मायावी राजनीतिका मायावी पात्र
२९ जेष्ठ २०६७
•
१४ मिनेट पाठ
मायावी राजनीतिका मायावी पात्र
संविधान सभालाई एकवर्षका लागि कोरामिन थेरापीमा राख्ने मध्यरात्रिको सहमतिपछि गठबन्धनका प्रमुख नेताहरू साता नबित्दै एकैसमयमा आफ्नो रोगी आँखा, ढाड, कान र अन्य शारीरिक अवयवको परीक्षण र उपचारका लागि भारतको राजधानी दिल्लीपुग्नु वा अशान्त मनलाई शान्त बनाउन हरिद्वारजाने योजना बनाउनु साँच्चै मनोरञ्जक घटना हो।
यस्तो घटनालाई संयोग नै मान्नु पर्ला। किनभने, दिल्ली यात्रामा जाने नेताहरूको कार्यक्रम सार्वजनिक भइसक्दा पनि उहाँहरूबीच त्यस्तो यात्रामा जाने सहमतिको समाचार आएको सम्झना स्तम्भकारलाई छैन। यस घटनाले नेपालको राजनीति शरीर र मनका असाध्य रोगीबाट अभिशप्त रहेको अर्थ कसैले लगायो भने त्यसलाई अतिशयोक्ति नभने पनि हुन्छ। निश्चय नै, कतिपय रोगको उपचार देशमा हुन सक्तैन। कतिपय रोगीका लागि देशका दक्ष चिकित्सक उपयुक्त हुन सक्दैनन्। हाम्रा नेताहरूको संसार नै मायावी छ।

गणतान्त्रिक नेपालको राजनीतिक परिदृश्य पनि त्यत्तिकै मायावी देखिन्छ जति यसका नेता छन्। नयाँ गणतान्त्रिक व्यवस्थाले ती सबै गुणको पनि अनुसरण गरेको छ जुन पहिलेको व्यवस्थामा थियो। निजी चाहना र पूर्वाग्रहका मांसपिण्ड झैं देखिने हाम्रा राजनीतिक नेताहरू अहिले पनि पर्दा पछाडिबाट व्यवस्थित छन्। उनीहरूको जीवन प्रत्यक्ष र पारदर्शी छैन। जसरी कुशल निर्देशकले रहस्यमय नाटकका पात्रलाई आफनो नियन्त्रणमा लिन्छ त्यसरी नै नेपाली भाग्यका नियन्ताहरू कुनै अदृश्य र अज्ञात तत्ववाट निर्देशित देखिन्छन्। उनीहरू घटना र परिस्थितिको स्वतन्त्र मूल्यांकनगर्ने क्षमता या त राख्दै राख्दैनन् या राख्ने चाहनासम्म पनि राख्दैनन्। परिवर्तनपछि राजनीतिक सफलताको उन्मादमा रमाएका नेताहरू शिश्नोदर संस्कृतिको वशमा परेका छन्। उनीहरू निजी स्वार्थमा चुर्लुम्म डुबेका छन्। तीस-चालीस वर्षको राजनीतिक सक्रियताका कारण थाकेका राजनीतिका यी पूर्व सुधारकको आकर्षण पैसा कमाउने अनियोजित, विकर्षक र अभद्र अवसरमा टिक्नु अस्वाभाविक नहोला पनि। सत्ताका लागि अहिलेसम्म भएका हानथापको मूल विन्दु यही आकर्षण भएको त प्रत्यक्ष भइ नै सकेको छ।

माओवादीले दश वर्षसम्म हिंसात्मक आन्दोलनलाई निरन्तरता नदिएका भए राजाले संसदीय प्रयोगमा हस्तक्षेप गर्ने अवसर पाउने थिएनन्। त्यतिखेर, सम्भवतः नेपालको नयाँ गणतान्त्रिक अवतार अझै बीस तीसवर्ष पर धकेलिने थियो होला। तर, इतिहासको निर्माण मानिसको नियतिले होइन, समय र घटनाक्रमद्वारा हुने गर्छ। संविधान सभा, गणतन्त्र, संघीय संरचना र राज्यको पुनर्संरचना संसद्‍वादी दलका आग्रह थिएनन्, राजाको निरंकुश शासनविरुध्द रणनीतिक आक्रोशमात्रै थियो। त्यही आक्रोश थियो माओवादीसँग सहकार्यको प्रमुख कारण। अब देशलाई सहमतिका आधारमा त्यो कित्तामा प्रवेश गराइसकेपछि त्यसैमा बखेडा खडागर्नु लोकतन्त्रको मर्यादासँग मेल खाँदैन।

यति बेला दलहरू माओवादी 'नागरिक' पार्टी होइन भन्ने मिथ्यावादी अडानमा जुटेका छन्। विस्तृत् शान्ति सम्झौताअनुसार सेना समायोजन नभएको अर्थमा संविधान सभाको चुनावमा माओवादीसँग 'सँगसँगै' भाग लिँदा नै उनीहरूले यस्तो अडान लिएको भए त्यो बढी सार्थक र समीचीन पनि हुन्थ्यो होला। अहिले आएर माओवादी नागरिक पार्टी नभएको अत्तो थापेर केही हुन सक्तैन। गठबन्धन दलहरूको यो अडान त्यसैले असमयको रोदनभन्दा बढी केही होइन।

परिवर्तनका संवाहक मानिएका दलहरूबीचको मध्य रात्रिकालीन तीन बुँदे सहमतिले सबै दललाई राष्ट्रिय सरकारमा पुर्‍याउने र त्यही सरकारले संविधान निर्माणको गतिलाई तीव्र बनाउनेमा धेरै विश्लेषक र सामान्य नेपाली जनताको पनि भरोसा थिएन। यद्यपि, पक्षविपक्षको दुर्दमनीय स्वार्थ पोषणमा लागेका संचारकर्मीले मध्य रात्रिको त्रि-दलीय सहमतिलाई ऐतिहासिक भनेर स्वागतगर्न बाँकी राखेनन्। तर, सहमति ऐतिहासिक पनि थिएन र जनताका हिसाबले एक हदसम्म आवश्यक पनि थिएन। जनताका कारण संविधान सभाको म्याद सकिएको थिएन। संविधान सभाको म्यादभित्रै नेताहरूले आफनो दायित्व पूरागर्न नसकेकाले यसलाई मध्यरातमा कोरामिन दिएर बचाउनु परेको थियो।

विकल्पमा, एकपटक फेरि संविधान सभाको चुनाव गराइएको भए गरिब देशको ढुकुटीबाट केही अर्ब रुपैयाँ खर्च भएपनि देश एउटा निश्चित् टुंगोमा पुग्ने अवसर आउने थियो सायद। त्यसैपनि लोकतन्त्र महंगो राजनीतिक व्यवस्था त हुँदै हो। नेताहरूले यति चाहिँ पक्कै बुझेका छन्, देशको भाग्य र भविष्यसँग गाँसिएको कुनैपनि विषयमा आफैँले निर्णयात्मक भूमिका लिनु नपरेपछि पध्दतिको निर्माणका लागि राजनीतिका सूत्र र सहमतिमा माथापच्ची गर्नु समयको अपव्यय मात्रै हो। त्यसैले, आधारातमा संविधान सभाको म्याद एक वर्षका लागि बढाइएपनि नयाँ नेपालको लागि नयाँ संविधानको निर्माण परिकल्पनामा नै सीमित रहने देखिन्छ।

देश हिंसात्मक द्वन्द्वको संक्रमणवाट मुक्त नभएका अवस्थामा छरछिमेकको चासो बढ्नु अस्वाभाविक होइन। यस्तो बेला छरछिमेकका सहयोगीबाट देश राम्ररी हाँक्नसक्ने व्यक्तित्वको पहिचान गरेर उनीहरूको नाम सिफारिस हुनु अमर्यादित र अशोभनीय भएपनि हाम्रा आफनै नेताको अयोग्यताका कारण त्यसलाई पनि स्वाभाविकै मान्नुपर्ला। तर, माओवादी पार्टीले राष्ट्रिय सरकारको नेतृत्व गर्नुपर्दा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले गर्ने निर्णय दोहोर्‍याउनु र कांग्रेसका नेताहरूले त्यसको प्रतिवाद गर्दै अर्को नेताको खोजी गर्नु अमर्यादित र हदैसम्मको अलोकतान्त्रिक व्यवहार हो। कुनै एउटा पार्टीले अर्को पार्टीका नेताका बारे यस्तै टिप्पणी गर्ने हो भने लोकतान्त्रिक प्रतिस्पर्ध्दाको मूल्य नै कहाँ रह्यो त? प्रचण्डको ठाउँमा वावुराम भट्टराई वा नारायणकाजी श्रेष्ठ जो कोही आएपनि कांग्रेस र एमालेलाई के फरक पर्छ? भोलि माओवादी पार्टीले कार्यवाहक सभापति सुशील कोइरालाको ठाउँमा संविधान सभाका निर्वाचित सभासद शेखर कोइराला नभएसम्म कांग्रेससँग सहमति र सहकार्य हुन नसक्ने निर्णय गर्‍यो भने के गर्ने कांग्रेसले? कम्युनिस्ट पार्टीहरूको चलनअनुसार, सरकारको नेतृत्व जसले गरेपनि सरकारमाथि पार्टीको सर्वोपरिता कायम रहन्छ नै। आधुनिक चीनमा माओले कहिल्यै सरकारको नेतृत्व लिएनन्। तर, पार्टी र सरकार सँधै उनको नियन्त्रणमा रह्यो।

द्वन्द्व समाधानको मूल सूत्रका रूपमा रहेको बाह्र बुँदे सहमतिको पृष्ठभूमिको निर्माण छरछिमेकमा भएपनि त्यसको अस्तित्व र क्रियाशीलता छरछिमेकमा स्थापित भएको थिएन। सहमतिपछिको बृहत् आकारको जनआन्दोलन पनि छरछिमेकका कारण भएको थिएन। त्यो आन्दोलन नेपाली जनताको आक्रोश र आकांक्षाको सम्पूर्ण अभिव्यक्ति थियो। अहिले राजनीतिक व्यवस्थापनमा लागेका नेताले यस तथ्यलाई बिर्सिएका छन्। आफनो देशको स्वार्थको पक्षमा वहस र संवाद गर्ने क्षमता नै छैन यी नेताहरूसँग। किन कांग्रेस र एमालेका प्रभावशाली भनाउँदा नेताहरू भारतीय नेतालाई सरकार बनाउने र चलाउने मामिलामा आफूहरू सक्षम भएको बताउन सक्दैनन्? किन उनीहरू एउटा स्वतन्त्र राष्ट्रका रूपमा नेपालले भारतीय सुरक्षा स्वार्थविरुध्द कुनै प्रकारको सम्झौता नगर्ने आश्वस्त तुल्याउन सक्दैनन्? किन नेपालका माओवादीहरू आफ्ना प्रभावशाली भारतीय मित्रमार्फत भारतीय नेतृत्वलाई आफना क्रियाकलाप भारतीय स्वार्थविरुध्द लक्षित नभएको प्रत्याभूति दिन सक्दैनन्? भारतको केन्द्रीय नेतृत्व निश्चय पनि नेपालको आन्तरिक राजनीतिमा सँधै अलमलिइरहन सक्तैन। तर, नेपाली नेतामा रहेको कीचक-प्रवृत्तिले गर्दा नै उसको संलग्नता बढ्दो क्रममा छ। जुन नेताहरूले आफ्नो देश र आत्मसम्मानको रक्षा गर्न सक्तैनन् ती नेता अरू कसैको पनि विश्वासयोग्य हुन सक्तैनन्। भारतीय सुरक्षा स्वार्थको दृष्टिबाट हेर्दा पनि, आत्मसम्मानको रक्षागर्न नसक्नेहरूलाई आफ्नो राष्ट्रिय सुरक्षा स्वार्थको जिम्मा लगाएर भारतीय नेतृत्व आश्वस्त हुन सक्तैन।

नेपाली इतिहासका अध्येताहरू बताउँछनः राणातन्त्रको समाप्तिसँगै नेपाली राजनीतिमा जस प्रकारको भारतीय सक्रियता देखिन्थ्यो, गणतन्त्र स्थापनापछिको समयमा पनि त्यही प्रकारको सक्रियता देखिएको छ। अहिले र तत्कालीन समयमा यति नै फरक छ, त्यति बेला राष्ट्रिय स्वार्थको प्रतिरक्षामा बोल्ने भरपर्दा, ज्ञानी र अनुभवी नेताको कमी थिएन। अहिलेको समय उल्टो छ। क्षमता चुकिसकेका, थाकेका, जनताबाट बहिष्कृत तथा आवरण र अनुहारले पनि मानिसको मनमा कुनै उत्साह र भरोसा जगाउन नसक्ने नेताहरू राजनीतिका चालक बनेका छन्। एक्काइसौँ शताब्दीको समयसँग नमिल्ने व्यवहार, राजनीतिक असान्दर्भिकता र विचारको खडेरीमा छोपिएर बिरासतको भरमा राजनीति गर्ने समकालीन नेताकै कारण समाजमा आशाको खडेरी परेकोछ। सायद, नेपाली राजनीतिले यसअघि जनताको यतिविधि अविश्वास र आक्रोश कहिल्यै थेग्नु परेको थिएन।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस