न्यायपालिका सकसको निकास
२१ फागुन २०७४
•
१९ मिनेट पाठ
न्यायपालिका सकसको निकास
न्यायपालिकाले गरेका निर्णयलाई लिएर राजनीतिक दलले २०४७ सालपछि सडकबाट विरोध गर्न थालेको देखिन्छ । टनकपुर मुद्दाको सवाललाई उदाहरणका रूपमा लिन सकिन्छ । त्यसपछि कतिपय राजनैतिक दलबाट सर्वोच्च अदालतको फैसर्ला नमान्ने चेतावनी सञ्चार माध्यममार्फत अभिव्यक्त भएका छन् । २०७४ सालमा आएर न्यायपालिका र यसको नेतृत्व बढी नै विवादमा परेको छ । विशेषगरी, न्यायपालिकाको स्वाधीनता,  न्यायपालिकामा अन्तर्निहित न्यायिक सुशासनको ओरालोलाग्दो अवस्थालाई लिएर सिङ्गो न्यायिक संरचनामाथि प्रश्न उठेको छ । सडकबाट प्रधानन्यायाधीशको राजीनामा माग हुनु यसको उदाहरण हो । 

न्यायपालिकाविरुद्ध हाल उठिरहेका सवाल मूलभूत रूपमा चार विषय छन् । पहिलो भ्रष्टाचार, दोस्रो– न्यायपालिकाको राजनीतीकरण, तेस्रो– सिङ्गो न्यायपालिकाको व्यवस्थापकीय क्षमता र सुशासन । र, चौथो– प्रधान न्यायाधीशको आचरणसित जोडिएको अदालतको अवहेलनाको सवाल। 

न्यायपालिकामा न्यायिक सुशासनको अभाव र भ्रष्टाचार संस्थागत भएको विषय उठाइरहेका छौँ भने यसलाई गोपाल पराजुलीसम्म मात्र सीमित गर्नु हुँदैन। 

भ्रष्टाचारको सवाल 

न्यायपालिकामा विद्यमान भ्रष्टाचारको सवाललाई लिएर सुषुप्त रूपमा न्यायपालिकामाथि सन्देह रहँदै आएको पाइन्छ । न्यायपालिकालाई नेतृत्व गर्ने प्रधान न्यायाधीशहरूले आफ्नो पदभार ग्रहण गर्दा न्यायालयभित्रको भ्रष्टाचारलाई सम्बोधन गर्ने विषय आफ्नो प्राथमिकतामा रहने भन्ने अभिव्यक्तिहरूले यस विषयलाई थप पुष्टि र उजागर गर्दै आएको छ । हालसम्म आइपुग्दा प्रधान न्यायाधीशमाथि नै न्यायालयभित्रको भ्रष्टाचारको नेतृत्व गरेको, अदालतभित्र चरम गुटबन्दी गरेको, मुद्दाको पेशी निर्धारण गर्दा सेटिङ मिलाएरको जस्ता आरोप सार्वजनिक रूपमा लागेका छन् । यसले न्यायालयमाथिको जनविश्वास खस्काएको छ ।  

न्यायपालिकाको राजनीतीकरण 

संविधानले स्वतन्त्र न्यायपालिकाको परिकल्पना गरेको छ । स्वतन्त्र न्यायपालिकाका अवयवको चर्चा गर्दा दुई विषयलाई महत्वसाथ हेर्ने गरिन्छ : १) संस्थागत स्वतन्त्रता, र २) न्यायाधीशहरूलाई स्वतन्त्र र निष्पक्ष रूपमा न्याय सम्पादन गर्ने स्वतन्त्र वातावरण । 

संस्थागत स्वतन्त्रताको विषयमा चर्चा गर्दा सिङ्गो न्यायपालिकाले कानुनको अगाडि समानता तथा कुनै पनि भेदभाव बिना कानुनको समान संरक्षणको सिद्धान्तका आधारमा “निष्पक्ष” रूपमा न्याय सुनिश्चित गर्न विधायिका, कार्यपालिका तथा राजनीतिक रूपमा न्यायपालिका स्वतन्त्र छ भन्ने विषयलाई हेर्ने गरिन्छ । दोस्रो सवालमा, न्यायाधीशहरूको नियुक्ति र योग्यता, न्यायाधीशका सेवाका सर्त तथा सुविधा, न्यायाधीश पद रिक्त हुने अवस्था, अदालतको गरिमा र मर्यादा, न्यायपालिकाको स्वतन्त्रतालाई कायम राख्दै अभिव्यक्ति स्वतन्त्रता र व्यावसायिक वृत्तिका निमित्त संगठित हुन पाउने अधिकारलाई कसरी सुनिश्चित गरिएको छ भन्ने विषयलाई प्राथमिकतासाथ हेरिन्छ । संविधानले वास्तवमा स्वतन्त्र न्यायपालिकाका यी अवयवलाई आत्मसात् गरेको देखिन्छ । अदालतमा हुने भ्रष्टाचारको विषय अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगको क्षेत्राधिकारभित्र नपर्ने व्यवस्था रहेको छ । अदालतलाई दिएको यस प्रकारको छुट (इम्युनिटी) को  दुरूपयोग त भइरहेको छैन भन्ने प्रश्न पनि उठ्ने गरेको छ ।  

तर न्यायाधीश नियुक्ति, सरुवा, अनुशासन सम्बन्धी कारबाही र न्याय प्रशासन सम्बन्धी अन्य विषयको सिफारिसका निमित्त बनाइएको न्याय परिषद्को संरचनामा संरचनागत रूपमै त्रुटि देखिन्छ । न्यायपरिषद्को संरचनामा कार्यपालिकाको प्रभाव हाबी भएको देखिन्छ । यसको प्रत्यक्ष उदाहरण न्यायाधीश नियुक्तिमा समेत भइरहेको राजनीतिक भागबण्डाको अभ्यासलाई लिन सकिन्छ । यसले संस्थागत न्यायिक स्वतन्त्रतामा प्रश्न उठाएको छ । यसको प्रत्यक्ष–परोक्ष प्रभाव न्यायाधीशहरूलाई स्वतन्त्र र निष्पक्ष रूपमा न्याय सम्पादन गर्ने कार्यमा परेको देखिन्छ । यसबाट न्यायको मूल मर्म निष्पक्षताको प्रत्याभूतिमाथि स्वाभाविक रूपले प्रश्न उठ्छ । 

न्यायपालिकाको व्यवस्थापकीय क्षमता र सुशासन 

जब न्यायपालिका भ्रष्टाचारले ग्रस्त छ भन्ने बुझाइ र न्यायपालिकामा राजनीतीकरण हाबी भएको यथार्थ सार्वजनिक हुन्छ, यसले न्यायपालिका स्वाधीन छैन भन्ने धारणालाई बलियो बनाउँछ । यसको प्रत्यक्ष प्रभाव न्यायिक व्यवस्थापकीय क्षमता र न्यायिक सुशासनमा पर्न जानु स्वाभाविक हो । नेपालको न्यायपालिकाको कुरा गर्दा न्यायपालिकाको व्यवस्थापकीय क्षमताका साथै दैनिक सुशासन पनि त्यत्तिकै कमजोर छ । मुद्दाको सुनुवाइ तथा फैसलामा ढिलासुस्ती छ । यसका थुप्रै कारणहरूमध्ये कानुन व्यवसायी र मुद्दाका पक्ष पनि उत्तिकै जिम्मेवार छन् । परम्परागत कार्यविधि प्रणालीको हाबी, अदालत अझै प्रविधिमैत्री हुन नसकेको अवस्था, म्याद तामेलीमा समस्या, समय व्यवस्थापनको अभाव, कानुनले तोकेका आधारभूत सेवा र सुविधाको उचित व्यवस्थापनको अभाव, फैसला कार्यान्वयनमा चुनौती, लैङ्गिक तथा बाल न्यायका आधारभूत संरचनाहरूको संस्थागत दिगोपनाको अभाव लगायतका विषयहरू न्यायपालिकाप्रति नागरिकहरूको विश्वसनीयता जोगाउन चुनौतीका रूपमा रहेको देखिन्छ ।  

अदालतको अवहेलना 

माथि उल्लिखित चुनौतीका साथसाथै हाल आएर प्रधान न्यायाधीशसँग जोडिएर आएको अदालतको अवहेलनाको सवाल सडकदेखि बेन्चसम्म पुगेको छ । प्रधान न्यायाधीशले भ्रष्टाचारलाई संस्थागत गरेको, प्रधान न्यायाधीशमा उच्चतम नैतिकताको चरम अभाव रहेको, न्यायिक निरङ्कुशतालाई बढावा दिएकाजस्ता आरोप लागेका छन् । योबाहेक प्रधान न्यायाधीशले कानुन व्यवसायीहरूलाई धम्काएको भन्नेसम्मका आरोप छन् । 

प्रधान न्यायाधीशमाथि लागेको यस प्रकारको आरोपलाई एक पक्षले अदालतको मानहानिका रूपमा व्याख्या गरिरहेको छ । अर्को पक्षले न्यायाधीश र न्यायाधीशको आचरण र उनले गरेका निर्णयमाथि गरिएका प्रश्नलाई लिएर अदालतको मानहानि भन्न मिल्दैन भनिरहेको छ । संविधानको कसीमा राखेर यस विषयलाई हेर्ने हो भने संविधानले दुई अवस्थामा मात्र अदालतको मानहानिमा मुद्दा चलाउन सक्ने व्यवस्था गरेको छ ः पहिलो, सर्वोच्च अदालतले आफ्नो वा मातहतको अदालतको न्यायसम्पादनको कार्यमा कसैले अवरोध गरेमा, दोस्रो, सर्वोच्च अदालतले आफ्नो वा मातहतको अदालतका आदेश वा फैसला अवज्ञा गरेमा (धारा १२८ (४) ) । यसले अदालत र न्यायाधीशको विषयमा टीकाटिप्पणी गर्नु नहुने र गरेमा अदालतको अवहेलना हुने भन्ने परम्परागत विधिशास्त्रलाई विस्थापित गरेर अदालतको अवहेलना वा मानहानि सम्बन्धी विषयमा नयाँ विधिशास्त्रलाई आत्मसात् गरेको मान्न सकिन्छ । 

अहिले प्रधान न्यायाधीशको न्यायपालिकासँग सम्बन्धित दैनिक गतिविधि र उनको नागरिकता र शैक्षिक योग्यता सम्बन्धी विवादलाई लिएर सडकबाट उनको राजीनामाको माग भइरहेको छ । नेपालको संविधान लागू भएपश्चात् नयाँ संविधान बमोजिम भर्खरै मात्र तीनै तहको निर्वाचन सम्पन्न भई नयाँ सरकारको गठन भएको छ । यस्तो अवस्थामा न्यायपालिका र न्यायाधीशको आचरणलाई लिएर सडकमा सुरु भएको आन्दोलनले गम्भीर प्रश्न उब्जाएको छ । साँच्चै के अब यो मुलुकमा न्यायालयको यो गम्भीर अवस्थालाई निकास दिन कानुनी र संवैधानिक बाटो समाप्त भएकै हो ? कानुनको परिधि र विधिको शासनभित्र रहेर यी सवाललाई सम्बोधन गरेर सुधार्ने अवसर गुमिसकेकै अवस्था हो ? यी प्रश्नको गम्भीर विश्लेषणबिना सडकमा भइरहेको आन्दोलन र प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा मात्र सिङ्गो न्याय प्रणालीलाई रूपान्तरण गर्न  पर्याप्त छैन । 

न्यायपालिकाभित्र थुप्रै समस्या छन् । वर्तमान प्रधान न्यायाधीशको आचरण, व्यवहार, मुद्दाको सुनुवाइ, आदेश र फैसला गर्ने क्रममा देखिएका न्यायिक आचरणको सवाल, शैक्षिक योग्यता र जन्ममितिको विवाद, अदालतको मानहानिको सन्दर्भलाई लिएर प्रेस स्वतन्त्रतालाई नै कुण्ठित गर्ने गरी भएका आदेश, आफ्नो मुद्दामा आफैँ न्यायाधीश हुनेजस्ता गतिविधिले न्यायालयको छविलाई धुमिल्याउने काम भएको छ । यो व्यवहार न्यायाधीशको उच्च नैतिक आचरणको विपरीत रहेको छ । यसले उनलाई महाअभियोग लगाउन सक्ने आधार निर्माण हुँदै गएको छ । तर न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षताको सवाल र आज न्यायपालिकाभित्र विद्यमान तमाम समस्या र सवाललाई गोपाल पराजुलीको आचरण र नैतिक विचलनसँग मात्र सीमित गरियो भने यसले न्यायपालिकालाई रूपान्तरण गर्ने क्षमता राख्दैन । जब हामी न्यायपालिकामा न्यायिक सुशासनको अभाव र भ्रष्टाचार संस्थागत भएको विषय उठाइरहेका छौँ भने यसलाई गोपाल पराजुलीसम्म मात्र सीमित गर्नु हुँदैन । 

अर्को दुःखदायी विषय भनेको न्यायपालिकाको स्वतन्त्रता, कानुनको शासन, लोकतन्त्रको संस्थागत विकासका निमित्त आवाज उठाउने व्यक्तिहरूलाई लक्षित गरेर केही सञ्चारमाध्यममार्पmत नियोजित रूपमै व्यक्तिको चरित्र हत्या गर्ने कार्यको सुरुवात भएको छ । यो मिडियाले आफ्नो क्षमता र अधिकारको दुरुपयोग गर्दै गरेको संरचनागत हिंसा हो । यसले निष्ठापूर्वक नेपालको लोकतन्त्रको संस्थागत विकासका निमित्त प्राज्ञिक अभ्यास गर्ने, कानुनका आधारमा तर्क, विवेक र ज्ञानलाई उजागर गरेर सामाजिक अभियानलाई दिशा दिन प्रयत्न गर्ने व्यक्तिलाई हतोत्साही गर्ने अवस्था सिर्जना गर्छ । यसले न्यायपालिकाको रूपान्तरणसँग सम्बन्धित सवालहरूमा बहस, तर्क र विवेकलाई स्थान दिनुपर्नेमा सो कुराबाट ध्यान अर्कैतिर मोड्ने काम हुन्छ । यो न्यायपालिकाको वर्तमान समस्या रूपान्तरणका निमित्त सहयोगी कदापि हुन सक्दैन । 

हाम्रो न्यायिक प्रणालीलाई धराशयी हुनबाट कसरी रोक्ने ? न्यायपालिकामाथि गुमेको विश्वास कसरी पुनःस्थापना गर्ने भन्ने प्रश्न महत्वपूर्ण सवाल हो । यसका निमित्त नवनिर्मित सरकार, संघीय विधायिका तथा सडक आन्दोलनलाई नेतृत्व गरिरहेका व्यक्तिहरूले गम्भीरतापूर्वक मनन गर्नुपर्छ । न्यायपालिकासँग सम्बन्धित उपर्युक्त सवालहरूमा वस्तुनिष्ठ विश्लेषण गरी निकास निकाल्ने प्रयत्न गर्नुपर्छ । अतः न्यायपालिकासँग सम्बन्धित उपर्युक्त सवाललाई सम्बोधन गर्न पम्परागत योजनाभन्दा भिन्न किसिमको अल्पकालीन र दीर्घकालीन योजनाको आवश्यकता टड्कारो देखिएको छ ।  

यसका निमित्त प्रधानन्यायाधीशविरुद्ध सडक र बेन्चसम्म आवाज उठिसकेपछि प्रधानन्यायधीशले राजीनामा दिएर तत्कालीन समस्या समाधानका निमित्त मार्ग प्रशस्त गर्नु आवश्यक छ। यो अहिलेको अवस्थाको माग र आवश्यकता हो। तर, राजीनामा दिएकै आधारमा उनले उन्मुक्ति पाउनु हुँदैन। यसका निमित्त नवनिर्वाचित संसद्ले सार्वजनिक रूपमा नैतिकता, भ्रष्टाचारजस्ता आरोप लागेका प्रधानन्यायधीशमाथि छानबिन गरी सत्यतथ्य नागरिकसमक्ष वस्तुनिष्ठ ढङ्गले ल्याउनुपर्ने हुन्छ । आवश्यक परेमा महाअभियोगका निमित्त पनि तयार हुन आवश्यक छ । यसैगरी, न्यायपरिषद्को संरचनालाई कसरी सुधार्न सकिन्छ, परिणामतः राजनीतिक हस्तक्षेपबाट न्यायाधीशको नियुक्ति, बढुवा, सरुवा लगायतका सवाललाई सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा गृहकार्य गर्न आवश्यक देखिन्छ। 

दीर्घकालीन रूपमा न्यायपालिकामा अन्तर्निहित भ्रष्टाचारलाई सम्बोधन गर्ने, न्यायपालिकाको व्यवस्थापकीय क्षमता र सुशासनको विषयलाई सम्बोधन गर्न कार्ययोजनाहरू निर्माण गर्न आवश्यक छ। यी सबैको पूर्वसर्त भनेको बार र बेन्चले आ–आफ्नो आचारसंहिताको परिपालना गर्ने, राजनैतिक कर्ताहरू आफूलाई कानुन र संविधानको अधीनस्थ राखेर आ–आफ्ना काम, कर्तव्य र अधिकारको परिपालना गर्नेजस्ता विषयहरूलाई आत्मसात् गर्नुपर्ने देखिन्छ। 

न्यायिक सङ्गठन (जस्ट इन्स्टिच्युसन) को स्थिरताको प्रत्याभूति र संस्थागत गर्नु हरेक दृष्टिकोण र कारणले उचित र आवश्यक छ । अतः यस घडीमा सडक अभियानमा संलग्न भएका कर्तादेखि, सरकार, संसद्, न्यायपालिका लगायतले यसको आवश्यकतालाई आत्मबोध गरी कार्य गर्नु नै महत्वपूर्ण प्रस्थानबिन्दु हो । समयले सबै क्षेत्रका कर्तामा विवेकशील क्रियाकलापको अपेक्षा गरेको छ। 

(अधिवक्ता)
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस