नेपालको आधा आकाश
०४ वैशाख २०७४
•
१९ मिनेट पाठ
नेपालको आधा आकाश
बहुदलीय प्रजातन्त्र पुनःस्थापनापछि नेपालको सामाजिक क्षेत्रको सुधारका विषयमा निकै गम्भीर सवालहरू उठाइए। तिनमा पनि नारीका हक–हित सुविधा र सचेतनाका सन्दर्भमा नेपालका बुद्धिजीवी लेखक, पत्रकार, विद्यार्थी र कैयन् समाज सुधारका पक्षधरले मुलुकका नारीप्रति संवेदनशीलताको प्रदर्शन गर्दै सञ्चारमाध्यम र गोष्ठी, सभा–सेमिनार र खुला मञ्चहरूका माध्यमबाट समेत लिखित र मौखिकरूपमा चर्का अभिमतहरू जनसमक्ष छताछुल्ल पोखे। यसै सन्दर्भमा पैतृक सम्पत्तिमाथि छोरासरह छोरीको हक स्थापित गर्नुपर्ने माग त्यस्तै श्रव्य, दृश्य र पाठ्यसामग्रीबाट जनतामाझ आइपुग्यो। त्यही क्रममा नारीलाई पैतृक सम्पत्तिको भागबन्डा र लुछाचुँडमा लाग्न प्रोत्साहित गर्ने कि पुरूषसरह सशक्तीकरण गरी उनीहरूलाई सामाजिकरूपमा मर्यादित बन्न र माथि उठ्न सघाउने? अनि नारीलाई पैतृक सम्पत्तिमा पुरूषसरह समान हक प्राप्त भएको स्थितिमा भागबन्डामा अधिकार हुने कि नहुने? जस्ता प्रश्न उठे। केही समयसम्म चलेको पैतृक सम्पत्तिमाथिको छोरीको हकको त्यो मुद्दा क्रमशः सेलाउँदै गयो र अहिले त्यो ओझेलमा परेको छ। त्यस्तो मुद्दामा चर्काे वकालत गर्ने बुद्विजीवीहरू स्वयं लज्जित बन्दै त्यसबाट पछि हटेका छन्। किनभने महिला सशक्तीकरणका लागि पैतृक अंशको मुद्दा उचित थिएन र त्यसले महिलाको उन्नतिको बाटो अन्यत्र मोड्ने सम्भावना थियो।

मुलुकको कुनै उच्च पदमा दुई चार महिलाको पहुँच देखाउने दाँतमात्र हो। खाने दाँत देशको आर्थिक स्थितिको सुधार नै हो।

२०६३ सालको जनआन्दोलनले नेपालबाट राजतन्त्रको समूल उच्छेदन गर्‍यो र मुलुकमा जनताको शासनले त्यसलाई प्रतिस्थापन गर्‍यो। साथै त्यसले संविधानसभाको माध्यमबाट देशमा पिछडिएका जातीय, वर्गीय र लैङ्गिक आदि जनसमुदायलाई अधिकारसम्पन्न बनाउन राष्ट्रका सबै निकायमा तिनीहरूको प्रतिनिधित्वपूर्ण अधिकारको संरक्षणमाथि जोड दियो। उपर्युक्त सवालमध्ये महिलाको हक, अधिकार र संरक्षणको सवाल बढी प्रवल बनेर आयो। मुलुकको राजनीतिदेखि प्रशासनिक, न्यायिकलगायतका सबै क्षेत्रमा महिला सहभागिताको कार्यान्वयनमाथि बढी जोड दिइयो। त्यसै आधारमा राष्ट्रका प्रमुख संवैधानिक पदमा महिलालाई स्थान दिई नेपालको जनसङ्ख्याको आधाभन्दा बढी नै सङ्ख्या ओगट्ने नारीको सम्मान गरियो। यस कार्यको प्रशंसा पनि चारैतिरबाट भयो। यो २०४७ सालको संविधानबाट अघि बढेर ‘पैतृक सम्पत्तिमाथि छोरीको अधिकार' सट्टा नारीहरूको समान सहभागिताद्वारा सामाजिक उत्थान गर्ने प्रगतिशील संवैधानिक व्यवस्थाका रूपमा देखापर्‍यो। त्यसले मुलुकमा नारीहरूको पक्षमा सामाजिक–राजनीतिक जागरणको ज्वारभाटा ल्याएको प्रत्येक नेपाली नागरिकले अनुभव गरिरहेकै हो।

उपर्युक्त सन्दर्भमा आएको नारी–सहभागिता र जागरणको अभियान र कार्यान्वयनको व्यावहारिक पक्षबीच अहिले आएर समन्वय कायम नभएको अनुभव नेपाली जनसमुदायले गरिरहेको छ। राष्ट्रपति पदमा विद्यादेवी भण्डारी, सभामुखमा ओनसरी घती मगर, सर्वाेच्चको प्रधानन्यायाधीश र न्यायाधीश पदमा क्रमशः सुशीला कार्की र सपना प्रधान मल्ललगायतका अन्य संवैधानिक निकायमा महिला सहभागिता हुनु सकारात्मक कुरा हो। तर ती उच्च पदासीन नारीहरूको नेपाली नारीहरूको सामाजिक र आर्थिक स्तरोन्नतिमा के/कस्तो भूमिका रह्यो? यो महत्वपूर्ण प्रश्न हो।

यतिबेला मुलुकमा स्थानीय निकायको निर्वाचनसँगै त्यसमा महिला सहभागिताको लहर तीव्ररूपमा चलेको छ। प्रत्येक दल गाउँ र नगरका कुना कुनामा लुकेका र घरका चुलाचौकामा रहेका महिलालाई तानेर ल्याई स्थानीय निकायमा महिलाको प्रतिनिधि–प्रतिशत भर्ने प्रयत्नमा लागेका छन्। यसरी हेर्दा नेपालको राजनीतिमा नारीहरूको प्रतिनिधित्व ह्वात्तै बढेको देखापर्दैछ। ठीक यसै बेला नेपालबाट रोजगारीका निम्ति विदेशिएका चेलीबेटीका दुःखका करुण क्रन्दनहरू सञ्चारमाध्यममा लगातार आइरहेका छन्। एकातिर राजनीतिक सहभागिताको उमङ्ग र अर्कातिर विदेशी मुलुकमा भोग्नुपरेको उत्पीडन दुई फरक स्थितिमा नेपाली महिलाको दुई पाटोको चित्र देखा परिरहेको छ एकसाथ। यो विरोधाभासले नेपाली महिलाको आकार सङ्लो बन्न सकेको छैन।

नेपालीको वैदेशिक रोजगारको आकर्षण गणतान्त्रिक नेपालको मुख्य विशेषता रहेको व्यावहारिकस्तरमै देखिरहेको कुरा हो। स्वदेशमा रोजगारको अवसर हुँदासम्म चर्काे ब्याजमा ऋण काढेर, वृद्ध बाबुआमा र वैसालु पति/पत्नी अनि लालाबालालाई छाडेर न्यून स्तरको काम र आयआर्जन गर्न कोही पनि बिरानो मुलुकको बाटो लाग्दैन। अपवादमा योग्यता अनुकूलको काममा विदेशिने हुन सक्छन्। तर अधिकांश नेपाली युुुुुुुुवा–युवतीले ठूलो सपना देखेर विदेशी मुलुकका लागि आफ्नो आर्थिक आयले धान्न नसक्ने ऋण गरीगरी दलाल (सभ्य भाषामा म्यानपावर कम्पनी) लाई पोसेर पनि सम्बन्धित मुलुकमा पाएको हन्डरले ती विदेशिएका युवा शक्तिको मात्र नभई सगरमाथाको शिर भएको स्वाभिमानी नेपाल राष्ट्रको उचाइ तल खस्दै गइरहेको छ। र, गणतन्त्र नेपालका शासक र दलका नेतृत्वधारीहरू त्यसरी रगत पसिना बगाउँदै जम्मा गरेको आयलाई राष्ट्र धान्ने प्रमुख आयस्रोतका रूपमा गणना गर्दै गणतन्त्र नेपालको आर्थिक लेखाजोखा गर्ने गर्छन्। मुलुकको यस प्रकारको लज्जास्पद अवस्थाबाट समाजको आधा आकाश ढाक्ने नारी वर्ग पनि प्रभावित नहुने कुरै भएन। यता समय/समयको सत्ताका साझेदार पार्टी र तिनका नेतृत्वदायी व्यक्तिहरूले तिनै वैदेशिक रोजगारका दलाललाई विदेशी राष्ट्रमा पठाइने राजदूतजस्तो कूटनीतिक पदका निम्ति सिफारिस गर्ने गरेका छन्। यसरी सिफारिस गरिएका राजदूतमध्येका व्यक्तिले देखाएको गैरकूटनीतिक चरित्रले निकै ठूलो चर्चा पाउने गरेको छ।

वैदेशिक रोजगारमा जानेहरूमा पुरूषको सङ्ख्या बढी हुनु स्वाभाविक हो। हाम्रो सामाजिक सांस्कृतिक परम्परा र चालचलनले नारीलाई पुरूषलाई जति छुट अझै पनि दिएको छैन। त्यसमा पनि शारीरिक प्राकृतिक बनोटले नारीहरू पुरूषजति प्रत्येक क्षेत्रमा सहभागी हुने र खुलेर लाग्ने सम्भावना पनि देखिँदैन। हाम्रोमात्र नभएर विश्वकै सामाजिक–राजनीतिक परिदृश्यमा देखिएको कुरा हो यो। तर पनि आर्थिक दृष्टिले पछाडि परेको र भौगोलिकरूपमा सानो भएर पनि नेपालको पछिल्लो संवैधानिक व्यवस्थाले नारीलाई दिएको समावेशिता र सहभागितालाई राष्ट्रको हैसियतभन्दा माथिको कुरा मान्नुपर्छ। यसले विश्वमा सायद सकारात्मक सन्देश दिएको हुनुपर्छ र सानो मुखले ठूला कुरा गर्ने टुक्काको आशयका रूपमा यसलाई लिने सम्भावना पनि त्यत्तिकै हुन सक्छ।

संसारभरि देखिँदै र भोगिँदै आएको वास्तविक यथार्थ के हो भने मुलुकको उन्नतिमा राजनीतिक भूमिका र आर्थिक भूमिकाबीचको सामञ्जस्य बढी उत्पादक हुने गर्छ। राजनीतिक स्वतन्त्रताको कमी हुँदाहुँदै पनि चीनलगायतका कतिपय कम्युनिस्ट मुलुकले राम्रो उन्नति गरेर देखाएका छन्। अर्काेतिर राजनीतिक स्वतन्त्रता र आर्थिक विकासको सन्तुलनद्वारा विश्वमा आफ्नो उच्च स्थान सुरक्षित गर्दै आएका अमेरिका, बेलायतलगायतका पाश्चात्य मुलुकले अहिलेसम्म विश्वमै आफ्नो दूरगामी छाप पार्दै आएका छन्। यसरी विश्वका विकसित ठानिएका मुलुकले गरेको समग्र विकासमा नारी र पुरुषबीचको राजनीतिक र आर्थिक सहभागिता नै कारण रहेको कुरा इतिहासको सामान्य जानकारी राख्नेले पनि बु‰दै आएको हो।

२०६३ सालयताको गणतान्त्रिक नेपाल पनि विश्वका तिनै विकसित मुलुकका पदचिह्नमा हिँड्ने आशाले यस देशका नागरिकले राजतन्त्र मासेर गणतन्त्र प्राप्तिमा आफ्नो अभिमत प्रकट गरेका हुन्। तर बितेका वर्षहरूमा चर्का सामाजिक र राजनीतिक नाराहरूमा मात्र नागरिकलाई अल्मल्याइयो र यिनै वर्षहरूमा रोजगारीका लागि विदेशिनेहरूको सङ्ख्या सबभन्दा बढी पाइयो। यो क्रम रोकिने छाँट अहिले पनि छैन बरू बढ्दो छ। पार्टीका चर्का राजनीतिक नाराहरू ओकल्ने मुखमा चारा नपर्ने र भोका पेटले घरबार नचल्ने भएपछि यहाँका युवा/युवतीका लागि अर्काे बाटो नै के रह्यो र?

बितेका लगभग बीस वर्षसम्म राष्ट्रको आधारभूत आर्थिक विकासको परिचालन गर्ने स्थानीय निकाय जनप्रतिनिधिबिहीन हुँदा पनि यस देशका नागरिकले यस्तो अवस्थालाई तानाशाही नमानेर गाउँदेखि राष्ट्रसम्मको निर्वाचनद्वारा परिचालित पञ्चायती शासन प्रणालीलाई गैरप्रजातान्त्रिक र त्यसका अगुवा राजालाई तानाशाह ठाने। खुसीको कुरा ढिलै भए पनि स्थानीय तहको निर्वाचन हुँदैछ। थप उत्साहको कुरा यस निर्वाचनमा महिलाको सहभागिता निकै तीव्ररूपमा हुने कुरा प्रारम्भिक चहलपहलले देखाउँदैछ। ती महिलामध्येका कतिले आफ्ना भविष्यका आँखामा विद्यादेवी भण्डारी र ओनसरी घर्ती मगरलाई देखेका हुन सक्छन्। तर सपना र विपना फरक नै हो आखिर यदि यी चुनाव निम्ति कम्मर कसेर पुरुषहरू बराबर नेतृत्वमा पुग्ने आँट महिलामा बढ्नुलाई पदीय दृष्टिले भन्दा राष्ट्रिय विकासका दृष्टिले मूल्याङ्कन गरिने दिनगन्ती पनि महिलाले नै गरे भने त्यसलाई मुलुकको अहोभाग्य मानिने तर अहिल्यै भने स्थिति फरक छ। एउटी महिला स्थानीय निकायको निर्वाचनमा निकै उत्साही बनेर देखापर्दैछिन् भने अर्काे छिमेकी महिला खाडी मुलुकका धनाढ्यहरूका वासनाको सिकार बनेकी छिन्। वैदेशिक रोजगारका निम्ति बनेका भिसा आवेदनका पङ्क्तिहरूमा खाडी मुलुकमा वा इजराइलमा घरेलु कामदार वा घरेलु परिचारिकाका निम्ति उभिन पुगेका नारीहरूको सपना निर्वाचनमा उठ्ने नारीहरूको भन्दा फरक छ। तिनीहरू अफ्रिकी सहरका नाचघरहरूमा नृत्याङ्गानाका व्यवसायी बनेका घटना यहाँका पुरुष सत्तासीनले मात्र होइन, उच्च पदासीन महिला नेताले पनि सञ्चारमाध्यममा पढेका हुन सक्छन्।

शारीरिक र आर्थिक दुवै प्रकारको चरम शोषणपछि विभिन्न उपायले आफ्नो मातृभूमि सम्झेर जीर्ण शीर्ण शरीर लिएर रूँदै फर्केको नेपाली आधा आकाशलाई चुनावको उमङ्गको आवरणले ढाक्न सक्छ? त्यसरी फर्केका चेलीबेटीका अभिभावकले कुन खुसियालीमा निर्वाचनमा मत खसाल्ने हुन्? यस देशमा गणतन्त्र बहाल भएयता मुलुकमा गणतन्त्रलाई दिगो र राष्ट्रलाई समृद्ध बनाउन छाडेर २०६३/०६४ सालदेखि नै लगभग पौने आठ लाख महिलाले विदेशका लागि राहदानी लिनु र राहदानी लिएकामध्ये पाँच लाख लगभग महिलाको वैदेशिक रोजगारीको पनि पत्तो नलाग्नुमा को जिम्मवार हुन्? नत्र २० वर्षसम्म म्युजिकल चेयरको खेलमा झँै सत्तामा पुग्ने कुनै पनि पार्टीको नेतृत्व तहले ती बेपत्ता नेपाली महिलाको खोजी किन गर्दैन? अनि चुनावको समयमा मात्र आएर किन निर्वाचनमा महिला सहभागिताको चर्काे नारा दिइन्छ? मुलुकको सर्वाेच्च निकायमा पुगेका महिला नेता किन यस विषयमा मौन छन्? पार्टी र तिनका नेतृत्व तहमा देखापरेको यस प्रकारको महिला विषयको द्वैध चरित्रमा सुधार नआएसम्म नेपालमा नारी उत्थानको सपना देख्नु व्यर्थ हो।

भारतीय सहरहरूमा रोजगारीका लागि जाने नेपाली महिलाका कथा बेग्लै छन् र पञ्चायती शासनकालदेखि अहिलेसम्म तिनले निरन्तरता पाइरहेकै छन्। तर भारतीय भूमिमै राजनीतिक आश्रय लिँदै आएका र त्यसकै राजधानीमा बसेर नेपालको राजनीतिक सत्ताको मोलमोलाइ गर्ने नेपालको नेतृत्व तहका व्यक्तिहरूले मानव तस्करी र ओसारपसारको अवैध धन्दा रोक्ने प्रस्ताव भारतसँग कहिले राखे? नेपालको आधा आकाशले सोध्नुपर्ने अर्काे जटिल प्रश्न हो यो। मुलुकको डाडुपन्युँ लिएकाहरूले ‘खुला सिमाना' लाई मात्र दोष दिएर गणतन्त्र नेपालको शासन चलाइरहने र त्यसमा सधैँ नागरिकले थपडी बजाइरहने दिन कहिलेसम्म रहिरहने हो?

उपयुक्त सबै प्रश्नको समाधानको जड देशको आर्थिक उन्नति र त्यसको आधार मुलुकभित्रको सर्वसुलभ रोजगारी नै हो र विदेशी मुलुकहरूबाट आउने सहयोग र स्वदेशभित्रको आर्थिक स्रोतको सही परिचालन नै हो। मुलुकको कुनै उच्च पदमा दुई चार महिलाको पहुँच देखाउने दाँतमात्र हो। खाने दाँत देशको आर्थिक स्थितिको सुधार नै हो। जुन सुधारले देशका युवा शक्तिलाई वैदेशिक रोजगारीमा जाने उत्साह हटोस् र नेपालको आधा आकाश मानिएको महिला वर्ग पनि त्यसबाट लाभान्वित बनोस्।
अर्को समाचार
जनसंख्या र आधा आकाश
२४ मंसिर २०६९
•
९ मिनेट पाठ
जनसंख्या र आधा आकाश
राष्ट्रिय जनगणना २०६८ अनुसार अब नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ पुगेको छ। लैङ्गिक हिसाबले हेर्दा ५१ दशमलव ५ प्रतिशत महिला र ४८ दशमलव ५ प्रतिशत पुरुष छन्। एक सय महिला बराबर ९४ दशमलव १६ जना पुरुष परेका छन्। अर्थात् पुरुषभन्दा महिला ७ लाख ९६ हजार ४ सय २२ बढी छन्।
महिलालाई आधा आकाश वा आधा धर्ती ओगटेका भन्ने चलन छ। त्यसैगरी महिला र पुरुषलाई एकै रथका दुई पाङ्ग्रा भन्ने पनि गरिन्छ। यसको अर्थ हो- समाजमा महिला र पुरुषको संख्या र अस्तित्व लगभग बराबर छ। विश्वकै जनसंख्या हेर्ने हो भने पनि महिला र पुरुषको संख्या आधाआधि नै देखिएको छ। अहिले विश्वको कूल जनसंख्या सात अर्ब छ। जसमा महिलाको संख्या साढे तीन अर्ब छ। त्यसैले नै होला, महिलालाई आधा आकाश भनिएको। यो प्राकृतिक तथ्य पनि हो। प्रकृतिले महिला र पुरुष जन्माउँदा अनुपात मिलाएको पाइन्छ। यदि यस्तो अनुपात प्रकृतिले नमिलाउँदो हो भने महिला र पुरुषको संख्यामा बीस र अस्सीको जस्तो ठूलो अन्तर हुन्थ्यो होला। कुनै देशमा महिला बढी जन्मिने थिए होलान् भने कुनै देशमा पुरुष बढी जन्मिने थिए होलान्। यसले महिला र पुरुषको संख्यामा असन्तुलन ल्याई विवाह प्रणालीमा पनि असर पुर्याेउने थियो होला। यदि यस्तो हुन्थ्यो भने बेलायतका विद्वान् शास्त्रीय अर्थशास्त्री टिआर माल्थसले पनि जनसंख्याको सिद्धान्त अर्कै किसिमले प्रतिपादन गर्ने होला तर प्रकृतिले आफ्नो धर्म छाडेको छैन।
भौगोलिक अवस्थाले महिला र पुरुषको संख्यामा फरक पारेको पाइँदैन। संयोगअनुसार कुनै दम्पतीलाई छोरा र छोरी बराबर भागमा पर्छ भने कुनैलाई छोरामात्रै वा अरु कुनैलाई छोरीमात्रै। छोरा धेरै प्राप्त गर्नेले राज्य नै जितेझैं गर्व पनि गर्छन् भने छोरी मात्र पाउनेले आफू अभागी भएको ठान्छन्। यो पितृप्रधान समाजको मूल्यगत विशेषता हो। पढे/लेखेकाहरुले पनि यो कुरा सहज र प्राकृतिक हो भनी बुझ्न खोज्दैनन्।
अघिल्लो दुई दशकको जनगणनामा पनि कुल जनसंख्यामा पुरुषको भन्दा महिलाको संख्या बढेको थियो तर पनि महिला र पुरुषको अनुपातमा खासै अन्तर थिएन। ०५८ को जनगणनामा एक सय महिला बराबर ९९.८ पुरुष थिए। त्यस्तै ०४८ मा यो अनुपात ९९.५ थियो। यी तथ्याङ्कले नेपालमा पुरुषको भन्दा महिलाको संख्या बढ्दै गएको देखाएको छ। ०६८ को जनगणनामा यो अन्तर अझ बढी देखिनु यो प्रवृतिको दृष्टान्त हो।
महिला र पुरुषको संख्या तल-माथि पर्नुमा स्वयं मानव नै कारक तŒव हो। यसमा वैदेशिक रोजगारी र भ्रूण हत्या प्रमुख कारण बनेका छन्। नेपालमा यी दुवै विशेषता छन्। पछिल्लो तथ्याङ्कअनुसार नेपालबाट रोजगारीका लागि विदेश जाने नेपालीको संख्या १९ लाख २१ हजार चार सय ९४ छ। त्यसमध्ये ८० प्रतिशत पुरुष छन् भने २० प्रतिशत महिला छन्। यसबाट स्पष्ट हुन्छ धेरै (झण्डै १६ लाख) पुरुष विदेशमा छन्, जसको गणना यो जनगणनामा गरिएको छैन। तथ्याङ्क विभागले छ महिनाभन्दा बढी विदेशमा बस्नेलाई राष्ट्रिय जनसंख्याभित्र पारेको छैन। यदि विदेशिएकाहरुको जनसंख्यामा गणना हुने हो भने महिला र पुरुषबीचको सांख्यिक अन्तर अझ कम हुने स्पष्ट छ।
महिला पुरुषको संख्यालाई प्रभाव पार्ने अर्को प्रमुख कारक तŒव हो- भ्रूणहत्या। यसको गतिलो उदाहरण हो छिमेकी मुलुक भारत। भारतको हरियाणा प्रदेशमा छोरी नजन्माउन गरिने भ्रूण हत्याले लैङ्गिक असन्तुलन भएको कुरा त्यहाँका महिला अधिकारकर्मीहरुले गरेको एक अनुसन्धानले देखाएको छ। त्यहाँ महिला र पुरुषको जनसंख्याको अनुपातमा धेरै अन्तर पाइएको छ। नेपालमा पनि विशेषगरी शहरी क्षेत्रमा यो प्रवृतिले प्रश्रय पाएको छ। भ्रूणको लिङ्ग परीक्षण गरी छोरी भ्रूण भए त्यसको हत्या गरेर अर्को छोरा भ्रूणको कामना गर्ने कार्य भइरहेको छ। अर्को पटक पनि छोरी भ्रूण नै रहेछ भने फेरि पनि त्यो भ्रूण हत्या गर्न तम्सन्छन्। यस्तो क्रम तीन चार पटकसम्म गर्ने गरेको पनि पाइएको छ। काठमाडौं र तराइका शहरहरुमा यस्तो कुकृत्य बढदै गएको छ। सरकारले गर्भपतनलाई कानुनी मान्यता दिएकाले भ्रूण हत्या गर्नेहरुलाई सजिलो भएको छ। तर यसले महिलाको जनसंख्यामा खासै असर भने परेको छैन। हाम्रो समाजको विडम्बना नै भन्नुपर्छ, अझै पनि छोरा जन्मनु र नजन्मनुमा महिलाको कोख प्रमुख कारण ठानिन्छ। अशिक्षितको त बेग्लै कुरा, शिक्षितहरु पनि महिलाप्रति मात्र दोषारोपण गर्छन्। विज्ञानले पुष्टि गरिसकेको छ कि छोरी र छोरा दुवै पाउने क्रोमोजोम (एक्स र वाइ) पुरुषमा हुन्छ भने महिलामा छोरी पाउने क्रोमोजोम (एक्स र एक्स) मात्रै हुन्छ। यसर्थ छोरा नजन्मनुका मुख्य कारणमा पुरुषको हात हुन्छ, महिलाको होइन। यसकारण छोरी जन्माउने महिलालाई कुलक्षिनकी र छोरा जन्माउनेलाई लक्षिनकी भन्नु सामाजिक पाखण्ड हो। कतिसम्म दुःखलाग्दो कुरा छ भने धेरै महिला आफूले छोरा जन्माउन सकेको भनेर दंग पर्छन्। पहिले पहिले महिलाले छोरीमात्रै जन्माएमा छोराका लागि पुरुषले अर्को विवाह गर्थे। त्यसबेला बहुविवाहको प्रचलन थियो। तर अब यो चलन कानुनीरुपले बन्द भइसकेको छ। बहुविवाह बन्द भए पनि पितृसत्तावादी सोचाइ भने बदलिएको छैन। अहिले विज्ञान र प्रविधिको विकासको लाभ लिँदै छोरीको भ्रूण हत्या गर्ने कार्य भइरहेको छ।
जनगणनामा महिलाको संख्या बढेको देखिनुमा छोराका निम्ति छोरीहरु पाइरहने प्रवृत्ति मुख्य देखिन्छ। जसरी छोरीको भ्रूण हत्या गर्ने कुरा सामाजिक तथा नैतिक अपराधको विषय हो, त्यसरी नै छोराका निम्ति धेरै छोरीहरु जन्माइरहने प्रवृति पनि पितृसत्ताको कुरुप मूल्य पद्धतिभित्र पर्ने अनैतिक व्यवहार हो। यसैले यस्तो अपराधलाई प्रश्रय नदिन र महिला एवं पुरुषको सांख्यिक असन्तुलन बढ्न नदिन अग्रगामी तथा समतामुखी जनसंख्या नीति आवश्यक हुन्छ। मुख्यतः समाजमा छोरा र छोरीबीच हुने विभेद अन्त्य नगरेसम्म यस किसिमको नैतिक अपराध नियन्त्रण हुन सक्दैन।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस