व युद्धको दंश, शीत युद्धको बीजारोपण एवं उपनिवेशवादको अवपीडक स्थायित्व (कोअर्सिव स्टबिलिटी) अन्त हुने भएपछि उत्पन्न अस्थिरताले निम्त्याउन सक्ने हिंसा तथा प्रतिहिंसाको आकलन गरेर तत्कालीन विश्वका राजनेताहरूले सन् १९४८मा विश्वव्यापी मानवाधिकारको घोषणापत्र जारी गरेका थिए। भनाई नै छ– बुद्धि पु-याउने हो भने प्रत्येक संकटलाई अवसरका रूपमा उपयोग गर्न सकिन्छ। तत्कालीन युरोपेली एवं अमेरिकी राजनेताहरूले समयसापेक्ष निर्णय गरे र मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र जारी भयो। त्यसलाई कार्यरूप दिने कठिनाइ भने अहिले पनि यथावत छन्।




संयुक्त राष्ट्र संघ सदस्य राज्यहरूको साझा संस्था भएपनि त्यहाँ निषेधाधिकार भएका पाँच शक्तिशाली महाबलीहरूको हालीमुहाली छ। शक्तिराष्ट्रबीचको सन्तुलनले संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्का निर्णयहरूलाई निर्धारित गर्ने गर्छ। संसारको आर्थिक स्थायित्वका लागि खडा गरिएका विश्व मुद्रा कोष एवं विश्व वैंंक जस्ता संरचनालाई पनि युरोपेली देश एवं संयुक्त राज्य अमेरिकाले आफ्नो हित संवर्धन गर्नेगरी सञ्चालन गर्छन्। सैनिक वा आर्थिक आधार नरहेको संयुक्त राष्ट्र संघ मानव अधिकार उच्च आयुक्तको शक्तिको स्रोत भने फगत नैतिक बलमा मात्रै निर्भर छ। त्यसैले गर्दा होला, बलियाको बलमिच्याइँ त जे छ छँदैछ,  अपेक्षाकृत कमजोर देशहरूले समेत संयुक्त राष्ट्र संघ मानव अधिकार उच्च आयुक्तको प्रतिनिधिका सिफारिसहरूलाई खासै भाउ दिँदैनन्। निरन्तर बेवास्ताका बाबजुद त्यो अन्तर्राष्ट्रिय आयोगले आफ्नो कर्तव्य निर्वाह गर्न भने छाड्दैन। अहिले नेपाल संयुक्त राष्ट्र संघ मानव अधिकार परिषद्को सदस्य छ। विश्वव्यापीमानवाधिकार घोषणापत्रको ७०औँ वार्षिकोत्सव पनि हो। उर्दुमा एउटा भनाइ छ– ‘मौका भी है, दस्तूर भी है’। जसको भावार्थ हुन्छ– केही कुरा भनिहाल्ने अवसर एवं आवश्यकता दुवै पाइएको छ। संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्त कार्यालयले दश वर्षअघि बर्दियाबाट बेपत्ता पारिएकाहरूबारे जारी गरेको प्रतिवेदनको यो दशौँ वर्ष हो। 

दाहाल नवबाहुनवादी भएका छन् र नियतिले डो-याएको बाटो समातेका छन्। नवाचारी स्वच्छन्दतावाद भट्टराईको नयाँ आस्था हुन पुगेको छ। तिनका पछि लाग्नेहरूको विजोग देख्न सामान्य थारू एवं दलितको अवस्था हेरे पुग्छ।

प्रश्न अहिले पनि यथावत छन्। संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्त कार्यालयले औल्याएका मुद्दाहरू सम्बोधन भयो वा भएन? कसैलाई थाहा छैन। प्रतिवेदन प्रकाशित भएपछि उच्च आयुक्तका नेपालस्थित प्रतिनिधि रिचार्ड बेनेटले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाललाई भेटेर संक्रमणकालीन न्यायको प्रक्रियाबमोजिम नैं भए पनि बेपत्तासम्बन्धी र सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्न आग्रह गरेका थिए। उनले त्यस्ता आयोगको गठन एवं क्रियाकलाप हेर्न पाएनन् । राष्ट्रिय मानवाधिकार आयोगको चाहना, स्थानीय मानवाधिकारकर्मीहरूको दबाब, तथाकथित राष्ट्रिय राजनीतिक दलहरूको स्वार्थ, मधेसी राजनीतिकर्मीहरूमा दूरदृष्टिको अभाव एवं भारतको निरन्तर प्रयासको संयुक्त प्रभावले गर्दा नेपालस्थित संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्त कार्यालयको प्रतिनिधिलाई पहिले आफ्नो गतिविधि सीमित गर्दै लग्नुप-यो र अन्ततः उनलाई झिटिगुन्टा कसेर बिदा नै हुनुप-यो । नेपालबाट अन्तर्राष्ट्रिय अनुगमन हटाउने कुरामा चिनियाँ एवं भारतीयहरूको कुरा ठ्याक्कै मिल्ने रहेछ। सुरक्षा परिषद्को अस्थायी सदस्यमा निर्वाचित भएपछि नेपालबाट संयुक्त राष्ट्र संघको अनुगमन हटाउन सफल भएको कुरालाई भारतीय प्रतिनिधिले बकाइदा आफ्नो उपलब्धिका रूपमा औल्याएका थिए। अहिले युरोपियन युनियन निर्वाचन पर्यवेक्षण टोलीको सिफारिस प्रतिवेदनले निम्त्याएको कोकोहोलोका पछाडि पनि उत्तर एवं दक्षिण दुवैतिरका छिमेकीहरूको मतैक्य हुन सक्छ। पश्चिमाले तिब्बत उचाल्छन् भन्ने चिनियाहरूको शंका सर्वकालिक हो। भारतका हिन्दुत्ववादीहरूलाई धर्म परिवर्तनको भयले पिरोल्ने रहेछ। छिमेकीहरू नेपालको उत्पीडित समुदायको हित संरक्षणका लागि भने कहिल्यै अग्रसरता लिँदैनन्। त्यस कुराको प्रमाण बर्दिया प्रतिवेदन पनि हो।

अवलोकन एवं अध्ययनका लागि अन्तर्जालमा सहजै उपलब्ध संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्त कार्यालयको बर्दिया प्रतिवेदन गातासमेत झण्डै सय पृष्ठको छ। पृष्ठभूमिदेखि उपसंहार, सिफारिस एवं चिसापानी ब्यारेकको नक्शासमेत संलग्न प्रतिवेदनको भाषा रक्षोध्न (ऐन्टसेप्टिक) प्रकृतिको छ जसले भावोन्माद आउन दिँदैन। तर उल्लेख गरिएका तथ्य एवं तर्क आफैँ यतिबिध्न दमदार छन् कि पूरा प्रतिवेदन पढिसकेपछि विचलित नभई बस्न सकिँदैंन। मनमस्तिष्क हल्लाउन केही सामान्य तथ्यांक काफी छन्। बर्दियाबाट सशस्त्र द्वन्द्वका क्रममा सैकडौँ व्यक्ति बेपत्ता पारिएका थिए। उच्चायुक्त कार्यालयले संकटकाल लगाइएको नभेम्बर २००१ एवं सन् २००३को संघर्ष विरामबीच १५६ मुद्दाबारे अनुसन्धान गरेको थियो। अक्टुबर २००४ सम्मका घटनालाई जोडेर माओवादीले बेपत्ता पारेका १४ व्यक्तिका बारेमा पनि उच्चायुक्त कार्यालयले खोजबिन गरेको थियो। त्यसमध्ये १२ घटनाको माओवादीले जिम्मेवारी लिए। सुरक्षा निकायले भने योजनाबद्ध मौनता एवं रणनीतिक अनभिज्ञताको नीति अंगीकार गरेर प्रतिवेदनको प्रभावकारितालाई समाप्त गरिदियो। त्यसो हुनका कारण खोतल्न धेरै जाँचबुझ वा विश्लेषण गर्नुपर्दैन। 

आधिकारिक प्रतिवेदन भन्छ– बर्दियाको ५२ प्रतिशत जनसंख्या रहेको थारू समुदायबाट बेपत्ता पारिनेमध्ये ८५ प्रतिशत व्यक्ति थिए। बेपत्ता पारिएका महिला एवं बच्चा सबै थारू समुदायका थिए। बाँकी १५ प्रतिशतबारे प्रतिवेदन भन्छ– ती कि दलित थिए वा अत्यन्त विपन्न परिवारका सदस्य। प्रतिवेदनको आकलनमा लगभग सबै बेपत्ता पारिएकाहरू बेकसुर थिए। कैलालीका प्रतिनिधिसभा सांसद रेशम चौधरीमाथि लगाइएका आरोपलाई बर्दियाका तथ्यहरूको आलोकमा हेर्ने हो भने बल्ल आफ्नै अभिशंसाहरू (कन्विक्सन्स) प्रति शंका उत्पन्न हुन्छ। शासित र शासक बेमेल समुदायका भएपछि तटस्थ अन्वेषणमा शंकाको लाभ कमजोर पक्षले पाउनुपर्ने हुन्छ। नेपालमा भने सबैकुरा उल्टो मान्यतामा चल्छ। अल्पसंख्यक समुदायका आरोपीले आफ्नो निर्दोषिताको प्रमाण स्वयं प्रस्तुत गर्नुपर्ने अवधारणा नृजातीय राज्य व्यवस्थाको अन्तर्निहित चरित्र हो। जननिर्वाचित रेशम चौधरीले बल्ल त्यो कुरा थाहा पाउँदैछन्। बर्दियाका द्वन्द्वपीडित थारू परिवारका वेदना भने राष्ट्रिय चेतनाबाट एक दशकभित्रै अलप भइसकेका छन्। प्रतिवेदन प्रकाशित भएको पहिलो वार्षिकी पारेर एक हुल पश्चिमा राजदूत एवं कूटनीतिज्ञहरू बर्दिया पुगेका थिए। तिनको समूहगत दबाब पनि कुनै काम लागेन। त्यसैले अहिले युरोपियन युनियनको सिफारिसले उब्जाएको कचकच पनि ब्यर्थ हो। राज्य व्यवस्थाले आफ्नै नागरिकसँग विभेदको व्यवहार गर्न थालेपछि बाहिरिया दबाबले त्यसलाई किमार्थ सच्याउन सकिँदैन। जाग्नुपर्ने अन्ततः जनता नै हो। संयुक्त राष्ट्र संघ मानव अधिकार उच्च आयुक्तको कार्यालय जस्ता संस्थाहरूको उपयोगिता निष्पट्ट अँध्यारोमा उज्यालोको आश बचाइराख्नुसम्म हो। आक्रामकरूपले एकात्मक जातीयता एवं नृजातीय वर्चस्ववादको अभ्यास गरिरहेका राजनीतिक शक्तिहरू सत्तामा रहेका बेला त्यस्तो सीमित भूमिकाको महत्व पनि कम हुँदैन।

राजनीतिक वाक्छल

माओवादीहरूका दार्शनिक पथप्रदर्शक मोहन वैद्यले कहिलेकाहीँ प्रयोग गर्ने ‘मध्यपन्थी मिहिन संशोधनवाद’ वाक्यांशको निहितार्थ उनका देदीप्यमान शिष्यद्वय पुष्पकमल दाहाल एवं बाबुराम भट्टराईले मात्र ठम्याउन सक्छन्। तर माओवादी नेतृत्वले सन् २०१३ पछि आफ्ना सबै राजनीतिक आस्था परित्याग गरेको निष्कर्षमा पुग्न गुरू वैद्य स्वयंका प्रवचनाबारे पनि मनन गरिरहनु पर्दैन। माओवादी सशस्त्र द्वन्द्वको सबभन्दा ठूलो मूल्य थारूहरूले तिर्नुपरेको थियो। तिनका लागि दश वर्षे हिंसक द्वन्द्व त्रासदी ठहरिएको छ। दोस्रो सबभन्दा पीडित समूह दलितहरूको थियो। तिनका लागि पनि सशस्त्र संघर्ष उपलब्धिविहीन सावित भएको छ। तेस्रो योगदान मगरहरूको थियो । राजा पृथ्वीको पालादेखि नै मगरहरू थोरैमा चित्त बुझाउनेमा पर्छन्। गोर्खाली परम्पराअनुसार पाएको भागमा माओवादी पंक्तिका मगर अगुवा मख्ख छन्। तर जनजाति, दलित, मधेसी एवं सामान्य विपन्न सहिदहरूको प्रतीकात्मक हाडखोड जोडेर बनाइएको सिँढी चढेर सत्ताको आसनमा उक्लिएका माओवादी नेतृत्वले बर्दियाका वेदनामा मलम लगाउन के गरे? आफ्ना सबै गतिविधिको हिसाबकिताब नेत्रविक्रम चन्दले मात्रै होइन, दाहाल र भट्टराईले पनि दिन सक्नुपर्छ। दाहाल नवबाहुनवादी भएका छन् र नियतिले डो-याएको बाटो समातेका छन्। नवाचारी स्वच्छन्दतावाद (नियो लिबर्टेरिअनिज्म) भट्टराईको नयाँ आस्था हुन पुगेको छ। तिनका पछि लाग्नेहरूको विजोग देख्न सामान्य थारू एवं दलितको अवस्था हेरे पुग्छ।

नेपाली राज्य र समाजका गहिरा अन्तद्र्वन्द्वहरूलाई सतहमा ल्याइदिएर माओवादीहरूले ठूलो योगदान गरेका हुन्। तिनको सान्दर्भिकता एवं उपयोगिता प्रथम संविधान सभाको अवसानसँगै समाप्त भयो। मधेसीहरूले पनि आफ्नो विद्रोहलाई तार्किक निष्कर्षमा पु-याउन सकेनन्।

पाली कांग्रेस हाकाहाकी उदारवादी पार्टी हो। घोडालाई पुग्नेगरी चना ख्वाइयो भने पच्न नसकेको दाना लिदीबाट निस्कन्छ र चराहरूले चारो टिप्न पाउँछन् भन्ने तल झर्ने (ट्रिकल डाउन) अवधारणाबाट उदारवाद चल्छ। वर्गीय असमानताबेगर आयाधिक्य हुँदैन, पुँजी निर्माण हुन सक्दैन र लगानी बढ्न पाउँदैन भन्ने मान्यतालाई जतिसुकै प्रजातन्त्रको जलप लगाए पनि त्यो फगत संभ्रान्ततन्त्र रहिरहन्छ। नेकपा (एमाले) दलको नाममा माक्र्सवाद तथा लेनिनवाद रहेको भए तापनि मूलरूपमा त्यो नृजातीय पार्टी हो। आफ्नो नृजातीय समूहको वर्चस्वलाई निरन्तरता दिन ‘खस/आर्य’ जस्तो कृतिम पहिचानलाई संवैधानिक हैसियत प्रदान गर्नसमेत एमाले हच्किएन। अब त सजावटका लागि समेत एमाले नेतृत्वले निर्णायक तहमा बाहुन पुरूषबाहेक अरुलाई राख्नुपर्ने आवश्यकता देख्दैन। एमालेबाट त्यस दलका मधेसी, महिला, दलित वा जनजातिले अपेक्षा राख्ने भनेको वफादारीबापत पाइने बक्सिस मात्रै हो। उत्तरी भारतमा बाबासाहेब अम्बेडकरपछिका सबभन्दा प्रभावशाली नेता रहेका काशीरामले भारतीय जनता पार्टीलाई ‘हरियो घाँसको सेतो सर्प’ भन्थे। आँखा खुला राख्ने हो भने जोगिन सकिन्छ । नेपालको सन्दर्भमा एमाले भाजपा जस्तै खुल्लमखुला जातीय वर्चस्ववादी दल हो। उत्तर भारतका कम्युनिस्टहरूलाई भने काशीरामले ‘हरियो घाँसका हरिया सर्प’ सँग तुलना गर्ने गर्थे। देख्न नसकिने, जोगिन कठिन र विष पनि कडा लाग्ने। माओवादीहरू कतै उत्तरी भारतका माक्र्सवादी तथा लेनिनवादी जस्ता मात्रै त थिएनन् भन्ने शंका निराधार होइन । थारू वा दलितहरूको दृष्टिकोणबाट हेर्दा हरियो एवं सेतो सर्पको मिलन कतैबाट पनि निरापद देखिँदैन।

मौन सम्मति

दश वर्षपछि पनि बर्दियाका वेदनाले सचेत समूहको मथिंगल खलबल्याउन नसक्नुमा काठमाडौँका विचार निर्माताहरूको मौनता पनि कम जिम्मेवार छैन। सत्ताका ‘टोडी बच्चा’ प्रवृत्तिका केही व्यक्तिले जति नै ठूलो स्वरमा आपत्ति जनाए पनि खसरआर्य सभ्रान्तको नजरमा थारूहरू फगत मधेसी जनजाति समुदाय हो। त्यो भनेको करेलाको तरकारीमा नीमको मसला हालेजस्तै हो। पहाडी जनजातिका आफ्नै मित बुआ, नजिकका मामा वा टाढाका फुपाज्यूहरूलाई त आफूसरह नमान्ने खस/आर्य सभ्रान्तले थारूहरूलाई बराबरीको सम्मान त के दिन्थे र? विचार निर्माणको संवाहक भनेको सञ्चार हो। नेपाली सञ्चारको संसारमा शिक्षित एवं सुसंस्कृत थारूहरूसमेत घोँघी र गंगटोको मुखै रसाउने परिकार रूचाउने तथा माघीमा विलक्षण पहिरनमा सज्जिएर टुँडिखेलमा जात्रा मनाउनेभन्दा बढी महत्व कहिल्यै पाउन सकेनन्। भारतमा मोदीका भक्त सञ्चारकर्मीहरूका लागि ‘गोदी मिडिया’ भन्ने अभिव्यक्ति चलनचल्तीमा छ। नेपालमा खस÷आर्य सरदार खड्गप्रसाद शर्मा ओलीको आशय बुझेर ‘पादुका पत्रकारिता’ गर्ने झण्डैझण्डै मोदीभक्त प्रकृतिकै ‘डोली मिडिया’ उदाएको छ जसले वर्चस्ववादीहरूको मुद्दा सहर्ष र स्वेच्छाले काँधमा बोकेर हिँड्छ। तिनका लागि थारू त के, मधेस पनि अव वैचारिक बहसको विषय रहेन। तिनको ठम्याइमा संविधानले सबै कुराको टुंगो पहिले नै लगाइसकेको थियो, तीन तहको निर्वाचनपछि अब कुनै विवाद बाँकी छैन। युरोपियन युनियनका पर्यवेक्षकहरूले पक्कै पनि कि त कुत्सित मनसायले वा गाँजा तानेर प्रतिवेदन लेखेको हुनुपर्छ।

सञ्चारपछि उत्पीडितहरूको पक्षमा निरन्तर आवाज उठाइरहने जिम्मेवारी मानवाधिकारकर्मीहरूको हो। काशी, कश्मीर, अजव नेपाल भएकाले नै होला, सम्मानयोग्य सीमित अपवादबाहेक नेपालका अधिकांश मानवाधिकारकर्मीलाई मानवीय अस्मिताभन्दा राष्ट्रियताको चिन्ताले बढी पिरोल्ने रहेछ। खस÷आर्य वर्चस्वप्रति समर्पित रक्षकहरूलाई मानवाधिकारको साटो ‘खआअधिकारवादी’ भने पनि खासै फरक पर्दैन। जनजाति आन्दोलनताका ती खुलमखुला ‘सेतो कमिजवाला’ प्रतिक्रियावादीहरूसँग उभिए। तीनवटै मधेसविद्रोहमा तिनको ‘निष्पक्षता’ तत्कालीन सत्ताको हीत रक्षार्थ प्रयोग भएको थियो। महिला एवं दलितका मुद्दामा ती कृपालु (कान्डिसेन्डिङ) पाराले दयामाया जरूर देखाउँछन् तर वर्चस्वको निरन्तरताका मामिलामा तिनको नृजातीय प्रतिबद्धता धेरैजसो मानवाधिकारकर्मीहरूको मातृदल एमालेभन्दा कति पनि कम छैन  मानवाधिकार तथा मानवीय कानुनको गम्भीर उल्लंघनका घटनामा आममाफी नदिइने प्रधानमन्त्री ओलीको वाचा सुरक्षा संयन्त्रका हाकिमहरूप्रति नभएर सत्ता साझेदार माओवादीप्रति लक्षित हो। बर्दियामा मात्रै १२ बेपत्ताको जिम्मेवारी तिनले लिएका छन्, राज्य संयन्त्रले पीडितहरूको अस्तित्व स्वीकार गर्नसमेत इन्कार गरेको छ। मानवाधिकारको आयुधीकरण (वेपनाइजेसन अफ ह्युमन राइट्स) माओवादीहरूलाई ठाउँमा राख्न ओली एवं उनका स्थायी सत्ताका सञ्चालकहरूलाई खुब काम लाग्छ।

नेपाली राज्य र समाजका गहिरा अन्तद्र्वन्द्वहरूलाई सतहमा ल्याइदिएर माओवादीहरूले ठूलो योगदान गरेका हुन्। तिनको सान्दर्भिकता एवं उपयोगिता प्रथम संविधान सभाको अवसानसँगै समाप्त भयो। मधेसीहरूले पनि आफ्नो विद्रोहलाई तार्किक निष्कर्षमा पु-याउन सकेनन्। नेपाल अब अर्को युगान्तकारी परिवर्तनको तयारीमा छ। नेतृत्व कसको हातमा पुग्ने हो, त्यो त भावी इतिहासले मात्र देखाउनेछ। तबसम्मलाई बर्दियाका थारू, दलित एवं विपन्नहरूको बलिदानलाई सलाम। तिनको उच्चतम त्याग जनस्मृतिमा अंकित रहनेछ । समय जतिसुकै लागोस्, शहीदको रगत कहिल्यै खेर जाँदैन।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस