भूकम्पीय कम्पन र काठमाडौँ
०२ माघ २०७४
•
१५ मिनेट पाठ
भूकम्पीय कम्पन र काठमाडौँ
 विसं १९९० सालमा गएको महाभूकम्पको स्मृतिमा हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाइन्छ । भूकम्प सुरक्षा दिवसलार्ई भूकम्पको दौरान भएको जनधनको क्षतिको स्मृतिमा मात्र सीमित नगरी आगामी दिनमा यो खालको क्षति फेरि हाम्रो देशले व्यहोर्न नपरोस् भन्ने उद्देश्यसाथ सरोकारवाला सबै एकजुट भएर भूकम्पीय जोखिम न्यूनीकरणको अभियानमा वर्षैभरि लाग्न प्रण गर्ने अवसरका रूपमा पनि लिइने गरिएको छ । यसरी भूकम्प सुरक्षा दिवस मनाउन सुरु गरेको पनि २० वर्ष पुगेछ र यसपटक देश संघीय राज्यप्रणालीमा गइरहेको अवस्थामा ‘सबल समुदाय र स्थानीय सरकार, भूकम्पीय सुरक्षाको बलियो आधार’ भन्ने मूल नारासाथ २० औँ भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। 

काठमाडौँको माटो उत्खनन गरी जापानको आधुनिक प्रयोगशालामा परीक्षण गर्दा यहाँँको माटोमा भूकम्पीय कम्पन घटाउने विशेषता भेटिएको छ । 

नेपाल भौगर्भिक हिसाबले नै भूकम्पीय जोखिमको दृष्टिकोणबाट अति संवेदनशील क्षेत्रमा पर्छ । विशेषतः यही कारण इतिहासको विभिन्न कालखण्डमा हाम्रो मुलुकले ठूलाठूला भूकम्पको धक्कासहित जनधनको ठूलो क्षति व्यहोर्नुपरेको हो । इतिहासलाई केलाउँदा विसं १३१० देखिको भूकम्पको अभिलेख भेटिन्छ । तर यसभन्दा पहिले पनि भूकम्प नगएको चाहिँ होइन, हामीसँग अभिलेख नभएको मात्र हो । किनभने, नेपालको भूभाग नै भूकम्पको स्रोत अर्थात् पृथ्वीभित्र रहेका चट्टानका चाक्लाहरूको चालबाट सिर्जित भएको हो । नत्र भने परापूर्व कालमा यो स्थानमा तेतिस नाम गरेको महासागर रहेको कुरा हाम्रा धर्मग्रन्थ एवं किंवदन्तीहरूमा भेटिन्छ र यो कुरालार्ई विज्ञानले पनि पुष्टि गर्छ । दक्षिणबाट उत्तरतिर आउँदै गरेको भारतीय भूखण्ड र उत्तरबाट दक्षिणतर्फ चलायमान तिब्बतीय भूखण्ड आपसमा ठोकिँदा भारतीय भूखण्ड तिब्बतीय भूखण्डभित्र पर्न गई यी दुई भूखण्डको संघर्षबाट म्यानमारदेखि अफगानिस्तानसम्म फैलिएको हिमालय शृंखलाको निर्माण भएको विभिन्न अध्ययनले पुष्टि गर्छन् । यी दुई भूखण्डको संघर्ष लगातार जारी रहेकाले निश्चित समयको अन्तरालमा यो क्षेत्रमा भूकम्प गइरहेको हो र फेरि पनि गइरहनेछ । यिनै भूकम्पहरूमध्ये अभिलेखमा विस्तृत रूपमा क्षतिसहित सम्पूर्ण विवरण भेटिने अहिलेसम्मको सबभन्दा ठूलो भूकम्प विसं १९९० सालको भएकाले हरेक वर्ष माघ २ गतेलाई भूकम्पीय जोखिम न्यूनीकरणमा प्रतिबद्ध भएर लाग्न प्रण गर्ने दिवसका रूपमा मनाउने गरिएको हो।

कुनै पनि भूभागको भूकम्पीय जोखिमको कुरा गर्दा विशेषतः कति मापनको भूकम्प सो स्थानबाट कति दूरीमा केन्द्रविन्दु पर्ने गरी जानसक्ने सम्भावना छ ? अवस्थित भूभागको जमिनको बनोट कस्तो खालको छ ? भवन संरचनाहरू भूकम्प थेग्ने गरी निर्माण गरिएको छ कि छैन ? सम्भावित भूकम्पका लागि राज्यको तयारी अवस्था कस्तो छ ? र आममानिस एवं समुदायमा भूकम्पबाट बच्न अपनाउनुपर्ने सुरक्षित व्यवहारको ज्ञान अनि सीपको सचेतना तयारी कुन स्तरको छ भन्ने कुराले निर्धारण गर्छ । अहिलेसम्म भेटिएका अभिलेखहरूमा ठूला भूकम्पको दौरान काठमाडौँ उपत्यकामा धेरै क्षति भएको भेटिन्छ र यसैलाई आधार मानेर आम मानिस अनि विज्ञहरूमा पनि यसको कारण काठमाडौँको जमिन जहाँ करिब ५०० मिटर गहिराइसम्म कमसल माटोको तह रहेकाले भूकम्पको कम्पन बढी हुने हुँदा यति धेरै क्षति भएको बुझाइ रहेको छ । विश्वका अन्य मुलुकमा गरिएको अध्ययनमा यस्तै कमसल माटोको तह बढी भएको स्थानमा भूकम्पको कम्पन जमिनको सतह नजिकै चट्टान भएको स्थानभन्दा निकै बढी मापन गरिएकाले पनि यो बुझाइ रहन गएको हो । तर  विसं १९९० सालको भूकम्प, विसं २०७२ सालको भूकम्पको दौरान काठमाडौँ उपत्यकामा भएको क्षतिको विवरण अनि २०७२ सालको भूकम्पमा काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा मापन गरिएको कम्पन र सीमित मात्रामा भए पनि विसं २०७२ सालमा गएको विनाशकारी भूकम्पपश्चात् जापान विज्ञान प्रतिष्ठानको आर्थिक सहयोगमा एहिमे विश्वविद्यालय जापान, भूकम्प प्रविधि राष्ट्रिय समाज — नेपाल   र त्रिभुवन विश्वविद्यालयको संयुक्त प्रयासमा काठमाडौँ उपत्यकाको विभिन्न स्थानबाट माटो उत्खनन गरी जापानको अति आधुनिक प्रयोगशालामा भूकम्पीय जोखिमको परीक्षण गरिएको थियो । उक्त अनुसन्धानको निष्कर्षले पनि काठमाडौँको माटाकोे विशेषता अन्य मुलुकको सामुिन्द्रक तटीय क्षेत्रमा पाइने माटाकोे भन्दा भिन्न खालको भेटिएको छ । यी सबै पक्षलाई सूक्ष्म विश्लेषण गर्दा काठमाडौँको माटोमा भूकम्पको कम्पन बढाउने होइन कि घटाउने विशेषता रहेको पुष्टि गर्छ जुन अहिलेसम्म रहेको बुझाइको ठीक विपरीत हो।

विसं १९९० को भूकम्पमा काठमाडौँ उपत्यकामा भएको क्षतिको मापन नक्सा अध्ययन गर्दा विशेष गरी दक्षिण भेगको पश्चिमपूर्व अर्थात् बुंगमती, खोकना, सानो गाउँ, लुभू, चापागाउँ, हरिसिद्धी, गोदावरीमा बढी क्षति भएको देखिन्छ । उक्त क्षेत्रमा करिब ९९ प्रतिशत भवन पूर्णरूपमा क्षति भएको श्री मेजर जनरल ब्रह्मशमशेरको नेपालको महाभूकम्प भन्ने पुस्तकमा भेटिन्छ । जबकि काठमाडौँको उत्तरी भूभागमा तुलानात्मक रूपमा कम क्षति भएको र सुरक्षित रहेको देखिन्छ । विसं १९९० सालको भूकम्पको केन्द्रविन्दु संखुवासभाको चैनपुर आसपास रहेको अनुमान गरिएको छ । भूकम्पको केन्द्रविन्दुबाट काठमाडौँको दिशा आँकलन गर्दा भूकम्पको कम्पन यही ९९ प्रतिशत भवन पूर्णरूपमा क्षति भएको दक्षिणी भेगबाट काठमाडौँ उपत्यकामा प्रवेश गरेको अन्दाज गर्न गाह्रो हुँदैन । यसैले उक्त स्थानमा बढी क्षति भयो र काठमाडौँको माटाकोे विशेषता भूकम्पको कम्पन घटाउने खालको रहेकाले कम्पन उत्तरतर्फ फैलँदै गर्दा कम्पनको मात्रा पनि घट्दै गएर उत्तरतर्फ कम क्षति भएको आँकलन गर्न सकिन्छ। 

२०७२ वैशाख १२ को भूकम्पको स्मरण त हामी सबैमा ताजै छ ।  उक्त भूकम्प गोरखाको बारपाक केन्द्रविन्दु भएर काठमाडौँ उपत्यकामा पश्चिम–उत्तर हँुदै प्रवेश गरेको देखिन्छ । जसले गर्दा बुङमती, खोकना, सीतापाइला, बालाजु, गोंगबु, साँखु क्षेत्रमा बढी क्षति भयो र भूकम्पको कम्पन घटाउने माटोकोे विशेषताले गर्दा कम्पनको मात्रा घट्न गई सहरको केन्द्र र पूर्वी भूभागमा कम क्षति भएको आँकलन गर्न सकिन्छ । यो आँकलनलार्ई काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा मापन गरिएको कम्पनको लगतले पनि पुष्टि गर्छ । जस्तैः कीर्तिपुरको नगरपालिका भवन र त्रिभुवन विश्वविद्यालयको केन्द्रीय भूगर्भ विभागको भवनमा मापन गरिएको भूकम्पको कम्पन २४० ग्याल रहेको छ भने पुल्चोक इन्जिनियरिङ क्याम्पस, खानी तथा भूगर्भ विभाग, सानोठिमी भक्तपुर लगायतका स्थानमा  १५० ग्याल मापन गरिएको छ । कीर्तिपुर गोरखा भूकम्पको कम्पन उपत्यकामा प्रवेश गर्ने विन्दुमा रहेको स्थान हुनुका साथै चट्टानमाथि अवस्थित भूभाग हो र बाँकी कम्पन मापन गरिएका स्थान कमसल माटोको तह धेरै गहिराइसम्म रहेको र काठमाडौँ उपत्यकाको केन्द्र वा पूर्वी भेगमा रहेका भूभाग हुन् । कीर्तिपुरभन्दा पुल्चोक इन्जिनियरिङ क्याम्पस, खानी तथा भूगर्भ विभाग, सानोठिमी भक्तपुर लगायतका स्थानमा भूकम्पको कम्पन कम हुनुमा माटोकोे विशेषता भूकम्पको कम्पन घटाउने खालको भएर नै हो भन्न सकिन्छ । यसै गरी काठमाडौँको माटो उत्खनन गरी जापानको आधुनिक प्रयोगशालामा भूकम्पीय जोखिम परीक्षण गर्दा पनि काठमाडौँको माटोमा भूकम्पीय कम्पन घटाउने विशेषता नै भेटिएको छ । विशेष गरी काठमाडौँ उपत्यकाकोे माटोमा माइका १०—२० प्रतिशत रहेको पाइन्छ र यही माइकाका कारण भूकम्पीय कम्पन कम हुने हो भन्ने आधार भए पनि सीमित स्थानको माटो मात्र परीक्षण गरिएकाले उपत्यकाको अरू धेरै स्थानको माटो यस्तै प्रयोगशालामा परीक्षण गरी थप निक्र्योल निकाल्नुपर्ने हुन्छ । यही विशेषताले गर्दा नै विसं २०७२ को भूकम्पमा काठमाडौँ उपत्यकामा विगतका धेरै अध्यनले आँकलन गरेभन्दा कम क्षति भएको हो । ती सबै अध्ययनको एउटा आधार काठमाडौँको माटोमा भूकम्पको कम्पन अझ बढ्छ भन्ने थियो जो माथिका तथ्यहरूले गलत साबित गरिदिएको छ । यो पक्षबाट हेर्दा उपत्यकावासीले आफूलार्ई भाग्यमानी सम्झनुपर्छ ।

अहिले सहरी विकास मन्त्रालय अन्तर्गत सहरी विकास तथा भवन निर्माण भिभागले विज्ञहरूको समिति गठन गरी भवन संहितालाई समय अनुकूल परिमार्जन गर्न कार्य सुरु गरेको छ । यो अति आवश्यक पहलकदमी हो २०५१ सालमा भवन संहिता निमार्णपछि अद्यावधिक गरिएको थिएन जसले गर्दा यसबीचमा अध्ययन–अनुसन्धान र भोगाइबाट प्राप्त ज्ञान र सिकाइ हाम्रो भवन संहितामा थिएन र यो परिमार्जनमार्फत समावेश गर्ने अवसर प्राप्त भएको छ । तर समितिको संरचना र विज्ञहरूको सहभागिता हेर्दा भवन संहिता भनेको जमिनमाथिको संरचना बलियो भए पुग्छ भन्ने बुझाइ देखिन्छ । उक्त समितिमा भू–प्रविधि विज्ञ, भूगर्भ विज्ञ, भूविज्ञान विज्ञको संलग्नता त्यति सक्रिय देखिँदैन, जोविना भवन संहिता पूर्ण हुनै सक्दैन । अझ यो मौकालाई विगतमा भवन संहिता किन प्रभावकारी कार्यान्वयन हुन सकेन भन्ने पक्षमा पनि बृहत् छलफल गराएर सामाजिक–आर्थिक क्षेत्रका विज्ञहरूसहित कानुन विज्ञहरूको पनि संलग्नता गराई छलफलको दायरालाई फराकिलो पार्नुपर्ने देखिन्छ।

अहिलेको भवन संहिता निर्माण गर्दा नेतृत्वदायी भूमिका निर्वाह गर्ने अनुभवी व्यक्तित्वहरू अझै हामीबीच हुनुहुन्छ र उहाँहरूको सुझाव सल्लाह पनि उत्तिकै महत्वपूर्ण हुन्छ । यसैले समयमै माथि सुझाइएका पक्षहरूलाई समावेश गरी छलफलको दायरा बढाएर उत्कृष्ट भवन संहिता निर्माण गर्ने यो अवसरको सदुपयोग गर्न सरोकारवाला सबै निकायको ध्यान समयमै जानु जरुरी छ। 

(लेखकले जमिन तरलीकरणको जोखिम पहिचान तथा न्यूनीकरणमा विद्यावारिधि गरेका छन्)
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस