राजनीतिको ढलानतिर प्रचण्ड
०१ असार २०६७
•
१२ मिनेट पाठ
राजनीतिको ढलानतिर प्रचण्ड
लामो समयसम्म उहाँ तिलस्मी राजनीतिक पात्रका रुपमा रहनु भयो। सानो परिधिमा समेटिएका केही व्यक्तिहरु वाहेक कसैले पनि थाह पाएन को हो प्रचण्ड? छापाहरुमा छापिने गरेका उहाँको तस्वीर अनुमानले मात्रै मानिसको भनेर ठम्याउन सकिन्थ्यो।
शहर र जंगलको रहस्यमय भूमिगत जीवनवाट विस्तारै सार्वजनिक हुनु भएपछि उहाँको आकर्षक व्यक्तित्वको प्रभाववाट कोही जोगिन सकेन। सरकार प्रमुखका रुपमा अमेरिकी राष्ट्रपतिसंग हात मिलाउंदा होस अथवा अभिनेत्री रेखा थापासंग सडकमा मस्किँदै नाच्दा - प्रचण्ड सार्वजनिक जीवनको कुनैपनि भूमिकामा सुहाउनु भयो। वोलीमा भेनेजुएलाका राष्ट्रपति ह्यूगो चाभेजभन्दा कम आक्रामक, तर व्यवहारमा उत्तिकै नाटकीय एक्काइसौं शताव्दीको पहिलो दशकमा देखा परेका नेपाली राजनीतिक नेताहरुको लहरमा उहाँ वेग्लै र अग्लो व्यक्तित्वका रुपमा सवैका लागि मान्य र स्थापित हुनुभयो।

तर, केही समयदेखि माओवादी पार्टीका अध्यक्ष प्रचण्डको राजनीतिक व्यक्तित्वमा 'वागमतीको पानी' ले असरपार्न थालेको छ। यो पानीमा पाइने विभिन्न प्रकारका खनीज तत्वहरुले उहाँको राजनीतिलाई लगातार ढलानतिर धकेल्न थालेको अनुभवगर्न थालेका छन उहाँका शुभचिन्तकहरु। उहाँको मोहक व्यक्तित्वको आकर्षण घटेको छैन। तर, 'जन्जीर,' 'दिवार' र 'शोले' जस्ता सिनेमाहरुका कारण संसारभर फैलिएको अमिताभ वच्चनको व्यक्तित्वको आकर्षण हालका दिनमा खुम्चिए जस्तै प्रचण्डको व्यक्तित्व पनि खुम्चिन थालेको अनुभव गरिँदैछ। अमिताभ 'हिट' नहुँदा पनि चलेका छन। तर, प्रचण्डलाई त्यो सुविधा उपलव्ध छैन। राजनीतिको व्यवसायमा निरन्तर हिट हुन सकेन भने कुनैपनि नेता टिक्न सक्दैन। अझ, वामपंथी राजनीतिमा त हिटको महत्व पटक पटक स्थापित भैसकेको छ।

नेपाल कम्युनिष्ट पार्टी माओवादीलाई र विशेषगरि पुष्पकमल दाहालको औपचारिक नामवाट संविधानसभा निर्वाचनपछिको सरकारको नेतृत्व गर्नुभएका प्रचण्डलाई सरकार फापेन। सरकार मात्रै होइन, नेपालका सवै वामपंथीहरुलाई समेटेर एउटा सिंगो कम्युनिष्ट केन्द्र वनाउने प्रचण्डको चाहना अनुसार नेपाल कम्युनिष्ट पार्टी (माओवादी) नामको अघिल्तिर थपिएको 'एकीकृत' शव्द पनि फापेन। सरकार र एकीकृत दुवै शव्द असफल र निष्प्रभावी भए।

 

अर्थनीतिमा खासै परिवर्तनगर्न नसकेपनि कस्सिएर कर उठाएकै कारण डा. भट्टराई सफल हुनु भयो। तर, सेनापतिको फूली फुकाल्ने महत्वपूर्ण निर्णय गरेर पनि प्रधानमन्त्री प्रचण्ड त्यो निर्णयमा टिक्न सक्नु भएन। नेपाली राज्यको पुनर्संरचनाका लागि दशक लामो युध्दको नेतृत्व गरेर विपक्षीव्दारा समेत साहसी नेताका रुपमा दरिनु भएका सेनापति आफनो निर्णयलाई सिंहदरवारमा वेवारिस छाडेर सत्तावाटै कुलेलम ठोक्नु भयो। यो घटनापछि प्रचण्डका उक्ति र पुनरुक्तिहरु, निर्णय क्षमता र दृढतामाथि माओवादी कामरेडहरुले नै संशय प्रकटगर्न थाले।

तर, यो प्रचण्डको दोष थिएन। उहाँले वुझनु भएको थियो युध्दको लामो स्थिरतापछि कामरेडहरु गतिशीलहुन खोजी रहेका छन। 'एमालेभन्दा ठूलो, एमाले भन्दा गतिशील र एमालेभन्दा आकर्षक' कम्युनिष्ट पार्टीका रुपमा माओवादीको रुपान्तरण पार्टीभित्रको एउटा ठूलै धारको अभिलाषा वनेको छ। मार्क्सवादी अवधारणा अनुसार पनि, संस्कृतिले आधार र आकाशलाई कल्पनाको एउटै विन्दूमा ल्याउँछ। मानव सभ्यताको लामो इतिहास सांस्कृतिक गतिशीलताको जीवन्त रुप हो। 'यो गतिशीलता नभएको भए' प्रोफेसर टेरी इगल्टन लेख्दछन, 'मानिसहरु गाउँवाट शहरतिर, पिग फार्मिङवाट पिकासोतिर र हलोवाट अणुतिर लाग्दै लाग्दैनथे।'

प्रचण्ड आफैंपनि यो गतिशीलताको विरुध्द हुनुहुन्न होला। आफनो राजनीतिक जीवन सफल तुल्याउन श्रमिकका रुपमा समेत दुख उठाउने पत्नी, पुत्र-पुत्री र कुटुम्वहरुको मोह उहाँमा पनि नभएको होइन होला। तर, उहाँमा रहेको अदभूत राजनीतिक महत्वाकांक्षा र जिजीवीषा यसको अवरोधक वन्यो। निकट भविष्यमा 'रातो' नेपालको निष्कण्टक राज्यगर्ने सपनाले उहाँलाई झकझकाउन थाल्यो। यसका लागि माओवादीले आफना मौलिक मान्यताहरु छाडेर संसदीय राजनीतिको पगडण्डी समात्न नहुने निष्कर्षमा पुगेको अर्को धारसंग सुधारवादी धारको तालमेल मिलाउन खोज्दाखोज्दै प्रचण्ड आन्दोलनको ढलानमा उत्रिनु भयो। तर, उहाँको यो यात्रा 'सुकिला-मुकिला' को असहयोगका कारण साता दिनमा नै विथोलियो।

नयाँ नेपालको निर्माणका लागि प्रचण्डले नेपाली राजनीतिमा धेरै विषयहरु आवादगर्नु भयो। तर, गणतन्त्र र संघीयताको सीमानाभित्र संसदवादी दलहरुलाई सजिलै घेरेर पनि उहाँले आफनै पार्टीलाई विचारहरुको प्राग्ऐतिहासिक खण्डहरवाट वाहिर, एक्काइसौं शताव्दी सुहाउँदो व्यवहारिक धरातलमा, ल्याउनवाट चुक्नु भयो। यसले गर्दा माओवादी पार्टी यतिखेर राजनीतिक विचलनको भीरतिर लागेको आभाश हुन्छ। माओवादी पार्टीले पछिल्लो पटक प्रस्तावित राष्ट्रिय सरकारको नेतृत्व अध्यक्ष प्रचण्डले नै गर्ने निर्णय दोहोर्‍याएपछि पार्टीभित्र प्रधानमन्त्री पदका दावेदार उहाँभन्दा योग्य व्यक्तिहरुको लर्को नै लागेको छ। यसले गर्दा, प्रचण्ड वाहेकको अर्को कुनै नेताले नयाँ सरकारको नेतृत्व गर्नुपर्ने अडानमा रहेको नेपाली कांग्रेस र उसंग गठवन्धनमा रहेका दलहरुको जोश, जांगर र साहस वढेको देखिएको छ भने माओवादी अस्तव्यस्त हुन थालेको छ। अध्यक्ष प्रचण्ड युध्दकालपछि पहिलो पटक पार्टीभित्र ठूलो संकटमा देखिनु भएको छ।

प्रचण्डको राजनीति यतिखेर ढलानको छेउतिर देखिए पनि उहाँको राजनीतिक वर्चस्वमा प्रश्नचिन्ह लगाउने अवस्था पक्कै आएको छैन। जेठ चौधगते मध्यरात्रिको तीनवूंदे सम्झौता अनुसार, एकवर्ष भित्र नयाँ नेपालको नयाँ संविधान पक्कै वनाउने हो र शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने हो भने सहमतिको राष्ट्रिय सरकार प्रचण्डकै नेतृत्वमा वनाउन दिनु पर्दछ। उहाँ वाहेक माओवादी वा गैर माओवादी, अरु कसैको नेतृत्वमा वन्ने सरकारको हैसियत अहिलेको सरकारको भन्दा पृथक हुन सक्दैन।

 

शहर वजारमा जे जस्तो विश्लेषण र संश्लेषण गरिएपनि, देशको वस्तुस्थितिले अहिलेको राजनीतिमा प्रचण्डको अपरिहार्यता स्थापित गरि दिएको छ। माओवादी सैनिक माथिको नियन्त्रण र पार्टीप्रति जन-समर्थनको हैसियत पनि अहिलेसम्म प्रचण्डको हातमा केन्द्रीत छ। वाँकीका कुनैपनि विव्दान, प्रभावशाली, सैन्य विज्ञानका ज्ञाता र ऐतिहासिक माओवादी नेतालाई जनताले राम्ररी चिनेका छैनन। प्रचण्डलाई शान्ति प्रक्रियावाट वाहिर राखेर अथवा उहाँलाई माधव नेपाललाई जस्तै संवैधानिक समितिको नेतृत्वमा सीमित गरेर संविधान लेख्ने सपना कसैले पनि देखेको छ भने त्यो देशको दुर्भाग्य हुनेछ।

सत्य हो कि प्रचण्डको राजनीतिक व्यक्तित्व ढलानमा देखिएको छ। तर, माओवादी पार्टीभित्र अहिलेसम्म कुनै गोर्वाचोभ देखापर्न सकेको छैन। प्रचण्डले पटक पटक आफूलाई राजनीतिक जुवाडेका रुपमा प्रस्तुत गरी सक्नु भएको छ। जुवाडेहरुले आफै नियम वनाएका हुन्छन। विश्वप्रसिध्द उपन्यासकार फ्योदोर दस्तोयवस्की उपन्यास लेखेर कमाएको पैसाले मस्त जुवा खेल्थे। पैसा हारेर तन्नम नभएसम्म उनी अर्को उपन्यास लेख्दैनथे।

 

प्रचण्ड अहिलेसम्म साँवा हार्नुभएको छैन। उहाँ कमाएको व्याजमा नै खेल्दै हुनुहुन्छ। तर, दाउमा यसरी नै हार्दै जानु भयो भने सांवा पनि हार्नु हुनेछ। त्यो अवस्थामा, दस्तोयवस्कीको जस्तो अर्को किताव लेखेर कमाउने हैसियतमा उहाँ रहनु हुनेछैन। अहिले नै विचार पुर्‍याएर दाउ लगाउनु भएन भने उहाँ पनि आफना आदर्श पुरुषहरु जस्तै स्वप्निल विचारहरुको प्राग्ऐतिहासिक खण्डहरमा थन्किनु हुनेछ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस